`

शीप विकासलाई राष्ट्रिय प्राथमिकता बनाउन ऊर्जामन्त्री खड्काको आग्रह

Nepal One HD ७ भदौ २०८२ ८:५८
प्रमुख खबर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको समृद्धि र दिगो विकासका लागि प्राविधिक शिक्षा र सीप विकासलाई अपरिहार्य ठहर गर्दै यसलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

‘संखुवासभा जिल्लामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको आवश्यकता र औचित्य’ विषयक छलफल कार्यक्रममा उनले आजको युगमा केवल प्रमाणपत्रले मात्र रोजगारीको ग्यारेन्टी नगर्ने भन्दै व्यवहारिक र सीपयुक्त जनशक्ति उत्पादन अनिवार्य भएको प्रस्ट पारेका हुन् ।
उनले भने, ‘शिक्षालाई जीवनोपयोगी र व्यवसायिक बनाउनु अहिलेको आवश्यकता हो। देशको समृद्धिका लागि हामी सबैको समान जिम्मेवारी छ र स्रोतहरूको उच्चतम उपयोग गरेर आधुनिक शिक्षा तथा प्रविधिको माध्यमबाट मात्र गरीबीको ट्याग हटाउन सक्छौं ।’

यस्तै, उनले नेपालमा दक्ष जनशक्ति अभावका कारण महंगो भुक्तानीमा बाहिरबाट जनशक्ति भित्र्याउनुपर्ने बाध्यता रहेको भन्दै व्यवहारिक शिक्षा र सीपयुक्त तालिम विस्तार अपरिहार्य भएको उल्लेख गरे । उनले सरकारले ६४ खर्बको लगानीमा आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरेको गरेर अगाडी बढेको जानकारीसमेत दिएका छन् ।

संखुवासभा जस्तो सम्भावनायुक्त जिल्लामा कृषि, पर्यटन, जलविद्युत् तथा पूर्वाधारसँग सम्बन्धित प्राविधिक तालिमलाई प्राथमिकतामा राख्नुपर्ने पनि उनको भनाई छ । उनले भने, ‘हामीले वैदेशिक रोजगारीका लागि मात्र सीप दिने होइन, आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गर्ने खालका तालिमलाई प्रवद्र्धन गर्नुपर्छ । सरकार यसतर्फ गम्भीर छ र निजी क्षेत्र तथा स्थानीय तहसँग सहकार्य गरेर सीप विकासलाई सशक्त बनाउँदैछ ।’

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) का सदस्य सचिव महेश भट्टराईले विद्वान हुनु मात्र पर्याप्त नभएको भन्दै अबको समयमा रोजगारमूलक शिक्षा र सीप विकासमार्फत युवालाई सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले समाजमा ‘मास्टर हुँदा इज्जत नजाने’ भन्ने संस्कृतिलाई प्रोत्साहन गर्दै व्यवहारिक सीपलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सोही कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायत विभिन्न स्थानीय जनप्रतिनिधि, शिक्षाविद् तथा सरोकारवालाले प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई आधार बनाएर युवालाई अवसर दिन सकिने र यसले दिगो विकासलाई गति दिने विश्वास व्यक्त गरेका थिए ।

सो छलफलमा जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनता समाजवादी पार्टीलगायत विभिन्न राजनीतिक दलका नेताहरू एउटै मञ्चमा उपस्थित भएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विस्तारमा ऐक्यवद्धता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *