ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको प्रदर्शन, सर्वोच्चको आदेश कार्यान्वयनको माग


काठमाडौँ । सर्बोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मका आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपु सैनिकहरुले सडकमा मार्चपास गरेका छन् ।ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)को नेतृत्वमा हजारौंको संख्यामा उत्रेका भूपु सैनिकहरुले काठमाडौंको माइतीघर मण्डलाबाट नयाँबानेश्वर पुगी त्यहाँबाट फर्किएर पुनः मण्डलामा आई कोणसभा गरेका छन् ।
सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराजयबीच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसो लामो समयदेखि संघर्षको मैदानमा छ ।
यस भर्तिको विरुद्धमा खोलिएका संगठनहरु अहिले गुमनाम अवस्थामा पुगेका छन्, भने पदम सुन्दर लिम्बु नेतृत्वको बिगेसोको आन्दोलन उत्कर्समा पुगेको छ । उसले कुटनीतक, राजनीति पहल हुँदै, सडकदेखि सर्बोच्च अदालतसम्म गएर ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ ।
बिगेसोले अदालतमा लडेको कानुनी लडाईले ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले २४ माघ २०७९ सालमा फैसला मात्रै गरेन उसले नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश नै जारी गरिसकेको छ ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बिगेसोको गुनासो छ ।
सरकारलाई कार्यान्वयनको लागि दबाबस्वरुप निरन्तर संघर्ष गर्दै आइरहेको बेला पछिल्लो समय सरकारले बिगेसोसँग बार्ता पनि गर्न थालेको उनिहरु बताउँछन् । सरकारले बार्ता गरे पनि कर्मकाण्ड चलाएको भन्दै आन्दोलन चर्काउँदै लगेका छन्, त्यसैको द्योतककारुपमा आजको प्रदर्शन बनेको छ ।