`

यू-१९ एसिया कप : भारतसँग नेपालको लज्जास्पद हार

Nepal One HD २१ कार्तिक २०८३ १६:०८
खेलकुद

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको सुरुवात निराशाजनक बनेको छ। शुक्रबार भएको समूह ‘ए’ को पहिलो खेलमा नेपाल भारतसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो।

नेपालले प्रस्तुत गरेको १२९ रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमै कुनै विकेट नगुमाई भेट्टायो।

ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४२.३ ओभरमा १२८ रनमै अलआउट भएको थियो। नेपालको इनिङ्समा दर्श सोनारले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ९३ बलमा एक चौका र एक छक्का प्रहार गरे।

त्यस्तै आशिष लुहारले २९ तथा निरजकुमार यादवले २० रन बनाए। अन्य ब्याटर चल्न नसक्दा नेपाल ठूलो योगफल बनाउन असफल भयो।

१२९ रनको लक्ष्य पछ्याएको भारतका ओपनर आर्यवीर सहवाग र कप्तान लक्ष्य रायचन्दानीले अविजित शतकीय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।

सहवागले ५२ बलमा सात चौका र चार छक्कासहित अविजित ७० रन बनाए। रायचन्दानीले ६३ बलमा सात चौकाको मद्दतमा ५३ रन जोडे।

यससँगै भारतले प्रतियोगितामा विजयी सुरुवात गर्दै दुई अङ्क जोडेको छ। पहिलो खेलमै हार बेहोरेको नेपाललाई अब समूह चरण पार गर्न आगामी खेलमा जित निकाल्नुपर्ने दबाब बढेको छ।

नेपालले अब समूह चरणमा यूएई र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *