`

मंगलमा खेती र मानव बस्तीको खोजी, वैज्ञानिकले बनाए माटोको विस्तृत नक्सा

Nepal One HD २ कार्तिक २०८३ १६:३८
बिशेष
एजेन्सी । मंगल ग्रहमा मानव बस्ती बसाउने र खाद्यान्न उत्पादन गर्ने सम्भावनाको खोजीमा वैज्ञानिकहरूले नयाँ उपलब्धि हासिल गरेका छन्। अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन्। यसले भविष्यमा मंगल ग्रहमा मानव बस्ती स्थापना, कृषि उत्पादन र वैज्ञानिक अन्वेषणका लागि उपयुक्त स्थान पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानको अध्ययन तथा वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन्। कक्षीय अवलोकन र विभिन्न वैज्ञानिक मोडेलको प्रयोगबाट तयार पारिएको नक्साले मंगल ग्रहको कुन क्षेत्रमा कस्तो प्रकारको माटो पाइन्छ भन्ने विस्तृत जानकारी दिन्छ।

अनुसन्धानको नेतृत्व गरेका सिड्नी विश्वविद्यालयका विद्यावारिधि अनुसन्धानकर्ता ड्यानियल इर्भिङका अनुसार, यसअघि वैज्ञानिकहरूले मंगल ग्रहको भूगर्भ, खनिज संरचना र रासायनिक गुणहरूको छुट्टाछुट्टै नक्साङ्कन गरिसकेका थिए। तर, नयाँ प्रणालीले माटोका विभिन्न विशेषतालाई एउटै संरचनामा समेट्दै तिनको आपसी सम्बन्ध र भौगोलिक वितरण बुझ्न सहज बनाएको छ।

अनुसन्धानकर्ताहरूले माटोको बनावट, खनिज संरचना, पीएच अर्थात् अम्लीय वा क्षारीय अवस्था र तहको मोटाइका आधारमा वर्गीकरण गरेका छन्। यसअनुसार मंगल ग्रहको माटोलाई १० प्रमुख समूह, १०० उपसमूह र दुई हजार विस्तृत प्रकारमा विभाजन गरिएको छ।

अध्ययनका क्रममा वैज्ञानिकहरूले बिरुवा उत्पादनका लागि उपयोगी हुन सक्ने माटोका विशेषतासमेत मूल्याङ्कन गरेका थिए। त्यस क्रममा ‘नोहिबारेथ’ नाम दिइएको माटोको एक प्रकार सबैभन्दा सम्भावनायुक्त देखिएको छ। शून्यदेखि एकसम्मको मापनमा उक्त माटोले ०.९३ अङ्क प्राप्त गरेको अनुसन्धानमा उल्लेख छ।

तर, यो नतिजाले मंगल ग्रहको माटोमा सिधै खेती गर्न सकिने प्रमाणित गर्दैन। त्यहाँ खाद्यान्न उत्पादन गर्न पानी, आवश्यक पोषक तत्त्व, नियन्त्रित वातावरण र सम्भावित हानिकारक पदार्थको व्यवस्थापन गर्नुपर्ने वैज्ञानिकहरूको भनाइ छ। मंगल ग्रहमा मानव बस्ती स्थापना गर्ने लक्ष्य हासिल गर्न माटोको प्रकृति बुझ्नु भने महत्त्वपूर्ण आधार बन्न सक्छ।

माटो विज्ञानसम्बन्धी जर्नल ‘क्याटेना’ मा प्रकाशित अध्ययनले मंगल ग्रहको माटोका वर्गलाई जनाउन ‘एरेथ्स’ शब्दसमेत प्रस्ताव गरेको छ। यो नाम मंगल ग्रहसँग सम्बन्धित प्राचीन ग्रिक नाम ‘एरेस’ बाट लिइएको हो।

अनुसन्धान टोलीका अनुसार, पृथ्वीमै मंगल ग्रहको माटोसँग मिल्दोजुल्दो मिश्रण तयार गरेर नियन्त्रित अवस्थामा परीक्षण गर्न सकिन्छ। भविष्यमा मंगल ग्रहमा पठाइने रोभरबाट प्राप्त मापन तथा त्यहाँबाट पृथ्वीमा ल्याइने माटोका नमुनाले अहिले तयार गरिएका वैज्ञानिक मोडेलको विश्वसनीयता परीक्षण गर्न पनि मद्दत गर्नेछन्।

मंगल ग्रहमा मानव बस्ती बसाउने सपना साकार पार्न अझै थुप्रै वैज्ञानिक चुनौती बाँकी छन्। तर, त्यहाँको माटो कहाँ कस्तो छ भन्ने विस्तृत नक्साले भविष्यमा मानिसले रातो ग्रहमा बस्ने, बिरुवा उमार्ने र आफ्नै खाद्यान्न उत्पादन गर्ने सम्भावनाको खोजीलाई नयाँ दिशा दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *