देशको आर्थिक समृद्धि साझा एजेण्डाः मूख्यसचिव अर्याल


काठमाडौँ, २ भदौ : मूख्यसचिव एकनारायण अर्यालले देशको आर्थिक समृद्धि साझा एजेण्डा भएकाले यसप्रति गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक–निजी संवाद कार्यक्रम’ मा उहाँले विकास प्रक्रियामा देखिएका नीतिगत उल्झनलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रको सहकार्यमा मुलुकको विकास र आर्थिक समृद्धिलाई तीव्रताका साथ अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो ।
“आर्थिक विकासको ड्राइभर निजी क्षेत्र हो, सरकारले बाटो फुकाइदिने हो”, मूख्यसचिव अर्यालले भन्न्ुभयो, “नीतिगत सहजीकरणमा सरकार केन्द्रित छ । पुरानो ऐनलाई समयसापेक्ष संशोधन गर्नैपर्छ । देशको समृद्धिका लागि ‘प्रोसेस ओरेन्टेड’ लाई निर्मूल गर्ने हिसाबले अघि बढ्नुपर्छ ।”
उहाँले सार्वजनिक खरिद प्रक्रियाका कारण विकासे कार्यक्रमले प्रगति हासिल गर्न नसकेको उल्लेख गर्नुभयो । मूख्यसचिव अर्यालले निजी क्षेत्र स्वस्थ प्रतिस्पर्धी हुनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालयका सचिवलगायतले बजेटको प्रभावकारी कार्यान्वयन, नीतिगत समस्या समाधान, पूर्वाधार विकास, ऊजा, कृषि र पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदमबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
सीएनआइका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेट कार्यान्वयन प्रभावकारी बनाएर आर्थिक विकासलाई तीब्रता दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षण गरी दिगो विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सेजनका महासचिव विश्वास रेग्मीले बजेट कार्यान्वयन र प्राथमिकताका विषयबारे प्रस्तुतीकरण दिनुभएको थियो ।