`

तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

Nepal One HD १० भदौ २०८२ ६:०९
राजनीति

काठमाडौँ, १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गर्नुभएको छ ।

यसपर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ ।

परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ । “महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्यगरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु”, राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

“शान्ति र प्रेरणाका रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अतिआवश्यक रहेको छ”, राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।

राष्ट्रपति पौडेलले हरितालिका (तीज) पर्व, २०८२ ले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागितालाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *