‘उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्’ – माओवादी केन्द्र


काठमाडौँ, १२ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उनीहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उखु उत्पादनमा निर्भर किसान वर्गको पसिनाको मूल्य, अधिकार र सम्मान गर्न सरकारसँग अनुरोध गर्नुभएको छ । माओवादी केन्द्रले आज एक विज्ञप्ति जारीगरी उखु किसान काठमाडौँको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको जनाएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, “बक्यौता रकम नपाएर पीडित किसानलाई सरकारले अझ अपमानित गर्नेगरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ ।”
किसानवर्ग उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभई राष्ट्रिय अर्थतन्त्रको आधारशिला हुन् भन्ने यथार्थलाई सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढङ्गले पुनःनिर्धारण गर्न तथा किसानले उठाएका सबै जायज मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माओवादी केन्द्रले माग गरेको छ ।