`

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाए

खाँदबारी (सङ्खुवासभा), ३० माघ : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडकखण्डको (२४.५ किलोमिटर) अन्तर्गत चार सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो । 

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम हालसम्म रु चार करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताउनुभयो । खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको पीडितले छुट मुआब्जाको माग गर्दै आएका थिए । विसं २०८० वैशाख २६ गते छ्याङ्कुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । 

छ्याङकुटी–दिदिङ सडक खण्डको (२४.५ किलोमिटर) जग्गाको मुआब्जा  २०४६ सालमा नै दिएको भए पनि छुट जग्गाको मुआब्जा जग्गाधनीले पाएका थिएनन् । गत माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयानुसार प्रवेशमार्ग (छयाङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो । अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने उल्लेख  छ । अरुण तेस्रो परियोजनामा नेपाली तथा भारतीय नागरिकसहित चार हजार कामदार कार्यरत छन् । 

महाकुम्भबाट नेपाल पनि लाभान्वित

प्रयागराज (भारत), ३० माघः यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो ।

एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवान््को नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन् । प्रयागराजमा गङ्गा र यमुनासँगै सरस्वती नदीको सङ्गम भएको विश्वासले धार्मिक रूपमा यो स्थानलाई विशेष मानिन्छ । यद्यपि हाल सरस्वती नदीको भने अस्तित्व देखिन्न ।

भारतको उत्तराखण्ड राज्यको प्रयागराजमा गत महिनादेखि सुरु महाकुम्भमा आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताउनुभयो । दैनिक एक करोडदेखि तीन करोडसम्म भक्तजन आइरहेका छन् । “महाकुम्भमा आउनेहरूको गणनाका लागि चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित क्यामेरा जडान गरिएको छ । त्यसैका आधारमा आगन्तुकको आकडा अनुमान गरिएको हो । एक दिनमा सबैभन्दा बढी तीन करोडभन्दा बढी भक्तजन महाकुम्भमा आएका छन्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछिका दिनमा यहाँ आइपुग्ने भक्तजनको सङ्ख्या उल्लेख्य बढेको छ । “पछिल्लो पाँच दिनमा भक्तजनको सङ्ख्या बढ्दो छ, हामीलाई व्यवस्थापन गर्न कठिन भएको छ”, उहाँले भन्नुभयो । हालसम्म ४५ करोडभन्दा बढीले महाकुम्भ मेला भरेका छन् । नेपाललगायत विभिन्न देशबाट श्रद्धालु भक्तजन आएका उहाँले जानकारी दिनुभयो । मेला समापनका दिनसम्ममा ५५ करोड भक्त आउने उहाँको अनुमान छ ।

महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवद्र्धन गरी लाभ लिन सक्ने सूचना अधिकारी यादवले बताउनुभयो । महाकुम्भमा आउने अधिकांश भक्तजन अयोध्यास्थित भगवान् रामको मन्दिर र वाराणसीस्थित विश्वनाथबाबाको मन्दिरमा पुगिरहेका छन् । त्यसैगरी, उनीहरूलाई नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलगायत स्थानमा लैजान सकिने यादवले बताउनुभयो ।

चुस्त व्यवस्थापन

विश्वका विभिन्न देशबाट महाकुम्भमा सहभागी हुन आउनेको सङ्ख्या अनपेक्षित रूपमा बढे पनि मेला व्यवस्थापन भने चुस्त छ । सबै भक्तजनलाई स्नान गर्न मिल्नेगरी नदी किनारमा व्यवस्थापन गरिएको छ । स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय सञ्चारमाध्यमका लागि आवासीय सुविधासहितको ‘पडकास्टिङ’ सञ्चालन गर्नेका लागि पनि स्थल बनाइएको छ । साथै आगन्तुकका लागि अस्थायी आवास निर्माण गरिएको छ । सूचना अधिकारी यादवका अनुसार मेला सञ्चालनका लागि हालसम्म भारत सरकारले रु ७५ अर्ब खर्च गरिसकेको छ ।

के हो महाकुम्भ ?

आजभन्दा आठ सय ५० वर्षअघि पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । आदिशङ्कराचार्यले महाकुम्भको सुरुआत गर्नुभएको थियो । केही पौराणिक कथाहरूमा कुम्भको आयोजना समुद्र मन्थनपछि हुन थालेको वर्णन पनि पाइन्छ । 

प्रसिद्ध चिनियाँ यात्री हेनसाङले आफ्नो भारत यात्राका क्रममा कुम्भमेला आयोजना भएको उल्लेख गरेका थिए । हेनसाङका अनुसार राजा हर्षबद्र्धनले प्रत्येक पाँच वर्षमा नदीहरूको सङ्गममा ठूला कार्यक्रम आयोजना गर्दथे । ती कार्यक्रममार्फत राज्यको सम्पत्तिबाट केही हिस्सा धार्मिक व्यक्तिहरूलाई दान दिन्थे । 

त्यसबाहेक कुम्भको महिमा शिव पुराण, मत्स्य पुराण, पद्म पुराण र भविष्य पुराणमा उल्लेख भएको पाइन्छ । समुद्र मन्थनका क्रममा जब अमृतको कलश निस्कियो तब देवता र राक्षसबीच अमृतको कशल तानातान भयो । सोही सङ्घर्ष कम गर्नका लागि भगवान् विष्णुले मोहिनी रुप लिनुभएको थियो । त्यसपछि जब देवता र राक्षसहरूबीच सङ्घर्ष बढ्न थाल्यो तब इन्द्रदेवका पुत्र जयन्तलाई अमृतको कलश जिम्मा लगाइयो । जयन्त कौवाको रुप धारण गरी राक्षसहरूबाट अमृतकलश खोसेर उड्न थाले । उड्ने क्रममा अमृतका केही थोपा प्रयागराज, उज्जैन, हरिद्वार र नासिकमा खसेको विश्वास गरिन्छ । अमृत खसेका स्थानमा कुम्भमेला हुन थालेको हो ।

ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करण अमेरिकामा

काठमाडौँ, ३० माघ : ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को आठौँ संस्करण आगामी अगस्तमा अमेरिकाको कोलोराडोमा हुने भएको छ । काठमाडौँमा मङ्गलबार आयोजित विशेष समारोहबीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करणको समय तय गरिएको हो ।

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा आठौँ संस्करणको समय तय गरिएको हो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ नारासहित आयोजना हुन लागेको उक्त संस्करणमा चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि नै आयोजना हुँदै आएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताउनुभयो । 

“संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिबारे परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

नेपाल फिल्म सोसाइटी, नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका र हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो । हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले नेपाली चलचित्रको विकास र प्रोत्साहन गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो ।  कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकारहरु हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, मोहन निरौला, बसन्त श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुसाल, तीर्थ थापा, दीपेन्द्र गौचन, मदनदाश श्रेष्ठ, राधेश्याम लेकाली, सुनिल थापा, प्रशान्त ताम्राकार, डा भीमार्जुन आचार्य, अशोक शर्मालगायतको उपस्थिति थियो ।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’ नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानका लागि सन् २०१६ देखि नियमित आयोजना गरिँदै आएको छ । 

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौँ, ३० माघ : माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

 पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । 

विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

सय रोटी वर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनःमिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।

आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।  

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब दुई सय महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौँ, ३० माघ : प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छायाँ दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छायाँ दर्शन गराउने चलन छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले पशुपतिनाथको शिव लिङ्गको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ । यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिङ्गको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ ।

यस दिन पशुपतिमा विशेष रहन्छ । आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । यसरी छायाँ दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ । हजारौँ भक्तजनले लाम लागेर पशुपतिनाथको छायाँ दर्शन गरेको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले जानकारी दिनुभयो ।

सनातन सभ्यताको केन्द्रबिन्दुका रुपमा इतिहास बोकेको विश्वभरिका हिन्दूको आराध्यदेव पशुपतिनाथमा छायाँ दर्शन हेर्न हजारौँ भक्तजन भेला भएका थिए । पशुपति क्षेत्र देवपतन, जयबागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिङ्गलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । सनातनदेखि पवित्र वाग्मती नदीको प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब चार सय ९२ साना ठूला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुङ्गेधारा, देवालय, मठलगायत करिब एक हजार शिव लिङ्ग रहेका छन् ।

आजको मौसमः देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौँ, ३० माघः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

जसपाले ‘भूमिसम्बन्धी अध्यादेश’ को विपक्षमा मतदान गर्ने

काठमाडौँ, २९ माघ : जनता समाजवादी पार्टी, नेपालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ प्रति असन्तुष्टि व्यक्त अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले सो अध्यादेश दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हित विपरीत रहेको जनाउँदै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । तर सो पार्टीले अतिरिक्त अन्य पाँच वटा अध्यादेशलाई भने समर्थन गर्न र पक्षमा मतदान गर्न सकिने निर्णय गरेको छ ।

सरकारले ६ वटा अध्यादेश जारी गरी अनुमोदनका लागि प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा दर्ता गराएको छ । सरकारले जारी गरेको अध्यादेशमध्ये ‘भूमिसम्बन्धी अध्यादेश’ विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमाक्षेत्रसमेत नतोकी बिक्री वितरण गर्ने वा बाँड्न ल्याइएको जसपाको भनाइ छ ।

पार्टीले अध्यक्ष उपेन्द्र यादवले उक्त अध्यादेशले घरजग्गा व्यवसाय, अव्यवस्थित बसोबास, जग्गा विकास गरी घडेरी वा त्यस्तो घरेडीमा घर निर्माण गरी बिक्री वितरण गर्ने भनि सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनारको जग्गा, वन, राष्ट्रिय निकुञ्ज तथा आरक्षणको जग्गा, गौचर हाट, हाटघाट वा बजारको जग्गा, सडक छेउको जग्गा, वन क्षेत्र वा मध्यवर्ती क्षेत्र जनिएको जग्गा, बुट्यान क्षेत्र जनिएको जग्गाका साथै राष्ट्रिय वनजङ्गल अतिक्रमण हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

जसपाले भनेको छ –चुरिया क्षेत्रमासमेत यसबाट गम्भीर असरपर्न जानेछ, जसबाट तराई/मधेश मरूभूमिकरणमा परिणत हुनेछ, यो अध्यादेश पारित भएको खण्डमा केही भ्रष्टाचारी, कमिशन खोर, विचौलिया दलाल, सरकार नजिक रहेका व्यक्ति, भू–माफिया र ठूला रियल स्टेट व्यापारीका साथै आवास कम्पनीलाई नै अत्याधिक लाभ हुनेछ ।

‘माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन’ : दीननाथ शर्मा

कास्की, २९ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले आफ्नो पार्टीलाई सरकारमा जाने हतार नरहेको बताउनुभएको छ ।
माओवादी केन्द्र बागलुङ–पोखरा सम्पर्क समन्वय समिति आज पोखरामा आज आयोजित प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले पार्टीले सरकारमा नजाने र पुनः एक पटक जनतामा फर्किने सङ्कल्प गरेको बताउनुभयो ।

“माओवादीको प्राथमिकता अहिले सरकार होइन, हामी जनतामा फर्किएका छौँ, पार्टी पुनःनिर्माण गरेर जनताको विश्वास जितेर मात्र सरकारमा जान्छौँँ ।” सचिव शर्माले भन्नुभयो । पार्टीको गत पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्र मजुबुत एकता कायम गरेर अभियानमा लाग्ने निर्णय गरेको भन्दै उहाँले आगामी चुनावमा श्रेष्ठता कायम गर्ने गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

नेता शर्माले पार्टीले हरेक नेता कार्यकर्तालाई जनतासँग जोड्ने कार्यक्रमका लागि सबै केन्द्रीय सदस्यलाई पालिकामा र प्रदेश सदस्यलाई वडामा जिम्मेवारी दिएर पठाउने योजना बनाएको समेत जानकारी दिनुभयो ।

पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, केन्द्रीय सदस्य कृष्ण केसी, बागलुङका इन्चार्ज चन्द्रबहादुर बुढा, कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, माओवादी बागलुङ संयोजक राजीव घिमिरेलगायत सम्बोधन गर्नुभएको थियो । समितिको प्रथम अधिवेशनले कुलचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्वाचित गरेको छ ।

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी

पेरिसको ग्रान्ड प्यालेसमा एआई एक्शन शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नै ठूलो भाषा मोडेल निर्माण गरिरहेको बताउनुभएको छ ।
भारतीय स्टार्ट–अपहरूलाई किफायती मूल्यमा अद्वितीय सार्वजनिक–निजी साझेदारी मोडेल उपलब्ध गराइएको प्रधानमन्त्री मोदीले बताउनुभयो ।

“भारतले हाम्रो विविधतालाई ध्यानमा राख्दै आफ्नै ठूलो भाषा मोडेल निर्माण गरिरहेको छ । हामीसँग गणना शक्ति जस्ता स्रोतहरू सङ्कलन गर्नको लागि एक अद्वितीय सार्वजनिक–निजी साझेदारी मोडेल पनि छ । यो हामीले हाम्रो स्टार्टअप र अनुसन्धानकर्तालाई किफायती लागतमा उपलब्ध गराइएको छ । एआई भविष्य राम्रो र सबैका लागि होस् भनी सुनिश्चित गर्न भारत आफ्नो अनुभव र विशेषज्ञता साझा गर्न तयार छ,”प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

“भारत एआई युगको शुरुवातमा रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री मोदीले मेसिन मानिसमाथि कहिल्यै हावी हुन सक्दैन बताउनुभयो । हामी एआई युगको शुरुवातमा छौं, जसले मानवताको दिशालाई आकार दिनेछ । केहि मानिसहरु चिन्तित छन् कि मेशिनहरु मानिसको लागी बुद्धिको मामलामा उच्च हुनेछ । तर हाम्रो सामूहिक भविष्य र साझा भाग्यको चाबी हामी मानिस बाहेक अरू कसैसँग छैन ।”

प्रधानमन्त्रीले भारतले बनाएको डिजिटल सार्वजनिक पूर्वाधार सबैको लागि खुला र पहुँचयोग्य रहेको बताउनुभयो ।

“भारतले एक अर्ब ४० करोड भन्दा बढी मानिसको लागि धेरै कम लागतमा सफलतापूर्वक डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरेको छ । यसले हाम्रो अर्थतन्त्रलाई आधुनिकीकरण गर्न, शासन सुधार गर्न र हाम्रा जनताको जीवन परिवर्तन गर्नका लागि नियम र अनुप्रयोगहरूको विस्तृत दायरा छ ।”

“भारतले डाटाको शक्ति प्रयोग गरेको छ । यो भारतको राष्ट्रिय एआई मिशनको आधार हो । हामीले हाम्रो डेटा सशक्तिकरण र सुरक्षा संरचना मार्फत डेटाको शक्तिलाई अनलक गरेका छौं । साथै, हामीले डिजिटल कमर्सलाई प्रजातान्त्रिक र सबैका लागि पहुँचयोग्य बनाएका छौं । यो भारत राष्ट्रिय एआई मिशनको आधार हो । भारत एआई र डाटा गोपनीयतामा टेक्नो कानूनी समाधानमा अग्रणी छ । हामी सार्वजनिक हितको लागि एआई अनुप्रयोगहरू विकास गर्दैछौं,” उहाँले थप्नुभयो ।

इराकमा भएको हवाई आक्रमणमा दुई जना आइएस लडाकुको मृत्यु

मध्य इराकी प्रान्त सलाहुद्दिनमा भएको हवाई आक्रमणमा दुई इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले मङ्गलबार जनाएको छ गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले सोमबार प्रान्तको उत्तरपूर्वी भागमा रहेको बालकाना क्षेत्रमा आइएस लडाँकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।

सेना र खुफिया कर्मीहरूको संयुक्त टोलीले मङ्गलबार बिहान बम भएको क्षेत्रमा खोजी गरेको थियो, जहाँ उनीहरूले दुई आतङ्ककारीको शव, हतियार, मोबाइल फोन र अन्य वस्तुहरू फेला पारेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१७ आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केहि सुधार आएको थियो यद्यपि, अझै पनि सहरी तथा दुर्गम क्षेत्रहरुमा लुकेका आइएसका अवशेषहरुले सुरक्षा बल र नागरिकहरुविरुद्ध बारम्बार आक्रमण गर्दै आइरहेका छन् ।

अध्यादेशको विरोध गर्नेले भूमिहीन किसानको विरोध गरेको नेता ज्ञवालीको भनाइ

चन्द्रपुर(रौतहट), २९ माघ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नुभएको बताउनुभएको छ । रौतहटको गरूडामा एमाले जिल्ला कमिटिद्वारा आज आयोजित वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताउनुभयो ।

अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको नेता ज्ञवालीको भनाइ थियो । देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेको जानकारी दिँदै उहाँले यो अध्यादेशको विरोध गर्न नहुने बताउनुभयो ।

नेता ज्ञवालीले अब पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउँदै एमालेमा योग्य नेताको अभाव रहेको अवस्थामा अस्वस्थ्य प्रधिस्पर्धा गर्नुपर्ने कुनै ठाउँ नभएको बताउनुभयो ।

पार्टीका स्थायी कमिटि सदस्य काशी अधिकारीले व्यवस्थित ढङ्गले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीले गरेका निर्णयबाट पछाडि नहट्ने र डटेर अगाडि बढ्ने जानकारी दिनुभयो । एमालेका स्थायी कमिटि सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीला श्रेष्ठले अब पार्टी कामको मूल्याङ्कनको आधारमा अगाडि बढ्ने बताउनुभयो । नाताबाद र कृपाबादबाट अब पार्टी नचल्ने बताउँदै उहाँले जनसङ्गठन पार्टीसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

काठमाडौँ, २९ माघ : आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका माननीय सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँदछु ।” 

सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षण समेत गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार अपराह्न दिनको १ बजे बस्नेछ । 

निकासी पैठारी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौँ, २९ माघ : प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ प्रस्तुत गर्नुभएको छ ।

सोही अवसरमा मन्त्री भण्डारीले वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउन निकासी र पैठारी हुने वस्तु र सेवाको नियमन कार्यलाई प्रभावकारी बनाउन, निकासी पैठारीसम्बन्धी कार्यलाई थप सहजीकरण गर्न विधेयक ल्याउनुपरेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढी देशको आर्थिक विकासमा सहयोग गर्न निकासी पैठारीसम्बन्धी प्रचलित कानुनलाई समयानुकूल संशोधन र एकीकृत गर्न आवश्यक भएकाले प्रस्तुत विधेयक प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्दछु ।” 

मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा टेबुल

काठमाडौँ, २९ माघ : राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गर्नुभएको हो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत जेठ १३ गते पत्रकारिता क्षेत्रमा पेसागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनसँग सम्बन्धित सो विधेयक राष्ट्रियसभामा प्रस्तुत गर्नुभएको थियो ।

सो विधेयकउपर जेठ २० गते सामान्य छलफल भएको थियो । त्यसपछि सो विधेयकमाथि राष्ट्रियसभामा दफावार छलफल भएपछि दफावार छलफलका लागि जेठ २८ गते समितिमा पठाइएको थियो । समितिले यही माघ १८ गते राष्ट्रियसभामा प्रतिवेदन पेस गरेपछि आज प्रतिनिधिसभामा टेबुल गरिएको हो ।  

उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैन: गृहमन्त्री लेखक: गृहमन्त्री लेखक

कमलामाई (सिन्धुली), २९ माघः गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास र असुरक्षाको अनुभुति गर्नु नपर्ने बताउनुभएको छ । उहाँले सरकारले उद्यमी, व्यवसायीको सुरक्षाको नीति लिएको बताउनुभयो ।

सिन्धुली उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभा एवं १५औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्वाध रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । “व्यवसायीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्छ । तपाईहरूमाथि कुनै पनि अवाञ्छित दबाब सिर्जना भएमा स्थानीय प्रशासन, गृह मन्त्रालयलाई जानकारी गराउनुस्, हामी निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्ने अवस्थाका लागि प्रतिबद्ध छौँ”, गृहमन्त्री लेखकले भन्नुभयो ।

नेपालको वर्तमान आयात, निर्यात संरचनालाई हेर्दा उच्च व्यापार घाटामा रहेको देखिएकाले स्वदेशी उत्पादन प्रवर्द्धन गदैँ आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । “देशभित्र स्थापित उद्योगलाई महत्व दिँदै निर्यात गरेर व्यापार घाटा घटाउनु आजको आवश्यकता हो, यसका लागि उद्योगी, व्यवसायीको भूमिका महत्वपूर्ण छ”, लेखकले भन्नुभयो,“ “व्यापार, वाणिज्य, उद्योग, व्यवसायको कुरा निजी क्षेत्रले सञ्चालन गर्छ, सरकारले त्यसमा सहजीकरण र सहयोगको भूमिका मात्रै निर्वाह गर्छ । त्यसमा हामी सधैँ गम्भीर छौँ ।”

उत्पादन तथा बजार प्रवर्द्धनका लागि स्थानीय उत्पादनको उचित मूल्य, प्रशोधन उद्योग स्थापना तथा आधुनिक प्रविधिको विकास, जुनारजस्ता कृषिजन्य उत्पादनको दीर्घकालीन भण्डारण तथा निर्यात बढाउने, कोल्डस्टोर स्थापना गर्ने र अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन सरकारको सधैँ सहयोग रहने पनि उहाँले स्पष्ट उल्लेख गर्नुभयो ।

गृहमन्त्री लेखकले व्यापारिक वातावरण सुनिश्चित गर्न कानुनसमेत संशोधन गरिएको बताउँदै सिन्धुलीको जुनारलगायत स्थानीय उत्पादनलाई राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा पु¥याउन स्थानीय व्यवसायीलाई आग्रह गर्नुभयो ।

यसैगरी उहाँले बाढीपहिरोका कारण भत्किएको बिपी राजमार्गको पुनःनिर्माण कार्य चाँडै प्रारम्भ गरिने र तत्काल गर्नुपर्ने कामसमेत गम्भीरताका साथ अगाडि बढाइएको जानकारी दिनुभयो ।

आयोजक संस्थाका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले यहाँका व्यवसायीले भोग्नुपरेका समस्या र तिनको समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो । उद्घाटन कार्यक्रम सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनलगायत अन्य प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो ।

भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग : जनार्दन शर्मा

काठमाडौँ, २९ माघ : नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले विगतमा भएका ठूला ठूला भ्रष्टाचारको छानबिन गर्नका लागि शक्तिशाली आयोग बनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले विगतका सबै अनियमितता र भ्रष्टाचारको छानबिनका लागि सबै तयार हुनुपर्ने बताउनुभयो ।

सांसद शर्माले वैदेशिक रोजगारीमा रहेका र विप्रेषण पठाएर देशलाई सहयोग गर्नेको समस्या समाधानका लागि सरकारले विशेष सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । मुलुकभित्रै रोजगारी सिर्जना गर्नेतर्फ कोही कसैको सोच नभएको स्पष्ट पार्दै उहाँले बाँझो जमिनलाई हराभरा बनाउने अभियान सञ्चालन गर्नुपर्ने र सोही दिशामा बहस हुनुपर्ने तर्क गर्नुभयो ।

राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म पनि पूरा नहुने अवस्थाको अन्त्यका लागि संसद्भित्र बहस हुनुपर्ने भए पनि अन्य विषयमा केन्द्रीत रहेको उहाँको भनाइ छ । सङ्घीयता कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा भइरहेको ढिलाइप्रति पनि उहाँले प्रश्न उठाउनुभयो । सांसद शर्माले शान्ति प्रक्रियाको काममा भइरहेको ढिलाइप्रति पनि आपत्ति प्रकट गर्नुभयो ।

राष्ट्रपति रनिङ शिल्डमा आकर्षण प्रतियोगिताको आकर्षण ‘सिलाम साक्मा’

फुङ्लिङ (ताप्लेजुङ), २९ माघ : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका रूपमा आयोजना गरिएको छ । खेलकुद महोत्सवको प्रमुख आकर्षण भने ‘सिलाम साक्मा’ बनेको छ ।

आइतबारदेखि सुरू भएको खेलकुद महोत्सव बुधबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । लिम्बू संस्कृतिमा आधारित ‘सिलाम साक्मा’ को प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले ५४ फिट अग्लो सिलाम साक्माको प्रतिमा (मस्कट) निर्माण गरिएको छ । सिलाम साक्माको दायाँ–बायाँ ठूला अक्षरमा ‘सिलाम साक्मा हाम्रो सभ्यता हो’ लेखिएको छ ।

धेरैले सिलाम साक्मा देखेको हुन सक्छन्, तर यति अग्लो र ठूलो सिलाम साक्मा पहिलो पटक देख्नेहरूका लागि विशेष आकर्षण भएको छ । यहाँ पुग्ने जो कोही पनि यसको अगाडि तस्बिर खिच्न तथा टिकटक भिडियो बनाउन उत्साहित देखिन्छन् । हाल सामाजिक सञ्जालहरूमा समेत सिलाम साक्माले व्यापक चर्चा पाएको छ ।

बाँस र धागो प्रयोग गरेर वर्गाकार आकारमा निर्मित सिलाम साक्माको उचाइ र चौडाइ ५४ फिट रहेको छ । विभिन्न आकारका सिलाम साक्मा प्रदर्शन तथा प्रचारका लागि राखिएको छ । भाटा प्रयोग गरी करिब एक हजार ५०० किलोग्राम तौलको सिलाम साक्मा निर्माण गरेर प्रवेशद्वार (गेट) बनाइएको हो । प्रतियोगितामा सहभागी विद्यार्थी, खेलाडी तथा शिक्षकलाई सिलाम साक्माको महत्त्व बुझाउन यो प्रतिमा निर्माण गरिएको निर्देशक छेटु लामा तामाङले बताउनुभयो ।

फुङ्लिङ नगरपालिका–४ का सिलाम साक्मा उत्पादक कृष्ण लिम्बूका अनुसार लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो, र ‘साक्मा’ को अर्थ छेक्नु हो, अर्थात् “मृत्युको बाटो छेक्ने” भन्ने अर्थ व्यक्त गर्दछ । उहाँले भन्नुयो, “सिलाम साक्मामा नौ वटा रेखी हुन्छन् । सेतो, रातो, र कालो रङ्गका धागो अनिवार्य रूपमा प्रयोग गरिन्छ ।” पछिल्लो समय सिलाम साक्माको माग बढ्दै गएको र महोत्सव तथा कार्यक्रममा अतिथिलाई स्वागत ब्याजको साटो यसको प्रयोग हुन थालेको लिम्बूले बताउनुभयो । यसबाट राम्रो आम्दानीसमेत भइरहेको छ ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले सिलाम साक्माले सांस्कृतिक पहिचान प्रवर्द्धनमा टेवा पुर्‍याएको बताउनुभयो । सिलाम साक्माको प्रचारप्रसारका लागि नै यसको प्रतिमा निर्माण गरिएको उहाँको भनाइ छ । सिलाम साक्माको प्रयोगले मौलिक पहिचान प्रवर्द्धनसँगै पर्यटन विकासमा समेत योगदान पुगेको छ । लिम्बू समुदायका धार्मिक कर्मकाण्डमा फेदाङ्मा, येबा, साम्बा, बिजुवाहरूले बाँसको सिन्का र धागो प्रयोग गरी सिलाम साक्मा निर्माण गर्ने परम्परा छ । लिम्बू मुन्धुमअनुसार, सिलाम साक्माले दिवङ्गत आत्माको बाटो छेक्ने विश्वास गरिन्छ । साथै, जीवित व्यक्तिको दिनचर्या सुखमय बनाउने, स्वास्थ्य, स्फूर्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने जनविश्वास रहेको छ ।

उत्तर कोरियाले रुसलाई २०० लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई सय वटा लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन् । उत्तर कोरियाले मस्कोलाई ‘करिब ११ हजार सैनिक, क्षेप्यास्त्र, दुई सय थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोलाबारुद’ दिएको ती अधिकारीले बताए ।

“उत्तर कोरियाले आगामी दिनमा अतिरिक्त सेना, हतियार र गोलाबारुद आपूर्ति गर्न सक्छ”, नाम न छाप्ने सर्तमा अधिकारीले भने ।

सियोल, किभ र वासिङ्टनले उत्तर कोरियाले गत वर्ष युक्रेनविरुद्धको युद्धमा क्रेमलिनलाई सहयोग गर्न रुसमा १० हजारभन्दा बढी सैनिक पठाएको बताएका छन् ।

क्रेनले पहिले नै कुस्र्कमा केही उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको वा मारिएको बताएको थियो ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले कुस्र्क मोर्चामा युक्रेनी सेनाले पक्राउ गरेका भनिएका उत्तर कोरियाली कैदीहरूको सोधपुछको फुटेज पनि सार्वजनिक गर्नुभएको छ । मस्को र प्योङयाङ दुवैले यो तैनाथीको पुष्टि गरेका छैनन् ।तथापि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष आणविक–सशस्त्र उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक रक्षा खण्डसहितको सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

१० लाखभन्दा बढी किशोरीले खोप लगाउन सफल भएकोमा प्रधानमन्त्रीद्धारा धन्यवाद

काठमाडौंँ, २९ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी १० लाखभन्दा बढी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमा लेख्दै उहाँले खोप लगाउन यस अभियानमा संलग्न हुनुभएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद दिनुभएको हो । 

“माघ २२ गतेदेखि सुरू भएको देशव्यापी एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ । हालसम्म १० लाख किशोरीले यो खोप लिइसकेका छन् । अभियान फागुन ६ गतेसम्म चल्ने छ”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको छैटौँ दिनमा (माघ २८ गते सम्म) १० लाख १६ हजार सात सय ७१ किशोरीले खोप लगाएका छन् । यो समग्रमा ६० दशमलव ६५ प्रतिशत हो । १६ लाख ७६ हजार चार सय ५२ मध्ये १० लाख १६ हजार सात सय ७१ जना किशोरीले खोप लगाएका हुन् । उहाँले खोप कार्यक्रम सबैको सहयोगले सफल रूपमा चलिरहेको छ । 

शनिबार विद्यालय बन्द हुनाले खोप अभियान सञ्चालन गरिएको थिएन । उहाँका अनसार कोशीमा एक लाख ८१ हजार ५० जना, मधेसमा एक लाख ४८ हजार ५६ जना, बागमतीमा एक लाख ९६ हजार ७४ जना, गण्डकीमा ८६ हजार एक सय १२ जना, लुम्बिनीमा एक लाख ८९ हजार आठ सय ७७ जना, कर्णालीमा ८२ हजार सात सय ९८ जना र सुदूरपश्चिममा एक लाख ३२ हजार आठ सय चार जना किशोरीले खोप लगाएका छन् । 

शाखा प्रमुख डा गौतमले छ दिनको सफलता लक्ष्यअनुसार सबै किशोरीलाई खोप लगाइने जानकारी दिनुभयो । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका सञ्चालन गरेको खोप अभियानमा कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सहभागी हुँदै छन् । 

सबैले विधिको शासन मान्नुपर्छ : राप्रपा प्रमुख सचेतक शाही

काठमाडौँ, २९ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबैले विधिको शासन मान्ने र कानुन पालना गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा दलीय आरमा बोल्नेक्रममा सांसद शाहीले सत्तारूढ दलका नेता तथा कार्यकर्ताले गल्ती गर्दा पनि उनीहरूलाई कानुन नलाग्नु विधिको शासनको उल्लङ्घन रहेको बताउनुभयो । सर्वसाधारणका लागि एक खालको कानुन र नेता तथा कार्यकर्तालाई अर्को खालको कानूनको अभ्यास सरकारले गरेको आरोप सांसद शाहीले लगाउनुभयो ।

आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद वासुदेव घिमिरेले सरकारले सुशासन कायम गर्न, सेवा प्रवाहलाई छरितो बताउन र लगानी प्रवर्द्धनका लागि अध्यादेश ल्याएको बताउनुभयो । अध्यादेशमाथि प्रतिपक्षले विरोध गर्नु जायज नरहेको उहाँको भनाइ छ । “संसद्मा अनौठा परिदृश्य देखा परेका छन् । आफूले राम्रो गर्न नसक्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्ति देखिएको छ । के अघिल्ला कुनै सरकारले अध्यादेश ल्याएका थिएनन्”, उहाँले भन्नुभयो, “जारी अध्यादेशबाट नागरिकलाई सहज सेवा प्रवाह, समृद्धि र परिवर्तनको अनुभूति दिलाउन सहयोग पुग्नेछ । यसबाट युवा, उद्योगी, व्यवसायी, भूमिहीन किसानलगायत आम नागरिक उत्साहित हुनुहुन्छ ।”

अध्यादेशको प्रक्रियामा कुनै त्रुटि नरहेको तर अध्यादेशमा राखिएका विषयवस्तु संशोधन गर्नुपर्ने भए त्यसमाथि संसद्मा छलफल गर्न सकिने उहाँको भनाइ छ ।

गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध

रसुवा, २९ माघः जिल्लाको गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको छ । पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताउनुभयो ।

पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ । विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कुण्डमाथि हिँड्नेक्रम बढ्न थालेपछि  स्थानीय होटल व्यवसायी समेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ ।  

 स्थलगत पैदलयात्रा तथा हेलिकोप्टरबाट गोसाइँकुण्ड क्षेत्र पुग्ने अधिकांश भक्तजन जमेको पानीमाथि हिँडी नाचेर फोटो खिच्ने थालेपछि धार्मिक आस्था जोगाउन र सम्भावित दुर्घटनाबाट बचाउन सर्वसाधारणको ध्यानाकर्षण गरिएको स्थानीयको भनाइ छ ।  

पण्डित तथा पुरोतिहरूले देवताका पनि देवता महादेव भगवान् शिव विराजमान रहनुभएको स्थानमा पुण्य कमाउन जाने भक्तजनसहित अन्य सर्वसाधारण कुण्डमाथि हिँड्नु धार्मिक दृष्टिले शुभकार्य नरहेको उल्लेख गर्दै जानअन्जानमा यसरी कुण्डमाथि हिँडिसकेकाले घर नजिकको जलाशयमा गई महादेवको प्रतीक स्थापना गरेर क्षमापूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताउनुभयो ।  

एकातर्फ जमेको बरफ फुटेमा मानिस पानीमा फस्नसक्ने डर र अर्काेतर्फ बरफमुनि गोसाइँकुण्ड शिवजी रहनुभएकाले सो कुण्डमाथि टेक्दा महापाप लाग्ने समेत स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।   समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान तथा पूजाआजाका लागि बाह्रै महिना भक्तजन पुग्ने गर्दछन् ।

पार्टीले समुदायमा आधारित समाजवादलाई मुख्य कार्यदिशा बनाएको छ: अध्यक्ष दाहाल

काँक्रेविहार (सुर्खेत), २९ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले समुदायमा आधारित समाजवादलाई अहिले मुख्य कार्यदिशा बनाएको बताउनुभयो । माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै आज उहाँले पार्टीले जितेका स्थानीय तहमा कार्यदिशाअनुसार कार्यक्रम लागू गर्ने प्रयासमा लाग्न निर्देशन दिनुभयो ।

“स्थानीय विशेषता, भौगोलिक, जातीय, सामाजिक बनोटबमोजिम कार्यक्रम विकास गरेर अघि बढौँ । समुदायमा आधारित समाजवादलाई आधार मानेर हामीले जितेका स्थानमा काम गरौँ”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले नेतृत्व कसैले चाहेर रातारात बन्ने कुरा नभएको र यो लामो सङ्घर्ष, जनता, कार्यकर्ता र आदोलनको परिणाम हो भन्नुभयो । अध्यक्ष दाहालले पार्टीको जीवनमा जनयुद्धकालदेखि नै अन्तरसङ्घर्ष र एकताको क्रम चल्दै आएको उल्लेख गर्दै त्यसका बाबजुद पार्टी केन्द्रीकृत र एकताबद्ध हुन जरूरी रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले सरकारले ल्याएको अध्यादेश सदनलाई अवमूल्यन गरेर ल्याइएकाले पारित हुने स्थिति नरहेको बताउनुभयो । “सरकारले सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो, त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ । बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार छैन”, उहाँको भनाइ थियो ।

माओवादी केन्द्रको ध्यान हाल सरकारतिर नरहेको बताउँदै अध्यक्ष दाहालले गलत कार्य भनेर हेरेर नबस्ने स्पष्ट पार्नुभयो ।

एक अर्को प्रसङ्गमा उहाँले पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेकाले नेकपा९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग पार्टी एकताका कुरा भइरहेको बताउनुभयो ।

बेलायतमा नेपालका भूपेन्द्रलाई दोहोरो स्वर्ण

काठमाडौँ २९ माघः नेपालका भूपेन्द्र गुरुङले बेलायतमा भएको ‘आइएमएसी’ खुला प्रतियोगितामा दुई स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आइएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जितेका हुन् ।

गुरुङले प्रतियोगिताको नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते । उनले नान् छ्वानमा २७ दशमलव तीन तथा ताइचीमा २७ अङ्क जोडे । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो । तीन महिनाको अवधिमा भूपेन्द्रले योसहित आठ पदक जितेका छन् ।

यसअघि अमेरिकाका विभिन्न सहरमा भएका तीन प्रतियोगितामा गुरुङले छ पदक जितेका थिए । ‘व्याटल अफ ड्रागन्स’ विश्व च्याम्पियनसिपमा दुई स्वर्ण, १५औँ ‘गोल्डेन ड्रागन’ च्याम्पियनसिपमा दुई रजत र छैटौँ ‘एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिप’मा समान एक–एक स्वर्ण र रजत जितेका थिए । भूपेन्द्र आइएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै बेलायत पुगेका हुन् ।

सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा

काठमाडौँ, २९ माघः विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार एक सय ८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ । यस्तै, साउथ सुडान आठ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ ।

सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र शून्य अङ्कले अति भ्रष्ट जनाउँछ । सर्वेक्षण गरिएका मुलुकको औसत अङ्क यस वर्ष पनि ४३ नै कायम रहेको छ । कम अङ्क प्राप्त गर्नेमा कमजोर र द्वन्द्वप्रभावित मुलुकहरू रहेका छन् । विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रियस्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अङ्क प्राप्त गरेका देखिएको छ ।

नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ । नेपालले १०० अङ्कमा जम्मा ३४ अङ्क प्राप्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी कामकारबाही अगाडि बढाउन आवश्यक देखिएको संस्थाले औँल्याएको अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण एसियाली मुलुकहरूमा भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी चीनले ४३ अङ्क प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘एचपिभी खोप’ अभियान : खोपस्थलमा न्यूनतम सावधानी अपनाइएन

वीरगञ्ज (पर्सा), २९ माघः जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ ।

महानगरभित्रै एउटा सामुदायिक विद्यालयको खोप केन्द्रमा खोप लगाउने क्रममा लापरवाही भएको जनाउँदै प्रशासनले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई सोमबार पत्र लेखेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा सञ्चालन भएको खोप कार्यक्रममा लापरवाही भएकाले सो खोप कार्यक्रम स्थगन गर्न पत्राचार समेत गर्नुभएको छ ।

“विद्यालयको खोप कार्यक्रम स्थगन गरी नौ बुँदे निर्देशनका विषय पूर्ण कार्यान्वयनको सुनिश्चितता गरी आगामी दिनमा यस्तो लापरवाही नहुने कुराको सुनिश्चितता गरेरमात्र खोप कार्यक्रम सञ्चालन गर्नु÷गराउनु हुन सूचित गरिएको छ”, प्रजिअद्वारा लेखेको पत्रमा भनिएको छ । खोप सञ्चालनपूर्व जिल्ला खोप समन्वय समितिको बैठकमा पूर्वतयारी लगायत विषयमा पनि छलफल भएको कुराको समेत ध्यानाकर्षण गराइएको छ ।

प्रजिअ नेतृत्वको अनुगमन टोलीले खोप लगाउने स्थानको सरसफाइमा ध्यान नदिएको, ‘सेफ्टी बक्स’को व्यवस्था नगरिएको र ‘भ्याक्सिङ केरियर’ तथा सिरिन्जसमेत फोहर भुइँमै राखेर खोप लगाइएको कमजोरी औँल्याएको छ । “ खोपस्थलमा न्यूनतम सावधानी, सरसफाइ, सुरक्षालगायत विषय उपेक्षित गरेको देखियो”, सो पत्रमा भनिएको छ, “आइसप्याकलगायत सामग्री, कटन तथा निडललगायत स्वास्थ्य उपकरणको उपयुक्त तवरले प्रबन्ध नपाइएको छ ।”

सो अनुगमनका क्रममा खोप सञ्चालनपूर्व काउन्सिलिङ तथा खोपपश्चात आराम गर्ने स्थलको प्रबन्ध नगरिएको र सहभागी किशोरीको नाम दर्ताका क्रममा विद्यालयका विद्यार्थीलाई प्रयोग गरिएको जनाएको छ । पर्साका १४ वटै पालिकाका ३८ हजार पाँच सय ३७ जना किशोरीलाई एचपिभी खोप लगाउने कार्यक्रम छ । जिल्लामा सोमबारसम्म पहिलो चरणको खोप अभियान सम्पन्न भइसकेको छ । दोस्रो चरणको खोप अभियान भने माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने छ । सो अभियानअन्तर्गत महानगरको १७ देखि ३२ वडा र अन्य छ पालिकामा लगाइने कार्यक्रम छ । जसमा ठोरी, पकहाँमैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई पालिका र बहुदरमाई नगरपालिकामा खोप अभियान सञ्चालन गरिने छ ।

वाग्मती पुलको बिम चर्किएपछि मर्मत थालियो

चन्द्रपुर (रौतहट), २९ माघः पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको वाग्मती नदीको पुल मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत सुरुआत गरेको हो । केही दिन अगाडि पुलको बिम (गिर्डर) चर्किएको थियो । पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झण्डै आठ सेन्टिमिटर चर्किएको कार्यालयका प्रमुख अरुणकुमार कर्णले जानकारी दिनुभएको छ ।

यही माघ २६ गते डाइभर्सन बनाएर २८ गतेदेखि पुल मर्मतको काम थालिएको उहाँले जानकारी दिनुभयो । करिब ५५ वर्षअघि नेपाल सोभियत सङ्घ सहयोगअन्तर्गत निर्माण भएको वाग्मती नदी पुलको चार–पाँच नम्बर स्परको बीचमा रहेका बिममा रहेको बेरिङ राख्ने ‘प्याडेस्टल’ कङ्क्रिट फुटेको उहाँले बताउनुभयो । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने काम भइरहेको प्रमुख कर्णले बताउनुभयो । यही बेला अन्य बिमको पनि सरसफाइ तथा बेरिङ र कङ्क्रिटको अवस्था हेर्ने उहाँले बताउनुभयो । आगामी फागुन २ गतेभित्र पुल सञ्चालनमा ल्याउनेगरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

चौबिसै घण्टा व्यस्त रहने पुलको यथाशीघ्र मर्मत गरेर पुलबाट सवारी सञ्चालन गराउने लक्ष्य लिएको उहाँले बताउनुभएको छ । पुलको ४–५ नम्बर स्पानको बीचमा बिम चर्किएर समस्या आएपछि पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको सुझावका आधारमा मर्मत सुरु गरिएको उहाँको भनाइ छ । सम्भवतः फागुन २ गतेदेखि पुलबाट सवारी सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । माघ २५ गते सडक डिभिजन कार्यालयले पत्रचार नै गरेर २७ गतेदेखि सवारी आवागमनमा रोक लगाइएको थियो । पुलको बिम चर्किएपछि सवारी आवागमन थप जोखिमपूर्ण बनेको थियो ।

आम सहमतिमा संविधान संशोधन गर्दै जानुपर्छ : गरिमा शाह

काठमाडौँ। राष्ट्रियसभामा आएको तीन वर्षका अवधिमा आफूले निर्वाह गरेको भूमिकाप्रति म सन्तुष्ट छु । आफ्नो योग्यता र क्षमताको हिसाबले संसद्को भूमिकामा महत्त्वपूर्ण समय दिएजस्तो लाग्छ । म हाल सार्वजनिक नीति प्रत्यायोजित तथा विधायन समितिको सदस्य छु ।

समितिमा रहेर अध्ययन गर्दा के देख्यौँ भने ऐनभन्दा नियमावली ठूलो, नियमावलीभन्दा विनियमावली ठूलो अनिविनिमियावलीभन्दा कार्यविधि । पूरै अधिकार क्षेत्र नै पार गरेको पायौँ । कर्मचारीले आफ्नो अनुकूल कसैको इच्छामा निर्देशिका, कार्यविधि, मापदण्ड बनाएका देख्यौँ । प्रत्यायोजित विधायनको सन्दर्भमा छुट्टै एउटा कानुन बनाउनुपर्छ । यसका लागि कानुनले नै नियमन गर्नुपर्ने भनेर सरकारलाई निर्देशित गर्यौँ ।

मैले प्रतिनिधिसभाको पनि अनुभव लिइसकेको छु । संविधान बनाउँदा मस्यौदा कार्यदलमा पनि थिएँ । तर संविधानको मर्मअनुसार काम हुनसकेको देखिएको छैन । यसै सन्दर्भमा संविधानको पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि कानुन बने वा बनेनन् भन्नेमा विधायन समितिले अध्ययन गरेको थियो । उक्त अध्ययनको नतिजाले अझै पनि संविधान अनुकूलका कानुन नबनेको अवस्था देखाएको छ । जस्तै, शिक्षा विधेयक, निजामती विधेयक, नेपाल प्रहरी विधेयक थुप्रै विधेयक बाँकी नै रहेको स्थिति छ ।

अधिकार बाँडफाँटबारे संविधानले परिकल्पना गरेको छः न्यायपालिका, कार्यपालिका र विधायिका । पछिल्लो समयमा कस्तो देखिन्छ भने सरकारले संसद्लाई छायाँमा पार्न खोजेको हो कि भन्ने आभास हुन्छ । सांसदहरूले कानुन बनाएनन् भनेर एकातिर आलोचना खेप्नुपर्ने अर्कातिर कानुन बनाउने मुख्य मस्यौदाको जिम्मा जसलाई छ उसले नै जिम्मेवारी बहन नगरेको स्थिति छ । म भएको विधायन समितिले सरकारी आश्वासनको क्षेत्र पनि हेर्ने भएकाले सरकारले गर्छु भनेका थुप्रै काम हुन नसकेको प्रष्टै देखिएको छ ।

नेपालको सन्दर्भमा सङ्घीयता नौलो अभ्यासका रूपमा रहेको छ । यद्यपि, कुनै पनि शासन प्रणालीलाई जब हामी अङ्गीकार गर्छौँ त्यसलाई व्यवहार र अभ्यासमा लैजाँदै गर्दा कतिपय आउने अप्ठ्यारा र तदनुसार कानुनको माध्यमबाट सजिलो बनाउँदै लैजाने कुरा हो । गर्दै जाँदा त्यसरी नै परिपक्व हुँदै जाने हो । आएका अप्ठ्यारालाई सामना गर्दै जाने र हटाउँदै जाने हो । एउटा शासन व्यवस्थालाई राम्रो र सुदृढ बनाउने यसरी नै हो । तर सङ्घीयता कार्यान्वयनका सन्दर्भमा राज्यसत्ता सञ्चालनकर्तामा अनिच्छा देखिएको छ । सञ्चालनकर्ता भनेपछि सरकारमात्र होइन । राज्यभित्र सबै पर्छन् ।

संसद्, सरकार, न्यायपालिका, राज्यको चौथो अङ्ग सञ्चार क्षेत्रलगायत सबै पर्छन् । तर हाम्रो जुन मानसिकता छ त्यो कतै न कतै अझै सङ्घीयतालाई भित्रैदेखि स्वीकार गर्न नसकिएको हो कि भन्ने लाग्छ । सङ्घीय, स्थानीय र प्रदेशले गर्ने काम, कर्तव्यमा पनि धेरै अलमल छ । कानुनकै अभाव छ । कानुन बनाइसकेपछि कार्यान्वयनका क्रममा कहाँ अप्ठ्यारो भयो भन्ने ठाउँमा हुनुपर्ने हो । तर आ–आफ्नो अधिकार क्षेत्रमा रहेर त्यसलाई उपभोग गर्न पनि हामीले त्यस खालको वातावरण कानुनी ढङ्गले बनाउन सकेको स्थिति छैन । जस्तो कि शिक्षा विधेयककै कुरा गरौँ । कानुनमा एउटा कुरा लेखिएको छ अभ्यासमा अर्कै छ । समितिमा छलफल भइरहेको छ । मस्यौदा एक किसिमको आउँछ, चाहना अर्को हुन्छ । विरोधाभाष छ ।

संविधान संशोधनको सन्दर्भमा संविधानलाई १० वर्षमा पुनरावलोकन गर्ने भनेर संविधानमै लेखेका छौँ । हामीले १० वर्षमा संविधानले गरेका व्यवस्था कति सफल भए भनेर अवलोकन गर्ने हो । जुन कुरा कार्यान्वयन गर्नका लागि कानुन नै बनाएका छैनौँ । त्यसलाई असफल वा सफल भयो भनेर कसरी भन्ने रु मेरो मनमा प्रश्न छ । समयअनुसार आवश्यकता पनि परिवर्तन भइरहेका हुन्छन् । जनताका इच्छा सम्बोधन गर्नका लागि पनि संशोधनको आवश्यकता हुन्छ । गलत नियतका साथ राज्यलाई निरङ्कुशतातर्फ धकेल्ने, जनताका अधिकार कटौती गर्ने, महिलाका अधिकार कटौती गर्ने, थारू, मधेसी, दलित, जनजातिका अधिकार कटौती गर्ने, सङ्घीयतालाई नै खारेज गर्नेगरी वा अरु हिसाबले एक कदम पछाडि जाने गरी संविधान संशोधन हुन्छ भने त्यो प्रिय हुँदैन । ग्राह्य पनि हुँदैन । एक कदम अघि बढ्नका लागि सबैको सहमतिमा क्रमशः संशोधन गर्दै जानुपर्छ ।

चाहे युवाको विदेश पलायन रोक्ने कुरा होस् वा आर्थिक समृद्धिका कुरा यी सबैका लागि पहिलो शर्त सुशासन नै हो । सुशासन भएन भने मुलुकमा रोजगारी सृजना र उत्पादन गर्न सक्दैनौँ र युवाको विदेश पलायन पनि रोक्न सक्दैनौँ । दुःखको कुरा के छभने सरकार सुशासन कायम गर्नेभन्दा पनि नीतिगत भ्रष्टाचारलाई बढावा दिनेतर्फ केन्द्रित जस्तो देखिरहेकी छु । सुशासनका लागि राज्य व्यवस्था सञ्चालन गर्ने प्रमुख पदमा बस्ने व्यक्तिहरू नैतिक रूपले बाँधिएको हुनुपर्छ । उहाँहरू नै सदाचारी, नैतिक हुनुपर्ने हुन्छ ।

सांसद गरिमा शाहको परिचय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ मदनकुमारी शाह (गरिमा) राष्ट्रियसभा सदस्य हुन् । उनी विद्यार्थी राजनीतिबाट २०४६ सालदेखि राजनीतिमा सक्रिय छन् । विसं २०६४ को संविधानसभा निर्वाचनको उम्मेदवार, २०७० सालको संविधानसभा सदस्यसमेत रहनुभएकी शाह हाल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन् ।

(सांसदसँग रासस संवादका लागि राष्ट्रियसभा सदस्य गरिमा शाहसँग राससका समाचारदाता बुनु थारूले गरेको कुराकानीको सम्पादित अंश)

बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

काठमाडौँ, २९ माघः परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ ।

यसबाट परिवार व्यवस्थापन सेवा प्रभावकारी भएको र बृहत् स्वास्थ्य शिविर पनि सफल रहेको महाशाखाको ठम्याइ छ । मन्त्रालयले परिवार व्यवस्थापनका लागि घरदैलो सेवा पनि उपलब्ध गराउँदै आएको छ । जिल्ला जनस्वास्थ्य एवं स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमा बन्ध्याकरण शिविर आयोजना गर्ने समझारीको ढाँचामा सेवा प्रदान गर्न थालेको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लाल परिवार व्यवस्थापनको सेवामा पहुँच पुर्याउन बन्ध्याकरण शिविर कार्यक्रम सञ्चालनमा नयाँ ढाँचाबाट सेवा प्रदान गर्न थालिएको जानकारी दिनुभयो । उहाँ भन्नुभयो, “यसबाट सेवाग्राहीले आफूले चाहेका सेवा पायक पर्ने स्थानमा गुणस्तरीय रूपमा पाएका छन् ।” परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर बढाउन परिवार व्यवस्थापनका सेवालाई अझ सुदृढ बनाउन आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “विशेषगरी बन्ध्याकरण शिविर सञ्चालनमा सेवाप्रदायक सस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक बनाउन जरुरी छ । हामीले स्वास्थ्य सङ्घीयतामा समन्वयात्मक ढाँचा अवलम्बन गरेका छौँ ।”

नेपालमा लामो समयदेखि परिवार व्यवस्थापन एवं सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको एमएसआई नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत सञ्चालन गरेको बृहत् बन्ध्याकरण शिविरको ‘मोडालिटी’ अत्यन्त उत्कृष्ट रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी जिल्ला जनस्वास्थ्य एवं स्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय र सहकार्यमा बन्ध्याकरण शिविर सञ्चालन गर्दछौँ । यसका लागि ती निकायसँग समझदारी गर्दछौँ ।” उहाँका अनुसार समझदारीमा कुन निकायले के सेवा प्रदान गर्ने भन्ने उल्लेख गरिएका हुन्छन् । पालिका तहले आवश्यकताका आधारमा बन्ध्याकरण शिविर सञ्चालन गर्ने स्थान छनोट गर्ने, यसका बारेमा सेवाग्राहीलाई घरदैलोमा नै पुगेर शिविरका बारेमा जानकारी दिने र एमएसआइले साझेदारी संस्था सुनौलो परिवार नेपालका ‘मेडिकल टिम’ मार्फत सेवा प्रदान गर्ने अवधारणाले सेवा प्रदान भइराखेको वरिष्ठ सल्लाहकार उपाध्यायले जानकारी दिनुभयो ।

एमएसआइले सन् २०२४ मा सम्बन्धित पालिकासँगका सहकार्यमा रौतहट, धनुषा, बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा, बर्दिया, नवलपरासी (पश्चिम), मोरङ, कपिलवस्तु, रोल्पा, कैलाली, दाङ, बैतडी, डडेलधुरा, बागलुङ, गोरखा, लमजुङ, प्युठान, कैलाली, धादिङ, सुनसरी र सिन्धुलीलगायत जिल्लामा परिवार व्यवस्थापनअन्तर्गत बन्ध्याकरण शिविर संयोजन गरेको थियो । शिविरमा महिला बन्ध्याकरण (नौ हजार आठ सय ५५) पुरुष बन्ध्याकरण (तीन सय ८७), परिवार नियोजनका इम्पाल्ट (एक सय ५१) र कपरटी (४६) जनाले सेवा लिएका थिए । महिला बन्ध्याकरण अत्यन्त रुचाइएको छभने पुरुष बन्ध्याकरण न्यून रुचाइएको पाइन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुडाथोकी २० वर्षभन्दा कम उमेरमा विवाहलाई अन्त्य, परिवार नियोजनका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार र यौन तथा प्रजनन स्वास्थ्य चेतनामा अभिवृद्धि गर्न अझै पनि चुनौती रहेको बताउनुहुन्छ । उहाँ भन्नहुन्छ, “परिवार नियोजनका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार गर्न संयुक्त सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक छ । यसका लागि मन्त्रालय सबै साझेदार निकायसँग थप सहकार्य गर्न चाहन्छ ।”

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका कुल ३५ प्रतिशत किशोरीको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको छ । यसैगरी विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्षको उमेरमा र ७६ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको भएको पाइन्छ । नेपालमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् ।

पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२)का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर ५३ प्रतिशत छ । आधुनिक परिवार नियोजन सेवाको प्रयोगदर ४२.८, अझै प्रजनन उमेरका २३.७ महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् । अर्कातर्फ नेपालमा जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिएको छ ।

