`

पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन सरकारले काम गरिरहेको छ – उपप्रधानमन्त्री पौडेल

Nepal One HD १ भदौ २०८२ १९:११
प्रमुख खबर

तानसेन (पाल्पा), १ भदौः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन सरकारले काम गरिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नीतिगत पृष्ठभूमि र साझा कार्यक्रमका आधारमा संसद्का दुई ठूला दलबीच सहयात्रा भइरहेको बताउनुभयो । यो सहयात्रा २०८४को आमनिर्वाचनसम्म कायम रहने उपप्रधानमन्त्री पौडेलको भनाइ थियो ।

“वर्तमान सरकारमा एमाले, कांग्रेस र अन्य साना दल सहभागी छौँ । नीतिगत पृष्ठभूमि र कार्यक्रमका आधारमा सहयात्रा गरिरहेका छौँ । यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । त्यसैले सहयात्रा पूर्वसहमतिअनुसार अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

हाल स्थिर सरकारको प्रत्याभूति दिने काम भएको भन्दै उपप्रधानमन्त्री पौडेलले केही अस्थिरता खोज्ने व्यक्ति तथा पार्टीले बेला बेला सरकार ढल्दै छ भनेर हल्ला फैलाए पनि त्यो हल्लामै सीमित रहने बताउनुभयो ।

उहाँले खहरेका रूपमा देखा परेर मूलधारको राजनीतिमा आएका तर अस्थिरताको खोजी गरिरहेका दलहरूको भविष्य नभएको टिप्पणी गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले यहाँ भगवती जात्राको अवलोकन गर्दै सबै मिलेर यस खालका संस्कृति र परम्परालाई सम्वर्द्धन गर्नुपर्ने र त्यही भावनाअनुसार सरकारले भगवती मन्दिरको पुनःनिर्माणका लागि बजेटको व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरातात्विक सम्पदाको संरक्षण गरी धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्न सरकार लागिरहेको बताउनुभयो । उहाँले पाल्पा सम्भावना बोकेको जिल्ला भएकाले यसलाई उर्बर र समृद्ध बनाउन यहाँका नागरिक नै जाग्न जरुरी रहेको धारणा राख्नुभयो ।

मन्त्री पाण्डेले भगवती मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्त्व रहेकाले यसलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *