काठमाडौँको गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो, ठाउँठाउँमा वर्षा


काठमाडौँ, ११ भदौँ : काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउने सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।
पछिल्लो तीन घण्टामा झापा जिल्लास्थित शनिश्चरे वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको पनि महाशाखाले जानकारी दिएको छ । सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बहाव बढ्नसक्ने चेतावनी समेत दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि नै काठमाडौँ उपत्यकालगायत केही जिल्लामा भारी वर्षा भएको छ र उपत्यकामा अहिले राति ८ः०० बज्दा पनि वर्षा जारी छ ।
पछिल्लो तीन घण्टामा काठमाडौँमा ३४ मिलिमिटर र छ घण्टामा ६१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी झापामा तीन घण्टामै ५४ मिलिमिटर वर्षा भएको छ । झापामा पछिल्लो छ घण्टामा १०३ मिलिमिटर वर्षा भएको छ ।
नुवाकोटमा पछिल्लो तीन घण्टामा ४० दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोक, सिन्धुली, गुल्मी, लमजुङ, धादिङ, बारालगायत जिल्लामा पनि मध्याम वर्षा भएको विभागले जनाएको छ ।
महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम देशभर नै बदली रहेको बताउनुभयो ।