एन्फा महिला लिग छनोट बिहीबारदेखि, १४ टोलीबिच प्रतिस्पर्धा हुने


काठमाडौँ, २८ साउन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।विभिन्न १४ टोलीले भाग लिने उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
उहाँले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । प्रतियोगिताको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्डबीच फुटबल तथा एफसी रियल छन् ।
त्यस्तै समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । प्रतियोगिताको उद्घाटन खेलमा एफसी रियल र छहारी फुटबल क्लबबीच हुनेछ । उक्त खेल दिउँसो १ बजे हुनेछ ।