`

भलिबल कपको उपाधि नेपाल पुलिस क्लबलाई

रामपुर (पाल्पा-पाल्पाको रामपुरमा आयोजना भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको पारेको छ । उपाधिसँगै पुलिसले रु दुई लाख २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस क्लबले २५–२१, २५–१२ र २५–२२ अङ्कले खेल जितेको हो । त्रिभुवन आर्मी क्लब तेस्रो भयो । निस्दी भलिबल क्लबले सान्त्वना पुरस्कार प्राप्त गरेको खेल संयोजक कमल रानाले बताए । आर्मीले निस्दी भलिबल क्लबलाई ३–१ सेटले पराजित ग¥यो । आर्मीले पहिलो सेट २५–२१ अङ्कले, तेस्रो सेट २५–१९ तथा चौथो सेट २५–१९ अङ्कले जितेको हो । निस्दीले दोस्रो सेट २५–१९ अङ्कले जितेको थियो ।

प्रतियोगितामा उपविजेता भएको एपिएफ क्लबले रु एक लाख ५५ हजार पाँच सय ५५, तृतीय भएको आर्मीले रु एक लाख एक हजार एक सय ११ तथा सान्त्वना हुने निस्दीले रु ५५ हजार पाँच सय ५५ पत्र प्राप्त गरेको छ । 

चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कप भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा विभागीय टोली आर्मी क्लब, एपिएफ क्लब र पुलिस क्लबका साथै मणिमुकुन्द भलिबल क्लब र निस्दी भलिबल क्लब सहभागी भएका थिए । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिस क्लबका रेशम छन्त्याल, उत्कृष्ट डिफेन्डर एपिएफ क्लबका विनोद चन्द, उत्कृष्ट सर्भर पुलिस क्लबका पहल गहतराज, उत्कृष्ट ब्लकर पुलिस क्लबका सफल विक, उत्कृष्ट सेटर एपिएफ क्लबका दिपेश कुँवर, उत्कृष्ट स्पाइकर आर्मी क्लबका धनबहादुुर भट्ट र उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका चन्द्र कुँवर घोषित भए ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजना, रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल सङ्घको सहआयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल सङ्घको समन्वयमा यही माघ २१ गतेदेखि भलिबल कप सुरु भएको हो । विजयी टोली तथा खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, रामपुरका नगर प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना र रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घका रासायनिक हतियार निगरानी निकायका प्रमुख र सिरियाली नेताबीच भेटवार्ता

विश्वका रासायनिक हतियार निगरानी निकायका प्रमुखले शनिबार सिरियाका नयाँ नेतासँग भेटवार्ता गर्नुभएको छ ।

सिरियामा १३ वर्ष लामो गृहयुद्धका बेला पटक–पटक यस्ता हतियार प्रयोग गरेको आरोप लागेका बशर अल असदलाई सत्ताच्यूत गरेपछि पहिलो पटक दमास्कसको भ्रमणका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो ।

सिरियाका अन्तरिम नेता अहमद अल–शरा र विदेशमन्त्री असद अल–शैबानीले संगठनका प्रमुख फर्नान्डो अरियासको नेतृत्वको ‘अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स’ को प्रतिनिधिमण्डललाई स्वागत गरेको सिरियाली राष्ट्रपतिले बताउनुभएको छ ।

एक दशकभन्दा अघि सिरियाले आफ्नो घोषित भण्डार विनाशका लागि हस्तान्तरण गर्न सहमति जनाएको थियो, तर रासायनिक हतियार निषेध सङ्गठन (ओपीसीडब्लु) ले यो घोषणा अधुरो रहेको र थप हतियार बाँकी रहेको भन्दै सधैं चिन्ता व्यक्त गर्दै आएको छ।

ओपीसीडब्लुको यो भ्रमणले सिरियाले वर्षौंको ढिलासुस्ती र निकायको काममा अवरोध गरेपछि यस्ता हतियारबाट मुक्त हुने आशा जगाएको छ ।राष्ट्रपतिले शारा र शैबानीले अरियाससँग हात मिलाउँदै गरेको तस्बिर पनि सेयर गरेका छन् ।

इस्लामवादी नेतृत्वको विद्रोहीहरूद्वारा अल–असदको नाटकीय सत्ताच्युत भएपछि सिरियामा रासायनिक हतियारको भण्डारको भविष्यबारे व्यापक चिन्ता व्यक्त गरिएको छ।ओपीसीडब्लुले अल–असदको पतनपछि सिरियाली सेनाका स्थलहरूमा इजरायली आक्रमणमा बहुमूल्य प्रमाणहरू नष्ट भएको हुन सक्ने चिन्ता पनि व्यक्त गरेको छ ।

इजरायलले ‘अतिवादी’को हातमा पर्न नदिन आफ्नो निशाना सिरियाली रासायनिक हतियार समेत रहेको बताएको छ ।सन् २०१३ मा सिरिया ओपीसीडब्लुमा सामेल हुन, रूसी र अमेरिकी दबाबमा आफ्नो विषाक्त भण्डारको खुलासा गर्न वा हस्तान्तरण गर्न र वासिङ्टन र उसका सहयोगीहरूद्वारा हवाई आक्रमणको खतराबाट बच्न सहमत भएको थियो।

अमेरिकी गुप्तचर निकायका अनुसार दमास्कसको घौटा उपनगरमा भएको शङ्कास्पद रासायनिक आक्रमणमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो र यसको श्रेय सिरियाली सरकारलाई दिइएको थियो।

रासायनिक हतियारको प्रयोगलाई ‘रेड लाइन’ मा जोड दिइए तापनि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले संयुक्त राष्ट्रसङ्घको निगरानीमा सिरियाको रासायनिक हतियार नष्ट गर्ने विषयमा रुससँग सम्झौता गर्नुको साटो प्रतिशोधात्मक आक्रमणबाट पछि हट्नुभएको थियो ।

रिग्दी खोलामा असला माछा देखिन छाड्यो

मुग्लिन (चितवन), २७ माघ : चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्नेक्रम बढेपछि यहाँका असला माछा मासिँदै गएका छन् ।

विषादी हाल्ने र करेन्ट लगाउनेक्रम नरोकिएपछि स्थानीय माछासहित जलचर प्राणीको संरक्षण गर्न लागिपरेका छन् । इच्छाकामना –२ का स्थानीयले शनिबार माछा संरक्षण समिति गठन गरेका छन् । संरक्षण समितिले विषादी र करेन्ट प्रयोगले पार्ने असरबारे खोला आसपास बसोबास गर्ने स्थानीयलाई जानकारी गराउने, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी विषादी र करेन्ट प्रयोग गर्दा हुने कानुनी कारबाहीलगायत जनचेतनामूलक कार्यक्रम गर्ने, सूचना बोर्डहरु राख्नेलगायत काम गर्ने माछा संरक्षण समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताउनुभयो । सम्झाउँदा अटेर गरे समितिले कानुनी कारबाहीका लागि स्थानीय प्रशासनलाई जानकारी गराउने उहाँले बताउनुभयो ।

गाउँपालिकाले पछिल्लो केही वर्षदेखि खोलामा विषादी नहाल्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गर्दै आएको गाउँपालिका अध्यक्ष दानबहादुुर गुरुङले बताउनुभयो । विषादी हाल्ने र करेन्ट लगाउने गरेमा वडा कार्यालय, गाउँपालिका कार्यालय र स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरेको उहाँले बताउनुभयो । विषादी हाल्ने र करेन्ट लगाउनेलाई कानुनी कारबाही गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

संरक्षण समितिका अध्यक्ष प्रजाका अनुसार पहिलेपहिले जाल खेल्दै जाँदा पाँच÷छ पटकमा फुर्लुङ भरिने गथ्र्यो । यहाँका स्थानीयले माछा सुुकुटी बनाएर बजारसम्म बेच्न पु¥याइन्थ्यो । अहिले दिनभरमा पनि एकछाक खान पुग्ने माछा पाउन मुस्किल हुने गरेको छ । उहाँले भन्नुभयो, “यहाँका स्थानीयले पहिले माछा सुकुटी बनाएर बजार समम बेच्न लगिन्थ्यो अहिले दिनभर जाल खैल्दै जादाँ एक छाक पुग्ने माछा पाउन मुस्किल हुन्छ ।”

अर्का स्थानीय टीकाबहादुुर गुरुङले स्थानीय सरकारले रिग्दीको असला माछालाई संरक्षण गरी यसैलाई ‘ब्राण्ड’ बनाउन सकिने बताउनुभयो । माछा संरक्षणका लागि स्थानीय सरकारले विषादी हाल्ने करेन्ट लगाउनेलाई पूर्ण रुपमा रोक्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “परम्परागत रुपमा माछा मार्न दिएर विषादी हाल्ने र करेन्ट लगाउनेलाई पूर्ण रुपमा रोक्नुपर्छ, यहाँको असला माछालाई ब्राण्ड बनाउन सकिन्छ, स्थानीयको आयआर्जनको स्रोत बन्नेछ ।”

पर्यटकीयस्थल शैलुङडाँडा

दोलखाको शैलुङ गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल शैलुङडाँडा । ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भएकाले यस स्थलको नाम शैलुङ राखिएको स्थानीय बताउँछन् । तस्बिरः हरिराम भेटुवाल

दोलखाको शैलुङ गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल शैलुङडाँडा ।

माधवनारायणका बर्तालु निस्के चाँगुनारायणको परदेश यात्रामा

काठमाडौँ – साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालु शनिबार बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् ।

माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधि रहेको छ । माघ शुक्ल द्वादशीका दिन बर्तालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी चाँगुनारायणमा साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ । परदेश यात्रा सकी बर्तालु चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ । आइतबार साँखु फर्कने बर्तालुले त्यहीँ भोजन गर्न पाउनेछन् । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुलाई खीर (तस्मी) खुवाइएको थियो ।

बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ । माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बास बसिएको थियो । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइएको थियो ।

परदेशमा भोजन गर्ने स्थान

परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि बर्तालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउनुभयो । परदेश यात्रामा बर्तालुका साथ स्वयंसेवक पनि हुन्छन् । बर्तालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि छ ।

परदेश यात्रा विघ्नबाधाबिना नै सम्पन्न भएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो । बर्तालुको परदेश यात्राका क्रममा पशुपति क्षेत्र विकास कोष, स्थानीयवासीलगायतले पनि सहयोग गरेको उहाँले बताउनुभयो । माधवनारायण व्रत कठोर व्रतमध्येमा पर्छ । कठोर व्रत भए पनि बर्तालुले सहज रूपमा यसको अभ्यास गर्दै आएका छन् ।

वन पैदावारबाट एक अर्बबढी राजस्व

गण्डकी, २७ माघः वन पैदावार र जडीबुटीको बेचबिखनबाट गण्डकी प्रदेश सरकारले पछिल्लो सात वर्षमा रु एक अर्ब १३ करोड ५० लाख १२ हजार तीन सय ८८ राजस्व सङ्कलन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा राष्ट्रिय तथा निजी वनबाट करिब ६५ हजार क्युफिट काठ र १२ हजार एक सय ४३ चट्टा दाउरा उत्पादन भएको छ । आठ लाख दुई हजार छ सय २९ किलो जडीबुटी सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ ।

वन पैदावारको सङ्कलनलगायत कामबाट करिब २५ लाखभन्दा बढी श्रमदिनको रोजागारी सिर्जना भएको मन्त्रालयका सूचना अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार र जडीबुटी उत्पादन र सङ्कलनबाट बर्सेनि करोडौँ रुपैयाँ आम्दानी गर्ने गरेको उहाँको भनाइ छ ।

मन्त्रालयले दण्ड–जरिवाना, काठ, दाउरा, जडीबुटी, ठेक्का बिक्री आदिबाट राजस्व सङ्कलन गर्दै आएको छ । जडीबुटीको व्यावसायिक उत्पादन र वन पैदावारमा आधारित उद्योग विस्तार गर्नसके उपभोक्ताको आयआर्जन थप बढ्ने उहाँले बताउनुभयो ।

वनजन्य उत्पादनको उचित व्यवस्थापन र उपयोग नहुँदा स्रोतसाधन यसैखेर जाने अवस्था छ । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वन क्षेत्रमा रहेका खाली जग्गामा फलफूलजन्य बोट बिरुवादेखि जडीबुटी खेती विस्तारमा राज्यले जोड दिनुपर्ने धारणा राख्नुभयो । “वनजन्य उत्पादनको संरक्षण, व्यवस्थापन र सदुपयोगका लागि उचित नीति तथा कार्ययोजना ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “यसले वन समूहलाई पनि बलियो बनाउँछ, अर्कातिर वन पैदावारबाट राजस्व पनि बढ्छ ।”

सामुदायिक वन समूहले गरेको आम्दानी सामुदायिक विकासमा नै खर्च हुँदै आएको छ । वनको आम्दानी विपन्न समुदाय, वन विकास र सामुदायिक विकासमा लगानी हुँदै आएको छ । प्रदेश सरकारले पनि जडीबुटी विकास कार्यक्रमका लागि बर्सेनि बजेट खर्च गर्दै आएको छ । वन पैदावारको संरक्षण तथा सदुपयोग गर्न ढलापडा काठदाउरा सङ्कलनको व्यवस्था, वनमा आधारित उद्योग र वन क्षेत्रको दूरी निर्धारणलगायत काम गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकार स्थापना भएयता ८७ लाख दुई हजार एक सय ४२ बिरुवा उत्पादन गरी सार्वजनिक तथा निजी क्षेत्रमा वृक्षरोपणका लागि निःशुल्क वितरण गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न स्थानीय तहमा दुई सय २८ हरित उद्यान स्थापना र ६७ सामुदायिक वनमा पर्या–पर्यटन कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशभर ७६ वटा वर, पीपल, समीका रुख भएका चौतारो निर्माण, मर्मतसम्भार र सौन्दर्यीकरण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले फर्निचर, जडीबुटी प्रशोधन केन्द्रलगायत वनजन्य उद्यम स्थापनामा पनि लगानी गर्दै आएको छ ।

हालसम्म १० दशमलव ३ हेक्टर वन अतिक्रमण नियन्त्रण गरिएको जनाइएको छ । चार हजार दुई सय ५० वन्यजन्तुको उद्धार गरिएको छ । वन्यजन्तुका कारण बालीनालीको क्षति व्यहोरेका किसानलाई रु नौ करोड ६० लाख राहत वितरण गरिएको छ ।

मन्त्रालयले जलाधार तथा सिमसार व्यवस्थापन, राष्ट्रिय वन विकास तथा व्यवस्थापन, ताल संरक्षण, वन अनुसन्धान, वातावरणको जगेर्नालगायत क्षेत्रमा काम गर्दै आएको छ । रामसारमा सूचीकृत पोखरा उत्पत्यका क्षेत्रका नौ तालसहित ४५ वटा तालमा संरक्षण र पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ ।

काठमाडौँ जाँदै गरेको बस सेतीदोभान पुलबाट खस्यो

भरतपुर, २७ माघ : नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

‘आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन ’ – खानेपानी मन्त्रालय

काठमाडौँ, २७ माघ : खानेपानी मन्त्रालयले शनिबार सिंहदरवारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ ।

मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति नभएको उल्लेख गर्नुभएको छ । आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखबाट घटनाको स्थलगत निरीक्षण गरी क्षतिबारे जानकारी लिने काम भएको थियो ।

घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी तथा बारुणयन्त्र (दमकल) को सहायतामा करिब १५ मिनेटमा उक्त आगलागी नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ । आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको उल्लेख गर्दै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘अर्थतन्त्र सुधारका लागि पहल जारी छ’ – अर्थमन्त्री पौडेल

काठमाडौँ, २७ माघ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ । उहाँले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताउनुभयो ।

नेपाल व्यवस्थापन सङ्घको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालन विषयमा सङ्घद्वारा तयार पारिएको अध्ययनमा अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुतीकरण गर्नुभएको थियो भने लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं ‘इन्स्टिच्यूट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज ( आइआइडिएस)’ का कार्यकारी निर्देशक विश्वास गौचनले टिप्पणी गर्नुभएको थियो ।

राष्ट्रिय बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल, कर्मचारी सञ्चय कोषका प्रशासक जीतेन्द्र धिताल, त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी पूर्व डीन प्राध्यापक डा कुसुम शाक्य तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले स्रोत परिचालनका विभिन्न आयामका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले परियोजना कार्यान्वयनको क्षमता विकास तथा परियोजना पूर्वतयारी गरी विश्वसनीय र ब्यांकेबल परियोजना तयारीमा जोड दिनुभयो ।

दीर्घकालीन कोष परिचालन गर्ने नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, पेन्सन फण्ड र जीवन बीमा फण्डमा रु १५ खर्ब बढी रकम रहेकामा ठूलो हिस्सा पूर्वाधार (सार्वजनिक र निजी आर्थिक रूपमा सम्भाव्य कुनै पनि परियोजना) मा लगानी गर्न सकिने सम्भावना छ ।

त्यसमध्ये रु आठ खर्ब अवकाश कोष (रिटायरमेन्ट फण्ड) मा रहेको र यो कोष हरेक वर्ष विस्तार हुने क्रममा रहेकाले सरकारले लगानीका औजार विस्तार गरेर उक्त कोष पूर्वाधार विकासमा प्रयोग गर्ने साथै उल्लिखित संस्थाहरूलाई नै स्वपुँजी लगानी र फाइनान्सिङका लागि विश्वसनीय परियोजना सरकारले दिनुपर्ने विषयमा सो कार्यक्रममा छलफल भएको थियो ।

हालसम्म यी कोषबाट औसतमा आठ प्रतिशत मात्र पूर्वाधारमा लगानी परिचालन भएकामा सबैभन्दा बढी कर्मचारी सञ्चय कोषले १६ दशमलव पाँच प्रतिशत ऊर्जा, रियलस्टेट तथा पर्यटन (हवाइ उड्ययन) का क्षेत्रमा लगानी भएको छ । यस्तै, जीवन बीमा कोषको अत्यन्त न्यून हिस्सा मात्र पूर्वाधारमा लगानी भएको छ ।

व्यवस्थापन सङ्घका अध्यक्ष मोहनराज ओझाले दीर्घकालीन कोष परिचालन गर्ने संस्थाहरूले पोर्टफोलियो विविधिकरण गरी पूर्वाधारमा लगानीमार्फत् मुलुकमा उत्पादन र रोजगारी वृद्धि गर्नुपर्ने बताउनुभयो । सो अवसरमा सङ्घले हरेक वर्ष प्रदान गर्दै आएको ‘म्यानेजर अफ द इयर अवार्ड’ उर्मिला श्रेष्ठलाई प्रदान गरेको थियो । श्रेष्ठ सन् २००७ यता प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २७ माघ : नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७० पैसा र बिक्रीदर ८८ रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १५ पैसा र बिक्रीदर चार रूपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रूपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४४ पैसा र बिक्री दर ३१ रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६६ पैसा र बिक्रीदर नौ रूपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८३ पैसा र बिक्रीदर १२ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ २७ पैसा र बिक्रीदर ४५४ रूपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ २७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १२ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

सिनामङ्गल नयाँ पुल क्षेत्रबाट नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २६ माघः वाग्मती सफाइ महाअभियानको ६१३औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नयाँ पुल क्षेत्रको किनारमा सफाइ गरी नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

काठमाडौँ महानगरपालिका–९ को नेतृत्वमा भएको सफाइका क्रममा उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । 

सो क्षेत्रको सफाइका लागि वडा कार्यालयको नेतृत्वमा रोटरी क्लब बानेश्वर र बत्तीसपुतली युवा समाजले समेत पहल गरेका थिए । सफाइमा सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि, वडाका जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल नं २० गणस्थित विपद् उद्धार सिनामङ्गल काठमाडौँका सशस्त्र प्रहरी निरीक्षक गोपाल बिष्टको कमान्डमा १७ जना, हिमालन गोर्खा सेक्युरिटी प्रालिबाट १५, बत्तीसपुतली युवा समाज एवं बानेश्वर रोटरी क्लबका ४०, वडावासी, समाजसेवीलगायतको सक्रिय सहभागिता रहेको थियो । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ ।

दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडौँ, २६ माघः भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको आज उद्घाटन गरिएको छ ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत रु दुई करोड ५३ लाख लागतमा निर्माण हुने उक्त परियोजनाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा उहाँहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियोे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको उपस्थिति थियो ।

भारत सरकारको अनुदान स्वास्थ्य चौकी भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) का रूपमा लिएर दार्चुलाको नौगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो ।

निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवासुविधा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरिएको छ । निर्मित स्वास्थ्य चौकी भवनले सेवा प्रवाहमा सुधार गर्न मद्दत गर्नुका साथै सुदूरपश्चिम क्षेत्रका नागरिरको उपचार पहुँच वृद्धि गर्ने अपेक्षा लिइएको गाउँपालिकाका अध्यक्ष धामीले बताउनुभयो । यस परियोजनाबाट १५ हजार बढी जनता लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नारायणी अस्पताल यथाशीघ्र निर्माण गर्न नागरिक समाजको दबाब

वीरगञ्ज (पर्सा), २६ माघः वीरगञ्जस्थित नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नति पाँच वर्षदेखि अलपत्र परेको भन्दै यथाशीघ्र काम सुरु गर्न आमनागरिक समाज, स्वास्थ्यकर्मी र स्थानीयले आज यहाँ दबाबमूलक र्‍याली गरेका छन् ।

भवन निर्माणसम्बन्धी मुद्दा पाँच वर्षदेखि सर्वाेच्च अदालतमा विचाराधीन हुँदा स्तरोन्नति काम अलपत्र परेको भन्दै यथाशीघ्र काम सुरु गर्नुपर्ने मागसहित आमनागरिक समाज र स्थानीयले एक सातादेखि दबाबमूलक कार्यक्रम गर्दै आइरहेका हुन् । 

अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माण गर्ने मुद्दा पाँच वर्षदेखि सर्वाेच्च अदालतमा विचाराधीन हुँदा स्वास्थ्य सेवा प्रभावित भएकाले यथाशीघ्र समस्या समाधान गरी निर्माण अघि बढाउनुपर्ने मागसहित दबाबमूलक कार्यक्रम थालिएको आमनागरिक समाजले जनाएको छ । 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले अस्पताल स्तरोन्नतिसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा पाँच वर्षदेखि विचाराधीन भएकाले शय्या र सेवा विस्तार गर्ने योजनामा असर पारिरहेको बताउनुभयो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७५÷७६ मा नारायणी अस्पतालको नयाँ भवन निर्माण गर्नका लागि भ्याटसहित रु डेढ अर्ब रकम विनियोजन गरेको थियो । भवन निर्माणसम्बन्धी मुद्दा पाँच वर्षदेखि लम्बिँदा अस्पताल स्तरोन्नतिको योजनाले गति लिन सकेको छैन । 

सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्ज र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्राली÷नेसनल डेभलपमेन्ट इन्जिनियरिङ संयुक्त उपक्रमबीचको विवादले भवन निर्माणको काम प्रभावित हुँदै आइरहेको अस्पताल प्रशासनले जनाएको छ । 

अस्पतालका मेसु दासले बोलपत्रमा सहभागी भएको कम्पनीको आवश्यक कागजात नभएकाले आयोजना र कम्पनीबीचको विवाद चर्किएर सर्वाेच्च अदालतसम्म मुद्दा पुगेको जानकारी दिनुभयो । 

“बोलपत्रमा सहभागी कम्पनीहरूको आवश्यक पर्ने कागजपत्र पूर्णता परीक्षण गर्दा उपक्रममा सहभागी भएको एउटा कम्पनीको राजस्व दाखिला गरेको कागज नभेट्टिएपछि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीच विवाद भएको थियो”, उहाँले भन्नुभयो, “सोही विवादको अहिलेसम्म न्यायिक निरुपण हुन नसक्दा अस्पतालको भवन निर्माण प्रभावित हुँदै आइरहेको छ ।”

