`

मुख्यमन्त्री बानियाँको तलब भत्ताबाट एकल महिला सुनारको घर बन्ने

Nepal One HD १० भदौ २०८२ २०:२४
राजनीति

बागमती, १० भदौ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट मनहरि गाउँपालिका–९ निवासी मिठुमाया सुनारको घर बनाइदिने भएको छ ।मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब विपन्न परिवारको घर बनाई दिने घोषणा गर्नुभएको थियो ।

सोही घोषणाअनुसार करिब पाँच वर्षअघि श्रीमान् गुमाएकी र एक मात्र छोरा सङ्गम सुनारसमेत आपाङ्ग रहेको अति विपन्न सुनारको घर बनाई दिन आज मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत रु दुई लाख हस्तान्तरण गर्नुभएको छ ।

मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले विपन्न सुनारको घर निर्माणका लागि मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई चेक हस्तान्तरण गर्नुभयो ।

मुख्यमन्त्रीको सेवासुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर बनाई दिने घोषणाअनुसार स्थानीयवासी र गाउँपालिकाको सिफारिसमा एकल महिला सुनारको घर बनाई दिन लागेको उहाँले बताउनुभयो ।मुख्यमन्त्री बानियाँबाट प्राप्त रकमबाट सुनारलाई दुई वटा कोठा, एउटा भान्सा कोठा र बाथरुम तथा शौचालय निर्माण गरिदिने मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *