`

युवा रुसीमाझ धुमिल हुँदै नाभाल्नीको विरासत

कुनै समय हजारौँको सङ्ख्यामा एलेक्सी नाभाल्नीको सडक र्‍यालीमा सहभागी हुने रूसी युवाका लागि विपक्षी नेताको सार्वजनिक विरासत उहाँको मृत्युपछिको वर्षमा धुमिल हुँदै गएको छ ।क्रेमलिनका आलोचकले युवा, सहरी र पश्चिमा समर्थक रुसीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाउन मद्दत गर्ने आशा गर्नुभएको थियो तर मस्कोका गल्लीहरूमा, उहाँको नामले अहिले केवल उदासीनता वा डर मात्र जगाउँछ।

सेरामिक्सको भाँडा बनाउने २४ वर्षीया भिक्टोरियाले एएफपीसँग भन्नुभयो, “युवाहरू नाभाल्नीको कुरा गर्न डराउँछन्।”सन् २०२४ को फेब्रुअरी १६ मा आर्कटिक जेलमा धमिलो परिस्थितिमा मृत्यु भएका नाभाल्नीबारे उहाँका साथीहरूबीच गोप्य रुपमा मात्र छलफल हुने गरेको उहाँले बताउनुभयो ।

रूसी अधिकारीहरूले नभाल्नीलाई ‘अतिवाद’ को अभियोगमा १९ वर्षको जेल सजाय सुनाएका थिए, जसलाई पुटिनको विरोधका लागि प्रतिशोधको रूपमा हेरिएको थियो। नाभाल्नीलाई एकान्त तथा कठोर जेल रहेको क्षेत्रमा कैद गरिएको थियो जहाँ उहाँलाई लामो समय नियमित रूपमा एकान्त कारावासमा राखिएको थियो।

मस्कोले युक्रेन आक्रमणका बीच सबै प्रकारका सार्वजनिक असहमतिलाई गैरकानुनी घोषित गरेसँगै नभाल्नीको मृत्युपछि पनि उहाँको सङ्गठन, सहयोगी, शुभचिन्तक र परिवारका सदस्यहरूमाथि कारबाही बढेको छ ।

उहाँका तीन जना वकिललाई वर्षौंको जेल सजाय सुनाइएको छ । उहाँको अदालती सुनुवाइको रिपोर्टिङ गर्ने पत्रकारहरूलाई गिरफ्तार गरिएको छ र उहाँकी पत्नी युलिया नाभाल्न्यालाई ‘आतङ्कवादी र अतिवादी’ को कालो सूचीमा समावेश गरिएको छ।

यदि कसैले नभाल्नी वा उहाँको भ्रष्टाचारविरोधी फाउन्डेसनलाई ‘अतिवादी’ घोषणा गरिएको उल्लेख नगरी प्रस्तुत गरी ‘पटक–पटक अपराध गरेमा’ जरिवाना वा चार वर्षसम्मको जेल सजाय हुने घोषणा गरिएको छ ।

यस्तो माहोलमा युवा रूसीहरू खुलेर कुरा गर्न हिचकिचाउँछन्।

आफ्नो परिवारको नाम बताउन अस्वीकार गर्दै १९ वर्षीया छात्रा अनास्तासियाले भन्नुभयो, “आज हामीसँग राजनीति, धर्म र सेक्स गरी तीन वटा वर्जित विषय छन्।”

पुटिनविरूद्ध उभिने साहस गर्ने व्यक्ति

“कोही पनि समस्या चाहँदैनन् । अहिले युवाहरू निकै अराजनीतिक भएका छन् र यी मुद्दाहरूलाई कुनै पनि तरिकाले नछुने कोसिस गर्छन्,” भिक्टोरियाले भन्नुभयो ।

एक २२ वर्षीय विद्यार्थी फ्योडोरले आफू र उहाँका साथीहरूले नाभाल्नीलाई एकान्तमा ‘सम्झने’ साहस मात्र गरेको बताउनुभयो ।

“सामूहिक स्मृतिले यसलाई दबाए पनि, मेरो लागि उहाँ अझै पनि पुटिनविरूद्ध उभिने साहस गर्ने नमूना व्यक्तिका रूपमा मानसपटलमा रहनुभएको छ,” उहाँले भन्नुभयो ।

तर अरू धेरैका लागि नाभाल्नीको नाम उदासीनताभन्दा केही बढी मिल्दोजुल्दो छ।

अर्का अभिनयका २१ वर्षीय विद्यार्थी म्याक्सिमले भन्नुभयो, “क्रेमलिनका आलोचकका नाममा ‘प्रसिद्ध’ भएपनि उहाँको आफ्नै राजनीतिक विचार थियो । उहाँ यो संसारमा हुनुहुन्न । त्यसैले मैले उहाँलाई पछ्याइनँ।”

उहाँले थप्नुभयो, “मेरा साथीहरूले के भइरहेको छ भनेर वास्ता गर्दैनन्। उनीहरूका आफ्नै कुरा छन्।” “उहाँ को हुनुहुन्छ, कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ? मैले सुनेकै छैन। मलाई उहाँको नाम मात्र थाहा छ,” इन्जिनियरिङकी छात्रा अनास्तासिया सोलोभिएभाले भन्नुभयो ।

सोलोभिएभा भर्खर १८ वर्षकी हुनुभयो र उहाँलाई नभाल्नीलाई सँधै लड्नबाट रोक लगाइएको राष्ट्रपति चुनावमा मतदान गर्ने अधिकारका लागि योग्य बालिग हुनुभएको छ ।
“म कसलाई भोट हाल्ने ? मेरा आमाबाबुलाई जस्तै मलाई पनि स्थिरता मन पर्छ,” उहाँले भन्नुभयो ।

‘युवामा अराजनीतिक सोच बढ्दो’

पुटिनबाहेक अरू कुनै नेतालाई नचिनेका उनीहरूको अराजनीतिकरणलाई सङ्केत गरेको स्वतन्त्र मतदान संस्था लेभाडा सेन्टरका निर्देशक करिब २० वर्षे युवा डेनिस भोल्कोभले बताउनुभयो।

नाभाल्नीको मृत्युपछि १८ देखि २४ वर्ष उमेरसमूहका ३७ प्रतिशत युवाले नाभाल्नी वा उहाँको कामको बारेमा केही पनि थाहा नभएको बताएका थिए ।

भोल्कोभले एएफपीसँग भन्नुभयो, “नाभाल्नीका अनुयायीहरूको ठूलो हिस्सा युवाहरूको नै रहेको छ र उनीहरू उहाँलाई नै समर्थन गरेका छन् किनभने उनीहरूको विश्वासमा नाभाल्नीले‘सत्य बोलेकै कारण उहाँलाई मारिएको थियो । उहाँले पुटिनको विरुद्धमा उभिन डराउनुभएको थिएन।”

सन् २०१३ को मस्कोको मेयरको चुनावमा २७ प्रतिशत मत प्राप्त गर्न उहाँलाई युवाहरूले नै सहयोग गरेका थिए, जुन निर्वाचनलाई उहाँले अनुचित र मिथ्या भनेर निन्दा गरेका थिए तर यसले क्रेमलिनलाई उनलाई फेरि मतदानमा जानबाट रोक्न पर्याप्त आधार प्राप्त भएको थियो।“युक्रेनमा सैन्य कारबाही सुरु भएपछि सबै कुरा परिवर्तन भयो,” विदेशी एजेन्ट घोषित गरिएका भोल्कोभले भन्नुभयो ।भोल्कोभले भन्नुभयो, “पुटिनको विरोध गर्ने र उहाँको आलोचना गर्नेहरूको उल्लेखनीय हिस्सा घटेको छ।”

युक्रेनको आक्रमणबीच पुटिनले सत्तामा आफ्नो पकड थप मजबुत बनाउनुभएको छ भने नेतृत्वविहीन र आन्तरिक कलहले ग्रस्त विपक्षीहरू सान्दर्भिकताका लागि सङ्घर्ष गरिरहेका छन् ।
भोल्कोभले भन्नुभयो, “शत्रुता समाप्त भएपछि र यदि पश्चिमाहरूसँग मतभेद भयो भने विपक्षी राजनीतिज्ञहरूको माग फेरि फर्कनेछ।”
तथापि, अहिले थुप्रै रूसी युवाले यस प्रश्नमा खासै चासो देखाएका छैनन् । “म राजनीतिबाट धेरै टाढा छु,” इन्जिनियरिङका १९ वर्षीय विद्यार्थी पावेलले भन्नुभयोे। “म यसको बारेमा छलफल गर्दिन किनभने मलाई यसबारे चासो नै छैन।”

रुस–युक्रेन युद्धमा ’बेपत्ता ५० हजार’ व्यक्तिको अवस्थाबारे अनुसन्धान भइरहेको रेडक्रसको भनाइ

युक्रेनमा विगत तीन वर्षदेखि जारी रुसी युद्धमा ‘बेपत्ता पारिएका करिब ५० हजार व्यक्ति’ को अवस्था के भयो भनेर पत्ता लगाउने प्रयास भइरहेको रेडक्रसले बिहीबार जनाएको छ।रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले पनि करिब १६ हजार युद्धबन्दी र दुवै पक्षबाट हिरासतमा रहेका सर्वसाधारणका बारेमा जानकारी गराइएको जनाएको छ ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले पूर्ण रूपमा आक्रमण गरेको केही समयपछि आईसीआरसीले द्वन्द्वमा हराइरहेका दुवै पक्षका नागरिकहरूको खोजीगर्न समर्पित आफ्नो ‘सेन्ट्रल ट्रेसिङ एजेन्सी (सीटीए)’ को एक विशेष विभाग गठन गरेको थियो ।

“सन् २०२४ को फेबु्रअरीदेखि अहिलेसम्म हराएका व्यक्तिको सङ्ख्या दोब्बरभन्दा बढीले बढेको छ र आज यो सङ्ख्या करिब ५० हजार पुगेको छ,” सीटीए विभागका प्रमुख दुसान वुजासानिनले जेनेभामा पत्रकारसँग भन्नुभयो ।

एक वर्षपहिले विभागले युद्धमा बेपत्ता भएका करिब २३ हजार व्यक्तिको भविष्य पत्ता लगाउने प्रयास गरिरहेको र उनीहरू घरबाट भागेपछि पक्राउ परेका, मारिएका वा सम्पर्कविहीन भएको पत्ता लगाउने प्रयास गरिरहेको बताएको थियो ।

विभागको कामको उद्देश्य ‘बेपत्ता हुनबाट रोक्नु, बेपत्ता भएकाहरूको खोजी गर्नु र उनीहरूका परिवारलाई जतिसक्दो चाँडो जानकारी दिनु’ रहेको वुजासानिनले बिहीबार बताउनुभयो ।
आजसम्म, ब्यूरोलाई द्वन्द्वमा दुवै पक्षहरूले सूचित गरेका छन् कि उनीहरूले पूर्ण स्तरको द्वन्द्व सुरु भएदेखि लगभग १६ हजार युद्धबन्दी र नागरिकहरूलाई हिरासतमा लिएका छन्।

“यो अहिले हिरासतमा लिइएका युद्धबन्दीको सङ्ख्या बराबर होइन,” युद्ध सुरु भएयता हजारौँ कैँदीलाई रिहा गरिएको औँल्याउँदै वुजासानिनले भन्नुभयो । सीटीए विभागले हराएका व्यक्तिहरूको बारेमा जानकारीको लागि पक्षबीच तटस्थ मध्यस्थको भूमिका खेल्छ, तर यसले हराएकाहरूको खोजी गर्न पनि काम गर्छ।

वुजासानिनले रेडक्रसको अधिकांश सञ्जालले बेपत्ता भएकाहरूको खोजीगर्न मिलेर काम गरिरहेको बताउनुभयो । “आज, विश्वभरका ८० भन्दा बढी रेडक्रस र रेड क्रिसेन्ट नेशनल सोसाइटी र आईसीआरसी प्रतिनिधिमण्डलले रूस–युक्रेन सशस्त्र द्वन्द्वको सम्बन्धमा आफ्ना हराएका प्रियजनहरूको खोजी गरिरहेका परिवारहरूलाई सहयोग गर्न र उनीहरूलाई जतिसक्दो चाँडो जवाफ प्रदान गर्न सँगै काम गरिरहेका छन्,” वुजासानिनले भन्नुभयो ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिशन पोर्चुगलमा हुँदै

लिस्बन । सर्वाधिक धनराशि १–१ करोड रुपैयाँ पुरस्कार भएको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन पोर्चुगलमा हुँदैछ ।

इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको उक्त शो को दोस्रो संस्करणको अडिसन यही फेब्रुअरी १६ मा पोर्चुगलको राजधानी लिस्बनमा हुन लागेको हो । अमेरिकाबाट सुरु भएको रियालिटी शो को अडिसन हाल पोर्चुगलमा गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
पोर्चुगलमा पहिलोपटक हुन लागेको अडिसनका लागि युरोपका विभिन्न मुलुकका गरि हालसम्म ४५ जना प्रतियोगीले आवेदन दिएको फाउन्डेसनकी युरोप संयोजक देवी गर्बुजामगरले जानकारी दिइन् । लिस्बनस्थित ’लभ लिस्बन’ रेष्टुरेन्टमा हुने अडिसनको तयारी अन्तिम चरणमा पूगेको मगरले बताए । अडिसनका लागि फाउन्डेसनको केन्द्रीय टोली अमेरिकाबाट पोर्चुगल आइसकेको उनले बताए ।

अमेरिका र क्यानडामा सम्पन्न भएको अडिसन बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, अष्ट्रेलिया र भारतमा अडिसनको तयारी भइरहेको संस्थाले जनाएको छ । यस्तै नेपालका लागि बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन गरिने बताइएको छ । विश्वभरबाट अडिसनमा छनौट हुने गायन तर्फका एक सय २० प्रतिभा र नृत्य तर्फका एक सय २० गरी कुल दुई सय ४० जना प्रतियोगीलाई फाउन्डेसनले अर्को चरणका लागि काठमाण्डौं लैजाने छ । नेपाल बाहिरको अडिसनमा भाग लिनका लागि १८ वर्ष उमेर पूगेको नेपाली मूलका नेपालीभाषी हुनुपर्ने र नेपालमा हुने अडिसनमा भाग लिनका लागि १६ वर्ष उमेर पूगेको हुनुपर्ने आयोजक संस्थाले जनाएको छ ।

विश्वभर छरिएर रहेका नेपाली प्रतिभाका कलाकारहरुबीच प्रतिस्पर्धा गराइने दुवै शोका विजेताले एक–एक करोड, उपविजेताले २५–२५ लाख र तेस्रो हुनेले १०–१० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि काठमाडौंमा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहनु हुनेछ । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकहरुमा कलाकार मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहने फाउन्डेसनले जनाएको छ ।

विश्वभर छरिएर रहेका नेपाली समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरुको पहिचान गर्न र नेपाली भाषा, कला र संस्कृतिक‍ो संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने अभियानका साथ विश्वस्तरीय रियालिटी शो को आयोजना गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले सन् २०२३ मा दुबै रियालिटी शो को पहिलो संस्करण सफतापूर्वक सम्पन्न गरेको थियो ।

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौँ, २ फागुनः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७६, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ४०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, घिरौला प्रतिकेजी रु १२०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ३५, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु १८०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा (हरियो) प्रतिकेजी रु ४०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १५०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुख कटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ४५०, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडेखुर्सानी प्रतिकेजी रु ६५, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

अब अबुधाबीबाट पनि श्रम स्वीकृति,मन्त्री भण्डारीद्धारा शुभारम्भ

काठमाडौँ, २ फागुनः सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गर्नुभयो ।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो ।

उहाँले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताउनुभयो ।

मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताउँदै उहाँले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गर्नुभयो ।

संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताउनुभयो ।

उहाँले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरुको हकहित संरक्षणमा सधँै प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताउनुभयो ।

राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसअवसरमा गैरआवासीय नेपाली सङ्घ र युएईस्थित नेपाली समाजका प्रतिनिधिसहित युएईमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो । साथै गैरआवासीय नेपाली सङ्घ युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले पनि आआफ्ना धारणा व्यक्त गर्नुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रममा श्रमसम्बन्धी अन्तक्र्रिया पनि आयोजना गरिएको थियो ।वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो ।

यसैबीच, गत माघ २९ देखि यही फागुन १ गतेसम्म युएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा मन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । उक्त समिटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा एक सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तरराष्ट्रिय तथा क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसहित छ हजार जनाको सहभागिता थियो । उक्त समिटमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि भाग लिनुभएको थियो ।

सवारी साधनमा प्रदूषण परीक्षण: चौवन्न प्रतिशत सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ, २ फागुन : काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ ।कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, ‘फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीको प्रदूषण परीक्षण गरिएको हो ।

‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।

अहिलेसम्ममा ठमेल, मैतीदेवी, चावहिल, खुसिबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बुलेरो, सामान बोक्ने ट्रकलगायत छन् ।

वित्त आयोगको कार्यसम्पादनमा इलामको सूर्योदय नगरपालिका देशभरमै दोस्रो

इलाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिका मै दोस्रो भएको छ । गएको वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यो वर्ष पनि ८० दशमलव दुई अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव सात अङ्क प्राप्त गरी डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट एवं पहिलो भएको छ ।

जिल्लाका १० पालिकामध्ये देउमाई र माई नगरपालिकाले समान ६८ दशमलव एक अङ्क हासिल गरी दोस्रो तथा ६५ दशमलव तीन अङ्क प्राप्त गरी इलाम नगरपालिका तेस्रो भएको छ । चुलाचुली गाउँपालिका जिल्लाको गाउँपालिकामध्ये पहिलो भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चुलाचुलीले ५८, सन्दकपुरले ५७ दशमलव नौ, फाकफोकथुमले ५६ दशमलव तीन, रोङले ५४ दशमलव नौ, माङसेबुङले ५४ र माईजोगमाईले ४६ दशमलव दुई अङ्क प्राप्त गरेका छन् ।

सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जनप्रतिनिधि र कमर्चारीको सहकार्य, समन्वय एवं तालमेल र सरोकारवालाको सहयोगका कारण आयोगको कार्यसम्पादन मूल्याङ्कनमा आफ्नो पालिका देशभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको बताए ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगको विभिन्न १७ सूचकलाई मध्ययनजर कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहलाई यस्तो अङ्क प्रदान गर्ने गर्छ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

महोत्तरी, २ फागुन : मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । माध्यमिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभयो ।

“विद्यालयमा पछिल्लो एक दशकभित्र शिक्षकको नयाँ दरबन्दी भएको छैन, यस कारणले थुप्रै सामुदायिक विद्यालय शिक्षक अभाव खेप्दैछन्”, मुख्यमन्त्री सिंहले भन्नुभयो, “यही अभाव तत्कालै पूर्ति गर्न प्रदेश सरकारले स्वयंसेवक शिक्षक परिचालन गर्ने तयारी अघि बढाएको हो ।” यो कामले विद्यालयमा विषयगत शिक्षकको कमीलाई तत्काल परिपूर्ति गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयका शिक्षक सेवानिवृत्त हुँदै जाने र नयाँ दरबन्दी व्यवस्थापन नहुँदा यहाँको पठनपाठन नराम्ररी प्रभावित गरेको अवस्थालाई तत्काल सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने तयारी बढाइएको हो । यस प्रयोजनका लागि प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले एक सय ३२ जना स्वयंसेवक शिक्षकको दरखास्त आह्वान गरिसकेको छ । विद्यालय शिक्षालाई सवल, सुदृढ र परिणाममुखी बनाउन प्रारम्भिक पक्ष नै शिक्षक हुने हुँदा यसको अभाव सम्बोधनका लागि काम अघि बढेको प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले बताउनुभयो ।

“माध्यमिक विद्यालयमा विषय शिक्षकको अभावका कारण मधेसको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अपेक्षित हुनसकेको छैन”, मन्त्री तिवारी भन्नुहुन्छ, “यो अभावको परिपूर्ति तत्काल गरिन प्रदेश स्वयंसेवक शिक्षकको अवधारणा ल्याइएको हो ।” यसका लागि दरखास्त आह्वान भइसकेको हुँदा चाँडै छनोट प्रक्रिया पूरा गरेर विद्यालयमा शिक्षक पठाइने तिवारीले बताउनुभयो । यस चरणमा प्रदेशका नमूना विद्यालय र शिक्षक अभाव भएका माध्यमिक विद्यालयमा प्राथमिकता निर्धारण गरेर शिक्षक पठाइने मन्त्रालयको तयारी छ ।

प्रदेश स्वयंसेवक शिक्षकको व्यवस्थाले विषयगत शिक्षक अभाव र विद्यार्थी अनुपातमा शिक्षक अभावको दुवै अवस्थाको सम्बोधन हुने मन्त्रालयको ठम्याइ छ । अहिलेको पहिलो चरणमा एसइईमा अधिकांश विद्यार्थी अनुत्तिर्ण हुने गणित, विज्ञान, अङ्ग्रेजी र नेपाली विषयका दक्ष शिक्षकको छनोट हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

यो व्यवस्थाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर, सिकाइ वृद्धि र सिकाइ उपलब्धि हासिल गर्न सहयोग पुग्ने मन्त्री तिवारीको भनाइ छ । यसक्रममा नयाँ पाठ्यक्रम र शिक्षण शैलीअनुरूप पठनपाठन गराउन सक्ने तालिमप्राप्त शिक्षक प्रतिस्पर्धाबाट छनोट हुने जनाइएको छ । यो व्यवस्थाले खास योग्यता हासिल गरे पनि रोजगारी नपाएका व्यक्तिका लागि सो अवसर पनि बन्ने मन्त्री तिवारीको भनाइ छ ।

प्रदेश स्वयंसेवक शिक्षकको व्यवस्थाले असाध्यै शिक्षक अभावको अवस्थाबाट गुज्रिरहेका विद्यालयको पठनपाठनमा यी नयाँ शिक्षक पुग्नासाथ विद्यालयको नियमित पठनपाठनमा सहजता आउने मन्त्रालयको विश्वास छ ।

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै

वीरगञ्ज (पर्सा), २ फागुनः पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्ष्यित गर्र्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय यही फागुन १२ गतेदेखि सञ्चालन हुने भएको छ ।

सङ्घीय मन्त्रिपरिषद्को गत पुस ९ गतेको निर्णयअनुसार दुवै कार्यालय उक्त दिनदेखि सञ्चालन हुने नापी कार्यालयका प्रमुख राकेशकुमार झाले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्साका सात वटा पालिकाका सेवाग्राहीलाई लक्ष्यित गरेर कार्यालयको सेवा विस्तार गर्न लागेका हौँ । अब सेवाका निम्ति वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।”कार्यालय सञ्चालन भएपछि पोखरिया नगरपालिका, विन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई जगरनाथपुर, पकहाँमैनपुर गाउँपालिका सेवाग्राही लाभान्वित हुनेछन् ।

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

भद्रपुर (झापा), २ फागुनः यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ राजस्व सङ्कलन गरेको छ । प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार पाँच सय ६९ रजिष्ट्रेसन पारित भएका छन् । यसैगरी मृत्युपछिको नामसारी पाँच सय ६७, घर कायम पाँच सय ८७, हाल साबिक अद्यावधिक नौ सय ८९, दाखिला खारेज एक सय ७१, संशोधन नौ सय १४, मोही बाँडफाँट ११, मोही नामसारी नौ र तीन सय ७० जनाको मोही लगत कट्टा भएको छ ।

प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको बताउनुभयो । उक्त कार्यालयले आव २०८०÷८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजस्व सङ्कलन गर्दा ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेसन पारित भएका थिए ।

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ, २ फागुनः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

‘ चलचित्र दुःखी आत्मा’ आजदेखि प्रदर्शनमा

काठमाडौँ- यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को काठमाडौँमा पहिलो प्रदर्शनी (प्रिमियर शो) गरिएको छ । प्रिमियर शोमा उपस्थितले चलचित्रको विषयवस्तुको प्रसंशा गरे । शुक्रबारदेखि चलचित्र सार्वजनिक प्रदर्शन गरिने तयारी छ । यौन स्वास्थ्यका विषयमा धेरै विदेशी चलचित्र निर्माण भएपनि नेपालमा उक्त विषयमा चलचित्र निर्माण नभएकाले आफैँले निर्देशन गरेको निर्देशक दीपेन्द्र लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु ।” उहाँले चलचित्रमा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ भएको देखाउनुभएको छ । यस पात्रका लागि उहाँले कविको पृष्ठभूमि तयार गर्नुभएको छ ।

चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ राई हुनुहुन्छ । उहाँले आफ्नो पात्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म कवि होइन र ‘इरेक्टाइल डिस्फक्सन’ को समस्यालाई महसुस गरेको छैन । त्यसैले त्यो पात्रलाई न्याय गर्न एउटा अभिनेताका रुपमा सक्दो मेहनत गरेँ ।” ।”

अभिनेत्री आँचल शर्माले यौनस्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताउनुभयो । “हामीले चलचित्रमा उठान गरेको विषय परिवारले हेर्नुपर्ने र चर्चा गर्नुपर्ने हो । नेपाली समाजमा यौन समस्यालाई डाक्टरसँग पनि भन्न लजाउने स्थिति छ । समस्या व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रम चलचित्रमा प्रस्तुत छ ।”

‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गर्नुभएको छ । प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुने चलचित्रलाई आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा जुम्लाको तातोपानी गाउँपालिका प्रथम

जुम्ला- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनअनुसार जुम्लाको तातोपानी गाउँपालिका उत्कृष्ट देखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिकाले ६७ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।

हिमा गाउँपालिकाले ६१ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गरी दोस्रो, सिञ्जा गाउँपालिकाले ५८ दशमलव एक प्रतिशत, कनकासुन्दरीले ५६ दशमलव नौ प्रतिशत, पातारासी गाउँपालिकाले ५२ दशमलव छ प्रतिशत, गुठीचौर गाउँपालिकाले ४९ दशमलव सात प्रतिशत अङ्क पाएका छन् ।

यस्तै, चन्दननाथ नगरपालिकाले ५६ दशमलव आठ प्रतिशत, सुनछहरी गाउँपालिकाले ४५ दशमलव आठ प्रतिशत र सबैभन्दा कमजोर तिला गाउँपालिकाले ३८ दशमलव दुई प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान समयमा गाउँसभामा पेस गरे/नगरेकोदेखि समयमा बजेट पास भए/नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकाङ्कमा मूल्याङ्कन हुने गर्छ ।

“सुशासन, समन्वय, पूर्वाधार, न्यायिक कुरा पनि हुन्छन्”, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँ भन्नुभयो, “शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुरा पनि हुन्छ । नीति, नियम, कानुनबमोजिम काम भए/नभएको, बेजुका कुरा छन् त्यसलाई न्यूनीकरण गर्नुपर्छ ।” गाउँपालिकाले शिक्षामा लगानी गरेको छ, स्वास्थ्यमा त्यहीअनुसारकै लगानी गरिरहेका छौँ । शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधारमा पनि पालिकाले नमूना काम गरेको तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईँले बताउनुभयो ।

वित्त आयोगले आव २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ १९ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ २७ पैसा र बिक्रीदर १७४ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रूपैयाँ २८ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ०२ पैसा र बिक्रीदर नौ रूपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९ रूपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्री दर ३१ रूपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८० पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्री दर १७ रूपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ४५१ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ १० पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ९१ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौँ, २ फागुनः अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो ।

प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप सहजता प्रदान गर्न पछिल्लो सहमतिले महत्त्वपूर्ण अर्थ राख्ने विश्वास लिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सन्दीपकुमार देवका अनुसार सन् २०३४–३५ सम्म निर्माण गर्नेगरी दुईवटा नयाँ र एक हाल सञ्चालनमा रहेको प्रसारण लाइनको क्षमता वृद्धिका सन्दर्भमा महत्त्वपूर्ण सहमति भएको छ ।

नेपाल र भारतका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निजगढ÷हरनैया–मोतीहारी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणमा सहमति भएको छ । यस्तै, कोहलपुर–लखनउबीच पनि चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुने छ । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फपुर चार सय केभी क्षमताको प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टरद्वारा प्रतिस्थापन गरिने छ । सो प्रसारण लाइनमार्फत हाल आठ सय मेगावाट बिजुली आयात निर्यात भइरहेको छ । सो प्रसारण लाइनमार्फत एक हजार मेगावाटसम्म बिजुली आयात–निर्यातका बारेमा समेत पछिल्लो बैठकमा सहमति भएको छ ।

दुई देशबीच यसअघि नै इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली प्रसारण लाइन निर्माणमा सहमति भएको छ । ती दुवै प्रसारण लाइनको क्षमता चार सय केभी रहने छ । यसैगरी हाल न्यूबुटवल–गोरखपुर चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणकार्य जारी छ । बिजुली उत्पादन गरेरमात्र नहुने र त्यसलाई क्षेत्रीय बजारमा पुर्याउनका लागि उच्च क्षमताको प्रसारण लाइन आवश्यक पर्ने भएकाले दुई देशले त्यसलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि सहमति भएको सन्दर्भमा उच्च क्षमताका प्रसारण लाइन निर्माण आवश्यक र जरुरी भइसकेको थियो । वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली निर्यात गर्दै आएको छ ।

‘टोकन’का रूपमा भए पनि बङ्गलादेशसमेत विद्युत् निर्यात सुरु भएको छ । यसलाई थप विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ । ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकमा त्यसबारेमा महत्त्वपूर्ण सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता देवका अनुसार थप विद्युत् निर्यातका लाग स्वीकृति वा सहमति दिने कार्यमा थप सहजीकरण गर्ने सहमति भएको छ ।

हाल विभिन्न क्षमताका प्रसारण लाइनमार्फत दुई देशबीच विद्युत् आदानप्रदान भइरहेको छ । सरकारले अगाडि सारेको दीर्घकालीन योजनाअनुसार कुल २८ हजार पाँच सय मेगावाटमध्ये १५ हजार मेगावाट बिजुली निर्यात गरिने छ । त्यसमा १० हजार मेगावाट भारत र पाँच हजार मेगावाट बङ्गलादेश निर्यात गरिने छ । यस्तै, १३ हजार मेगावाट बिजुली भने आन्तरिक खपतका लागि प्रयोग गरिने छ ।

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा भएका पछिल्ला सहमतिले सरकारको दीर्घकालीन लक्ष्य पूरा गर्न सहयोग पुग्ने छ । यस्तै, अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक सतलज विद्युत् निगमले पनि चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण गरिरहेको छ । त्यसलाई समेत विद्युत् व्यापारमा प्रयोग गर्न सकिनेछ ।

प्रस्तावित इनरुवा–पूर्णिया र दोदोधारा–बरेली चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणमा लागि ‘निर्माणकार्य संयुक्त उपक्रम’ तय गरिने छ । त्यसले क्रमशः सन् २०२८/२९ र २०२९/३० सम्म निर्माण सम्पन्न गराउनका लागि आवश्यक पहल गर्नेछ । नेपालतर्फको प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारततर्फको पावर ग्रीडले संयुक्त उपक्रममार्फत निर्माण गर्ने छ । त्यसमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रीडको ४९ प्रतिशत स्वपुँजी रहने छ । संयुत्तः उपक्रम कम्पनी स्थापनासम्बन्धी कार्य एक महिनाभित्र थालनी गर्ने सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सहज बिजुली आयातनिर्यातका लागि चमेलिया–जैलिजीवी दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यसका लागि आगामी चैत मसान्तसम्म विस्तृत परियोजना प्रतिवेदन तयार पारिने छ । सो प्रसारण लाइन डबल सर्किट हुने छ । नेपाल खण्डको प्रसारण लाइन प्राधिकरणले र भारततर्फको भने पावर ग्रीडले निर्माण गर्नेछ । सन् २०२७ को डिसेम्बरसम्म सो प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको अन्तिम तयारी गरिसकेको सन्दर्भमा कर्णाली करिडोरमा पनि उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने छ । त्यसबाट पनि दुई देशबीच विद्युत् व्यापारमा अर्को मार्ग तय हुने विश्वास लिइएको छ ।

चालु आवको चार महिनामा मात्र प्राधिकरणले एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारत निर्यात गरेको थियो । त्यसबाट १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको आम्दानी गर्न सफल भएको थियो । प्राधिकरणले प्रतियुनिट औसतमा सात रूपैयाँ ६३ पैसामा भारततर्फ बिजुली निर्यात गरेको थियो ।

निजी क्षेत्रले बिजुली निर्यातका लागि अनुमति माग गरिरहेको सन्दर्भमा नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा भएको सहमतिले मार्गप्रशस्त गर्ने छ । सरकारले हाल संसद्मा विचाराधीन विद्युत् विधेयक पारित गरेपछि निजी क्षेत्रलाई बिजुली निर्यातका लागि अनुमति दिने तयारी गरेको छ । उत्पादन पनि बढाउने र व्यापार विस्तार गर्ने लक्ष्यका साथ सरकार र निजी क्षेत्रले ऊर्जा क्षेत्रमा सार्थक पहल गरिरहेका छन् ।

नेपाल र भारतका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठक गत माघ २९ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारत सरकारको तर्फबाट विद्युत् मन्त्रालयका सचिव पङ्कज अग्रवालको सहअध्यक्षता रहेको थियो ।

एकीकृत समाजवादी : स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौँ, २ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ ।

केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ । सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ ।

बैठकले पार्टीको तल्लो तहदेखि सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्ने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे निर्णय गरिने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् ।गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ ।

पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ ।

यदि, निर्माणपक्षले गरेको दाबी र पोस्टरले गरेको संकेतअनुसार चलचित्र एक्सन जनराको हो भने यो जनरामा विपीन पहिलोपटक देखिनेछन् । यसले नै दर्शकमा रोमाञ्चकता थप्नेछ ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशन गरिरहेका छन् । ‘कर्मा’ चैत २९ गते रिलिज हुनेछ । यो चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भैरहेको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

सशस्त्र सङ्घर्षको परिणामले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ : अध्यक्ष दाहाल

तम्घास (गुल्मी), १ फागुन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र सङ्घर्षको परिणामले अहिले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको बताउनुभएको छ ।

धुर्कोट गाउँपालिमा सहिद उद्यानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र अन्य बलिदानका कारण नै अहिले गाउँगाउँसम्म सरकार बन्न र जनताका अधिकार स्थापित हुन सफल भएको बताउनुभयो । 

“यो सामान्य सुधारात्मक परिवर्तन मात्रै होइन, गुणात्मक, युगान्तकारी र धेरै समयसम्म टिक्ने परिवर्तन हो”, अध्यक्ष दाहालले भन्नुभयो, “संविधानले पहिलो पटक नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाएको छ ।” संविधानमा जनताका अधिकार स्थापित भए पनि जनताको घरआँगनमा भने सोचेजस्तो खुसियाली नआएको उहाँको भनाइ थियो । आफू प्रधानमन्त्री हुँदा मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सालझण्डी ढोरपाटन सडकलगायत काम गरेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । 

आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

कास्की, १ फागुन : उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा गत माघ २२ देखि सुरु भएको प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलको दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्स फाइनलमा पुगेको हो ।

ब्ल्याक बुल्सले यही फागुन ३ गते विभागीय नेपाल पुलिस क्लबसँग उपाधिका लागि खेल्नेछ । पोखरामा पहिलो पटक फुटबल खेल्न आएको ब्ल्याक बुल्सले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रीस्टारलाई पराजित गरेको हो ।

खेलको २५औँ मिनेटमा ब्ल्याक बुल्सले कुभोनचेक ओलिमोभको गोलमा अग्रता बनाएको थियो । खेलको ५८औँ मिनेटमा असिफबेक ओरिफजोनोभले डिबक्सबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ६३औँ मिनेटमा सात्तोरोभले थ्री स्टारका तीन डिफेण्डरलाई छक्काएर गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको ८७औँ मिनेटमा साइडजामोलले थप एक गोल गरेपछि थ्रीस्टार फराकिलो अन्तरले पराजित हुन पुग्यो । थ्रीस्टार क्लबले खेलमा केही गोल गर्ने मौका पाएको थियो । तर उसले खेलमा प्राप्त अवसरको सदुपयोग गर्न सकेन ।

प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने आयोजकले जनाएको छ ।

युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै तर दुबैसँग एक–एक घण्टा टेलिफोन वार्ता गरी शान्ति वार्ता सुरु गर्न सुझाव दिनुभएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचारहरू छापिएका छन् ।तीन वर्षदेखि जारी युद्धलाई अन्त्य गन वार्ताका लागि मस्को र किएभको धारणा बाहिर ल्याउन एएफपीका समाचारदाताहरूले उनीहरूको अडानबारे समीक्षा गरेका छन् ।

सङ्घर्षको ‘मूल कारण’ सम्बोधन हुनुपर्छ:रूस

ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न द्वन्द्वको ‘मूल कारण’ समाधान गर्न आवश्यक रहेको बताउनुभएको थियो ।रूसका अनुसार सन् २०२१ को अन्त्यतिर मस्कोले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र वासिङ्टनसँग युद्ध सुरु गर्नुभन्दा केही हप्ताअघि राखेको सुरक्षा मागलाई सङ्केत गर्दै यो कदम चालिएको हो ।

ती मागहरूले युरोपको सुरक्षा संरचनामा व्यापक परिवर्तनको परिकल्पना गरेका थिए, जसमा पूर्व सोभियत देश, बाल्टिक राज्य, रोमानिया र बुल्गेरियासहित पूर्वी समूहका सदस्यहरूबाट अमेरिकी र नाटो सेनाहरूको फिर्ता समावेश थियो । उनीहरू सबै नाटो र ईयू सदस्य हरू हुन्।

रूसले नोटोसँग युक्रेनलगायत अन्य कुनै पनि पूर्व सोभियत राष्ट्रलाई सदस्यता प्रदान नगर्ने वा पूर्व सोभियत सङ्घको भूभागमा सैन्य कारबाही नगर्ने प्रतिबद्धता पनि मागेको छ ।

क्रेमलिनले आक्रमण गरेदेखि नै युक्रेनको नियन्त्रणमा रहेको रूसको भूभागलाई आफ्नो सेनाद्वारा नियन्त्रित युक्रेनी भू–भागसँग साटासाट गर्ने विचारलाई अस्वीकार गर्दै आएको छ ।

मस्कोले सन् २०२२ मा युक्रेनका चार वटा दक्षिणी र पूर्वी भूभागमा कब्जा जमाएको र सन् २०१४ मा क्रिमिया कब्जा गरेको उल्लेख गर्दै द्वन्द्व अन्त्य गर्ने कुनै पनि सम्झौताले ‘धरातलीय नयाँ वास्तविकता’ प्रतिबिम्बित गर्नुपर्ने बताएको छ ।

जेलेन्स्कीको कार्यकाल गत वर्ष समाप्त भएको दाबी गर्दै उसले जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ । आक्रमणपछि लागू गरिएको सैनिक कानुनअन्तर्गत जेलेन्स्की नेता रहनुभएको हो र उहाँले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गर्नुभएको छ ।

पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्नुभएको छ । रूसी नेताले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्न तयार रहेको बताउनुभएको छ र ट्रम्प सन् २०२२ मा ह्वाइट हाउसमा भएको भए युद्ध सुरु हुने थिएन भन्ने समेत बताउनुभएको छ ।

न्यायपूर्ण शान्तिको सुनिश्चितताः युक्रेन

युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध जतिसक्दो चाँडो अन्त्य होस् र युक्रेनले भविष्यमा हुने रूसी आक्रमणहरू रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने चाहनुहुन्छ र नाटोको सदस्यता वा ठूलो मात्रामा विदेशी शान्ति सेनाको टुकडीलाई रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने माग राख्नुहुन्छ ।

उहाँले वार्तामा युक्रेन, रूस, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घलार्ई पनि समावेश गर्नुपर्ने बताउँदै आउनुभएको छ किनभने हाल इयुको सदस्यताको उम्मेदवारका रुपमा रहेको किएभ समूहमा सामेल हुने आशामा जेलेन्स्की हुनुहुन्छ ।

किएभले रूसलाई आफ्नो भूभाग सुम्पन अस्वीकार गरिरहनुभएको छ । तर जेलेन्स्कीले युक्रेनले कूटनीतिको माध्यमबाट केही भूभाग पुनः प्राप्त गर्न सक्ने बताउनुभएको छ ।

उहाँले शान्ति सूत्र र विजय योजना गरी दुई दस्तावेजमार्फत युद्ध अन्त्य गर्ने युक्रेनी दृष्टिकोणको वरिपरि सहयोगीहरूलाई भेला गर्ने प्रयास गर्नुभएको छ । उहाँले किएभबाहेकको वार्ता असफल हुने बताउनुभएको छ ।

युक्रेनले गत अगस्टमा रूसको सीमावर्ती क्षेत्र कुस्र्कको केही भाग कब्जा गरेको थियो र यो क्षेत्र कुनै पनि वार्तामा एक महत्वपूर्ण लेनदेनको बिषय हुने बताएको थियो । यसै साताको सुरुमा उहाँले युक्रेनमा रूसको कब्जामा रहेको केही भूभागको बदलामा यसलाई त्याग्ने विचार अघि सार्नुभएको थियो ।

यसअघि उहाँले रुसी सेनाको पूर्ण फिर्ता वार्ताको पूर्वशर्त हुने र ‘न्यायोचित शान्ति’ले मात्र युद्धको स्थायी अन्त्य गर्न सक्ने बताउनुभएको थियो ।

पृष्ठभूमि

“रूसले कुनै पनि सम्झौताबिना किएभले रूसले निगरानी जारी राख्नेछ,” विगतका धेरै सम्झौताहरूलाई सङ्केत गर्दै जेलेन्स्की र युक्रेनी उच्च पदस्थ अधिकारीको दावी रहेको छ ।
सन् २०२२ जुलाईमा मस्को र किएभले टर्की र संयुक्त राष्ट्रसङ्घसँग सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताले युक्रेनलाई अनाज निर्यात गर्न ‘ब्ल्याक सी’मा रूसी नौसैनिक नाकावन्दीलाई बाइपास गर्न अनुमति दिएको थियो ।

क्रेमलिनले प्रतिबन्धको अन्त्य गर्ने राहतको मागलाई बेवास्ता गरिएको गुनासो गर्दै एकतर्फी रूपमा एक वर्षपछि सम्झौताको अन्त्य भएको घोषणा गरेको थियो।

फ्रान्स, जर्मनी, युक्रेन र रुसले बेलारूसको राजधानी मिन्स्कमा क्रेमलिन समर्थित पृथकतावादी शक्ति र किएभबीचको लडाइँ अन्त्यका लागि शान्ति सम्झौता गर्ने प्रयास गरेको एक दशकपछि म्युनिखमा यो साता वार्ता भएको हो ।ती नाजुक सम्झौताहरूले रुसी समर्थित पृथकतावादीहरूलाई पूर्वी युक्रेनको ठूलो भूभागमा वास्तविक नियन्त्रण प्रदान गरेको थियो । यसले रूसलाई सन् २०२२ को पूर्णरूपमा आक्रमण सुरु गर्न आफ्नो सेना निर्माण गर्न समय दिएको थियो।

२०८४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने तयारीमा छ : उपमहासचिव पुन

खोटाङ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सशस्त्र सङ्घर्षकै जगमा समानताको मुद्दा स्थापित भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङ र दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुनले २०५२ साल फागुन १ मा माओवादीले सुरु गरेको सशस्त्र सङ्घर्षलाई इतिहासले स्वीकार गरिसकेको बताएका हुन् ।

उनले भने, “सशस्त्र सङ्घर्षकै जगमा भएको जनआन्दोलनपछि संविधानसभाबाट संविधान जारी भएको छ । समानताको मुद्दा संविधानमा लिपिबद्ध भएको छ ।”

पुनले विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिबीच चाँडै एकता हुनेसमेत बताए । उनले आगामी २०८४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेगरी तयारीमा जुटेको जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य एवं संविधानसभा सदस्यहरु समिता कार्की र दुर्गाजयन्ती राई, प्रदेश सदस्य टङ्क थापा, प्रदेश सदस्य एवं खोटेहाङ गाउँपालिका पार्टी सहइञ्चार्ज इन्द्र नाराथुङ्गेलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सहिद, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग, जनमुक्ति सेना, पूर्णकालीन कार्यकर्तालगायतलाई सम्मान गरिएको थियो

नेसपा नयाँ शक्तिका नवनिर्वाचित अध्यक्ष डा भट्टराईद्वारा शपथ ग्रहण

काठमाडौँ, १ फागुन : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष डा भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराउनुभएको हो । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो । 

पार्टी अध्यक्ष डा भट्टराई सात सय ६१ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित हुनुभएको छ । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।  

नवनिर्वाचित अध्यक्ष डा भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जनक्रान्तिको अभियानको थालनी गर्ने बताउनुभयो । आजदेखि नयाँ जनअभियान सुरु भएको उल्लेख गर्दै उहाँले समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन गराउन पार्टी सफल भएको बताउनुभयो । यही फागुन १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष डा भट्टराईले जानकारी दिनुभयो । 

मेलम्चीको पानी बाह्रै महिना आउने, बर्षायाममा बन्द नहुने

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा आपूर्ति गर्नका लागि आवश्यक पहल गरिरहेको बताएका छन् ।

हीबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको भएपनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका / huनागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताएका हुन् ।उनले भने,‘आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द हुँने छैन ।’856

यसैगरी मन्त्री यादवले मेलम्चीको पानी पथान्तरण रोकिने समयमा बाग्मती नदीबाट बर्षादको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा ल्याइ आपूर्ति बढाउन अन्तर मन्त्रालय समन्वय तथा आवश्यक पहलकदमी भइरहेको समेत जानकारी दिए ।

मन्त्री यादवले याङ्ग्री र लार्केको पानी पथान्तरण हुनु अगावै पूर्वाधार तयार गर्ने क्रममा सुन्दरीजलमा २५ दशमलब पाँच करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गर्न टेण्डर आह्वान भइसकेको बताए ।

उनले भने,‘हाल सञ्चालनमा रहेको १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको क्षमता वृद्धि गरी २५ दशमलब ५ करोड लिटर पु¥याइने लक्ष्य रहेको छ । यसका लागि एशियाली विकास बैँकसँग ऋण सम्झौता सम्पन्न भई काम अघि बढाइएको छ ।’

भक्तपुरको महादेव खोलामा जलाशययुक्त खानेपानी परियोजनाको वातावरणिय प्रभाव मुल्याङ्कन (इआइए) गर्ने कार्य अघि बढाइएको समेत मन्त्री यादवले जानकारी दिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) ले आफूलाई जनताको सेवामा पूर्ण रूपले समर्पित गर्नुपर्ने बताए ।
ग्राहकमैत्री सेवाले समर्पित भई सुशासनयुक्त एवम् झन्झट रहित केयूकेएलका रूपमा आफूलाई स्थापित गर्न यस कम्पनीका हरेक तह र तप्काका कर्मचारीहरूले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवको भनाई छ ।

उनले भने,‘केयुकेयलले आफूलाई जनताको सेवामा पूर्ण रूपले समर्पित गर्नुपर्ने छ । कर्मचारी साथीहरुले पनि इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानीको गैरराजस्व घटाउँदै लगेर आफ्नो आम्दानीमा उल्लेख्य बढोत्तरी गर्न सक्ने सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नुपर्ने आवश्यकता देखिएको उनले उल्लेख गरे ।

सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले सिस्नेरी परियोजनालाई अघि बढाउनका लागि अग्रसरता लिइएको र मेलम्चीको पानी पथान्तरण रोकिने समयमा बाग्मती नदीबाट बर्षातको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा ल्याइ आपूर्ति बढाउन अन्तर मन्त्रालय समन्वय तथा आवश्यक पहलकदमी भइरहेको जानकारी गराए ।
नेपाल सरकारले आर्थिक वर्ष २०८०। ८१ को बजेट वक्तव्य मार्फत काठमाडौँ उपत्यकाका खानेपानी सेवासँग सम्बन्धित संस्थाहरूको पुर्नसंरचना गरी सम्पत्तिको दीगो व्यवस्थापन र सञ्चालन तथा प्रभावकारी नियमनको व्यवस्था गर्ने मन्त्री यादवले जानकारी गराए ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई.प्रमिलादेबी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेल, मेलम्ची खानेपानी विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने, आयोजना कर्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टिकाबहादुर चौधरी, भ्याली बोर्डका प्रमुख संजिवबीक्रम राणा लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

गाजामा युद्धविरामबारे देखिएको समस्या समाधान नभएको इजरायलको भनाइ

इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) बीचको सङ्कट सुल्झिएको भन्ने सञ्चारमाध्यममा आएका समाचारको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले खण्डन गरेको छ ।अरब र इजरायली सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार जनवरी १९ मा युद्धविराम लागू भएयताको सबैभन्दा गम्भीर सङ्कटको सामना गर्नुपरेको अवस्थालाई युद्धविरामलाई कायम राख्न मध्यस्थकर्ताले इजरायल र हमासबीच समझदारीका लागि सहज वातावरण बनाएका भएपनि वार्ताले सार्थकता पाउन सकेको थिएन ।

इजरायलले पटक–पटक सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले थप तीन जना बन्धकको रिहाईमा ढिलाइ गर्ने घोषणा गरेको थियो भने इजरायलले गाजामा पुनः आक्रमण गर्ने चेतावनी दिएको थियो ।नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सङ्कट समाधान भएको भन्ने उक्त समाचारलाई ‘भ्रामक समाचार’ भन्दै खण्डन गरेको छ ।

यसअघि बिहीबार हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले सम्झौताप्रति समूहको प्रतिबद्धता दोहो¥याउँदै युद्धविराम सम्झौता कार्यान्वयन गर्न आफूहरु इच्छुक रहेको र त्यसलाई पूर्ण रुपमा पालना गर्न बाध्य पार्न चाहेको बताउनुभएको थियो ।

अल–कानौले भन्नुभयो, “मध्यस्थहरूले हमास–इजरायल सम्झौताको पूर्ण कार्यान्वयन पूरा गर्न, मानवीय नियमको पालना गर्न बन्धकलाई रिहा गर्न दवाव दिन शनिबारबाट आदानप्रदान प्रक्रिया पुनः सुरु गर्न दबाब दिइरहेका छन्।”

सामाजिक सञ्जालमासार्वजनिक भएको भिडियो फुटेजमा दर्जनौं ट्रेलर र इञ्जिनियरिङ गाडीहरू इजिप्टको राफा क्रसिङको छेउमा लामबद्ध भएर प्यालेस्टिनी क्षेत्रमा प्रवेशको पर्खाइमा रहेको देखिएको छ । हमासले इजरायलसँग युद्धविराम सम्झौताको एक भागको रूपमा यसलाई पालना गर्न माग गरेको छ ।प्रारम्भिक चरणमा छ हप्तासम्म चल्ने सहमति भएको युद्धविराम सम्झौताको करिब दुई हजार प्यालेस्टाइनी कैदी र बन्दीको बदलामा कुल ३३ जना इजरायली बन्धकलाई मुक्त गरिने उल्लेख छ ।

हालैका हप्ताहरूमा बन्धक बनाइएका मध्ये पाँच जना थाइल्याण्डका नागरिकसहित १६ जनालाई रिहा गरिसकिएको छ भने अन्य तीन जनालाई यसै शनिबार हमासले रिहा गर्ने तयारी गरेको छ।गाजामा अझै ७६ जना बन्धक रहेका र उनीहरूमध्ये आधाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ ।

शत प्रतिशत नागरिकलाई स्वास्थ्य बिमामा जोड्न जरुरी : मन्त्री पौडेल

लेखनाथ (कास्की), १ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताउनुभएको छ । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरुरुी भएको उहाँले उल्लेख गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज पोखरामा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, मस्यौदा तथा जनसङ्ख्या व्यवस्थापन र ‘मिडवाइफरी’ बीचको अन्तरसम्बन्धबारे नीति निर्माण एवं सरोकारवालासँगको गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि मन्त्रालयले स्वास्थ्य बिमातर्फ रु सात अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिनुभयो । विनियोजित रकम अपुग भएको उहाँको भनाइ थियो ।

“शत प्रतिशत नागरिकलाई स्वास्थ्य बिमामा जोड्न जरुरी छ”, उहाँले भन्नुभयो । बिमा रकम पारदर्शी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले कसैले त्यस्तो अनियमिता गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने बतानुभयो । ग्रामीण क्षेत्रमा सहजरुपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन योजना अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्रालयका महानिर्देशक डा विकास देवकोटाले नसर्ने रोगको पहिचान गर्न एक महिने अभियानबारे जानकारी दिन स्वास्थ्य नीति र आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको समेत सहभागिता रहेको थियो ।

बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा (मोरङ), १ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह अन्त्य गर्न अभियान नै चलाउनुपर्ने बताउनुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बालविवाहविरुद्ध प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री कार्कीले बालविवाहबाट उनीहरुको मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको अन्त्य गर्न सबै जिम्मेवारपूर्वक लाग्नुपर्ने बताउनुभयो । बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएको उहाँको भनाइ थियो ।

“प्रदेश सरकार बालविवाह अन्त्य गर्न नीति तथा कानुनी प्रबन्ध गरी अगाडि बढेको छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो । उहाँले प्रदेशमा बालविवाह अन्त्य गर्न पहल गरिए पनि दुर्गम भेगमा यो समस्या विद्यमान रहेकाले त्यसतर्फ चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह समाप्त गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्य सचिव, सचिवहरु, सामाजिक अभियन्ता, बालबालिकालगायतको उपस्थिति थियो ।

जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह

मकवानपुर, १ फागुनः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकारको आवश्यकता परेको बताउनुभएको छ । नेपाली कांग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीका कार्यकर्ता र नेताहरुमा आपसी समन्वय, सहकार्यबाट पार्टीलाई एकढिक्का बनाउँदै लैजानुपर्ने आवश्यकता भएको बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकारले नागरिकलाई सेवा प्रवाह गर्न र मुलुकमा गणतान्त्रिक संसदीय व्यवस्थालाई सुदृढीकरण गर्न गठबन्धन सरकार आवश्यक परेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले सङ्घीय सरकारले जनतालाई सेवा प्रवाहको अतिरिक्त आर्थिक समृद्धि, भौतिक पूर्वाधार विकासलाई अघि बढाउन गृहकार्य गरिरहेको बताउँदै सोहीअनुरुप संसद्मा अध्यादेश दर्ता गरिएको बताउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले नेपाली कांग्रेसले आफ्नो पार्टीको नीति सिद्धान्तमा अडिग रहेर गठबन्धन सरकारले जनतालाई सेवा प्रवाहमा गतिशीलताका साथ अघि बढ्नुपर्ने बताउनुभयो  । 

सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ,  पूर्वसभापति रघुरमन न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति एवं बकैयाँ गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलगायत सहभागी हुनुहुन्थ्यो ।  

जब घरमा छोरीको जन्म भयो अनि ‘रंगी’ बनाउने सोच आयो :सलोन बस्नेत

फिल्म निर्माणको अनुभव थिएन तर इच्छा बच्चादेखिकै हो । अहिले ‘रंगी’ निर्माण गरेपछि भने उत्साह थपेको छ । फागुन २ गतेबाट हलमा आउन लागेको रंगीकै प्रमोसनको दौडधुपका क्रममा सकरात्मक प्रतिक्रिया पनि आइरहेको छ । सकेसम्म धेरै भन्दा धेरै अडियन्सहरुकोे नजिक पुग्ने कोशिस गरिरहेको छु ।

हाम्रो परिवारमा ड्याडी फिल्म मेकर नै हुनुहुन्छ । उहाँबाटै धेरै कुरा सिक्ने मौकापनि पाएँ । अलिअलि अभ्यास त पहिल्यैदेखि नै गरिरहेको थिएँ । यसैक्रममा मेरो घरमा छोरीको जन्म भएपछि केही फरक तरिकाले काम गर्न सुरु गरेको हुँ । निर्माण क्षेत्रमा पनि भूमिका देखाउन थालेको हुँ । अभिनयले मात्र नहुने रहेछ फरक तरिकाले अगाडि बढ्ने सोचले अघि बढिरहेको हुँ ।

अभिनय गरिरहेको मान्छे मेरो अगाडि भविष्य भनेको कि निर्देशक कि निर्माता बन्ने भन्ने नै थियो । मलाई निर्देशनमा चाँही त्यति धेरै आँट छैन् । अहिले नै सक्षम भइसकेको छु जस्तो लाग्दैन् । निर्माताका रुपमा चाहीं सुरु गरौं न भनेर अघि बढेको हुँ । घरमा छोरीको आगमन भएसँगै आफूलाई इच्छा लागेको भनेको बाबा–छोरीकै कथाबस्तुमा फिल्म बनाउने इच्छा अनुसार ‘रंगी’ काम अघि बढेको हो ।

यस्तो कथाबस्तुमा फिल्म बनाउन हिम्मत मात्र नभइ अनुभूति गरेरै अघि बढेको हुँ । सँधै अरु प्रोडक्सन हाउसको सिनेमा खेलेर मात्र पनि हुँदैन्, आफ्नो पनि हुनुपर्छ भनेर भविष्यलाई सम्झेर नै सुरु गरेको हुँ ।

सोही अनुसार रंगीमा बाबा छोरीको स्टोरी समेट्ने प्रयास गरिएको छ । त्योसँगसँगै काठमाडौंको लोकल स्टोरी पनि हो । यसमा एउटा समाजलाई चित्रण गर्ने कोशिस गरेका छौं । समाजमा देखिने हरेक किसिमका व्यक्तिहरुलाई रंगीमा समावेश गरेको छु । रंगी चाँही मायाको कथा पनि भएकाले भ्यालेन्टाइनस डे को दिनलाई रिलिज गर्ने सोच बनाएका हौं । तर मायाका धेरै रुपहरु मध्ये नेपाली फिल्ममा नदेखाइएको छुट्टै मायाको कथा यसमा छ । दर्शकहरुले रुचाइदिनुहुन्छ जस्तो लाग्छ ।

फिल्ममा धेरै कुराहरु सरप्राइजकै रुपमा आउने छ । ति सबै कुराहरु यहाँ नभनौं, हलमै पुगेपछि सबै थाहा भइहाल्छ । छोरी सान्बिका नै यो फिल्ममा देखिने होइन उनी सानै पनि छिन् । तर अरु दुईचार वटा आहा ! भन्ने किसिमका फ्याक्टरहरु चाहीं समेटिएको छ । धेरै जनाले मेरो श्रीमती पनि फिल्ममा देखिनुहुन्छ कि भनेर सोधिरहनु भएको छ तर यसलाई मैंले गोप्य नै राखेको छु । त्यसबारेमा पनि हलमै गएर हेर्नुहोला भन्न चाहन्छु ।

यतिबेला म निर्माताका रुपमा धेरै चुनौतिहरुको सामना गरिरहेको छु । कलाकार हुँदा अभिनय कस्तो भयो होला भन्ने मात्र हुन्थ्यो तर निर्माता बनेपछि अलग्गै जिम्मेवारी हुने रहेछ । पूरै टिमलाई पनि मैले बोकेर हिड्नपर्छ । सबैको बारेमा सोच्नुपर्छ । कसैको चित्त नदुखोस् कसैलाई नराम्रो नलागोस् भनेर काम गर्नुपर्ने रहेछ । साथै रिलिजको बेलामा पनि अलि धेरै प्रेसर हुँदो रहेछ । पुरै टिमलाई म्यानेज गरेर हिड्न कठिन भइरहेको छ । पोस्ट प्रोडक्सन एकतिर चलिराखेको छ भने प्रमोसन अर्कातिर चलिराखेको छ । सबैतिर ध्यान दिइराख्नुपरेको छ । ठूलो लगानी परेको छ, उठ्ने हो कि होइन भन्ने चिन्ता पनि थपिएको छ ।

अहिले हाम्रो ट्रेलर कन्टेन्ट दर्शकले मन पराउनु भएको छ । त्यो हेर्दा सायद सिनेमा रुचाइदिनुहुन्छ होला जस्तो लागिरहेको छ । एकदमै सकरात्मक छु । सामाजिक सञ्जालमा जसरी प्रतिक्रियाहरु दिनुभएको छ, प्रमोसनमा जाँदा पनि राम्रो प्रतिक्रिया पाइरहेको छु । नेपाली फिल्ममा काम गर्न थालेको २६ वर्ष भयो । फिल्म बाहेक अरु केही केहीमा पनि काम गरेको छैन् । त्यसकारण पनि सबैले मन पराइदिनुहुन्छ होला ।

जतिपनि सिनेमामा मैंले लिड भूमिकामा खेंले तर व्यवसायिक रुपमा सफल भएनन् । त्यसले गर्दा म एउटा मेकर धेरै कुरामा लगानी गरेको छु । म बच्चा नै पनि भएकाले धेरै कुरालाई ध्यान नदिएको हुनसक्छ । मैंले पनि भूमिका छान्दा ध्यान दिनुपर्छ । रंगीमा चाँही फुड डेलीभरीको भूमिकामा देखिएको छु ।

फिल्ममा भर्खरै रिलिज भएको ‘तिमीले रेट्यौ मनको तार’ गीत एकदमै चलिरहेको छ । ५० हजारमाथि टिकटक बनिसकेका छन् । यही गीतले गर्दा पनि भ्यालेन्टाइ डे हामीले रोजेका हौं । प्रेम गीत अर्थात भ्यालेन्टाइनस् भन्ने वित्तिकै मायाको उत्सव जस्तो दिन भएकाले रिलिज मिति तोकेका हौं । भ्यालेन्टाइन डे रंगीका लागि उपयुक्त समय हो जस्तो लागेको छ ।
अहिले नेपाली सिनेमाले जसरी व्यापार गरिरहेको छ, त्यो देख्दा मलाई उत्साह पनि थपिएको छ । किनभने भर्खरै ‘छक्का पंजा’, ‘१२ गाँउ’, ‘ज्वाँइसाब’ एकै दिन आउँदा तीन वटाले नै एकदमै राम्रो व्यापार गरेका छन् । त्यसैले रंगीलाई पनि बजारमा त्यस्तो धेरै समस्या पर्छ जस्तो लाग्दैँन् । पछिल्लो समय नेपाली फिल्मले एकदमै राम्रो काम गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास रचेको छ । राम्रो कामलाई दर्शकले रुचाइ दिनुहुन्छ ।

हलमा सिनेमा चलाउने कुरा सामान्य पनि होइन् । हलका फिल्म लगाउने विषयमा राजनीतिकीकरण हुन्छ भन्ने त लाग्दैन् । म नयाँ निर्माता भएकाले पनि धेरै अनुभव गर्न पाएको छैन् । त्यसकारण मैले बुझिसकेको भने छैन् । हल संचालकहरुले राम्रो साथ दिइरहनुभएको छ । तर सिनेमा प्रदर्शन गर्न एकदमै चुनौतीपूर्ण काम रहेछ एकदमै गा¥हो काम रहेछ । एउटा सानोतिनो लडाई नै रहेछ, म लड्दै छु ।

रंगी आफैंले देखेको भोगेको बुबाबाट प्रोत्साहित भएर बनाएको कथा हो । नेपाली समाजमा कस्तो छ भने बाबा भनेपछि एउटा बलियो मान्छे, उसलाई केही पनि हुदैँन् भन्ने खालको बन्नैपर्ने उदाहरण छ । बुबाभित्रको पीडा, संघर्ष र सबैको अगाडि बलियो बन्दा आफूभित्र के महशुस भइरहेको हुन्छ होला भन्ने यसले देखाउँछ । किनभने बुबाको दुखाई त भित्र हुन्छ नी ।
यसको साथै छोरीहरुको सम्बन्ध बाबाहरुसँग कस्तो हुन्छ, बाबा र छोरीको सम्बन्ध कस्तो हुन्छ यो कुरालाई पनि देखाउन खोजेका छौं । मेरो आफ्नै पनि छोरी छ त्यसपछि झन मैंले कतिवटा कुराहरु महशुस गरे त्यहाँबाट सुरु भएको हो रंगी । मैले विशेष रुपमा बाबा र छोरीको सम्बन्ध देखाउन खोजेको हुँ ।

काठमाडौं उपत्यका भित्रै छायांकन भएकाले छोरी पनि साथै हुन्थिन । छोरीको भूमिका खेल्नुभएको आयुषिले धेरै राम्रो भूमिका निर्वाह गर्नुभएको छ । सुटिङ्भरको समयमा आयुषि छोरी जस्तै लाग्छ । मैले भन्न पनि छोरी नै भन्छु, त्यो एउटा सम्बन्ध पनि बन्यो । मेरो आफ्नो छोरी पनि ठूलो भएर यस्तै हुन्छ होला जस्तो लाग्छ । आयुषि मनको लागि एउटा नयाँ परिवार थपिएको जस्तो पनि लाग्यो ।

यो फिल्म नेपालमा रिलिज भएपछि मिडिल इस्टभरी अर्थात युएइ, कतार, ओमान, कुबेत, मलेसिया, जापान, युरोपको माल्टा र अष्ट्रेलियामा फिल्म रिलिज हुने लगभग तय भइसकेको छ ।यतिबेला भ्यालेल्टाइन डेको मौसम भएकाले यसको पनि राम्रो र नराम्रो दुवै पक्षहरु छन् । तर अब विस्तारै सुधार हुदैँ जाने प्रयास गर्नपर्छ । एकदमै नराम्रो मात्र हुन्छ भनेर पनि भन्दिन् किनभने म आफैले भ्यालेन्टाइन डे मनाइरहेको छु । यस दिनले माया अझ धेरै गाढा हुने र धेरै गहिरो बन्नसक्छ ।

प्रधानमन्त्रीसँग ‘युनिभर्सल पिस फेडेरसन’का अध्यक्ष याङको शिष्टाचार भेट

काठमाडौँ, १ फागुन ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग युनिभर्सल पिस फेडेरसनका अन्तर्राष्ट्रिय अध्यक्ष डा चाल्र्स एस याङले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गर्नुभएको छ ।

सुनहक शान्ति पुरस्कार फाउण्डेसनका अध्यक्षसमेत रहनुभएका याङले नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठका अवसरमा उक्त सम्मेलनमा विशेष अतिथिका रुपमा उपस्थित भई सम्बोधन गरिदिनसमेत आग्रह गर्नुभयो । 

साथै उहाँले दुई कोरियाबीचको शान्तिपूर्ण पुनःमिलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो । भेटका अवसरमा नेपाल परिवार दलका अध्यक्ष एवं सङ्घीय सांसद एकनाथ ढकालसमेत सहभागी हुनुहुन्थ्यो ।

‘चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’ सञ्चालनको पहल गरिने : मन्त्री शाही

काठमाडौँ, १ फागुनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको सम्झनामा ‘चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’ सञ्चालन गर्न पहल गरिने बताउनुभएको छ ।

संरक्षण समूह नेपालले आज यहाँ आयोजना गरेको शर्पाको श्रद्धाञ्जलीसभामा वनमन्त्री शाहीले शर्पाको योगदान संरक्षण क्षेत्रमा अविष्मरणीय रहने बताउनुभयो । मन्त्री शाहीले भन्नुभयो, “अब चुङ्बा शेर्पा नाम सुन्नासाथ हामीलाई नेपालको वन्यजन्तु फोटोग्राफीमा एउटा अद्वितीय पहिचान बनाएको व्यक्तित्वको याद आउँछ । उहाँले दुर्लभ वन्यजन्तुहरूको तस्बिरहरू खिचेर विश्वसामु नेपालको जैविक विविधताको महत्व उजागर गर्नुभयो ।” 

शेर्पाले खिच्नुभएका करिब एक सय तस्बिर राष्ट्रिय प्रकृति संरक्षण कोषको अडिटोरियम हलमा राख्ने गरी  प्रदर्शनी कक्ष निर्माण गरिएको छ । उक्त प्रदर्शनी कक्षको शेर्पा जिवित छँदै कोषका संरक्षक तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । 

बागमती प्रदेशसभा सदस्य याङ्गकीला शेर्र्पाले राज्यले गर्नुपर्ने काम व्यक्तिले गरिरहेकाले सरकार यस्ता विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो । 

संरक्षण समूह नेपालका अक्ष्यक्ष गौरव शमशेर जवराले शेर्पाले वन्यजन्तु तथा प्राकृतिक संरक्षणका विषयमा तस्बीरको माध्यमबाट प्रचार गरेर पर्यटन प्रवर्द्धनमा पुर्‍यउनुभएको योगदानको प्रशंसा गर्नुभयो । 

नेपाल वातावरण पत्रकार समहू (नेफेज)का अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले नेपाली फोटोग्राफी क्षेत्रमा शेर्पाको योगदानको चर्चा गर्नुभयो ।     संरक्षण समूह नेपालका उपाध्यक्ष किशोर थापाले प्रकृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण राष्ट्रिय सुरक्षासँग सम्बन्धित काम गरिरहेको जानकारी दिनुभयो ।  

पशुपतिमा महाशिवरात्रि व्यवस्थित रुपमा सम्पन्न गर्न महाशिवरात्रि मूल समारोह समिति गठन

काठमाडौँ, १ फागुन : पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थित रुपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन भएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेको सभापतित्वमा आज बसेको परिषद्को बैठकले सो समिति गठन गरेको हो । समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । 

पशुपति क्षेत्रमा रङरोगन, भित्तेचित्र लेखन, बत्ती व्यवस्थापनलगायत सुरु गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १४ गते परेको छ ।

फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश

काठमाडौँ, १ फागुन : सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवलाई बोलाउने आदेश गरेको छ ।

न्यायाधीश डा कुमार चुँडाल र महेश शर्मा पौडेलेको संयुक्त इजलासले आज एफोर्ट ल्याबका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, अधिवक्ता विक्रम मिश्रले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाई छुट्टाछुटै दायर गर्नुभएको रिट निवेदनमा उक्त आदेश गरेको हो ।

उक्त विषयमा छलफल गर्न मुख्य सचिव, सहरी विकास मन्त्रालयका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, बागमती प्रदेश सरकारका मुख्यसचिव, स्थानीय तह हेर्ने सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, काठमाडौँ महानगरपालिका, ललितपुर महानरपालिका र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई आगामी चैत ११ गते अदालतले बोलाएको छ ।

कुहिने र नकुहिने फोहर सङ्कलन र विसर्जनका लागि आवश्यक पूर्वावस्था, चुनौती एवं समाधानका उपाय, काठमाडौँ उपत्यका फोहर व्यवस्थापन सम्बन्धमा केन्द्र, प्रदेश र स्थानीय तहबाट अवलम्बन गरिने दीर्घकालीन उपायका विषयमा छलफल गर्ने  आदेशमा उल्लेख छ ।

संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशका सन्दर्भमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा उनले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताएका हुन् ।

‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा सङ्घर्ष चलिरहेकै छ । हामीले धेरै वर्ष पहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि यसलाई जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ’, अध्यक्ष दाहालले भने “एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लगेरै छाड्छौँ ।’

माओवादीले समुदायतर्फ फर्कदै जनताका ‘एजेण्डा’लाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेकोे उनले बताए । राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले महसुस गर्नेगरी उनीहरुको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए।

त्यसअवसरमा अध्यक्ष दाहाललगायत माओवादी नेताहरुले पार्टी कार्यालय परिसमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १ फागुनः स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो ।

बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।

आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी, आजदेखि महोत्सव

फिक्कल (इलाम), १ फागुनः दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ ।

स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताउनुभयो । “शनिबार र सार्वजनिक बिदाको दिन पोखरीमा आउने पर्यटकको भीडभाड हुने गर्दछ”, उहाँले भन्नुभयो ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माई नगरपालिकामा आजदेखि तेह्रकुनेपोखरी पर्यटन महोत्सव हुँदैछ । स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा महोत्सव हुन लागेको हो ।

यही फागुन ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिका संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनको प्रयास गरिने महोत्सव आयोजक समितिका अध्यक्ष पदम राईले बताउनुभयो । महोत्सवमा आदिवासी लिम्बू, राई, मगर, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।

“यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिका संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि तीनै दिन अलगअलग कार्यक्रम तय गरिएको छ”, अध्यक्ष राईले भन्नुभयो, “प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ ।”

किरातीहरुको प्रथम राजा ‘यलम्बर’को मूर्ति स्थापना सहयोगार्थ प्रत्येक दिन साँझमा ‘यलम्बर साँझ’ साङ्गीतिक कार्यक्रम तय गरिएको छ । कार्यक्रममा पहिलो दिन गायक तथा सङ्गीतकार कृष्णभक्त राई, दोस्रो दिन हास्यकलाकार पदम राई र तेस्रो दिन हास्यकलाकार विलसनविक्रम (तोक्मे बुढा) को प्रस्तुति रहनेछ ।

यसैगरी, लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला सिली, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनी नृत्यलगायत प्रस्तुत हुने उहाँले बताउनुभयो । महोत्सवले तेह्रकुनेपोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले बताउनुभयो ।

“विगत चार वर्षदेखि यहाँका स्थानीयले बर्सेनि महोत्सव आयोजना गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “यसले तेह्रकुनेपोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नमा सहयो पुगिरहेको छ भन्नेमा विश्वस्त छु ।” उहाँले तेह्रकुनेपोखरीको प्रवद्र्धन र संरक्षणमा नगरको तर्फबाट सधैँ साथ रहने बताउनुभयो ।

सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा अवस्थित तेह्रकुनेपोखरीसम्मको सडक विस्तार जारी छ । अन्य भौतिक पूर्वाधार पनि धमाधम बनिरहेकाले यो पोखरी अधिकभन्दा अधिक पर्यटकको प्रमुख गन्तव्य बन्ने अध्यक्ष राईको विश्वास छ ।

खुला हृदयका साथ आफ्ना कमजोरीको समीक्षा गर्दै अघि बढिरहेका छौँ – प्रचण्ड

काठमाडौँ, १ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र सङ्घर्षका सन्दर्भमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनुभएको छ ।

सशस्त्र सङ्घर्षका कारण आज मुलुकमा राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको उल्लेख गर्नुभएको छ ।

“हामी एउटा विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भयौँ । यो हामीले गरेको नयाँ प्रयोग हो । इतिहासमै पहिलोपटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भयौँ । राज्यको पुनर्संरचना गरियो । समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो । यो जनयुद्धकै कारण सम्भव भएको हो । यो प्रक्रियामा हामीबाट कतिपय कमीहरू पनि भए तर हाम्रो नियतमा कहिल्यै खोट थिएन । हामी यथास्थितिमा बस्न चाहेनौँ । हामी नेपाली जनता र नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौँ । त्यसैले, हामी खुला हृदयका साथ आफ्ना कमजोरीको पनि समीक्षा गर्दै अघि बढिरहेका छौँ ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

अध्यक्ष दाहालले सशस्त्र सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरुप्रति सम्मान र घाइते भएकाको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरुप्रति सम्मान र घाइते भएकाको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समित र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकामा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था समितिको बैठक दिउँसो साढे १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

आजदेखि पोखरामा फोहोर उठ्ने

पोखरा । पोखरामा आजदेखि फोहोर उठ्ने भएको छ । पोखरा महानगरपालिकाको कार्यालय, वडा कार्यालय ३२ र लामेआहालस्थित स्थानीयवासीबीच बुधबार साँझ १४ बुँदे सहमति भएपछि आजदेखि पोखरामा फोहोर उठ्ने भएको हो ।

पोखरा महानगरपालिकासंग भएको सहमति बमोजिम पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने महानगरपालिकाले जानकारी दिएको छ । उक्त सहमति कार्यान्वयन गर्न महानगरपालिकाले १५ दिनको समय दिइएको छ ।

पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले १५ दिनभित्र महानगरले पूर्वसहमति कार्यान्वयन नगरे लामेआहालमा फेरि फोहोर फाल्न रोकिने बताए । यदि सहमति कार्यान्वयनमा भए अबको एकवर्षसम्म समय थप हुन सक्ने सरोकारवालाबीच छलफलमा सहमति जुटेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
बुधबारको छलफलमा पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, महाशाखा प्रमुख बिमल रञ्जन कार्की, महानगर प्रवक्ता एवं वडा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, नेपाली काँग्रेसका दिवसमान प्रधानाङ्ग, सरोकारवाला टोलका अध्यक्षहरु सहभागी थिए ।

पोखरा–३२ स्थित लामेआहालमा फोहोर बिसर्जन हुँदैआएकोमा स्थानीयले सम्झौता अवधि सकिएको भन्दै फोहोर बिसर्जन रोकेका छन् । महानगरबाट फोहोर संकलन गरेर त्यहाँ बिसर्जन गर्न गएका गाडीलाई उनीहरुले छेकेर राखेका थिए। दुई वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएसँगै पोखरा–१४, बाच्छिबुडुवाबाट ल्याण्डफिल साइट अस्थायीरुपमा पोखरा–३२, लामेआहाल सारिएको थियो ।

शुरुमा ६ महिनाका लागि स्थानीयसँग १६ बुँदे सम्झौता गरिएकोमा म्याद सकिएपछि दोस्रोपल्ट १४ बुँदे सहमति भएको थियो । उक्त म्यादसमेत २३ माघदेखि सकिएको छ ।

ल्याण्डफिल साइट प्रभावित स्थानीयले महानगरसँग पूर्व सहमति कार्यान्वयनमा जोड दिनुपर्ने अडान राख्दै आएका छन् । फोहोर फालेवापत् पोखरा ३२ वडा कार्यालयलाई बर्सेनि ५ करोड रुपैयाँ थप बजेट दिने पूर्व सहमति भए पनि २ वर्ष बितिसक्दा साढे ८ करोडमात्रै प्राप्त भएको बताइएको छ ।

पोखरामा दैनिक १५० टन जति फोहोर संकलन हुने गरेको महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले बताए । त्यसका लागि ८ कम्पनीलाई फोहोर संकलन जिम्मा दिइएको छ । दैनिक तालिका बनाएर फोहोर संकलन गरिरहेका ती कम्पनीलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको थियो ।पोखराको फोहोर समस्या स्थायीरुपमा समाधान गर्न महानगरले वडा–३३, भरतपोखरी स्थित पुँडिटार क्षेत्रमा प्रशोधन केन्द्र निर्माणको तयारी गरेको छ । त्यसका लागि १७ जना जग्गाधनीहरुसँग ९३ रोपनी जग्गा अधिग्रहण गरेर राखिएको छ । तर, निर्माण प्रारम्भ हुन सकेको छैन ।

क्राइम थ्रिलर ‘११ः५५’ को क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । अगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सिनेमाका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।

सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनालको सार्वजनिक लुक्समा उनीहले निवार्ह गरेको भूमिका अनुसार नै प्रस्तुत छन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमामा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

चिनियाँ उद्योगमा स्मार्ट टेक्नोलोजी र डिजिटलीकरणको तीव्र विस्तार

चीनले औद्योगिक डिजिटलाइजेसन र बौद्धिक स्तरवृद्धिलाई गति दिन ३० हजार भन्दा बढी आधारभूत स्तरका स्मार्ट कारखाना निर्माण गरेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआइआइटी) ले जनाएको छ ।

चीनको स्मार्ट फ्याक्ट्री ग्रेडियन्ट कार्य अन्तर्गतको पहलले एक हजार २०० उन्नत स्तर र २३० उत्कृष्ट स्तरका स्मार्ट कारखाना सृजना गरेको छ । मन्त्रालयका अनुसार यो उपलब्धिले देशको उत्पादन परिदृश्यलाई पुनः आकार दिनमा भएको महत्वपूर्ण प्रगतिलाई उजागर गर्दछ ।

दुई सय ३० उत्कृष्टता स्तर कारखाना चीनका ३१ प्रान्तीय क्षेत्रमा ८० प्रतिशत भन्दा बढी उत्पादन क्षेत्र समेटेका छन् । यस अन्तर्गत एआई–संचालित गुणस्तर निरीक्षण र डिजिटल अनुसन्धान तथा विकास सहित लगभग दुई हजार उन्नत परिदृश्यहरू सम्पन्न गरेको एमआइआइटीले जनाएको छ ।

यसमा आवश्यक स्मार्ट निर्माण उपकरण, औद्योगिक सफ्टवेयर र स्मार्ट निर्माणको विशिष्ट परिदृश्यहरूमा केन्द्रित प्रणालीहरू प्रयोग गर्ने समावेश छ ।त्यसो गरेर, तिनीहरूले वास्तविक–समय डेटा सङ्कलन, मुख्य उत्पादन प्रक्रियाको स्वचालन, उत्पादन र परिचालन व्यवस्थापनको सूचनाकरण बढाउन र केही पक्षहरूमा बुद्धिमत्ता अन्वेषणको उपयोग गर्न सक्छन् ।