मन्त्री दाहालद्वारा एसियाली राजमार्गको अनुगमन


झापा, १२ भदौः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज काँकडभिट्टा–लौकही सडक योजनाको (पूर्वी खण्ड) मा भइरहेको पूर्वपश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिको अनुगमन गर्नुभएको छ ।
मन्त्री दाहालले मेचीनगर नगरपालिका कार्यालयमा आयोजित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा राजमार्गको स्तरोन्नतिका क्रममा देखापरेका समस्या र जनताका मागलाई व्यावहारिक रुपमा समाधान गरिने बताउनुभयो । सो अवसरमा मन्त्री दाहाललाई मेचीनगरका नगरप्रमुख गोपाल बूढाथोकीले पूर्वीनाका काँकडभिट्टादेखि प्यारीभिट्टा बसपार्कसम्म ६ लेन सडक विस्तार गरिनुपर्नेलगायत सातबुँदे मागपत्र बुझाउनुभएको थियो ।
नगरप्रमुख बूढाथोकीले पूर्वीद्वार काँकडभिट्टामा प्रसिद्ध साहित्यकार गोपाल योञ्जनको सालिक राख्न र घण्टाघर बनाउन राजमार्ग छेउमै स्थान उपलब्ध गराइदिन माग गर्नुभएको छ । यसैगरी, विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्र महतराले विर्तामोडको मुक्ति चोकमा रहेको ऐतिहासिक जनान्दोलन स्तम्भलाई राजमार्ग विस्तारका क्रममा हटाउँदा राजमार्गकै कुनै छेउमा सो स्तम्भलाई राख्ने स्थान उपलब्ध गराइदिन माग गर्नुभयो ।
दमक, मेचीनगर, कनकाई र पथरी क्षेत्रबाट राजमार्ग विस्तारका लागि बनाइएको डिजाइनमा थोरै फेरबदल गरेर व्यावहारिक बनाउन मन्त्री दाहालसमक्ष माग गरिएको थियो । मन्त्री दाहालले आजै दमकस्थित नवनिर्मित काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री दाहालले सडक विस्तारको काम निर्धारित समयमै सम्पन्न गरिसक्न निर्देशन दिनुभयो ।
आयोजनाका प्रमुख सुनिलबाबु पन्तका अनुसार उक्त कार्यालय भवन रु आठ करोड सात लाखको लागतमा निर्माण भएको हो । आयोजनाको काम सम्पन्न भएपछि उक्त भवन सडक विभागलाई हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सडक विभागका महानिर्देशक डा विजय जैसी, एसियाली विकास बैंक (एडिबी) परियोजना प्रमुख चूँडाराज ढकाल, आयोजना प्रमुख सुनीलबाबु पन्तलगायतको उपस्थिति रहेको थियो ।
पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटरलाई पूर्वीखण्ड मानेर सडकलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ । निर्माणको ठेक्का एब्रास्कन कालिका जेभीले लिएको छ ।