`

ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदै

गलकोट (बागलुङ), १ फागुनः ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको थियो ।

तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति भएकामा खुसी व्यक्त गर्नुभयो । सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ । यसले कटिनपूर्ण यात्रा सहज भएको खड्काको भनाइ छ । 

बागलुङ बजारदेखि बोक्सेसम्म दुई वर्षअघि नै कालोपत्रे सम्पन्न भइसकेको थियो भने अहिले बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन् । सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन्भने आन्तरिक पर्यटकले ट्याक्सी र अटोरिक्सा लैजान थालेका हुन् । कालोपत्र सडक पुग्न थालेपछि सिगानामा विकासले विस्तारै गति लिँदैछ । 

काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्दैनथे । खच्चडकै भरमा सामग्री ढुवानी गर्नुपथ्र्यो । बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घण्टाभन्दा बढी समय लाग्दथ्यो । वडा कार्यालयसम्म पुग्नै एक घण्टाजति समय लाग्थ्यो, सडक स्तरोन्नतिसँगै हाल १५ मिनेटमै त्यो दूरी पार गर्न सकिन्छ । 

सिगानामा रु २९ करोड लागतमा आठ किलोमिटर (किमी) सडक कालोपत्र र ढलान गर्नका लागि ३२ महिनाका लागि ठेक्का सम्झौता भएको थियो । सडक कालोपत्रको जिम्मा पाएको कर्ण बिल्डर्सका साइट इञ्चार्ज सन्दीप श्रेष्ठले फागुनसम्म छ किमी सडक कालोपत्र गर्नेगरी काम भइरहेको बताउनुभयो । 

बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ बजार, अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने ३० किमी सकडमध्ये पहिलो चरणमा १० किमी सडकको काम अन्तिम चरणमा पुगेको छभने पुनः १० किमी सडकको ठेक्का खोल्ने तयारी भइरहेको छ ।

सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

हैदराबाद (भारत), १ फागुनः भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताउनुभयो ।

“भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको लम्पी स्किन रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ । उक्त खोपको प्रयोगबाट ठूलो सङ्ख्यामा गाईभैँसी बचाउन सहयोग पुग्ने अपेक्षा छ”, उहाँले भन्नुभयो । कम्पनीले उत्पादन गरेको उक्त खोपलाई सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले स्वीकृति दिइसकेको एल्लाले बताउनुभयो ।

उहाँले पछिल्ला दुई वर्षमा उक्त रोगका कारण करिब दुई लाख गाईभैँसी मरेको उल्लेख गर्दै त्यसले दूध उत्पादनमा समेत ह्रास आएको बताउनुभयो । नेपालमा मात्रै पछिल्लो दुई वर्षमा करिब १० हजार गाईभैँसी लम्पी स्किन रोगका कारण मरिसकेका छन्भने मुलुकका ७३ जिल्लाका साढे तीन लाखभन्दा बढी पशु सङ्क्रमित भइसकेका छन् । 

“रोगको सङ्क्रमणपछि गाईभैँसीले दिने दूधको परिमाणमा उल्लेख्य कमी आउँछ”, उहाँले भन्नुभयो, “मैले सुनेअनुसार नेपालले अहिले तीन डलरमा खोप ल्याइरहेको छ, हामीले नेपालका किसानलाई एक डलरमै खोप उपलब्ध गराउने योजना बनाएकका छौँ ।”

अध्यक्ष डा एल्लाले खोपको गुणस्तर, सुरक्षा, र प्रभावकारिता भारतीय कृषि अनुसन्धान परिषद्, नेसनल रिसर्च सेन्टर अन इक्वाइन र भारतीय पशुचिकित्सा अनुसन्धान संस्थानमा परीक्षण गरिएको कम्पनीको भनाइ छ । 

लम्पी स्किन रोग लागेपछि गाईभैँसीको शरीरभरि छालामा गिर्खाहरू देखापर्ने, ज्वरो आउने, ग्रन्थीहरू सुन्निने, दूध उत्पादन घट्ने र हलचल गर्न कठिनाइ हुने जस्ता लक्षण देखिने गरेका छन् । 

संस्थापक एल्लाले यो खोप पशुचिकित्सा क्षेत्रमा रोगको निगरानी र उन्मूलनका लागि ‘गेम–चेन्जर’ हुने दाबी गर्नुभयो । कम्पनीले तत्कालका लागि ५० करोड डोज खोप उत्पादन गरी बजारमा पठाउने योजना बनाएको जनाइएको छ । यो रोग लागेपछि पशुहरूको दूध दिने क्षमतामा ३५ प्रतिशतभन्दा बढीले कमी आउने भएकाले समयमै समस्या समाधानमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसविरुद्धको कोभ्याक्सिनलगायतका करिब तीन दर्जन खोप उत्पादन गरिसकेको कम्पनी सन् १९९६ मा स्थापना भएको हो । अमेरिकाबाट स्वदेश फर्किएर डा एल्ला र उहाँकी श्रीमती सुचित्रा एल्लाले कम्पनी स्थापना गर्नुभएको थियो । हाल भारत बायोटेक कम्पनीसँग दुई सय २० भन्दा बढी पेटेन्ट छन् । हाल भारत बायोटेक कम्पनीले खोप उत्पादनसँगै कृषि र जैविक क्षेत्रमा पनि काम गरिरहेको जनाइएको छ । साथै कम्पनीसँग विभिन्न स्थानका प्लान्टमार्फत वार्षिक छ अर्ब डोज खोप उत्पादन गर्न सक्ने क्षमता रहेको त्यस अवसरमा जानकारी दिइयो । 

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौँ, १ फागुनः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ४५, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४५, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु १८०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा (हरियो) प्रतिकेजी रु ४०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुख कटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

पशुपतिनाथलाई गोवा राज्यका मन्त्री रानेद्वारा ३५ केजी चन्दन अर्पण

काठमाडौँ- पशुपतिनाथलाई भारतको गोवा राज्यका स्वास्थ्य तथा सहरी विकास मन्त्री विश्वजीतप्रताप रानेले ३५ केजी चन्दन उपलब्ध गराउनुभएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवामार्फत उहाँले पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा चन्दन उपलब्ध गराउनुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।

 सो अवसरमा परराष्ट्रमन्त्री राणाले नेपाल–भारतबीच सदियौँदेखि सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहँदै आएकाले त्यसलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो । गोवाका मन्त्री रानेले द्विपक्षीय सम्बन्ध विस्तार गरी नेपालको धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । पशुपतिनाथका मूल अर्चक गणेश भट्टले रानेलाई विशेष पूजासमेत गराउनुभएको थियो । मूल अर्चक भट्टको पहलमा मन्त्री रानेले पशुपतिनाथलाई चन्दन चढाउनुभएको हो ।

गोवाका मन्त्री रानेले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेट गरी दुवै देशबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

मलेसियाबाट छोरीको शव ल्याउन १० महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा

विष्णुप्रसाद गौडेल, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन ।

गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छिन् ।

श्रीमानसँग सम्बन्धविच्छेदपछि ६ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छन् ।

शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । ‘शव आउला भन्ने आश गर्दागर्दै १० महिना बितिसक्यो तर न शव देख्न पाइयो, न राहत रकम नै हात पर्‍यो’, उनले भनिन्, ‘म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन ।’

तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन् । ‘समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ’, उनले भनिन्, ‘जे हुने भईहाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो ।’

सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउनेबित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताइन् । ‘मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौँ । मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ’, उनले भनिन् ।

वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए । ‘शव परिचालनमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो’, उनले भने, ‘शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौँ ।’

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ । 

आज विश्व रेडियो दिवस, विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, १ फागुनः आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ ।

सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो । रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ । विपत्तिका बेला तथा अगम्य ग्रामीण क्षेत्रका सर्वसाधारणको हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढावा दिन रेडियो उपयोगी मानिएको छ ।

आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम

काठमाडौँ, १ फागुनः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शुक्रबाबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १ फागुनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ०२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रूपैयाँ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ०४ पैसा र बिक्रीदर नौ रूपैयाँ ०८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १९ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०२ पैसा र बिक्री दर ३१ रूपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ७६ पैसा र बिक्रीदर रूपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३२ पैसा र बिक्री दर १९ रूपैयाँ ४० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ३० पैसा र बिक्रीदर ४५१ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६५ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ९१ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड

काठमाडौँ, १ फागुनः रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म करिब रु १७ करोड खर्च गरेको जनाएको छ ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जगेर्ना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको प्राविधिक निर्देशक गिरिराज अधिकारीले जानकारी दिनुभयो ।  

कोरियन कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायत संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो । विसं २०७२ सालको भूकम्पबाट नराम्ररी प्रभावित भएको आयोजना क्षेत्रमा कम्पनीले भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण तथा अस्थायी आवास निर्माण, विद्यालय एवं स्वास्थ्य संस्थाहरूको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविरलगायत कार्यक्रम सञ्चालन गरेको थियो ।

आयोजना प्रभावित आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरूको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै योजना कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ । उक्त योजनामार्फत समुदाय आफैँले छनोट गरेका कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । यसमार्फत हालसम्म रु दुई करोड बढी खर्च गरिएको जनाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार, रोजगारी एवं जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । आयोजनाले स्थानीय बासिन्दाको मागबमोजिम प्राथमिकताका आधारमा योजना छनोट गरी सहयोग कार्यक्रम सञ्चालन गरिरहेको र यसलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । 

आयोजनाले हाकुबेँसीमा त्रिशूली नदीमा बेलीब्रिज निर्माण गर्न रु सात करोड ८६ लाख १४ हजार खर्च गरेको छ । पुल निर्माणपछि आमाछोदिङमो गाउँपालिका–१ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दाको सडक पहुँच स्थापित भई सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौँतर्फ आवतजावत गर्न सहज भएको छ । प्रभावित क्षेत्रमा सडक निर्माणका लागि रु १८ लाख ५७ हजार खर्च गरिएको छ । यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप रु ७० लाख खर्च भएको जनाइएको छ ।

प्रभावित क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण, शैक्षिक सामग्री वितरणलगायत काम भएका छन् । साथै हाकुस्थित तीनवटा विद्यालयलाई सन् २०१८ देखि एक÷एकजना शिक्षक उपलब्ध गराइएको छ । आयोजनाले त्यस क्षेत्रका आदिवासी जनजातिको सांस्कृतिक रीतिरिवाज संरक्षण र प्रवर्द्धनका लागि गुम्बालगायत भवन निर्माण र अन्य कार्यक्रममा सहयोग गर्दै आएको प्राविधिक निर्देशक अधिकारीले जानकारी दिनुभयो । 

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत ‘इक्विटी’बाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तरराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुने जनाइएको छ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण विसं २०८३ मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

नतिजालाई खर्चमा होइन, भौतिक उपलब्धिसँग दाँज्नुपर्छ : प्रमुख शाह

काठमाडौँ, ३० माघ : काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह (बालेन) ले नतिजालाई खर्चमा नभई भौतिक उपलब्धिमा दाँजेर हेर्नुपर्ने बताउनुभएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले खर्चमा मात्र नभई कामको प्रभावकारितालाई ध्यान दिनुपर्ने बताउनुभयो ।

“पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनुपर्छ”, उहाँले भन्नुभयो, “महत्त्वपूर्ण कुरा भनेको नागरिकलाई दिनुपर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो । लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन ।”

आन्तरिक राजस्व सङ्कलनका विषयमा भएको छलफलका क्रममा प्रमुख शाहले सार्वजनिक निकायले सञ्चालन गरेका व्यावसायिक क्षेत्रको करका विषयमा स्पष्ट पार्दै भन्नुभयो, “व्यवसाय सञ्चालन गरेपछि सबैले कर तिर्नुपर्छ । चाहे त्यो व्यक्ति होस् । निजी क्षेत्र होस् या सार्वजनिक निकाय होस् । यसमा कोही पनि दोधार हुनुपर्दैन ढुक्कले काम गर्दा हुन्छ ।”

समीक्षा कार्यक्रमपछि उपप्रमुख सुनिता डङ्गोलले आफ्नो लक्ष्यप्रति दृढ भएर काम गर्न सबैलाई आग्रह गर्नुभयो । चालु आर्थिक वर्षको यस अवधिमा कामपाले ४० दशमलव ६६ किलोमिटर सडक कालोपत्रे, १० दशमलव ३२ किलोमिटर सडक ढलान र ४१ दशमलव ३२ किलोमिटर सडकमा ब्लक छापेको जानकारी गराइएको छ । सो अवधिमा १२ दशमलव १६ किलोमिटर ढल राखेको छ । सोह्र वटा भवन र नौ वटा पार्क निर्माण गरेको छ ।

त्यसैगरी चौबीस वटा सम्पदा निर्माण र २६ वटा अमूर्त सम्पदा संरक्षण कार्य सम्पन्न भएका छन् । सार्वजनिक खरिदमार्फत ३२ वटा र उपभोक्ताबाट ७७ वटा योजना कार्यान्वयनमा गएका छन् । पन्ध्र वटा योजना खरिद प्रक्रियामा छन् । एक सय १५ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र नक्साङ्कन भइरहेका छन् ।

सहरी योजना आयोगबाट रु ८१ करोड ८१ लाख बराबरका ५३ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । थप ७४ वटा योजनाको डिपिआर तयार हुँदैछ । रु १० करोडभन्दा धेरै लागत भएका १५ वटा, रु १० करोड २१ वटा, मालसामानको ५१ वटा र वडा कार्यालयका १४ वटा खरिदसम्बन्धी सूचना प्रकाशन गरेर प्राप्त प्रस्तावको मूल्याङ्कन र सम्झौता भएको छ । 

एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन काठमाडौँमा

काठमाडौँ, ३० माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

अधिवेशनमा सङ्गठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजनासम्बन्धी छलफल गरिने सो पार्टीले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।

महँगी नियन्त्रण, बेरोजगारी समस्या, राष्ट्रिय स्वाधिनता, आर्थिक समृद्धि, सुशासन कायम गर्ने, आर्थिक मन्दी जस्ता विषयमा छलफल गरिने कमिटी अध्यक्ष एवं पार्टी केन्द्रीय सचिव सावित्रा भुसालले जानकारी दिनुभयो ।

पार्टीले दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ भन्ने अधिवेशनको मूल नारा तय गरेको छ । पार्टीले कर्णाली र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ ।

‘स्थानीय तहका कानुन संविधानभन्दा माथि हुन सक्दैन’ -अध्यक्ष ठाकुर

जलेश्वर (महोत्तरी), ३० माघ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै पनि स्थानीय तहद्वारा निर्मित ऐन, कानुन, नियमावली वा मापदण्ड संविधानभन्दा माथि हुन नसक्ने बताउनुभएको छ ।

सदरमुकाम जलेश्वरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले कुनै पनि स्थानीय तहले नागरिकको संवैधानिक हक खोस्ने ऐन, कानुन, नियमावली वा मापदण्ड निर्माण गरेमा स्वतः खारेज हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष ठाकुरले पछिल्लो दिनमा काठमाडौँ महानगरले कवाड व्यवसायीप्रति गरेको ज्यादति उपर आपत्ति प्रकट गर्दै उनीहरुलाई विस्थापित गराउन खोजेको आरोप लगाउनुभयो । उहाँले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले अदालतको आदेशको विरुद्ध काठमाडौँका कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि डोजर चलाउने, व्यवसायीमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गराउनेलगायत कार्य गरेर आतङ्क मचाएको आरोप लगाउनुभयो ।

उहाँले काठमाडौँ महानगर र प्रमुख बालेन शाहद्वारा नगर प्रहरी परिचालन गरेर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननका घटना रोक्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष ठाकुरले काठमाडौँ महानगर र प्रमुख शाहले आफ्नो व्यवहार नसुधारेमा लोसपाले अधिकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

शारीरिक यातना दिँदा तीन विद्यार्थी घाइते

दमौली (तनहुँ), ३० माघ : तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका शिक्षिकाको यातनाबाट तीन जना विद्यार्थी घाइते भएका छन् ।

विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीया सुष्मा श्रेष्ठले यातना दिँदा कक्षा ४ मा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन् ।

कक्षाकोठामा होहल्ला गरेको भनी सजाय दिने क्रममा श्रेष्ठले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक जना बालकलाई खाना पकाउने तातो पन्युले गालामा डाम्दा घाइते भएको भनि सामाजिक सञ्जालमा प्रशारण भएको थियो । सो सम्बन्धमा बुझ्दा अन्य दुई जना पनि पीडित भएको खुल्न आएको छ,” अधिकारीले भन्नुभयो ।

बालकहरूको अभिभावकबाट जाहेरी लिई निज लेखापाल एवं शिक्षिका सुष्मा श्रेष्ठलाई आज नियन्त्रणमा लिइ बालबालिका विरुद्धको कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

एआई शिखर सम्मेलन : ५८ देशको ऐतिहासिक सहमति

पेरिसमा भएको एआई एक्शन शिखर सम्मेलनले कृत्रिम बुद्धिमत्ता ( एआई) का लागि मानव–केन्द्रित, अधिकार–आधारित र नैतिक दृष्टिकोणलाई जोड दिएको छ ।

सुरक्षा र सुरक्षामा ध्यान केन्द्रित गर्दै शिखर सम्मेलनले असमानतालाई सम्बोधन गर्न र विकासशील देशहरूमा क्षमता निर्माणलाई समर्थन गर्न तत्काल कदम चाल्न आह्वान गरेको छ ।

भारत र फ्रान्सको सहअध्यक्षतामा भएको एक्शन समिटपछि जारी गरिएको संयुक्त वक्तव्यमा युरोपियन युनियन र अफ्रिकी युनियन बाहेक कुल ५८ देशले हस्ताक्षर गरेका छन् । उक्त विज्ञप्तिमा संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले
हस्ताक्षर गर्न अस्वीकार गर्यो ।

यो शिखर सम्मेलनले एआई इकोसिस्टमको विविधतालाई सुदृढ गर्ने महत्त्वलाई उजागर गरेको छ ।

यसले एक खुला, बहु–सरोकारवाला र समावेशी दृष्टिकोण राखेको छ, जसले एआईलाई मानव अधिकारमा आधारित, मानव–केन्द्रित, नैतिक, सुरक्षित, सुरक्षित र भरपर्दो हुन सक्षम बनाउँछ । शिखर सम्मेलनले असमानतालाई कम गर्न र विकासोन्मुख देशलाई कृत्रिम बुद्धिमत्ता क्षमता–निर्माणमा सहयोग गर्ने आवश्यकता र जरुरीतामा जोड दिएको छ ।

शिखर सम्मेलनले एआईमा हालको पहलहरू जस्तै संयुक्त राष्ट्र महासभाको प्रस्ताव ग्लोबल डिजिटल कम्प्याक्ट जस्ता सङ्गठनहरूको कामको महत्त्वलाई पनि स्वीकार गर्यो ।

शिखर सम्मेलनले एआई पहुँच प्रवद्र्धन, एआईको नैतिक विकास सुनिश्चित गर्ने, नवप्रवर्तन र एआईलाई दिगो बनाउने लगायतका केही प्राथमिकताहरू पनि तय गरेको छ ।

विद्युत् प्राधिकरणले समन्वय नगर्दा बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुट्यो : मन्त्री यादव

काठमाडौँ, ३० माघ : खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताउनुभएको छ ।

विद्युत्का तारहरू जमिनमा बिछ्याउनका लागि खन्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको सो क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुग्नुभएका मन्त्री यादवले बताउनुभयो । सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्नु हुँदै मन्त्री यादवले भन्नुभयो, “विद्युत् प्राधिकरणले सधैँ हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।”

मन्त्री यादवले पाइपलाइन तत्काल मर्मत गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “फुटेको पाइप चाँडै मर्मत गरी पानी पठाउने छौँ ।” काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले पानी बन्द हुनासाथ फुटेको पाइप मर्मत गरी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न भएका थिए ।

सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि काम गर्नुपर्छ : अध्यक्ष लिङ्देन

दमौली (तनहुँ), ३० माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा अध्यक्ष लिङ्देनले दुई ठूला पार्टी मिलेर सरकार बनेपछि जनभावना अनुसारको काम गर्नेतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले वर्तमान सरकारले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना लगायतका क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । सरकारले जनभावनाअनुसार काम गर्दै जनताको मन जित्न सक्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “अहिले सिमेन्टमा मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि तत्कालै फिर्ता लिनुपर्छ ।”

अध्यक्ष लिङ्देनले राप्रपाप्रति जनताको आकर्षण बढेको दाबी गर्दै देशभर पार्टी प्रवेशको लहर चलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले पार्टीमा प्रवेश कार्यक्रम दिनदिनै भइरहेको छ । बिहानदेखि रातिसम्म प्रवेश कार्यक्रम भइरहेको छ । यो पार्टीप्रतिको विश्वास हो ।” 

अध्यक्ष लिङ्देनले पार्टीमा प्रवेश गरेकाले कहिल्यै पनि पश्चाताप गर्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी प्रवेश गरेकाहरूले कहिल्यै गलत गरिएछ भन्ने आभाष हुन दिइनेछैन ।”

अध्यक्ष लिङ्देनले सरकार बन्नुअघि दुई ठूला पार्टीले संविधान संशोधनको कुरा गर्दा आफूहरूलाई ठिकै लागेको बताउँदै थप्नुभयो, “संविधानमा नमिलेका थुप्रै कुराहरू छन् । जसले गर्दा देशमा स्थिरता पनि हुँदैन, विकास पनि हुँदैन । संविधान संशोधन गर्नैपर्ने छ ।”

चीनमा ‘निवाएला टिग्रिना’ नामको नयाँ प्रजातिको माछा फेला

चिनियाँ अन्वेषकहरूले पूर्वी चीनको जियाङ्सी प्रान्तमा माछाको नयाँ प्रजाति फेला पारेको स्थानीय जलविज्ञान संस्थानले जनाएको छ ।पोयाङ तालको सहायक नदी सिउ शुई नदीमा ‘निवाएला टिग्रिना’ नामको माछा भेटिएको हो । जटाक्सामा प्रकाशित अध्ययनले प्रजातिहरूलाई काँटेदार लोच जीनस निवाएलाको भागको रूपमा वर्गीकृत गरेको छ ।

अनुसन्धानका अनुसार, निवाएला टिग्रीना अन्य जन्मजात प्रजातिहरूबाट यसको अद्वितीय शरीरको रङ्गले भिन्न छ । यसको पछाडि र माथिल्लो भागमा २० देखि २५ ट्रान्सभर्स कालो बारहरू छन् ।

इन्स्टिच्युटका विज्ञ झाङले निवाएला टिग्रिना उच्च बहाव रहेको नदीहरूमा पाउनसक्ने बताउनुभयो । यसले यसलाई विशेष वातावरणीय अवस्थाहरू चाहिन्छ भन्ने सुझाव दिन्छ । जियाङ्सी प्रान्तमा जलीय जैविक विविधताको बुझाइ बढाउन यो खोज महत्त्वपूर्ण छ ।

दशौँ राष्ट्रिय खेलकुद : एथलेटिक्स, कुस्ती र बुद्धिचालका खेलाडी छनोट

कैलाली, ३० माघ : दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरु छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा दुई दिनसम्म सञ्चालन भएका प्रतियोगिताअन्तर्गत एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरु छनोट भएका हुन् । यसअघि जुडो र भारात्तोलन खेलका खेलाडी छनोट भइसकेका छन् ।

तीन वटै खेलबाट दशौँ राष्ट्रिय खेलकुदका लागि पुरुष र महिला खेलाडी छनोट भएका छन् । एथालेटिक्समा पुरुषतर्फ पाँच हजार मिटर दौड, १५०० मिटर दौड र ४०० मिटर दौडतर्फ नौ जना खेलाडी छनोट भएका छन् । त्यसैगरी ज्याभलिङ थ्रो, हाईजम्प र लङजम्पमा नौ जना खेलाडी छनोट भएका छन् । ४०० गुणा १०० मिटर रिलेमा पनि १२ जना खेलाडी छानिएका छन् । एथलेटिक्स महिला तर्फ पनि पाँच हजार मिटर दौड, १५०० मिटर दौड र ४०० मिटर दौडतर्फ नौ जना खेलाडी छनोट भएका छन् ।

कुस्ती पुरुषतर्फ विभिन्न तौल समूहमा नौ जना खेलाडी छनोट भएका छन् । ५७ किलो तौल समूहदेखि एक सय २५ किलो तौल समूहमा खेलाडीहरु छानिएका हुन् । छनोट भएका खेलाडीमा सबैभन्दा बढी छ जना कञ्चनपुरका छन् भने दुई जना कैलाली र एक जना दार्चुलाका छन् ।

कुस्ती महिलातर्फ १० खेलाडी छनोट भएका छन् । ५० किलो तौल समूहदेखि ७६ किलो तौल समूहका खेलाडीहरु छानिएका हुन् । त्यसमा आठ जना खेलाडी कञ्चनपुरका छन् भने एक÷एक जना दार्चुला र डडेल्धुराका छन् ।

बुद्धिचालमा महिला र पुरुष गरी १० जना खेलाडी छनोट भएका छन् । त्यसमा पाँच पुरुष र पाँच महिला खेलाडी छन् । पुरुषतर्फ कैलालीका दुई जना र बझाङ, डोटी र कञ्चनपुरका एक÷एक खेलाडी छनोट भएका छन् ।

महिलातर्फ पाँच खेलाडीमा दुई जना कञ्चनपुरका र कैलाली, डोटी र दार्चुलाका एक÷एक खेलाडी छानिएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । चार सय सय ५० जना निर्णायक सहभागी हुनेछन् ।

दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका दुई हजार आठ सय खेलाडी सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भइरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिनुभयो ।

छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा भइरहेका छन् । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसुलगायत खेलहरु भइरहेका छन् । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्ती लगायतका खेल भइरहेका छन् ।

प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ गरी एक हजार एक सय ९८ वटा मेडल रहेको छ ।

आहा रारा पोखरा गोल्डकप : पुलिस क्लब फाइनलमा

कास्की, ३० माघ : विभागीय नेपाल पुलिस क्लब पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । यससँगै पुलिस ११औँ पटक फाइनल प्रवेश गर्न सफल भएको छ ।

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा खेलको ५८औँ मिनेटमा पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिए । पेनाल्टी बक्सको बाहिरबाट सञ्जिवको कडा प्रहारलाई चर्चका गोलकिपर टिकेन्द्र थापाले रोक्ने मौकानै पाएनन् ।

लामाले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो र पुलिसले फाइनलमा स्थान बनाउन सफल भयो । पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली हो । पुलिसले हालसम्म ६ पटक उपाधि चुमेको छ ।

पुलिसले आगामी फागुन ३ गते उपाधिका लागि थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको भोली हुने खेलको विजेतासँग खेल्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले नगद रू १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रू छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।

ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरबीच भेट

काठमाडौँ, ३० माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।

  ऊर्जामन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युत्मन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारुपमा सहमति गर्नुभएको थियो । उक्त प्रसारण लाइन अगाडि बढाउन यही माघ ९ गते दुई देशबीचको सहसचिवस्तरीय बैठक र माघ २९ गते सचिवस्तरिय बैठक बसेर प्रारुपबारे सहमति भएकोमा भारतीय विद्युत्मन्त्रीलाई उर्जामन्त्री खड्काले धन्यवाद दिनुभयो ।

गत वर्षको नोभेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई उहाँले धन्यवाद दिनुभयो । मन्त्री खड्काले नेपालले सुक्खायामको पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेकाले २४ सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गर्नुभयो ।

  हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिक आवरमा भने उपलब्ध गराएको छैन । ऊर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराउनुभयो ।

  ऊर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिनुभए पनि आजको भेटमा फ्रेबुवरी अन्तिम साता नेपाल भ्रमण हुने गरी छलफल भएको जनाइएको छ । भेटमा भारतका विद्युत्मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सँधै भारतको साथ र सहयोग रहेको बताउनुभएको थियो । उहाँले दुई देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताउनुभएको थियो । भारतका विद्युत्मन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभएको थियो ।

  भेटमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।    भारतीय तर्फबाट विद्युतमन्त्री खट्टरसँगै विद्युत् सचिव पङ्कज अग्रवाल र भारतको विद्युत् संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिति रहेको थियो । 

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ, ३० माघ : राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न हुँदैन भन्नुभएको छ ।

नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार समारोह’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गीतसङ्गीत सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो, त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याउनुभएको योगदान अनुकरणीय छ रहेको चर्चा गर्दै नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत सङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषत नातिकाजीका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।”

सङ्गीतको शक्ति अपरम्पार छ, यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि हो भन्दै राष्ट्रपति पौडेलले बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्द्रिय एकतालाई बलियो बनाउने आधार रहेको बताउनुभयो ।

उहाँले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् भन्दै हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र सङ्गीत हो, यसले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउँछ भन्नुभयो ।

राष्ट्रपति पौडेलले नातिकाजी स्मृति समाजले नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील स्रष्टालाई सम्मान गर्ने परम्परा बसालेर प्रशंसनीय कार्य गरेको बताउँदै स्रष्टाहरूलाई थप प्रेरणा र ऊर्जा थपेर सम्पूर्ण नेपाली गीतसङ्गीत क्षेत्रको विकासमा योगदान दिने मैले विश्वास लिएको बताउनुभयो ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सङ्गीत महर्षी एवं बहुप्रतिभाका धनी नातिकाजी शब्द, सङ्गीत र स्वरको त्रिवेणी भएको चर्चा गर्दै देशभित्र आशा जगाउने किसिमले उहाँले राष्ट्रभक्तिका कालजयी गीतहरू गाउनु भएको बताउनुभयो ।

समाजका अध्यक्ष एवं वरिष्ट सङ्गीतकार शम्भुजित बास्कोटाले सङ्गीत महर्षी नातिकाजी श्रेष्ठको १००औँ जन्मजयन्तिको अवसरमा देशका नयाँ पुराना गीत सङ्गीत साधकहरूलाई सम्मान एवं पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा नातिकाजीले गाउनु भएका ‘नेपाली हामी रहूँला कहाँ, नेपालै नरहे’, ‘यो नेपाली शीर उचाली’ बोलका गीत सहित अन्य राष्ट्रभक्तिले ओतप्रोत गीतहरू प्रस्तुत गरिएको थियो । नवगायिका स्मीता दाहालले तारादेवीको गीत ‘साँगुरी वारि नि हौ, त्यो धारा पानी’ बोलको गीत प्रस्तुत गर्नु भएको थियो ।

नातिकाजी स्मृति समाजका अनुसार नातिकाजीले ३३७ वटा आधुनिक नेपाली गीत, ९१ वटा देशभक्ति गीत, १० वटा बाल गीत र १९० वटा भजनमा सङ्गीत दिनु भएको छ । साथै उहाँले २२ वटा जति गीतिनाटकमा सङ्गीत दिनु भएको छ ।

विसं २०६० कात्तिक १६ गते निधन हुनु भएका नातिकाजीको स्मृतिमा २०६२ सालमा नातिकाजी स्मृति समाज स्थापना भएको थियो । यस संस्थाले नातिकाजीको योगदानलाई चिरस्थायी बनाउन हरेक वर्ष गीत सङ्गीतका क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नुका साथै उहाँका योगदानमाथि चर्चा गर्ने गरेको छ ।

समाजले स्थापना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मानबाट वरिष्ट सञ्चारकर्मी धन लामा, गतिकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण केसी क्रोधी, यशोदा पराजुली, विमल भौकाजी, प्रकाश सायमीलाई सम्मानित गरिएको छ ।

यस्तै, नातिकाजी राष्ट्रिय सङ्गति पुरस्कारबाट गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बि पाण्डे, सङ्गीतकार आशिष अविरल र सङ्गीत संयोजक सम्राट थापा सम्मानित हुनुभयो । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गीत रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मीता दाहाल र सङ्गीतकार कल्याण सिंह सम्मानित हुनुभयो ।

नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरकारबाट डा रमेश पोखरेललाई सम्मान गरिएको थियो । त्यसैगरी नातिकाजी राष्ट्रिय कला पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाल सम्मानित हुनुभयो ।

नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार भने लोक गायकहरू रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विकले प्राप्त गर्नुभयो । सम्मानित सबै कलाकर्मीलाई राष्ट्रपति पौडेलले सम्मानपत्र सहितले सम्मानित गर्नुभएको थियो ।

नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्ने’

काठमाडौँ, ३० माघ : संसद्मा दर्ता भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउने गरी व्यवस्थित गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा सांसदहरुले राम्रो व्यवस्था हुँदाहुँदै विधेयकमा केही विषय छुटेको बताउनुभयो । छुटेका विषयलाई विधेकयमाथि संशोधन प्रस्ताव राखेर व्यवस्थित गर्न सकिने उहाँहरुले बताउनुभयो ।

नेपाली कांग्रेसका सचेतकसमेत रहनुभएकी सांसद सुशीला थिङले नेपालमा सम्बन्ध स्थापित गरेर विदेशमा गएर बच्चा जन्माउने महिलाबाट जन्मिएका बालबालिकाले नागरिकता पाउने सम्बन्धमा विधेयक मौन रहेकाले यसमा संशोधन प्रस्ताव राखिनुपर्ने बताउनुभयो ।

सांसद कान्तिका सेजुवालले आमाको नामबाट नागरिकता नदिँदा समाजमा आँखाबाट आँसु आउने घटना हुने गरेको सुनाउनुभयो । पूर्वमन्त्री एवं कांग्रेस नेता स्वर्गीय नवीवन्द्रराज जोशी र सांसद सपना राजभण्डारीकी छोरीले नागरिकता बनाउन जाँदा बाबुको नागरिकता ल्याउन भनेको, धार्मिक संस्कार अनुसार मृत्यु संस्कार गर्दा नागरिकता एवं चिना जलाइएकाले ल्याउन नसकी सांसदकै छोरीले समस्या भोग्नुपरेको घटना उहाँले सुनाउनुभयो ।

 सांसद सुशीला सिरपालीले कुनै पनि दल विशेषको नभनी नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई साझा बनाएर संशोधन प्रस्ताव राखेर पारित गरिनुपर्ने बताउनुभयो । सांसद रोशन कार्कीले बाबुको नाम नखुलेको भनी नागरिकता लिन जाँदा महिलाको चरित्रमाथि प्रश्न उठ्ने भएकाले संशोधन प्रस्ताव राखिनुपर्ने बताउनुभयो । 

सांसद लक्ष्मी तिवारीले नागरिकतामा महिला र पुरुषलाई समान व्यवस्था गरिनुपर्ने विचार राख्नुभयो । सांसद नागिना यादवले नागरिकताका आधारमा राजनीतिक अधिकार पाइने भएकाले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियता पनि हेर्नुपर्ने बताउनुभयो ।

सांसद हर्कमाया विकले नेपालमा नागरिकताका बारेमा धेरै प्रकारका समस्या रहेकाले सकारात्मक रुपमा आएको नागरिकता ऐन संशोधन विधेयकलाई परिष्कृत रुपमा पारित गर्नुपर्ने बताउनुभयो । सांसद सरस्वती सुनुवारले मधेश प्रदेशमा बस्ने ३० प्रतिशत मानिससँग नागरिकता नरहेको उल्लेख गर्नुहुँदै बाबु, आमाको नागरिकता नहुनेका छोराछोरीले पनि टोली आएका बेला नागरिकता पाएको सुनाउनुभयो ।

सांसद प्रतीक्षा तिवारीले पुस्तौँ पुस्तादेखि नेपालमा बसेका मुसहरले तीन पुस्तादेखि नागरिकता नपाएको सुनाउनुभयो । सांसदद्वय दीपा शर्मा र शान्ति श्रेष्ठले नागरिकताका विषयमा रहेका समस्या समाधान गर्ने गरी संशोधन प्रस्ताव दर्ता गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

छलफलमा अधिवक्ता सुषमा गौतमले वंशजको नागरिकता अधिकारको विषय र अङ्गीकृत नागरिकता राज्यको स्वविवेकको विषय भएकाले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियताका बारेमा डराउन नहुने सुझाव दिनुभयो । बैठकमा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना, अधिवक्ता बिनु लामा र अधिवक्ता विनोद देवकोटाले महिला, पुरुषलाई समानताका आधारमा नागरिकताको अधिकार हुने गरी विधेयकलाई परिष्कृत गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

मालपोत कार्यालय लहानको कामकाज प्रभावित

सिरहा, ३० माघ : गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहानका स्थानीयले दुई दिनदेखि मालपोत कार्यालय अगाडि धर्ना दिएका छन् । सङ्घर्ष समिति गठन गरेर उनीहरुले धर्ना दिएपछि कार्यालयको कामकाज प्रभावित बनेको छ ।

सङ्घर्ष समितिका संयोजक अरुण केसीले नाप नक्सा भएर जग्गा रोक्का रहँदा सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले जायज माग पूरा नभएसम्म धर्नालाई निरन्तरअघि बढाउने बताउनुभयो । “लहान नगरपालिकाको सयौँ घर परिवारको गाउँ ब्लकको जग्गा नाप नक्सा भएर पनि फुकुवा भएको छैन”, उहाँले भन्नुभयो, “पटकपटक सम्बन्धित निकायमा धाउँदा समस्या समाधान भएन । बाध्य भएर धर्नामा बस्नुपर्ने अवस्था हो ।”

संयोजक केसीका अनुसार गाउँ ब्लकमा रहेको जग्गा विसं २०७५ देखि फुकुवा नहुँदा बैंक तथा वित्तीय संस्थाबाट कारोबार र खरिद बिक्रीसमेत ठप्प भएको छ ।

यसअघि सङ्घर्ष समितिले माघ १४ गते लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, लहान र नापी कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । हाल नगरपालिकाका जनप्रतिनिधिसमेत धर्नामा बसेका छन् । लहान नगरपालिकाका १५ हजार घरपरिवारको यो समस्या भएकाले धर्ना कार्यक्रममा उपस्थिति भएर लहान नगरपालिकाबाट समर्थन गरेको नगर उपप्रमुख राम चलितर महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “यो समस्या समाधान गर्न २० वर्षदेखि सम्बन्धित मन्त्रालय विभाग हरेक ठाउँमा पुगेर थालेको प्रयास सफल हुन सकेपछि आन्दोलनलाई लहान नगरपालिकाले उचित ठानेर समर्थन गरेका छौँ ।”

लहान नगरपालिका–६ का वडाध्य रमेश गौतम, न्यायिक समिति सदस्य महेन्द्र ठाकुर, लहान–५ का पूर्ववडाध्यक्ष मो सेलेमान अन्सारी, नेपाली कांग्रेस नगरसभापति सञ्जयकुमार यादवलगायतले मालपोत कार्यालयमा धर्नामा उपस्थित भएर भौतिक समर्थन गरेका छन् ।

गाउँ ब्लक सङ्घर्ष समितिले थालिएको आन्दोलनमा मालपोत कार्यालय लहान शाखामा रहेको लेखापढी व्यवसायी सङ्घको समर्थन रहेको सङ्घका अध्यक्ष रामनारायण यादवले बताउनुभयो ।

कार्यालयको मूल प्रवेशद्वारमा धर्ना बसेपछि कार्यालयको कामकाज प्रभावित भएको कार्यालय प्रमुख अर्जुन मण्डलले बताउनुभयो । समस्या समाधानका लागि सम्बन्धित निकायबाट पहल गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “यस विषयमा माथिको निर्देशन आएपछि मात्रै समस्या समाधान गर्न सकिने देखिन्छ । यो लहानको समस्या मात्रै नभएर देशव्यापी समस्याको रूपमा रहेको छ ।”

ग्लोबल फिल्म डेको अवसरमा राजधानीमा फिल्ममा महिला शिर्षकमा अन्र्तक्रिया कार्यक्रम

ग्लोबल फिल्म डेको अवसरमा मंगवार राजधानीमा फिल्ममा महिला शिर्षकमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ। ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्म्स्को आयोजनामा सम्पन्न कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, नेपालकी पहिलो महिला सम्पादक रक्षा सिंह राणा, निर्देशक एवं कोरियोग्राफर रेनेशा वान्तवा राई र नेपालकै एकमात्र महिला फिल्म वितरक जेनिश पहारी वक्ता थिए। ग्लोबल कम्याक्ट नेपालका कार्यकारी निर्देशक कृष्ण शाहको सहजीकरणमा सम्पन्न कार्यक्रममा एसियाककै पहिलो महिला टेम्पो चालक, उद्योगपती एवम समाजसेवी लक्ष्मी शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

अभिनेत्री बसुन्धरा भूसाल आफ्नो पहिलो फिल्म आमादेखि पछिल्लो बेहुली फ्रम मेघौलीसम्म आउदाका चुनौती र अवसरबारे खुलिन्। ‘मैले पहिलो फिल्म नै कलकत्तामा गएर शुटिङ गर्ने मौका पाए“ र त्यहाको स्टुडीयोमा हिन्दी फिल्मका कलाकारहरुको अभिनय देखेर पनि अभिनयबारे केहि बुझ्ने मौका पाए“।

फिल्म क्षेत्रमा काम गर्दा घर परिवार र समाजकै आलोचनाको पात्र बन्न पुगे“। आमाले निकै पिट्नुभयो। बाटोमा हिङ्दा पनि मानिसहरु नक्कली भनेर जिस्काउ“थे तर पछि थाहा पाए त्यो त दर्शकहरुले प्रशंसा गर्नू भएको रहेछ’ भुषालले सुनाइन् ‘समयस“गै फिल्म क्षेत्रप्रति मानिसहरुको दृष्टिकोण परिवर्तन भएको छ। हामीले आफू बिक्ने भन्दा पनि आफ्नो काम बिकाउने हो।’ बसुन्धराले आफ्नो सुरुवाती दिनमा भन्दा अहिले पारिश्रमीकमा कटौती गर्न थालिएको खुलाइन्। ‘मैले हास्य कलाकारको रुपमा अभिनय सुरु गरेको त्यो बेला सरकारी तवरबाटै फिल्म बन्ने भएकाले रोल नुसार राम्रो परिश्रमीक दिइन्थ्यो।

जब प्राईभेट सेक्टरबाट फिल्म बन्न थाले, निर्माताहरुले पारिश्रमीकमा बार्गेनिङ गर्न थाल्नुभयो। कतिपय फिल्ममा त मैले पारिश्रमिक यस्तो कम दिने भए बरु आमाको रोल नै नराख्नु पनि भनेकी छु’ उनले भनिन्।सम्पादक तथा निर्देशक रक्षा सिंह राणाले फिल्म क्षेत्रमा महिलाका लागि निकै अवसर रहेको र त्यसको लागि आफ्नो क्षमता चिनेर र मेहनतका साथ अघि बढ्नुपर्ने बताईन्। ‘नेपालमा विद्यालयमा कम्प्युटर शिक्षा सुरु हु“दाको पहिलो ब्याच म थिए“।

मलाई क्म्प्युटरमा रुचि भएकाले फिल्म एडिटीङतिर गए“। मैले कुनै बेला १८ घण्टासम्म काम गरेको छु’ रक्षाले आफ्नो करिअरको एक घटना सम्झदै भनिन् ‘एउटा एक्शन फिल्म सम्पादन गर्दै थिए“। नाम चलेकै द्धन्द निर्देशक आउनुभयो र नेवारीमा महिला सम्पादकले हुदैन सम्पादक चेन्ज गर्नु प¥र्यो भन्नु भयो। मैले यो मेरो प्रोजेक्ट हो, मै गर्छु भनेर अडान लिए“।

पछि उहा“ले बाहिर गएर रक्षाले राम्रो काम गर्दो रहेछ कसैको सम्पादनको काम छ भने उसंग गराउनु भन्नु भएछ।’ कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राइले आफूले कक्षा १२ पछि कलिलै उमेरमा नृत्य निर्देशन यात्रा तय गरेको र करिव डेढ दशकको करिअरमा आफ्नो मेहनत र सिकाईले फिल्म निर्देशनमा समेत काम गरेको बतँइन्। ‘म जति बेला म्युजिक भिडियो कोरियोग्राफीमा आए“, त्यति बेला टिममा सबैजना पुरुष हुन्थे।

मैले एक्शन भन्दा पनि नसुने जस्तो गर्थे। म सानो भएकोेले टेदैन थिए। त्यसैले आफू बोल्ड देखिन त्यस्तै पहिरन र मेक अप अनि त्यस्तै बोल्ड व्यवाहर गर्थे’ उनले सल्लाह दिइन् ‘अहिलेका भाईबहिनी मलाई सबै कुरा आउ“छ भन्ने सोच राख्नुहुन्छ। तर फिल्म क्षेत्रमा सिक्नुपर्ने धेरै कुरा हुन्छन्। मोबाइलबाट भिडियो खिचेर एडिट गरेर सामाजिक सञ्जालमा हालेको जस्तो सजिलो पनि छैन फिल्म क्षेत्र।’

त्यस्तै फिल्म वितरक जेनिश पहारीले फिल्म वितरणका विभिन्न चरणबारे जानकारी दिदै फिल्म क्षेत्रमा वितरकको चुनौती र अवसरबारे बताइन्। ‘यहाँ विभिन्न खालका चुनौती छन् र काम गर्दै जाँदा आउने समस्यालाई कसरी पार गर्ने भन्नेबारे पहिले नै सोच्नुपर्छ। फिल्मका अन्य विधामा महिलाहरुको बाक्लो उपस्थिती रहे पनि वितरणमा त्यस्तो तैन।

त्यसैले मिटिङहरुमा पनि म प्राय एक्लै हुन्छु। तर पनि म आफ््नो उदेश्यअनुरुप काम गर्दै आएकी छु’ उनको भनाई थियो। जेनिशले अहिले पनि फिल्म क्षेत्रमा महिला नजाओस भन्ने समाज र घर परिवारको मान्यता रहेको र त्यसलाई हटाउनुपर्ने बताईन्।विभिन्न स्कुल र कलेजका विद्यार्थी तथा फिल्मकर्मी र व्यवसायीको संलग्नतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बटरप्mलाई फिल्म्स्का अध्यक्ष सिर्जन श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।

भ्यालेन्टाइन्स डेमा मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’

काठमाडौं– हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स सप्ताह आगामी १४ फेब्रुअरी अर्थात फागुन २ गते शुक्रवारसम्म जारी रहने छ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डेको रुपमा मनाइने गरिन्छ । माया गर्नेहरुको दिनको रुपमा परिभाषित गरिएको यो दिन नेपालमा पनि विभिन्न रमाइला तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिन्छ ।

यसैबीच, दरबारमार्गमा रहेको मधुशाला गीत गजल रेष्टुराँ एण्ड बारले पनि भ्यालेन्टाइन्स डेको अवसर पारेर एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । लोकप्रिय गायक धीरज राईले मधुशाला गीत गजलमा आफ्ना प्रेमिल गीतहरु प्रस्तुत गरेर उपस्थित मायालु जोडीहरुलाई मनोरञ्जन गराउने छन् ।

मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार मधुशालाको हाउस ब्याण्डसंगै गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नका तयारी थालिसकेका छन् । सोलो कन्सर्टमा गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु तिम्रा नयन, लुकी लुकी, सोइ ढोले सोइ, तिमी रुँदा, पर्खि रहेछु, कि बाँच्न देउसहितका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

मधुशालाका सञ्चालक जोर्डन राजभण्डारीका अनुसार ‘धीरज राईः भ्यालेन्टाइन्स अनप्लग्ड नाइट’ शीर्षक राखिएको उक्त विशेष कार्यक्रमलाई उद्घोषक सुशिल नेपालले सञ्चालन गर्नेछन् । इभेन्ट बेटर ग्यालेक्सीले व्यवस्थापन गर्ने उक्त कार्यक्रममा सहभागिता जनाउने मायालु जोडीहरुलाई मधुशाला गीत गजलले सरप्राइज गिफ्ट तथा विशेष छूटको समेत घोषणा गरेको छ ।

मधुशालाका अर्का सञ्चालक अमित श्रेष्ठका अनुसार भ्यालेन्टाइन्स डेका दिन मधुशालामा आउने जोडिहरुलाई केही सरप्राइ गेमहरु पनि खेलाइने छ । उक्त खेलमा विजयी हुने जोडिलाई विशेष उपहार प्रदान गरिनुका साथै विशेष छूटसमेत प्रदान गरिने छ ।

भ्यालेन्टाइन्स विशेष सांगीतिक कार्यक्रममा सहभागिता जनाउनका लागि रेष्टुराँले अहिलेदेखि टेबल बुकिङ खुल्ला गरेको जनाएको छ । १४ फेब्रुअरीको कार्यक्रममा सहभागिता जनाउनका लागि रेष्टुराँको फोन नम्बर 01-5918358 अथवा 9813253366 मा सम्पर्क गर्न सकिने छ ।

लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता

गण्डकी, ३० माघ : लुम्बिनी र गण्डकी प्रदेश सरकारले दुवै प्रदेशको रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा पाल्पाको ऐतिहासिक एवं पर्यटकीय गन्तव्य रानीमहलमा आज सम्पन्न अन्तर प्रदेशस्तरीय बैठकले उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।

संविधानको धारा ५६, २३३, अनुसूची ६ र ९ मा उल्लेखित व्यवस्थाअनुसार लुम्बिनी र गण्डकी प्रदेशको समग्र विकासका सवाल, साझा सम्भावनाहरू संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्यले पहिलो पटक लुम्बिनी प्रदेश सरकारले बैठकको आयोजना गरेको थियो ।

बैठकले दुवै प्रदेशका विभिन्न विकास योजनालाई संयुक्तरूपमा अगाडि बढाउने प्रतिबद्धता गरिएको छ । दुई प्रदेशका बीचमा हवाइ सेवा विस्तार एवं नियमित रुपमा सञ्चालन गर्न सरकारी तथा निजी क्षेत्रका हवाइ सेवा प्रदायक कम्पनीमार्फत नेपालगञ्ज–जोमसोम र भैरहवा–जोमसोम हवाई सेवा विस्तार पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

अन्तरप्रदेश सडक सञ्जाल विस्तारका लागि लुम्बिनी–लोमान्थाङ (लुम्बिनी–मुक्तिनाथ) सिल्क रोड, लुम्बिनी–त्रिवेणी–दुम्कीबास सडक, गैँडाकोट–कालिगण्डकी कोरिडोर तथा अन्य सडक स्तरोन्नति तथा विस्तार गर्न प्राथमिकताका साथ कार्यान्वयन प्रकृया अगाडी बढाउने उल्लेख गरिएको छ ।

सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्डलाई दुई लेनमा विस्तार गर्न, एकीकृत विकासको अवधारणा अनुरुप आर्थिक वृद्धिका सम्भावनाका क्षेत्र (भरतपुर–बुटवल–पोखरा) लाई समेटी सङ्घीय सरकारबाट प्रस्तावित गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने प्रतिवद्धता गरिएको छ ।

प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने र स्थानीय उत्पादन तथा रोजगारी सृजना हुने गरी आगामी आर्थिक वर्षमा बजेट तथा कार्यक्रम प्रस्ताव गर्ने भनिएको छ । कृषि तथा पशुपन्छी उत्पादनलाई बजारसम्म पु-याउन पूर्वाधार निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने र कालीगण्डकी करिडोरलाई आर्थिक केन्द्रको रूपमा विकास गर्दै हिमाली तथा पहाडी उत्पादनलाई तराई र सीमापार बजारसम्म पु-याइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

दुुबै प्रदेशमा उत्पादित कृषि तथा वनजन्य जडीबुटी प्रशोधन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै ब्याज अनुदान दिने नीति ल्याइनेमा सहमति जनाइएको छ । पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै लुम्बिनी–पोखरा–मुक्तिनाथलाई मुख्य पर्यटन मार्गका रूपमा विकास गरिने र गण्डकी प्रदेशले एकीकृत सूचना प्रणालीसहितको प्रविधि विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

त्रिवेणी देवघाट, रुरु क्षेत्र, मुक्तिनाथलगायत धार्मिक क्षेत्रको विकासमा संयुक्त लगानी गरिने,  गोरखा–तनहुँ–स्याङ्जा–पाल्पा–गुल्मी–प्यूठान–रोल्पा मगर सांस्कृतिक पदमार्ग विस्तार गर्ने साझा प्रतिबद्धतामा छन् ।

लुम्बिनी प्रदेशको लुम्बिनीमा बुद्ध सर्किट (तिलौराकोट–लुम्बिनी–रामग्राम)को विकास गरी धार्मिक तथा स्वास्थ्य पर्यटन र गण्डकी प्रदेशका मनास्लु, अन्नपूर्ण, मुक्तिनाथ क्षेत्र तथा पोखरालाई साहसिक, धार्मिक तथा स्वास्थ्य पर्यटकीय क्षेत्रका रुपमा विकासका लागि दुबै प्रदेशले एकीकृत पर्यटनको विकास प्रवर्द्धनमा जोड दिने भनिएको छ ।

चितवन, बाँके, बर्दिया, मनास्लु, अन्नपूर्ण र ढोरपाटनलाई समेटेर पर्यटकीय सर्किट बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । औद्योगिक क्षेत्र विस्तारका लागि मोतिपुर औद्योगिक क्षेत्र र लोकाहा खोला औद्योगिक क्षेत्रको उपयोग गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने सहमति गरिएको छ ।

खानी तथा खनिज उद्योग विस्तार गर्दै प्राकृतिक स्रोतजन्य उत्पादनको व्यवस्थापन र बजार सुनिश्चितता गरिने भएको छ । जलविद्युत् तथा ठूला बहुउद्देश्यीय आयोजना सञ्चालन गर्न आपसी समझदारी कायम गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

नदीजन्य पदार्थको कर प्रणालीमा एकरूपता ल्याइने, सार्वजनिक यातायात भाडादरलाई सम्भव भएसम्म एउटै बनाउने तथा दुर्घटना न्यूनीकरणका लागि गति नियन्त्रण, मादकपदार्थ सेवन जाँच, चालक प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गरिने भनिएको छ ।

रामपुर–चापाकोट एकीकृत सहरी विकास आयोजना कार्यान्वयन गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने, ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्दै रानीमहल क्षेत्रमा जलाशयसहितको पर्यटकीय पूर्वाधार विकासमा दुवै सरकारले सहकार्य गर्ने उल्लेख छ ।

संयुक्त बैठकलाई निरन्तरता दिँदै आगामी बैठक गण्डकी प्रदेशमा आयोजना गरिने निर्णय गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो  । उहाँले अन्तर प्रदेश साझा सरोकारको विषय सामूहिक एजेण्डा बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । 

सडक पूर्वाधार, हवाइ यातायात, सुरक्षा, कृषि, पर्यटनलगायत साझा सरोकारका विषयलाई प्राथमिकमा राखेर अघि बढ्न जरुरी रहेको उहाँले बताउनुभयो ।

सुनौली नाका हुदै भित्रीने भारतीय पर्यटकलाइ पोखरासम्म पु-याउने बारेमा पनि साझा योजना आवश्यक पर्ने बताउँदै उहाँले सिद्धार्थ राजमार्गको विस्तार, बसाइँसराइका कारण पहाडहरु रित्तिन थालेको विषय दुई प्रदेशको साझा सरोकारभित्र पर्ने धारणा राख्नुभयो ।बैठकमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, दुवै प्रदेशका अर्थ र पर्यटन मन्त्री नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रमुख सचिव र सचिवहरू सहभागी हुनुहुन्थ्यो । 

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार

काठमाडौँ, ३० माघ : सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ट’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रु २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

यही माघ २८ गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले छ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनुभयो । 

मन्त्री गुरुङले भन्नुभयो, “सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ खारेज गर्ने, नेपाल र युक्रेनबीच कूटनीतिक, अफिसियल र सर्भिस राहदानीबाहेकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र ओमान सरकारको डिल्पोमेटिक एकेडेमीबीच हस्ताक्षर हुने कूटनीतिक अध्ययन र तालिममा सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।” 

मन्त्रिपरिषद्ले सरकारको नाममा दर्ता रहेको सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका–८ को ५३ रोपनी जग्गा मैनतडा सबस्टेशन निर्माणको लागि राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडलाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने तथा दैलेख जिल्लाको आठबिस नगरपालिकाको स्वामित्वमा रहेको १५ शैय्या क्षमताको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत व्यवस्थापन र सञ्चालन गर्नेगरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

सरकारले बिमा नियमावली, २०८१ स्वीकृत गरेको छ । बैठकले नेपाल प्रशासन सेवा सामूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा लुम्बिनी प्रदेशका कायम मुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ । सरकारले अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको कार्यालय, राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव धनश्याम उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयः राज पत्राङ्कित प्रथम श्रेणी (सहसचिव) १७ जनाको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

लगानीको वातावरण बनाउन सरकार तयार :मन्त्री ऐनबहादुर शाही

काठमाडौँ, ३० माघ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताउनुभएको छ । मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को आज यहाँ आयोजित शिलान्यास समारोहमा उहाँले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले कर्णाली प्रदेशमा हुने सबैखाले लगानीको सुरक्षित वातावरण बनाउन राजनीतिक सहजीकरणको भूमिका निर्वाह गरिने उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतले कर्णालीमा लगानी प्रवर्द्धन र व्यावसायिक सुरक्षाको वातावरण बनाइने बताउनुभयो ।

 मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानी गर्ने बताइएको छ । मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ । 

दुईवर्षभित्र वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिनेछ ।

कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन

काठमाडौँ, ३० माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिनुभएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले मन्त्रालयको पुँजीगत खर्च बढाउनेतर्फ जोड दिनुपर्ने बताउनुभयो । पुँजीगत खर्च कम हुनुका कारण कानुनी र नीतिगत बाधा पनि एक भएको उहाँको भनाइ छ ।

मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धी हासिल गरेको र केहीमा धेरै मिहेनत गर्नुपर्ने मन्त्री गुरूङको जोड थियो । उहाँले सम्बन्धित निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राख्नुभयो ।

मन्त्री गुरूङले समस्या भए पहिचान गरी समाधान गर्ने चासो देखाउनुपर्नेमा जोड दिनुभयो । “तीन दिनभन्दा बढी टेबलमा फाइल नराख्नु, समस्या नै भएमा बढीमा ७ दिन राख्नु, त्योभन्दा बढी भए कारण खुलाउनुस्,” मन्त्री गुरूङले भन्नुभयो । उहाँले प्रशासनिक कार्यशैली कमजोर देखिएको उल्लेख गर्दै केही नीतिगत अस्पष्टताले काममा बाधा पुगेको बताउनुभयो ।

मन्त्री गुरूङले यसै वर्ष काठमाडौँमा आइटी पार्क निर्माण गर्ने, गोरखापत्रको भवन निर्माण गर्ने, एआईमार्फत उद्यमशीलतामा जोड दिने, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) लाई बजेट व्यवस्थापन गर्ने लगायतका योजना रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पुँजीगत खर्च गर्न नसक्नु मन्त्रालयको मात्रै नभइ सरकारकै मुख्य समस्या रहेको उल्लेख गर्नुभयो । “एकातिर बजेट छैन भन्नु र अर्कोतिर खर्च गर्नै नसक्नुले विकासमा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो, “खर्च गर्नतर्फ सबैले ध्यान दिन आवश्यक छ । अनि मात्रै विकास हुन्छ ।”

बैठकमा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालयको आर्थिक वर्ष २०८१/२०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा मूल्याङ्कन गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले केही महत्त्वपूर्ण काम सम्पादन भएको र केहीमा अत्यन्त मिहनेत गर्नुपर्ने टिप्पणी गर्नुभयो । “स्रोत र साधनअनुसार उपलब्धी भए पनि यतिमै चित्त बुझाउने स्थिति छैन”, उहाँले भन्नुभयो, “हामीले थप समस्या पहिचान गरेर समाधानतर्फ सबै कर्मचारी जिम्मेवारीपूर्ण लाग्नुपर्नेछ ।”

‘राससलाई आत्मनिर्भर बनाउँदै छौँ’

राष्ट्रिय समाचार समिति (रासस) का प्रशासन प्रमुख शीतल महतोले राससको संरचनागत र जनशक्तीको क्षमता बृद्धिलगायत विकासका गतिविधि गर्दै आएको जानकारी गराउनुभयो । उहाँका अनुसार हालसम्म मन्त्रालयले दिएका जिम्मेवारीहरू सतप्रतिशत पूरा भएका छन् ।

यही फागुन ७ गते राससले ६४ औँ वार्षिकोत्सव मनाउँदै गरेको जानकारी दिँदै उहाँले वार्षिकोत्सवका अवसरमा गणतन्त्र दिवसको सन्दर्भमा खिचिएका तस्वीरहरू पुस्तक सार्वजनिक गर्ने, राससबाट प्रकाशित ‘बुलेटीन’ म्युजियम सबैका लागि खुल्ला गर्नेलगायत रचनात्मक गतिविधि गर्न लागिएको महतोले जानकारी दिनुभयो । साथै उहाँले राससका भौतिक संरचनाको सदुपयोग गर्दै संस्थालाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन लागिपरेको जानकारी दिनुभयो ।

बैठकमा सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले पिएसबीको बजेट नहुँदा संरचनागत, जनशक्ती व्यवस्थापन र टेलिभिजन प्रसारण क्षमता वृद्धिमा चुनौती देखिएको बताउनुभयो । रेडियोका भौतिक संरचना जीर्ण हुँदै गएको र टेलिभिजिनको पहुँच विस्तारमा सेटअप बक्सको अभाव भएकाले सोचे अनुकुल प्रतिफल आउन नसकेको उहाँको धारणा थियो ।

त्यस्तै, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको भवनको समस्या बताउँदै गोरखापत्र डिजीटाइजेसन कार्य सम्पादन भइरहेको जानकारी दिनुभयो । गोरखापत्र जर्नल प्रकाशन गर्ने तयारी रहेको, समाचार निर्देशिका बनाउने, गोरखापत्रको भाषा संस्करण व्यवस्थित गर्नेलगायतका कार्य योजनाहरू मन्त्रालय समक्ष प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोग, हुलाक सेवा विभाग, सूचना तथा प्रसारण विभाग, मुद्रण विभाग, सुरक्षण मुद्रण केन्द्र, सूचना प्रविधि विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्र, प्रमाणीकरण नियन्त्रणको कार्यालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चलचित्र विकास बोर्ड, विज्ञापन बोर्ड, प्रेस काउन्सील नेपाल, न्यूनतम पारिश्रमीक निर्धारण समितिलगायत मन्त्रालय मातहतका विभागीय प्रतिनिधिहरूको उपस्थीति थियो ।

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

बेलबारी (मोरङ) । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएको गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेका छन् ।

गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताए।

सन् १९८७ देखि हुँदै आएको गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिने उनले बताए।

सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मनाव चहलपहल कम गर्नसके सिमसार खोलानालामा आगन्तुक चराको सङ्ख्या बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।

उनले असोजदेखि अन्यत्रबाट पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत लागेसँगै फर्कने बताए। सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानी बनेको छ ।

करिब ५० प्रजातिका बटुवा चरा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी क्षेत्रमा रहने केन्द्रप्रमुख गौतमले बताए।

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

गण्डकी, ३० माघः गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन् । उनीहरुलाई प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठककाअनुसार प्रदेश सरकारले काठमाडौँस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौता गरी क्यान्सर उपचार सहायता कार्यक्रम विस्तार गरेको छ । नेपाल रेडक्रससँगको समन्वयमा रगत निःशुल्क उपलब्ध गराइएको छ भने दश वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिको प्रयोगशाला परीक्षण पनि निःशुल्क गरिएको छ ।

यसैगरी प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नसर्ने र मानसिक रोगका २२, नवजात शिशु एवं बालरोगको ११, आधारभूत र आकस्मिक उपचारका लागि ४५ र आयुर्वेदतर्फ २३ प्रकारका औषधि निःशुल्क वितरण भएको छ । प्रदेश सरकार मातहका अस्पतालमा पाठेघर खसेको महिलाको पनि निःशुल्क उपचार हुने गरेको छ । मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा पनि निःशुल्क प्रदान गरिएको छ । सरकारी र निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय चार जना बिरामीले उक्त सेवा लिइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम पनि सुरु गरेको छ । स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि ‘स्क्रिनिङ’ सुरु गरिएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।

श्रीलङ्कामा तेल प्रशोधन केन्द्र निर्माणका लागि मन्त्रिपरिषद्को स्वीकृत

श्रीलङ्काको मन्त्रिपरिषद्ले देशको सपुगस्कण्ड तेल प्रशोधन केन्द्रको विकास गर्ने र सोही कम्प्लेक्स भित्र निर्माण–सञ्चालन–स्थानान्तरण (बीओटी) मोडेलमा प्रतिदिन एक लाख ब्यारेल क्षमताको नयाँ रिफाइनरी स्थापना गर्ने प्रस्तावलाई स्वीकृत गरेको सरकारी सूचना विभागले जनाएको छ ।

सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले बजारको माग पूरा गर्न सपुगस्कण्ड तेल प्रशोधन केन्द्रलाई परिमाणात्मक र गुणात्मक रूपमा आधुनिकीकरण तथा स्तरोन्नति गर्न विभिन्न प्रयास गरे पनि सफल हुन नसकेको जनाएको छ ।

वर्तमान सरकारको ऊर्जा नीति ढाँचा अन्तर्गत विद्यमान रिफाइनरीको आधुनिकीकरण र नयाँ रिफाइनरी निर्माणलाई प्राथमिकतामा राखिएको छ ।सन् २०२२ मा भएको सम्भाव्यता अध्ययनका आधारमा उपयुक्त लगानी साझेदार पहिचान गर्न सीपीसीले स्वीकृति दिएको विभागले जनाएको छ ।सन् १९६९ मा बनेको सापुगस्कण्ड तेल प्रशोधन केन्द्र देशमा यस प्रकारको एक मात्र सुविधा हो । यसले हालको क्षमतामा रिफाइनरीले प्रशोधित पेट्रोलियम उत्पादनहरूको लागि स्थानीय मागको २५ प्रतिशत मात्र पूरा गर्दछ ।

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन र दिगो एआई काउन्सिल स्थापना गर्ने निर्णयको स्वागत गर्नुभएको छ । प्रधानमन्त्री मोदीले भन्नुभयो,“म एआई फाउन्डेसन र काउन्सिल फर सस्टेनेबल एआई स्थापना गर्ने निर्णयको स्वागत गर्दछु । म फ्रान्स र मेरा प्रिय मित्र राष्ट्रपति म्याक्रोनलाई यी पहलका लागि बधाई दिन्छु र हाम्रो पूर्ण समर्थनको आश्वासन दिन्छु ।”

पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सह–अध्यक्षता गर्नुभएको एआई एक्सन शिखर सम्मेलनमा आफ्नो समापन सम्बोधनमा प्रधानमन्त्री मोदीले थप्नुभयो,“आजको छलफलले एउटा कुरा बाहिर ल्याएको छ । सरोकारवालाहरूका उद्देश्यमा एकता छ ।”

“अर्को शिखर सम्मेलनको आयोजना गर्न भारत खुसी हुनेछ,” प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभयो । “शिखर सम्मेलन एआई वरिपरि अर्थपूर्ण वार्तालापहरूलाई बढावा दिनको लागि सराहनीय प्रयास थियो । पेरिसमा एआई एक्सन शिखर सम्मेलनमा विश्व नेता, नीति निर्माता, विचारक, आविष्कारक र युवाहरूलाई एआई वरिपरि अर्थपूर्ण कुराकानी गर्न एकसाथ ल्याउने प्रशंसनीय प्रयास हो ।”

बागमती गोल्डकप आगामी शनिबारदेखि

मनहरी (मकवानपुर), ३० माघः बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुनेभएको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सातसहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले बताउनुभयो । गाउँपालिकाको झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगितामा ‘ए’ डिभिजनको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबसहित सङ्कटा, थ्रीस्टार, त्रिभुवन आर्मी, एपिएफ र चर्च ब्वाईज क्लबको सहभागिता रहने अध्यक्ष थिङले जानकारी दिनुभयो ।

आयोजकसहित मोफसलको थप तीन क्लबको पनि सहभागिता रहने यस प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख, उपविजेताले रु पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले रु एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीले रु २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले रु ३० लाख विनियोजन गरेको छ ।

आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै

काठमाडौँ, ३० माघः आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् ।

आतङ्कवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ का दिन यो दिवस मनाउने घोषणा गरेको हो ।

विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित पार्ने हिंसात्मक अतिवादलाई परास्त गर्दै धार्मिक, सांस्कृतिक, सामाजिक, सहिष्णुताको सन्देश प्रवाह गर्न राष्ट्रसङ्घले यो दिवस मनाउन आह्वान गरेको हो ।सन् २०१६ मा महासचिव वान कि मुनले हिंसात्मक अतिवाद रोक्नेसम्बन्धी कार्ययोजना महासभामा प्रस्तुत गरेसँगै यो दिवस मनाउन प्रारम्भ भएको हो ।

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौँ, ३० माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ४५, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ११०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३५, चुकुन्दर प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु १८०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा (हरियो) प्रतिकेजी रु ४०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुख कटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान

काठमाडौँ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको छ । मन्त्रालायका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँको माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसानलाई वार्ताको लागि आह्वान गर्नुभएको हो ।

प्रवक्ता भट्टले भन्नुभएको छ, “यस सम्बन्धमा मन्त्रालयले विगतमा भएको सहमति कार्यान्वयनको लागि आवश्यक कारबाही अगाडि बढाइसकेको बेहोरा अनुरोध गर्दै आन्दोलनका क्रममा हाल उठाइएका विषयवस्तुलाई संवादको माध्यमबाट सम्बोधन गर्न सङ्घर्षरत पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गर्दछ ।”

मन्त्रालयले वार्ताका लागि यस मन्त्रालयका तर्फबाट सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहने गरी तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाए

खाँदबारी (सङ्खुवासभा), ३० माघ : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडकखण्डको (२४.५ किलोमिटर) अन्तर्गत चार सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो । 

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम हालसम्म रु चार करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताउनुभयो । खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको पीडितले छुट मुआब्जाको माग गर्दै आएका थिए । विसं २०८० वैशाख २६ गते छ्याङ्कुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । 

छ्याङकुटी–दिदिङ सडक खण्डको (२४.५ किलोमिटर) जग्गाको मुआब्जा  २०४६ सालमा नै दिएको भए पनि छुट जग्गाको मुआब्जा जग्गाधनीले पाएका थिएनन् । गत माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयानुसार प्रवेशमार्ग (छयाङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो । अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने उल्लेख  छ । अरुण तेस्रो परियोजनामा नेपाली तथा भारतीय नागरिकसहित चार हजार कामदार कार्यरत छन् । 

महाकुम्भबाट नेपाल पनि लाभान्वित

प्रयागराज (भारत), ३० माघः यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो ।

एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवान््को नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन् । प्रयागराजमा गङ्गा र यमुनासँगै सरस्वती नदीको सङ्गम भएको विश्वासले धार्मिक रूपमा यो स्थानलाई विशेष मानिन्छ । यद्यपि हाल सरस्वती नदीको भने अस्तित्व देखिन्न ।

भारतको उत्तराखण्ड राज्यको प्रयागराजमा गत महिनादेखि सुरु महाकुम्भमा आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताउनुभयो । दैनिक एक करोडदेखि तीन करोडसम्म भक्तजन आइरहेका छन् । “महाकुम्भमा आउनेहरूको गणनाका लागि चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित क्यामेरा जडान गरिएको छ । त्यसैका आधारमा आगन्तुकको आकडा अनुमान गरिएको हो । एक दिनमा सबैभन्दा बढी तीन करोडभन्दा बढी भक्तजन महाकुम्भमा आएका छन्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछिका दिनमा यहाँ आइपुग्ने भक्तजनको सङ्ख्या उल्लेख्य बढेको छ । “पछिल्लो पाँच दिनमा भक्तजनको सङ्ख्या बढ्दो छ, हामीलाई व्यवस्थापन गर्न कठिन भएको छ”, उहाँले भन्नुभयो । हालसम्म ४५ करोडभन्दा बढीले महाकुम्भ मेला भरेका छन् । नेपाललगायत विभिन्न देशबाट श्रद्धालु भक्तजन आएका उहाँले जानकारी दिनुभयो । मेला समापनका दिनसम्ममा ५५ करोड भक्त आउने उहाँको अनुमान छ ।

महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवद्र्धन गरी लाभ लिन सक्ने सूचना अधिकारी यादवले बताउनुभयो । महाकुम्भमा आउने अधिकांश भक्तजन अयोध्यास्थित भगवान् रामको मन्दिर र वाराणसीस्थित विश्वनाथबाबाको मन्दिरमा पुगिरहेका छन् । त्यसैगरी, उनीहरूलाई नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलगायत स्थानमा लैजान सकिने यादवले बताउनुभयो ।

चुस्त व्यवस्थापन

विश्वका विभिन्न देशबाट महाकुम्भमा सहभागी हुन आउनेको सङ्ख्या अनपेक्षित रूपमा बढे पनि मेला व्यवस्थापन भने चुस्त छ । सबै भक्तजनलाई स्नान गर्न मिल्नेगरी नदी किनारमा व्यवस्थापन गरिएको छ । स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय सञ्चारमाध्यमका लागि आवासीय सुविधासहितको ‘पडकास्टिङ’ सञ्चालन गर्नेका लागि पनि स्थल बनाइएको छ । साथै आगन्तुकका लागि अस्थायी आवास निर्माण गरिएको छ । सूचना अधिकारी यादवका अनुसार मेला सञ्चालनका लागि हालसम्म भारत सरकारले रु ७५ अर्ब खर्च गरिसकेको छ ।

के हो महाकुम्भ ?

आजभन्दा आठ सय ५० वर्षअघि पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । आदिशङ्कराचार्यले महाकुम्भको सुरुआत गर्नुभएको थियो । केही पौराणिक कथाहरूमा कुम्भको आयोजना समुद्र मन्थनपछि हुन थालेको वर्णन पनि पाइन्छ । 

प्रसिद्ध चिनियाँ यात्री हेनसाङले आफ्नो भारत यात्राका क्रममा कुम्भमेला आयोजना भएको उल्लेख गरेका थिए । हेनसाङका अनुसार राजा हर्षबद्र्धनले प्रत्येक पाँच वर्षमा नदीहरूको सङ्गममा ठूला कार्यक्रम आयोजना गर्दथे । ती कार्यक्रममार्फत राज्यको सम्पत्तिबाट केही हिस्सा धार्मिक व्यक्तिहरूलाई दान दिन्थे । 

त्यसबाहेक कुम्भको महिमा शिव पुराण, मत्स्य पुराण, पद्म पुराण र भविष्य पुराणमा उल्लेख भएको पाइन्छ । समुद्र मन्थनका क्रममा जब अमृतको कलश निस्कियो तब देवता र राक्षसबीच अमृतको कशल तानातान भयो । सोही सङ्घर्ष कम गर्नका लागि भगवान् विष्णुले मोहिनी रुप लिनुभएको थियो । त्यसपछि जब देवता र राक्षसहरूबीच सङ्घर्ष बढ्न थाल्यो तब इन्द्रदेवका पुत्र जयन्तलाई अमृतको कलश जिम्मा लगाइयो । जयन्त कौवाको रुप धारण गरी राक्षसहरूबाट अमृतकलश खोसेर उड्न थाले । उड्ने क्रममा अमृतका केही थोपा प्रयागराज, उज्जैन, हरिद्वार र नासिकमा खसेको विश्वास गरिन्छ । अमृत खसेका स्थानमा कुम्भमेला हुन थालेको हो ।

ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करण अमेरिकामा

काठमाडौँ, ३० माघ : ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को आठौँ संस्करण आगामी अगस्तमा अमेरिकाको कोलोराडोमा हुने भएको छ । काठमाडौँमा मङ्गलबार आयोजित विशेष समारोहबीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करणको समय तय गरिएको हो ।

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा आठौँ संस्करणको समय तय गरिएको हो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ नारासहित आयोजना हुन लागेको उक्त संस्करणमा चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि नै आयोजना हुँदै आएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताउनुभयो । 

“संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिबारे परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

नेपाल फिल्म सोसाइटी, नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका र हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो । हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले नेपाली चलचित्रको विकास र प्रोत्साहन गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो ।  कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकारहरु हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, मोहन निरौला, बसन्त श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुसाल, तीर्थ थापा, दीपेन्द्र गौचन, मदनदाश श्रेष्ठ, राधेश्याम लेकाली, सुनिल थापा, प्रशान्त ताम्राकार, डा भीमार्जुन आचार्य, अशोक शर्मालगायतको उपस्थिति थियो ।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’ नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानका लागि सन् २०१६ देखि नियमित आयोजना गरिँदै आएको छ ।