`

आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको छः अध्यक्ष दाहाल

बागमती, ३ फागुन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ । मकवानपुरको बागमती गाउँपालिकामा आज स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी तपाईंहरूले योजना र कार्यक्रम बनाएर अघि बढ्नुस् ।” पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले जनता केन्द्रित भएर आगामी दिनमा योजनाबद्ध रूपमा काम गर्नुपनर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न सबैलाई निर्देशन दिनुभयो । 

माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीको केन्द्रीय सङ्गठनले योजना अघि सारेको बताउनुभयो । उहाँले आजै मकवानपुरका सहिद परिवारसँग पनि भेटघाट गर्नुभएको थियो ।

बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ : मेयर पाण्डेय

बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ । सङ्घीयता कार्यान्वयनपश्चात्को दोस्रो कार्यकालका रूपमा देशभरका सात सय ५३ स्थानीय तहहरूमा जनप्रतिनिधि स्थानीय विकास, कानुन निर्माण र सङ्घीयताको अभ्यास गरिरहेका छन् ।

यीमध्येको एक बुटवल उपमहानगरपालिकाले यसबीचमा विकास निर्माण, कानुन निर्माण र सङ्घीयताको मर्मबमोजिमका कामहरू गर्दै आएको छ । देशको मध्यभागमा रहेको यो क्षेत्रको बलियो स्थानीय सरकारका रूपमा बुटवल उपमहानगरपालिकालाई चिनिन्छ ।

विगतमा खस्यौली, बटौली, बुटौलजस्ता नाममा स्थापित अहिलेको बुटवल सयौँ वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अङ्ग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए ।

नुन र कपडाको व्यापारसँग जोडिएको महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको विस्तारपछि बुटवलले एक सय वर्षअघिदेखि मात्रै आधुनिक स्वरूप पाएको हो । यो आधुनिक सहरमा स्थानीय सरकारको नेतृत्व गरिरहेका उपमहानगर प्रमुख खेलराज पाण्डेयसँग यस साढे दुई वर्षका अनुभवहरूलाई आधार मानेर कुराकानी गरेका छौँ । प्रस्तुत छ, पाण्डेयसँग रासस लुम्बिनी प्रदेश कार्यालयबाट वरिष्ठ समाचारदाता भरत केसीले गरेको कुराकानीको सम्पादित अंशः

–कार्यभार सम्हालेको साढे दुई वर्षको अनुभव कस्तो रह्यो ?

स्थानीय सरकारका रूपमा हामीले दोस्रो कार्यकालको रूपमा कार्यभार सम्हाल्दै गर्दा धेरै चुनौतीहरू हाम्रासामु थिए । सङ्घीयताको अभ्यास राम्रोसँग हुन पाएकै थिएन । पहिलो कार्यकालमा सुरू भएका केही अभ्यासहरू हामीमा आइपुग्दासम्म अर्कै अवस्थामा पुगेका थिए । पहिलो वर्ष सिक्दासिक्दै केही कामहरू अगाडि बढाइयो । दोस्रो वर्ष योजनालाई कार्यान्वयनको चरणमा पुर्‍याएर केही नतिजा दिनसक्ने अवस्थाको सिर्जना भएको छ । साढे दुई वर्षमा बुटवलमा हामीले केही नतिजा दिनसक्ने अवस्थामा पुगेका छौँ ।

–बुटवल उपमहानगरपालिकाले मानव संसाधनको विकासमा परिणामनै देखिनेगरी त्यस क्षेत्रमा के कस्ता काम भएका छन् ?

बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरू अगाडि बढाइएको छ । विकास सँगसँगै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन र सेवा–सुविधामा सुधार ल्याउनका लागि हामी सङ्घ र प्रदेश सरकारसँग साझेदारी गर्दै अगाडि बढिरहेका छौँ ।

सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवाहरू सुरू गरेका छौँ । बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरण, अपाङ्गता परिचयपत्र वितरण, सुत्केरीको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायत कार्यक्रम नागरिकको घरदैलोमै पुर्‍याइएको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्दै नगरवासीलाई आत्मनिर्भर बनाउने योजना अगाडि सारिएको छ ।

स्वरोजगार सिर्जना गर्दै नगरवासीलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र सीपयुक्त तालिम सञ्चालन भइरहेका छन् । हामीले भौतिक विकासले मात्रै पुग्दैन, मानिसको सर्वाङ्गीण विकास जरूरी छ भन्ने मान्यताका साथ सबैजसो उमेर अवस्थाका बासिन्दालाई लक्षित गरेर कार्यक्रम अगाडि बढाएका छौँ । बुटवलले गृहणी तथा युवालाई स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने उद्देश्यले गृहणी स्वरोजगार कार्यक्रम, महिला उद्यमशीलता, युवा इलमजस्ता कार्यक्रममार्फत सीप र रोजगारसँग जोड्दैछौँ ।

यस्तै, बुटवलमा अस्पतालमा चाहिने जनशक्ति उत्पादनका लागि बुटवल उपमहानगरपालिका स्थानीय समितिको संयोजक रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पारामेडिकलको अध्ययन सुरू गरेका छौँ । यहाँबाट उत्पादन हुने जनशक्ति बुटवलमै खपत हुनेछ । त्यसका लागि आम्दालाई स्तरोन्नति गरी तीन सय श्ययामा पुर्‍याउँदैछौँ ।

हामीले भौतिक पूर्वाधारमात्रै होइन मानव संसाधनको विकासमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ भनेर यी कार्यक्रमहरू अगाडि बढाएका हौँ । बुटवलको अहिलेको माग मानव संसाधनको विकासमा पनि उत्तिकै छ । यसको अर्थ, भौतिक पूर्वाधारका क्षेत्रमा काम भएको छैन भन्ने चाहिँ होइन ।

–भौतिक पूर्वाधारका क्षेत्रमा के कस्ता कामहरू भएका छन् ?

बुटवल भौतिक पूर्वाधारमा अगाडि छ । हामीसँग राष्ट्रियस्तरका संरचनाहरू छन् । सङ्घीय सरकारद्वारा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी हल छ । ढुवानी ग्राम, व्यवस्थित अटो भिलेज, खेल मैदानहरू बनेका छन् । प्रदेश सरकारको प्रदेश गौरवको योजनाअन्तर्गत बजेट विनियोजन भएर लुम्बिनी प्रादेशिक अस्पताल आधुनिक सुविधा सम्पन्न भवन निर्माणको क्रममा छ । आम्दा अस्पतालका नयाँ भवन बन्दैछन् । सपिङ मलहरू, ठूला ठूला तारे होटलहरू सञ्चालनमा छन् भने केही निर्माणका क्रममा छन् । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर पशु बधशाला सञ्चालनमा आएको छ । विद्यमान पार्किङको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टी डेफोर्ट हार्मोनिक जेभीसँगको सहकार्यमा नगरले बहुतले पार्किङ भवन निर्माणका लागि काम अगाडि बढाएको छ ।

नगरका अधिकांश भित्री सडकहरू पक्की र फराकिला बनेका छन, केही निर्माणकै चरणमा छन् । छाडा चौपायाको समस्या निराकरणका लागि बुटवलको शिवनगर सामुदायिक वनमा गौचरणसहितको गौशाला सञ्चालनमा ल्याइएको छ । यी बुटवलका लागि महत्वपूर्ण योजनाहरू हुन् । अझै पनि केही चुनौतीहरू छन्, ती क्षेत्रमा हामीले क्रमैसँग समाधान गर्दै अगाडि बढिरहेका छौँ ।

–शिक्षा र स्वास्थ्यमा बुटवल अग्रणी सहरका रूपमा स्थापित भइसक्यो भन्ने विषय पनि यहाँले उठाउँदै आउनुभएको छ, यसका आधारहरू के हुन् ?

बुटवल यसै पनि शिक्षामा अब्बल क्षेत्र हो । माध्यमिकस्तरमा देशमै उत्कृष्टमध्येका कालिका मावि, नवीन औद्योगिक मावि, कान्ति माविजस्ता सार्वजनिक विद्यालयहरू छन् । जहाँ विद्यार्थीलाई भर्नाका लागि पालो कुर्नुपर्ने अवस्था छ । निजी क्षेत्रबाट पनि उत्तिकै स्तरीय शिक्षा प्रदान भइरहेको छ । एसइई होस् वा उच्च शिक्षा बुटवलले देशमै ख्याति कमाएको छ । हामीले आन्तरिक स्रोतबाट मात्रै यो वर्ष शिक्षामा रू १० करोड जति बजेट छुट्याएका छौँ ।

प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल–१६ मा कृषिविज्ञान (बिएससीएजी) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । अटो भिलेजमा इञ्जिनियरिङ अध्ययन गराउनका लागि पहिलो चरणको अध्ययन पूरा भएर काम अगाडि बढेको छ । स्वस्थ शिशु पोषण कार्यक्रमअन्तर्गत नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरूलाई प्रोत्साहनस्वरूप रू दुई हजार र एचआइभी सङ्क्रमित बालबालिकालाई मासिक रू तीन हजार पोषण खर्च प्रदान गर्दै आएका छौँ ।

नगरमा अहिले १५–१५ बेडका दुईवटा अस्पताल निर्माण सम्पन्न भइसकेर सञ्चालनको तयारीमा रहेका छन् । बुटवल उपमहानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टकीकृत अस्पतालका रूपमा स्तरोन्नति गर्न तीन सय श्ययामा स्तरोन्नति गर्ने काम अगाडि बढेको छ । बुटवलमा पिपीपी मोडेलमा एक सय श्ययाको अस्पताल स्थापना गर्ने योजनासहित सरोकारवालासँग छलफल चलाइरहेका छौँ ।

–बुटवलमा कृषियोग्य जमिन घट्दै गइरहेको छ, यसलाई जोगाइराख्न के योजना छन् ?

बुटवलमा बसाइँसराइका कारण कृषियोग्य भूमि घट्दो अवस्थामा छ । अहिलेको अवस्थामा १९ वटा वडामध्ये १ देखि १२ वडासम्म कृषियोग्य जमिन एकदमै न्यून छ । १ देखि ११ वडासम्म त कृषिका लागि जमिन नै छैन भन्दा पनि हुन्छ । वडा नम्बर १३ देखि १९ वडामा कृषियोग्य जमिन रहेको छ । त्यो पनि विस्तारै घट्दो क्रममा छ । यसलाई जोगाइराख्नका लागि नगरले कृषिलाई प्रोत्साहन गर्ने हो । व्यक्तिको जमिन किनबेचमा रोक लगाउन सम्भव छैन । देशका मुख्य सहरहरूको मुख्य चुनौती यही हो । कृषियोग्य जमिन घट्दै गएको छ र बस्ती बाक्लिदै गएको छ । बस्ती बाक्लिदै जाँदा कृषिउपजको माग बढ्दो छ । तर आफूसँग भएको जमिन घडेरी भइसकेको छ । यसले हामीलाई परनिर्भर बनाउँदै लगेको छ । यसमा हामीले किसानलाई प्रोत्साहन दिएर कृषियोग्य जमिन बिक्री गर्नमा भन्दा खेतीपाती गर्नमा आकर्षित गर्ने प्रयास गरिरहेका छौँ ।

स्थानीय स्रोतसाधनले ठूलो लगानी गर्न सकिँदैन । तर पनि, हामीले मकैबाली, तरकारी खेती, पशुपंक्षी पालन गर्नेलाई बीउ र सहायतास्वरूप केही सामग्री, उपकरण तथा उत्पादनमा आधारित अनुदान उपलब्ध गराइरहेका छौँ । दुग्ध उत्पादनलाई वृद्धि गर्नका लागि भैँसीको पाडी खरिदमा अनुदान दिने गरेका छौँ । सहरी बस्तीमा कौशीखेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि सञ्चालन गरेका छौँ । यसले केही हदसम्म कृषियोग्य जमिनमा खेतीपाती गर्नका लागि प्रोत्साहन गर्नसक्छ भन्ने हो ।

–बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थल बनाउन के योजना छन् ?

हामीले पर्यटनका लागि उपयुक्त वातावरण तयार गर्ने हो । त्यसमा हामीले स्थानीय पर्यटन उद्यमीलाई साथमै लिएर कार्यक्रम सञ्चालन गरिरहेका छौँ । बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै अन्य पर्यटकीयस्थलसँग तिनलाई जोडेर पर्यटकीय विश्रामस्थलको रूपमा बुटवललाई विकास गर्ने लक्ष्य छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवेशष फेला परेको स्थल, सिद्धबाबा मन्दिर हुँदै बुटवललाई मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रूट निर्माण गरी पर्यटन प्रवद्र्धनका योजना छन् । बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्न नगरको सौदर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो सहर निर्माण अभियान चलाइएको छ । उज्यालो बुटवल कार्यक्रमअन्तर्गत नगरका २३ स्थानमा हाइमास्ट लाइट जडान गरेर बाँकी स्थानमा यसै वर्ष जडानको काम सुरू भएको छ ।

बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर जोडने लुम्बिनी केबलकार र बुटवल–नुवाकोट जोडने सिद्र्धाथ केबलकारले यो क्षेत्रलाई अझ चलायमान बनाएका छन् । निजी क्षेत्रले पनि आर्थिक केन्द्रको रूपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने अपेक्षासहित ठूला, स्तरीय तथा तारे होटलहरूमा लगानी गरिरहेका छन् ।

–बुटवलको मुख्य चुनौतीका रूपमा रहेका ज्योतिनगर पहिरो, अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या, तिनाउ नदी कटानका विषयमा के योजना छन् ?

यी चुनौतीको सामना गर्दै समाधान गर्नका लागि हामीले निर्वाचित भएदेखि नै काम गरिरहेका छौँ । ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा हामीले वर्षायाम लागेपछि छुट्टै टिम नै बनाएर हरेक दिन आउने पहिरो र ढुङ्गाहरू बस्तीमा जान नदिने गरी काम भइरहेकै छ । तिनाउ नदी कटान हुने क्षेत्रमा पनि बस्ती जोगाउनका लागि तटबन्धको काम भइरहेकै छ ।

–अन्त्यमा बुटवल कहिले महानगर बन्छ ?

हो, बुटवल अब महानगरपालिका बन्न तयार छ । यसका लागि सबै पूर्वाधार र मापदण्डहरू पनि पूरा भएका छन् । बुटवललाई आममानिसको रोजाइको सहर बनाउने, सबैखालका सेवासुविधा सहज र सर्वसुलभ रूपमा उपलब्ध हुने अवस्थाको सिर्जना गर्नतर्फ हामीहरू लगिपरेका छौँ । यसमा बुटवलका बासिन्दा, उद्योगी व्यवसायी, विभिन्न पेसामा संलग्न व्यक्तित्वहरू, कर्मचारी, सामाजिक अगुवा, विकासका अगुवाहरूसहितको सहयोगको खाँचो रहन्छ । हामी सधैँ सबै पक्षलाई समेटेर अगाडि बढ्ने पक्षमा रहेका छौँ

मकवानपुरमा नन फायलर करदाता घट्दो, बक्यौता सङ्कलन बढ्दो

बागमती, ३ फागुन : वार्षिक आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी आन्तरिक राजस्व कार्यालय हेटौँडाले अभियान चलाएपछि आयकर दाखिला नगर्ने करदाता (नन फायलर) करदाता घट्दै र बक्यौता सङ्कलन बढ्दै गएको छ ।

घरदैलो कार्यक्रम, एसएमएस, पत्रचाार तथा सङ्घ संस्थासँग नियमित अन्तक्र्रियालगायतका कार्यक्रम सञ्चालन गरेपछि लामो समयदेखि आयकर दाखिला नगरी नन फायलर करदाता र बाँकी बक्यौता क्रमशः घट्दै गएको हो । कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ६५ प्रतिशतभन्दा बढी करदाताले लामो समयदेखि वार्षिक आय विवरण र बक्यौता नबुझाएपछि कार्यालयले त्यस्ता करदाताहरूको अभिलेख तयार पारेर अघि बढेको छ । 

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो उपभोक्ता समितिहरू, धार्मिक समिति, क्लबहरू छन् । “आर्थिक वर्ष २०७९÷८० र सो भन्दा अघिल्लो आवको आय विवरण नबुझाउने करदाता बढी छन्”, प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयो, “त्यसैले आय विवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर अभियान सुरू गरेका छौँ ।” पहिलो चरणमा घरदैलो कार्यक्रम, एसएमएस, पत्रचाार तथा उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी सङ्घलगायतका सङ्घ संस्थासँग नियमित करदाता शिक्षा तथा अन्तक्र्रियालाई अघि बढाइएको उहाँको भनाइ छ । 

प्रमुख कर अधिकृत सुवेदीका अनुसार चालु आव २०८१÷८२ को असारसम्ममा ‘नन फायलर’को सङ्ख्या ३२ प्रतिशतमा झार्ने लक्ष्यका साथ सुरू गरिएको अभियानका कारण माघ महिनासम्ममा नन फायलनर करदाताको सङ्ख्या ५९ प्रतिशतमा झरेको छ । यस्तै केही महिनाअघिसम्म रू ६५ करोड बक्यौता सङ्कलन गर्न बाँकी रहेकोमा अभियान सञ्चालन भएपछि बक्यौता पनि रू ४५ करोडमा झरेको प्रमुख कर अधिकृत सुवेदीले बताउनुभयो ।  

अभियानका क्रममा सो कार्यालयले अन्तःशुल्क ऐनअन्तर्गत इजाजत लिएका करदाताले साउन महिनाभित्र नवीकरण नगरेका दुई सय ३९ करदातालाई एसएमएस पठाएको छ । यस्तै आयकर विवरण पेस नगरी नन फायलर रहेका १० हजार दुई सय तीन करदाताको मोबाइलमा एसएमएस पठाइएको प्रमुख सुवेदीले बताउनुभयो । 

मूल्य अभिवृद्धि कर ऐनअनुसार विवरण पेस गरी एक लाखभन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता रहेका करदातालाई बक्यौता दाखिला गर्न एसएमएस पठाइएको उहाँको कथन छ । यसबाहेक मूल्य अभिवृद्धि करतर्फ नन फायलर रहेका करदातालाई मूल्य अभिवृद्धि कर विवरण पेस गर्न प्रत्येक महिनाको २६ गते फोन तथा पत्र पठाउने गरिएको उहाँले बताउनुभयो ।  

यसका साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउन र बक्यौता असुलीका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख कर अधिकृत सुवेदीले बताउनुभयो । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसायी बिक्री गरिसकेको कारणले पनि समयमा आय विवरण नबुझाउने करदाताको सङ्ख्या बढी देखिएको हुनसक्ने उहाँको कथन छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिने तयारी गरिएको प्रमुख कर अधिकृत सुवेदीले बताउनुभयो । “पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाउँछौँ”, प्रमुख कर अधिकृत सुवेदीले भन्नुभयो, “फागुन महिनासम्म छुट सुविधा पनि दिइएको छ, त्यो बेलासम्म धेरै कर बुझाउँछ भन्ने हाम्रो विश्वास छ ।” फागुन महिनासम्म पनि बक्यौता नबुझाउने करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।” 

लक्ष्यको ८१ दशमलव ४४ प्रतिशत राजस्व सङ्कलन

 आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आव २०८१÷८२ को सात महिनाको अवधिमा रू तीन अर्ब ७० करोड ९१ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८१ दशमलव ४४ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ को सात महिनाको अवधिमा रू चार अर्ब ५५ करोड ४२ लाख नौ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू तीन अर्ब ७० करोड ९१ लाख ४२ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । 

यही साउनदेखि माघ महिनासम्मको अवधिमा अन्तशुल्कतर्फ रू दुई अर्ब १२ कारेड १६ लाख २९ हजार, आयकरतर्फ रू ६५ करोड ५८ लाख ८१ हजार, मूल्यअभिवृद्धि करतर्फ रू ५० करोड ४७ लाख ९३ हजार, स्वास्थ्य जोखिम करतर्फ रू ३५ करोड ६७ लाख ३१ हजार, ब्याजकरतर्फ रू पाँच करोड ९१ लाख तीन हजार र बहालकरतर्फ रू एक करोड १० लाख छ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताउनुभयो । 

    प्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ मा रू आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार आठ सय ४९, अन्तशुल्कतर्फ एक हजार पाँच सय ९८, ‘विथहोल्ड’तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् । 

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

यस्तो छ आजको तरकारी एवं फलफूलको मूल्यसूची

काठमाडौँ, ३ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३५, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ८०, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३० र भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु ७०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ४५, घिउ सिमी (राजमा) प्रतिकेजी रु ११०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ९०, लौका प्रतिकेजी रु ६०, घिरौला प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भेण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी रु ८०, बरेला प्रतिकेजी रु ३०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १२० र च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु १८०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ७०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २४०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २३०, अङ्गुर (कालो) प्रतिकेजी रु ३३०, सुन्तला (नेपाली) प्रतिकेजी रु १६०, सुन्तला (भारतीय) प्रतिकेजी रु १२०, तरबुजा (हरियो) प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १४०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुख कटहर प्रतिकेजी रु ११०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ४५० र किबी प्रतिकेजी रु २५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, भेडेखुर्सानी प्रतिकेजी रु ६५, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिने : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५०० अर्ब अमेरिकी डलरको लक्ष्य राखेको बताउनुभएको छ । दुवै देशका टोलीहरूले पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई अन्तिम रूप दिन सँगै काम गर्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भन्नुभयो,“अमेरिकाका जनता ट्रम्पको आदर्श वाक्य ‘समृद्धिका लागि मेगा साझेदारी’ (मगा) बारे सचेत छन् । साथै, भारतका जनता विकसित भारत सन् २०४७ को लक्ष्य तर्फ अघि बढिरहेका छन् ।”

“उहाँले भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न भारत र अमेरिकाले तेल र ग्यास व्यापारलाई बलियो बनाउने बताउनुभयो । जब अमेरिका र भारत मिलेर काम गर्छन्, यसले हाम्रो उद्देश्यहरूलाई नयाँ उचाइ दिन्छ ।”

“हामीले हाम्रो द्विपक्षीय व्यापारलाई सन् २०३० सम्ममा दोब्बरभन्दा बढीमा पु¥याउने लक्ष्य पनि राखेका छौं । हाम्रा टोलीहरूले चाँडै नै पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई अन्तिम रूप दिने काम गर्नेछन् ।”

उहाँले भारत र अमेरिका संयुक्त विकास, संयुक्त उत्पादन र प्रविधि हस्तान्तरणको दिशामा अगाडि बढिरहेको घोषणा गर्नुभयो । उहाँले भारत र अमेरिकाबीचको साझेदारी र सहयोगले राम्रो संसारलाई आकार दिन सक्ने बताउनुभयो ।

“हामी भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न तेल र ग्यास व्यापारलाई बलियो बनाउनेछौं । ऊर्जा पूर्वाधारमा लगानी बढ्नेछ । आणविक ऊर्जा क्षेत्रमा हामीले साना मोड्युलर रिएक्टरहरूको दिशामा हाम्रो सहयोगलाई गहन बनाउने कुरा गर्यो ।”

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …

काठमाडौँ । पर्वत कुश्मा नगरपालिका–४ की ९९ वर्षीय विष्णुमति दमाइको खुसीको कुनै सीमा छैन। दुई वर्षदेखि पूर्ण रूपमा अन्य व्यक्तिको सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन्।

उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्ण रूपमा दुवै आँखाको दृष्टि गुमाउनु परेको थियो । कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रियापछि उनले पुनःसंसार देख्न पाएकी हुन्। ‘सात–आठ वर्षअगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएकी थिएँ । तर, मेरो आँखाको ज्योति फेरि फर्किएको छ,’ उनले भनिन् । उसो त उनको छोराछोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहेकी छिन्।

दुई वर्षदेखि पूर्ण रूपमा अन्यकै सहारामा जीवन निर्वाह गरिरहेकी विष्णुमतिले पुनःसंसार देख्न पाएपछि खुसी हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिँदै भनिन्, ‘अब यो जुनिमा फेरि संसार देख्न पाउँछु जस्तो लागेको थिएन । मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखेर मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरीर कमजोर भए पनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ।’

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेसन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो।

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सुवास नेपालका अनुसार पर्वतका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनोट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत २९ माघदेखि १ फागुनसम्म निःशुल्क शल्यक्रिया गरिएको हो। शिविरकै लागि बेलायतबाट नेपाल आएका रेज होप फाउन्डेसनका अध्यक्ष डा. विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबाआमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी: आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित विभिन्न निकायसँगको सहकार्यमा संघले आफ्नो सञ्जालमार्फत अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताए।

हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. हरि विक्रम अधिकारी नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको शल्यक्रिया गरेको थियो। 

विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै

गलेश्वर। सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन्। संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो।

वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ। घरआँगनमै गाडी गुड्ने सडक छन्। नजिकै विद्यालय छ। वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै शहर झर्ने र मधेश पस्नेहरूको संख्या बर्सेनि बढ्दै गएको छ।

‘गाउँ गाउँजस्तो छैन
शहर शहरजस्तो छैन
कसकसले केके गर्दिए कुन्नि
आफू जन्मिएको ठाउँ नै चिनिँदैन।’

कवि हेम हमालको कवितामा भनिएझैँ तीव्र रूपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिँदै जाँदा गाउँ गाउँजस्ता रहेनन् भने शहर पनि वर्णशंकर हुँदै जान थालेको छ।

चार/पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ। तर, विकास र सुविधा गाउँमा पुगेपछि मोटर चढेर गाउँ छोड्नेहरू पनि उत्तिकै बढेका रघुगंगा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताए।

हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रूम गाउँको यो सौन्दर्य अहिले बसाइँसराइका कारण एक्लिँदै जान थालेको छ। “गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिस छैनन्। बस्ती पातलिँदै जान थालेको छ। भीरपहरा र खोला छिचोल्दै गाउँमै सडक पुगेको छ। सुविधा थपिएका छन्। विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजीमा सहर बजार र तराईतिर जानेक्रम भने झन बढ्दै जान थालेका छन्,” छन्त्यालले भने।

ठाडाखानी मात्रै होइन आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको म्याग्दी जिल्लाका दर्जनौँ गाउँहरू पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन्। जिल्लाका दुर्गम गाउँबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका गाउँहरूबाट समेत बसाइँसराइ बढ्दै गएको छ। बेनी नगरपालिकाको ज्यामरूककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतानजस्ता गाउँसमेत बसाइँसराइका कारण रित्तिँदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन्।

दशकअघि ५५ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ। त्यसैगरी १७९ घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको संख्यामा भने कमी आउन नसकेको उनको भनाइ छ। गाउँमा साह्रोगाह्रो र आपत्विपत् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका र विकास निर्माणको काम गर्न समस्या हुने गरेको मंगला गाउँपालिका–२ का केदार जैसीले बताए।

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवासुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँसराइ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसंख्या घटेको पाइएको छ। २०७८ सालको जनगणना अनुसार २०६८ सालको तुलनामा म्याग्दीको जनसंख्या ०.५४ प्रतिशतले घटेको छ।

मुख्यमन्त्री सिंहद्वारा निजी क्षेत्रबाट सञ्चालित अस्पताल अनुगमन

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित निजी क्षेत्रबाट सञ्चालित अस्पतालको अनुगमन गर्नुभएको छ ।

अनुगमन टोलीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह पनि हुनुहुन्थ्यो । भानुचोकस्थित जनकपुर सिटी अस्पताल, रेल्वे स्टेसनस्थित धनुषा अस्पताल,कदमचोकस्थित न्युरो सेन्टर, कदमचोकस्थित विनयतारा फाउन्डेसन क्यान्सर अस्पताल , मुरलीचोकस्थित जनकपुर न्युरो अस्पताल अनुगमन गरिएको थियो । 

असोज बाढीपहिरो : काभ्रेमा पानीका मुहान पुनर्जिवित कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक-गत असोजको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनर्जिवीत कार्यक्रम प्रभावित बनेको छ । कार्यक्रम सञ्चालनका लागि जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा ब्याप्त पानीको समस्यालाई सम्बोधन गर्न तथा समुदायको नेतृत्वमा सोही क्षेत्रका पानीका मुहान संरक्षण गर्ने अभियानमा सम्झौता गरेका थिए् ।

प्रकृतिमा आधारित समाधानका माध्यमबाट मुलधार संरक्षण कार्यक्रमका लागि सन् २०२४ जनवरी पहिलो साता अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग सात स्थानीय तहका जनप्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रम सञ्चालनको तयारीस्वरुप स्थानीय तहमा विभिन्न समुदायमा छलफल चलाउने क्रममा रहँदा गत असोजमा आएको बाढीपहिरोका कारण उक्त अभियान रोकिएको जनाइएको छ । “केही स्थानमा सुकेको मुहान पहिचानसँगै छलफल चलाउँदै थियौँ, बाढीपहिरोले यो अभियान रोकिएको छ, बाढीपहिरोले हाम्रा मुहान तथा आयोजनानै क्षतिग्रस्त भएका छन्”, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले भन्नुभयो । उहाँका अनुसार क्षतिग्रस्त आयोजना पुनिर्निर्माणसँगै पानीका मुहान पुनर्जिवीत कार्यक्रमलाई समेटिनुपर्ने देखिएको छ ।

पानीका मुहान पुनर्जिवीत कार्यक्रमका लागि इसिमोडले प्राविधि सहयोग गर्ने गर्दछ भने स्थानीय तहका प्रमुखले उक्त कार्यमा आ–आफ्ना तर्फबाट सहयोग र सहकार्य गर्नुपर्ने सम्झौता गरिएको थियो । जिल्लाका धुलिखेल, पाँचखाल, नमोबुद्ध र पनौती नगरपालिका तथा रोशी, बेथानचोक र तेमाल गाउँपालिकाले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुलको पहिचान, अवस्थाको मुल्याङ्कन तथा सन्कटासन्न मुहानको पुर्नजिवित गर्ने नयाँ अभियानमा एक्यबद्धता जनाएका थिए । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
नमोबुद्ध नगरपालिकामा भने वडा नं ३ र ५ मा सुकेको दुई मुहानमा सुकेको मुहान फर्काउन पोखरी निर्माण गरिएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार अन्य दुई सुकेको मूल फर्काउन विषयमा प्रक्रिया भइरहेको छ । सन् २०२३ मा गरिएको सर्वेक्षण अनुसार नमोबुद्ध नगरमा रहेका ४ सय ४४ मुहानमध्ये २० प्रतिशत मुहान सुकिसकेको अवस्थामा रहेका छन् । भएका अधिकांश मुहनामा पानीको प्रवाहमा कमी हुँदै आएको जनाइएको छ ।

पाँचखालका नगरप्रमुख महेश खरेलले विभिन्न कारण जोखिममा परेका पानीका मुहान संरक्षण कार्यक्रमले सुकेका मुल पुनर्जिविह हुने अपेक्षा गरिएपनि अभियानका क्रममा मुहान पहिचान भइरहेको अवस्थामा बाढीपहिरो प्रभाभावितको राहत उद्धार तथा खानेपानीलगायत क्षतिग्रस्त संरचनामै समय दिनुपरेकाले अभियान पूभावित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल क्षति भएका खानेपानी आयोजनालाई संरक्षण गरौँ त्यसपछि थप मुहानको खोजी गर्नेतर्फ लाग्नेछौँ ।” उहाँका अनुसार मुहानको पुनरुत्थानले खानेपानी आयोजनाले अपुग पानीको मागलाईसमेत सम्बोधन गर्ने देखिएको छ ।
इसिमोडका अनुसार हिन्दुकुश हिमालयमा पानीको मुहान क्रमश सुक्दै जानु आजको प्रमुख समस्या भएको र पहाडी समुदायको पिउने पानी, गाईवस्तु तथा बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवाद न्युनिकरण गर्नु अहिलेको मुलभुत आवश्यकता देखिएको हो । तर, अहिलेसम्म उक्त विषयमा पर्याप्त ध्यान वा लगानी नभएकाले इसिमोडले अभियान थालेको जनाइएको छ ।

सम्झौतामा इसिमोडले पानीको मुहानको स्थान र स्थितिको विवरणसहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनर्भरण क्षेत्र पहिचान, सुधारिएको मुहानको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सह–लाभको मूल्याङ्कनजस्ता गतिविधिहरु कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै कार्यक्रम सफल भए काभ्रेपलाञ्चोकका अन्य छ स्थानीय तहमा क्रमशः लागू गर्दै जाने दीर्घकालीन लक्ष्य बनाइएको थियो ।

प्रतिवेदनहरुका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानले पानीको महत्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता गम्भीर समस्याका कारण पानीका मुहान जोखिममा पर्दै गइरहेको जनाइएको छ । इसिमोडको मुलाधार व्यवस्थापनका उदाहरणीय मुल संरक्षण तथा पुनरुत्थानका कार्यक्रममा स्थानीय सरकारसँग भएका सम्झौताले अन्य स्थानीय तहलाई आफ्नो बजेट र योजनामा मुलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको पाइन्छ ।

नेपाल एपिएफ अस्पतालद्वारा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौँ, ३ फागुनः विपद् र आकस्मिक अवस्थामा ‘नेपाल एपिएफ अस्पताल बलम्बु’लाई अनुकरणीय सहयोग पु¥याएवापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा प्रकाश बुढाथोकी सम्मानित हुनुभएको छ ।

उहाँ सो मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीनकार्य सञ्चालन केन्द्रको प्रमुखसमेत हुनुहुन्छ । अस्पतालको २३औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सहसचिव डा बुढाथोकीलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।

सोही कार्यक्रममा महानिरीक्षक अर्यालले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेपाल प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, स्वास्थ्थ तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा श्रवणकुमार थापा, स्वास्थ्य सेवा विभागका इञ्जिनियर पद्या मिश्र, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे लगायतलाई पनि सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा यसवर्षको ‘आइजी एपिएफ कमन्नडेशन’ सशस्त्र प्रहरी नायव उपरीक्षकत्रय उमेश कँडेल, डा आशिष थापा र अपूर्व श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल एपिएफ अस्पतालमा कार्यरत रही उच्च पेशागत दक्षता प्रदर्शन गर्ने सशस्त्र प्रहरी राष्ट्र सेवकलाई सो सम्मान अर्पण गरिन्छ । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले ‘नेपाल एपिएफ अस्पताल’मा थप पूर्वाधार, जनशक्ति र उपकरण विस्तार गर्दै स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने उत्कृष्ठ स्थल बनाइने जानकारी दिनुभयो ।

नेपाल एपिएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा रुपक महर्जनले अस्पतालको शय्या ३०० स्वीकृत भएको र यसका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनकार्य प्रारम्भ भइसकेको बताउनुभयो ।

विसं २०५८ फागुन २ गते सशस्त्र प्रहरी बल हल्चोकमा एकजना चिकित्सकसहित पाँचजना तालिम प्राप्त जनशक्तिद्वारा सेवा सुरुआत गरेको अस्पतालले विसं २०६० चैत ७ गतेबाट ११० शय्या सञ्चालन गरिहेको छ । 

मनकलीले उत्पादन गरेको सिस्नो पाउडर जापान र कोरियासम्म

ढोरपाटन (बागलुङ), ३ फागुनः ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले विसं २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन आउनुभएको छ । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला सहर र विदेश पठाउने गर्नुहुन्छ । चौध वर्ष अगाडि जिल्ला लघु उद्यम सङ्घले दिएको पाँच दिनको तालिमले घर्ती मगरलाई उद्यमी बनायो । उद्यमीसँगै अहिले उहाँ प्रशिक्षकका रूपमा ज्यादा चिनिनुहुन्छ ।

विहान बेलुका घरको काम धन्दामा ब्यस्त हुने मनकली फुर्सदको समयमा काल्नामा उम्रिएको सिस्नो टिपेर प्रशोधन गर्नु हुन्छ । आवश्यक मेसिन नहुँदा पनि उहाँल घरेलु सामग्री प्रयोग गरी सिस्नोका पाउडर उत्पादन र प्याकेजिङ गर्नुहुन्छ । गाउँमा कसैले पनि सिस्नो बिक्री हुन्छ भन्ने विश्वास गर्दैनथे । तर अहिले विदेशदेखि नै माग आउन थालेपछि गाउँले पत्याउन थालेका छन् । ताराखोलामा मनकली सिस्नोको पाउडर उत्पादन गर्ने र अरुलाई प्रशिक्षण दिन एक्लो महिला हुनुहुन्छ ।

घर्ती मगरले कक्षा पाँचसम्म अध्ययन गर्नु भए पनि सिस्नो पाउडर बनाउन सिक्नेका लागि शिक्षकनै बन्नुभएको छ । वर्षौँ अगाडि गाउँमा एक पटक लिएको तालिमले मनकलीको दैनिकीनै फेरिँदै गएको छ । घरको काम धन्दामा मात्रै सीमित उहाँ अहिले फुर्सद्को समयमा बारीको सिस्नो टिप्ने र पाउडर बनाउने गर्नुहुन्छ । दुर्गम गाउँको सामान्य परिवारकी घर्ती मगरका तीन छोरी र एक छोरा हुनुहुन्छ । श्रीमान् भने वर्षौँदेखि रोजकारका सिलसिलामा मलेसिया पुग्नुभएको छ ।

उहाँले भन्नुभयो, “म त गरिब परिवारमा जन्मेको हुँद धेरै पढ्न पाइन, पाँच कक्षासम्म पढेँ, आर्थिक अवस्था पनि राम्रो थिएन, आफूले पढ्न नपाए पनि चार भाइबहिनी छोराछोरीलाई श्रीमान्ले विदेशमा मैले यहाँ काम गरेर उच्च शिक्षा पढाउन पाएका छौँ, उतिबेला खेती किसान गरेर खानु पथ्र्यो, खान पनि पुग्दैनथ्यो, सिस्नोको पाउडर बनाएर बेच्न थालेपछि आर्थिक अवस्था पनि सुधार हुँदै गएको छ ।”

बागलुङ जिल्लामा अहिलेसम्म व्यवसायिकरूपमा सिस्नोको पाउडर उत्पादक हुनसकेको छैन । धेरै महिलाले तालिम लिए पनि व्यवसायिक रूपमा उत्पादन गर्न तर्फ चासो दिएको पाइँदैन । सिस्नोको पाउडर उत्पादन गर्न निकै झण्झटिलो र धेरै समय लाग्ने हुँदा धेरैले चासो नदिने मनकली बताउनुहुन्छ । एक महिनामा महिनामा करिब १५ किलो पाउडर तयार गर्न सकिने उहाँको भनाइ छ । 

एक किलो पाउडर उत्पादनका लागि करिब १० किलो काँचो सिस्नो आवश्यक पर्ने भन्दै बढी मेहनत र कम आम्दानी हुने हुँदा धेरैले चासो नदिएको उहाँको भनाइ छ । विदेश जाने धेरैको रोजाइमा सिस्नाको पाउडर पर्ने हुँदा प्रतिकिलो रु २०० हजारसम्म लैजाने गरेको घर्ती मगरले सुनाउनुभयो । आफूले फुर्सद्को समयमा मात्रै पाउडर उत्पादन र प्याकेजिङ गर्ने हुँदा वार्षिक तीन लाखको हाराहारीमा आम्दानी गर्ने उहाँको भनाइ छ ।

पहिलेको तुलनामा पछिल्लो समय पाउडरको माग बढ्दै गएको छ भने मूल्य पनि बढ्दै गएको छ । डेढ दशक अगाडि गाउँका अरु महिलाले पनि तालिम लिए पनि उनीहरुले खास्सै चासो दिएनन् । मनकली एक्लैले निरन्तर मेहनत गर्दै जाँदा अहिले अन्य महिलाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । समय–समयमा उहाँ तालिम दिनका लागि ठाउँ–ठाउँमा पुग्नुहुन्छ । 

सिस्नोको पाउडरको माग नेपालमा भन्दा बढी विदेशबाट आउने घर्ती मगर बताउनुहुन्छ । आधुनिक उपकरण भए त्यसभन्दा बढी कमाई गर्न सकिने भन्दै अब व्यवसायलाई थप व्यवस्थित गर्दै खेतबारीमा सिस्नोको खेती गर्ने योजना रहेको मनकलीले सुनाउनुभयो । राज्यले आफूजस्ता उद्यमीलाई व्यवस्थित रूपमा उद्यम गर्न सघाउने भए धेरै महिलाको दैनिकी बदलिने घर्ती मगर बताउनुहुन्छ ।

“मैले सिस्नोको पाउडर बनाउन सिकेको धेरै वर्ष भयो, धेरै थोरै अहिले पनि बनाउँदै आएको छ, पाउडेर बेचेर घर खर्च चलाउन मद्दत पुगेको छ, मैले उत्पादन गरेको पाउडर पोखरा, काठमाडौँसम्म पुग्छ, अझ जापान, कोरिया जानेले बढी लैजाने गर्छन्” घर्ती मगरले भन्नुभयो, “गाउँमा सबै महिला दिदीबहिनी मिलेर काम गर्ने हो भने वर्षमा लाखौँ आम्दानी गर्न सकिने थियो ।”

पाँच दिनको तालिमले आफूलाई अब्बल बनाउन टेवा पु¥याएको उहाँको भनाइ छ । आवश्यकअनुसारको मेसिन नहुँदा अहिले घरमै भएका सामग्रीबाट पाउडर उत्पादन गरेको घर्ती मगरले बताउनुभयो । माघअनुसार उत्पादन गर्न नसकेको उहाँ बताउनुहुन्छ । 

गाउँमा सहनशीला लघु उद्यम महिला समूह गठन भए पनि सक्रियरूपमा पाउडर उत्पादनमा लाग्न नसकेको घर्तीले सुनाउनुभयो । पहिले प्रतिकिलो दुई÷चार सयमा बिक्री हुने पाउडरको मूल्य अहिले रु एक हजार पर्न थालेको उहाँले सुनाउनुभयो । आफूले अहिलेसम्म कुनै पनि निकायबाट अनुदान नपाएको घर्ती मगर बताउनुहुन्छ ।

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले महिला उद्यमीहरुलाई पालिकाले निरन्तर सहयोग गर्दै र आवश्यक सीप सिकाउँदै आएको बताउनुभयो । उद्यमसँग जोडिने हरेक महिलालाई अनुदान दिने र दक्ष बनाउनका लागि तालिम दिने उहाँको भनाइ छ । आवश्यक सहयोग माग्न आउने हरेक महिला उद्यमीलाई पालिकाले सहयोग गरेको भन्दै सिस्नो पाउडर उत्पादन गर्ने मनकलीलाई पनि पालिकामा आए सहयोग गर्ने उपाध्यक्ष रोका बताउनुहुन्छ ।

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

म्याग्दी, ३ फागुन : गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ ।

आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रीया अघि बढाउने गरि मुस्ताङका दुई सडकलाई रु. पाँच÷पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो ।

घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य बिकल शेरचनले जानकारी दिनुभयो ।

“भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रीया अघि बढाउने बाटो खुलेको छ,” उहाँले भन्नुभयो “दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ ।”

करिब १३ किलोमिटर दुरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैचा छ । परापुर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिवुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ ।

याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरुलाई सहज हुनेछ् । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ ।

हिन्दु र वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरुलाई सहज हुने मुस्ताङ १(१) बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताउनुभयो । धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उहाँले बताउनुभयो ।

गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने रु. १०÷१० करोड बजेटको योजना शुरु भएको थियो ।

रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवत जावत गर्न सहज हुनेछ् ।

दुई वटै योजना ठेक्का मार्फत निर्माणाधिन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताउनुभयो । यस वर्ष झोङ–छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि रु. नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रीया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताउनुभयो ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३ फागुनः नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर ०९ रूपैयाँ ०८ पैसा र बिक्रीदर ०९ रूपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्री दर ३१ रूपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १२ रूपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४५ पैसा र बिक्री दर १९ रूपैयाँ ५३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ५० पैसा र बिक्रीदर ४५१ रूपैयाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ६० पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ । 

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने

काठमाडौँ, ३ फागुनः नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ ।

यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि साँझ पाँचबजेसम्म बिजुली प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

यस्तै भोजपुर वितरण केन्द्र र सुर्खेत वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमा पनि मर्मत एवम्ु रुख बिरुवाका हाँगा काट्ने प्रयोजनाका लागि आज बिजुली प्रवाह रोकिने सूचनामा उल्लेख छ ।

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, ३ फागुन : आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गोरखाको लाप्राकमा मकैको विवाह सम्पन्न

गोरखा, २ फागुन : माघ शुक्ल द्वितीया तिथि पारेर आज यहाँको धार्चे गाउँपालिका–४ लाप्राकमा मकैको विवाह गरिएको छ । मकैको विहे गरेपछि मात्र बारीमा रोप्न सुरु गर्ने परम्पराअनुसार गाउँलेले सामूहिक रुपमा मकैको विहे गरेका हुन् । गाउँको एक घरको ठूलो आँगनमा गाउँले भेला भई आआफ्नो घरको मकैको बीउसँगै स्थानीय घाँटुकन्या र कुमारलाई डोलीमा बोकी गाउँ परिक्रमा गरी मकैको विहे गरिएको हो । मकै, कन्या र कुमार बोकेका जन्तीले वाद्यवादनसहित गीत गाउँदै, नाच्दै गाउँको परिक्रमा गरेका थिए । “यहाँ मकैको विहे गरेपछि मात्र बारीमा रोप्ने चलन छ”, स्थानीय मार्सिङ गुरुङले भन्नुभयो, “यसपालि पानी पर्न ढिलो भयो । हिजो अलिअलि पानी पनि प¥यो । अब मकै रोप्न हुन्छ भनेर मकैको विहे गरेका हौँ ।”

बिहेको अघिल्लो दिन बिहिबार डाँडापूजा गरिएको थियो । खेत नभएकाले धार्चे गाउँपालिकाको मुख्य खेती मकै हो । स्थानीयका अनुसार मकैको बिहे गरेको दोस्रो सातादेखि सबै किसानहरुले बारीमा मकै रोप्न थाल्छन् । लाप्राक एक वडा, एक बस्ती भएको गाउँ हो । यहाँ एकै गाउँमा पाँच सयभन्दा धेरै घरधुरी छन् । वर्षौँदेखि मकैको विवाह गर्ने परम्परा कायम छ । गाउँले सबै मिलेर मकैको जन्ती गएको, मकैको भोज खाएको र नाचगान गरेको स्थानीय मणिकामदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रकृति पूजा गर्ने बोन सम्प्रदायले मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उब्जनी राम्रो होस्, असिना पानीले नास नगरोस्, रोग नफैलियोस् भनेर यहाँ मकैको विहे गर्ने गरेको प्रअ गुरुङ बताउनुहुन्छ ।

बिहेका लागि गाउँका जैसीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन हरेक घरका सदस्यले मकैका घोगा जमिनमा गाड्ने चलन छ । “अघिल्लो दिन गाडेको मकै पूजाको दिन बिहान झिकेर गाउँ परिक्रमा गरिन्छ”, गुरुङले भन्नुभयो, “बिहान सबै जना ठूलो आँगनमा जम्मा भइन्छ र महिलाहरुले घाँटु कुमारीलाई सिङ्गारेर अलि पर जङ्गलमा लुकाएर राख्छन् । अनि गाउँबाट एक जना बालकलाई दुलाहा जस्तो सिँगारेर डोलीमा चढाएर ढ्याङ्ग्रो, मादल र झ्याली बजाउँदै जन्ती लैजाने चलन छ ।” उहाँका अनुसार जङ्गलमा पुगेपछि कन्या र कुमारलाई दुईटा डोलीमा बोक्दै गाउँको परिक्रमा गर्ने गरिन्छ । गाउँ फर्केपछि मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा रोप्ने प्रचलन लाप्राकमा कायम छ ।

कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि

भक्तपुर, २ फागुनः यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो । बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ ।

वैशाख २२ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ ।

गण्डकी प्रदेशसभा बैठक : अध्यादेश सर्वसम्मत पारित

गण्डकी, २ फागुन : गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृत गरियोस् भन्दै गर्नुुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो । मुख्यमन्त्री पाण्डेले प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष प्रस्तुत गर्नुुभएको थियो । प्रतिवेदन छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । 

बैठकमा आर्थिक मामिलामन्त्री डा टकराज गुरूङले सामायिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गर्नुुभएको थियो । सभाको अर्को बैठक फागुन ८ गते दिनको १.०० बजे बस्नेछ । 

आहा ! रारा पोखरा गोल्डकपः शनिबार फाइनल खेल हुँदै

कास्की, २ फागुनः राजधानी बाहिरको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा आहा ! रारा पोखरा गोल्डकप मानिन्छ । विसं २०५८ मा पहिलोपटक क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता अहिले २४औँ संस्करणसम्म आइपुगेको छ । सुरुआतदेखि हालसम्म आउँदा थुप्रै प्रतिकूलतामा पनि प्रतियोगिता कुनै वर्षमा रोकिएन । सबै खालका अप्ठ्याराहरूसँग जुध्दै आएकाले आहा रारा गोल्डकप फुटबल प्रेमीहरूका माझ लोकप्रिय छ ।

यस वर्षको २४औँ संस्करणको फाइनलमा विभागीय नेपाल पुलिस क्लब र विदेशी टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी शनिबार भिड्दैछन् । पोखरा रङ्गशालाको १६ हजार दर्शक अटाउने खेलाडी रङ्गशालामा उत्रिँदा दुवै टोली खेल जितेर इतिहास बनाउने उद्देश्यमा छन् ।

आहा राराको सर्वाधिक सफल टोली हो पुलिस क्लब । पुलिसले क्याराभान गोल्डकपदेखि हालसम्म छ पटक उपाधि चुमेको छ । पुलिस सातौँपटक च्याम्पियन बनेर इतिहास रच्ने दाउमा हुनेछ । पुलिसले विसं २०५८ मा क्याराभान गोल्डकप जितेको थियो । त्यसपछि विसं २०५९, २०६४, २०६५, २०६६ र विसं २०७४ मा आहा राराको उपाधि उचाल्यो ।

पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स पनि पहिलो सहभागितामा उपाधि जितेर घर फर्कन चाहन्छ । आफ्ना दुई खेल फराकिलो अन्तरले जितेकाले टोली फाइनलका लागि उत्साहित छ ।

नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली शारीरिक र टेक्निकल दुवै हिसाबले उत्कृष्ट छ । यसअघिका दुई खेलमा उज्वेकिस्तानी टोलीले कुनै गोल नखाइकन सात गोल गरेको छ । पाहुना टोलीलाई रोक्नुपर्ने चुनौती पुलिससामु छ । पुलिसको टिमले समेत यसपटक अहिलेसम्म गोल खाएको छैन ।

फाइनलका लागि दुवै टोली एकअर्काप्रति सचेत छन् । दुवैले एकअर्काको खेललाई सम्मानसमेत गरेका छन् । फाइनल खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल रोचक हुने बताए । उत्कृष्ट फुटबल खेलेर फाइनल खेल रोमाञ्चक हुने उनीहरूको भनाइ छ । दुवैको दाबी उपाधि चुम्ने छ । 

नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि खेलाडीहरू मानसिक रूपमा तयार रहेको बताएका छन् । उनले टोली उपाधि जितेर इतिहास बनाउने बताउँछन् । “पुलिस टिम ऐतिहासिक छ, भोलि हामीले अर्को इतिहास कोर्न बाँकी छ । उपाधि जित्छौँ भन्नेमा मानसिक रूपमा तयार छौँ”, प्रशिक्षक घिमिरेले भने । 

विपक्षी टोलीको खेल्ने शैली र शारीरिक प्रर्दशन समेत राम्रो रहेको भन्दै प्रशिक्षक घिमिरेले जारी प्रतियोगितामा तीनवटा खेल जितेकाले खेलाडी उत्साहित रहेका बताए । 

पाहुना टोली ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले उपाधि जित्ने गरी खेल्ने बताएका छन् । फाइनल खेलमा दुवैको उत्तिकै सम्भावना रहने भन्दै उनले पुलिसको ‘टिम स्पिरिट’ र ‘फाष्ट गेम’ प्रशंसायोग्य रहेको उल्लेख गरे । उहाँले भने, “फाइनल खेलमा दुवै टिमको ५०–५० सम्भावना हुन्छ । हामी जित्नका लागि मैदानमा उत्रिने छौँ, उपाधि जितेर फर्कन चाहन्छौँ ।”

पुलिसका कप्तान राम वाजीले टोलीमा धेरै युवा खेलाडी रहेको र उपाधि जित्नका लागि सतप्रतिशत मेहनत गर्ने उल्लेख गरे । “पुलिस टिममा अहिले धेरै नयाँ भाइहरु रहेका छन् । पहिलाजस्तो स्टार खेलाडी छैनन् । तर हामीले मैदानमा सकेको दिनेछौँ”, उनले भने ।

प्रतियोगितामा पुलिसले प्रि–क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनायो ।

पाहुना टोली ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराएको थियो ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगद सगै ट्रफी पुरस्कार पाउने छन् । 

बाढीबाट क्षतिग्रस्त सडक तथा पुल निर्माणका लागि भौतिक मन्त्रालयले माग्यो २५ अर्ब बजेट

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको सात महिनामा कुल २८ दशमलव १५ प्रतिशतमात्र खर्च गरेको छ ।

शुक्रबार वर्तमान सरकार गठन भएको दुई सय दिन पुगेको अवसरमा मन्त्रालयद्वारा गरिएका कार्यको जानकारी सार्वजनिक गर्दै चालु आर्थिक वर्ष सकिन पाँच महिना मात्र रहँदा अझै ७० प्रतिशतभन्दा बढी खर्च गर्न बाँकी रहेको जनाइएको हो ।

चालु आर्थिक वर्षमा मन्त्रालयका लागि चालुतर्फ  सात अर्ब ४८ करोड ६३ लाख र पुँजीगततर्फ  एक  खर्ब ४३ अर्ब पाँच करोड गरी  एक खर्ब  ५० अर्ब ५३ करोड बजेट विनियोजन रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबीच पहिलो एक सय दिन (असोज ६ सम्म) सम्पन्न गर्ने १० र दोस्रो एक सय दिन (माघ १७ सम्म)मा सम्पन्न गर्ने १२ वटा मुख्य कार्यक्रम र तिनको लक्ष्यसहित सम्झौता गरिएको थियो ।

यातायात पूर्वाधारको विकास र यातायात प्रणालीको नीतिगत व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको यस मन्त्रालयले आफू र मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानीजहाज कार्यालयमार्फत सम्पादन भएका मुख्य कार्य, हासिल भएका उपलब्धि सार्वजनिक गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पहिलो एक सय दिनका लागि निर्धारित १० र दुई सय दिनका लागि निर्धारित १२ कामका क्षेत्रमा किटान गरिएको लक्ष्यहरूको प्रगति लक्ष्य उन्मुख रहेको दाबी गरे ।

“यस अवधिमा मन्त्रालयले कतिपय ठूला आयोजना व्यवस्थापनमा देखिएका समस्या र स्रोत साधनको सीमितताका बाबजुद उच्च प्रतिफल हासिल गर्न आवश्यक सबै प्रयत्न गरेको छ”, उनले भने, “आगामी दिनमा आयोजना व्यवस्थापनका समस्या समाधान गरी जनअपेक्षा पूरा गर्न अझै प्रभावकारी ढ¬ङ्गले लाग्नेछौँ ।”

हालसम्मका मुख्य प्रगति 

हालसम्म कुल कालोपत्रस्तरको नयाँ सडक दुई लेनको दुई सय ४६ किलोमिटर र दुई लेनमाथिको ३० दशमलव ५८ किलोमिटर सम्पन्न भएको मन्त्रालयको प्रगतिमा देखिएको छ ।

यसैगरी ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा ८२ प्रतिशत कार्य सम्पन्न भएको, काम गर्ने क्रममा देखिएका केही प्राविधिक विषयलाई सम्बोधन गरी आगामी चैत मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको मन्त्री दाहालले जानकारी दिए ।

उनका अनुसार नेपालको सडक यातायात क्षेत्र सुरुङ युगमा प्रवेश गरेको र सोही सिलसिलामा सिद्धबाबा मार्गको मुख्य सुरुङ खन्ने कार्यमध्ये चालु आवमा आठ सय ७६ मिटर सम्पन्न भएको छ ।

“उक्त सुरुङमार्गको सम्पूर्ण एक हजार एक सय २६ मिटर खन्ने कार्य सम्पन्न भई प्रधानमन्त्रीबाट भर्चुअल रूपमा अन्तिम ब्रेकथ्रु भइसकेको छ । यसबीचमा काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङमार्गको पनि ब्रेकथ्रु भएको छ”, उनले भने, “नागढुङ्गा सुरुङमार्ग निर्धारित समयमा सम्पन्न हुने अवस्थामा छ । सम्पन्न हुनासाथ सुरुङमार्गबाट यातायात सञ्चालन गर्नेगरी ‘मोडालिटी’ तयार भइरहेको छ ।”

नेपाली सेनाबाट निर्माणाधीन तराई–मधेस द्रुतमार्गको काम तीव्र ढङ्गले अगाडि बढेको छ । काठमाडौँतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रको समस्या समाधान गर्न सरोकार भएकाहरूसँग छलफल भइरहेको मन्त्री दाहालले जानकारी दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले सबै जिल्ला सदरमुकामलाई बाह्रै महिना राष्ट्रिय सडक सञ्जालसँग जोड्नेगरी यातायातको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार काम भएको उल्लेख गरे । उनले सदरमुकामसँग जोड्न बाँकी हुम्लाको सिमिकोट जोड्नका लागि खार्पुनाथस्थित चुवाखोलामा बेलिब्रिज जडान गर्न नेपाली सेनालाई जिम्मा दिई कार्य अगाडि बढाइएको  जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय गौरवका पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी राजमार्ग  र कालीगण्डकी करिडोरको विभिन्न खण्डमा ५६ किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा ७८ दशमलव पाँच किमी सम्पन्न भएको छ । माघ मसान्तसम्ममा ४१ वटा पुल निर्माण सम्पन्न भएका छन् ।

“हेम्जा–नयाँपुल सुरुङमार्ग र कास्कीको विस्तृत सम्भाव्य अध्ययन कार्य सम्पन्न भएको छ । दुम्कीबास–बर्दघाट सुरूङमार्गको विस्तृत डिजाइन सम्पन्न भएको छ । तमोर कोरिडोर (चतरा–मुलघाट–सुभाङखोला) खण्डमा १४ किमी कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । रानी–विराटनगर–धरान खण्डको तरहरा–सेउती खण्डको पाँच दशमलव तीन किमी सडक चार लेनमा कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । भेडेटार–रवि–राँके खण्डमा केही सडक कालोपत्र भई निर्माण र विस्तार भइरहेको छ”, सचिव शर्माले भने ।

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकअन्तर्गत खुर्साने, पाल्पाबाट पटौटी, अर्घाखाँचीसम्म विभिन्न स्थानको कार्य सम्पन्न भएको छ । पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्ड लामो समयदेखि निर्माण अवरुद्ध भइरहेकामा विभिन्न तह र चरणमा भएको छलफलपश्चात हाल निर्माणले तीव्रता लिएको छ ।

यसैगरी बुटवल चन्द्रौटा सडकको ६९ किमीमध्ये बुटवल गोरसिङ्गे खण्डको ५० किमी सडक चौडा गर्न ठेक्का सम्पन्न भई निर्माण सुरु भएको मन्त्रालयले जनाएको छ । रानी–विराटनगर–किमाथाङ्का (कोशी राजमार्ग) ट्रयाक खोल्ने कार्य भई यो सडक चीन, भारत र नेपालको त्रिदेशीय सडक सञ्जालका रूपमा जोडिएको छ ।

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा पूर्वी खण्डमा चार दशमलव ७५ किमी तथा पश्चिम खण्डमा आठ दशमलव ६८ किमी सडक चार लेन कालोपत्र सम्पन्न भई निर्माण अन्तिम चरणमा पुगेको छ । सचिव शर्माले गत आवमा भएको कामको भुक्तानी दायित्व रकम निर्माण व्यवसायीलाई भुक्तानी गरिसकिएको र यस आवमा सृजित दायित्व भुक्तानी गर्न प्रक्रिया अगाडि बढाइएको बताए ।

यातायात व्यवस्थापनतर्फ जिपिएस जडान गर्ने सम्बन्धमा यातायात तथा सवारी क्षेत्रका सम्बन्धित ‘स्टेकहोल्डर’सँग छलफल र परामर्शबाट प्रतिबद्धतासमेत प्राप्त भई सार्वजनिक सवारीसाधनमा जिपिएस जडान निरन्तर रूपमा अगाडि बढिरहेको छ ।

माघ मसान्तसम्म एक लाख ६९ हजार चार सय ३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको मन्त्रालयले जानकारी दिएको छ । माघ मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट ३७ हजार नौ सय ५४ थान उत्पादन र सात हजार चार सय ७६ थान जडानका लागि यातायात कार्यालयमा वितरण गरिएको छ ।

जल यातायाततर्फ सुनकोशी र नारायणी नदीमा जलयान सञ्चलनका लागि अवरोध हटाउने तथा निर्माण गर्ने लक्ष्य रहेकामा कोशी नदीमा अवरोध हटाई जलयान सञ्चालन भइरहेको र नारायणगढमा रहेको नारायणी नदीको पुलबाट देवघाटसम्म जलमार्ग विस्तार कार्यको लागि बोलपत्र आह्वान भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय यातायात नीति, २०८१, सार्वजनिक सडकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१, सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१  र सडक सुरक्षासम्बन्धी विधेयक, २०८१ को मस्यौदा सुझाव तथा रायका लागि सातवटै प्रदेशमा पठाइएको छ ।

रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटस्थित सुनकोशी नदी पुल, अरनिको राजमार्गस्थित लिपिङ पुल, अरनिको राजमार्गस्थित खाँगदल पुल, उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदी पुल, धादिङ जिल्लास्थित आँखुखोलामा पुल, बेलिब्रिज निर्माण गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

बिपी राजमार्गलगायत बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको स्थायी रूपमा निर्माण तथा मर्मत र वैकल्पिक सडक निर्माणका लागि २५ अर्बको बजेट तथा स्रोत सुनिश्चितता गर्न र यस आर्थिक वर्षका लागि ६ अर्बको बजेट निकासा हुन अर्थ मन्त्रालय तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् तथा पुनर्निर्माण प्राधिकरणमा अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

कमलपोखरी घटनाका अर्का घाइतेको पनि मृत्यु, मृत्यु हुने तीन पुगे

काठमाडौँ, २ फागुन : काठमाडौँको कमलपोखरीस्थित एक मःम पसलमा ग्याँस चुहिएर भएको आगलागीमा परी घाइते भएका मध्ये अर्का एक जनाको पनि आज मृत्यु भएको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौँ महानगरपालिका–२८ कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको आज उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङको अपराह्न कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गत बिहीबार कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस चुहिएर आगलागी हुँदा ११ जना घाइते भएका थिए । अहिले आठ जनाको सोही अस्पतालमा उपचार जारी छ । यसअघि सोमबार मकवानपुरको मनहरि गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगर (नवीन) को उपचारका क्रममा निधन भएको थियो ।

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक

इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो । असअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाई रोक्ने बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार युद्धविराम र ‘निर्धारित समयतालिकाअनुसार’ अर्को आदानप्रदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै शनिबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक गर्ने तयारी हमासले गरेको हो ।

हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले भन्नुभयो, “हामी यसलाई (युद्धविराम) कार्यान्वयन गर्न इच्छुक छौँ र यसलाई पूर्ण रूपमा पालना गर्न कब्जामा रहेका बन्धकको सहारा लिन बाध्य छौँ ।”

हमासले शनिबार ‘तीन जना जीवित बन्धक’ लाई रिहा गर्न इजरायलले दवाब दिएको हो ।

सरकारका प्रवक्ता डेभिड मेन्सरले भन्नुभयो, “यदि हमासले हाम्रा कम्तीमा तीन बन्धकहरूलाई शनिबारअघि फिर्ता गर्ने प्रक्रिया अघि बढाएन भने शनिबार मध्याह्नसम्म युद्धविराम अन्त्य हुनेछ।”

हमासले यसअघि इजरायलले युद्धको भग्नावशेष हटाउन आवश्यक पर्ने भारी मेशिनरीको आपूर्ति रोकेको आरोप लगाएको थियो भने गाजासँग जोडिएको इजिप्टको राफा सीमा क्षेत्रमा ‘बुलडोजर’को लाइन लागेको थियो ।

पिएसबीले नागरिकको आवाज बोल्नुपर्छः सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक, २ फागुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई सरकारी समाचार संस्था नेपाल टेलिभिजन र रेडियो नेपालबाट गाभिएर बनेको सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले नागरिकको आवाज बोल्नुपर्ने धारणा राख्नुभएको छ ।

आज नेपाल टेलिभिजन कर्मचारी युनियनद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘सार्वजनिक सेवा प्रसारण नेपालमा कर्मचारीको भूमिका र वृत्ति विकासका अवसर एवं पिएसबीको आगामी कार्यदिशा’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले पिएसबीले सरकारका विषयमा मात्र नभई नागरिकको आवाज बोल्नुपर्ने बताउनुभयो । 

“पिएसबीलाई सरकारको स्तुति गाउने भजनमण्डली बनाउने हैन, जनताको हक, अभिव्यक्ति स्वतन्त्रता, सत्य–तथ्य विषयमा सही सूचना दिँदै जनताका आवाज बेल्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो । उहाँले दुई संस्था गाभिएसँगै भूमिका बदलिएकाले यहाँ कार्यरत कर्मचारीको भूमिका तथा काम गर्ने शैली पनि बदल्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पिएसबी देश र नागरिकको हितमा काम गर्ने संस्था हो । नागरिकको पक्षमा तपाईंहरूले उत्प्रेरक ढङ्गले काम गर्नुस् ।”

मन्त्री गुरुङले पिएसबीले परम्परागत शैलीबाट क्रान्तिकारी छलाङ मार्नुपर्ने बताउनुभयो । “पिएसबीलाई जनताको चाहनाअनुरुपको संस्थासहित आवश्यक संरचना बनाइएको छ । यो संस्था सफल वा असफल बनाउने कर्मचारीले हो”, उहाँले भन्नुभयो, “सरकार र राज्यका नीति र योजनालाई सफल बनाउने काम कर्मचारीमा भर पर्दछ ।” 

सञ्चारमन्त्री गुरुङले केही देशमा असल शासकको असल निर्णयलाई कर्मचारी युनियनले समर्थन गरेको उदाहरण पेस गर्दै कर्मचारीको भूमिका महत्वपूर्ण हुने दोहो¥याउनुभयो । “जुनसुकै संस्थामा पनि असल व्यक्ति हुनुपर्छ, असल शासनलाई असल व्यक्तिले न्याय गर्न सक्छन् । त्यसैगरी शासक र सरकार पनि पारदर्शी हुनुपर्छ”, उहाँले भन्नुभयो । 

पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले दुई सञ्चार संस्था गाभिएर बनेको नयाँ संस्थाले आगामी दिनमा कसरी काम गर्ने भन्ने विषयमा छलफल, गोष्ठी भइरहेको बताउँदै संस्थाको रणनीति, नियमावली, विनियमावलीको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा कर्मचारीको सेवा सुविधा, व्यवस्थापनको वर्तमान अवस्था, भावी कार्यदिशा र समग्र कर्मचारीले संस्थामार्फत जनताको पक्षमा कसरी काम गर्ने भन्ने विषयमा बृहत छलफल हुनेछ ।” 

समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय भेला फागुन ४ मा

काठमाडौँ, २ फागुनः समाजवादी प्रेस सङ्गठन नेपालले यही फागुन ४ गते आफ्नो दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ । प्रगतिशील तथा श्रमजीवी पत्रकारको सङ्गठनको नेतृत्वका केही पत्रकार संस्थाबाट बाहिरिएपछि ‘विचारमा स्पष्ट : पेसामा दक्ष’ नारासहित यहाँ आयोजना गर्न लागिएको भेलामा सातै प्रदेशका सङ्गठनसँग आबद्ध करिब दुई सय ५० पत्रकार सहभागी हुने छन् ।

आइतबारको भेलामा ‘जिम्मेवार पत्रकार : समाजवादको आधार’ मूल नारा बोकेको सङ्गठनको बाँकी १५ महिनाको कार्यभार र जिम्मेवारी, विधान संशोधन, पुरस्कार, सम्मान स्थापना, तालिम, प्रशिक्षण, सङ्गठनको लिपिबद्ध इतिहास लेखन आदि विषयमा छलफल हुने जनाइएको छ । भेलापूर्व शनिबार सङ्गठनको केन्द्रीय कमिटीको दोस्रो बैठक पनि यहाँ बस्दै छ । ‘अग्रजको सम्मानः युवालाई प्रोत्साहन’ भेलामा पेसागत महासङ्घ र अन्तरराष्ट्रिय पत्रकार सङ्गठनसँग आबद्धताबारे पनि निर्णय लिइने छ ।

भेलाको पूर्वसन्ध्यामा सङ्गठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीका अध्यक्षतामा आज आयोजित सङ्गठन पदाधिकारी तथा सल्लाहकार बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा सङ्गठन इन्चार्ज प्रकाश ज्वालाले संस्थालाई श्रमजीवी पत्रकारका समस्या, जनजीविका, राष्ट्रियताका विषय निरन्तर उठाउन तथा विद्यमान चुनौतीको मुकाबिला गर्दै समाजवाद प्राप्तिको अभियानमा दृढतापूर्वक पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

सङ्गठनका सहइन्चार्ज शम्भु श्रेष्ठ तथा पार्टी प्रचार विभागका उपप्रमुख दामोदर अर्याल र चमिना भट्टराईले विचारमा चट्टानजस्तो उभिएर गुणस्तरीय पत्रकारिता गर्दै सङ्गठन सुदृढ गर्न समाजवादी पत्रकारहरूसँग अनुरोध गर्नुभयो । बैठकमा कार्यवाहक महासचिव प्रेम गौतमले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेकामा सुझावसहित पारित गरियो । विसं २०७८ भदौ १० गते स्थापना भई सोही साल मङ्सिर ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको सङ्गठनको यहाँ विसं २०८० जेठ २७–२८ मा भएको पहिलो महाधिवेशनले वर्तमान कार्यसमिति चयन गरेको थियो ।

प्रधानमन्त्री निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन् ।

बैठकमा सरकार सञ्चालनका विषय, संसदमा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रता दिनेलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ । यसअघि यसै साता दुईपटक संयन्त्रको कार्यदल बैठक सम्पन्न भइसकेको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा धुर्कोट प्रदेशको पहिलो

तम्घास (गुल्मी), २ फागुनः कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदशेमा धुर्कोट गाउँपालिका पहिलो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कानुसार लुम्बिनी प्रदेशका गाउँपालिकामध्येमा धुर्कोट गाउँपालिका प्रथम भएको हो ।

आयोगका अनुसार धुर्कोटले ७६ दशमलव सात अङ्क प्राप्त गरेको छ । प्रदेशमा गाउँपालिकाको तर्फबाट गुल्मीको रूरूक्षेत्र गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो भएका छन् । रूरूक्षेत्रले ७६ दशमलव दुई र छत्रकोटले ७४ दशमलव आठ अङ्क प्राप्त गरेका छन् । देशभरका सात सय ५३ पालिकामध्ये धुर्कोट १०औँ स्थानमा रहेको छभने लुम्बिनी प्रदेशका एक सय नौ पालिकामध्ये तेस्रो स्थानमा छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा पालिकाको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि–२०७८ अनुसार अङ्क प्रदान गर्दछ । असार १० भित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, वार्षिक बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकमअनुसार खर्चको अवस्था, बेरूजु, आवधिक योजनाको तर्जुमा, कक्षा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरलाई वित्त आयोगले सूचकको रूपमा मापन गरेको छ ।

त्यसैगरी कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा एक दशमलव छ वा सोभन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चारपटक गर्भजाँच गरेको महिलाको अनुपातलगायत १७ सूचकका आधारमा वित्त आयोगले अङ्क प्रदान गर्ने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

आयोगको तथ्याङ्कानुसार गुल्मीको रेसुङ्गा नगरपालिका ७४ दशमलव चार, गुल्मीदरबार गाउँपालिकाले ६४ दशमलव दुई, मदाने गाउँपालिकाले ६८ दशमलव नौ अङ्क प्राप्त गरेका छन् । मालिकाले ७३ दशमलव छ, इस्माले ५६ दशमलव छ, मुसिकोटले ६१ दशमलव चार, चन्द्रकोटले ६२ दशमलव दुई, सत्यवतीले ६३ दशमलव छ तथा कालीगण्डकीले ६० दशमलव दुई अङ्क प्राप्त गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष पोखरेलले कर्मचारी, जनप्रतिनिधि र सिङ्गो समुदायको सहयोगका कारण यो सफलता हासिल भएको बताउनुभयो । यसभन्दा अगाडि पनि धुर्कोट गाउँपालिका उत्कृष्ट भएको भन्दै उहाँले अहिलेको सफलता जोगाइराख्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । स्थानीय तहमा हुने सीमित स्रोत र साधनका बाबजुद पनि प्रभावकारी काम गर्न सकेकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

ट्रम्पको टिप्पणीपछि अमेरिकाले सैन्य कटौतीमा नेतृत्व लिनुपर्छ : चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गर्नुभएपछि बेइजिङले शुक्रबार अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ ।

विश्वव्यापी शान्ति निर्माताका रूपमा आफ्नो दोस्रो कार्यकालमा आफूलाई प्रस्तुत गर्नुभएका ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिन र सी जिनपिङसँग ‘परिस्थिति शान्त हुँदा’ शिखर सम्मेलन गर्न चाहेको बताउनुभयो ।

“म भन्न चाहन्छु, हाम्रो सैन्य बजेट आधा कटौती गरौँ”, उहाँले बिहीबार ओभल कार्यालयमा पत्रकारहरूलाई भन्नुभयो ।

शुक्रबार यो प्रस्तावबारे सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग विश्वको सबैभन्दा ठूलो सैन्य बजेट रहेको बताएको छ ।

“संयुक्त राज्य अमेरिकाले ‘अमेरिका फस्र्ट’ का लागि आह्वान गरेदेखि उनीहरूले सैन्य खर्च कटौतीको उदाहरण स्थापित गर्न नेतृत्व लिनुपर्छ”, विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित समाचार ब्रिफिङमा भन्नुभयो, “चीनको सैन्य बजेट खुला र पारदर्शी छ । यो अमेरिका र अन्य प्रमुख सैन्य शक्तिहरूको सन्दर्भमा उचित र उपयुक्त छ, चीनको सीमित रक्षा खर्च राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितहरू सुरक्षित गर्न र विश्व शान्ति रक्षा गर्न पूर्णतया आवश्यक छ ।

ट्रम्पले बिहीबार तीन शक्तिलाई आफ्नो आणविक हतियारको भण्डार कटौती गर्न पनि आह्वान गर्नुभयो तर गुओले वासिङ्टन र मस्कोसँग सबैभन्दा धेरै आणविक हतियार भएका देशका रूपमा ‘आणविक निःशस्त्रीकरणको विशेष र प्राथमिक जिम्मेवारी’ रहेको बताउनुभयो ।

“चीन सधैँ आफ्नो आणविक शक्तिलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्यूनतम स्तरमा कायम राख्छ र कुनै पनि देशसँग हतियार दौडमा संलग्न हुँदैन”, उहाँले भन्नुभयो ।

‘स्मार्ट सञ्चार अनुसन्धान’ मा इजरायलको लगानी

इजरायल इनोभेसन अथोरिटी (आइआइए) ले दिगो उड्डयन इन्धन (एसएएफ) र बौद्धिक एकीकृत सेन्सिङ तथा सञ्चार (आइआइएसी) अनुसन्धानलाई समर्थन गर्न १०० लाख शेकेलको नयाँ लगानीको घोषणा गरेको छ ।

आगामी तीन वर्षमा बोइङसँगको सहकार्यमा विकसित एसएएफ अनुसन्धानमा लगानी केन्द्रित हुनेछ । बोइङ एउटा ठूलो अमेरिकी कम्पनी हो, जसले हवाइजहाज डिजाइन र निर्माण गर्छ । आइआइएसी एक एकीकृत स्मार्ट सेन्सिङ र सञ्चारलाई संयोजन गर्ने परियोजना हो ।

यी प्रयासहरूले नवीकरणीय स्रोत र दूरसञ्चार प्रविधिबाट लागत–प्रभावी, जेट इन्धन सिर्जना गर्न मद्दत गर्नेछ, जसले वास्तविक–समय परिस्थितिगत जागरूकता, अल्ट्रा–फास्ट प्रतिक्रिया समय र भविष्यको ५जी र ६जी अनुप्रयोगको लागि नेटवर्क दक्षता सुधार गर्नेछ ।

आइआइएले इजरायललाई गहिरो प्राविधिक आविष्कारमा विश्वव्यापी नेताको रूपमा स्थापित गर्ने, प्रमुख उद्योगलाई बलियो बनाउन र विश्वभर नयाँ बजार अवसर खोल्ने लक्ष्य राखेको छ ।

यस पहलले उच्च इजरायली कम्पनी, शैक्षिक संस्था र विश्वव्यापी साझेदारहरूलाई उन्नत दिगो उड्डयन प्रविधि र अर्को पुस्ताको सञ्चार सञ्जाल विकास गर्न एकसाथ ल्याउनेछ ।

जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने

जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने बताएको छ । चामल राष्ट्रको प्रिय मुख्य खाद्यान्न हो ।

सरकारले विगतमा ठूला भूकम्प जस्ता आपत्कालीन अवस्थामा आफ्नो चामल भण्डार प्रयोग गरेको थियो तर वितरणमा अवरोधका कारण यसो गर्ने यो पहिलो पटक हुनेछ ।

सन् २०२३ मा अत्यधिक गर्मी मौसमले निम्त्याएको अभावले मागलाई अत्यधिक बढाएपछि गत गर्मीमा चामलको मूल्य बढेको थियो र त्यसपछि निरन्तर बढ्दै गएको छ ।

जलवायु परिवर्तनले निम्त्याएको अत्यधिक गर्मी लहरले विश्वका धेरै भागलाई घेरेको बेला जापानले सन् २०२४ मा रेकर्ड गरिएको सबैभन्दा तातो वर्षको सामना गर्दै निरन्तर उच्च तापक्रमको सामना गरिरहेको छ ।

कृषिमन्त्री टाकु इटोले पत्रकारहरूलाई सरकारले आफ्नो १० लाख टन भण्डारबाट दुई लाख १० हजार टन चामल जारी गर्ने बताउनुभयो । “हामी जसरी पनि वितरणको स्थिर अवस्थालाई सुधार गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।

सरकारले शरद ऋतुमा नयाँ फसलको चामल बजारमा आएपछि मूल्य स्थिर हुने आशा गरेको थियो तर वृद्धि जारी रह्यो ।

सरकारी सर्वेक्षणअनुसार फेब्रुअरीमा पाँच किलोग्रामको थैलाको पछिल्लो औसत खुद्रा मूल्य तीन हजार छ सय ८८ येन (२४ डलर) थियो । यो गत वर्षको दुई हजार २३ येनबाट बढेको हो ।

एक अभूतपूर्व कदममा कृषि मन्त्रालयले गत महिना नयाँ नियमअन्तर्गत सरकारको चामल भण्डारको बिक्रीलाई अनुमति दिने निर्णय गरेको थियो ।

पहिले भण्डार गरिएको चामल गम्भीर बाली असफल भएमा वा विपत्तिको अवस्थामा मात्र जारी गर्न सकिन्थ्यो तर नियमहरूमा परिवर्तनले चामल वितरण स्थिर मानिएको बेला जारी गर्न अनुमति दिन्छ ।

मन्त्रालयले एक वर्षभित्र वितरकहरूबाट त्यही परिमाणको चामल फिर्ता खरिद गर्नुपर्छ ।

दुई वर्षअघि चामलको ठूलो बाली असफल भएपछि किनमेलकर्ताहरू यो मुख्य खाद्यान्न किन्न हतारिएपछि सरकारले सन् १९९५ मा चामल भण्डारण गर्न कानून लागू गरेको थियो ।

स्टारलिङ्क विस्तारका लागि मस्कसँग वार्ता भइरहेको बङ्गलादेशको भनाइ

आफ्नो नाजुक अन्तरिम सरकारले अमेरिकी कूटनीतिक समर्थन खोजिरहेको बेला बङ्गलादेशले शुक्रबार टेक अर्बपति एलन मस्कलाई स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्क दक्षिण एशियाली देशमा ल्याउन अनुरोध गरेको बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दाहिने हातका रूपमा मस्कको ह्वाइट हाउसमा उच्च भूमिका छ । जहाँ विदेशी नेताहरूसँगको उहाँको बैठकले उहाँको आधिकारिक भूमिका र व्यावसायिक हितका बीचको सीमा अस्पष्ट भएको बारे प्रश्नहरू खडा गरेको छ ।

विश्वको सबैभन्दा धनी व्यक्ति मस्कले बिहीबार गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिपछि बङ्गलादेशमा कार्यवाहक प्रशासनको नेतृत्व गरिरहनुभएका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुससँग कुराकानी गर्नुभएको छ ।

उहाँहरूले लामो भिडियो कलमा पृथ्वीको तल्लो कक्षीय स्याटेलाइटहरू मार्फत दूर दराजका स्थानहरूमा इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्क बङ्गलादेशमा ल्याउने बारे छलफल गर्नुभयो ।

दुवैले यो सेवाले ‘बङ्गलादेशका उद्यमी युवा, ग्रामीण र कमजोर महिला र दूर दराजका समुदायहरू’ का लागि नयाँ अवसरहरू सिर्जना गर्ने कुरामा जोड दिनुभएको युनुसको मिडिया कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा युनुसले निमन्त्रणा दिएपछि मस्कले बङ्गलादेश भ्रमण गर्न ‘उत्सुक’ रहेको बताउनुभएको उल्लेख छ ।

मस्कले अहिलेसम्म यो बैठकबारे– एक्स सामाजिक मिडिया प्लेटफर्ममा पनि जसको उहाँ मालिक हुनुहुन्छ र जहाँ उहाँ आफ्ना दैनिक विचारहरू राख्नुहुन्छ– सार्वजनिक रूपमा छलफल गर्नुभएको छैन ।  

ट्रम्पको निमन्त्रणामा वासिङ्टनमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मस्कको भेट भएको दिन नै यो कुराकानी भएको थियो ।

गत वर्षको विद्रोहले स्वेच्छाचारी पूर्व प्रधानमन्त्री शेख हसिनालाई हटाएपछि युनुस पदमा आएदेखि मोदीको सरकारको बंगलादेशसँगको सम्बन्ध बिग्रिँदै गएको छ।

भारत हसिनाको सबैभन्दा महत्त्वपूर्ण हितैषी थियो र उनी नयाँ दिल्लीमा निर्वासनमा छिन्, बंगलादेशले विद्रोहमा सयौं प्रदर्शनकारीहरूको हत्याको मुद्दामा सामना गर्न उनलाई प्रत्यर्पण गर्न माग गरे पनि।

मस्कले अझै सार्वजनिक रूपमा बैठकको बारेमा छलफल गर्न बाँकी छ, एक्समा, उनको स्वामित्वमा रहेको सामाजिक मिडिया प्लेटफर्म र जसमा उनले आफ्नो दैनिक विचारहरू क्रोनिकल गर्छन्। ट्रम्पको निमन्त्रणामा वासिङ्टनमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मस्कको भेट भएको दिन नै यो कल भएको थियो।

गत वर्षको विद्रोहले निरंकुश पूर्व प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि युनुसले पदभार सम्हालेपछि मोदीको सरकारले बङ्गलादेशसँगको सम्बन्ध बिग्रँदै गएको देखेको छ ।

भारत हसिनाको सबैभन्दा महत्त्वपूर्ण सहयोगी थियो र उनलाई अपदस्थ गर्ने विद्रोहको क्रममा सयौं प्रदर्शनकारीहरूको हत्याको मुद्दाको सामना गर्न उनलाई सुपुर्दगी गर्न बङ्गलादेशको मागको बाबजुद उनी नयाँ दिल्लीमा निर्वासनमा छिन्।

शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड

दमौली (तनहुँ), २ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयको आज आयोजित ५४औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शिक्षा क्षेत्रमा लगानी कम रहेकाले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सरकारमा हुँदादेखि नै शिक्षा क्षेत्रमा लगानी अपूरो भयो भनेर बहस सुरु गरेका थियौँ । शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ । सामाजिक, आर्थिक रूपान्तरण, विकास र समृद्धिको कार्यभार पूरा गर्नेगरी शिक्षा प्रक्रियालाई पूरा गर्नुपर्छ ।”

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पाठ्यक्रममा सुधार गर्न शिक्षकलाई तालिम दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “शिक्षकलाई सम्मानित पेसाका रूपमा स्थापित गर्नुपर्छ । अन्यत्र काम नपाएर शिक्षकमा आएको हो भन्ने अवस्थाको अन्त्य गरिनुपर्छ । सम्मानसाथ शिक्षक हुने वातावरण सृजना गर्नुपर्नेछ ।”

श्रेष्ठले सामुदायिक विद्यालय निजी विद्यालयभन्दा गुणस्तरीय भए पनि निजी विद्यालयतर्फ आमनागरिकको आकर्षण बढेको वर्तमान अवस्थामा लगानी बढाएर सीप र रोजगारीसँग जोड्ने गरी शिक्षा दिनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा लैजाने वातावरण कसरी उत्पन्न भयो, त्यसतर्फ छलफल गरी सुधारका विकल्प खोज्नुपर्छ ।”

उहाँले सामुदायिक विद्यालयको स्तर गुणात्मक तरिकाले वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शिक्षामा समान पहुँचको वातावरण सृजना गर्नुपर्ने उल्लेख गर्नुभयो । सङ्घीय, प्रदेश र स्थानीय तहले शिक्षा क्षेत्रको समस्या पहिचान गरी नयाँ ढङ्गबाट सोच्नुपर्ने बेला आएको भन्दै उहाँले थप्नुभयो, “शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिले शिक्षण संस्थालाई गुणस्तरीय शिक्षाको थलो बनाउन गम्भीर रूपमा नयाँ योजना बनाउनुपर्छ ।”

शिक्षा जीविकोपार्जनका लागि मात्र नभई शिक्षा जीवनका लागि भएको उल्लेख गर्दै श्रेष्ठले अहिलेको शिक्षा प्रणाली मानिसलाई मेसिन बनाउने माध्यम मात्र भयो कि त्यसतर्फ सोच्नुपर्ने बेला आएको चर्चा गर्नुभयो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मित्रता माविको नतिजा जिल्लाकै उत्कृष्ट छ, अन्य विद्यालयको नतिजा पनि उत्कृष्ट बनाउने गरी हामीले गर्न सक्ने सबै सहयोग गर्न तयार छौँ ।”

बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम

नेपालगञ्ज, २ फागुन : बाँकेका केही स्थानीय तहहरु हात्तीपाइले रोगको जोखिममा छन् । जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.२ प्रतिशतसम्म सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिनुभयो । 

सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य भएपनि जिल्लामा सङ्क्रमित भेटिने क्रम अन्त्य नभएको उहाँको भनाइ छ । सन् २००३ देखि सुरु भएको औषधि सेवन अभियानबाट सन् २०२० मै हात्तीपाइले निवारण गर्ने उद्देश्य राखिएको थियो । जिल्लामा मात्र १४औँ पटक औषधि सेवन कार्यक्रम यही फागुन ५ गतेबाट सुरु गरिने भएको छ ।

जिल्लामा हालसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि सेवन गरेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुग्न सकेको छैन । 

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख वरिष्ठ फिजिसियन डा राजन पाण्डेले हात्तीपाइले विरुद्ध प्रयोग भएका औषधि लामो समयदेखि प्रयोग हुँदै आएका औषधि भएकाले निर्धक्कका साथ सेवन गरी नेपाललाई हात्तीपाइले रोग मुक्त बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्नुभयो । 

सर्वेक्षणअनुसार नेपालगञ्जमा ३३.२८ प्रतिशतले औषधिले असर गर्ने डरका कारण र ३२.५३ प्रतिशतले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा यदुचन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएको बताउनुभयो ।  

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले नेपालगञ्ज उपमहानगरपालिकामा यही फागुन ५ गतेदेखि तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन कार्यक्रम सुरु गर्न लागिएको बताउनुभयो । उहाँले एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइ दिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायम रहेको उहाँको भनाइ छ । 

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत गरी पानी वितरण सुरु

काठमाडौँ, २ फागुन : यहाँस्थित बबरमहलमा फुटेको पाइप मर्मत गरिएको छ । मर्मत सम्पन्न गरी पानी वितरण सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।

केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत्का तारहरु भूमिगत गर्न खन्ने क्रममा बुधबार बबरमहलमा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो ।   बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा शुक्रबार छलफल गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरूङमार्ग, स्मार्ट सिटी, एक्प्रेस–वे आदि क्षेत्रमा परियोजना पहिचान, प्रस्तावना तयारी र लगानीको इच्छा प्रकट गरेको हो । सिङ्गापुुर सरकारको स्वामित्वमा रहेको विश्वव्यापी लगानीसम्बन्धी निकाय तेमासेकअन्तर्गतको उक्त कम्पनीले हाल नेपालमा कार्यालय स्थापना गरेर काम सुरू गरिसकेको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने क्रममा नेपालले विश्वका प्रतिष्ठित लगानीकर्तासँग सहयोग र सहकार्यका लागि आवश्यक सहजीकरणको वातावरण सृजना गर्ने बताउनुुभयो । सिङ्गापुर विश्वमै छिटो विकास भएको मुलुुकमा पर्ने जनाउँदै उनले सर्वना समूहको अनुुभव र विज्ञता नेपालको विकास र उन्नतिका लागि उपयोगी हुनसक्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पैसाले मात्र विकास नहुने तर पैसा आर्जनका लागि विकास आवश्यक भएकामा आफूहरू स्पष्ट रहेकाले नेपाललाई विकसित बनाउने अठोटका साथ लागिरहेको जनाए । “म सरकारलाई वास्तविक रूपमा जनताको सरकारका रूपमा विकसित गर्न चाहन्छुु । हामी भ्रष्टाचारका लागि कुनै काम गर्दैनौँ । देशलाई विकसित र जनतालाई सुखी बनाउनका लागि काम गर्छाैँ”, प्रधानमन्त्री ओलीले भने, “तपाईँहरूजस्ता विश्वव्यापी संस्थालाई लगानी विस्तार गर्नका लागि के–कस्तो कानुनी र संरचनात्मक परिवर्तन आवश्यक छ, त्यो गर्न सरकारका तर्फबाट हामी तयार हुनेछौँ ।”

भेटका अवसरमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सर्वना ग्रुपका प्रशासकीय प्रमुख सु मिन, नेकपा (एमाले)को केन्द्रीय सहरी विकास विभाग प्रमुख शेरबहादुर तामाङ, सर्वना ग्रुपका दक्षिण एसिया प्रमुख अभिनास मिश्रा, नेपाल प्रमुख विलास कोइरालालगायत सहभागी थिए ।

‘सहकारी सिङ्गो अर्थतन्त्रको आधार’ : मन्त्री अधिकारी

लुम्बिनी, २ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी अर्थनीतिका तीन खम्बा मध्येको एक खम्बा मात्र नभएर मुलुकको सिङ्गो अर्थतन्त्रको आधार भएको बताउनुभएको छ ।

आज बुटवलमा आयोजित सहकारी, सुशासन प्रवर्द्धनसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि अध्यादेश ल्याएको बताउनुभयो ।

उहाँले सहकारी स्वनियमनकारी निकायका नाममा अत्यन्तै खुकुलो नीति बनाउँदा समस्याग्रस्त बन्दै गएको बताउनुभयो । “अहिले सहकारीबाट लगेको रकम तिर्नुपर्दैन भन्ने भ्रम छरिएको छ र अर्को सहकारीमा किन बचत गर्ने भन्ने भ्रम सृजना गर्ने काम भएका छन्”, उहाँले भन्नुभयो, “देशैभरका सहकारीले एकैपटक यसका विरुद्ध सचेतना अभियान चलाउनु पर्दछ ।”

उहाँले सहकारीमा देखिएका समस्या समाधान गर्न विसं २०७४ को सहकारी ऐन पर्याप्त नभएकाले समस्या समाधान गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो । उहाँले हरेक कानुन समयक्रमसँगै संशोधन आवश्यक हुने भएकाले सहकारीसम्बन्धी अध्यादेश पनि नागरिकका समस्या समाधान गर्न ल्याइएकाले यसमा सहजीकरण गर्न आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले वर्षौँदेखि बसिरहेको जमिनको मालिक बनाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको पनि बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन पोखरेलले सहकारी क्षेत्रका असल अभ्यासका विषयमा छलफल र अनुभव आदानप्रदान गर्ने बानीको विकास भएमा सहकारी क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले सहकारीको बचत रकम अपचलन गर्ने करिब छ सय जना प्रहरी हिरासतमा रहेको र १५ सयभन्दा बढी फरार रहेको जानकारी दिनुभयो ।

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

  भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारत विद्युत् व्यापार सम्झौता कार्यान्वयन गर्न गठित संयन्त्रहरूबाट विद्युत् व्यापार, थप प्रसारण लाइन निर्माण र भारतीय लगानीका जलविद्युत् आयोजनाहरूको विषयमा भएको उपलब्धीका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।

  बैठकमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चाँडो टुङ्याउनेबारे छलफल भएको थियो । यस्तै, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको आसन्न नेपाल भ्रमणको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

  भेटमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले भारतीय लगानीमा नेपालमा निर्माण भइरहेको आयोजनालाई अगाडि बढाउनका लागि आवश्यक सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो । उहाँले विद्युत् व्यापार, थप प्रसारण लाइनको विकास, हरित हाइड्रोजन उत्पादनमा भारतको सधैँ साथ र सहयोग रहेको बताउनुभयो ।

आजदेखि फाखेल–हुमाने सडक बन्द,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मकवानपुर, २ फागुनः काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले राससलाई बताउनुभयो । उहाँले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभएको छ ।कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित

रसुवा, २ फागुनः माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाले रसुवावासीको जीवनस्तरमा सुधार गर्न विविध कार्यक्रम सञ्चालन गरेसँगै त्यसबाट उनीहरू लाभान्वित भएका छन् ।
आयोजनाले ठूला तथा साना सवारी साधन हाक्ने प्रशिक्षण, विविध सवारीसाधनको मर्मत, ‘वायरिङ, वेल्डिङ’, सिलाइकटाई, शृङ्गार र कोरियाली तथा जापानी भाषा प्रशिक्षणको व्यवस्था गरेर आयोजना क्षेत्रका स्थानीयको जीवनस्तर सुधारमा सघाइरहेको छ ।

जलविद्युत् आयोजना निर्माण भइरहेको स्थान उत्तरगया – १ का अध्यक्ष मारसिंह तामाङ सीपमूलक तालिमसहित विकास निर्माणका कामबाट रसुवावासी लाभान्वित भएको बताउनुहुन्छ । जिल्लाको करिब बीच भागमा रहेको सो आयोजनाले शिक्षा, स्वास्थ्य, रोजगार, सडक, बाटो, वातावरणका क्षेत्रमा गरेको सहयोग रसुवावासीले कहिल्यै बिर्सन नसक्ने र रसुवाको विकास निर्माण तथा रोजगारीका क्षेत्रमा आयोजनाबाट सहयोग प्राप्त भइरहने विश्वास उहाँको छ ।

अध्यक्ष तामाङले भन्नुभयो, “काठमाडौँबाट नजिक रहे पनि दुर्गम तथा पिछडिएका बासिन्दाका रुपमा सदैव उपेक्षित थियौँ, हाम्रो भाग्य नै भन्नुपर्छ, खै कहाँबाट, कसरी यो प्रोजेक्ट आयो, अपेक्षा नगरेको सहयोग ग¥यो, स्थानीयवासीका तर्फबाट आयोजनालाई सहयोग गर्ने प्रतिबद्धतासहित धन्यवाद भन्न चाहन्छु ।”

प्रभावित स्थानीय जनतालाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रमअन्तर्गत रु ८१ लाख ४३ हजार खर्च गरी निर्माण कार्यमा संलग्न मजदूरमध्येबाट एक सय २१ जनालाई सीप एवं रोजगारमूलक तालिम उपलब्ध गराएको आयोजनाले जनाएको छ । सो जलविद्युत् आयोजनाअन्तर्गत करिब एक हजार स्थानीय मजदूर संलग्न रहेकामा अहिले एक सय ५४ जनाले क्षमताअनुसारको काम गरिरहेका छन् । बाँकी जनशक्तिको चहना एवं स्रोत साधनलाई समेत दृष्टिगत गरी सीपमूलक तालिम कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

आयोजनाका महाप्रबन्धक गिरिराज अधिकारीले रसुवामा निर्माणाधीन ‘अप्पर त्रिशूली–वान’ ले सामाजिक उत्तरदायित्व वहन कार्यक्रमअन्तर्गत तामाङ बाहुल्य क्षेत्रका प्रभावित जनताको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था उकास्न सक्दो सहयोग गर्दैै आएको बताउनुभयो ।

महाप्रबन्धक अधिकारीका अनुसार धार्मिक, संस्कृतिक तथा वातावरण संरक्षण, खानेपानीको व्यवस्था, विद्यालय तथा छात्राबास निर्माण, स्वास्थ्य शिविरसहित चेतनामूलक कार्यक्रम, सडक–बाटो तथा पुल निर्माण गरी प्रभावित जनताको माग सम्बोधनका पक्षमा अधिकतम प्रयास गरिएको छ ।

सो आयोजनाले स्थानीय आदिवासी जनजाति समुदायको जीवनस्तर सुधार कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाख खर्च भइसकेको र कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । विसं २०७२ को भूकम्पबाट प्रभावित सो जलविद्युत् आयोजना आसपासका स्थानीय बासिन्दालाई आयोजना निर्माण हुनअघि नै राहत सामग्री प्रदान गरी मानवीय सेवा उपलब्ध गराएको जनाएको छ । स्थानीयवासीबाटै छनोट भएका कार्यक्रम सञ्चालन गर्ने क्रममा हालसम्म रु दुई करोड खर्च भइसकेको आयोजनाले स्पष्ट गरेको छ ।

यसैगरी आयोजनाले स्थानीय बासिन्दाको सुविधाका लागि हाकुबेँसीस्थित त्रिशूली नदीमा पहिलो ‘मोटरेवल बेलीब्रिज’ तथा सडकमार्ग, धुञ्चेमा छात्रावास भवन निर्माण गरेको छ भने शान्तिसुरक्षा अमनचयन कायम गर्न सघाउ पु¥याउने उद्देश्यले हाकुबेँसी प्रहरीचौकी भवन निर्माणका लागी शून्य दशमलव १६ हेक्टर आफ्नो स्वामित्वको जमिन उपलब्ध गराएको महाप्रबन्धक अधिकारीले जानकारी दिनुभयो ।

निकुञ्जको आधार इलाका प्रयोग गरेबापत लाङटाङ राष्ट्रिय निकुञ्जलाई एक थान मोटर (जिप) सहित रु ५५ लाख रकम उपलब्ध गराएको सो आयोजनाले सुरक्षा व्यवस्था सुनिश्चित गरेबापत जिल्ला प्रहरी कार्यालय रसुवालाई रु चार लाख ९७ हजार, स्थानीय धार्मिक सङ्घसंस्थालाई रु १३ लाख, खानेपानी सुधारमा रु छ लाख १५ हजार, स्थानीय समुदायले छनोट गरेका योजना कार्यान्वयनतर्फ रु दुई करोड ५० लाख, शैक्षिक, सीपमूलकजस्ता जनता केन्द्रित कार्यक्रम सञ्चालनका लागि रु १७ करोड खर्च गरेको जनाएको छ ।

कूल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको दुई सय १६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण २०७८ पुसमा सुरु भएको हो । भूमिगत संरचना निर्माणबाट सुरु भएको आयोजनाको ५२ प्रतिशत प्रगति भएको महाप्रबन्धक अधिकारीले बताउनुभयो ।

सम्बद्ध प्राविधिकका अनुसार आयोजनाको नौ दशमलव एक किमी ‘हेडरेस’ सुरुङमध्ये करिब आठ किमी निर्माण पूरा गरेको छ । त्रिशूली नदीमा बाँधबाँधी मैलुङमा विद्युत् उत्पादनगृहको संरचना निर्माण जारी छ । विसं २०८३ मङ्सिर महिनाभित्र विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

आयोजनाबाट सुक्खायाममा एक सय चार र वर्षायाममा २१६ मेगावाट विद्युत् उत्पादन हुने महाप्रबन्धक अधिकारीले जानकारी दिनुभयो । कोरियाली कम्पनी ‘डुसान’ले ४५ करोड ३२ लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको सो आयोजना निर्माणमा नौ वटा अन्तरराष्ट्रिय कम्पनी संलग्न छन् । ‘डुसान’का कार्यकारी अधिकृत बायङ सु मीनले सरकारी, निजी तथा स्थानीयको सहयोगमा तोकिएको समयभित्र विद्युत् उत्पादन गरी नेपालको अर्थतन्त्र गतिशील बनाउन आयोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती

जलेश्वर, २ फागुनः कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् ।
बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपम सुर्तीखेती गर्न थालेका छन् ।
सुर्तीखेतीमा रमाउनुभएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्तीखेती गरेका बताउनुहुन्छ ।

गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् ।

एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्तीखेती गर्न थालेको बताउनुभयो । उहाँका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।

यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम रु दुई लाख आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताउनुभयो ।

पहिचानको पर्खाइमा बागलुङ भकुण्डेका ‘धान्द्रुके बाजे’

गलकोट (बागलुङ), २ फागुन : जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आउनुभएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका शारीरिक तथा मानसिक रूपमा कमजोर वृद्ध अहिलेसम्म पहिचानविहीन हुनुहुन्छ ।

करिब ९० वर्षीय उहाँको नाम, ठेगाना र आफन्त नखुल्दा राज्यले दिने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । लामो समयदेखि भकुण्डेका विभिन्न घरमा आश्रय लिएर बस्दै आउनुभएका उहाँलाई स्थानीयले ‘धान्द्रुके बाजे’ भनेर बोलाउने गरेका छन् । सानै उमेरदेखि भकुण्डेमा आएर बाँसको चोयाका सामग्री बनाएर पेट पाल्दै आउनुभएका उहाँको उमेर बढ्दै जादा पछिल्लो समय हिँड्डुलमा समेत बाधा पुग्न थालेको देखिन्छ ।

स्पष्ट बोल्न नसक्ने उहाँ अहिले स्थानीय नरमाया थापाको घरमा आश्रय लिएर बस्नुभएको छ । उहाँ भकुण्डेका परिचित व्यक्ति भए पनि नाम, ठेगाना खुल्न सकेको छैन । राज्यले पहिचानका रूपमा दिने नागरिकता पाउन नसक्दा उहाँ पहिचानविहीन हुनुभएको छ ।

“हाम्रो घरमा बस्न लागेको थुप्रै वर्ष भयो, मेरो विवाह भएर आउँदा यही हुनुहुन्थ्यो, अहिले मेरै उमेर ६० पुग्यो, उहाँलाई धान्द्रुके बाजे भने पनि धान्द्रकुमा उहाँको कोही आफन्त पत्ता लागेको छैन, नागरिकता बनाउन वडामा आयोजित शिविरमा पनि लगेका थियौँ, पहिचान नखुलेको भन्दै नागरिकता दिइएन, बुधबार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का उहाँलाई भेट्न आउनुभएको थियो, नगरपालिकाको पहलमा नागरिकता बने बुढेसकालमा सहाराविहीनको नामकरण होला”, थापाले भन्नुभयो ।

उहाँको उमेर ९० वरपर भएको भकुण्डेका पूर्वगाविस अध्यक्ष तथा संविधासभा सदस्य नरबहादुर थापाले बताउनुभयो । उहाँलाई नागरिकता दिनसके उहाँको पहिचान खुल्ने र सामाजिक सुरक्षा भत्ता पाउने बताउनुभयो । जैमिनीको बिजुवामा जन्मेको र आमाले छोडेपछि धान्दु्रक बसाइँ सरेको भन्नेमात्र सुने पनि अहिलेसम्म आफन्त पत्ता लगाउन नसकिएको र उहाँ बोल्न नसक्ने भएकाले समस्या भएको थापा बताउनुुहुन्छ ।

धेरै वर्षदेखि भकुण्डेमा बस्दै आउनुभएका वृद्ध रेश, सिगाना र रायडाँडासम्म पुगेर चोयाका सामग्री बनाउने गरे पनि अहिले शारीरिक रूपमा कमजोर भइसक्नुभएको छ । वृद्धको अवस्था बुझ्न बुधबार भकुण्डे गएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काले जीवनको उत्तरार्द्धमा आइपुग्दा पनि पहिचानविहीन हुनु दुखद् भएको बताउँदै नागरिकता र अपाङ्गता परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेको बताउनुभयो ।

खड्काले भन्नुभयो, “उहाँले एउटा परिचय पाउनु भनेको राज्य भएको महसुस गर्नु हो, स्थानीय सरकारका हैसियतले गर्ने आवश्यक समन्वय हामीले गर्छौँ, कुनै नेपाली नागरिक पहिचानविहीन हुनुहुँदैन, संरक्षण लिनुपरे व्यक्तिगत रूपमा मैले नै लिन्छु, उहाँलाई नागरिकता दिलाउन स्थानीय सरकारले जस्तोसुकै जिम्मा लिन सकिन्छ ।”

प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले स्थानीय, वडा कार्यालय र नगरपालिकाले सहजीकरण गरे नागरिकता दिन सहज हुने बताउनुभयो । कानुनी विषय अध्ययनपश्चात सहजीकरण गर्ने र अभिभावक नभएको खण्डमा देखे/जानेकाको भनाइ तथा स्थानीयले संरक्षण लिनसके नागरिकता दिन सकिने प्रजिअ सुवेदीले बताउनुभयो ।