युरोपेली ‘स्न्यापब्याक’ प्रतिबन्धको खतरा बीच इरानी रियाल रेकर्ड न्यूनमा


युरोपेली राष्ट्रहरूले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू गर्ने प्रक्रिया सुरु गर्ने आशङ्काबीच बिहीबार तेहरानमा रियाल मुद्रा रेकर्ड न्यून स्तरमा झरेको छ । यसले पहिल्यै कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।
सन् २०१५ को इरान र विश्व शक्तिहरू बीचको आणविक सम्झौतामा समावेश ‘स्न्यापब्याक’ संयन्त्र संयुक्त राष्ट्रसङ्घमा भिटो–प्रुफ हुने गरी बनाइएको थियो । यसले ३० दिनको समयावधिपछि लागू हुने सम्भावना छ ।
यदि कार्यान्वयन गरियो भने, इरानी सम्पत्ति विदेशमा फ्रिज हुनेछ, हतियार सम्झौतामा रोक लाग्नेछ र ब्यालिस्टिक मिसाइल कार्यक्रमसमेत दण्डित हुनेछ ।
तेहरानमा बिहीबार एक डलर बराबर १० लाख रियालमा कारोबार भयो । सन् २०१५ को सम्झौताको समयमा यो दर ३२ हजार रियाल बराबर एक डलर थियो । अप्रिलमा रियाल आफ्नो सबैभन्दा कम विन्दु एक डलर बराबर १० लाख ४३ हजारमा पुगेको थियो ।
फ्रान्स, जर्मनी र बेलायतले अगस्ट ८ मा इजरायलसँगको १२ दिने युद्धको सुरुमा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को निरीक्षण रोकेपछि स्न्यापब्याक ट्रिगर हुनसक्ने चेतावनी दिएका थिए । त्यसयता इजरायली आक्रमणमा तेहरानका शीर्ष सैन्य नेताहरू मारिए र सर्वोच्च नेता आयातुल्ला अली खामेनी लुकेर बस्न बाध्य हुनुभयो ।
– इरानको प्रतिक्रिया –
सुरुआतमा इरानले नयाँ प्रतिबन्धको खतरालाई कम आँकेको थियो । युरोपेली चेतावनीपछि पनि केही समय थोरै मात्र कूटनीतिमा संलग्न भयो ।
तर पछिल्ला दिनहरूमा छिटफुट कूटनीतिक गतिविधिले यसको शासनभित्रको अराजकतालाई उजागर गरिरहेको देखिन्छ ।
विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता भन्नुभएको थियो, “युद्ध हुँदा हामी वार्तामा थियौँ । त्यसैले, वार्ताले मात्रै युद्ध रोक्दैन । कहिलेकाहीँ युद्ध अपरिहार्य हुन्छ र कूटनीतिले मात्र त्यसलाई रोक्न सक्दैन ।”
– आणविक संवर्धनबारे चिन्ता –
जुनमा युद्ध सुरु हुनुअघि इरानले ६० प्रतिशत शुद्धतासम्म युरेनियम संवर्धन गरिरहेको थियो । यो हतियार–ग्रेड ९० प्रतिशत स्तरको नजिक छ । यससँग धेरै परमाणु बम बनाउन पर्याप्त अत्यधिक समृद्ध युरेनियम भण्डार रहेको बताइन्छ ।
इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । तर पश्चिमी राष्ट्रहरू र आइएइएले सन् २००३ सम्म इरानसँग सक्रिय आणविक हतियार कार्यक्रम रहेको अनुमान गरेका छन् ।
हाल इजरायल र अमेरिकाले युद्धका क्रममा आणविक साइटहरूमा आक्रमण गर्दा इरानको कार्यक्रममा कस्तो असर परेको हो भन्ने स्पष्ट छैन ।
सन् २०१५ को सम्झौतामा इरानले आइएइएलाई आफ्ना साइटहरूमा अन्य मुलुकभन्दा बढी पहुँच दिने सहमति जनाएको थियो । यसअन्तर्गत स्थायी क्यामेरा, सेन्सर र अनलाइन मोनिटरहरू जडान गरिएको थियो, जसले नातान्ज आणविक केन्द्रमा युरेनियम संवर्धन स्तर मापन गथ्र्यो ।
आइएइए निरीक्षकहरूले नियमित रूपमा इरानी साइटहरूमा पुगेर नमूना सङ्कलन गर्ने गरेका थिए, जुन अस्ट्रियास्थित प्रयोगशालामा परीक्षण गरिन्थ्यो ।
उपग्रह तस्वीरमार्फत पनि निगरानी भइरहेको थियो । तर सन् २०१८ मा अमेरिका सम्झौताबाट बाहिरिएपछि आइएइएका निरीक्षकहरूलाई पहुँच दिनमा इरानले लगातार प्रतिबन्ध लगाउँदै आएको छ । इरानले भने आक्रमणअघि युरेनियम र अन्य सामग्री नयाँ अघोषित साइटहरूमा सारिएको दाबी गरेको छ ।
यसैबीच, बुधबार रुसी सहयोगमा सञ्चालित बुसेहर आणविक रिएक्टरमा इन्धन प्रतिस्थापन हेर्न आइएइए निरीक्षकहरू उपस्थित थिए ।