वीरगञ्ज महानगरका पूर्वनगरप्रमुख विजय सरावगीले नारायणी अस्पतालको यहाँका जनताको आवश्यकता भएकाले पनि यथाशीघ्र भवन निर्माण प्रक्रिया अघि बढाउन जरुरी रहेको बताउनुभयो । 

“अस्पतालले यो क्षेत्रका नागरिकलाई सेवा दिँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “अस्पतालको पुरानो संरचना जीर्ण भएकाले नयाँ पूर्वाधार निर्माण गर्नु जरुरी भइसकेको छ । सरकारले अघि सारेको पाँच सय शय्याको भवनसम्बन्धी विवाद लामो समयसम्म चलिरहँदा निर्माण प्रभावित भएको छ । त्यसैले अदालतले उक्त मुद्दाको टुङ्गो लगाउन जरुरी छ ।” पूर्वनगरप्रमुख सरावगीले सर्वाेच्च अदालतले जनताको स्वास्थ्यसँग जोडिएको मुद्दा भएकाले पनि अग्राधिकारमा राखेर फैसला गरिदिन अनुरोध गर्नुभयो । 

पाँच सय शय्याको भवन निर्माण समितिका संयोजक एवं पूर्वसांसद राजेश्वर साह तेलीले भवन निर्माणसम्बन्धी मुद्दा लामो समयसम्म लम्बिँदा यहाँका जनता स्वास्थ्य सेवाबाट बञ्जित हुँदै आइरहेका भन्दै यथाशीघ्र मुद्दाको टुङ्गो लगाउन दबाब सिर्जना गर्ने उद्देश्यले र्‍याली गर्नुपरेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले नारायणी अस्पताल वीरगञ्जको स्वास्थ्य धरोहर रहेकाले पनि यथाशीघ्र मुद्दाको टुङ्गो लगाई विवादको निरुपण हुनुपर्ने माग गर्नुभयो । “यो दबाबमूलक अभियानलाई निष्कर्षमा पु¥याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ”, उहाँले भन्नुभयो ।

प्रदेशसभा बैठकः प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित

मकवानपुर, २६ माघः बागमती प्रदेशसभाको आजको बैठकले ‘प्रदेश खेलकुद विकास ऐन २०७५, लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिबाट पारित गरेको छ । उक्त विधेयक पारित गरियोस् भनी प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बैठकमा पेस गर्नुभएको थियो ।

सोही विधेयकमाथि दफावार छलफलका क्रममा सांसद रत्नप्रसाद ढकाल र छिरिङदोर्जे लामाले विधेयकमाथि प्रश्न उठाउनुभएकामा मन्त्री महर्जनले उत्तर दिनुभएको थियो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

देशको राजनीतिले असल पार्टी खोजेको छः अध्यक्ष नेपाल

काठमाडौँ, २६ माघः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै उहाँले महङ्गी नियन्त्रण, बेरोजगारी समस्या समाधान, भ्रष्टाचार नियन्त्रण, जनजीविका क्षेत्रमा सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले सरकारले संसद्को अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशबाट शासन सञ्चालन गर्न खोजको भन्दै विरोध जनाउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले देशको राजनीतिले असल पार्टी, दूर दृष्टिकोण भएका नेताहरूको खोजी गरेकाले असल चरित्रको विकास गर्दै पार्टी निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो ।

पार्टी महासचिव घनश्याम भुसालले अहिले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा अनेक समस्या आएको धारणा राख्नुभयो । उहाँले बिग्रिएको राजनीतिक कोर्सलाई सच्च्याउन कम्युनिष्ट पार्टीका रूपान्तरण तथा पुनः गठनको खाँचो औँल्याउनुभयो ।

पार्टीका सचिव सावित्रा भुसालले सङ्गठनको सुदृढीकरण, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजना निर्माणमा अधिवेशन केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो । उपत्यका प्रदेश कमिटीका सचिव विष्णु लम्सालले अधिवेशनले सङ्गठनभित्र रहेका फरक मत तथा विचारहरू, असन्तुष्टि र असहमतिलाई विश्लेषण गरी नयाँ कार्यसमिति निर्वाचित गरिने जानकारी दिनुभयो ।

मुक्तकमैया, कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्नेः मन्त्री राणा

गोदावरी (कैलाली), २६ माघः परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु सङ्घले आज कैलारी गाउँपालिकाको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेला उद्घाटन कार्यक्रममा उहाँले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको जीवनस्तर सुधारका लागि सरकारले आवश्यक नीति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तत्कालीन सरकारले २०५७ सालमा कमैया प्रथा उन्मूलन गरेर नागरिक बनाउने काम गरेकाले ती नागरिकको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गर्न वर्तमान सरकारले पहल गर्ने परराष्ट्रमन्त्री राणाले बताउनुभयो । दुई ठूला दल मिलेर गठन भएको अहिलेको सरकारले मुलुकको समग्र विकासका लागि योजना तयार गरेर अघि बढ्दै गएको उहाँले उल्लेख बताउनुभयो । 

परराष्ट्रमन्त्री राणाले सरकारले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिलो चरणमा स्कुलस्तरबाट चेकजाँच गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले विशेष गरी नेपालमा सिकलसेल रोग थारु समुदायमा देखिने गरेको भनिए पनि अन्य देशमा अरु समुदायमा पनि यो रोग देखा पर्न थालेको अनुसन्धानहरूले देखाएका बताउनुभयो ।

उहाँले थारु समुदायलाई राज्यका विभिन्न निकायमा पहुँच बढाउन सरकारले योजना पहल गर्दै गइरहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रसकी केन्द्रीय सदस्यसमेत रहनुभएकी मन्त्री राणले थारु समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले  कांग्रेसले थारु विभाग गठन गरेको जानकारी दिनुभयो । 

‘जनै हराएको बाहुन’ चलचित्रमा गौरव पहारी र रियर राई अनुबन्धित

काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता गौरव पहाडी र रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रको लागि यसअघि अभिनेता विजय बरालले प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन् ।

पेपरक्लिप प्रालिको ब्यानरमा बनाउन लागेको यस चलचित्रमा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन् । यसमा उनले अभिनय समेत गर्नेछन् । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहको चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

यस चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।
यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।

समाजसेवा चेतना पुरस्कारबाट उपसभामुख राना मगर सम्मानित

मोरङ, २६ माघः चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको हो । उहाँलाई रु ५१ हजार राशिको उक्त पुरस्कार एवं सम्मानपत्र प्रतिष्ठानका अध्यक्ष गङ्गा सुवेली, पुरस्कार संस्थापक दीनबन्धु गोयल र प्राडा बाबुराम तिमिसिना प्रदान गर्नुभयो ।

यसैगरी, धर्मानन्द रामप्यारी सिटौला रु एक लाख ५१ राशिको साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चुडामणि बन्धुलाई प्रदान गरिएको छ । साथै बालकिसन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ) लाई प्रदान गरिएको छ । 

रु ५१ हजार राशिको नरेश सुवेदी पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौँ), डा नरेन्द्र/योगमाया/भवानीशङ्कर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ/मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी, रु एक लाख एक हजार राशिको जगत्बन्धु/श्रीमती अञ्जु कार्की चेतना पुरस्कार सोमराज कट्टेललाई प्रदान गरिएको छ । 

सो अवसरमा उपसभामुख मगरले पुरस्कारको रकम झापाका युवाहरूलाई स्वरोजगारमूलक सीप विकाससम्बन्धी तालिम सञ्चालनका लागि प्रदान गर्ने बताउनुभयो । उहाँले असहाय बालबालिकाको सेवा एवं संरक्षणले मुलुकमा परिवर्तन ल्याउनाका साथै समृद्धि कायम गर्न सकिने विचार राख्नुभयो । प्रतिष्ठानका अध्यक्ष सुवेदी, प्राडा तिमिल्सिना, पुरस्कार संस्थापक गोयललगायतले यस प्रकारका पुरस्कार वितरणले समाजमा साहित्य तथा कला संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा

सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरिएको छ । बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा राख्दै आएका १८३ कैदीलाई रिहा गरेको छ । शनिबार रिहा भएका तीन इजरायली बन्धकहरू ५६ वर्षीय ओहाद बेन अमी, ५२ बर्षीय एली शाराबी र ३४ बर्षीय या लेवीलाई शनिबार नै उनीहरूको परिवार र आफन्तको जिम्मा लगाइएको छ ।

हमासले रिहा गरिएका बन्धकलाई गाजाको देइर अल–बलाह शहरको तोकिएको हस्तान्तरण स्थलबाट अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को जिम्मा लगाएको हो ।
कमजोर र थकित देखिएका तीनै जना बन्धकहरूलाई मञ्चबाट आफ्ना अनुभव र रिहाइबारे बोल्नका लागि हमासले निर्देशन दिएपछि उनीहरूले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले आईसीआरसीलाई सुम्पेको थियो ।

हमासले बन्धक बनाएका तीन जना इजरायली बन्धकलाई मध्य गाजाबाट आइसीआरसीको टोलीले इजरायली सीमामा तैनाथ इजरायली रक्षा बल (आइडीएफ)समक्ष स्थानान्तरण गरिएको थियो ।

इजिप्ट र कतारको मध्यस्थता र संयुक्त राज्य अमेरिकाको समन्वयमा हमास र इजरायलबीच युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक–कैदी अदलाबदलीको यो पाँचौँ समूह हो ।

यसैबीच, इजरायलले शनिबारदेखि नै थप इजरायली जेलबाट थप १८३ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको हो ।

बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो

मकवानपुर, २६ माघः बागमती प्रदेशसभाको बैठकले चार वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको छ । प्रदेशसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पेस गर्नुभएको ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो ।

उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रोदशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’लाई पर्यटन तथा वातारण समितिमा पठाइएको छ ।

यसैगरी आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पेस गर्नुभएको प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफाार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ ।

ती विधेयक सोही बैठकले सर्वसम्मत्तिले स्वीकृति प्रदान गरेको थियो ।  ‘प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ आजको बैठकमा पेस हुने कार्यसूचीबाट हटाइएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

माओवादीले १० वर्षसम्म युद्ध गरेर जनताका अधिकार सुनिश्चित गर्यो : उपमहासचि पुन

तम्घास, २६ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले वर्तमान व्यवस्थाको हकदार माओवादी रहेको बताउनुभएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा पार्टीको तेस्रो अधिवेशनमा आज उहाँले वर्तमान व्यवस्थामाथि विभिन्न प्रश्न उठिरहेको बेला १० वर्षे माओवादी आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न सफल भएकाले यसको जस माओवादीले लिनुपर्ने बताउनुभएको हो ।

“माओवादीले १० वर्षसम्म युद्ध गरेर जनताका अधिकार सुनिश्चित ग¥यो । हामीले यो एजेण्डा आम नागरिकमाझ स्थापित गर्नुपर्छ”, नेता पुनले भन्नुभयो । पूर्वमन्त्री पुनले पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेकै कारण सत्ताबाहिर हुनुपरेको बताउनुभयो ।

विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो : अध्यक्ष दाहाल

काठमाडौँ, २६ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियू (क्रान्तिकारी)को चुनावले विद्यार्थी नहुने तर नेता हुने स्थितिको अन्त्य गरेको बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको सपथ तथा पदभार ग्रहण कार्यक्रममा उहाँले यसबाट माओवादीले नीति र नेतृत्व दुवै लोकतान्त्रिक विधिबाट टुङ्ग्यायो भन्ने शक्तिशाली सन्देश प्रवाहित भएको बताउनुभयो ।

“उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुङ्गो लगाउनुपर्छ भनेर दृढतापूर्वक लागेर पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुङ्गो लगाउनु महत्वपूर्ण अभ्यास हो”, अध्यक्ष दाहालले भन्नुभयो, “अहिले आएको परिणामले मिलेर अघि बढ्ने र सङ्गठनलाई एकताबद्ध बनाउने वातावरण बनेको छ ।”

आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उहाँले स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन र एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गर्नुभयो । अध्यक्ष दाहालले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि स्ववियू निर्वाचन महत्वपूर्ण चुनौतीको रूपमा आएकोसमेत बताउनुभयो ।

त्यस अवसरमा निवर्तमान अध्यक्ष पञ्चा सिंहले नवनिर्वाचित अध्यक्ष विजयप्रकाश शर्मा सापकोटालाई कार्यभार हस्तान्तरण गर्नुभयो ।  यही माघ १२ गते सम्पन्न निर्वाचनबाट केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय सदस्य एवं केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य निर्वाचित भएका थिए ।

पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’

काठमाडौँ, २६ माघः प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द ब्लु पेभेलियन’ सञ्चालनमा आएको छ । प्रहरी कर्मचारीलाई स्वस्थ, चुस्तदुरस्त र तनावमुक्त बनाउने अभिप्रायले निर्माण गरिएको सो भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभयो ।

कुल रु ७५ करोड ८७ लाख २९ हजारको लागतमा निर्माण गरिएको उक्त भवनमा बहुउद्देश्यीय हल, ब्याडमिन्टन कोर्ट, कन्फ्रेन्स हल, विशिष्ट तथा अतिविशिष्ट कक्ष, स्वास्थ्य कक्ष, जिम हलसहित दुईतले भूमिगत पार्किङलगायत सुविधा रहेको छ । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ भदौ २४ गते शिलान्यास गर्नुभएको थियो ।

त्यस अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी सङ्गठनमा रहेका जनशक्तिको शारीरिक, मानसिक स्वास्थ्यका साथै सांस्कृतिक कार्यको प्रवर्द्धन र मनोरञ्जनात्मक गतिविधिमा प्रहरी कर्मचारीलाई सहभागी गराउने उद्देश्यले निर्मित पेभिलियनले प्रहरीको कार्यसम्पादनमा थप कुशलता र व्यावसायिकता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीलाई शारीरिक तन्दुरुस्तीका साथै मानसिक स्फूर्ति कायम राख्नका लागि पेभिलियनले सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले आगामी दिनमा पुलिस क्लबको संरचनालाई विस्तार गरी अत्याधुनिक जिम, साउना, पौडी पोखरीसहितको पुलिस हेल्थ क्लब, सुविधासम्पन्न प्रहरी गेष्ट हाउस र नगर प्रहरीको कार्यालयसमेत स्तरोन्नति गर्ने योजना रहेको सुनाउनुभयो ।  

प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पहिलो चरणमा नेपाल प्रहरी कर्मचारीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको पुलिस क्लबलाई चरणबद्ध रूपमा आमनागरिकको पहुँचमा पु¥याइने बताउनुभयो ।

विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी

गुल्मी, २६ माघः नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले नागरिकलाई सुविधा दिने उद्देश्यले सुरु गरिएका विकासका नाममा कोही पनि विस्थापित हुनुपर्ने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने धारणा राख्नुभएको छ ।

आज बिहान सदरमुकाम तम्घासमा कार्यालय विभिन्न सार्वजनिक निकायका प्रमुखसँग छलफल गर्दै उहाँले विकास निर्माणका काममा ढिलासुस्ती नगरी दिगो विकास गर्नेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सांसदसमेत रहनुभएका नेता भण्डारीले जिल्लामा भइरहेका पूर्वाधार निर्माणका बारेमा जानकारी लिनुभएको थियो । सो क्रममा उहाँले सरोकार भएका सबैलाई निर्धारित समयमा काम सम्पन्न गर्न आग्रह गर्दै आवश्यक समन्वय गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । 

पछिल्लो समयमा सडक फराकिलो बनाउने नाममा जथाभावी रूपमा नागरिक विस्थापित हुने अवस्था आएको भन्दै नेता भण्डारीले सोको विकल्प खोजेर मात्र काम थाल्नुपर्ने विचार राख्नुभयो । उहाँले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजनाको वित्तीय तथा भौतिक प्रगतिका बारेमा कार्यालय प्रमुखहरूसँग जानकारी लिनुभएको थियो । 

