`

मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न महानगर प्रमुख महर्जनको अनुरोध

पाटन (ललितपुर), २९ माघः ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गर्नुभएको छ ।

गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि अत्यावश्यक पर्ने बेत नेपालमा सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध गर्नुभएको हो ।

“रथ बनाउन प्रयोग हुने बेत आसामबाट लानुपर्छ तर सहज छैन, यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्छु, रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको सम्बन्ध छ, अब काठमाडौँ र आसामबीच सिधैँ हवाई उडानबाट यात्राको व्यवस्था मिलाउन सकियोस्, यसले दुई देशबीच आवतजावत बढ्छ, सम्बन्ध अझै बलियो हुन्छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रा रोचक तथ्यबारे जानकारी गराउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू, विश्वविद्यालय परिवारलगायत गुहाटी र आसामका नागरिकलाई जात्रा हेर्न आउन निम्तासहित आह्वान गर्नुभयो । “रातो मच्छिन्द्रनाथको जात्रा हेर्न ललितपुर आउनुहोस्, भव्यताका साथ स्वागत गर्न आतुर छु”, उहाँले भन्नुभयो ।

कुनै पनि किलाकाँटाको प्रयोगबिना बेतले बाँधेर रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथ बनाउन प्रयोग गरिने बेत भारतको आसामबाट ललितपुर ल्याउने प्रचलन छ ।

नगरप्रमुखले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा पर्यटन संस्कृति समितिका संयोजक वडाध्यक्ष विकासमान श्रेष्ठ, समितिका सदस्यद्वय रुपेन्द्रराज शाक्य र राजेन्द्र महर्जन, महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष शन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार बाराहीलगायत हुनुहुन्छ ।

कार्यक्रममा गुहाटी विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्ताले रातो मच्छिन्द्रनाथले ललितपुर र भारतको सम्बन्धलाई बलियो बनाएको बताउनुभयो । 

सांस्कृतिक र ऐतिहासिक रूपमा दुई देशबीचको सम्बन्ध बलियो भएको प्रष्ट पार्दै यो सम्मेलनले सम्बन्ध अझै कसिलो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मजुली सांस्कृतिक विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डम्बरुधर नाथले भारत र नेपालबीचको प्रगाढ सम्बन्धको सेतु रातो मच्छिन्द्रनाथ भएको बताउनुभयो । 

रातो मच्छिन्द्रनाथबारे गुहाटीमा छुट्टाछुट्टै विषयमा सात वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले ‘नेपालमा गुरु मच्छिन्द्रनाथ’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । 

महानगरका अमूर्त सम्पदा सल्लाहकार न्याछ्योले सम्पदा र विश्वसम्पदा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पानेजु सङ्घका अध्यक्ष शाक्यले रातो मच्छिन्द्रनाथको पूजा विधि, ज्यापू समाजका अध्यक्ष महर्जनले जात्रा व्यवस्थापन र रथ निर्माणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गुठी संस्थानका निमित्त प्रशासक शालिकराम सुवेदीले आसामबाट बेत सङ्कलन प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

त्रिभुवन विश्वविद्यालय, इतिहास विभागका पूर्वप्रमुख प्राध्यापक राजाराम सुवेदीले ‘नेपालमा सिद्ध मच्छिन्द्रनाथ’को भूमिका विषयक कार्यपत्र र डा विदु प्रकाश कायस्थले रातो मच्छिन्द्रनाथ, जलवायु परिवर्तन र त्यसको असर विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । 

संवाद र सहकार्यमार्फत केबलकार निर्माण प्रक्रियालाई अघि बढाउन आग्रह

ताप्लेजुङ, २९ माघः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उहाँले बताउनुभयो । 

स्थानीय सरकारका रूपमा स्थानीयको आन्तरिक आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने दायित्व नगरको भएकाले लगानीकर्तालाई प्रोत्साहन गरिएको मादेनले बताउनुभयो । उहाँले ‘नो केबलकार’ समूहलाई सार्थक संवादमा आउन र जिल्लाको समृद्धिमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । उहाँले निर्माणमा अवरोध नगरी भावि सन्ततिका लागि सहमतिमा आउन नो केबलकार समूहलाई आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बूले केबलकार निर्माणमा एकमत हुनु आवश्यक रहेको बताउनुभयो । केबलकार निर्माण हुनुपर्छ भन्नेमा आफूहरूको मत रहेको भन्दै उहाँले विकास निर्माणमा अवरोध नगर्न ‘नो केबलकार’ समूहलाई आग्रह गर्नुभयो । 

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष खड्गविक्रम सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्कीलगायत वक्ताले विद्यमान समस्या र विवाद छलफल र वार्ताका माध्यमबाट समाधान गरेर विकास निर्माणमा एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

फुङ्लिङ नगरपालिकाअन्तर्गतका विभिन्न वडाका वडाध्यक्ष मोहन न्यौपाने, टङ्क पालुङ्वा, दुर्गाप्रसाद पालुङ्वा, मदन गुरूङ, योगेन्द्रप्रसाद निरौला, लक्ष्मण गुरूङ, युवराज भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले सहमति र वार्तामार्फत केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।  

पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ । मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका हुन् ।

यसअघि सरकारसँग भएका वार्ता, संवाद निष्कर्षविहीन भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी निर्माणको वातावरण बनाउन र सार्थक वार्ता संवादमा आउन ‘नो केबलकार’ समूहलाई आग्रह गरेको हो । नगरपालिकाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा परियोजनालाई अघि बढाउने योजना रहेको जनाएको छ ।

पाँच हजार कुखुरापालनमा बागलुङका सुवेदी, मासिक पाँच लाख बचत

गलकोट (बागलुङ), २९ माघः बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आउनुभएको छ । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आउनुभएका सुवेदीको व्यावसायिक कुखुरापालनबाट मासिक रु पाँच लाख बचत गर्दै आउनुभएको छ ।

एकाउन्न वर्षीय सुवेदीले १८ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताउनुभयो । उहाँले १० वर्षयता बागलुङ र त्यसभन्दा अघि चितवनमा कुखुरा पाल्दै आउनुभएको हो । 

अहिले उहाँको कुखुरा फार्मममा पाँच हजार पाँच सय कुखुरा छन् । सरदरमा दैनिक पाँच हजार अण्डा बजारमा क्रिीका लागि जाने सुवेदीले जानकारी दिनुभयो । “धेरै पटक असफलता व्यहोर्नु प¥यो, त्यही असफलताबाट पाठ सिकेर अघि बढ्दा सफलता पाइदोरहेछ”, उहाँले भन्नुभयो, “हार मानेको भए, अहिले व्यवसाय छाडिसकेको हुन्थेँ, निरन्तरको प्रयासले यहाँसम्म ल्याएको छ । अहिले मासिक रु पाँच लाख बचत हुन्छ, गत वर्ष कुखुराले अण्डा नदिँदाको घाटा अहिले पूरा गर्दैछु ।”

उहाँले विसं २०६३ मा चितवन गएर सुरुमा बोइलर जातको कुखुरा पाल्न थाले पनि पछिल्लो १० वर्षयता लियर्स जातको कुखुरा पाल्दै आउनुभएको छ । चितवनमा निरन्तर सफलता हाँसिल गर्दै गए पनि १३ हजार कुखुरा बर्डफ्लुका कारण मरेपछि फर्केर बागलुङ आएको सुवेदीले बताउनुभयो । 

“मनग्ये आम्दानी कमाई भइरहेको थियो तर एकैपटक बर्डफ्लु आएपछि सबै घाटामा गयो, त्यसले निराश भएर बागलुङ फर्के, त्यसयता राम्रो भइरहेको थियो, गत वर्ष कुखुराका चल्लाले अण्डा नदिएपछि रु ६० लाख घाटा प¥यो । अहिले राम्रो छ, पोहोरको घाटालाई अहिलेको नाफाले सघाएको छ”, उहाँले भन्नुभयो । लामो समय हुर्काएका कुखुराले अण्डा नदिँदा घाटा भएको उहाँको भनाइ छ । 

विसं २०७० मा पाँच जनाको समूहले भाटेखोलामा लेयर्सजातको कुखुरा पाल्न थाले पनि अहिले आफ्नो निजी फार्म सञ्चालन गरेको सुवेदीले बताउनुभयो । उहाँका अनुसार उक्त फार्ममा अहिलेसम्म रु ६० लाख लगानी भइसकेको छ । कृषिमा उल्लेख्य नतिजा प्राप्त गर्न प्राविधिक ज्ञानसमेत हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । 

“पोहोर ५२ सय चल्ला हालेँ, तर एक सय ५० वटाले मात्र अण्डा पारे अरुले पारेनन्, ११ महिनाको अवधिमा राम्रो अण्डा नआउँदा र दाना खर्चमा झण्डै रु ७० लाख घाटा भयो”, सुवेदीले भन्नुभयो, “यो पेसामा निकै जोखिम छ, तर प्राविधिक रूपमा जानकारी भएमा आम्दानी प्रशस्त गर्न सकिन्छ । जोखिम नियन्त्रणका लागि केही रकम सङ्कलन गर्नसक्ने हो भने घाटा छैन, अहिले मासिक रु पाँच लाख नाफा हुन्छ, अण्डाको मूल्य मनग्ये पाइएको छ ।” फार्ममा उत्पादित अण्डा आफैँले गाडीमार्फत म्याग्दी, पर्वत र बागलुङ बजारमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । 

बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा, सरकारको सहयोगमा कमी, कृषि गर्नेप्रति समाजको नकारात्मक दृष्टिकोणलगायत कारणले कृषि क्षेत्र फस्टाउन नसकेको बताउँदै प्राविधिक सहयोग निरन्तर पाउनुपर्नेमा सुवेदीले जोड दिनुभयो ।   फार्ममा श्रीमती शिला सुवेदीले निरन्तर साथ र उत्प्रेरणा दिँदै आउनुभएको छ । सुवेदी परिवारले २२ रोपनी जग्गा वार्षिक रु ६० हजार भाडामा लिएर फार्म सञ्चालन गर्दै आएको छ ।

धरहरा चढ्ने समय बढ्यो,सञ्चालनको तीन महिना नपुग्दै एक करोड ५२ लाख राजस्व असुल

काठमाडौँ, २९ माघः गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।

यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व सङ्कलन भएको छ । 

गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको निर्देशक अर्यालले बताउनुभयो । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति रु एक हजार शुल्क अर्यालले बताउनुभयो । उहाँका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो । 

उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुईपाङ्गे्र सवारीका लागि रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको निर्देशक अर्यालले उल्लेख गर्नुभयो । 

अमेरिकी डलरको भाउ पुनः बढ्यो

काठमाडौँ, २९ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७  पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रूपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ २० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ २३ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १२ पैसा र बिक्रीदर १९ रूपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ तीन पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २५ पैसा र बिक्री दर ३१ रूपैयाँ ३८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६४ पैसा र बिक्रीदर नौ रूपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३५ पैसा र बिक्री दर १९ रूपैयाँ ४३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८ रूपैयाँ एक पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५२ रूपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रूपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ७२ रूपैयाँ ११ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६२ रूपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ३२ पैसा निर्धारण भएको छ ।

    यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

चलचित्र ‘हर्ष’ मा खगेन्द्र र आँचलको अभिनय रहने

काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडीको अभिनय रहने ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन ।

ई.प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।

सिनेमालाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् । आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

को हुन नव निर्देशक एकता पौडेल ?
एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा सिनेमाहरु बनाएकी छन् ।

नेपाल आउँदै मिस ग्लोब डायना, ‘नोभेम्बर मिस्टर एन्ड मिस नेसनल नेपाल’ को अडिसनमा जज रुपमा देखिने

काठमाडौं । ‘द मिस ग्लोब २०२४’ की विजेता डायना मोरेनो नेपाल आउने भएकी छिन्। उनी भोलि बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउँदैछिन्।

‘नोभेम्बर क्लोथिङ मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को निम्तोमा डायना नेपाल आउन लागेकी हुन्। फेब्रुअरी १५ अर्थात फागुन ३ गतेदेखि काठमाडौंमा सुरु हुने अडिसनमा उनी जजको भूमिका निर्वाह गर्नेछिन्।

यस प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे सो पनि गर्दै छ। जुन जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुनेछ। अडिसनदेखि डायनाले काभ्रेमा फेब्रुअरी १५ मा हुने वर्ल्ड युथ फेस्टिभलको लागि हुने एक अन्तर्कीयात्मक कार्यक्रममा पनि सहभागी जनाउनेछिन्।

नेपालमा हुने सौन्दर्य प्रतियोगितामा ग्रान्ड फिनालेमा अन्तर्राष्ट्रिय स्तरका विजेताहरुलाई ल्याएर जजको भूमिका राख्ने सनुर्वी इन्टरनेसनल पहिलो प्रतियोगिता भएको आयोजकको दाबी छ। चौथो संस्करणमा अडिसनबाटै अन्तर्राष्ट्रिय विजेताहरु जजको रुपमा राखेको सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बताए।

‘यसवर्ष भने काठमाडौंको अडिसनदेखि नै अन्तर्राष्ट्रिय जजलाई समावेश गरेर यो प्रतियोगिता आयोजना हुँदैछ। काठमाडौंको अडिसनदेखि काभ्रेमा हुने वर्ल्ड युथ फेस्टिभलमा डायनाले सहभागीता जनाउनुले नेपालको ब्युटी पेजेन्ट लगायत फेसन उद्योगलाई नै थप टेवा पुग्नेमा हामी आशावादी छौं,’उनले भने।

डायनाको नेपाल बसाइ पाँचदिन रहेको आयोजकले जनाएको छ। यस अवधीमा काठमाडौंका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको घुम्ने गर्ने योजना तय छ। साथै उपत्यकाका विश्वसम्पदा सूचिमा परेका क्षेत्रहरुमा उनको फोटोसुट पनि हुनेछ। नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा पनि उनको भेटघाट कार्यक्रम राखिएको छ। उनको बसाइ काठमाडौंको पाँचतारे होटल दुसित प्रिन्सेससहित धुलिखेलस्थित दुसित थानीमा हुनेछ।

मार्च २ सम्म चल्ने अडिसन काठमाडौँ उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ। जसमा १८ देखि ३२ वर्षसम्मका महिला र पुरुषहरुले भाग लिन सक्नेछन्। यसमा उचाई र लिङ्गको मापदण्ड तोकिएको छैन।

सन् २०२४ मा अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायनाले ताज पहिरिएकी हुन्। नेपालबाट भने मिस ग्लोब नेपाल मोनिका अधिकारीले प्रतिनिधित्व जनाएकी थिइन्। ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ आयोजना गरेको प्रतियोगिताबाट नेपालबाट सहभागी उनी टप १५ भित्र पर्न सफल भएकी थिइन्।

मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड छन्। जुन मिस्टर एन्ड मिस नेसनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता रहेको आयोजकको दाबी छ।

सूर्यकुमारीको बारीमा १६ किलोको लौका

सुदूरपश्चिम, २८ माघः कैलालीको गौरीगङ्गा नगरपालिका–११ पिरेनी गाउँकी सूर्यकुमारी चौधरीको बारीमा १६ किलोग्रामको एउटै लौका फलेको छ ।

गत जेठमा रोपिएको स्थानीय जातको लौकाको लहरामा कुनै रासायनिक मल र विषादी प्रयोग नगरेरै सो लौका फलाएको उहाँले बताउनुभयो । “रासायनिक मल र अन्य विषादी केही प्रयोग गरिएन, केवल गोबर मल प्रयोग गरेर लौका फलाइएको लागेको हो”, चौधरीले भन्नुभयो ।

गौरीगङ्गा नगरपालिका–९ मा सञ्चालित एकता जैविक संरक्षण कृषि सहकारी (बीउ बैंक)की सदस्यसमेत रहनुभएकी चौधरीले आफ्नै संस्थाबाट लिएको रैथाने जातको लौकाको बीउ रोप्नुभएको थियो ।

संस्थाका अध्यक्ष भक्तिराम सापकोटाले संस्थाले रैथाने जातको धान, गहुँ, सिमी, तरकारीलगायत बालीको बीउ संरक्षण गरी किसानलाई बिक्री वितरण गर्दै आएको बताउनुभयो । “हाइब्रिड जातको बीउको तुलनामा रैथाने जातको बीउबाट उत्पादकत्व केही कम हुने गरेको छ तर रैथाने जातको बीउबाट खेती गर्दा लागत खर्च कम र रोककिराको समस्या पनि कम हुन्छ । कुनै विषादी वा रासायनिक मल प्रयोगबिना उत्पादित कृषिउपज मानव स्वास्थ्यका लागिसमेत हानिकारक हुँदैन । त्यही भएर हामीले यस्तो कार्यलाई प्रोत्साहन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

धनगढीमा लागेको प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा प्रदर्शनीका लागि राखिएको यो लौका अवलोकन गर्नेहरूको भीड लाग्ने गरेको छ । मेलामा रैथाने जातका अन्नबाली, तरकारीको बीउबिजनका साथै कृषिजन्य सामग्री तथा उपकरण पनि प्रदर्शनीमा राखिएका छन् ।

कृषि निर्देशनालय दीपायलको पहलमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणमा टेवा पु¥याउने लक्ष्यसहित धनगढीमा चारदिने प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१ सञ्चालन भइरहेको छ ।

चीन डेभलपमेन्ट बैङ्कद्वारा सुरक्षा र विकासका लागि ऋण स्वीकृति

चीन डेभलपमेन्ट बैङ्कले सन् २०२४ मा देशभर १.५३ ट्रिलियन युआन (लगभग २१३.३७ अर्ब अमेरिकी डलर) पूर्वाधार ऋण जारी गरेको बैङ्कले सोमबार जनाएको छ । औद्योगिक स्तरोन्नति, सहरी विकास र राष्ट्रिय सुरक्षा जस्ता प्रमुख पूर्वाधार क्षेत्रका लागि ऋण प्रदान गरिएको बैङ्कले जनाएको छ ।

गत वर्ष, चीन डेभलपमेन्ट बैङ्कले मध्यम र दीर्घकालीन वित्तपोषणको लागि आफ्नो समर्थनलाई बलियो बनायो र देशको १४ औं पञ्चवर्षीय योजना (सन् २०२१–२०२५) मा सूचीबद्ध १०२ ठूला परियोजनाहरूको कार्यान्वयनलाई अगाडि बढाउन मद्दत गर्यो । यसले प्रमुख राष्ट्रिय रणनीतिहरू कार्यान्वयन गर्न, प्रमुख क्षेत्रहरूमा सुरक्षा क्षमता निर्माण गर्न कार्यक्रमहरू कार्यान्वयन गर्न परियोजनाहरूलाई समर्थन गर्यो । बैङ्कले सूचना पूर्वाधार र नवप्रवर्तन पूर्वाधारको निर्माणमा पनि सक्रिय रूपमा सहयोग गरिरहेको छ ।

अध्यादेशबाट देश चलाउन खोज्नु गलत : शेखर कोइराला

भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् ।

सोमबार भक्तपुरमा जिपी कोइराला फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा कोइरालाले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताए ।

संसद्लाई छलेर जान खोज्यो भने त्यो निरङ्कश हुने बताउँदै उनले दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नभएकाले संंसद्बाटै ऐन, कानुन बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “अध्यादेशबाट देश चलाउने संस्कार हाम्रो होइन । प्रजातन्त्रमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।”

सोही कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताइन् ।

‘सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश’ – गृहमन्त्री लेखक

कैलाली, २८ माघः गृहमन्त्री रमेश लेखकले सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश जारी गरेको बताउनुभएको छ । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गरी पास हुने बताउनुभयो ।

अध्यादेश पारित गर्न कुनै समस्या नरहेको उहाँको भनाइ थियो । उहाँले सरकार दुई दलको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म अघि बढ्ने बताउनुभयो । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “व्यक्तिगत रुपमा कुन नेताले कहाँ के बोल्छन त्यो राजनीतिक कुरा हो, तर सत्ता सञ्चालनमा कुनै समस्या छैन ।”

धरानमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

धरान (सुनसरी), २८ माघः यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

आज चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १–०२–००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभुमी गाउपालिका–१ का २५ वर्षीय सुमन राई गम्भीर घाइते हुनुभएको थियो ।

घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो । मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ ।

ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।

निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन्ः गृहमन्त्री लेखक

कैलाली, २८ माघः गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुदूरपश्चिम प्रदेशको आज धनगढीमा आयोजित चौथो अधिवेशनको उद्घाटन समारोहमा उहाँले निजी विद्यालयहरूको भूमिका सबैले अनुभूत गरेको बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “सामुदायिक विद्यालयलाई राम्रो बताउनुपर्दछ भन्नेमा कुनै दुविधा छैन । सरकारले निःशुल्क अनिवार्य शिक्षा दिनुपर्दछ भन्नेमा पनि कुनै दुविधा छैन तर संस्थागत, निजी अथवा आवासीय विद्यालयका कारणले सार्वजनिक अथवा सामुदायिक विद्यालयको स्तर घटेको होइन । त्यसकारण दुवैलाई जुधाउनुपर्ने वा प्रतिस्पर्धा गराउनुपर्ने कुनै आवश्यकता छैन । दुवैको सुधार र योगदानको कदर गरिनुपर्छ ।”

उहाँले सरकारले नीतिगत र कानुनी सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । “नीतिगत सुधार भन्ने बित्तिकै कानुनी र संरचनागत सुधार हो, दुवै पक्षको सुधार गर्ने हो । सोहीअनुसार काम भइरहेको छ”, गृहमन्त्री लेखकको भनाइ थियो,“यसैकारण सङ्घीय संसद्मा भएका विधयेक चाँडो पारित गरेर गर्ने, आवश्यकताअनुसार संसोधन, नयाँ तर्जुमा गर्नुपर्ने कानुन संसद्मा प्रस्तुत गरेर अगाडि बढाउन लागेका छौँ ।” उहाँले शिक्षासम्बन्धी विधेयक चाँडै पास हुने उल्लेख गर्नुभयो ।

देशको अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो भूमिका र सहभागिता रहेको बताउँदै मन्त्री लेखकले यसको प्रवर्द्धन, संरक्षण गरेर मात्रै आर्थिक प्रगति हासिल गर्न सकिन्छ भन्ने नेपाल सरकारको मान्यता रहेको बताउनुभयो । “नेपाल सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छ । निजी क्षेत्रको विकासले समग्र मुलुकको अर्थतन्त्रलाई विकसित गर्नसक्छ भन्ने कुरामा हामी स्पष्ट छौँ”, उहाँले भन्नुभयो ।

प्याब्सन सुदूरपश्चिमका अध्यक्ष ललितराज पन्तले निजी तथा आवासीय विद्यालयको विकासका लागि सबैले हातोमालो गरेर अघि बढ्न जरूरी रहेको बताउनुभयो ।

केवलकार विवाद वार्ताद्वारा समस्या समाधान गर्नुपर्ने

मोरङ, २८ माघः राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले ताप्लेजुङ्ग केबलकार विवाद वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त विवादमा दुवै पक्षले एकअर्कालाई सम्मानका साथ मिलेर समाधान गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष मगरले उक्त स्थानमा भएका घटनाका सम्बन्धमा अनुगमन गरी विज्ञप्तिसमेत जारी गरेको जानकारी दिनुभयो । उहाँले आयोगमा आएको नागरिकतासम्बन्धी उजुरीलाई सम्बन्धित ठाउँमा पठाइ समस्या समाधान गरेको बताउनुभयो ।

कार्यक्रममा आयोगका सचिव मुरारीप्रसाद खरेल र प्रदेश कार्यालयका प्रमुख बिरबहादुर वुढामगरले आयोग प्रत्येक घटनाप्रति जानकार रहेको र अनुसन्धान गरी कारवाहीका लागि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक)का कोशी संयोजक मनोहर पोखरेल, सिविनका वासु अधिकारी, अपाङ्गता संस्थाका चेतनाथ पोखरेल, सञ्चारकर्मी मोहन मानन्धर, किशोर वुढाथोकी, प्रेम देवानलगायतले आयोगले एकल महिलाका, बालबालिकाका, नागरिकता समस्या समाधान गर्न र सञ्चारमाध्यम आएका मानवअधिकार उल्लङ्घनका घटनामा आवश्यक अनुगमन गर्न सुझाव दिनुभयो ।

श्रीलङ्काको समुद्री इलाकाबाट १४ भारतीय मछुवा पक्राउ

श्रीलङ्काको जलसेनाले आइतबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १४ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।

उत्तरी श्रीलङ्काको मन्नारको दक्षिणमा रहेको समुद्री क्षेत्रमा आइतबार राति विशेष अपरेसनका क्रममा ती मछुवाहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ । उनीहरूले प्रयोग गरेका डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ।

शनिबार रामेश्वरमबाट चार सयभन्दा बढी डुङ्गामा माछा मार्न गएका थिए ।नौसेनाले अवैध माछा मार्ने अभ्यासहरूलाई रोक्न श्रीलङ्काको समुद्री क्षेत्रमा नियमित गस्ती र अपरेसनहरू सञ्चालन गर्दछ ।

डीएमके सांसद कनिमोझीले केन्द्रीय सरकारलाई श्रीलङ्काली नौसेनाले गिरफ्तार गरिएका ९७ तमिलनाडु मछुवालाई रिहा गर्न तत्काल कदम चाल्न आग्रह गर्नुभयो ।

सांसदले केन्द्रीय सरकारलाई श्रीलङ्का सरकारसँग वार्ता गर्न र समस्याको स्थायी समाधान खोज्न आग्रह गर्नुभयो । “हामी समातिएका डुङ्गाहरूलाई रिहा गर्न चाहन्छौं । हामी केन्द्रीय सरकारले श्रीलङ्का सरकारसँग वार्ता गरी स्थायी समाधान खोज्न चाहन्छौं,” कनिमोझीले बताउनुभयो ।

सांसद कनिमोझीले मिडियासँग कुरा गर्दै भन्नुभयो,“श्रीलङ्काली नौसेनाले तमिलनाडुका मछुवाहरूलाई गिरफ्तार गरी उत्पीडन गरिरहेको छ । अहिले करिब ९७ तमिलनाडुका मछुवाहरूलाई पक्राउ गरिएको छ ।”

हाम्रा मुख्यमन्त्री एमके स्टालिनले मन्त्री र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक जनाको मृत्यु

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा सोमबार एक कामदारको मृत्यु हुनुको साथै अन्य घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समय अनुसार बिहान ११ः१५ बजे विस्फोट भएको हो ।

घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो, तर पछि उनको मृत्यु भएको थियो ।

ट्याङ्कीको माथि रहेको ह्याच खोलेर भित्र रहेको पेट्रोकेमिकलको मात्रा जाँच गर्ने क्रममा विष्फोटमा परी दुईजना घाइते भएको अनुमान गरिएको छ ।विष्फोटपछि लागेको आगो निभाउन दमकल सहितको उपकरण परिचालन गरेको थियो ।

आगलागी भएको ट्याङ्कीको वरिपरि लुब्रिकेन्ट, बायोडिजेल र अन्य चार–पाँचवटा ट्याङ्की थिए ।करिब तीन घण्टापछि आगो पूर्ण रुपमा निभाइएको थियो ।

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नेपालगञ्ज, २८ माघः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, पुसमा ४० र माघको २७ गतेसम्ममा ३१ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा सम्पर्क कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले उजुरी फर्छ्यौटमा साउनदेखि हालसम्म ६२ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिनुभयो । गत वर्ष सो कार्यालयले कूल उजुरीको ८३ दशमल ८३ प्रतिशत फर्छ्यौट गरेको थियो । सो कार्यालयको कार्य क्षेत्र लुम्बिनीका बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला हुन् ।

सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले भ्रष्टाचारलाई सामाजिक रोगको संज्ञा दिँदै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री अग्रवालले इन्जिनियर नवीन पाण्डे र प्रहरी हवल्दार गुलाबचन्द्र मौर्यलाई पुरस्कृत गर्नुभएको थियो । स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’को सस्पेन्स तथा थ्रिलर ट्रेलर रिलिज

काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भैरहेका सिनेमाको भन्दा फरक र युनिक देखिन्छ ।
यो ट्रेलरले सिनेमाप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । त्यो रात के भयो ? भन्ने सवांदबाट सुरु भएको सिनेमाको भगवान पनि म, अनि राक्षस ? बाट अन्त्य गरिएको छ । ‘ताण्डवम्’को ट्रेलर सस्पेन्स तथा थ्रिलर महसुस गराउन सफल देखिन्छ ।

सिनेमा निर्देशक जुनिक गहतराज पनि सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले आज सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । सिनेमा महाशिवरात्रीको पूर्वसन्ध्या पारेर फागुन ९ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ ।
सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

‘वास सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न पहल गरिनेछ’ : मन्त्री यादव

काठमाडौँ, २८ माघः खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न पहिल गरिने बताउनुभएको छ ।खानेपानी मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री यादवले भन्नुभयो, “वास सेवाको सशक्तीकरणका लागि सबैभन्दा पहिले आफ्नै पार्टीको केन्द्रीयस्तरबाट कार्यान्वयन गराउने गरी प्रतिबद्धता व्यक्त गर्छु । साथै, सरकारको राष्ट्रिय प्राथमिकतामा पार्नका लागि पहल गर्नेछु ।”

उहाँले राजनीतिक दल, सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले एकताबद्ध भएर लिखित प्रतिबद्धता जनाए वास सेवा सुधारमा ठोस उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री यादवले यसका लागि तीनै तहका सरकारबीच सहकार्य मजबुत बनाउन नगरपालिका सङ्घ, राष्ट्रिय गाउँपालिका महासङ्घलगायतका संस्थाहरूसँग सहकार्य गर्दै नीति तथा रणनीतिहरू परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशका खानेपानीसँग जोडिएका मन्त्री, नगरपालिका सङ्घ, राष्ट्रिय गाउँपालिका महासङ्घका प्रतिनिधिसँग छलफल भएको थियो । छलफलका क्रममा सहभागीहरूले सुरक्षित खानेपानी तथा सरसफाइका लक्ष्यहरू हासिल गर्न सबैले एकताबद्ध भएर काम गर्नुपर्ने र वास सेवालाई सुरक्षित, सबल, तथा समावेशी बनाउन निरन्तर प्रतिबद्ध रहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशकी खानेपानीमन्त्री विजया बुढा, सङ्घीय खानेपानी मन्त्रालयका सचिव इ प्रमिलादेवी बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठ, सातवटै प्रदेशका सचिवहरू, उपमहानिर्देशक रामचन्द्र काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

कञ्चनपुर, २८ माघः यहाँको शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेकासामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ ।

पूर्वप्रधानाअध्यापक, पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षक, नगर सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय कार्यपालिकाले गरेको हो । नगर क्षेत्रभित्रकै विद्यालयमा सरुवा गरिनेसमेत नगरपालिकाले जनाएको छ ।

सरुवा हुन चाहेको शिक्षकले कम्तीमा पाँच वटा विद्यालयको प्राथमिकता क्रमसहित नगरपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने विद्यालय समायोजन दरबन्दी मिलान तहगत प्रअ व्यवस्थापन कार्यदलका संयोजक रमेशबहादुर ऐरले जानकारी दिनुभयो ।

“शिक्षकको नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सरुवाका लागि प्रतिवेदन निर्णयार्थ कार्यपालिकामा पेस गरी पारित गरिएको छ”, उहाँले भन्नुभयो, “सुझावसहित पारित प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित विद्यालयमा जानकारी दिइएको छ ।”

संयोजक ऐरका अनुसार ६३ नगर शिक्षक, नौ जना सङ्घीय अनुदानका शिक्षक गरी ७२ जना, प्राथमिक तहका स्थायी ७३, निम्न माध्यमिक तहका १६, माध्यमिकका आठ स्थायी शिक्षकको दरबन्दी मिलान, व्यवस्थापन गरिने छ ।

यसैगरी उच्च माविका दुई, राहत कोटाका प्राथमिक तहका ५०, निम्न माध्यमिक विद्यालयका २३, माध्यमिक तहका २४, साविक उच्च माविका आठ र बालविकासका ६५ शिक्षकको व्यवस्थापन गरिने भएको छ ।

विद्यालयमा कार्यरत कर्मचारीलाई पनि कार्यदलले व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ । शिक्षा क्षेत्रसँग सम्बद्ध विज्ञ, पूर्वशिक्षा क्षेत्रका सेवानिवृत अधिकारी, विद्यालय व्यवस्थापनका पदाधिकारी, शिक्षकलगायतसँग रायसल्लाह सुझाव लिएर प्रतिवेदनलाई मूर्तरुप दिने बताइएको छ ।

यसअघि कार्यदलको सिफारिसमा सामुदायिक विद्यालयमा २८ जना प्रधानाध्यापक र तहगत, विषयगत गरी २४ जना शिक्षक व्यवस्थापन गरिएको थियो । न्यून विद्यार्थी सङख्या भएका चार वटा विद्यालय समायोजन र दुईवटा विद्यालयको तहगत मिलान गरिएको थियो । नगर क्षेत्रमा २८ वटा सामुदायिक विद्यालय छन् ।

विद्यालयका भौतिक समस्या, शैक्षिक समस्या तथा शिक्षक व्यवस्थापनलाई दश वर्षे नगर शिक्षा योजनामा समेटने नगरपालिकाको शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले बताउनुभयो । “विद्यालयस्तरीय शैक्षिक कार्यहरु नियमित रुपमा सञ्चालन गराई परीक्षा प्रणालीलाई समयसापेक्ष सुधार गर्ने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा तहगत स्थायी प्रधानाध्यापक व्यवस्थापन गरी कामकाजका लागि खटाएका छौँ ।”

समाजवादीको महाधिवेशनमा दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस

काठमाडौँ, २८ माघः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले कृषि क्षेत्रको उत्पादन वृद्धि, न्यायपूर्ण वितरण तथा हरित ऊर्जाको प्रयोगलाई जोड दिने गरी नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्द शत्रमा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने तथा छोटो समयमै दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्न सकिने विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

संयोजक डा भट्टराईले भन्नुभयो, “त्यसका लागि राज्यको कुल बजेटको ४० प्रतिशत विकासमा खर्च गरिनुपर्छ । अरुले घिस्रने कुरा गरेका छन्, हामीले उफ्रने र उड्ने लक्ष्य बनाउनुपर्छ । विकास र समृद्धि प्राप्त गर्न पहिले उत्पादन बढाऔँ, पुग्ने गरी बाडौँ । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यबाटै सुनिश्चित गरौँ ।”

वैदेशिक लगानी भित्र्याउन विद्यमान कानुनी अड्चनमा सुधार गर्दै पुँजीपतिसँग सम्झौताका साथ ठूला पूर्वाधार निर्माण गर्न सकिने भन्दै उहाँले यसबाट रोजगारी र राजस्व प्राप्त हुने भएकाले प्रोत्साहनको नीति आवश्यक रहेको बताउनुभयो ।

संयोजक डा भट्टराईले योग र ध्यानको माध्यमद्वारा समाजमा सद्भाव काम गर्दै भौतिकसँगै मानसिक र आध्यात्मिक खुसीका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि राजनीतिक स्थिरता र सुशासन चाहिने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गरिनुपर्ने उहाँको भनाइ थियो ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिइरहेका छन् । महाधिवेशनले ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

प्रचार विभाग प्रमुख मानुषी यमीले दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिइने बताउनुभयो ।

महाधिवेशनको बन्दसत्रमा संयोगकबाट प्रस्तुत राजनीतिक र साङ्गठनिक प्रस्तावमाथि समूहगत छलफल भएको छ । अब संयोजकबाट छलफलमा उठेका प्रश्नको सम्बोधन भएसँगै निर्वाचन आयोगलाई जिम्मेवारी हस्तान्तर गरिने जनाइएको छ ।

अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ

काठमाडौँ, २८ माघः बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र रु ८१ हजार नगद बरामद गरिएको जानकारी दिनुभयो ।

स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

हामी सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको छ ।
महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित ‘आधारशीला’ स्थापनाको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उहाँले यसका लागि आफ्नो दलले समुदायमा आधारित गतिविधिलाई अघि बढाउने निर्णय गरेको बताउनुभयो ।

“भर्खरै पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न गरेका छौँ, अब हामी समुदाय आधारित काममा केन्द्रित हुनेछौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “यसका लागि आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्दैछौँ ।” उहाँले यस अभियानले यसअघि समुदायसँग अलगथलग बनेको सम्बन्धलाई सुधार्दै आगामी निर्वाचनमा आफ्नै बलबुतामा अगाडि बढ्ने गरी सहयोग पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।

समुदायसँगको अन्तर्घुलनबिना राजनीति, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणका लक्ष्य पूरा नहुने भन्दै अध्यक्ष दाहालले पार्टीका सारा कामलाई जनकेन्द्रित बनाउन आधारभूत तहका पार्टी समितिले योजनाबद्ध काम अघि बढाउन पर्ने धारणा राख्नुभयो । उँहाले ‘आधारशीला’ कम्युनको अवधारणालाई व्यवहारिक रूप दिन थालिएको एक प्रयत्न भएको बताउँदै अब देशभरिमै यस्ता प्रयत्न अघि बढाइने बताउनुभयो । “यो काम हाम्रा साथीले नेतृत्व गर्नुभएका मुलुकका १२३ स्थानीय तहबाट सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाउने छौँ । अब हाम्रो दलले सामूहिक जीवनको अभ्यास सिकाउने ‘आधारशीला’ जस्ता कम्युन मुलुकभरि नै अभियानका रूपमा अगाडि बढाइने छन् । समाजवादको आधारशीला बनाउन हाम्रा काम उदाहरणीय बन्नेछन्”, अध्यक्ष दाहालको भनाइ थियो ।

वार्षिकोत्सवमा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस इञ्चार्ज मातृकाप्रसाद यादवले अब आफ्नो दल गुटपरस्त गतिविधिलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा ‘आधारशीला’ का परिकल्पनाकार तथा संस्थापक माओवादी केन्द्रका उपमहासचिब गिरिराजमणि पोखरेलले आधारशीला स्थापनाको औचित्यबारे प्रकाश पार्नुभयो ।

विसं २०५९ साल माघ २५ गते तत्कालीन नेकपा एकता केन्द्रमा आबद्ध गिरिराजमणि पोखरेलसहितका नेताले सहिद परिवार र पार्टीका पूर्र्णकालीन कार्यकर्ताको आश्रयस्थलका रूपमा स्थापना गर्नुभएको ‘आधारशीला’ मा अहिले १६ परिवार सामूहिक रूपमा बस्दै आएका छन् । ‘आधारशीला’ ले बर्सेनि माघ २५ गते स्थापना दिवस मनाउँदै आए पनि यसपालि प्रचण्डको अनुकूलता पार्न तीन दिनपछि कार्यक्रम आयोजना गर्नुपरेको समारोहमा जानकारी दिइएको थियो ।माओवादी केन्द्रका नेताहरू उर्मिला अर्याल, विश्वनाथ साह र प्रह्लाद बुढाथोकीसहितको उपस्थिति रहेको समारोह अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो ।

राष्ट्रपति ट्रम्पले इरानलाई घुँडा टेकाउन खोजेको तेहरानको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई घुँडा टेकाउन खोजेको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आरोप लगाउनुभएको छ । सन् १९७९ मा इस्लामिक गणतन्त्रको स्थापना र शाह मोहम्मद रेजा पहलवीको सत्ताच्युत भएको इस्लामिक क्रान्तिको ४६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले इरानविरूद्ध अमेरिकी नेतृत्व लागिपरेको बताउनुभएको हो ।

“ट्रम्पले हामी वार्ता गर्न चाहन्छौँ भन्ने तर इरानीे क्रान्तिलाई घुँडा टेकाउन सबै षडयन्त्रमा हस्ताक्षर गर्नुभएको छ्,” ट्रम्पले यसै महिनाको सुरुमा तेहरानविरुद्धको प्रतिबन्ध पुनस्र्थापना गरेको उल्लेख गर्दै पेजेस्कियनले भन्नुभयो ।

“हामी युद्धको खोजीमा छैनौँ”, उहाँले भन्नुभयो, “तर इरान कहिल्यै पनि विदेशीका अगाडि झुक्ने छैन ।”

अमेरिका र इजरायल विरोधी नारा लगाउँदै सोमबार बिहान दक्षिणमा शिराज र बन्दर अब्बास, उत्तरमा रास्ट, पश्चिममा केरमानशाह र सान्दाज तथा पूर्वमा पवित्र शहर मशादको सडकमा भीड जम्मा भएको टेलिभिजनमा प्रसारित श्रब्यदृश्यमा देखाइएको छ ।

कार्यक्रममा सहभागी हरूले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको तस्वीर, इरानको हरियो, रातो र सेतो झण्डाका साथै तेहरान समर्थित हिजबुल्लाहजस्ता समूहहरूको ब्यानर बोकेका थिए।

संयुक्त राज्य अमेरिकाले ‘विभाजन’ को बीजारोपण गरेर इरानलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै पेजेशकियानले भन्नुभयो, “यदि हामी एक साथ अघि बढ्यौँ भने देशको सबै समस्याहरू समाधान गर्न सक्षम छौँ।”

सन् २०२१ मा समाप्त भएको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानविरुद्ध ‘अधिकतम दबाब’ को नीति लिनुभएको थियो ।

फेब्रुअरी ४ मा विभागहरूलाई नयाँ प्रतिबन्धहरू लगाउन निर्देशन दिने आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले ‘इरानसँग सम्झौता गर्न र सबैले सँगै बस्न सक्ने’ आशा व्यक्त गर्नुभएको थियो । त्यतिबेला ट्रम्पले यदि इरानले आफ्नो मुलुक र नागरिकमाथि आक्रमण गरेमा इरानको नामेट हुने चेतावनी दिनुभएको थियो ।

सन् १९७९ मा निर्वासनबाट अयातुल्लाह रुहोल्लाह खोमेनीको तेहरान फर्केको वर्षगाँठ अर्थात् इरानले शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको र गणतन्त्र स्थापना गरेको जनवरी ३१ देखि १० दिनसम्म भव्य कार्यक्रमसाथ ‘गणतन्त्र स्थापना समारोह’ गर्ने गर्छ ।ट्रम्पको प्रतिबन्धको घोषणापछि हालैका दिनहरूमा इरानी अधिकारीहरूले नागरिकहरूलाई ठूलो सङ्ख्यामा उत्सवमा भाग लिन आग्रह गरेका थिए।

भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम, २८ माघ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताउनुभएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ लाग्नुपर्ने बताउनुभयो । सदाचार, निष्पक्षता र निर्भिकताका साथै भ्रष्टाचार नियन्त्रणमा सबैले भूमिका खेल्नुुपर्ने बताउनुभयो ।

मुख्यमत्री सिंहले शिक्षा, स्वास्थ्य, उद्योग, खानेपानीलगायत प्रत्येक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र दर्ता नभएकाले राजस्व छल्ने काम गरेकाले ती निकायलाई सरकारको करको दायरामा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन फितलो भएकाले मुलुकमा भ्रष्टाचार बढेको बताउनुभयो । महङ्गी अनुसार कर्मचारीको तलबभता नबढाएसम्म भ्रष्टाचार नियन्त्रण नहुने उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर कुरुवाङले भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आफ्नो कार्यालयले उल्लेखनीय रुपमा आर्थिक अनियमिततासम्बन्धी मुद्दाको फर्छौट गरेको जानकारी दिनुभयो ।

सरकारले ल्याएको अध्यादेश सफल हुँदैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कतिपय कानूनहरु आवश्यक भएपनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताएका हुन् ।

उनले भने, ‘यदि कानून बनाउने हो भने, कानून आवश्यक हो भने हिउँदे अधिवेशन समयमै बोलाएर सरकारले विधेयक ल्याओस् । कानून बनाउन हामी सहयोग गर्छौं भनेका थियौं । ढिलै भएपनि संसद बोलाइएको छ । तर नियमित प्रक्रियाबाट कानून बनाओस् त्यसमा छलफल गरौंला ।

कतिपय कानूनहरु पनि आवश्यक छन् । स्वभाविक कुरा हो जसपाले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा जसपाले सहयोग गर्छ जस्तो लाग्दैन । भूमि सम्बन्धी, वन सम्बन्धी ऐनहरुमा अध्यादेशमार्फत शंसोधन भएको छ । तर यसभन्दा पहिला ल्याएको सरकारको अध्यादेश पनि अरुहरुले फेल नै गरेका थिए । यस पटक सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्थामा पुगेको छ ।’साथै उनले सहयोग गर्ने कुरा स्वभाविक भए पनि जसपाले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा सहयोग नगर्ने बताए ।

काँकरभिट्टाबाट छ महिनामा साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर (झापा), २८ माघः काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया रु छ अर्ब ८२ करोड, अलैँची रु चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर रु एक अर्ब ९१ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको उहाँले बताउनुभयो ।

यस्तै, अदुवा रु २६ करोड १३ लाख, अम्लिसो रु ४९ करोड ७४ लाख, बन्दा रु आठ करोड १७ लाख, जडीबुटी दुई करोड ६३ लाख मसुरो दाल एक रोड ५५ लाख मूल्यको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिनुभयो ।

आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १० करोड ९५ लाख ६८ हजार, चामल रु तीन करोड तीन लाख, ताजा तरकारी रु १८ करोड २३ लाख मूल्य बराबरको आयात भएको छ । यसैगरी ताजा फलफूल रु २० करोड १८ लाख, लसुन रु ६१ करोड ७५ लाख, आलु रु २१ करोड ७४ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

सांसद भएपछि विकासका काममा लाग्नुपर्छ भन्ने मानसिकता पञ्चायतकालीन हो : सांसद भट्टराई

-गोपाल भट्टराई
अहिले संविधान संशोधनको बहस विभिन्न कोणबाट भइरहेको छ । मुलुकमा देखिएका राजनीतिक विकृति अन्त्यका लागि संविधान संशोधन अपरिहार्य हुन्छ । संविधान संशोधनका क्रममा जनताका अधिकार, समानुपातिक तथा समावेशीकरणलाई आघात नपुग्ने गरी मूलतः निर्वाचन प्रणालीलाई सच्याउनुपर्छ । प्रदेश र संसद् सदस्य सङ्ख्या पनि घटाउने र निर्वाचन प्रक्रियाबाटै समावेशी गराउँदा उचित हुन्छ । हालको प्रणालीले समावेशीताको उद्देश्यलाई सम्बोधन गर्न सकेन । राजनीतिक निष्ठाभन्दा नेतृत्वले इच्छाएका तथा आफ्नो समूह र नातागोता सम्बद्ध व्यक्ति मात्रै छनोट हुनुपुग्यो । नेपालको हालको परिस्थितिमा तत्कालै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीसम्बन्धी व्यवस्था भइहाल्छ जस्तो लाग्दैन । मतदाताको स्थिति पनि भावनात्मक छ । त्यस्तो खाले मतदानले कहाँ पुर्‍याउँछ भन्ने ठेगान छैन । एउटा दलले बहुमत ल्याउने परिस्थिति सिर्जना गरिनुपर्छ ।

राजनीतिलाई स्थिर तुल्याउन आवश्यक न्यूनतम मत ‘थ्रेसहोल्ड’को प्रतिशत बढाउनुपर्छ । एउटा दलको बहुमत भएन भने विभिन्न स्वार्थ समूहको चलखेलको अवस्था रहिरहन्छ । राजनीतिक स्थिरता नभइ भ्रष्टाचार र सुशासनको नारा भाषणमा मात्रै सीमित हुन पुग्छ । भ्रष्टाचारका न्यूनीकरणका लागि हालका प्रयासले मात्र पुग्दैन ।

सांसद भएपछि विकासका काममा लाग्नुपर्छ भन्ने मानसिकता पञ्चायतकालीन नै हो । अहिलेसम्म आइपुग्दा समेत त्यो सोचबाट मुक्त हुन सकिएको छैन । संविधान संशोधन गर्दा अब सांसदबाट मन्त्री नहुने भएमा बजेटका लागि दौडधूप गरिरहनुपर्ने स्थितिमा सुधार आउथ्यो कि ? यो पनि एउटा विकल्प हुनसक्छ । सरकार, संसद् र सांसदले मिलेर विगतदेखि नै फटाफट विधेयक ल्याएर काम गरेको भए अध्यादेशकै आवश्यकता किन पथ्र्याे र ? पछिल्लो समय थाँती रहेका महत्वपूर्ण कानुन अघि बढाउन सभामुख, अध्यक्ष र सरकारबाट अलि तदारुकता देखिएको छ । तथापि, राष्ट्रियसभाले भने आएका विधेयकलाई निष्कर्षमा पुर्‍याइरहेकै छ । तुलनात्मकरुपमा समयमै काम सम्पन्न गर्नेमा प्रतिनिधिसभाका समितिमा प्राविधिकसहित कोरमका कारणले पनि असर पारेको छ ।

संविधानको मूल मर्म र भावनाअनुरुप राष्ट्रियसभामा कतिपय सदस्यको चयन हुनसकेन भन्ने प्रश्नमा मेरो केही प्रतिक्रिया छैन । केही सदस्य अघिल्लो अधिवेशन अन्त्य भएपछि समितिका कुनै बैठकमा पनि उपस्थिति नभएको पनि हुनुहुन्छ । राजनीतिमा इमान्दार व्यक्ति पछि परेका छन् । विगतमा युवा विद्यार्थीलाई राजनीतिक र साङ्गठनिक विषयको ज्ञान दिलाएर शिक्षित तुल्याइन्थ्यो । परीक्षण गरेर मात्रै कमिटीमा ल्याइन्थ्यो । अहिले कमिटी प्रणाली नै ध्वस्तजस्तो अवस्थामा छन् । पार्टी कमिटी नाम मात्रमा सीमित छ । जनवर्गीय कमिटी लथालिङ्ग छ । त्यही नै हो, कार्यकर्ता उत्पादन गर्ने र युवापुस्तालाई अघि ल्याउने । त्यो नभएपछि राजनीतिक अराजकता देखिनु स्वाभाविक छ । यसमा पार्टीकै दोष छ । योजनाबद्धरुपमा काम भएको छैन । इमान्दारपूर्वक लाग्नेको आर्थिकस्तर कमजोर छ । हिजो समाज परिवर्तनकै मुद्दा प्राथमिकतामा थियो । अहिले लाभका लागि दौडिएको देखिन्छ । राजनीतिलाई केही मानिसले व्यवसाय बनाएपछि प्रश्न उब्जिएको हो । तर सबैलाई एउटै आँखाले हरिनु हुँदैन । राजनीतिमा लागेर घरखेत गुमाएर टाट पल्टेका पनि मानिस छन् ।

सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय भएको तीव्र विकास र विश्वग्रामको अवधारणाले पनि युवापुस्तालाई विदेश पलायनमा प्रेरित गरेको छ । नेपाल हालको शिक्षा प्रणाली प्राविधिक र सीपमूलक भन्दा पनि बेरोजगार युवा उत्पादन गर्नेखाले छ । जसले अर्थोपार्जन गरी परिवार धान्न पनि युवालाई विदेश जान बाध्य पारेको छ । समाजको मनोविज्ञान पनि त्यस्तै छ । तथापि, पछिल्ला समय युवापुस्तालाई स्वदेशमै रोजगारी प्रदान गरी रोक्ने प्रयास पनि भइरहेको छ । अर्कातर्फ पछिल्ला पुस्तामा मेहनत कम गर्ने सोचाइ देखिन्छ ।

सूचना तथा सञ्चार प्रविधि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा मुलुकले निकै ठूलो प्रगति हासिल गरेको छ । पर्यटन र जलविद्युत् उत्पादनले लय समातेको छ । औद्योगिकीकरण, पूर्वाधार तथा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने कार्यमा भने प्रभावकारी योजनाको खाँचो छ । अहिले पनि चार/पाँच लाख विदेशी नागरिक यहाँ श्रम गरिरहेका छन् । स्वास्थ्यका क्षेत्रमा राम्रै दृष्टिकोण आएको छ । धेरै काम अघि बढेका छन् । तत्काल राहत पाउने काम अघि बढाएर जनतालाई विश्वास लिएमा छोटो समयमै आर्थिकरुपमा मुलुकको कायपलट गर्न सकिन्छ । देशलाई आर्थिक समृद्धिमा लैजान प्रमुख दलबीचको सहकार्यमा गठित वर्तमान सरकारले एउटा मार्ग कोर्दै अघि बढ्ने कोसिस गरिरहेको छ ।

नेपालको राजनीतिक सङ्घर्षको इतिहास लामो छ । त्यसका लागि धेरै नागरिकले बलिदानी दिएका छन् । मुलुकको राजनीति अहिलेको अवस्थामा आइपुग्न वाम–लोकतान्त्रिक शक्तिको सहकार्य महत्वपूर्ण छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालको नीति ठिक हुने तर राजनीतिक नेतृत्वमा आउन नसक्ने परिस्थितिबाट विभाजित वाम घटकबीचको एकीकरण र नेपाली कांंग्रेसको कम्युनिष्टसँग मिलेर जानुपर्छ भन्ने सोचले देशमा एकखाले राजनीति वातावरण बन्यो । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीले त्यसबीचमा पुष्पलालकै कार्यनीति र कार्यदिशालाई अभ्यासमा ल्याउनुभयो । त्यसबाट सहकार्यको एउटा माहोल सृजना भयो । विसं २०४८ को निर्वाचनपछि करिब १० वर्ष मुख्य शक्ति मिलेर जान पर्छ भनी एमाले अध्यक्ष मनमोहन अधिकारीले गर्नुभएको प्रस्तावलाई कांग्रेसले अस्वीकार गर्‍यो । त्यही विन्दुबाट प्रतिस्पर्धाका नाममा अराजकता सुरु भयो । मुलुकमा राजनीतिक अभ्यास अघि बढ्दै जाँदा एमाले विभाजित भयो । ती सबै कारणले माओवादी आन्दोलन जन्मियो । माओवादी आन्दोलन सशक्त हुनु भनेको एमाले विभाजन नै थियो । माओवादी सशस्त्र विद्रोहले देशको आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा असर पर्‍यो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिए ।

त्यसपछि मात्र एमाले–कांग्रेसबीच मिलनविन्दु फेला पर्‍यो । देशभित्र विकसित विभिन्न परिस्थितिले त्यसबेला विसं २०४८ मा मनमोहनले राख्नुभएको प्रस्ताव कार्यान्वयन गर्ने चेत दुवै पार्टी नेतृत्वमा पलायो । विसं २०६४ को निर्वाचनको मत परिणामले हौसिएको माओवादी प्रभावले मुख्य दलबीचको विश्वास पुनः कमजोर तुल्यायो । देशमा विभिन्न परिस्थितिले लोकतन्त्रका लागि एउटै मोर्चामा सङ्घर्ष गरेका कांग्रेस–एमालेबीचमा सहकार्य र सहयात्राको अवसर अहिले फेरि जुटेको छ । मनमोहनले त्यसबेला अघि बढाएको सहकार्यको सन्देशलाई निरन्तरता दिएर जान सक्नुपर्छ । यसैबाट नेपाल र नेपालीको भलो हुन्छ भन्ने मलाई लागेको छ ।

सांसद गोपाल भट्टराईको परिचय

विसं २०२४ देखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएदेखि विद्यार्थी, युवा र किसान सङ्गठन र पार्टीको विभिन्न तहमा निरन्तर सक्रिय राष्ट्रियसभा सदस्य गोपाल भट्टराई हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन्। कृषि पेसामा संलग्न भई जीवनयापन गरिरहेका उनी लुम्बिनी प्रदेश रुपन्देही जिल्ला तिलोत्तमा–५ निवासी हुन् । उनी हाल सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्यको छन् ।

अवैध दोहन आशङ्कामा क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन गर्नुभएको छ । उहाँले आईतबार साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गन्र्नुभएको हो ।

गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगले कमला र वरपरका अन्य खोलाबाट जथाभाबी र गैरकानुनी ढङ्गबाट उत्खनन् गरिरहेको गुनासोपछि मुख्यमन्त्री सिंहसहित धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको टोलीले क्रसर उद्योग अनुगमन गरेको हो ।

मुख्यमन्त्री सिंहले उद्योगमा सञ्चित रहेको ढुङगा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार नगर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख

गलेश्वर (म्याग्दी) २८ माघः गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन भएको छ ।

विद्यार्थीलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउन बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्यापन हुने यो शिक्षालयमा अर्थाभावका कारण अध्ययन गर्न अक्षम गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापित उक्त कोषमा त्यति रकम जम्मा भएको शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त शिक्षालयले २९ महिने कनिष्ठ प्राविधिक सहायक (जेटिए), बाली  र पशुविज्ञानमा तीनवर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गरेको छ । हाल यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।

आजको मौसमःउच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ र देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेष गरी बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले स्नान गरे

महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदैछन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।

उत्तर प्रदेश सरकारले आइतवार महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ ।महाकुम्भ सन् २०२५ मा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुबकी लिएका छन् ।

महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ ।महाशिवरात्रि २६ फेब्रुअरी सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौं भक्तजनहरूलाई आकर्षित गरिसकेको छ । एक दिन अघि राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले त्रिवेणी सङ्गममा पवित्र स्नान गरी भक्तहरूलाई प्रसाद दिनुभयो ।

“महाकुंभ सन् २०२५ को शुभ अवसरमा भक्तहरूलाई प्रसाद वितरण गरियो र उनीहरूको आशीर्वाद प्राप्त भयो,” राजस्थानका मुख्यमन्त्रीले ट्विटरको पोस्टमा उल्लेख गर्नुभयो ।
“त्रिवेणी सङ्गमको आशीर्वाद हामी सबैमा सदा रहोस् । सबैको जीवन सुख, समृद्धिले भरिपूर्ण होस् । यही मेरो कामना छ ।”सङ्गममा पवित्र स्नानको क्रममा मुख्यमन्त्री भजनलाल शर्मा मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवसँगै थिए ।त्रिवेणी सङ्गममा दुई मुख्यमन्त्रीले सँगै पवित्र स्नान गरेपछि एक अर्कालाई अभिवादन गर्नुभयो ।

कर्णाली प्रदेशबाट चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी

भेरीगङ्गा (सुर्खेत), २८ माघः कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा रु चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका दश जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजारको खाद्यन्न, फलफूल तथा खसी बोका निकासी भएको थियो । विशेषगरी कर्णालीबाट खाद्यन्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ, भने तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलु लगायतका वस्तु निकासी हुने गरेको छ ।

यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौँ, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि उपज निकासीबाट कर्णालीमा बर्सेनि करिब रु दुई अर्ब रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा कर्णाली प्रदेशले कृषि वस्तु निकासीबाट एक अर्ब ७९ करोड रकम भित्रयाएको थियो । भने गत आर्थिक वर्षमा करिब दुई अर्बको आम्दानी कृषि वस्तुबाट गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, पशुपक्षीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले रु दुई अर्ब ३० करोड रकम वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपक्षी अन्तर्गत खसीबोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपक्षी निर्देशनालयले जनाएको छ ।
वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसीबोका निकासी हुने गरेको निर्देशनालयको तथ्याङ्क छ । यस्तै दूध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज निकासी हुने गरेको छ ।

दूधमा अनुदान दिएपछि उत्पादनमा वृिद्ध

कर्णाली प्रदेश सरकारले दूध उत्पादक किसानलाई दूधमा अनुदान दिँदै आएको छ । माथिल्लो कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसानले उत्पादन गर्ने दूधको लागि लिटरमा १० रुपैयाँ र तल्लो कर्णालीका सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान, जाजरकोटका किसानले उत्पादन गर्ने दूधमा लिटरमा ५ रुपैयाँ अनुदान दिँदै आएको छ । जसले गर्दा किसान पशुपालन व्यवसाय आकर्षित हुन थालेका हुन भने दूधको उत्पादनमा समेत वृद्धि भएको छ ।

अहिले कर्णालीमा खपत भएर पनि वार्षिक पाँच हजार दुई सय ६० मेट्रिक टन दूध निकासी हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता कठायत भन्नुहुन्छ, “विगतमा माथिल्लो कर्णालीमा पाउडर दूधको प्रयोग हुने गरेको थियो । जव प्रदेश सरकारले दूधमा अनुदान दिन थाल्यो अहिले दूध उत्पादनमा वृद्धि भएको छ, अब प्रदेश करिब दूधमा आत्मनिर्भर हुँदै गएको छ ।”

प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याएको भन्दै व्यवसाय गर्ने किसानका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिरहेको कठायतले जानकारी दिनुभयो । प्रदेश सरकारले व्यवसाय गर्ने किसानको लागि ब्याज अनुदानदेखि उत्कृष्ट किसान पहिचान गरी पुरस्कृत गर्ने गरेको उहाको भनाइ छ ।

पूर्वाधारका पर्खाइमा म्याग्दीको सुनछहरा

म्याग्दी, २८ माघ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् ।

प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सिमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताउनुभयो । “धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेको छ,” उहाँले भन्नुभयो “सुनछहरामा पूर्वाधार विकास र प्रर्वद्धनको आवश्यकता छ ।”

भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन ब्यवसायी र सञ्चारकर्मीहरुको टोली गत हप्ता समुन्द्रि सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाईमा रहेको सुनछहरा पुगेर फर्किएको थियो ।

किम्बदन्ती अनुसार परापुर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् । भगवानले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आर्शिवाद दिएपनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाकाले बताउँछन् ।

छहराको भित्र रहेको गुफाको भित्ताहरु पहेलो रंगको भएकाले पनि त्यसलाई सुनछहरा भन्ने गरिएको रघुगंङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा (रिम)ले बताउनुभयो । विभिन्न देवीदेवता र जनावरको आकृति देखिने छहराको भित्र रहेको गुफामा हिर्काउदा बाजाको आवाज सुनिन्छ ।

धौलागिरि आधार शिविर पुग्ने पदमार्ग बनाउन थालिएको र सुनछहरा जाने पदमार्ग तथा बाटोमा पर्ने रघुगङ्गा नदीमा झोलुङ्गे पुल बनाउन पहल गरेको वडा अध्यक्ष पाईजाले बताउनुभयो ।

हिउँदयाममा चिसोले छहराको पानी जमेर हिउँमा परिणत भएको हेर्न पाउनु सुनछहराको थप बिशेषता हो । छहरा करिब १५ मिटर अग्लो छ भने त्यहाँभित्र करिब पाँच मिटर लामो गुफा छ । सुनछहरामा पुगेर दर्शन तथा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

बेनी देखि चिमखोला हुदै सुगुरथला सम्म चार घण्टा सवारी साधनको यात्रा पछि पुगिन्छ । सुगरथलादेखि थप एक दिन यात्रा गरेपछि पुगिने सुनछहरामा यार्सा संकलन गर्ने स्थानीयहरु वैशाख जेठ महिनामा बास बस्ने गर्दछन् । सुगुरथलासम्म मात्र होटल तथा रेष्टुरेन्टको सुविधा छ । सुगरथला भन्दा माथि आफै बन्दो बस्तिको सामान लिएर जानुपर्छ ।

पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने व्यवस्थित पदमार्ग र झोलुङ्गे पुल बनाउन सकेमा पर्यटकलाई सहज हुने बताउनुभयो । झोलुङ्गे पुल नहुँदा राहुघाट वारपार गर्न जङघार तर्नुपर्छ । बर्खा याममा खोलाबाट वारपार गर्न सकिदैन् ।

पदमार्ग नहुँदा भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । नक्सा बनाउन र सङ्केत चिन्हहरु पनि राख्नुपर्ने अध्ययन टोलीमा जानुभएका सुरेन गुरुङले बताउनुभयो । सुनछहरा हँुदै रिखार, धौलागिरि आधार शिविरको अस्टे«लीयन क्याम्प, कालीबराह र मुस्ताङ पनि जान सकिन्छ । बाटो चिनेका गोठाला बाहेक अरुसँग यात्रा गर्दा हराउने जोखिम छ ।

मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा

वीरगञ्ज, (पर्सा), २८ माघ : मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ । भेट्रान सिटि क्लव वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन् ।

फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । भेट्रान सिटि क्लव वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।
‘‘विगतमा वीरगञ्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे । तर,पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’’ उहाँले भन्नुभयो,‘‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउनेछन् । यसले मधेश प्रदेशमा फुटबल खेलको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौं ।’’

प्रतियोगितामा संकटा फुटबल क्लव, मछिन्द्र फुटबल क्लव, बागमती युथ क्लव सर्लाही, नेपाल पुलिस क्लव,गरवाल डाइमण्ड फुटबल क्लव दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड,काठमाडौं, सलहेश फुटबल क्लव सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लवले प्रतिस्पर्धा गर्नेछन् । क्लवका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको बिजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिनुभयो । ‘‘प्रतियोगिता सञ्चालनको लागि आर्दशनगर रंगशालाको मैदान मर्मतसम्भारको कार्य अन्तिम चरणमा पुगिसकेको छ,’’ उहाँले भन्नुभयो,‘‘दुई महिनादेखि रंगशालाको मैदान मर्मतसम्भारको कार्यलाई तिव्रता दिइएको छ ।’’ प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा वीरगञ्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माणको कार्यलाई पनि तिव्रता दिइएको छ ।उहाँले भन्नुभयो, ‘‘अस्थायी प्याराफिटमा करिव दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।’’ प्रतियोगिता संयोजक श्रीवास्तवले विगतमा वीरगञ्जमा चर्चित फुटबलका गतिविधि हुने गरेपनि पछिल्लो समय सुस्ताएको फुटबलको गतिविधिलाई फेरि जुर्मुराउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो । ‘‘विगतमा सहिद तेजबहादुर अमात्यगोल्डकप, विशाल मेमोरियल गोल्डकप आयोजना भएको थियो । वीरगञ्जमा लोप भइरहेको फुटबल प्रतियोगितालाई फेरि पुर्नजागृत गराउनका लागि प्रतियोगिता गर्न लागेका हौं,’’ उहाँले भन्नुभयो,‘‘ स्थानीय खेला गोल्डकप प्रतियोगिताले स्थानीय फुटबल खेलाडीको खेल कौशल निर्खानका लागि उचित प्लेटफर्म निर्माण गर्ने अपेक्षा गरिएको छ ।’’

प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको बिजेताको रुपमा नेपाल पुलिस क्लव र उपबिजेताको रुपमा नेपाल आर्मी क्लव भएको थियो ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २८ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउसिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तितेकरेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी–२०, फर्सी हरियो (डल्लो) प्रतिकेजी–२०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी–८०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १३०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २००, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठकोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी–४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फुजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐँसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनियाँ प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

केबलकार विवादः वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध

काठमाडौँ- ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भन्नुभयो ।वार्तापछि गृह मन्त्रालयले आईतबार राति एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।

यसैबीच, आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने जनाएको छ । भोलि गृहमन्त्री रमेश लेखकसँग छलफल हुने वार्ताटोलीका सदस्य सरस्वता सिङ्गक(सरु) ले राससलाई बताउनुभयो ।

मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो

भरतपुर (चितवन)-चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिनुभयो । “मकुनाको मृत्यु सम्बन्धमा शुक्रबार छानबिन समिति बनेको थियो । बीचमा बिदा भएकाले आईतबारदेखि काम सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “सोमबार स्थलगत अध्ययन गर्दैछौँ ।”

छानविन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ । “चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,” सहसचिव डा पौडेलले भन्नुभयो । होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो आएकाले होटल तथा हात्ती व्यवसायीलाई भेट्ने उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर यही माघ २३ गते मकुनाको मृत्यु भएको थियो । वन मन्त्रालयले सात दिनभित्र घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्न माघ २५ गते छानबिन समिति बनाएको थियो । सहसचिव डा पौडेलको नेतृत्वमा बनेको पाँच सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा दिनेश शाह रहनुभएको छ ।

इन्दु शङ्कर चिनी उद्योगद्धारा सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा (सर्लाही), २८ माघः इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ ।

उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित किसान नगरपालिका–९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताउनुभयो ।

विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाएको अर्का किसान माधव थापाले बताउनुभयो । उद्योगका अध्यक्ष राजेश केडियाले किसानलाई खेतीको गुणात्मक विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय, प्रदेश र सङ्घ सरकारले उखु ‘जोन’ कायम गरिदिनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले उद्योगसँग मिलेर उखु किसानको लागि सिँचाइ, प्रविधि र उन्नत बीउविजन उपलब्ध गराउने योजनामा रहेको हरिवन नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो ।
सर्लाहीमा हरेक वर्ष ६४ हजार हेक्टरमा उखु उत्पादन हुँदै आएको छ । जिल्लाको हरिवनमा इन्दुशङ्कर, धन्कौलमा अन्नपूर्ण र गोडैतामा महालक्ष्मी चिनी उद्योग सञ्चालित छन् ।

ठमेल प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, २८ माघः नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ ।