`

गाजामा सैन्य नियन्त्रणका लागि इजरायलको नयाँ रणनीति सार्वजनिक

Nepal One HD २५ साउन २०८२ २१:१५
विश्व

इजरायली सेनाले गाजा सिटीमा सैन्य नियन्त्रण स्थापना गर्ने योजना अघि सारेको छ, जुन पूर्ण रूपमा कार्यान्वयन हुन करिब छ महिना लाग्न सक्ने अनुमान गरिएको छ । इजरायलको सरकारी सञ्चार संस्था कान टिभी न्यूजले शनिबार साँझ दिएको जानकारीअनुसार, यो योजना देशको सुरक्षा परिषद्ले स्वीकृत गरेको हो ।

सम्बन्धित सुरक्षास्रोतहरूका अनुसार, आगामी दुई साताभित्र गाजा सिटीका झण्डै आठ लाख नागरिकहरूलाई दक्षिण गाजास्थित अल–मावासी मानवीय क्षेत्रमा सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । एक महिनापछि थप एक आरक्षित डिभिजनलाई परिचालन गरिनेछ, जसले हाल क्रियाशील पाँच डिभिजनसँग सहकार्य गर्दै दुई महिनाभित्र सुरु हुने अपेक्षित स्थलगत कारबाहीमा भूमिका खेल्नेछ ।

योजना अनुसार, मानवीय अवस्थालाई ध्यानमा राख्दै गाजामा प्रवेश गरिने राहत सामग्री बोकेका ट्रकहरूको सङ्ख्या बढाएर दैनिक एक हजार २०० पु¥याउने निर्णय पनि गरिएको छ ।
यद्यपि, उक्त सैन्य योजना प्रति इजरायलभित्र र अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न प्रकारका प्रतिक्रिया आएका छन् । केही समालोचकहरूका अनुसार, यस्तो कदमले अन्तर्राष्ट्रिय मान्यताप्राप्त कानुनी मान्यताहरूमा प्रश्न उठाउन सक्नेछ र गाजामा जारी मानवीय अवस्थालाई थप जटिल बनाउन सक्छ । साथै, युद्धविरामका लागि भइरहेका प्रयासहरूमा असर पर्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

यसै सन्दर्भमा, शनिबार साँझ हजारौँ नागरिकहरूले तेल अविवस्थित होस्टेज स्क्वायरमा शान्तिपूर्ण प्रदर्शन गर्दै गाजामा रहेका इजरायली बन्धकहरूको सकुशल रिहाइका लागि वार्तामार्फत समाधानको माग गरेका छन् । उनीहरूले द्वन्द्व अन्त्य र स्थायी शान्तिका लागि आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *