`

एक किलो खसीको दुई हजार?

Nepal One HD २ कार्तिक २०८३ १६:१७
समाज

काठमाडौं। दसैँमा मासुको खपत बढेसँगै काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य पनि उकालो लागेको छ। गत वर्ष प्रतिकिलो १ हजार ३ सयदेखि १ हजार ४ सय रुपैयाँसम्ममा पाइने खसीको मासुको मूल्य यस वर्ष बढेर १ हजार ७ सयदेखि १ हजार ८ सय ५० रुपैयाँसम्म पुगेको छ। केही उपभोक्ताले त तयारी मासुका लागि प्रतिकिलो २ हजार रुपैयाँसम्म तिर्नुपरेको बताएका छन्।

दसैँको बजारमा उपभोक्ताले महँगो मूल्यमा मासु किन्नुपरे पनि खसीबोका बिक्री गर्न आएका किसान भने आफूहरूले अपेक्षा गरेअनुसारको मूल्य नपाएको गुनासो गरिरहेका छन्। यसले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने तर किसानले पनि सन्तोषजनक आम्दानी गर्न नसकेको अवस्था देखाएको छ।

काभ्रेबाट २ सय ५० वटा खसीबोका लिएर काठमाडौं आएका किसान बैनसिंह मोक्तानले २ सय १० वटा बिक्री गरिसकेका छन्। उनका अनुसार खसीको आकार र तौलअनुसार प्रतिकिलो ७ सयदेखि ९ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। बिक्रीमा समस्या नभए पनि गत वर्षको तुलनामा यस वर्षको मूल्य आफूहरूले अपेक्षा गरेअनुसार नरहेको उनको भनाइ छ।

मोक्तानले साना खसी व्यक्तिगत परिवारले किन्ने र ठूला खसी दुई–तीन परिवार मिलेर खरिद गर्ने गरेको बताए। उनले बाढीपहिरोका कारण नाका तथा सडकमा परेको असर र पश्चिम एसियाको द्वन्द्वले पनि मूल्य बढाउन भूमिका खेलेको हुन सक्ने बताए।

यता, उपभोक्ताहरू भने जिउँदो खसी किन्नै महँगो परेको र तयारी मासु खरिद गर्दा झन् बढी रकम खर्च गर्नुपरेको बताउँछन्। उपभोक्ता अमृत तिवारीका अनुसार जिउँदो खसी प्रतिकिलो ९ सयदेखि १ हजार रुपैयाँसम्ममा किन्नुपर्ने अवस्था छ। तयारी मासुका लागि भने प्रतिकिलो २ हजार रुपैयाँसम्म तिर्नुपरेको उनले बताए। भारतीय खसीको आपूर्ति कम हुनु पनि मूल्यवृद्धिको कारण हुन सक्ने उनको अनुमान छ।

व्यापारीहरूले खसीबोकाको आपूर्ति घट्नु, ढुवानी खर्च र दानाको लागत बढ्नु तथा बाढीपहिरोपछि ग्रामीण क्षेत्रबाट पशु ल्याउन कठिन हुनुजस्ता कारणले बजार मूल्य बढेको बताएका छन्।

दसैँका दुई सातामा काठमाडौं उपत्यकामा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका बिक्री हुने अनुमान गरिएको छ। चाडपर्वमा ठूलो परिमाणमा कारोबार हुने यस बजारमा मूल्यवृद्धिको प्रत्यक्ष असर भने अन्ततः उपभोक्ताको भान्सामै परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *