`

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

Nepal One HD ११ भदौ २०८२ २१:३२
प्रमुख खबर

काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितिलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज महाधिवेशन व्यवस्थापन समितिको आजको बैठकलाई सम्बोधन गर्दै सबै उपसमितिलाई तयारीलाई तीव्र पार्न निर्देशन दिनुभएको छ ।

महासचिव पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकाले अब त्यसकै आधारमा प्रचारप्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिनुभएको छ । उहाँले पूर्वनिर्धारित योजनाअनुरूप नै व्यवस्थापनको काम अघि बढेको पाइएको बताउनुभयो ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भदौ १५ गतेदेखि तयारीको कामलाई थप तीव्रता दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा आठवटै उपसमितिका प्रमुखहरुले आफ्नो आफ्नो तयारीका बारेमा रिपोर्टिङ गरेका थिए ।

प्रतिनिधि व्यवस्थापन, मञ्च तथा हल व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, प्रचार व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ व्यवस्थापन, सांस्कृतिक व्यवस्थापन, स्वागत गेट तथा साजसज्जा र दस्तावेज प्रकाशन व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा रिपोर्टिङ गरेका छन् । बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि सहभागी हुनुहुन्थ्यो ।

पार्टीको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको छ । पार्टीले हिजोमात्र महाधिवेशनको मूल नारा तय गरेको छ ।

“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ लाई पार्टीले मूल नारा बनाएको छ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कूल दुई हजार ३७८ रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *