`

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २८ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउसिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तितेकरेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी–२०, फर्सी हरियो (डल्लो) प्रतिकेजी–२०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी–८०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १३०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २००, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठकोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी–४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फुजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐँसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनियाँ प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

केबलकार विवादः वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध

काठमाडौँ- ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भन्नुभयो ।वार्तापछि गृह मन्त्रालयले आईतबार राति एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।

यसैबीच, आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने जनाएको छ । भोलि गृहमन्त्री रमेश लेखकसँग छलफल हुने वार्ताटोलीका सदस्य सरस्वता सिङ्गक(सरु) ले राससलाई बताउनुभयो ।

मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो

भरतपुर (चितवन)-चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिनुभयो । “मकुनाको मृत्यु सम्बन्धमा शुक्रबार छानबिन समिति बनेको थियो । बीचमा बिदा भएकाले आईतबारदेखि काम सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “सोमबार स्थलगत अध्ययन गर्दैछौँ ।”

छानविन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ । “चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,” सहसचिव डा पौडेलले भन्नुभयो । होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो आएकाले होटल तथा हात्ती व्यवसायीलाई भेट्ने उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर यही माघ २३ गते मकुनाको मृत्यु भएको थियो । वन मन्त्रालयले सात दिनभित्र घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्न माघ २५ गते छानबिन समिति बनाएको थियो । सहसचिव डा पौडेलको नेतृत्वमा बनेको पाँच सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा दिनेश शाह रहनुभएको छ ।

इन्दु शङ्कर चिनी उद्योगद्धारा सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा (सर्लाही), २८ माघः इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ ।

उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित किसान नगरपालिका–९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताउनुभयो ।

विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको अर्का किसान माधव थापाले बताउनुभयो । उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र सङ्घ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले उद्योगसँग मिलेर उखु किसानको लागि सिँचाइ, प्रविधि र उन्नत बीउविजन उपलब्ध गराउने योजनामा रहेको हरिवन नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो ।
सर्लाहीमा हरेक वर्ष ६४ हजार हेक्टरमा उखु उत्पादन हुँदै आएको छ । जिल्लाको हरिवनमा इन्दुशङ्कर, धन्कौलमा अन्नपूर्ण र गोडैतामा महालक्ष्मी चिनी उद्योग सञ्चालित छन् ।

ठमेल प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, २८ माघः नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर

काठमाडौँ, २८ माघः नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यसैगरी, युरो एकको खरिदर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५४ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्री दर ३१ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्री दर १९ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४५४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै

काठमाडौँ, २८ माघः आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।

यसैगरी, अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले फेब्रुअरी १० लाई अन्तरराष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो ।

विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसङ्घीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन् । जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको मूल उद्देश्य हो ।

आज ३४ औँ अख्तियार स्थापना दिवस

काठमाडौँ, २८ माघः भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ ।

आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो ।

नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । उक्त धारामा ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने’ उल्लेख छ ।

आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ ।

आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार नौ सय १८ उजुरी र गत आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ गरी ३६ हजार एक सय ८६ उजुरीमध्ये कूल २७ हजार सात सय १४ फछ्र्यौट भएका छन् ।

प्रणय दिवसमा एयरलाइन्सको छुट,एउटा टिकट लिदा अर्को टिकट सित्तैमा

काठमाडौँ, २७ माघ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् ।
बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएको छ । तर यस्तो अफर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा मात्रै भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले १४ फेबु्रअरीका दिन मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ ।

यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर पोखरामा एक रात बासको अवसर प्राप्त गर्नेछन् ।

एकाबिहानै हुने पर्वतीय उडानमा एउटा टिकटमा अर्को टिकट सित्तैमा दिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशङ्करलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिनेछ । अफरको टिकट बुद्ध एयरको काउन्टरबाट लिन सकिने कम्पनीले जनाएको छ ।

देवघाट दिव्यधाम निर्माणमा सरकारको तर्फबाट सहयोग रहन्छ: कृषिमन्त्री अधिकारी

दमौली (तनहुँ), २७ माघ: कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देवघाटधाममा निर्माणाधीन दिव्यधाम निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । देवघाटमा जारी महामहोत्सवको २७औँ दिनको कार्यक्रममा आज उहाँले दिव्यधाम गौरवको विषय भएकाले यसमा सरकारका तर्फबाट सहयोग रहने बताउनुभयो ।

मन्त्री अधिकारीले दिव्यधाम निर्माणका लागि विदेशबाट आयात गरिने मार्बलमा कर छुट दिने विषयमा समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । दिव्यधाम निर्माणपछि यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ थियो । तीन सय ६५ कोठाको संरचनासहित ज्येष्ठ नागरिक र असहायका  लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले देवघाट गाउँपालिका–५ तनहुँमा मातापिता सेवाश्रम निर्माणाधीन छ । 

स्काभेटरसहित कणाली नदीमा फसेका तीन जनाको उद्धार

बाजुरा, २७ माघ : बाजुरा र मुगु जिल्लाको बीचमा पर्ने कणाली नदीमा स्काभेटरसहित फसेका तीन जनाको प्रहरीले उद्धार गरेको छ ।

मुगुको खत्याड गाउँपालिकाबाट बाजुराको हिमाली गाउँपालिकातर्फ आउँदै गरेको स्काभेटरसहित कर्णालीमा फसेका तीनजनाको धुलाचौर प्रहरी चौकीको टालीले ढुङ्गाको सहायताले सकुशल उद्धार गरेको प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले राससलाई जानकारी दिनुभयो । मुगुको खत्याडबाट हिमाली गाउँपालिका हुँदै हुम्ला जान लागेका कनका सुन्दरी गाउँपालिका–७ का २५ वर्षीय सूर्यबहादुर पछाई, २३ वर्षीया नानु पछाई र १९ वर्षीय राजेन्द्र वडको उद्धार गरिएको हो ।

स्काभेटरलाई नदी तार्ने क्रममा कर्णालीमा फसेका उनीहरुलाई करिव चार घण्टापछि प्रहरीले उद्धार गरी हिमाली गाउँपालिका ल्याइएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । 

महाकुम्भ मेला हिँडेको बस दुर्घटना, ३६ जना घाइते

भेरीगङ्गा (सुर्खेत), २७ माघ : सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा जान गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उहाँहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र उहाँहरूको पहिचान हुन बाँकी रहेको बताउनुभयो । बस दुर्घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ।

संघीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आइतबार प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन्।

जिल्लामा सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले सोअनुसार नगरेको भन्दै उच्च तहबाटै पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले आग्रह गरेको थियो।

जवाफमा प्रधानमन्त्री ओलीले कसैले पनि राज्यको सम्पति अवैध रूपमा अतिक्रमण तथा दुरुपयोग गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे।

प्रतिनिधिसभाबाट दुई विधेयक पारित

काठमाडौँ, २७ माघः प्रतिनिधिसभाबाट दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मति र ‘विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव राख्नुभयो । यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।

त्यसअघि बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा प्रेम सुवाल, अशोककुमार चौधरी, किरणकुमार साह, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्र पौडेल, शिव नेपाली, सुमना श्रेष्ठ र अच्युत मैनालीले भाग लिनुभयो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाई सो उपर हुने सजाय र अदालती प्रक्रियालाई पारदर्शी एवं सरलीकृत बनाउन संशोधन विधेयक ल्याउनुपरेको बताउनुभयो ।

यस्तै ‘विधायन विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा विमला सुवेदी, सन्तोष परियार र ध्रुवबहादुर प्रधानले भाग लिनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले नागरिक अधिकारलाई अझ सशक्त बनाउन तथा प्रक्रियालाई पारदर्शी र व्यावहारिक बनाउन सो विधेयक अघि बढाइएको स्पष्ट पार्नुभयो ।

सभामुख देवराज घिमिरेले कानुनमन्त्री चौरसियाले जवाफ दिने क्रममा सो विधेयकमा समावेश गर्नेगरी सरकारका तर्फबाट स्वीकार गर्नुभएको संशोधन निर्णयार्थ प्रस्तुत गरी ती संशोधन स्वीकृत भएको घोषणा गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २८ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

फर्पिङ दुर्घटना अपडेटः ३९ घाइतेलाई अस्पताल लगियो

काठमाडौँ, २७ माघ : काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ ।

विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गाडीका चालक र एक आठ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उहाँले बताउनुभयो । अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बा १ क ५६६४ नंको उक्त बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २७ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी देशमा स्थायी शान्तिको वातावरण बनाउन शान्ति सम्झौताका पक्षधर मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ । संविधान निगरानी समूह र ‘इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)’ द्वारा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक संवाद कार्यक्रममा अध्यक्ष दाहालहाँले दक्षिणपन्थी कोणबाट संविधानको तीव्र विरोध भइरहेको अवस्थामा जतिसुकै आलोचना र प्रतिआलोचना भए पनि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष दाहालले सरकारमा सहभागी दुई ठूला दलले जनताका कुरा नबुझ्ने हो जनतामा तीव्र असन्तुष्टि बढेर जाने जिकिर गर्नुभयो । जनताले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि खोजिरहेको उल्लेख गर्दै उहाँले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीका क्षेत्रमा अहिलेसम्म भएको विकास सकारात्मक बाटोतर्फ नै उन्मुख रहेको धारणा राख्नुभयो । 

जनअपेक्षाअनुरुप आर्थिक समृद्धि हासिल नभइरहेको वर्तमान अवस्थामा प्रमुख राजनीतिक नेतृत्व र शक्तिबीच गम्भीर आत्मसमीक्षाको आवश्यकता औँल्याउँदै अध्यक्ष  दाहालले न्यायक्षेत्रसहित बौद्धिकवर्ग र समुदायले एकपटक फेरि गम्भीर आत्मसमीक्षाका माध्यमबाट नयाँ राष्ट्रिय एकता र दृष्टिकोण बनाउन जरुरी रहेको बताउनुभयो ।

आन्दोलनको उपलब्धिका रुपमा प्राप्त पहिचान र समावेशी प्रतिनिधित्व खोस्ने गरी संविधान सशोधनको प्रयास गरिए आफूहरुलाई कदापि स्वीकार्य नहुने अध्यक्ष दाहालको भनाइ थियो । प्रहरी, कानुन, कर्मचारी र आर्थिक स्रोत नदिने अनि प्रदेशले काम गरेर भनी प्रचार गर्ने कार्य ठीक नभएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरलेले संविधानको मर्म र भावनाअनुरुप अधिकार तल्लो तहसम्म हस्तान्तरण गर्नमा बाधा पु¥याएकै कारण प्रदेश र स्थानीय तहलाई विकास तथा समृद्धिमा लक्ष्य हासिल गर्न चुनौती खडा भइरहेको बताउनुभयो । 

संसद् कानुन निर्माण र संविधान कार्यान्वयन प्रक्रियामा गतिशील हुन नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले राज्य र नागरिकलाई जोड्ने हिसाबले अभ्यासलाई अघि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको लामो बलिदानी र सङ्घर्षको उपलब्धिका साथे साझा दस्तावेजका रुपमा संविधान रहेको छ, हालसम्म भएका कामको समीक्षा र हुन नसकेको परिस्थितिको मूल्याङ्कन गरी संशोधन तथा राजनीतिक स्थायित्व दिन सकिन्छ ।”

महासचिव पोखरेलले मुुलुकको अर्थतन्त्रलाई चलायमान तुल्याउनेलगायत राष्ट्रिय सुधारको आवश्यकतासँग जोडिएर अध्यादेश जारी भएको बताउनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसद्मा विधेयक प्रवेश भएपछि कति समयभित्र पारित गरिसक्ने भनी समयसीमा नतोकिएसम्म कानुन निर्माणले गति हासिल गर्ने सम्भावना कम रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो,  “संविधान संशोधन गरिँदा आफूहरु समानुपातिक र समावेशी प्रणालीबाट फिर्ता हुन चाहेको होइन, त्यसमा कहीँ सम्झौता हुन सक्दैन, कानुन नबनिरहेको अवस्थामा अधिकार र आवश्यकतामा अपवादका रुपमा अध्यादेश ल्याइएको हो ।”

जुन देशमा विकास र समृद्धिका हिसाबले धेरै गर्न बाँकी छ त्यहाँ नै ठूलो सम्भावना हुन्छ भन्ने सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको नेता डा महतको भनाइ थियो ।  आर्थिक क्षेत्रको मुख्य इन्जिनका रुपमा रहेको निजी क्षेत्रलाई प्रोत्साहन दिँदै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक  सन्तोष परियारले जनतालाई बलियो बनाउने तथा सङ्घीयता र समावेशीलाई सुदृढ तुल्याउने पक्षमा संविधान संशोधनमा सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति तथा संवैधानिक अङ्गका पदाधिकारीसमेत निर्वाचनबाट चयन हुन सके मुलुकमा राजनीतिक स्थायित्व भई समृद्धितर्फ उन्मुख हुन सक्ने तर्क गर्नुभयो ।

संविधानका जानकार तथा संविधानसभा सदस्य अग्नि खरेलले संविधान संशोधनका विषयमा मुलुकका प्रमुख राजनीतिक शक्तिबीच सकारात्मक सोच भएन भने दलीय अनुकूलता खोजिरहँदा राष्ट्रका लागि प्रतिकूलता निम्तिन सक्नेतर्फ सचेत रहन सुझाव दिनुभयो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान जुन अपेक्षाका साथ जारी भएको थियो, त्योमार्गबाट हिँडिरहेको छ कि बाटो बिराएको छ भन्ने अहिले गम्भीर प्रश्न उब्जिएको विचार प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “विधेयक ऐन बनाउन नसक्ने अवस्थामा छ । स्वतन्त्रकारी संस्थालाई आज्ञाकारी बनाइनु हुन्न । संविधानमा लेखिएका अधिकार र हक कति रुपान्तरण भए ? प्रदेश, गणतन्त्र, धर्म निरपेक्षता, सेवा प्रवाह र संविधान रुपान्तरण भयो वा भएन त्यसको समीक्षा हुनुपर्छ ।”    नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले बितेका ९ वर्षमा संविधानले कसरी काम ग¥यो, अब कसरी लैजाने भन्नेमा प्रमुख राजनीतिक दलहरुबीच गम्भीर बहसको खाँचो औँल्याउनुभयो ।

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

काठमाडौँ, २७ माघ : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१ प्रस्तुत गर्नुभएको हो ।

विधेयक प्रस्तुत गर्दै उहाँले सहज रूपमा नागरिकता प्रदान र प्रक्रिया थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको जानकारी गराउनुभयो । गृहमन्त्री लेखकले गम्भीर रूपमा छलफल गरेर समयसाक्षेप बनाउन विधेयक ल्याउनुपरेको बताउनुभएको थियो ।

मन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका काम कारबाही दोहोरिने गरी कुनै व्यवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले प्रहरीमा सेवा प्रवेशदेखि निवृत्तसम्मका प्रक्रियालाई थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पार्नुभयो ।

यसअघि तीनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रेम सुवाल, सुमना श्रेष्ठ र विनिता कठायतले राख्नुभएका विरोधका सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

थ्रीस्टार आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

कास्की, २७ माघ: थ्रीस्टार फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको दोस्रो खेलमा टाइब्रेकरमा थ्रीस्टार मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको नियमित तथा थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारले ४–२ गोलले जित निकाल्यो ।

पेनाल्टीमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर गोल हुन सकेन । थ्रीस्टारका गोलकिपर सरिनले मछिन्द्रका आदित्य शाक्यको प्रहार रोक्न सफल भएपछि थ्रीस्टारले अन्तिम चारको यात्रा तय गरेको हो । मछिन्द्रका सनिश श्रेष्ठ र दिवाकर चौधरीको प्रहारले भने गोलको दिशा लिएको थियो ।

थ्रीस्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । प्रतियोगितामा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई पजित गरी क्वाटरफाइनलको यात्रा तय गरेको थियो । थ्रीस्टारले भने सिधँै क्वाटरफाइनल खेलेको हो ।

प्रतियोगिताअन्तर्गत सोमबार चर्च ब्वाइज र विभागिय टोली नेपाल आर्मी क्लबका बीच खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो । यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १२ लाख, उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पाउने छन् ।

कोशी प्रदेशसभा : प्रदेश आमसञ्चार विधेयक सदनमा पेस

मोरङ, २७ माघ : कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ ।

सो विधेयक प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको थियो । उहाँले विधेयक प्रस्तुत गर्दै पत्रकारको क्षमता वृद्धि तथा श्रमजीवी पत्रकारको सेवासुविधा सम्बन्धमा विधेयकमा उल्लेख गरिएको बताउनुभयो ।

मन्त्री भण्डारीले विधेयकमा पत्रकार दुर्घटना बीमा, बिरामी बिमा उपचार खर्च तथा पत्रकार कल्याण कोष जस्ता व्यवस्था विधेयकमा राखिएको जानकारी दिनुभयो ।

यसैगरी, प्रदेशमा सञ्चालित टेलिभिजन, एफएम, पत्रपत्रिका, अनलाइनको दर्ता, अभिलेखीकरण र विज्ञापनको समान वितरण जस्तो व्यवस्था विधेयकमा रहेको बताउनुभयो ।

यसैगरी, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले ‘प्रदेश भवन ऐन,२०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबल गर्नुभयो । उहाँले विधेयक प्रस्तुत गर्दै विधेयकमा भवन निर्माणको ‘डिजाइन’को योग्यता छुट्टयाएकाले भवन भत्किन गएमा सहज रुपमा क्षतिपूर्ति उपलब्ध हुने बताउनुभयो ।

‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि भएको छलफललाई निरन्तरता दिइएको छ । छलफलमा प्रदेशसभा सदस्यहरु इस्राइल मन्सुरी, प्रदीपकुमार सुनुवार, छविलाल चुडाल, राधाकृष्ण खनाल र नानीमैयाँ श्रेष्ठले हरेक नागरिकले स्वच्छ खानेपानी तथा विपन्नले निःशुल्क खानेपानी पाउनुपर्ने विषय उठाउनुभएको थियो ।

यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरु गणेश उप्रेती, रमेशकुमार बस्नेत, गीतादेवी रेग्मी, मालतीकुमारी लिम्बू, गोम्बु शेर्पा, गोविन्द गिरी, शोभा चेम्जोङ र गोपाल तामाङले भारतीय पर्यटकलाई सहज आवागमनको व्यवस्था गर्नुपर्ने तथा मुलुकलाई कृषिमा आत्मनिर्भर गर्न तीनै तहका सरकारले आवश्यक नीति ल्याउनुपर्ने सुझाव दिनुभयो । प्रदेशसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।

प्रतिनिधिसभा बैठक : अध्यादेशको पक्ष र विपक्षमा सांसद

काठमाडौँ, २७ माघ : प्रतिनिधिसभाको आजको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले सरकारले ल्याएको अध्यादेशको पक्ष र विपक्षमा आफ्नो धारणा राख्नुभएको छ । बैठकको विशेष समयमा सत्तापक्षका सांसदहरुले अध्यादेशको समर्थन गर्दै यसले निजी क्षेत्र र जनतलाई उत्साहित बनाएको बताउनुभयो । प्रतिपक्षी दलका सांसदहरुले भने सरकारले संसद् छलेर अध्यादेश ल्याएको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भूमिसम्बन्धी अध्यादेशमा केही प्रश्न उठेको उल्लेख गर्दै सरकारले त्यसलाई प्रतिस्थापन विधेयकबाट सच्याउनुपर्ने बताउनुभयो । उहाँले अघिल्लो सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका र वर्तमान सरकारले यससम्बन्धी ऐन ल्याउँदा आपसी संवाद तथा सरोकारवालासँग खुला संवाद गरी नल्याएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

“खुला संवाद भएको भए एक्स्टोर्सन, सेक्सटोर्सन, डिप फेक, साइबर बुलिङ, मिस इन्फरमेसन र डिस इन्फरमेसनका सन्दर्भमा कानुनमार्फत यसलाई के–कसरी अन्त्य गर्न सकिन्छ भन्नेमा सिङ्गो समाज एक ठाउँमा आउँथ्यो होला”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल प्रयोगकर्ताले यसमा विमतिको विषय राख्नेभन्दा पनि विषयवस्तुको गहनता र सामाजिक सञ्जाललाई मर्यादित बनाउनेतर्फ लाग्थे होला, तर अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन ।”

एमाले सांसद पदम गिरीले सत्तामा रहँदा र बाहिर हुँदा फरक ढङ्गले प्रस्तुत हुने प्रवृत्ति अब बदल्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले बदनियतपूर्ण ढङ्गबाट स्वार्थ समूहको हितमा अध्यादेश ल्यायो भनेर भन्नु बिडम्बना भएको बताउनुभयो ।

“निजी क्षेत्रले अध्यादेशको खुला रुपले समर्थन गरेको छ, यसबाट निजी क्षेत्रलाई आशा जगाउने स्थिति बनेको भनी उहाँहरुले सरकारलाई धन्यवाद दिनुभएको छ”, सांसद गिरीले भन्नुभयो, “अध्यादेशबाट उद्योगी व्यवसायी, सूचना प्रविधि क्षेत्रका जनशक्ति, मजदुर र किसान खुसी छन्, उद्योगी व्यापारी र जनता खुसी हुन्छन् भने तपाईंहरु दुःखी हुनुपर्ने कारण के हो ?”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले अध्यादेशमार्फत कानुन बनाउने बाटो छाडेर सदनको प्रक्रियाद्वारा सरकार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले ३१ कानुन संशोधन गर्न अध्यादेश ल्याइनु संविधानविपरीत भएको बताउनुभयो ।

“संविधानमा बाधा अड्काउ फुकाउका निम्ति, संसद् बस्ने स्थिति रहेन, देशलाई कानुन चाहियो भने मात्रै अध्यादेशको परिकल्पना गरिएको हो ?”, सांसद पौडेलले प्रश्न गर्नुभयो, “एकतीस ३१ कानुन बनाउँदा संसद्को वास्ता नै नगरिकन ल्याउन कहाँ भनिएको छ ?”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्ना पार्टीका नेता रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेर विभिन्न मुद्दा दर्ता गराइएको जिकिर गर्दै उहाँमाथि गरिएको निलम्बन फुकुवा गर्न माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले वैध तथा अवैध बाटोबाट अमेरिका पुगेका नेपाली नागरिक त्यहाँको पछिल्लो आप्रवासी कानुनी प्रावधानका कारण अलपत्र परेका उल्लेख गर्दै उनीहरुका बारेमा नेपाल सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानद्वारा सल्यानमा आयोजित दोस्रो सल्यान महोत्सवमा आगलागीबाट ठूलो धनराशिको नोक्सान भएको जिकरि गर्दै उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले भूमिसम्बन्धी अध्यादेशका केही बुँदामा आफ्नो पार्टीको असहमति रहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकमार्फत ती विषय सच्याइनुपर्नेमा जोड दिनुभयो । जनमत पार्टीका सांसद अब्दुल खाँनले भारतीय सीमावर्ती जङ्गलबाट आउने जनावरको आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकलाई क्षतिपूर्ति र भरणपोषणका लागि भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले नागरिकतासम्बन्धी समस्या झेलिरहेका नागरिकलाई न्याय दिन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन विधेयकलाई सच्याएर जानुपर्नेमा जोड दिनुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशी नागरिकता भएका कोहीलाई नेपालीका नाममा मतदानका अधिकार दिनु देश र जनताको हितमा नभएको बताउनुभयो । एमाले सांसद ऋषिकेष पोखरेलले किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा जलस्रोत विधेयकमाथि दफावार छलफल

काठमाडौँ, २७ माघ : जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल सुरु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार ३१ गते प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयकलाई पूर्वाधार विकास समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शनिबारदेखि दफावार छलफल सुरु गरेको हो ।

जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण, एवं व्यवस्थापन लाभको न्यायोचित बाँडफाँट, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्यायका आधार सुनिश्चित गर्नका लागि उक्त ऐन निर्माण गरिएको हो ।

समितिका सभापति दीपकबहादुर सिंहले परिच्छेद ७ को दफा २६ सम्म दफावार छलफल गरी पारित गरिएको जानकारी दिनुभयो । उहाँले उक्त विधेयकलाई दफावार छलफल गरी पास गरेर संसद्मा पठाउने तयारी भइरहेको बताउनुभयो ।

काठमाडौँको फर्पिङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ २७ माघ : काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज दिउँदो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यहाँको भन्ज्याङमा जुनकिरी इग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताउनुभयो । प्रहरी उद्धारकै क्रममा रहेको पनि प्रहरीले जनाएको छ ।

कांग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन: सभापति देउवा

घोराही (दाङ) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् ।

कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले त्यसका लागि पार्टीभित्र बलियो एकता जरूरी रहेकाले एकढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

“हामी मिले कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरूरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन”, सभापति देउवाले भने,“पार्टीलाई बलियो बनाउन विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।”

यसैगरी उनले दाङमा रहेको विमानस्थल स्तरवृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तरवृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । “दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरूरी छ । यो दाङको आवश्यकता हो । यसकार्यमा मैले पनि पहल गर्नेछु”, उनले भने ।

प्रतिनिधिसभा बैठकः सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २७ माघः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भूकम्पको पुनर्निर्माण कार्यमा ढिलाइदेखि सडक निर्माण र डढेलोका कारण हुने क्षति रोकथामको तयारीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भगवती चौधरीले विगतको सरकारले क्षेत्रगत रणनीतिक सडक र हुलाकी सडक निर्माणमा बजेट छुट्याए पनि ठेकेदारका कारण निर्माण ढिलाइ भइरहेको बताउनुभयो ।

सांसद भानुभक्त जोशीले बझाङको ताङलाकोट नाका पुनः सञ्चालन नहँुदा धेरै काममा अवरोध भएको भन्दै उक्त नाका खोल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भीमप्रसाद आर्चायले सुनसरीको दक्षिण भागको हुलाकी सडक निर्माण रोकिएको र उक्त सडकमा आएको प्राविधिक समस्या समाधान गरी बजेट छुट्याउन आग्रह गर्नुभयो । सांसद मनबहादुर गुरुङले पृथ्वी राजमार्ग निर्माण धेरै ढिलाइ हुँदा जनताले सास्ती भोग्नु परेकाले तत्काल निर्माण कार्य अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेन्द्रकुमार रायले भारतको महाकुम्भ मेलाबाट फर्कने क्रममा विहारमा जीव दुर्घटनामा महोत्तरीका पाँच जनाको घटनास्थलमै मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । 

सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको ड्याममा भरिएको पानी एक्कासी खोल्दा भएको क्षति र भौतिक संरचनाको तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद महेश बस्नेतले संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति ल्याइएको आप्रवासन नीतिले विश्वका धेरै नागरिकलाई आफ्नो देश फर्काइरहेको र त्यसमा एक हजार ५०० देखि तीन हजार नेपाली पनि प्रभावित हुने बुझिएकाले यसमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद माधव सापकोटाले गत असोज ११ र १२ गतेको वर्षाले अरनिको लोकमार्गलाई ठूलो क्षति पु¥याएको र पक्की पुल नहुँदा आवतजावतमा कठिनाइ भइरहेको भन्दै पुल निर्माणका लागि आग्रह गर्नुभयो । सांसद मीना तामाङले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गर्नुभयो । सांसद मेनकाकुमारी पोखरेलले देशभरका गुठी पीडितको समस्या समाधान गर्न तत्काल गुठी ऐन ल्याएर आग्रह गर्नुभयो ।

सांसद मैना कार्कीले जाजरकोटमा भूकम्प गएको १७  महिना बितिसक्दा पनि अस्थायी टहरा निर्माण गर्न दोस्रो किस्ताको रकम अझै नपाएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मङ्गलप्रसाद गुप्ताले महिला उद्यमीहरूले बैैङ्कहरूबाट सहज रूपमा कृषिकर्जा पाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मोहन आचार्यले २०७२ सालको भूकम्पको करिब १० वर्ष पुग्न लागे पनि रसुवामा अझै अस्थायी टहरामै बस्नुपरेको र एक सय ५२ घरधुरीमध्ये ४३ घरले जग्गा प्राप्तिमा कठिनाइ भोगिरहेको बताउनुभयो । सांसद रघुजी पन्तले देशभर आगलागीका घटना सदनलाई जानकारी गराउनुपर्ने र आगलागी नियन्त्रणका लागि सरकारको तयारीबारे गृहमन्त्रीले सदनलाई जानकारी दिन माग गर्नुभयो ।

सांसद रेखा शर्माले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका नागरिकले प्रक्रियागत झन्झट भएको भन्दै नियमानुसारको रकम उपलब्ध गराउन सरकारको  ध्यानाकर्षण गराउनुभयो । सांसद रामहरि खतिवडा, रणकुमारी बलमपाकी मगर, सांसद रणेन्द्र बराली, रमा कोइराला पौडेल, राजु थापा, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगार्इं, रामकुमार राई, रामकृष्ण यादव, लक्ष्मी तिवारी, लालप्रसाद सावा लिम्बू, लेखनाथ दाहाल, भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ, जलवायु परिर्वतनको असर, सडक निर्माण आयोजनामा ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

ट्रम्प–पुटिन वार्तालाई ‘पुष्टि वा अस्वीकार’ गर्न नसक्ने क्रेमलिनको भनाइ

क्रेमलिनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्ताको अमेरिकी रिपोर्टलाई पुष्टि वा अस्वीकार गर्न अस्वीकार गरेको छ ।
क्रेन युद्ध छिटै अन्त्य गर्ने प्रतिबद्धताका साथ ट्रम्प पदमा आएयता वासिङ्टन र मस्कोले नेताहरूबीच कुनै सञ्चार भएको आधिकारिक रूपमा पुष्टि गरेका छैनन् ।

न्युयोर्क पोस्टले शनिबार राति रिपोर्ट गरेअनुसार ट्रम्पले प्रकाशनलाई युक्रेनको द्वन्द्व अन्त्य गर्नेबारे छलफल गर्न पुटिनसँग फोनमा कुरा गर्नुभएको र रुसी नेताले उहाँलाई ‘मानिसहरू मर्न रोकिएको हेर्न चाहन्छु’ भन्नुभएको बताउनुभयो ।

अखबारले ट्रम्पलाई उद्धृत गर्दै नेताहरूले कति पटक बोलेका छन् भनेर ‘भन्नु राम्रो हुँदैन’ भन्नुभएको बताएको छ ।क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले तास राज्य समाचार एजेन्सीलाई दिएको टिप्पणीमा उहाँले कुराकानी भएको पुष्टि वा अस्वीकार गर्न नसक्ने तर त्यस्तो कुनै कलबारे आफू अनभिज्ञ रहेको बताउनुभयो ।

“यो समाचारबारे म के भन्न सक्छु ? वासिङ्टनमा प्रशासनले आफ्नो काम विस्तार गर्दै जाँदा धेरै फरक सञ्चारहरू उत्पन्न हुन्छन् र यी सञ्चारहरू विभिन्न माध्यमहरू मार्फत गरिन्छन”, उहाँले भन्नुभयो, “र निश्चय नै, यी बहु सञ्चारहरूका कारण, म व्यक्तिगत रूपमा केही कुरा नजान्न सक्छु, केहीबारे अनभिज्ञ हुन सक्छु । त्यसैले यस मामलामा म यसलाई न त पुष्टि गर्न सक्छु न अस्वीकार नै ।”

पेसकोभले यसअघि अमेरिकी नेता राष्ट्रपति पदमा फर्कनुअघि ट्रम्प र पुटिनबीच वार्ता भएको रिपोर्टहरूलाई धेरै पटक अस्वीकार गर्नुभएको थियो ।

क्रेमलिनले ट्रम्प र पुटिनबीच सम्भावित बैठकबारे ‘सङ्केतहरू’ को प्रतीक्षा गरिरहेको र ट्रम्पको नयाँ प्रशासनका कसैले पनि यसको व्यवस्था गर्नेबारे सम्पर्क नगरेको बताएको छ ।

‘जनता कहिलेसम्म बाघको शिकार भइरहने ?’

काठमाडौँ, २७ माघः पछिल्लो समय मुलुकभर मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन् । यही विषयलाई आज सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकको आकस्मिक समयका बोल्दै आज उहाँहरूले खासगरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुने क्रम बढेको भन्दै समाधानका लागि माग गर्नुभयो ।

सांसद शान्ति चौधरीले बर्दियामा निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन जोडिएको र किसानले आफ्नोे खेतमा काम गरिरहेको अवस्थामा समेत बाघको आक्रमणबाट मृत्युवरण गनुपर्ने आवस्था रहेको भन्दै समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चौधरीले भन्नुभयो, “खेतमा काम गर्ने बेलासमेत बाघको आक्रमण हुने गरेको छ, यसको समाधानका लागि वैज्ञानिक योजना तय गर्न सरकारसँग माग गर्दछु, साथै घाइते र मृत्युका भएकाका परिवारलाई समयमै राहत व्यवस्था गर्न आग्रह गर्दछु । चालु आर्थिक वर्षमा मात्र बर्दियामा बाघको आक्रमणबाट मात्र चार जनाले ज्यान गुमाउनुपरेको छ ।”

सांसद जावेदा खातुन जागाले केही दिनअघि मात्र बर्दियामा चितुवाको आक्रमणबाट आफ्नै खेतमा काम गरिरहेकी ५१ वर्षीया जुनाकुमारी लामिछाने क्षेत्रीको यही माघ २५ गते मृत्यु भएको जानकारी गराउँदै यसको दिगो समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो ।

यसैगरी गत पुस २८ गते बर्दियामै ४० वर्षीया पदमकला थापाको पनि बाघको आक्रमणमा परी निधन भएको बताउँदै बढ्दो मानव–वन्यजन्तु द्वन्द्व तत्काल न्यूनीकरण गर्न र पीडितपरिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभयो ।

सांसद खातुनले भन्नुभयो, “बर्दियामा जनता कहिलेसम्म बाघको सिकार भइरहने हो । कहिलेसम्म वन्यजन्तुको आतङ्क सहिरहनुपर्ने हो, सरकारको स्पष्ट धारणा माग गर्न चाहन्छु, अब अति भयो बर्दियाका सांसदहरूले सदनमा पटकपटक कुरा उठाउँदा पनि सरकार कहिले पनि गम्भीर भएको देखेनौँ । महिनापिच्छे बाघको आक्रमणबाट मानिसको ज्यान गइरहेको छ । निकुञ्ज वरिपरिको स्थानीयको जीवन त्रासमय बनेको छ ।”  

डढेलो नियन्त्रणका लागि पूर्वतयारी खोई ?

बैठकमा सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय निकुञ्जमा एक सातादेखि निरन्तर डढेलो लागेको र बस्तीमा समेत असर गरेको जानकारी गराउँदै दुर्लभ रेडपाण्डासहित बहुमूल्य जडीबुटी लोप हुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले जाजरकोट भूकम्पप्रभावितले अझै पनि उचित क्षतिपूर्ति पाउन नसकेको जानकारी गराउँदै तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने सुझाउनुभयो ।  

सांसद ठाकुरप्रसाद गैरेले शनिबार सिंहदरबारभित्रै रहेको खानेपानी मन्त्रालयमा आगलागी भएको घटनाले पूर्वतयारी, सचेतना र जिम्मेवारीप्रति नै प्रश्न उठेकाले सो बारेमा सदनमा जानकारी माग गर्नभयो । उहाँले सुक्खा समय आउन लागेकाले आगलागीप्रति बढी सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हितबहादुर तामाङले लाङटाङ राष्ट्रिय निकुञ्जमा एक सातादेखिको डढेलो नियन्त्रण हुन नसकेको र यसप्रति सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै यसबाट लोपोन्मुख र दुर्लभ वन्यजन्तु तथा वनस्पति लोप हुने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । चोरी सिकारी गर्नेले पनि डढेलो लगाएको हुनसक्ने भन्दै उहाँले नियन्त्रणका लागि उचित कदम चाल्न सरकारसँग माग गर्नुभयो ।  

सांसद बिन्दवासिनी कंसाकारले देशभरै नै आगलागीका घटना बढेको बताउँदै सरकारले पूर्वतयारी प्रभावकारी गर्न नसकेको आरोप लगाउनुभयो । साथै उहाँले मापदण्ड पनि पालनामा कडाइ गर्नुपर्नेमा जोड दिँदै संसद्मा गैरसरकारी जलन विधेयक दर्ता भए पनि किन अघि नबढाइएको भनी प्रश्न गर्नुभयो ।

सांसद अनिशा नेपालीले सल्यानमा महोत्सवमा आगलागी भई ठूलो धनसम्पत्तिको क्षति भएको भन्दै छानबिन गर्न माग गर्नुभयो । उहाँले हरेक पालिकामा दमकलको व्यवस्था गर्न माग गर्दै पीडितलाई क्षतिपूर्तिको प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रभु शाहले सहयोगी कर्मचारीको हाल अस्थायी पदपूर्ति मात्र हुने गरेको र यसले गर्दा उनीहरूको जनवजीवन कष्टकर भएको उल्लेख गर्दै यसमा स्थायी पदपूर्ति किन रोकियो भनी सरकारसँग प्रश्न गर्नुभयो । साथै उहाँले कानुन संशोधन गरेर भए पनि यी वर्गलाई सुविधा दिनुपर्ने माग गर्नुभयो ।

सांसद कान्तिका सेजवालले जुम्लामा विगत २४ घण्टादेखि लगातार डढेलो सुरु भएको र यसले बस्तीमा समेत असर गर्न सक्ने तथा दुर्लभ वन्यजन्तु नष्ट हुने चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले खानेपानी मन्त्रालयमा भएको आगलागीका घटनाका सम्बन्धमा संसद्मा जानकारी गराउन माग गर्नुभयो ।

सांसद ईश्वरी घर्तीले दाङको घोराहीबाट रोल्पाको होलेरी हुँदै रूकुमपूर्वको मैकोटसम्मको दुई सय २० किमी सहिद मार्गलाई आवश्यक बजेट व्यवस्था गरी स्तरोन्नति गर्न माग गर्नुभयो ।

सांसद पूर्णबहादुर घर्तीले सुर्खेतमा पुलको लठ्ठा तान्ने क्रममा अनिल घर्ती र अर्जुन झाँक्रीको भेरी नदीमा खसेर भृत्यु भएको र झाँक्रीको अझै शव फेला नपरेकाले तत्काल प्रभावकारी खोजीमा लाग्न सरोकारवालासँग माग गर्नुभयो ।

सांसद डा अमरेसकुमार सिंहले संविधानमा समावेशीको स्पष्ट व्यवस्था भए पनि वर्तमान सरकारले राज्यका हरेक निकायमा नियुक्ति र सरूवा बढुवा गर्दा व्यवहारमा कार्यान्वयन नगरेको अरोप लगाउनुभयो ।

नेपालमा मानव विकास सूचकाङ्क पहिलाभन्दा सुधार हुँदै छ : परराष्ट्रमन्त्री डा राणा

कैलाली, २७ माघ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा मानव विकास सूचकाङ्क पहिलाभन्दा सुधार हुँदै गएको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–२ कार्यालयको प्रशासनिक भवनको आज उद्घाटन गर्दै मन्त्री डा राणाले मानव विकास सूचकाङ्क सुधार हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारहरुको मात्र होइन, सामाजिक, मानवीय विकासलगायत अन्य सूचकको पनि विकास हुनु जरुरी छ ।”

मन्त्री डा राणाले विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक भएको बताउनुभयो । “विकासको प्रक्रिया भनेको आजको भोलि टुङ्गिँदा पनि टुङ्गिँदैन  र अझ बस्ती बढ्दै जान्छ, कहीँ पुरानो बस्ती छुटेको हुन्छ, जसले गर्दा विकासको क्रम चाहिँ हामीले अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा खसी बोका मरे

मुग्लिन  । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।  दुर्घटनामा  खसीबोका गरी १९ वटा मरेका उनले जानकारी दिए ।

हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन : सांसद पन्त

काठमाडौँ । म राजनीतिक पारिवारिक वातावरणमा हुर्किएकी हुँ । यसै सिलसिलामा राजनीतिक अधिकारका लागि अग्रपङ्क्तिमा रहेको पद्मकन्या क्याम्पसमा म अध्ययनका लागि आइपुगेकी थिएँ । नेपाली कांग्रेसका अग्रज नेताहरुको सामीप्यले मलाई लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा अझ सक्रिय भएर अघि बढ्न प्रेरणा पनि मिल्यो । राजनीतिमा लागेर अध्ययन बिग्रने हो कि भन्ने घरपरिवारको चिन्ताबीच मैले राजनीति र पढाई दुवैलाई एकसाथ अघि बढाएँ ।

कांग्रेसले तत्कालीन पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेका बेलामा म पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सहसचिव थिएँ । विसं २०४५ मा भएको निर्वाचनबाट स्ववियु सभापतिमा चुनिएँ । पार्टीका काममा पनि सक्रिय म २०४६ सालको जनआन्दोलनमा अझ सक्रियतापूर्वक लागेँ । कुनै पनि हालतमा जनआन्दोलन सफल बनाउनुपर्छ भनेर हामी विद्यार्थीले कम्मर कसेर लागेका थियौँ ।

मेरो जुझारु स्वभाव र क्षमता देखेर नै कांग्रेसले २०५१ सालको आमचुनावमा मलाई गोरखाबाट सांसदका लागि टिकट दियो । मैले २०५१ र २०५६ सालमा गोरखाबाट संसद्को चुनाव जितेकी थिएँ । महिला भएर राजनीति गर्न सहज भने थिएन । राजनीतिमा लागिसकेपछि पुरुषसँग पनि हिँड्नुपथ्र्यो । कोसँग हिँडेको भन्ने प्रश्न आउँथे । महिलासँग मात्रै हिँडेर त साध्य हुन्थेन नी । महिला भएर राजनीति गर्न अहिलेकोभन्दा पहिला चुनौती बढी थियो ।

विसं २०४६ मै हामीले बहुदलीय संसदीय व्यवस्था अङ्गालेका भए पनि देशभित्र माओवादीको सशस्त्र आन्दोलन, सरकारहरुको निर्माण र विघटन, पार्टीभित्र र बाहिर अन्तद्वन्द्व चरम अवस्थामा थियो । यहीबीच राजाले बहुदलीय व्यवस्थामाथि नै धावा बोले । त्यसकाविरुद्ध माओवादी र तत्कालीन सात दलबीच सहकार्य भएर २०६२/६३ सालमा फेरि आन्दोलन भयो । यी आन्दोलनबाट देशकै शासकीय स्वरुपमा नयाँ अध्याय सुरु भयो । हामी गणतान्त्रिक मुलुकमा रुपान्तरित भयौँ ।

मुलुकमा गणतन्त्र त आयो, तर पछिल्लो समय राजनीतिक संस्कार नै हराउन थालेको आभास भइरहेको छ । अर्थतन्त्र मन्दीको अवस्थामा छ । सरकारहरुले यो चुनौतीलाई कसरी व्यवस्थापन गर्ने हो भन्ने प्रश्न तेर्सिएको छ । विकास, निर्माणका कार्यहरु कसरी सञ्चालन गर्ने रु ऋण कसरी तिर्ने रु यी चुनौती हरेक सरकारकासामु प्रश्न बनेर उभिएका छन् ।

अर्को विषय भनेको, बोल्ने तर काम नगर्ने चलन व्याप्त भयो । सरकारले जनतालाई आश्वस्त तुल्याउन सक्नुपर्छ । जनताको विश्वास जित्नुपर्छ । उनीहरुको मुहार हँसिलो हुँदै जानुपर्छ । जनतालाई खुसी हुन दिनुपर्छ । विडम्बना, राजनीतिमा एकले अर्कालाई गाली गर्ने चलन बढेको बढ्यै छ, असहिष्णु व्यवहारले जरो गाडेको छ । यो प्रवृत्तिमा सुधार हुनुपर्छ ।

राजनीतिक नेतृत्व र जनताकाबीचको खाडल अझ फराकिलो हुँदै जान थालेको आभास भइरहेको छ । जनता र राजनीतिलाई जोड्नुपर्ने अहिलेको आवश्यकता हो । यो कार्य जतिसक्दो चाँडो हुनुपर्छ, नत्र मुलुकमा अर्को दुर्भाग्य निम्तिन सक्छ ।

राज्यलाई पनि जनताले विश्वास गर्ने वातावरण हुनुपर्छ । हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन । जस्तै, मन्त्रालयका सचिवहरुलाई पनि राजनीतिक रङ्ग लगाइएको छ । आफ्नो स्वार्थअनुसार रातारात सरुवा गरिन्छ । कसलाई सचिव राख्दा कार्यदक्षता बढ्न सक्छ पो हेर्नुपर्छ । उनीहरुको दक्षताको मूल्याङ्कन हुनुपर्छ । राज्यप्रतिको विश्वास र अर्थ आर्जन अहिलेको आवश्यकता हो ।

राजनीतिमा समस्याहरु अझ झाङ्गिँदै गएको पाइन्छ । सांसदको गरिमा खस्किएको छ । एकअर्कामा आरोप प्रत्यारोप बढ्दो छ । आज झगडा, भोलि सत्ता परिवर्तन हुन्छ । अनि भाषा फरक हुन्छ । सांसदले आफू आबद्ध दलको निर्देशन (ह्वीप) मान्नुपर्छ, तर सांसदले मनमा लागेको कुरा बोल्न पाइँदैन भन्ने हुन्छ र रु जनताले चाहेको कुरा हरेक सांसदले संसद्मा भन्न पाउनुपर्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले भनेको मात्रै मान्नुपर्छ भन्ने त हुन्न । हामी सांसदले जनताको पुलको काम गर्नुपर्छ । जनताको भावना सम्बोधन हुनेगरी काम गर्नुपर्छ ।

सांसदहरु स्वयं पनि रचनात्मक हुनुपर्छ । संसद् राम्रोसँग चल्न पाएको छैन । कसरी असफल बनाउने भन्ने मात्र देख्छु । आफूलाई लागेको कुरा बोलेर राख्नुपर्छ नी । अर्को कुरा, संसदीय आचरणलाई ध्यान पुर्‍याउनुपर्छ ।

संविधानमा भएका मौलिक हक कार्यान्वयन हुन नसक्नु अर्को दुर्भाग्य हो । कानुन बनाउँछौँ । तर ऐनको नियमन गर्न सक्दैनौँ । सहकारी ऐनलाई राम्रोसँग कार्यान्वयन गर्न सकेको भए अहिलेको समस्या आउने थिएन । अनि सांसद नै सहकारी ठगीमा संलग्न हुनु निकै दुःखद् हो । कांग्रेसका नेताहरु पनि भ्रष्टाचारको मुद्दामा जेल जानुभएको छ तर कांग्रेस त सडकमा गएन नी । अहिले त सडकमा गएर अराजक रुपमा विरोध भइरहेको छ । यो राजनीतिक संस्कार होइन ।

संविधानका केही कुराहरु संशोधन गर्न आवश्यक छ । महिलाकै मुद्दाहरु पनि छन् । राष्ट्रपति तथा अरु पदमा ‘वा, र, तर’ जस्ता शब्दहरु सुधार गर्नुपर्ने छ । महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ । संविधान संशोधनको कुरा पार्टीले नै छलफलमा ल्याएको छैन । पहिला त हामीले संविधानको इमान्दार रुपमा कार्यान्वयन गर्नुपर्छ । यति सुन्दर संविधान छ । अहिले संवैधानिक आयोगहरुले राम्रो काम गर्न सकिरहेका छैनन् । जनताको जीवनस्तर के छ ? अनुगमन गर्नुपर्छ । जनताको पेटभरि खान पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । उनीहरुलाई अधिकारसम्पन्न बनाउनुपर्छ । किन काम हुन सकेन निगरानी गर्न आवश्यक छ ।

पछिल्लो समय गुनासैगुनासाहरु बढिरहेको छ । गुनासा घटाउने र क्षमता अभिवृद्धि गराउने काम गर्नुपर्छ । कानुन र नियमले दिएका अधिकार प्रयोग गर्न डटेर काम गर्नुपर्छ । मुलुकमा सुशासन चाहिँ छैन । भ्रष्टाचार नियन्त्रण हुनसकेमा मात्रै सुशासन हुन्छ । दिगो विकास हुनुपर्छ । तर मुलुकको विकास दिगो छैन । तसर्थ सुशासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक छ ।

सांसद कमलादेवी पन्तको परिचय

राष्ट्रियसभा सदस्य कमलादेवी पन्त ६० वर्षअघि गोरखा जिल्लामा जन्मिएकी हुन् । उनी पोलियोका कारण आजकल सहज रुपमा हिँड्डुल गर्नसमेत सक्दिनन्। राष्ट्रियसभामा भने २०७८ साल माघदेखि संसद्का रुपमा जोडिएकी छिन् । सांसद पन्त हाल राष्ट्रियसभा मातहतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति रहेकी छिन् ।

कुराकानीमा आधारित

राष्ट्रिय सभाको बैठक आज सवा १ बजे बस्दै, के के छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउसो सवा १ बजे बस्न लागेको हो ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् । यसका साथै आजको बैठकमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्‍जाल विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्‍ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ ।

यसैगरी आज संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि बस्दै छ । बिहान ९ बजे पूर्वाधार विकास समितिको सभाकक्षमा .बैठक बस्न लागेको हो ।
बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

म्याग्दी, २७ माघः चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा रु ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

आयोजनाका प्रमुख धु्रवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेका जानकारी दिनुभयो । उहाँका अनुसार मार्फाखोलामा एक सय २० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७५ असार २९ गते रु १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो । पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्ट (राजु)ले बताउनुभयो ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ वटा निर्माण सकिएको, दुई वटा निर्माणाधीन, पाँच वटाको ठेक्का तोडेको र पाँच वटा पुल निर्माणको प्रक्रियामा छन् । विसं २०७३÷०७४ देखि सुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २७ माघ ः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३७, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउसिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तितेकरेला प्रतिकेजी रु १४०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी–२०, फर्सी हरियो (डल्लो) प्रतिकेजी–२०, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी–८०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २००, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठकोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी–४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फुजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १५०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐँसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ९०, हरियो धनियाँ प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

स्वीकृतिबिना सञ्चालित अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

महेन्द्रनगर (धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइलगायत मापदण्ड पूरा नगरी जनकपुरधाममा सञ्चालित निजी अस्पताल तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।

  जनकपुरधामको मुजेलियाबाट भ्रमरपुराचोकसम्मका २० वटा निजी अस्पतालको अनुगमन गरेपछि उहाँले स्वीकृतिबिना सञ्चालित अस्पताल आइतबारसम्म आफैँले ताल्चा लगाउन सञ्चालकहरूलाई निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्रीले बहुसङ्ख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिएर सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर सेवा बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले अनुगमन गर्नुभएका निजी अस्पतालमा जीवनज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर, बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, जनकपुर ग्रान्डी हस्पिटल, रामा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, समर हस्पिटल, केयर मेडिकल सेन्टर, नेपाल एपोलो हस्पिटल, श्रीराम हस्पिटल, नयना अस्पताल, अरमान हस्पिटल, मिहिलाल इन्टरनेसनल, सहयोग हस्पिटल, जनकपुर मोडर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, माँ गायत्री मेमोरियल हस्पिटल, म्याक्स हस्पिटल एण्ड रिसर्च सेन्टर, स्वस्तिका हेल्थकेयर अस्पताल, लाइफ केयर एन्ड रिसर्च सेन्टर र ओम दीर्घायु हस्पिटल प्रालिमा रहेका छन् ।     

मुख्यमन्त्री सिंहले स्वीकृतिप्राप्त भई नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिना सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनी दिनुभयो । अनधिकृत रूपले खेलिएका र स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी सर्त पूरा नगरेका अस्पताल सञ्चालनसँग सम्बन्धित सबै कागजपत्र लिएर सरकारको सम्पर्कमा आउन आग्रह गरिएको उहाँको सचिवालयले जनाएको छ ।

अनुगमन क्रममा मुख्यमन्त्री सिंहले भन्नुभयो, “स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस् । आइतबारसम्म अस्पतालका बिरामीलाई अन्य उपचार संस्थामा सारेर आफैँले बन्द गर्नुभएन भने हामी सरकारी टोेली परिचालन गर्नेछौँ ।” उहाँले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीलाई समेत कारबाही गरिने उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री सिंहले निजी अस्पतालका लागि लिइएको स्वीकृति कागजातसहित दस्तावेज, मापदण्डअनुसार जनशक्तिको सङ्ख्यात्मक उपलब्धता र व्यवस्थापन, स्वास्थ्य उपकरण, सेवाको उपलब्धता, गुणस्तर र भौैतिक संरचनाबारे जानकारी लिनुभएको थियो ।  

अनुगमन टोलीमा प्रदेश सरकारका मुख्यसचिव मदन भुजेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र र सोही मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवं अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरलगायत सहभागी हुनुहुन्थ्यो । 

अनुगमन टोलीका सदस्यसचिव ठाकुरका अनुसार इमरजेन्सी, फार्मेसी, बहिरङ्ग तथा अन्तरङ्ग कक्ष, ल्याब, एक्स–रे, प्रसूतिकक्ष, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, अस्पतालबाट निस्किने फोहोर विसर्जन गर्ने प्रक्रियालगायत विषयमा अनुगमन गरिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंहले अनुगमन भएकामध्ये केही अस्पतालले सेवा सञ्चालन स्वीकृति विभिन्न तहका सरकारबाट प्राप्त गरे पनि नवीकरण नगराएका, अधिकांश अस्पताल प्रालिमा दर्ता भएर सेवा सञ्चालन स्वीकृति नलिएका, जस्वास्थ्य नियमावलीले तोकेका मापदण्डअनुसार भौतिक संरचना नरहेका, फार्मेसी अध्ययन गरेका जनशक्ति नभई स्वास्थ्यकर्मीबाट सञ्चालन भएका र कतिपय अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी नभेटिएकाले तत्काल बन्द गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

यसअघि मुख्यमन्त्री सिंहले शुक्रबार मध्यराति जनकपुरधामस्थित मुस्कान अस्पतालमा अनुगमन गरी सेवा सञ्चालन स्वीकृति नलिँदासम्म बन्द गर्न निर्देशन दिएको थियो । अस्पताल सञ्चालकले आज उक्त अस्पताल बन्द गरेका छन् ।

मधेशवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छः महासचिव पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जारी गरेको अध्यादेशमा मधेशवादी दललाई सहमतिमा ल्याउन थालिएको बताउनुभएको छ । एमाले बागमती प्रदेश कमिटीले भक्तपुरको गोठाटारस्थित मदन÷आश्रति स्मृति प्राविधिक शिक्षालयमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रशिक्षक÷प्रशिक्षण कार्यक्रममा उहाँले मधेशवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । “मधेशवादी दलले अध्यादेशलाई समर्थन गर्नका लागि अप्ठयारो मानेको देखिन्छ । तिनलाई सहमति गराएर यस विषयलाई अगाडि बढाउने पार्टीको सोच छ । त्यसका लागि प्रयास भइरहेको छ”, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले राज्य कमजोर पारेर व्यक्ति बलियो हुने प्रयास गर्न खोजिएको भन्दै बलियो राज्यले नै समाजलाई चाहेको दिशामा डोर्याउन सक्ने र त्यसका लागि पार्टीले काम गरिरहेको बताउनुभयो ।

महासचिव पोखरेलले राजनीतिक धुव्रीकरण गर्दै ठूला पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले दुई ठूला पार्टी लामो समयसम्म सँगै बस्न नसकिने भन्दै निर्वाचनमा अलग अलग भएर चुनावमा जाने बताउनुभयो । “हाम्रो लक्ष्य फरक भएकाले लामो समयसम्म सँगै बस्न सकिँदैन । नीतिगत प्रतिस्पर्धा गर्ने बाटो तयार गर्नका लागि अहिले दुई पार्टी मिलेका हौँ । त्यो काम गर्छौं ।”

अब राजनीतिक पार्टीले जनतामाझ निराशा होइन आशा जगाउनुपर्छ : अध्यक्ष नेपाल

लेखनाथ (कास्की-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवंपूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरू सुशासन र जनताप्रति उत्तरदायी नहुँदा नेपाली जनतामा राजनीतिक निराशा पैदा भएको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) को प्रथम गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष नेपालले भन्नुभयो, “अब राजनीतिक पार्टीले जनतामाझ निराशा होइन, आशा र उत्साह लिएर जान जरुरी छ, यसो गर्न नसकिए राजनीतिक दलहरूप्रति जनताको निराशा झनै बढ्ने छ ।”  

एकीकृत समाजवादी आफ्नो सिद्धान्त, सङ्गठन र सङ्घर्षबाट अगाडि बढ्ने पार्टी भएकाले यसले नेकपा (एमाले) र (माओवादी केन्द्र) सँग पार्टी एकता नगर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्छाँै, विचार मिल्ने पार्टीसँग एकता र सहकार्य गरेर जान्छाँै ।”

वर्तमान सरकारले ल्याएको अध्याधेशको विरोध गर्दैै अध्यक्ष नेपालले उक्त अध्याधेश जनताको हितमा नरहेको बताउनुभयो । उक्त अध्यादेश संविधान संशोधन गर्नभन्दा पनि ठूला पार्टीको हित र स्वार्थमा ल्याइएको उहाँको आरोप छ । एकीकृत समाजवादीले अब जनतामाझ आशा र उत्साह जगाउने कार्यक्रम लिएर जाने उहाँले बताउनुभयो । 

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०६२÷६३ सालको परिवर्तबाट निर्माण गरेको संविधानमा चाहेजति उपलब्धि हासिल गर्न नसकिएको बताउनुभयो । नेपाली जनताको जीवनस्तर उकास्न वैज्ञानिक ढङ्गबाट भूमिसुधार, कृषि क्रान्ति र औद्योगिकीकरण हुन आवश्यक भएको उहाँको भनाइ थियो ।

यस्तै, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले देशमा मौलाएको भ्रष्टाचारको जालो नियन्त्रण गर्न नसकिए यसले ठूलो रुप लिँदै जाने बताउनुभयो । पार्टीका महासचिव घनश्याम भुसालले देशको अर्थतन्त्र खोक्रो हुँदै गएकाले बेलैमा सचेत हुन सरकारसँग आग्रह गर्नुभयो ।  

भलिबल कपको उपाधि नेपाल पुलिस क्लबलाई

रामपुर (पाल्पा-पाल्पाको रामपुरमा आयोजना भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको पारेको छ । उपाधिसँगै पुलिसले रु दुई लाख २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस क्लबले २५–२१, २५–१२ र २५–२२ अङ्कले खेल जितेको हो । त्रिभुवन आर्मी क्लब तेस्रो भयो । निस्दी भलिबल क्लबले सान्त्वना पुरस्कार प्राप्त गरेको खेल संयोजक कमल रानाले बताए । आर्मीले निस्दी भलिबल क्लबलाई ३–१ सेटले पराजित ग¥यो । आर्मीले पहिलो सेट २५–२१ अङ्कले, तेस्रो सेट २५–१९ तथा चौथो सेट २५–१९ अङ्कले जितेको हो । निस्दीले दोस्रो सेट २५–१९ अङ्कले जितेको थियो ।

प्रतियोगितामा उपविजेता भएको एपिएफ क्लबले रु एक लाख ५५ हजार पाँच सय ५५, तृतीय भएको आर्मीले रु एक लाख एक हजार एक सय ११ तथा सान्त्वना हुने निस्दीले रु ५५ हजार पाँच सय ५५ पत्र प्राप्त गरेको छ । 

चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कप भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा विभागीय टोली आर्मी क्लब, एपिएफ क्लब र पुलिस क्लबका साथै मणिमुकुन्द भलिबल क्लब र निस्दी भलिबल क्लब सहभागी भएका थिए । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिस क्लबका रेशम छन्त्याल, उत्कृष्ट डिफेन्डर एपिएफ क्लबका विनोद चन्द, उत्कृष्ट सर्भर पुलिस क्लबका पहल गहतराज, उत्कृष्ट ब्लकर पुलिस क्लबका सफल विक, उत्कृष्ट सेटर एपिएफ क्लबका दिपेश कुँवर, उत्कृष्ट स्पाइकर आर्मी क्लबका धनबहादुुर भट्ट र उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका चन्द्र कुँवर घोषित भए ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजना, रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल सङ्घको सहआयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल सङ्घको समन्वयमा यही माघ २१ गतेदेखि भलिबल कप सुरु भएको हो । विजयी टोली तथा खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, रामपुरका नगर प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना र रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घका रासायनिक हतियार निगरानी निकायका प्रमुख र सिरियाली नेताबीच भेटवार्ता

विश्वका रासायनिक हतियार निगरानी निकायका प्रमुखले शनिबार सिरियाका नयाँ नेतासँग भेटवार्ता गर्नुभएको छ ।

सिरियामा १३ वर्ष लामो गृहयुद्धका बेला पटक–पटक यस्ता हतियार प्रयोग गरेको आरोप लागेका बशर अल असदलाई सत्ताच्यूत गरेपछि पहिलो पटक दमास्कसको भ्रमणका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो ।

सिरियाका अन्तरिम नेता अहमद अल–शरा र विदेशमन्त्री असद अल–शैबानीले संगठनका प्रमुख फर्नान्डो अरियासको नेतृत्वको ‘अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स’ को प्रतिनिधिमण्डललाई स्वागत गरेको सिरियाली राष्ट्रपतिले बताउनुभएको छ ।

एक दशकभन्दा अघि सिरियाले आफ्नो घोषित भण्डार विनाशका लागि हस्तान्तरण गर्न सहमति जनाएको थियो, तर रासायनिक हतियार निषेध सङ्गठन (ओपीसीडब्लु) ले यो घोषणा अधुरो रहेको र थप हतियार बाँकी रहेको भन्दै सधैं चिन्ता व्यक्त गर्दै आएको छ।

ओपीसीडब्लुको यो भ्रमणले सिरियाले वर्षौंको ढिलासुस्ती र निकायको काममा अवरोध गरेपछि यस्ता हतियारबाट मुक्त हुने आशा जगाएको छ ।राष्ट्रपतिले शारा र शैबानीले अरियाससँग हात मिलाउँदै गरेको तस्बिर पनि सेयर गरेका छन् ।

इस्लामवादी नेतृत्वको विद्रोहीहरूद्वारा अल–असदको नाटकीय सत्ताच्युत भएपछि सिरियामा रासायनिक हतियारको भण्डारको भविष्यबारे व्यापक चिन्ता व्यक्त गरिएको छ।ओपीसीडब्लुले अल–असदको पतनपछि सिरियाली सेनाका स्थलहरूमा इजरायली आक्रमणमा बहुमूल्य प्रमाणहरू नष्ट भएको हुन सक्ने चिन्ता पनि व्यक्त गरेको छ ।

इजरायलले ‘अतिवादी’को हातमा पर्न नदिन आफ्नो निशाना सिरियाली रासायनिक हतियार समेत रहेको बताएको छ ।सन् २०१३ मा सिरिया ओपीसीडब्लुमा सामेल हुन, रूसी र अमेरिकी दबाबमा आफ्नो विषाक्त भण्डारको खुलासा गर्न वा हस्तान्तरण गर्न र वासिङ्टन र उसका सहयोगीहरूद्वारा हवाई आक्रमणको खतराबाट बच्न सहमत भएको थियो।

अमेरिकी गुप्तचर निकायका अनुसार दमास्कसको घौटा उपनगरमा भएको शङ्कास्पद रासायनिक आक्रमणमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो र यसको श्रेय सिरियाली सरकारलाई दिइएको थियो।

रासायनिक हतियारको प्रयोगलाई ‘रेड लाइन’ मा जोड दिइए तापनि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले संयुक्त राष्ट्रसङ्घको निगरानीमा सिरियाको रासायनिक हतियार नष्ट गर्ने विषयमा रुससँग सम्झौता गर्नुको साटो प्रतिशोधात्मक आक्रमणबाट पछि हट्नुभएको थियो ।

रिग्दी खोलामा असला माछा देखिन छाड्यो

मुग्लिन (चितवन), २७ माघ : चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्नेक्रम बढेपछि यहाँका असला माछा मासिँदै गएका छन् ।

विषादी हाल्ने र करेन्ट लगाउनेक्रम नरोकिएपछि स्थानीय माछासहित जलचर प्राणीको संरक्षण गर्न लागिपरेका छन् । इच्छाकामना –२ का स्थानीयले शनिबार माछा संरक्षण समिति गठन गरेका छन् । संरक्षण समितिले विषादी र करेन्ट प्रयोगले पार्ने असरबारे खोला आसपास बसोबास गर्ने स्थानीयलाई जानकारी गराउने, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी विषादी र करेन्ट प्रयोग गर्दा हुने कानुनी कारबाहीलगायत जनचेतनामूलक कार्यक्रम गर्ने, सूचना बोर्डहरु राख्नेलगायत काम गर्ने माछा संरक्षण समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताउनुभयो । सम्झाउँदा अटेर गरे समितिले कानुनी कारबाहीका लागि स्थानीय प्रशासनलाई जानकारी गराउने उहाँले बताउनुभयो ।

गाउँपालिकाले पछिल्लो केही वर्षदेखि खोलामा विषादी नहाल्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गर्दै आएको गाउँपालिका अध्यक्ष दानबहादुुर गुरुङले बताउनुभयो । विषादी हाल्ने र करेन्ट लगाउने गरेमा वडा कार्यालय, गाउँपालिका कार्यालय र स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरेको उहाँले बताउनुभयो । विषादी हाल्ने र करेन्ट लगाउनेलाई कानुनी कारबाही गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

संरक्षण समितिका अध्यक्ष प्रजाका अनुसार पहिलेपहिले जाल खेल्दै जाँदा पाँच÷छ पटकमा फुर्लुङ भरिने गथ्र्यो । यहाँका स्थानीयले माछा सुुकुटी बनाएर बजारसम्म बेच्न पु¥याइन्थ्यो । अहिले दिनभरमा पनि एकछाक खान पुग्ने माछा पाउन मुस्किल हुने गरेको छ । उहाँले भन्नुभयो, “यहाँका स्थानीयले पहिले माछा सुकुटी बनाएर बजार समम बेच्न लगिन्थ्यो अहिले दिनभर जाल खैल्दै जादाँ एक छाक पुग्ने माछा पाउन मुस्किल हुन्छ ।”

अर्का स्थानीय टीकाबहादुुर गुरुङले स्थानीय सरकारले रिग्दीको असला माछालाई संरक्षण गरी यसैलाई ‘ब्राण्ड’ बनाउन सकिने बताउनुभयो । माछा संरक्षणका लागि स्थानीय सरकारले विषादी हाल्ने करेन्ट लगाउनेलाई पूर्ण रुपमा रोक्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “परम्परागत रुपमा माछा मार्न दिएर विषादी हाल्ने र करेन्ट लगाउनेलाई पूर्ण रुपमा रोक्नुपर्छ, यहाँको असला माछालाई ब्राण्ड बनाउन सकिन्छ, स्थानीयको आयआर्जनको स्रोत बन्नेछ ।”

पर्यटकीयस्थल शैलुङडाँडा

दोलखाको शैलुङ गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल शैलुङडाँडा । ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भएकाले यस स्थलको नाम शैलुङ राखिएको स्थानीय बताउँछन् । तस्बिरः हरिराम भेटुवाल

दोलखाको शैलुङ गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल शैलुङडाँडा ।

माधवनारायणका बर्तालु निस्के चाँगुनारायणको परदेश यात्रामा

काठमाडौँ – साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालु शनिबार बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् ।

माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधि रहेको छ । माघ शुक्ल द्वादशीका दिन बर्तालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी चाँगुनारायणमा साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ । परदेश यात्रा सकी बर्तालु चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ । आइतबार साँखु फर्कने बर्तालुले त्यहीँ भोजन गर्न पाउनेछन् । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुलाई खीर (तस्मी) खुवाइएको थियो ।

बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ । माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बास बसिएको थियो । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइएको थियो ।

परदेशमा भोजन गर्ने स्थान

परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि बर्तालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउनुभयो । परदेश यात्रामा बर्तालुका साथ स्वयंसेवक पनि हुन्छन् । बर्तालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि छ ।

परदेश यात्रा विघ्नबाधाबिना नै सम्पन्न भएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो । बर्तालुको परदेश यात्राका क्रममा पशुपति क्षेत्र विकास कोष, स्थानीयवासीलगायतले पनि सहयोग गरेको उहाँले बताउनुभयो । माधवनारायण व्रत कठोर व्रतमध्येमा पर्छ । कठोर व्रत भए पनि बर्तालुले सहज रूपमा यसको अभ्यास गर्दै आएका छन् ।