मुख्यमन्त्री कार्की र जापानी राजदूतबीच भेटघाट, यी बिषयमा छलफल


विराटनगर, १२ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र जापानका राजदूत माएदा तोरुबीच आज भेटघाट भएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भएको उक्त भेटघाटमा उहाँहरुबीच आपसीहितका विषयमा कुराकानी भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिनुभयो ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले जापान र नेपालको सम्बन्ध ऐतिहासिक तथा मित्रतापूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले नेपालको विकासमा जापानले खेलेको भूमिका प्रशंसनीय रहेको प्रसङ्ग उल्लेख गर्दै नेपालको पूर्वाधार क्षेत्रको विकासमा जापानले सहयोग गर्दैआएको स्मरण गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि, सूचना प्रविधि र पर्यटनमा सहयोग गर्न सो अवसरमा जापानी राजदूत तोरुसँग आग्रह गर्नुभयो ।
जापानी राजदूत तोरुले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै औद्योगिक विकास र कृषि क्षेत्रमा सहयोग गर्न जापान तयार रहेको बताउनुभयो ।