`

सबै संस्कृति र परम्पराको संरक्षण गर्न सरकार कटिबद्ध छः मुख्यमन्त्री कार्की

Nepal One HD १ भदौ २०८२ १९:०७
राजनीति

मोरङ, १ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले आज विराटनगर–१ राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राको शुभारम्भ गर्दै रथयात्राले सामाजिक एकता, सहिष्णुता र साझा संस्कृति प्रवर्द्धनका लागि रथयात्रा जस्ता पर्वको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश राजधानी विराटनगरमा निकालिएको रथयात्राले विविधताभित्रको एकताको भाव प्रगाढ बनाएको उल्लेख गर्नुभयो । रथयात्रालाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजानु पर्ने उहाँको भनाइ थियो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले रथयात्राले प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएको बताउनुभयो ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् आज निकालिएको रथयात्रालाई एसिया महादेशको दोस्रो ठूलो पर्वका रूपमा लिने गरिन्छ । राधाकृष्ण मन्दिरकार्य समिति अध्यक्ष कैलाश रेग्मीले विसं १९८८ सालदेखि सुरु भएको खट यात्राका रूपमा यो ९४औँ रथयात्रा रहेको बताउनुभयो ।

विराटनगर–१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले नगरको नौ किलोमिटरको दूरी तय गर्ने गर्छ । रथयात्राको उचाई २१ फिट तीन इन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग आठ फिट रहेको छ ।

रथयात्राले परिक्रमाको क्रममा नगरका विभिन्न ४४ स्थानमा विश्राम लिने छ भने पुनःराधाकृष्ण मन्दिरमा पुगेर समापन हुने छ । रथयात्रामा कोशी, मधेशलगायत स्वदेशका विभिन्न क्षेत्र तथा सीमावर्ती भारतबाट गरी करिब पाँच लाख भक्तजन उपस्थित रहने अनुमान गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

राधाकृष्ण रथयात्रामा कोशी प्रदेश, मधेस प्रदेश र भारतका विभिन्न प्रान्तका धर्मावलम्वीको सहभागीता रहने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *