टर्कीले ‘सबै पक्ष’ सम्मिलित युक्रेन शान्ति वार्तालाई सहयोग गर्ने


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई टेलिफोन गरी युक्रेनमा शान्तिस्थापनाका लागि ’सबै पक्ष’ सम्मिलित प्रक्रियालाई टर्कीले समर्थन गर्ने बताउनुभएको छ ।
एर्दोगानले पुटिनसँग भन्नुभयो, “टर्कीले युद्धको सुरुवातदेखि नै न्यायोचित शान्तिका लागि इमानदारीपूर्वक प्रयास गरिरहेको छ र यस सन्दर्भमा सबै पक्षको सहभागितामा दिगो शान्ति स्थापना गर्ने उद्देश्यले गरिएको दृष्टिकोणलाई समर्थन गर्दछ।
‘ब्ल्याक सी’ क्षेत्रका आफ्ना दुवै छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध रहेको टर्कीले गत मे महिनायता युक्रेन र रुसबीच तीन चरणको शान्ति वार्ता को आयोजना गरिसकेको छ ।
अङ्काराले युक्रेनको क्षेत्रीय अखण्डताको संरक्षणमा जोड दिँदै आएको छ भने रुसमाथि पश्चिमा प्रतिबन्धबाट पछि हटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा पुटिनसँग ऐतिहासिक भेट गरेको तीन दिनपछि सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग वासिङ्टनमा वार्ता गर्नुभएको थियो ।
नेटोका प्रमुख मार्क रुटले एर्दोगानलाई मङ्गलबार युरोप फर्कने क्रममा फोन गरेको टर्कीको राष्ट्रपतिको कार्यालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
उहाँहरू ‘नेटोको सबैभन्दा महत्त्वपूर्ण देशहरूमध्ये एकको रूपमा शान्ति प्रक्रियामा टर्कीको योगदान’ को बारेमा छलफल गर्नुभयो र घनिष्ठ समन्वयमा रहन सहमत हुनुभएको छ ।
उहाँहरुबीच सम्भाव्य र दिगो सुरक्षा प्रत्याभूतिका बारेमा पनि विचार आदानप्रदान भएको विज्ञप्तिमा उल्लेख छ ।