सर्वाेच्च अदालतको फैसलासँगै नारायणी अस्पताल भवन निर्माणको उल्झन सल्टियो

वीरगञ्ज (पर्सा), २९ माघः सर्वाेच्च अदालतको फैसलासँगै विगत पाँच वर्षदेखि रोकिएको नारायणी अस्पतालको भवन निर्माणको उल्झन सल्टिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले यसअघि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले गरेको फैसलालाई उल्ट्याइदिएसँगै पाँच वर्षदेखि रोकिएको नारायणी अस्पताल भवन निर्माण नयाँ बाटोबाट प्रक्रिया बढ्ने आशा पलाएको छ ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले यसअघि अस्थायी इजलास वीरगञ्जको निर्माण कम्पनी एनडिइ÷भ्याली कन्स्ट्रक्सन प्रालि (भिसीपिएल)÷नेशनल डेभलपमेन्ट इन्जिनियरिङ (एसएसएनसी)पक्षको फैसला उल्ट्याइदिएसँगै भवन निर्माणसम्बन्धी विवाद टुङ्गोमा पुगेको जानकारी दिनुभयो ।

“अस्थायी इजलासले निर्माण कम्पनीको पक्षमा फैसला दिएसँगै सहरी विकास तथा भवन निर्माण विभागले सो फैसलाको विरुद्ध सर्वाेच्चमा पुनरावेदन हालेको थियो”, उहाँले भन्नुभयो, “पुनरावेदन हालेको पाँच वर्षपछि सर्वाेच्च अदालतले उच्च अदालतको फैसला उल्ट्याइदिएसँगै नयाँ प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो ।” उच्चको फैसला उल्ट्याइदिएसँगै सोमबार बेलुका वीरगञ्जका नागरिक समाज तथा चिकित्सकले फैसलाको स्वागत गरेका छन् ।

यद्यपि सो मुद्दाको फैसलासम्बन्धी पूर्णपाठ आइसकेको छैन । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा नीरज सिंहले सर्वाेच्च अदालतको फैसलाले नारायणी अस्पताल भवन निर्माण प्रक्रियाको बाटो खुलेको बताउनुभयो । पूर्व प्रदेशसभा सदस्य राजेश्वर साहले सर्वाेच्चको फैसलासँगै अस्पताल भवन निर्माण फास्टट्रयाकमा गर्नुपर्ने माग गर्नुभयो । सङ्घीय सरकारले २०७५÷०७६ सालमा नारायणी अस्पतालमा पाँच सय शय्याको भवन विस्तारका लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो ।
सर्वाेच्चले सो मुद्दालाई अग्राधिकारमा राखेर फैसला गरेको हो । वीरगञ्जमा नागरिक समाज र चिकित्सक तथा स्वास्थकर्मीले नारायणी अस्पताल भवन निर्माणसम्बन्धी मुद्दा छिटो टुङ्गो लाग्नुपर्ने भन्दै दबाबमूलक कार्यक्रम पनि गर्दै आइरहेका थिए ।

‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज

कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भैरहेका सिनेमाको भन्दा फरक र युनिक देखिन्छ । यो ट्रेलरले सिनेमाप्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । त्यो रात के भयो ? भन्ने सवांदबाट सुरु भएको सिनेमाको भगवान पनि म, अनि राक्षस ? बाट अन्त्य गरिएको छ । ‘ताण्डवम्’को ट्रेलर सस्पेन्स तथा थ्रिलर महसुस गराउन सफल देखिन्छ ।

सिनेमा निर्देशक जुनिक गहतराज पनि सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले आज सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । सिनेमा महाशिवरात्रीको पूर्वसन्ध्या पारेर फागुन ९ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ ।

सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै

सिरहा, २९ माघः सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार उक्त ‘बिग इन्डस पदमनगर’को शिलान्यास गर्नुहुँदै यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । “यो एक ऐतिहासिक परियोजना हो । मुलुकलाई माया गर्ने र उद्योगधन्दामार्फत देशलाई समृद्धितर्फ लैजान यस औद्योगिक क्षेत्रले महत्त्वपूर्ण योगदान दिने छ भन्ने मैले विश्वास लिएको छु”, नेता खनालले भन्नुभयो, “निजी क्षेत्रले धेरै काम गर्न सक्छन् र देशभक्त उद्यमीले देशमै उद्योगधन्दा सञ्चालन गरी रोजगार सृजना गर्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो ।” उहाँले देशभित्रै उद्योगधन्दा सञ्चालन गरी बेरोजगारीको समस्या समाधानसहित युवाहरूको बढ्दो विदेश पलायन रोक्न सकिने विचार व्यक्त गर्नुभयो ।

विभिन्न निर्माण कम्पनी सञ्चालक तथा हाइड्रोपावर व्यवसायीसमेत रहनुभएका ‘बिग इन्डस पदमनगर’का सञ्चालक स्थानीयवासी न्यौपानेले आफ्ना हजुरबुबा पदमबहादुरले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई चिरस्थायी बनाउन आफ्नै जन्मभूमिको माटो सुहाउँदो छ उद्योग स्थापना गर्न लागेको जानकारी दिनुभयो । “देश विदेशमा ठूला प्रोजेक्टमा काम गर्दैगर्दा स्वदेशमा पनि केही गर्ने हुटहुटीका कारण यहाँको माटो सुहाउँदो उद्योग सञ्चालनका लागि सोचेर निर्णय लिएको हुँ । हरेकपटक गाउँ आउँदा स्थानीयले आफ्नो जन्मथलोका लागि पनि कुनै काम गरिदिनुपर्यो भन्नुहुन्थ्यो”, शिलान्यास समारोहमा उहाँले भन्नुभयो, “यसबाट यहाँका दाजुभाइ दिदीबहिनीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।”

उहाँका अनुसार आँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ । आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ । यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने उहाँले बताउनुभयो । त्यसैगरी, दुई हजार मेट्रिक टनको ‘कोल्ड स्टोरेज’ स्थापना गरी किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि हुने समस्या हटेर जाने सञ्चालक न्यौपानेको भनाइ छ ।

उहाँका अनुसार भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ । त्यसैगरी, अन्य उद्योगमा सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेन्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्नेगरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न करिब दुई वर्षको समय लाग्ने उहाँले बताउनुभयो । “त्यसले पाँच सय जनालाई प्रत्यक्ष र पाँच हजार परिवारलाई अप्रत्यक्ष रोजागारीको अवसर सृजना हुन्छ”, सञ्चालक न्यौपानेले भन्नुभयो ।

सोही क्रममा सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले उद्योग स्थापनापछि यस क्षेत्रका जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले यस ठाउँमा उद्योग स्थापनापछि सुरुङ्गाको नाम उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पालिकाका तर्फबाट उद्योग सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
परियोजनाका प्रबन्धक भीष्म रेग्मीका अनुसार यस यौद्योगिक क्षेत्रको सबै संरचना निर्माणका लागि रु चार अर्ब लागत अनुमान रहेको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २९ माघ – कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउसिमी (लोकल) प्रतिकेजी रु ५०, घिउसिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउसिमी (राजमा) प्रतिकेजी रु ८०, टाटेसिमी प्रतिकेजी रु ४०, तितेकरेला प्रतिकेजी रु १२०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, फर्सी हरियो (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी रु ८०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २००, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठकोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी–४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फुजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा प्रतिकेजी रु ४०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐँसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेँडेखुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनियाँ प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

बागलुङमा सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्कियो

गलकोट (बागलुङ), २९ माघः सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको जानकारी दिनुभयो । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो ।

अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको शाखा अधिकृत उपाध्यायले बताउनुभयो । तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन्भने १५ हजार आठ सय ३८ परिचयपत्र प्रशासनमै रहेको उहाँले बताउनुभयो ।

परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको सङ्ख्या न्यून भएको हो । परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङको रहेको छ । परिचयपत्र चाङ लाग्दा भण्डारणमा समस्या भएको जनाइएको छ ।

राष्ट्रिय परिचयपत्रविरुद्धको सर्वोच्चको रिट खारेजीको निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डका रूपमा प्रयोग गर्न सकिने राष्ट्रिय परिचयपत्रमा बाहकको १० औठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिन्छ ।

चिपसहितको कार्डमा प्रिन्ट हुने यसमा वैयक्तिक र जैविक विवरण समेटिने छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनै पनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचयपत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गरिने छ ।

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी, २९ माघः मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२आँै शताब्दीमा बनेको हो ।

समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताउनुभयो ।

आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो । पहराको ढुङ्गालाई नै थामको रूप दिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ । भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।

स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् ।

मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताउनुभयो । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ । लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् । गाउँपालिका र प्रदेश सरकारको रु १५–१५ लाख बजेटमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताउनुभयो । यस वर्ष सार्वजनिक शौचालय बनाउन रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने

काठमाडौँ- जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने भएको छ । पत्रकार सम्मेलनमा नेपाल र जापानका कम्पनीहरूले ‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार ‘केयर गिभर’ लैजाने घोषणा गरेका हुन् ।

उक्त अवसरमा जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सन्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सेवाका क्षेत्रमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसले जापानमा रोजगारी खोज्नेलाई व्यवस्थित रुपमा पुग्न मदत गर्छ । १८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन् । जापानी भाषाको आधारभूत ज्ञान ‘एन–फोर लेभल’को भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपालीहरू ‘केयरगिभिङ’मा जान पाउनेछन् ।”

भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनोट गर्ने पिएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छनोट भएकालाई नेपालमै आवश्यक सूचनाप्रविधि र एआइलगायतका तालिम प्रदान गर्नेछौँ । यसले उक्त क्षेत्रमा काम गर्न चाहनेलाई झन्झटरहित सेवा दिनेछ । तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउने छन् ।”

जापानमा ‘केयरगिभर’को काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्नसक्ने उहाँले जानकारी दिनुभयो । नेपालीहरूलाई जापानको रोजगारी मात्र नभएर अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा तालिम पनि प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताईएको छ ।

आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद ज्ञापन गरेको छ । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा कोषमा नेपालले रु १५ लाख (करिब ११ हजार अमेरिकी डलर) योगदान गरेकामा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको हो । डब्लुएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो ।

थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र हो । “आपत्कालीन कोषमा नेपालको योगदान कोषप्रतिको सहयोग, स्वामित्व र प्रतिबद्धताको प्रमाण हो । यस कोषलाई विश्व स्वास्थ्य सङ्गठनले आफ्नो क्षेत्रका सदस्य राष्ट्रका लागि पारदर्शी रूपमा व्यवस्थापन गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

सन् २००७ मा हिन्द महासागरमा आएको सुनामीबाट प्रभावित दक्षिण–पूर्वी एसिया क्षेत्रका विभिन्न देशको सिकाइका आधारमा कोष स्थापना गरिएको हो । विज्ञप्तिमा कोषले १० राष्ट्रमा घटेका ४९ वटा आपत्कालीन अवस्थामा सहयोग गरेको उल्लेख गरिएको छ ।

नेपालले पनि सन् २००८ मा कोशीमा आएको बाढी, सन् २०१५ को विनाशकारी भूकम्प र सन् २०२३ मा जाजरकोटमा गएको भूकम्पको प्रतिकार्यमा कोषबाट सहयोग प्राप्त गरेको थियो ।

डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले सदस्य राष्ट्रलाई कुनै पनि ठूलो जनस्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी प्रतिकार्य गर्नसक्षम बनाउनका लागि निरन्तर सहयोग गर्नेमा कोष व्यवस्थापन पक्ष प्रतिबद्ध रहेको जनाउनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बाबुछोरीको कथामा चलचित्र ‘रङ्गी’

काठमाडौँ- बालकलाकार हुँदै अभिनय सुरू गर्नुभएका अभिनेता सलोन बस्नेत अब निर्माता हुनुभएको छ । चलचित्र ‘रङ्गी’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता बस्नेतले सामाजिक सञ्जालमा भेटेको एक भिडियोले आफूलाई चलचित्र निर्माण गर्न प्रेरित गरेको बताउनुभयो ।

‘रङ्गी’ मा बुबाको सङ्घर्ष र त्यागलाई देखाइएको उहाँले जानकारी दिनुभयो । बुबाको अव्यक्त प्रेमलाई चलचित्रमा देख्न पाइने बस्नेतले बताउनुभयो । निर्माताको रूपमा पहिलो चलचित्र भएकाले आफ्नो लागि यो सधँै खास रहने अभिनेता बस्नेतको भनाइ छ । “म चलचित्रकै माध्यमले चिनिएँ, बालकलाकारदेखि चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ,”, अभिनेता बस्नेतले भन्नुभयो ।

यसै चलचित्रमार्फत सन् २०२२ कि मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा ‘डेब्यु’ गर्नुभएको छ । उहाँले आफ्नो बाल्यकालदेखि कै अभिनेत्री बन्ने सपना पूरा भएको बताउनुभयो ।
चलचित्रमा विशाल पहाडी, उत्तम केसी, बालकलाकार आयुषी ढकाल, सुमिन गुरुङलगायतले अभिनय गरेका छन् । यसै चलचित्रमार्फत सुरेश न्यौपानेले पनि निर्देशनमा डेब्यु गर्नुभएको हो ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरको कथा, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको सङ्गीत छ भने बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गर्नुभएको छ ।

चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र माओवादी केन्द्रको कार्यदिशा होइन : उपाध्यक्ष श्रेष्ठ

खोटाङ-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र आफ्नो पार्टीको कार्यदिशा नभएको बताउनुभएको छ ।
पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उहाँले माओवादी केन्द्र जनअधिकार र सुविधाका लागि सरकार, सदन र सडक गरी तीनै मोर्चाबाट लडिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक रूपान्तरणका लागि लडिरहेको छ ।”

नेता श्रेष्ठले आफ्नो पार्टीको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित हुन नहुनेसमेत बताउनुभयो । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की र दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य ध्रुब बुढाथोकीलगायतले सम्बोधन गर्नुभएको थियो ।

मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न महानगर प्रमुख महर्जनको अनुरोध

पाटन (ललितपुर), २९ माघः ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गर्नुभएको छ ।

गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि अत्यावश्यक पर्ने बेत नेपालमा सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध गर्नुभएको हो ।

“रथ बनाउन प्रयोग हुने बेत आसामबाट लानुपर्छ तर सहज छैन, यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्छु, रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको सम्बन्ध छ, अब काठमाडौँ र आसामबीच सिधैँ हवाई उडानबाट यात्राको व्यवस्था मिलाउन सकियोस्, यसले दुई देशबीच आवतजावत बढ्छ, सम्बन्ध अझै बलियो हुन्छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रा रोचक तथ्यबारे जानकारी गराउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू, विश्वविद्यालय परिवारलगायत गुहाटी र आसामका नागरिकलाई जात्रा हेर्न आउन निम्तासहित आह्वान गर्नुभयो । “रातो मच्छिन्द्रनाथको जात्रा हेर्न ललितपुर आउनुहोस्, भव्यताका साथ स्वागत गर्न आतुर छु”, उहाँले भन्नुभयो ।

कुनै पनि किलाकाँटाको प्रयोगबिना बेतले बाँधेर रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथ बनाउन प्रयोग गरिने बेत भारतको आसामबाट ललितपुर ल्याउने प्रचलन छ ।

नगरप्रमुखले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा पर्यटन संस्कृति समितिका संयोजक वडाध्यक्ष विकासमान श्रेष्ठ, समितिका सदस्यद्वय रुपेन्द्रराज शाक्य र राजेन्द्र महर्जन, महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष शन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार बाराहीलगायत हुनुहुन्छ ।

कार्यक्रममा गुहाटी विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्ताले रातो मच्छिन्द्रनाथले ललितपुर र भारतको सम्बन्धलाई बलियो बनाएको बताउनुभयो । 

सांस्कृतिक र ऐतिहासिक रूपमा दुई देशबीचको सम्बन्ध बलियो भएको प्रष्ट पार्दै यो सम्मेलनले सम्बन्ध अझै कसिलो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मजुली सांस्कृतिक विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डम्बरुधर नाथले भारत र नेपालबीचको प्रगाढ सम्बन्धको सेतु रातो मच्छिन्द्रनाथ भएको बताउनुभयो । 

रातो मच्छिन्द्रनाथबारे गुहाटीमा छुट्टाछुट्टै विषयमा सात वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले ‘नेपालमा गुरु मच्छिन्द्रनाथ’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । 

महानगरका अमूर्त सम्पदा सल्लाहकार न्याछ्योले सम्पदा र विश्वसम्पदा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पानेजु सङ्घका अध्यक्ष शाक्यले रातो मच्छिन्द्रनाथको पूजा विधि, ज्यापू समाजका अध्यक्ष महर्जनले जात्रा व्यवस्थापन र रथ निर्माणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गुठी संस्थानका निमित्त प्रशासक शालिकराम सुवेदीले आसामबाट बेत सङ्कलन प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

त्रिभुवन विश्वविद्यालय, इतिहास विभागका पूर्वप्रमुख प्राध्यापक राजाराम सुवेदीले ‘नेपालमा सिद्ध मच्छिन्द्रनाथ’को भूमिका विषयक कार्यपत्र र डा विदु प्रकाश कायस्थले रातो मच्छिन्द्रनाथ, जलवायु परिवर्तन र त्यसको असर विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । 

संवाद र सहकार्यमार्फत केबलकार निर्माण प्रक्रियालाई अघि बढाउन आग्रह

ताप्लेजुङ, २९ माघः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उहाँले बताउनुभयो । 

स्थानीय सरकारका रूपमा स्थानीयको आन्तरिक आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने दायित्व नगरको भएकाले लगानीकर्तालाई प्रोत्साहन गरिएको मादेनले बताउनुभयो । उहाँले ‘नो केबलकार’ समूहलाई सार्थक संवादमा आउन र जिल्लाको समृद्धिमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । उहाँले निर्माणमा अवरोध नगरी भावि सन्ततिका लागि सहमतिमा आउन नो केबलकार समूहलाई आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बूले केबलकार निर्माणमा एकमत हुनु आवश्यक रहेको बताउनुभयो । केबलकार निर्माण हुनुपर्छ भन्नेमा आफूहरूको मत रहेको भन्दै उहाँले विकास निर्माणमा अवरोध नगर्न ‘नो केबलकार’ समूहलाई आग्रह गर्नुभयो । 

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष खड्गविक्रम सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्कीलगायत वक्ताले विद्यमान समस्या र विवाद छलफल र वार्ताका माध्यमबाट समाधान गरेर विकास निर्माणमा एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

फुङ्लिङ नगरपालिकाअन्तर्गतका विभिन्न वडाका वडाध्यक्ष मोहन न्यौपाने, टङ्क पालुङ्वा, दुर्गाप्रसाद पालुङ्वा, मदन गुरूङ, योगेन्द्रप्रसाद निरौला, लक्ष्मण गुरूङ, युवराज भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले सहमति र वार्तामार्फत केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।  

पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ । मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका हुन् ।

यसअघि सरकारसँग भएका वार्ता, संवाद निष्कर्षविहीन भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी निर्माणको वातावरण बनाउन र सार्थक वार्ता संवादमा आउन ‘नो केबलकार’ समूहलाई आग्रह गरेको हो । नगरपालिकाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा परियोजनालाई अघि बढाउने योजना रहेको जनाएको छ ।