नेपाली कांग्रेस रेसुङ्ग नगर कार्यसमिति गुल्मीको तेस्रो नगर सम्मेलनको आज तम्घासमा आयोजित कार्यक्रममा सांसद भण्डारीले समयअनुसार सबै दलका नेता परिवर्तन हुँदै जानुपर्ने धारणा राख्नुभयो । नेता बनेर जनताका समस्या नबुझ्ने प्रवृत्ति बढ्दै जाँदा पछिल्लो समय आमनागरिकमा नेताप्रति नकारात्मक धारणा बढ्दै गएकाले सबै नेता, कार्यकर्ताले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता भण्डारीले पार्टीमा आफूले लामो समयदेखि योगदान गर्दै आएको स्मरण गर्दै नेता भण्डारीले मृत्युलाई पराजित गरी नयाँ जीवन पाएकाले अबको यात्रा जनताको सेवामा केन्द्रित हुने बताउनुभयो । बहुदलीय व्यवस्था आएको ३६ वर्षसम्म पनि सीमान्तकृत वर्गहरूलाई अझै पछाडि परिरहेकाले सरकारले पछाडि परेका वर्गको जीवनस्तर उकास्ने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि, ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने

काठमाडौँ, २६ माघः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिनुभयो ।

उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।  नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ । 

‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’ : मन्त्री गुरुङ

काठमाडौँ, २६ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ–आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताउनुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ल्होसार/ल्होछार/लोसार शुभकामना आदान–प्रदान कार्यक्रममा आज उहाँले गणतन्त्र स्थापनापछि गठन भएको ‘ककस’ले महिला र आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा ल्याएकै कारण राजनीतिक जागरण पैदा भएको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा सबै जातजातिले धार्मिक, भाषिक र सांस्कृतिक दृष्टिकोणबाट समान अधिकार पाएको महसुस गरिरहेका छन् ।” मुलुकमा १२४ वटा भाषाले राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेपछि ती भाषाभाषीले आफ्नो पहिचान स्थापित भएको रूपमा ग्रहण गरेको उहाँको भनाइ थियो ।
नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सबै जातजाति र समुदायको कलासंस्कृति तथा पहिचानको संरक्षणमा स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो ।

अर्जुन ट्रफी क्रिकेट : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै

फाप्ला, २६ माघ : धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आजदेखि हुँदैछन् ।
क्रिकेट मैदानमा आज दिउँसो सवा १२ बजे हुने पहिलो सेमिफाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुनेछ । डडेल्धुरा समूह ए को विजेताको रूपमा सेमिफाइनल पुगेको हो भने बुटवल समूह बी को उपविजेता बनेर अन्तिम चारमा पुगेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सिवाइसी अत्तरिया र डिसिए धनगढीबीच भोलि (माघ २७ गते) हुनेछ । गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रू १० लाख र उपविजेताले नगद रू पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रू ५०–५० हजार पाउने छन् ।

बर्दगोरिया गाउँपालिकाद्धारा विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च

घोडाघोडी (कैलाली), २६ माघ : कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुने बताउँदै अध्यक्ष कुँवरले भन्नुभयो, “विपन्न नागरिकका लागि यो शववाहनले सहयोग पुग्नेछ ।”

शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत रू १० हजार उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताउनुभयो । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भन्नुभयो, “त्यसमाथि आर्थिक अभावले झनै पीडा दिने अवस्थामा यो राहत कार्यक्रमले केही सहयोग पुग्नेछ ।”

राहत रकम हस्तान्तरणअन्तर्गत शुक्रबार गाउँपालिकाले दुई परिवारलाई रू १० हजारका दरले रकम उपलब्ध गराएको छ । गाउँपालिकाको वडा नम्बर २ बौनियाका मृतकका छोरा कालु लुहार र वडा नम्बर १ कट्टीपुरका मृतक छदिने शिशुका बाबु सुवास नेपालीलाई रकम वितरण गरेको छ ।

पहिलो दिन कालु लुहारलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र सुवास नेपालीलाई वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमले घरमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । देहावसान सहानुभूति कार्यक्रमअन्तर्गत चाँडै नै शव चिस्यान सेवा सुरू गर्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार यस क्षेत्रका अधिकांश मानिसहरू रोजगारीको सिलसिलामा भारतलगायत तेस्रो मुलुक जाने गर्छन् । घरमा रहेका परिवारका सदस्यको मृत्यु भएमा शव केही दिन राख्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा मृतकको छोराछोरी वा अन्य आफन्त नआइपुगुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न चिस्यान सेवाले सहयोग पुग्नेछ ।

क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ, २६ माघ : काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्थ गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जनाकारी दिएको छ ।

वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छ वटै क्षेत्रमा एक एक वटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनको लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गरेको हो ।

स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गरिने राईको भनाइ छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहर क्षेत्र निर्धारण गरेर व्यवस्थान गर्न लागिएको हो ।

यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिनेछ । यसअघि भित्री नौ वडाबाहेक अन्यको फोहर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो ।

हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

कसरी गर्ने फोहर वर्गीकरण ?

भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमको फोहर जम्मा भएको हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहर उत्पादकले नै मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने कामपाबाट फोहर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।

तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रूखका पात कुहिने फोहर हुन् । यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि नकुहिने फोहर हुन् ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा शनिबार बिहान ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।

Video: राजेन्द्र विक्रम शाही

भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा शुक्रबार एउटा पटाखा कारखानामा भएको भीषण विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।“उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको छ,” एक प्रहरी अधिकारीले बताउनुभयो । “एक महिलालाई घाइते अवस्थामा उद्धार गरी तत्काल अस्पताल लगिएको छ ।”विस्फोटका कारण कारखानामा ठूलो आगो लागेको प्रहरीले जनाएको छ ।

आगो निभाउन र नजिकैको क्षेत्रमा फैलिन नदिन तत्काल दमकललाई घटनास्थलमा पुर्याएको प्रहरीले जनाएको छ ।विस्फोटको कारण तत्काल थाहा हुन सकेको छैन । प्रहरीले उक्त दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।भारतीय पटाखा कारखाना र पसलहरूमा आकस्मिक विस्फोटहरू सामान्य छन् । मालिकहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् ।

तीस किलोको खुकुरी, मूल्य १ लाखभन्दा बढी !

रामपुर (पाल्पा), २६ माघ : एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पार्नुभएको छ ।

उहाँले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ । खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताउनुभयो ।

उहाँले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारेको विश्वकर्मा बताउनुहुन्छ । खुकुरी निर्माणमा ज्याला खर्चबाहेक रू ३० हजार बराबरको खर्च भएको उहाँले बताउनुभयो । विश्वकर्माले प्रदर्शनीमा राखेको खुकरीले दर्शकको मन जितिरहेको छ ।

मेला अवलोकन गर्न आउने दर्शकले रोचक मान्दै खुकुरी अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने तथा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै चर्चा बटुलेको छ । विश्वकर्माले खुकुरीका अलवा कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक फलामका औजार पनि मेलाको अवसरमा बिक्रीका राख्नुभएको छ ।

“नेपालीको शान खुकुरी हो, यसको महत्त्व नयाँ पुस्तालाई जानकारी दिन स्थानीयस्तरमा हुने मेला, महोत्सवमा प्रदर्शनीका लागि लैजाने गरेको छु, खुकुरीसँगै अन्य कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने औजार प्रदर्शनीमा राख्दै आइरहेको छु”, उहाँले भन्नुभयो ।

स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित विश्वकर्मा आरन उद्योगका सञ्चालक विश्वकर्माले घर सजावटका लागि खुकुरी खोजिने भएकाले आफूले तयार पार्ने गरेको बताउनुभयो । यसभन्दा अगाडि १३ केजी तौल भएको रू ४५ हजार र २० केजी तौलको खुकुरी रू ५५ हजारमा बिक्री गरिसकेको जानकारी दिनुभयो ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ १५ गतेदेखि सुरू भएको चौथो रामपुर महोत्सव तथा व्यापार मेला २७ गतेसम्म चल्नेछ । मेलामा स्थानीय उत्पादनमा दर्शकको आकर्षण बढिरहेको छ ।

कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी, २६ माघ : म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको रू एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

अनुसन्धानका लागि प्रहरीले कुमारी सहकारीका पाँच जना सञ्चालक र व्यवस्थापकलाई माघ २० गते पक्राउ गरेको थियो । प्रहरी निरीक्षक सागर पौडेलले कुमारी सहकारीको विषयमा अनुुसन्धानका लागि प्रमाण जुटाउन बचतकर्ताबाट उजुरी लिने काम भइरहेको बताउनुभयो ।

माघ २१ गते प्रहरीले सार्वजनिक सूचना जारी गरेर पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्रलगायत प्रमाणको सक्कल साथमा लिई सम्पर्कमा आउनका लागि अनुुरोध गरेको थियो । सहकारीका पूर्वसञ्चालक समितिका उपाध्यक्ष रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालीन व्यवस्थापक रूद्र गुरूङ, सञ्चालक समितिका पूर्वअध्यक्ष मनप्रसाद थजाली, थमबहादुर गर्बुजा र सञ्चालक देवीकुमारी थापा प्रहरीको हिरासतमा छन् ।

बेनी नगरपालिका–१ का ३६ वर्षीया थापा गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट जिसस प्रमुखमा निर्वाचित हुनुभएको थियो । अदालतले अनुुसन्धानका लागि उनीहरूलाई दोस्रो पटक माघ २८ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूमाथि बचतकर्ताको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बचतकर्ता समस्यामा

अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका ५० वर्षीय डिलबहादुर गर्बुजाले बेनीको कुमारी बहुुउद्देश्यीय सहकारी संस्थामा १२ वर्षअघि मुद्दती खाता खोलेर राखेको रू ४३ लाख बचत फिर्ताका लागि धाउन थालेको दुुई वर्ष पूरा भयो । “बाह्र वर्ष कतारमा श्रम र पसिना बगाएर कमाएको सबै पैसा राम्रो ब्याजको प्रलोभनमा परेर सहकारीमा राखेको थिए”, गर्बुजाले भन्नुभयो, “सहकारीले बचत फिर्ता नगरेपछि हामीहरू विचल्लीमा परेका छौँ ।”

रू १० लाख १४ हजार बचत गरेकी घराम्दीकी ५० वर्षीया डिलशोभा गर्बुजाले सहकारीमा रकम डुबेपछि घरब्यवहार चलाउन, छोराछोरी पढाउन समस्या भएको गुनासो गर्नुभयो । “श्रीमान्ले विदेशमा दुःख गरेर कमाएको र मैले कुखुुरा चल्ला बेचेर जुटाएको पैसा राखेको वर्षौंसम्म पनि सहकारीले फिर्ता दिएको छैन”, उहाँले भन्नुभयो, “आफ्नै पैसाका कारण आफैँले दुःख पाउने अवस्था आयो ।”

डिलबहादुर, डिलसोभा, छबहादुर पाइजालगायत १३ जनाले पीडित शुक्रबार सहकारीमा फसेको रकम उठ्ने आशामा दुई वटा जिप रिजर्भ गरेर प्रहरीमा उजुरीका लागि बेनी आउनुभएको थियो । उहाँहरूको रू एक करोडभन्दा बढी रकम उक्त सहकारीमा फसेको छ ।

बेनी नगरपालिका–८ मा रहेको उक्त सहकारीबाट पीडित हुने बचतकर्ता घराम्दीका मात्र छैनन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पछिल्लो पाँच दिनयता उक्त सहकारीमा डुबेको बचत रकम फिर्ता दिलाइदिन आग्रह गर्दै उजुरी गर्न आउनेको भीड लागेको छ ।

‘जलविद्युत्को शेयरमार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

काठमाडौँ, २६ माघः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्को शेयरमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न आवश्यक पर्ने शेयर लगानीका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ ।

उहाँले जनताको जलविद्युत् कार्यक्रमको दोस्रो संशोधनमार्फत विना धितो गरिब तथा विपन्न वर्गलाई रु दुई लाखदेखि पाँच लाखसम्म शेयर दिनेबारे शुक्रबार अर्थ मन्त्रालय, बैँङ्किङ क्षेत्र र ऊर्जा उत्पादकसँग छलफल गर्नुभएको हो ।

छलफलमा ऊर्जामन्त्री खड्काले दिनभर काम गरेर विहान बेलुका छाक टार्न समस्या भएका नागरिकलाई लक्षित गरी सरकारले विना धितो सहुलियतपूर्ण व्याजदरमा शेयर पाउने व्यवस्था गर्न लागेकाले यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्री खड्काले भन्नुभयो, “गरिब तथा विपन्न वर्गलाई समृद्ध बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध नेपाल निर्माण हुन सक्दैन, उक्त वर्गलाई समृद्ध बनाउन दायित्व तपाईँहामी सबैको हो। ” प्राकृतिक स्रोतमाथिको अधिकार सबैको भएकाले तल्लो वर्गको लागि सबैले सोच्नुपर्ने उहाँको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरीता दवाडीले जनताको जलविद्युत् कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको भूमिका रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमलाई कार्यान्वयन गर्न अवरोध निति, नियमलाई मन्त्रालयले परिमार्जन गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जलस्रोतमार्फत मुलुकको समृद्धिसँगै समाजवादको विकास गर्न सरकार लागेको बताउनुभयो । उहाँले सरकारले ऊर्जा विकास मार्गचित्रको लक्ष्य लिएकाले यसलाई पुरा गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले जलविद्युत्को विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न ऊर्जा मन्त्रालयले लिएको लक्ष्य राम्रो भएको बताउनुभयो । गरिबीको रेखामुनी रहेका जनतालाई विकासको बाटो लैजान यस्तो कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत जलविद्युत् क्षेत्रमा थुप्रै नागरिकले लगानी गर्ने वातावरण निर्माण भएको बताउँदै उक्त कार्यक्रमलाई कार्यान्वयन गर्न निजी क्षेत्र तयार रहेको बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनाल, नेपाल बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तिलकराज पाण्डेय, कृषि विकास बैँकका निमित्त सिइओ, प्रताप सुवेदी, नेपाल बैँकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालालगायतले गरिव तथा विपन्न वर्गलाई धनी बनाउनेगरी ल्याइएको उक्त कार्यक्रमलाई कार्यविधि बनाएर लागू गर्नुपर्ने बताउनुभएको थियो ।

सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ जनताको जलविद्युत् कार्यक्रम सञ्चालनमा ल्याएको थियो । छलफल कार्यक्रममा मन्त्रालयका सहसचिव सन्दिप देवले जनताको जलविद्युत् कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

महोत्तरी, २६ माघः महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।

जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जङ्गली हात्तीले उपद्रो मच्चाएका छन् । तीन वटाको समूहमा बस्ती पस्ने हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउनुहुन्छ । यसपालि पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ ।

बिहीबार रातीमात्र हात्तीले गौशाला–८ ढल्केबरमा पाँच÷सातवटा गोठघर भत्काइ दिएको छ । गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला–८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बाली उखेल्ने, माड्ने गरेर क्षति पु¥याएको छ । जङ्गली हात्तीको समूह बिहानपख बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन् ।

अधिकांश मध्यरातपछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर  जाने गरेको गौशाला–८ ढल्केबरकै मीन रहपाल बताउनुहुन्छ । पछिल्लो जारी साताभित्रै (गत आइतबारयता ) हात्तीको समूहले आफ्नो वडाका विभिन्न बस्तीमा गरी १० बिघा बढीको बालीनाली सखाप पारेको गौशाला–८ का वडाअध्यक्ष भोजबहादुर दर्लामी बताउनुहुन्छ ।

जङ्गली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आएपनि यसको समाधान भने हुन सकेको छैन । हात्तीले गत वर्ष हिउँदमा बर्दिबास–३ पाटुमा दुई वटा घर नै लडाएर विचल्ली बनाएको थियो । त्यसअघि हात्तीले बर्दिबास–३ कै पर्साहीधाप र रजबासका सात घर भत्काएको पीडितले अझै बिर्सेका छैनन् ।

यसपालि सर्लाहीतिरबाट महोत्तरी पसेको हात्तीले एक साताअघि छिमेकका सर्लाहीका बस्तीमा बालीनाली निकै क्षति गरेको थियो । कहिले सिन्धुलीतिरबाट चुरे कटेर महोत्तरी पस्ने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर शिरानका बस्तीसम्म उपद्रो मच्चाउने गरेको छ । पाँच वर्षअघि त हात्तीले ढल्केबरमा घर भत्काएर मान्छेलाई सुँडले तान्दै पछारेर मारेको जनाइएको छ । 
यी जङ्गली हात्ती आफ्नो पुरानो बाटोमै हिड्ने गरेका वन्यजन्तुविज्ञको भनाइ छ । तर पछिपछि हात्तीका पुराना बाटा फाँडिएर घर बनेपछि त्यस्तै ठाउँ नजिक हात्तीको उपद्रो बढ्ने गरेको छ । हात्तीको बाटो एकअर्को पुस्तासँग जोडिदै आउने गरेको विज्ञ बताउँछन् । अहिले बाबुआमासँग आएको छावा पछि यही बाटो अनुसरण गर्ने र त्यसपछि उसँग हिड्नेसँग बाटोको सम्बन्ध जोडिदै जाने परम्परा बसेको हेमन्तप्रसाद साह बताउनुहुन्छ ।

अहिले हात्तीको उपद्रो बढेका बेला तत्काल वनसम्बद्ध कार्यालय र वन सुरक्षाकर्मीले यसको कुशल व्यवस्थापनको चाँजो मिलाउन पर्ने बर्सेनीजसो क्षति पु¥याउँदै आएको बर्दिबास–३ का वडाअध्यक्ष विराटकुमार विष्टको भनाइ छ । यसैबीच डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले मातहतका सबै सवडिभिजन वन कार्यालय र वनसुरक्षा गस्तीलाई सचेतता अपनाउन र बस्ती पस्ने हात्ती धपाउने कार्यमा स्थानीयबासीसँग सहकार्य गर्न भनिएको बताउनुभएको छ । यसबारे नजिकको पर्सा वन्यजन्तु आरक्षण केन्द्रलाई यसबारे जानकारी गराइने मिश्रको भनाइ छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २६ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३७, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी–२०, फर्सी हरियो (डल्लो) प्रतिकेजी–२०, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी–८०, पिँडालु प्रतिकेजी रु ८०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी–४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु १००, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप

पर्वत, २६ माघः पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ । रोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट थप गरिएको हो । चार वटा योजनामा रू तीन करोडका दरले र एक योजनामा रू चार करोड गरी रू १६ करोड बजेट थप भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

बजेट थप भएका योजनामा दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडक, लेखफाँट–शालिजा सडक, देउपुर–पूर्णगाउँ–घुरूङ्गा सडक, लिमठाना–अर्चले–भँगरा सडक र वालिङ–हुवास–सेतीवेणी सडक रहेका छन् । सङ्घीय सरकारमार्फत निर्माणाधिन उक्त सडकलाई पूर्णता दिनका लागि बजेट माग गरिएकोमा हालै मन्त्रालयबाट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको कुश्मा नगरपालिकामा पर्ने दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडकका लागि रू तीन करोड विनियोजन भएको छ । यो सडकमा यसअघि रू एक करोड ६२ लाखको बजेट विनियोजन भएर निर्माणाधीन अवस्थामा रहेको थियो ।

यसैगरी जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत रहेका रणनीतिक सडकमा समावेश लेखफाँट–शालिजा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । उक्त आयोजनामा यसअघि चालु आर्थिक वर्षमै रू दुई करोड ९५ लाख विनियोजन भई निर्माणाधिन अवस्थामा रहेको थियो भने मोदी गाउँपालिकामा पर्ने देउपुर–पुर्णगाउँ–घुरूङ्गा सडकका लागि पनि रू तीन करोड विनियोजन भएको छ । यो योजनामा चालु आर्थिक वर्षको बजेटमा रू एक करोड ६२ लाख विनियोजन भएको थियो ।

फलेवास नगरपालिकामा रहेको लिमठाना–अर्चले–भँगरा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । कालोपत्रको काम भइरहेको यो सडकमा यसअघि रू एक करोड ६२ लाख विनियोजन भएको थियो । निर्माणाधीन यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडालाई राष्ट्रिय राजमार्गसँग जोड्ने भएको छ ।

यसैगरी स्याङ्जा र पर्वत जोड्ने वालिङ–हुवास–सेतीवेणी सडकका लागि रू चार करोड बजेट थप भएको सांसद गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडकको अधिकांश भाग कालोपत्र भइसकेको छ भने उरामदेखि सेतीवेणीसम्मको खण्डका लागि बजेट थप भएको हो । यो सडकमा यसअघि रू एक करोड विनियोजन भएको थियो ।

पर्वतका सातवटै पालिकासम्म कालोपत्र सडकको पहुँच विस्तार भएको छ । वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुर्‍याउने योजनाअन्तर्गत निर्माणाधीन रहेका सडकलाई पूर्णता दिनका लागि निरन्तर बजेट व्यवस्थापनमा लागेको सांसद गिरीले बताउनुभयो । अहिले थप भएको बजेट चालु आवभित्रै काम सुरू गर्ने गरी व्यवस्थापन भएको उहाँले बताउनुभयो ।

सांसद गिरीले भन्नुभयो, “चालु आवभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । कच्ची, जीर्ण र साँघुरो सडकका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई कृषिउपजको बजारीकरण र आवतजावतमा वर्षौंदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएको छ ।”

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले थप भएको बजेटलाई पनि चालु आवभित्रै कार्यान्वयनमा लगिने बताउनुभयो । डिजाइन, स्टिमेट भइसकेकाले नियमित काम हुने उहाँको भनाइ छ ।

आजको मौसम : यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २६ माघ : पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम सफा रहने छ ।

बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आठ करोडको लगानीमा च्याउ उद्योग सञ्चालनमा

नवलपरासी, २६ माघः पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा आएको छ । कूल रु आठ करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले मासिक २० टन डल्ले च्याउ उत्पादन गर्ने जनाइएको छ । रामग्राम नगरपालिका–६ पोखरापालीमा स्थापित सो उद्योगलाई युवा व्यवसायी कमल कसौधन, लवकुश वर्मा र सुनिल बर्माको टिमले उद्योग सञ्चालनमा ल्याएका हुन् । रामग्राम नगरपालिका–६ जौरहीमाई पार्कको उत्तर पट्टि करिव १६ कठ्ठा क्षेत्रफलमा उद्योग सञ्चालन गरिएको सञ्चालक कसौधनले बताउनुभयो ।

बाह्रै महिना नै उत्पादन गर्न सकिने कुल २० टनसम्म मासिक उत्पादन हुने डल्ले च्याउको स्वदेश र विदेशसमेतमा उच्च माग रहेको सञ्चालकले बताएका छन् । पछिल्लो समय परासी आसपासको क्षेत्र औद्योगिक करिडोर पनि बन्दै हो । नवलपरासीको सदरमुकाम परासीमा साना, मझौला र ठूला उद्योग खुल्ने क्रम जारी रहेका छन् । 

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी

कास्की, २६माघः देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका छन् ।

यी समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेको छ ।

“हामी भव्यरूपमा पोखरा भ्रमण वर्ष घोषणाको तयारीका लागि जुटेका छौँ । सबैसँग सल्लाह र छलफल गरिरहेका छौँ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदुतसमेतको सहभागिता रहने छ,” आचार्यले भन्नुभयो ।

भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ ।

वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिने छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाबाट स्थानीय भेषभुषासहित वृहत झाँकी ¥याली निकालिने छ ।

पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुने र उक्त कार्यक्रम पूर्वपोखराको ३३ वटै वडाको प्रतिनिधित्व हुने गरी झांकी तथा ¥यालीको आयोजना हुने प्रमुख आचार्यले बताउनुभयो । यसैगरी पर्यटनको क्षेत्रबाट एक वटा ब्यानरसहित झांकी तथा र्यालीको आयोजना गरिने छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने वताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटन संग सम्बद्ध सङ्घ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।