जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु


चितवन, ६ भदौः जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाअनुसार आज थप एक जनाको मृत्यु भएको हो ।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार आज आएको नतिजा अनुसार भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्धको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । उहाँले भन्नुभयो, “जिल्लामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने १३ जनामा यो रोगको सङ्क्रमण देखिएको छ ।”
कार्यालयका कीट नियन्त्रक राम केसीले यसअघि मृत्यु हुनेमा कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका जानकारी दिनुभयो । उहाँहरूको गत साउनयता मृत्यु भएको जनाउँदै उहाँले गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको बताउनुभयो ।
जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका नागरिकामा देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कालिका नगरपालिकामा दुई जनालाई सङ्क्रमण देखिएको छ भने भरतपुरका चार, राप्तीका दुई, खैरहनी र माडी नगरपालिकाका एक÷एक जनामा सङ्क्रमण देखिएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो रोग ‘क्युलेक्स’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । “यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर हुँदा नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा यो लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने हुँदा बाहिर काम गर्दा विशेष सर्तकता अपनाउनु पर्दछ”, उहाँले भन्नुभयो ।