निजामती र शिक्षा विधेयक पारित गर्ने मिति तय


काठमाडौँ, १२ भदौः प्रतिनिधिसभाले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही भदौ १९ पारित गर्ने कार्यतालिका तय गरेको छ ।
सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग आज सिंहदरबारमा गर्नुभएको छलफलपछि निजामती विधेयक राष्ट्रियसभाबाट आएका खण्डमा यही भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो । प्रशासनिक सङ्घीयता कार्यान्वयनका सम्बन्धमा महत्वपूर्ण मानिएको निजामति विधेयकलाई पारित गर्ने कार्य यस अधिवेशनको महत्वपूर्ण कार्य हो ।
संसद्को आगामी १५ दिनको क्यालेन्डर तय गरिएको सभामुख घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । भदौको दोस्रो पाक्षिक कार्यतालिका अनुसार भदौ १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्नेछ ।
त्यसैगरी, भदौ २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर पनि तय भएको छ । शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउनेछ भने भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने कार्यतालिका छ । राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची पनि तय भएको उहाँले बताउनुभयो ।