अष्ट्रेलियाको सरकारद्वारा व्यापार प्रोत्साहनका लागि अतिरिक्त शुल्कहरू कम गर्ने निर्णय


अष्ट्रेलियाली सरकारले आर्थिक उत्पादनशीलता बढाउन र स्वतन्त्र व्यापार प्रोत्साहन गर्न ५०० भन्दा बढी ‘अतिरिक्त’ शुल्कहरू हटाउने निर्णय गरेको छ ।
कोषाध्यक्ष जिम चाल्मर्स, व्यापार मन्त्री डोन फ्यारेल र उद्योग तथा नवप्रवर्तन मन्त्री टिम आयर्सले बिहीबार जानकारी दिए अनुसार, टायर, रक्सीका गिलास र टेलिभिजनजस्ता वस्तुहरूमा लाग्ने साना शुल्कहरू आगामी आर्थिक वर्ष १ जुलाई सन् २०२६ देखि हटाइनेछ । यसले व्यवसायहरूलाई नियम पालनामा पर्ने झन्झट कम गर्नेछ ।
कानबरामा सञ्चारकर्मीहरूलाई बोल्दै चाल्मर्सले भन्नुभयो,“यी अतिरिक्त शुल्कहरूले कहिलेकाहीँ लाभभन्दा बढी क्षति पु¥याउँछन् ।” उहाँले टायरमाथि लाग्ने वर्तमान शुल्कबाट वार्षिक ८० हजार अष्ट्रेलियन डलरभन्दा कम राजस्व जुट्ने बताउनुभयो, तर ती शुल्क हटाउँदा व्यवसायहरूले वर्षेनी झन्डै ३२ मिलियन अष्ट्रेलियन डलर खर्च बचत गर्नेछन् ।
फ्यारेलले भन्नुभयो,“हामी हाम्रो कुरामा दायित्व लिएका छौँ । हामी अरु देशहरूलाई पनि व्यापार अवरोध हटाउन आग्रह गर्छौं । यो कुरामा हामी गम्भीर छौं भनी विश्वलाई देखाउँदैछौं ।”
सरकारले सन् २०२४ मा तरकारी, फ्रिज र रबरजस्ता वस्तुहरूमा लाग्ने ४५७ अतिरिक्त शुल्क पहिले नै हटाइसकेको छ ।
यी थप कटौतीहरू आर्थिक सुधारका लागि अगस्त महिनामा आयोजित व्यापारिक समूह, ट्रेड युनियन र अर्थशास्त्रीहरूसँगको छलफलमा प्रस्तावित भएका थिए, जसले अष्ट्रेलियाको मन्द गतिमा रहेको उत्पादनशीलतालाई बढावा दिन सुझावहरू दिएका थिए ।
चाल्मर्सले बताए अनुसार, प्रस्तावित शुल्क कटौतीमा थप छलफल डिसेम्बरसम्म हुनेछ र अन्तिम सूची आगामी संघीय बजेटमा सार्वजनिक गरिनेछ, जुन सायद मे सन् २०२६ मा प्रस्तुत गरिनेछ ।