`

भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

Nepal One HD १० भदौ २०८२ २१:१३
विश्व

छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।

नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि हो ।

पाकिस्तानको राष्ट्रीय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले सतलज नदीमा बढ्दो जलस्तरबारे चेतावनी जारी गर्दै पञ्जाब प्रान्तका विभिन्न जिल्लाबाट जनतालाई स्थानान्तरण गरिएको जनाएको छ ।

उद्धारकर्ताहरूले मात्र कसुर जिल्लाबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा पु¥याएका छन् भने भारतीय सीमा नजिकको बहावलनगर सहरबाट ८९ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित क्षेत्रमा सारिएको छ ।

एनडिएमएले नागरिकलाई नदी, खोल्सा र तल्लो क्षेत्रहरूबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न र मिडिया, मोबाइल सन्देश तथा आफ्नो विपद् चेतावनी एपमार्फत प्रसारित सूचनाहरूलाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।

भारी मनसुनी वर्षा जारी रहँदा पाकिस्तानले हालै तीव्र बाढीको चेतावनी र निकासी अभियान चलाएको हो । उत्तरपश्चिमी बुनेर जिल्लामा यसै महिना आएको आकस्मिक बाढीमा तीन सयभन्दा बढी मानिसको ज्यान गएको थियो ।

स्थानीय बासिन्दाले पूर्व चेतावनी नपाएको गुनासो गरेका थिए, तर अधिकारीहरूले आकस्मिक आरीघोप्टे पानी पर्नुका कारण बाढी अनुमान गर्न नसकिएको बताएका छन् । धेरै पीडितहरू प्राकृतिक खोल्सामा बसोबास गर्नेहरू थिए ।

जुन २६ यता पाकिस्तानमा मनसुनी वर्षाबाट निम्तिएको बाढीले आठ सयभन्दा बढीको ज्यान लिएको छ । विवादित काश्मीर क्षेत्रमा मात्रै दर्जनौँको मृत्यु भएको छ र भारत प्रशासित भागमा हजारौँ विस्थापित भएका छन् ।

यसपटकको बाढी चेतावनी सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धि अन्तर्गतको स्थायी संयन्त्र (सिन्धु जल आयोग) बाट नभई प्रत्यक्ष कूटनीतिक माध्यममार्फत पठाइएको हो ।

भारतले अप्रिलमा काश्मीरमा २६ जना पर्यटक मारिएपछि उक्त आयोग स्थगित गरेको थियो । पाकिस्तानले भने यो सन्धि एकतर्फी खारेज गर्न नसकिने स्पष्ट पारेको छ ।

सिन्धु जल सन्धि विगतमा सन् १९६५ र सन् १९७१ का युद्ध र सन् १९९९ को ठूलो सीमा झडपसम्म पनि कायम रहन सफल भएको थियो । तर पर्यटक हत्यापछि भारतले सन्धि निलम्बन मात्र नगरी, कूटनीतिक सम्बन्ध पनि कटौती गरेको थियो । जसको परिणामस्वरूप मे महिनामा दुवै पक्षबीच मिसाइल आक्रमणसमेत भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम भएपछि मात्र आक्रमण रोकिन पुगेको थियो । त्यसयता सम्बन्ध सामान्यीकरणका प्रयास देखिएको छैन ।

हालै पाकिस्तानले बारम्बार आरीघोप्टे वर्षाले ल्याउने बाढी र सामान्यभन्दा बढी वर्षा भोगिरहेको छ । देशमा मनसुनी मौसम जुलाईदेखि सेप्टेम्बरसम्म चल्छ ।

विज्ञ र मौसमविद्हरूले यस क्षेत्रमा बढ्दो वर्षालाई जलवायु परिवर्तनको असर ठहर गरेका छन् । यस वर्षको वर्षाले सन् २०२२ को विनाशकारी बाढी दोहोरिने डर पैदा गरेको छ । सन् २०२२ को विनाशकारी बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो र एक हजार सात सय ३९ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *