`

वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी

काठमाडौँ, २७ पुसः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी धु्रवीकरणका लागि विभिन्न कम्युनिष्ट शक्तिहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताउनुभएको छ ।

आजदेखि सुरु भएको पार्टीको ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशनमा अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्ट विचार भएकाहरूलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । 

कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविकालगायत विषयलाई उचित ढङ्गले अघि बढाइने बताउँदै उहाँले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकताबद्ध भएर अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहेका शक्तिसँग सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले आगामी दिनमा निराश नभई जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्न, राष्ट्रिय समस्या समाधान गर्न, जनजीविकामा सुधारलगायत सकारात्मक परिवर्तन ल्याउन सबै एकजुट भई राज्यलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय भएर अघि बढ्न नसकेकाले नयाँ नीति र योजना अनुसार पुनः सक्रिय बनाउँदै जाने जानकारी दिनुभयो । उक्त जिल्ला अधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।

मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना विमानस्थलबाट पक्राउ

काठमाडौँ, २७ पुसः नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज उक्त घटनाविवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो ।

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शुक्रबार पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँचगर्ने क्रममा पक्राउ गरिएको थियो ।प्र्रहरीले कृष्णप्रसादको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान र शिवशंकरको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको जनाइएको छ ।

हुम्लामा वडाको सिफारिसमा अनुदानको नुन वितरण

सिमकोट (हुम्ला), २७ पुस : यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका दक्षिण भेगका चारवटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारिसका आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण सुरु गरेको छ ।

शुक्रबार सर्केगाड गाउँपालिका–२, ३ र पालिका केन्द्रबाहेक अन्य छवटा वडाका नागरिकलाई नुन वितरण गरिएको उक्त कार्यालयका प्रमुख राजबहादुर लामाले बताउनुभयो । दुई नम्बर रिप र ३ नं उनापानी गाउँ जाने बाटो बिग्रेका कारण नुन वितरण हुन नसकेको हो । पालिकाका अन्य सबै वडाका प्रत्येक घरलाई नुन वितरण गरिएको प्रमुख लामाले जानकारी दिनुभयो । पन्धदेखि ३० प्याकेटका दरले नुन वितरण गरिएको छ । वडामा कम घर भएकालाई ३० प्याकेट र बढी घर भएका वडालाई १५ प्याकेट जनसङ्ख्याका आधारमा वितरण गरिएको हो । साल्ट टेड्रिङ कर्पोरेसन शाखा कार्यालयले नुन लिन पुग्दा सम्बन्धित वडाको सिफारिसका आधारमा नुन वितरण गरिरहेको बताएको छ । दक्षिण भेगका चारवटा गाउँपालिकामा नुन वितरण कर्पोरेसन शाखा कार्यालयका कर्मचारी स्वयं पुगेर वितरण गरिरहेका छन् । 

कर्पोरेसनले अनुदानमा एक प्याकेट नुनको रु नौ मा बिक्री गर्दै आएको छ । शुक्रबार वडा–१ लाई ८० क्विन्टल, वडा–४ लाई ५१ क्विन्टल, वडा–५ लाई ५० क्विन्टल, वडा–६ लाई ५१ क्विन्टल, वडा–७ लाई ५७ क्विन्टल र वडा–८ लाई ५१ क्विन्टल वितरण गरिएको हो । शुक्रबार मात्रै तीन सय ४० क्विन्टल वितरण भएको छभने सर्केगाड गाउँपालिकाका लागि पाँच सय क्विन्टल वितरण गरिने भएको छ ।

सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर

जलेश्वर, २७ पुसः महोत्तरीको जलेश्वर नगरपालिका–२ मा किराना व्यापार गर्दै आएका प्रेमचन्द्र साह जलेश्वर भन्सार क्षेत्रमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापना हुने कुराले निकै खुसी हुनुहुन्थ्यो । भारतलगायत तेस्रो मुलुकसँगको व्यापार, व्यवसाय सोझै नजिकैको जलेश्वर भन्सारबाट गर्न पाउने खबरले जलेश्वर–२ मै जेनेरल स्टोर्स सञ्चालन गर्दै आएका जलेश्वर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृपाशङ्कर साह पनि निक्कै उत्साहित हुनुभएको थियो ।

महोत्तरीसहित पर्साको वीरगञ्जबाहेक तराई मधेसका धनुषा, सिरहा, सप्तरी, सुनसरी, सर्लाही र रौतहटका साथै पहाडी जिल्ला सिन्धुली, रामेछाप, दोलखा, उदयपुर, खोटाङलगायत जिल्लालाई भारत र तेस्रो मुलुकसँगको व्यापार व्यवसाय सहज हुनेगरी निर्माण हुन लागेको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण हुने खवरले ती जिल्लाका दर्जनौँ व्यापारी, व्यवसायीहरू उत्साहित भएका थिए ।

सो विषयमा आधारित भएर पाँच/सात वर्षअघि जनकपुरदेखि जलेश्वर र ढल्केबरलाई फराकिलो सडक सञ्जालले जोड्दा व्यवसायी थप उत्साहित भएका थिए । जनकपुर–ढल्केबार सकडखण्ड छ लेन, जनकपुर–जलेश्वर सडकखण्ड चार लेन सडक फराकिलो भएपछि जलेश्वर भन्सार नाकामा सुक्खा बन्दरगाह (आइसिडी) र एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालन हुने र यस क्षेत्रको व्यापार गुल्जार हुने सपना थियो ।

सडक विस्तारको काम सकिनै लाग्दा नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन २०२७ सम्म योजना सम्पन्न हुनेगरी जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना पनि ल्याएको थियो । सोही कारण यस क्षेत्रको व्यापार फष्टाउनेमा व्यवसायी आशावादी र विश्वस्त भए ।

तर आव २०८१/०८२ चलिरहँदा पनि नेपाल सरकारले ल्याएको योजना सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको निर्माण अन्योलमा परेपछि व्यवसायीहरू निराश भएका छन् । माथि उल्लेखित क्षेत्रका लाखौं जनतासहित सो क्षेत्रम व्यापार/व्यवसाय गर्दै आएकाहरूको आशा निराशातिर तानिएको छ ।

सुक्खा बन्दरगाह निर्माणका लागि पटक–पटक सङ्घीय सरकारसहित विभिन्न निकायमा पत्राचार र ज्ञापनपत्र बुझाउँदा प्रक्रिया अगाडि नबढेको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष ज्ञवाली बताउनुहुन्छ । उहाँले सुक्खा बन्दरगाह बनेपछि यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नुका साथै व्यापारीलाई व्यवसाय गर्न सहज हुने बताउनुहुन्छ ।

जलेश्वर भन्सार महोत्तरी जिल्ला र धनुषा जिल्लाको प्रमुख नाकासमेत भएकाले व्यापारीको तेस्रो मुलुकसँगको व्यापार पनि यसै भन्सारबाट हुनेछ । तेस्रो मुलुकबाट हुने व्यापारका लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइए पनि हालसम्म योजनाको काम अगाडि बढ्न सक्नु निक्कै दुःखद् कुरा रहेको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो ।

सुक्खा बन्दरगाहका लागि भारतको विहार राज्यको सीतामढीको भिठामोडमा भारतीय भन्सारले भिठामोडमा जग्गा अधिग्रहणको प्रक्रिया पूरा गरी पर्खाल निर्माण पनि गरिसकेको छ तर नेपालतर्फ सुक्खा बन्दरगाहका लागि जग्गा सर्वेक्षणमै सीमित छ । नेपाली पक्षले महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित मलिवारामा ६५ बिघा क्षेत्रफलमा निर्माण हुने सुक्खा बन्दरगाहको प्रक्रिया सुरू गरे पनि काम गति लिन सकेको छैन ।

सुक्खा बन्दरगाहका लागि ‘इन्टर मोडेल यातायात विकास समिति’ ले तयार पारेको सर्वेक्षण प्रतिवेदन उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगे पनि प्रक्रिया अगाडि बढेको छैन । अर्थ मन्त्रालयले सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणसम्बन्धी र त्यसको विविध पक्षबारे राय भन्सार विभागबाट राय मागी सकेको छ । तर पनि प्रक्रिया अगाडि नबढेपछि उद्योगी व्यवसायी आक्रोशित भएका छन् ।

भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँसम्म मालसामान दुवानी गर्दा एक हजार एक सय १९ किमी दूरी पर्छ । तर भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, समस्तीपुर साहरघाट हुँदै जलेश्वर भन्सार कार्यालयबाट बर्दिवास, सिन्धुली हुँदै काठमाडौँसम्मको दूरी आठ सय ८१ किलोमिटर मात्र छ । वीरगञ्जभन्दा जलेश्वरबाट काठमाडौँको दूरी दुई सय ३८ किलोमिटर दूरी कम पर्नेछ ।

मधेस प्रदेशमा वीरगञ्जमा मात्र सुक्खा बन्दरगाह छ । प्रदेशका पूर्वी जिल्लामा व्यापार व्यवसाय असहज र झन्झटिलो भएको जनाउँदै व्यापारीले जलेश्वर नाकामा सुक्खा बन्दरगाह थप्न आग्रह गरेपछि आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन् २०२७ सम्म योजना सम्पन्न हुनेगरी जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइएको थियो । यस क्षेत्रका व्यापारी व्यवसायीले नेपाल सरकारले ल्याएको जलेश्वर भन्सार कार्यालयमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणको कार्य चाँडोभन्दा चाँडो सुरूआत गर्न माग गर्दै सम्बन्धित सबै सरोकारवाला निकायसँग ध्यानाकर्षणको लागि आग्रह गरेका छन् ।

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सिमित

काठमाडौँ, २७ पुसः नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ ।

आठ वर्षअघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो । आव २०८०/८१ मा चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले गत आवमा रू १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आव २०७२/७३ मा एकै वर्ष रू आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३/७४ मा रू एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि रू ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले रू ४७ अर्ब ४१ करोड सञ्चित नाफा गरेको छ ।

प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आव २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९ दशमलव आठ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पु¥याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवम् सुदृढीकरणमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । यस्तै, उत्पादनतर्फका ठूला जलविद्युत् आयोजना अगाडि बढाउने, आन्तरिक रूपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको उहाँको भनाइ छ ।

देश लोडसेडिङमुक्त भएर नियमितरूपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्तालाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवं प्रविधिमार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । गत आवको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् भारतर्फ निर्यात गरी रू १७ अर्ब सात करोड आम्दानी गरेको थियो । गत आवमा आयातभन्दा करिब १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना

काठमाडौँ, २७ पुस : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार सामाजिक सञ्जाल ट्वीटर पेजमा लेख्नु हुँदै पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन गोरखा राज्यका राजा, आधुनिक नेपाल एकीकरण अभियानका नायक पूर्वराजा पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

“राष्ट्रिय एकता दिवसले नेपाल एकीकरण अभियानको गौरवमय इतिहासको स्मरण गराउँदै राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढीकरण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, उहाँले ट्वीटर पेजमा लेख्नुभएको छ ।

श्रम सङ्गठनका कानुन अनुमोदन गर्न केन्द्रीय श्रम सल्लाहकार परिषद्को सिफारिस

काठमाडौँ, २७ पुस : अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले सिफारिस गरेको छ । सङ्गठनको महासन्धि ८१ श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ र महासन्धि ८७ सङ्गठनको स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षणसम्बन्धी महासन्धि, १९४८ एवं वाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल २९ को अनुमोदन प्रक्रिया अघि बढाउन परिषद् बैठकले सिफारिस गरेको हो । श्रम सम्वन्धीमा नेपाल सरकारलाई परामर्श दिने उद्देश्यले श्रम ऐन २०७४ को दफा १०२ बमोजिम गठन भएको केन्द्रीय श्रम सल्लाहकार परिषदको शुक्रबारको बैठकले मन्त्रालयलाई यससम्बन्धी सिफारिश गर्ने निर्णय गरेको हो ।

परिषदका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय श्रम सल्लाहकार परिषदको अघिल्लो बैठकले गरेका निर्णयको कार्यान्वयनको अवस्थाको समीक्षा गरेको थियो । श्रम प्रशासन, सामाजिक सुरक्षा तथा व्यवसायजन्य सुरक्षा क्षेत्र सुधारका लागि पनि बैठकले निर्णय गरेको मन्त्रीको सचिवालयले जनाएको छ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी प्रावधानलाई व्यवस्थित गर्न (क) व्यवसायजन्य रोगहरुको सूची, (ख) कार्यस्थलमा उत्सर्ग हुने ताप सम्बन्धी मापदण्ड र (ग) राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम स्वीकृत गरी कार्यान्वयन ल्याउन पनि बैठकले सिफारिश गरेको छ ।

बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न समितिको कार्य थप व्यवस्थित बनाई पुनरावलोकनको कार्य अघि बढाउन र सामाजिक सुरक्षाको दायरा अभिवृद्धि गर्ने लगायतको विषयमा निर्णय गरेको छ । बैठकले आगामी फाल्गुन १६ र १७ गते काठमाडाँैमा आयोजना गरिने श्रम तथा रोजगार सम्मेलनलाई सफलता र पूर्णताका लागि सुझाव दिएको छ । श्रम सम्बन्धी ऐन कानुनमा समसामयिक परिमार्जन गर्न पनि परिषद्ले सुझाव दिएको छ । बैठक सम्बन्धी कार्यविधिको मस्यौदा तयार गर्न समेत मन्त्रालयलाई परिषद्ले सिफारिश गरेको छ ।

‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’

काठमाडौँ, २७ पुस : विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा सम्लग्न नेपाली लाभान्वित भएका हुन् ।

सङ्घले पहिलो पटक यस्तो सेवा ओमानबाट सुरुआत गरिसकेको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले अब छिट्टै थाइल्याण्ड र मलेसियामा आँखा उपचार सेवा थालनी गर्नेछ । महासचिव चन्दले भन्नुभयो, “ नेपाली राजदूतावास, गैर आवासीय नेपाली सङ्घको सहकार्यमा सङ्घले विदेशमा आँखा उपचार सेवा विस्तार गरिसकेको छ । सङ्घको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग विभिन्न देशमा बस्ने नेपालीबाट भैराखेको छ । पहिलो पटक ओमानबाट सेवा सुरुआत गरिसक्यौ, अब निकट भविष्यमा थाइल्याण्ड र मलेसियबाट पनि आँखा उपचार सेवा थालिने गरिने छ । ”

नेत्रविशेषज्ञ प्राडा देवनारायण साहको अध्ययन अनुसार नेपालको आँखा स्वास्थ्य उपचार सेवा विश्वमै सस्तो र गुणस्तरीय रहेको छ । यही कारण नेपालमा आँखा उपचार सेवा लिने विदेशीको सङ्ख्या पनि वृद्धि भैराखेको छ । उहाँका अनुसार तेस्रो मुलुकबाट मात्र गत वर्ष दुईलाख ५० हजार विदेशी नागरिकले नेपालको आँखा अस्पतालबाट सेवा लिएका थिए ।

अर्काेतर्फ सङ्घले मागका आधारमा विदेशमा आफ्ना नेत्रविशेषज्ञलाई पठाइ सेवा दिने समेत गरेको छ । गत असोजमा सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा कार्यरत चिकित्सले बङ्गलादेशको ढाकास्थित नेशनल इन्टिच्यूट अफ अप्थाल्मोलोजीमा सेवा प्रदान गर्नुभएको थियो । नेपाली चिकित्सकले ढाकामा भएको आन्दोलनका क्रममा आँखामा चोट लागेर नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका ,नानीमा रगत जमेका लगायत समस्या देखिएका बिरामीको उपचार तथा शल्यक्रिया गरेका थिए ।

सङ्घका कार्यकारी निर्दशक डा शैलेशकुमार मिश्रले भन्नुभयो “पछिल्ला वर्षमा नेपाल आँखा उपचारको पर्यटन गन्तव्य अर्थात् ‘आइ मेडिकल टुरिजम’को रुपमा विकसित हुँदै गएको छ । सन् २०२३ मा मात्र भारत र बंगलादेश सहित विभिन्न देशका आठलाख आँखाका बिरामीले सङ्घको सञ्जालमार्फत् आँखा उपचार गराएका छन् । ”

नेपालको आँखा स्वास्थ्य सेवामा सबैभन्दा ठूलो संयन्त्र भएको सङ्घ अन्तर्गत हाल देशभर २८ आँखा अस्पताल, एकसय ६० आँखाउपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा रहेको छ । विसं २०३५ मा स्थापना भएको सङ्घ ले हालसम्म नेपाली नागरिक तथा अन्य नागरिक गरी कूल चारकरोड ३६ लाख २६ आँखा बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ । यसैगरी ५१ लाख ३३ हजार छसय ५९ जनाको शल्यक्रिया मार्फत आँखाको ज्योति फर्काउन सफल भएको छ ।

सङ्घका उपाध्यक्ष श्यामकुमार पोखरेलले भन्नुभयो, “आँखा उपचार गर्न भनेर विदेश जानुपर्दैन, अव विदेशी नेपाल आउन थालेका छन् । आँखा स्वास्थ्य सेवामा नेपाल सक्षम भएको छ । ”

बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित

तिलाठी (सप्तरी), २७ पुसः चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा पनि विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । आर्थिक अभावमा पठनपाठनदेखि निर्माणाधीन भवनको कामसम्म प्रभावित भएको हो ।

मधेस कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा भगवान ठाकुरका अनुसार आर्थिक कारोबार सुरू नभएकाले भाडाको कोठामा सञ्चालन रहेको विश्वविद्यालयको कक्षासमेत प्रभावित भएको छ । आर्थिक अभावमा नयाँ शैक्षिकसत्रको लागि भर्नाको प्रवेश परीक्षासमेत सञ्चालन गर्न नसकिरहेको उहाँले बताउनुभयो । “शिक्षा मन्त्रालयको पत्र नआएर भर्ना खोल्न ढिलो भएको हो तर भदौ १९ गते भर्ना खोलेको थियौँ, देशैभरबाट एक सय ११ जनाले फर्म भर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर आर्थिक अभावमा प्रवेश परीक्षा सञ्चालन गर्न सकिरहेको छैनौँ ।”

विश्वविद्यालयमा कार्ययरत १९ जना कर्मचारी पाँच महिनादेखि तलब नपाएको रजिष्ट्रार डा ठाकुरले बताउनुभयो । “शिक्षामन्त्रीको नेतृत्वको सिनेटको बैठकबाट बजेट पारित भएको छैन, त्यसैले आर्थिक कारोबार रोकिएको छ”, उहाँले भन्नुभयो, “पानी, बिजुलीको बिल, घरभाडा, टेलिफोन, इन्धन, सबैमा समस्या भएको छ, पठनपाठनका लागि आवश्यक सामग्री खरिद गर्न सकिरहेको छैनौँ ।” त्यस्तै आर्थिक अभावमा राजविराज नगरपालिका–१३ स्थित विश्वविद्यालयको निर्माणाधीन भवनको काम पनि प्रभावित बनेको छ ।

निर्माण काम गरिरहेको ठेकेदार कम्पनी ओम साई राम कन्स्ट्रक्सन सातदोबाटेले भुक्तानी नपाएपछि निर्माण काम ठप्प गर्ने अवस्था आएको कम्पनीका इन्जिनियर वसन्त साह बताउनुहुन्छ । उहाँका अनुसार ठेकेदार कम्पनीका मूल्य अभिवृद्धि करसहित रु सात करोड ५२ लाख १६ हजार दुई सय ९५ को बिल भुक्तानी नभएकाले काम ठप्प गर्नुपर्ने बाध्यता आएको हो । रकमको आभावले कामदारको कमी भएपछि काम कछुवाको गतिमा भइरहेको उहाँले बताउनुभयो । “एक सय ८० जना कामदारले काम गर्थे तर भुक्तानी नआएकाले उनीहरूलाई ज्यालादारी तिर्न सक्ने अवस्था रहेन अहिले २३ जना मात्र काम गरिरहेका छन् तर एक सातामा त्यो पनि बन्द हुन्छ”, इन्जिनियर साहले भन्नुभयो ।

मधेस प्रदेश सरकारको लगानीमा निर्माण थालिएको उक्त कामको ठेक्का ओम साई राम कन्स्ट्रक्सन सातदोबाटेले मूल्य अभिवृद्धि करबाहेक रु ८९ करोड ५० लाख २७ हजार आठ सय ७३ मा कबोल गरेको छ । विसं २०८० माघ ७ गते सम्झौता गरेको ठेकेदार कम्पनीलाई २०८३ माघ ७ गतेसम्ममा काम सम्पन्न गर्नुपर्नेछ । हालसम्म २१ दशमलव २५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर साहले बताउनुभयो । इन्जिनियर साहका अनुसार त्यहाँ तीनवटा प्रशासनिक भवन, एकेडेमिक बल्क, छात्रछात्रा आवास भवन, भिसि क्वाटर, रजिष्ट्रार क्वाटर, क्यान्टिन गरी दशवटा भवन निर्माण गर्नुपर्ने छ । “सम्झौता अघि भए पनि राजनीतिक विवादको कारण काम २०८१ साल वैशाख १० गते सुरू गर्यौं”, इन्जिनियर साहले भन्नुभयो, “काम द्रुत गतिमा थियो तर रकम भुक्तानी नभएपछि सुस्त गतिमा काम भइरहेको छ ।”

विसं २०८१ जेठ ३२ गते र २०८१ असार २३ गतेमा दुई वटा बिलको भुक्तानी गरी मूल्य अभिवृद्धि करसहित रु १३ करोड ८८ लाख छ हजार सात सय २२ भुक्तानी दिए पनि त्यसपछि पेस गरेको दुईवटा बिलको भुक्तानी हुन सकेको छैन । विश्वविद्यालयका सहकुलपति मधेस प्रदेश सरकारका शिक्षामन्त्री रानी शर्मा तिवारीले कात्तिक ३० गते र पुस ५ गते दुई पटक सिनेटको बैठक डाके पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । पछिल्लो समय पुस १६ गते बसेको सिनेटको बैठकमा पनि कुनै निर्णय हुन नसकेको विश्वविद्यालयका उपकुलपति डा वैद्यानाथ महतोले बताउनुभयो ।

यस्तो छ आजको विनिमय दर

काठमाडौँ, २७ पुसः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

यस्तै, अधिकांश विदेशी मुद्राको भाउमा आज वृद्धि भएको छ । विनिमयदर अनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ ।

निधौरित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा,साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा,े युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ०३ तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज देशभर पृथ्वीजयन्ती मनाइँदै

काठमाडौँ, २७ पुस : आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौँ, २७ पुसः सन् २०२४ को तथ्याङ्कलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा (थियटर स्क्रीन) रहेको छ । चिनियाँ चलचित्रकर्मीको भनाइलाई आधार मान्ने हो भने चलचित्रको लागि विश्वकै ठूलो बजार चीन हो । त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन हुन् पाउनेको सङ्ख्या ३४ मात्र रहेको छ ।

भारतकै सर्वाधिक व्यापार गर्ने चलचित्र ‘दङ्गल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो । भारतीय मात्र नभई अमेरिकन (हलिउड) चलचित्र पनि न्यून मात्रमा चीनमा प्रदर्शन हुने गरेको छ । त्यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छ त ? नेपालमा पहिलोपटक पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ सहभागी हुन् आउनुभएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपप्रमुख (भाइस प्रेसिडेन्ट) ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली चलचित्रले राम्रो गरिरहेको आफूले थाहा पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले हङकङ र अमेरिकाको बजारमा नेपाली चलचित्रको बारेमा सुनेको छु । विशेषत द्वन्द्व प्रधान र सामाजिक ‘ड्रामा’ भएका चलचित्रमा स्तरीयता थपिएको मैले महसुश गरें । यसकारण नेपाली चलचित्रको भविष्य निकै राम्रो छ भन्ने मैले महसुश गरेको छु । यस्तै महोत्सवमार्फत हामीले कला र संस्कृतिसँगै एक आपसमा चलचित्र बजार खोज्न सक्छौँ । नेपालीका लागि चीनको बजार नयाँ छ भने हाम्रो लागि नेपालको बजार पनि नयाँ नै छ ।”

उहाँले चीनका दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका चलचित्र रुचाउने जानकारी दिनुभयो । विशेषत आउँदो मार्च महिनामा हङकङ र चीनकै बेइजिङमा हुने चलचित्र महोत्सवमा सहभागी भएर नेपाली चलचित्रको प्रचार गर्नुकासाथै स्थानीय वितरक र प्रदर्शकसँग भेटघाट गर्न सकिने उहाँले बताउनुभयो ।

“चीनमा प्रदर्शन भएका विदेशी चलचित्रले राम्रो फाइदा लिएका छन् । यसकारण नेपाली चलचित्रकर्मी त्यहाँ पुगेर स्थानीय वितरकसँग सहकार्य गर्न सकेमा नयाँ सम्भावनालाई नकार्न सकिँदैन । विशेषत चलचित्रको छायाङ्कन अगावै त्यहाँ पुगेर स्थानीयलाई भेट्नु उपयुक्त हुन्छ । किनकि स्थानीयको सहभागिताले प्रदर्शनमा सहजता दिनेछ”, उहाँले भन्नुभयो ।

वितरक यङले निकट भविष्यमा नेपाली चलचित्रकर्मीसँग सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष (सन् २०२४)मा नेपालमा ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’जस्ता चलचित्र सफल भएकाले चीनको बजारतर्फ प्रयाश गर्न नेपाली चलचित्रकर्मीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु । नेपाली चलचित्रकर्मीले प्रयाश गर्नुभएमा चीन पनि नेपाली चलचित्रका लागि बजार बन्न सक्नेछ । यसका लागि दुई देशबीच यस्तै महोत्सव हुनु आवश्यक छ ।”

उहाँले चिनियाँ चलचित्र नेपालमा छायाङ्कनका लागि आउने र नेपालको सुन्दरतालाई विश्वभर प¥ुयाउने गरेको बताउनुभयो । उहाँले चिनियाँ चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएकोमा जोड दिनुभयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनालाई गति दिने काम ‘चीन चलचित्र दिवस’ ले गरेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “चीनका चलचित्र यहाँ प्रदर्शन भएका थिएनन्, यस किसिमको कार्यक्रम पहिलोपटक भएको छ । यसले दुई देशबीच सामीप्यता बढाउने मात्र नभई चलचित्र आदानप्रदानका लागि संवाद गर्ने अवस्था सिर्जना गरेको छ । हामीले त्यहाँ केही चलचित्रलाई पु¥याउन सकेमा हाम्रो चलचित्र उद्योग नयाँ युगमा प्रवेश गर्नेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।”

एकदिवसीय ‘चीन चलचित्र दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेइ, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ चिनियाँ चलचित्रकर्मी नेपाल आउनुभएको थियो ।

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौँ, २७ पुस ः चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु छ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार नौ सय ७५ र एक लाख दुई हजार पाँच सय ४२ रहेको थियो ।

काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने

काठमाडौँ, २७ पुस : नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने नाएको छ । सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ ।

यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वल्र्ड टे«ड सेन्टर, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि विजुली कटौती हुनेछ ।

त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासंघ,, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि विजुली कटौती हुने सूचनामा उल्लेख छ ।

थापाथली फिडर अन्तर्गत प्रसुतीगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि एक बजेदेखि पाँचबजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयसीमा भन्दा पहिल्यै लाइन पुनः सञ्चालनमा आउने सूचनामा उल्लेख छ । लाइन कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन

त्रिवेणी (नवलपरासी), २७ पुस : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो । पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले बताउनुभयो । रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ पठाउने काम सुरू गरिएको उहाँले बताउनुभयो ।

पुल तत्काल मर्मत असम्भव भएको र डाइभर्सन निर्माणको काम नहुँदासम्मका लागि वैकल्पिक मार्गको प्रयोग गरी रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । रोकिएका सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्रीबाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई वारपार गराइएको छ । दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी ठूला सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ ।

रातिको समय भएका कारण पुल नजिकै डाइभर्सन निर्माण गरी तत्काल यातायात सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको हो । ट्रक पुलको बीच भागमा नै फसेको छ ।

आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २७ पुस : हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

पशुपति धर्मशालामा व्यापार, व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश

काठमाडौँ, २५ पुसः उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीशहरू खडानन्द तिवारी, सूर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई उक्त व्यापार–व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आज अन्तरिम आदेश गरेको हो ।

“यसमा माडवारी सेवा समिति नेपालविरूद्व पशुपति क्षेत्र विकास कोषसमेत भएको ०८१–८०–०७४४ को रिट निवेदनमा यसै अदालतबाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारबाही गर्नबाट निवेदकलाई नरोक्नु भनी मिति २०८१÷०८÷३० मा आदेश भएको र यस रिट निवेदनमा निवेदकहरूले माडबारी सेवा समितिसँग सम्झौता गरी भाडामा लिई व्यापार व्यवसाय गरी आएको भन्ने देखिँदा सुविधा सन्तुलनको हिसाबले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यी निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्नु, नगराउनु ।”

एसिएन ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौँ महानगरपालिकाविरूद्ध दायर गरेको रिट निवेदनमा उक्त आदेश गरेको हो । यसअघि अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपु¥याउन अन्तरिम आदेश दिएको थियो ।

प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

काठमाडौँ, २६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे आज ‘ब्रिफिङ’ लिनुुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयको हालको अवस्था, प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र भावी योजनाको विषयमा अवगत गराउनुभएको थियो ।

छलफलमा मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन अवस्था, हालका प्रगति र आयोजना कार्यान्वयन निर्देशनालयमार्फत भइरहेका अन्य परियोजनाको प्रगतिबारे जानकारी गराइएको थियो । मन्त्रालयले जलवायु परिवर्तनले खानेपानीको स्रोतहरूमा पारेको असरलाई सम्बोधन गर्दै वातावरणमैत्री र दिगो योजना निर्माणमा मन्त्रालयको ध्यान केन्द्रित भएकाले आवश्यक बजेट सुनिश्चितताका लागि माग गरेको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले जनताले शुद्ध, सुलभ र सहजरूपमा खानेपाली पाउने वातावरण निर्माणमा लाग्न तथा सम्बन्धित मन्त्रालय र निकायसँग आवश्यक समन्वय गरी कामलाई गति दिन निर्देशन दिनुुभयो ।

मन्त्री यादवले ग्रामीण तथा सहरी क्षेत्रका खानेपानी योजनालाई तीव्रता दिँदै सन् २०३० सम्म देशभरका नागरिकलाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यमा केन्द्रित भई कार्यहरू भइरहेको बताउनुभयो ।

२५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २६ पुसः फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौँ प्रहरीले २५ दिनमा आठ सय २२ फरार प्रतिवादी पक्राउ गरेको छ । यो सङ्ख्या हिजो बिहीबारसम्मको हो ।

काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट एक सय २२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 

काठमाडाँै प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ । साउनदेखि यही पुस २५ गतेसम्म एक हजार आठ सय ४५ फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

अदालतले विभिन्न कसुरमा उनीहरूविरुद्ध रु चार करोड ८२ लाख ३६ हजार पाँच सय ८५ जरिवाना र एक सय ४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको छ । अदालतको फैसलालगत्तै उनीहरू फरार रहेका थिए ।

बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी

गाजामा गत अक्टोबर ७ मा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले शुक्रबार पुष्टि गरेको छ ।

फरेन्सिक जाँचपछि इजरायली सेनाले हम्जा अल जायदना ‘हमासको कैदमा मारिएको’ जानकारी उहाँको परिवारलाई बिहीबार दिएको छ । सेनाले उहाँका पिता युसुफको शव बुधबार बरामद गरी इजरायल ल्याइएको घोषणा गरेको थियो ।

प्यालेिस्टनी लडाकूहरूले गाजाको सीमा नजिकै किबुट्ज होलिटबाट बाबुछोरालाई सन् २०२३ अक्टोबर ७ मा कब्जामा लिएका थिए ।

उनीहरूसँगै अपहरणमा परेका हम्जाकी बहिनी र भाइलाई नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो।

हम्जा अल–जायदनाको भविष्यबारे बुधबार अपुष्ट रिपोर्ट सार्वजनिक भएको थियो, तर शुक्रबार सेनाले उहाँको मृत शरीरको अवशेष पहिचान भएको पुष्टि गरेको हो ।

सन् २०२३ मा हमासले गरेको उक्त आक्रमणमा इजरायली पक्षका एक हजार २०८ जनाको मृत्यु भएको इजरायली आधिकारिक तथ्याङ्कले देखाएको छ ।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४६ हजार छ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि

चीनमा दर्ता भएका व्यवसायिक संस्थाहरूको सङ्ख्या वर्षको आधारमा ३ दशमलव १ प्रतिशतले बढेर सन् २०२४ को अन्त्यसम्ममा १८ करोड ९० लाख पुगेको छ ।

गत वर्षको पहिलो तीन त्रैमासिकमा चीनले कर सम्बन्धी व्यवसायहरू ह्यान्डल गर्ने करिब ७.२२ करोड नयाँ–दर्ता गरिएको व्यवसायिक संस्थाहरू देखेको छ, जुन वार्षिक रूपमा १७ दशमलव ४ प्रतिशतले विस्तार भएको छ ।

अधिकारीहरूले उजुरी र रिपोर्टहरूबाट आर्थिक नोक्सानीमा ४.७२ अर्ब युआन भन्दा बढी पुनः प्राप्ति गरेका छन्, जुन वर्षको तुलनामा १७ दशमलव १ प्रतिशतले बढेको छ ।

प्रशासनका उपप्रमुख सु वेईले भन्नुभयो,“यस प्रगतिले व्यक्तिगत व्यवसायहरूको अधिकारको रक्षा गर्न कडा कानून प्रवर्तन सहित निष्पक्ष बजार वातावरणलाई बढावा दिने उद्देश्यका व्यापक नियामक प्रयासहरू प्रतिबिम्बित गर्दछ ।”

उहाँले परम्परागत उद्योगहरूलाई रूपान्तरण, उद्योगको विकास र उद्योगहरूको योजना बनाउने पहलका साथसाथै अर्थतन्त्रमा प्रतिस्पर्धात्मकता सुधार गर्ने प्रयासहरू तीव्र पारिएको बताउनुभयो ।

ट्रम्पसँग वार्ताका लागि पुटिन तयार : क्रेमलिन

क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहनुभएको बताएको छ । यो घोषणा आगामी अमेरिकी राष्ट्रपतिले दुई नेताबीच बैठक तय भइरहेको बताएपछि आएको हो ।

जनवरी २० मा पदवहाली गर्नुहुने ट्रम्पले रुस र युक्रेनबीचको करिब तीन वर्षे युद्धलाई छिटै अन्त्य गर्नसक्ने बताउनुभएको छ तर कुनै ठोस योजना प्रस्तुत गर्नुभएको छैन ।

“राष्ट्रपतिले बारम्बार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्क गर्न खुला रहेको बताउनुभएको छ”, पुटिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरू भन्नुभयो । 

ट्रम्पले बिहीबार पुटिनसँग बैठक तय भइरहेको बताउनुभएको थियो । “उहाँ भेट्न चाहनुहुन्छ, र हामी यसको व्यवस्था गरिरहेका छौँ”, फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको बैठकमा ट्रम्पले भन्नुभयो, “राष्ट्रपति पुटिन भेट्न चाहनुहुन्छ, उहाँले त्यो सार्वजनिक रूपमा पनि भन्नुभएको छ र हामीले त्यो युद्ध समाप्त गर्नुपर्छ, त्यो एउटा रक्तपातपूर्ण अवस्था हो ।”

क्रेमलिनले ट्रम्पको ‘वार्ताको माध्यमबाट समस्या समाधान गर्ने तयारी’ लाई स्वागत गरेको पेसकोभले शुक्रबार बताउनुभयो । उहाँले मस्कोसँग बैठक आयोजना गर्न कुनै पूर्वशर्त नरहेको बताउनुभयो । 

“कुनै शर्त आवश्यक छैन । संवादमार्फत समस्या समाधान गर्न आपसी इच्छाशक्ति र राजनीतिक इच्छाशक्ति चाहिन्छ”, दैनिक पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । 

द्वन्द्वको द्रुत अन्त्यका लागि ट्रम्पको आशाले मस्कोका लागि अनुकूल सर्तहरूमा युक्रेन शान्ति सम्झौता स्वीकार गर्न बाध्य हुनसक्ने किएभमा चिन्ता बढाएको छ । 

सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गरेदेखि वासिङ्टनले युक्रेनलाई दशौँ अर्ब डलर सहयोग गरेको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले त्यस्तो समर्थनबिना आफ्नो देशले युद्ध हार्ने थियो भन्नुभएको छ ।

उहाँले ट्रम्पलाई आफ्नो ‘शक्तिमार्फत शान्ति’ प्रस्तावलाई समर्थन गर्न दबाब दिइरहनुभएको छ । यसमा लडाइँ अन्त्य गर्ने कुनै पनि समाधानको अंशका रूपमा नाटो सुरक्षा र ठोस पश्चिमी सुरक्षा ग्यारेन्टीको खोजी गरिएको छ ।

युक्रेनको विदेश मन्त्रालयले पुटिनसँगको कुनै पनि आगामी भेटबारे ट्रम्पको टिप्पणीलाई अस्वीकार गरेको छ ।

“ट्रम्पले पहिले नै यस्तो बैठकको योजनाका बारेमा कुरा गरिसक्नुभएको छ, त्यसैले हामी यसमा नयाँ केही देख्दैनौँ”, प्रवक्ता जोर्जी टाइखीले भन्नुभयो, “हाम्रो स्थिति धेरै सरल छ : युक्रेनमा हामी सबै युक्रेनका लागि निष्पक्ष रूपमा युद्धको अन्त्य गर्न चाहन्छौँ र हामी देख्छौँ कि राष्ट्रपति ट्रम्प पनि युद्धको अन्त्य गर्न कटिबद्ध हुनुहुन्छ ।” 

युक्रेनले पदवहालीपछि ट्रम्प र जेलेन्स्कीसहित ‘तुरुन्तै’ किएभ र वासिङ्टनबीच उच्चस्तरीय छलफलको तयारी गरिरहेको टाइखीले जानकारी दिनुभयो । 

निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी

काठमाडौँ, २६ पुस : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा मात्रै निर्माण व्यवसायीलाई रू २२ अर्बभन्दा बढी अघिल्लो आवको दायित्व भुक्तानी भइसकेको बताउनुभएको छ ।

नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले सिर्जित दायित्व भुक्तानी नरोकेको स्पष्ट पार्नुहुँदै सरकारको सदासयतालाई कमजोरी नठान्नसमेत निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

“भुक्तानी योग्य रकमको भुक्तानी प्रक्रिया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुनअनुसार चल्नुपर्छ,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरूले सरकारलाई बुझाउनुपर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन ।”

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले सङ्घीय सरकारको दायित्वअन्तर्गत निर्माण व्यवसायीहरूलाई कूल रू २८ अर्ब ८९ करोड भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिब रू छ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रक्रियामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिनुभयो । 

नेपाल निर्माण उद्योग परिषद्का पदाधिकारीहरूले सरकारले हालसम्म बिल पेश गरी दाबी गरेको भुक्तानी रकमको ८० प्रतिशतभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको बताउँदै करको बाँकी भुक्तानीका लागि पनि वातावरण बनाइदिन उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई आग्रह गरेका थिए । उनीहरूले करको रकम किस्ता बन्दीमा भुक्तानी हुने व्यवस्था गरिदिन, निर्माण सामग्रीमा आयात छुट दिन, रूग्ण आयोजनामा पूँजी परिचालनको व्यवस्था मिलाइदिनलगायत अनुरोध गरेका थिए ।

सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्रबिच भेटघाट : के–के भयो छलफल ?

काठमाडौँ, २६ पुस : प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरुको आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच मुलुकको समसामयिक राजनीति, विपक्षी दलहरूबीचको एकता, संविधान संशोधन गर्ने प्रतिबद्धतासाथ गठन भएको वर्तमान सरकारका सरकारका गतिविधिलगायत विषयमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च

काठमाडौँ, २६ पुस : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई पाँच दशमलव पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ । गत मङ्सिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति नौ दशमलव ९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः पाँच प्रतिशत र चार दशमलव ९२ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३ दशमलव ०५ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ७० प्रतिशत र घ्यू तथा तेलको नौ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ८३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको सात दशमलव ०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।

गत मङ्सिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क छ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३६, मधेश प्रदेशको छ दशमलव ७७, बागमती प्रदेशको पाँच दशमलव ८४, गण्डकी प्रदेशको चार दशमलव ८१, लुम्बिनी प्रदेशको पाँच दशमलव ५३, कर्णाली प्रदेशको चार दशमलव १९ र सुदूरपश्चिम प्रदेशको छ दशमलव ६६ प्रतिशत रहेको छ ।

यस अवधिमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ८२, तराईको छ दशमलव ३१, पहाडको पाँच दशमलव ६५ र हिमालको छ दशमलव ५८ प्रतिशत रहेको छ । गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति छ दशमलव ५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति  दुइ दशमलव ६३ प्रतिशत रहेको थियो । यो अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति चार दशमलव १४ प्रतिशतले घटेको छ ।

पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार

काठमाडौँ, २६ पुस : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा रू एक सय २४ खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत ११ खर्ब ११ अर्ब ८५ करोड र स्थायी निक्षेप सुविधामार्फत रू एक सय १३ खर्ब ३२ अर्ब ४५ करोड गरी कूल रू एक सय २४ खर्ब ४४ अर्ब ३० करोड तरलता प्रशोचन गरिएको छ । यो कारोबारमा आधारित तरलता प्रशोचन हो ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायत उपकरणहरूमार्फत खुद रू तीन सय ८६ अर्ब ८६ करोड तरलता प्रवाह गरिएको थियो । यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारमा वाणिज्य बैंकहरूबाट अमेरिकी डलर दुई अर्ब २३ करोड खरिद गरी रू दुई खर्ब ९९ अर्ब ९५ करोड तरलता प्रवाह गरेको छ । 

त्यस्तै यो अवधिमा अमेरिकी डलर एक अर्ब ६४ करोड बिक्री गरी रू दुई खर्ब २१ अर्ब एक करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूको रू छ खर्ब आठ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को रू ७८ अर्ब ८१ करोड गरी कूल रू छ खर्ब ८७ अर्ब ३६ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

बैंक वित्तीय संस्थाहरूको निक्षेप परिचालन र कर्जा प्रवाह भने सुस्त देखिएको छ । पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रू एक खर्ब ७२ अर्ब ३२ करोड अर्थात् दुई दशमलव सात प्रतिशतले बढेको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रू एक खर्ब ७८ अर्ब २९ करोड अर्थात् साढे तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू एक खर्ब १० अर्ब १ करोडले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा भने मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा सात प्रतिशतले बढेको छ । गत मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव नौ प्रतिशत रहेको छ । गत आवको वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव एक प्रतिशत र ३६ दशमलव नौ ९ प्रतिशत रहेको थियो ।

यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह तीन दशमलव छ । विकास बैंकहरूको दुई दशमलव सात र वित्त कम्पनीहरूको कर्जा प्रवाह चार दशमलव तीन प्रतिशतले बढेको छ । गत मङ्सिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३ दशमलव पाँच  प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६ दशमलव एक प्रतिशत रहेको छ ।

पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव चार, निर्माण क्षेत्रतर्फको कर्जा तीन दशमलव पाँच र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव आठ प्रतिशतले बढेको छ । 

त्यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा तीन दशमलव छ । सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच र उपभोग्य क्षेत्रतर्फको कर्जा तीन दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने शून्य दशमलव सात प्रतिशतले घटेको छ ।

विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध

काठमाडौँ, २६ पुसः सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ ।

सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न पुनःआग्रह गरेको हो । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको समाचार सार्वजनिक भएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई जोशीको रिहाइका निम्ति पनि प्रयत्न गर्न आग्रह गर्नुभएको हो ।

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष नेपालको अनुरोध कार्यान्वयनका निम्ति राजदूतमार्फत आग्रह गर्नुभएको हो ।

आजै परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहनुभएका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिनुुभएको थियो ।

यसअघि पनि परराष्ट्रमन्त्री देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग जोशीको रिहाइका निम्ति आग्रह गर्नुभएको थियो । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक प्रयास जारी राखेको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा

पाटन (ललितपुर), २६ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड दिनुभएको छ ।

वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी कार्यालय सानेपामा आज आयोजित वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी कार्यपत्र प्रस्तुतिकरण कार्यक्रममा बोल्दै सभापति देउवाले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधन प्रयोगलाई बढाउनुपर्ने बताउनुभयो । “जलवायु परिवर्तनको असरले नेपाल पीडित छ, यसको असर न्यूनीकरणका लागि नेपालले चाहेर मात्रै हुँदैन, नेपालले विश्वलाई सन्देश दिनेगरी गर्नसक्ने विषय धेरै छन्,” उहाँले भन्नुभयो ।

उहाँले काठमाडौँ उपत्यकामा मात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सके जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो उपलब्धि हुने धारणा राख्नुभयो । “समुन्द्री सतह बढेको छ, हिमाल नाङ्गो भइरहेको छ, त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन हो”, सभापति देउवाले भन्नुभयो । उहाँले देशमा ६० प्रतिशत जङ्गल बचाउन सकेमा मात्रै  ठूलो मद्दत पुग्ने बताउनुभयो ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले नेपालले अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तनको मुद्दाको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगन्य भए पनि जलवायु सङ्कट समाधान गर्नमा, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले जलवायु परिवर्तनको विषयमा पार्टीभित्र नीति तय गरी कानुन निर्माणमा क्रियाशील रहने बताउनुभयो । कार्यक्रममा जलवायु परिवर्तनको विषयमा अनुसन्धानरत विज्ञहरुले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो । 

चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब

काठमाडौँ, २६ पुसः मुलुकको चालु खाता बचतमा रहेको छभने विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाहमा पनि उल्लेख्य सुधार भएको छ ।

समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा रहेको थियो । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु दुई अर्ब ८७ करोड थियो ।

यसैगरी, गत मङ्सिर मसान्तसम्ममा रु छ अर्ब तीन करोड प्रत्यक्ष वैदेशिक (इक्विटीमात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु तीन अर्ब ९३ करोड रहेको थियो । चालु आवको पाँच महिनामा शोधनान्तर स्थिति रु दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब १६ अर्ब पाँच करोडले बचतमा थियो ।

गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनामा ११ दशमलव चार प्रतिशतले वृद्धि भई २०८१ मङ्सिर मसान्तमा रु २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा समीक्षा अवधिमा नौ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २० खर्ब ३३ अर्ब २७ करोड पुगेको छभने राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ४० अर्ब कायम भएको छ । गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव आठ प्रतिशत रहेको छ ।

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भई रु छ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ ।

आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेन : मन्त्री अधिकारी

मलेखु (धादिङ), २६ पुस : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको आर्थिक सङ्कुचनका कारण उद्योग व्यवसायले गति लिन नसकेको बताउनुभएको छ ।

धादिङ उद्योग वाणिज्य सङ्घको ११औँ अधिवेशन उद्घाटन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले उद्योग व्यवसाय गतिशील बनाउन सबै व्यवसायीले राजनीतिक स्वार्थ त्यागेर एकजुट भई अघि बढ्नुपर्ने बताउनुभयो । 

नेपालको औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदारहँदै यस क्षेत्रले रोजगारी, आयआर्जन, गरिबी न्यूनीकरण र निर्यातमा सोचेजति योगदान पु-याउन नसकेको उहाँको भनाई छ ।

“व्यवसायलाई कृषितर्फ लैजाऔँ । बाँझो जग्गामा हरियाली ल्याउन, जग्गालाई एकीकृत गरेर अगाडि बढ्न सक्नुपर्छ । त्यसो गर्न सकियो भने अन्न आयात घटाउन सकिन्छ”, उहाँले भन्नुभयो, “बाँझो जग्गालाई हरियाली बनाउने काममा सहयोग गर्न कृषि मन्त्रालय सदैव तत्पर छ ।” 

कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित,कुनमा को ?

काठमाडौँ, २६ पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनित गर्नुभएको छ ।

उहाँले आज प्रदेश समन्वय विभागको सचिवमा डा रघु काफ्ले, महिला विभागमा कविता इटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा इञ्जिनियर समीक्षा चौधरी, उद्योग तथा व्यापार विभागमा धु्रव खड्का, सहकारी विभागमा चन्द्रप्रसाद ढकाल, पेशागत तथा वुद्धिजीवी विभागमा विजय तुम्वाहाम्फे, तराई–मधेस समन्वय विभागमा मनोजकुमार दास, दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दीपक सोनी, धर्म–संस्कृति समन्वय विभागमा इन्द्रमान तुलाधर, वित्तीय संस्था समन्वय विभागमा सिए दिलमानसिंह चन्दलाई मनोनित गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

त्यसैगरी थारू विभागमा हल्लुप्रसाद चौधरी, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा हेमलाल पुन, स्थानीय तह समन्वय विभागमा लेखनाथ पोखरेल, निर्माण व्यवसाय समन्वय विभागमा एडी लामा, कानुन विभागमा अधिवक्ता कलमबहादुर खत्री,  खेलकुद विभाग राजन केसी, शुभेच्छुक संस्था समन्वय विभागमा निर्मला क्षेत्री, संसदीय मामिला विभागमा वासु कार्की, गैरसरकारी संस्था समन्वय विभागमा प्रल्हादवावु पन्त, आदिवासी जनजाति विभागमा पासाङ शेर्पा, भू.पू. सैनिक विभागमा सुनिता लामिछाने, स्वास्थ्य विभागमा ईश्वर कार्की मनोनित हुनुभएको छ ।

पिछडिएको क्षेत्र समन्वय विभागमा उत्तम सिम्खडा, आपूर्ति तथा उपभोक्ता विभागमा मनोहरि तिवारी, श्रमिक तथा ट्रेड युनियन विभागमा डीपी अर्याल, आर्थिक नीति तथा योजना विभागमा नवीन खनाल, विज्ञान तथा सूचना प्रविधि विभागमा इ.सरोज धिताल, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा विपिन किरण, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा भोजराज श्रेष्ठ, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभागमा वीरेन्द्र थापा, व्यावसायिक सीप विकास विभागमा सुभाष कोइराला, पूर्वआप्रवासी समन्वय विभागमा सुभाषप्रसाद लोहनी, साहित्य, कला तथा संस्कृति विभागमा रिसवदेव घिमिरे, बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा रञ्जिता यादव, मानव अधिकार विभागमा डा वासुदेव गिरी र उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा खगेन्द्र आचार्य मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कालीकोटबाट सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

मान्म (कालीकोट), २६ पुसः जिल्लाको महावै गाउँपालिका–४ की २३ वर्षीया लालशोभा सिंह थापालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको हो ।

सुत्केरी ब्यथा लागेपछि बिहीबार राति महावै आधारभूत अस्पतालमा भर्ना गरिएकामा त्यहाँ सुत्केरी हुन नसकेपछि थप उपचारका लागि आज दिउँसो हेलिकप्टरबाट प्रदेशिक अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दीकुमारी शाहीले बताउनुभयो । “सुत्केरी व्यथा लागेपछि यहाँको आधारभूत अस्पतालमा आउनुभएको थियो । यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएका छौँ”, उहाँले भन्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रममार्फत थापाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “गाउँपालिकामा यातायातको सहज पहुँच नभएकाले हेलिकप्टरबाट उद्धार गर्नु परेको हो”, उहाँले भन्नुभयो ।

शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित

जलेश्वर, २६ पुस : विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।

निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताउनुभयो । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन् ।

जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ । चिसोले हाट बजारमा चहलपहल घटेको छ । चिया व्यापार भने बढेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताउनुभयो ।

चिसोकै कारण जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको चिकित्सकहरु बताउँछन् । जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन् । चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको छ । जाडोबाट बच्न ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेका छन् ।जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई समेत समस्या भएको जलेश्वर–१० का सहदेव मण्डलले बताउनुभयो ।

जिमी कार्टरको राजकीय अन्त्येष्टिमा अमेरिकी शोक

जिमी कार्टरको राष्ट्रिय झण्डामा लपेटिएको पार्थिव शरीर वासिङ्टनको राष्ट्रिय क्याथेड्रलमा हुने राजकीय अन्त्येष्टिका लागि अमेरिकी संसद्बाट स्थानान्तरण गरिएपछि उहाँको अन्तिम यात्रा बिहीबार शुरु भयो । त्यहाँ शोकाकुल जनताले ३९औँ अमेरिकी राष्ट्रपतिप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

यो समारोहले एक हप्ताको शोक समाप्त गर्दैछ । यसमा हजारौँ नागरिकले शान्तिपूर्वक शवपेटिका अगाडि लाइन लगाएर कार्टरप्रति श्रद्धाञ्जली अर्पण गरे । उहाँको डिसेम्बर २९ मा आफ्नो गृह राज्य जर्जियामा १०० वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रपति जो बाइडेनले नियो–गोथिक क्याथेड्रलमा आफ्ना साथी डेमोक्रेट र तथाकथित महान पुस्ताका अन्तिम व्यक्तिलाई श्रद्धाञ्जलि दिनुहुनेछ ।

बढ्दो विभाजित संयुक्त राज्य अमेरिकाका लागि परिवर्तनको अर्को क्षणमा राष्ट्रिय एकताको यो छोटो प्रदर्शन रिपब्लिकन डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्कन लागेको ११ दिनअघि आएको छ । 

औपचारिक पोशाकमा अमेरिकी सैनिकहरूले संसद् भवनको सिँढीबाट शवपेटिका तल झारे । त्यसपछि मोटरकेडले वासिङ्टनको हिउँ परेका सडकहरू हुँदै क्याथेड्रलसम्म लग्यो ।

एपिस्कोपल चर्च ड्वाइट आइजनहावर र रोनाल्ड रेगनदेखि जर्ज एच. डब्लु बुशसम्मका अमेरिकी राष्ट्रपतिहरूको बिदाइको परम्परागत स्थल रहेको छ । 

– भद्र मान्छे –

बाइडेनका अनुसार लामो समयदेखिका उहाँहरू चार वर्षअघि अन्तिम पटक भेट गर्दा कार्टरले उहाँलाई सम्मान गर्न आग्रह गर्नुभएको थियो ।  

“कार्टर एक भद्र मानिस हुनुहुन्थ्यो”, बाइडेनले आफ्नो टाउकोबाट हृदयतिर इशारा गर्दै भन्नुभयो, “मलाई लाग्छ कि कार्टरले संसारलाई यहाँबाट होइन, यहाँबाट हेर्नुभएको थियो जहाँ सबैजना बस्छन् ।” 

बाइडेनका जीवित पूर्ववर्तीहरू–बिल क्लिन्टन, जर्ज डब्लु बुश, बाराक ओबामा र ट्रम्प अन्त्येष्टि समारोहमा करिब तीन हजार शाकाकुलहरूसँग सामेल हुने अपेक्षा गरिएको छ । बिहीबारलाई राष्ट्रिय शोकको दिन तोकिएको छ र सङ्घीय कार्यालयहरू बन्द रहनेछन् । 

सन् १९८० मा रेगनसँग चुनाव हार्नुअघि एक कार्यकाल मात्र सेवा गर्नुभएका कार्टरलाई वासिङ्टन राजनीतिको कठोर संसारमा सरल र कमजोर मानिन्थ्यो। 

इरानको इस्लामिक क्रान्तिपछि तेहरानमा अमेरिकीहरू संलग्न भएको बन्धकको सङ्कटले अन्ततः उहाँको भाग्य निर्धारण गर्यो । तर इजरायल र इजिप्टबीचको शान्ति सम्झौताको मध्यस्थता जस्ता उपलब्धिहरूको पुनर्मूल्याङ्कन गर्दै वर्षहरू बित्दै जाँदा उहाँको थप सूक्ष्म छवि देखा परेको छ । 

उहाँले राष्ट्रपतिपछिका मानवीय प्रयासहरूका लागि उच्च प्रशंसा र सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गर्नुभयो । 

– न्यायको तृष्णा –

तीन अङ्कमा पुग्ने पहिलो राष्ट्रपति उहाँ सन् २०२३ फेब्रुअरीदेखि आफ्नो गृहनगर प्लेन्स, जर्जियामा हसपिस हेरचाहमा हुनुहुन्थ्यो । त्यहाँ उहाँको निधन भयो । उहाँकी दिवङ्गत पत्नी एवं पूर्व प्रथम महिला रोजलिन कार्टरको छेउमा उहाँको अन्त्येष्टि गरिनेछ ।

देशभर आधा झुकाइएका अमेरिकी झण्डाहरूसहित ध्यानपूर्वक योजना बनाइएको छ दिने बिदाई शनिबारदेखि शुरु हुँदा शोकाकुलहरूले श्रद्धाञ्जली अर्पण गर्न थाले ।

कार्टरको अवशेष बोकेको कालो शवयान उहाँको बालापनको पारिवारिक बदाम खेतमा रोकियो । त्यहाँ घण्टी ३९ पटक बजाइएको थियो र कर्मचारीहरू मौन श्रद्धाञ्जलिमा उभिएका थिए ।

मोटरकेड बिस्तारै अघि बढ्दा भीडहरू अन्तिम बिदाइ दिन, तस्बिरहरू खिच्न वा सलामी दिन सडकको किनारमा जम्मा भएका थिए । कार्टरको शवपेटिका मङ्गलबार हिउँले ढाकिएको वासिङ्टनको अमेरिकी संसद्मा तोप गाडीमाथि आइपुगेको थियो ।

सन् २०१८ मा बुश सिनियरको निधनपछिको पहिलो राष्ट्रपतीय अन्त्येष्टिका क्रममा सयौँ सैनिकहरूले साथ दिए, सैनिक पल्लबेररहरूले बिहीबारको समारोहअघि राज्यको सम्मानमा रोटुन्डामा राख्न कार्टरलाई बोके ।

सिनेटमा डेमोक्रेटका नेता चक शुमरले कार्टरलाई ‘हामीले देखेका सबैभन्दा सभ्य र नम्र सार्वजनिक सेवकहरू मध्ये एक’ भनेर वर्णन गर्नुभयो । “राष्ट्रपति कार्टर सेवा, करुणा र सबैका लागि न्यायको तृष्णामार्फत नेतृत्वको जीवित मूर्त रूप हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर

सिरहा, २६ पुस : सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ ।

नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताउनुभयो । “यहाँ मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हँुदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा उत्पादन हुने कृषि उत्पादन यो नाका हुँदै पैठारी गर्न र नेपालमा उत्पादित कृषिजन्यउपज भारत निकासी गर्न कठिनाइ हुँदै आएको छ”, उहाँले भन्नुभयो, “व्यवसायी र कृषकले समस्या भोग्नुपरेको छ, चोरी निकासी र पैठारी नियन्त्रण हुन सकिरहेको छैन ।”

क्वारेन्टाइन कार्यालय नहुँदा एकातिर व्यापारी विस्तारै निरुत्साही हुँदै गएका छन् भने अर्कातिर भन्सार अगाडिको सडकखण्डमा घण्टौँसम्म नेपाल भित्रिने मालबाहक सवारीसाधन लाम लाग्ने गरेका छन् । प्रमुख भन्सार अधिकृत सापकोटाका अनुसार नेपाल प्रवेश गर्ने मालबाहक सवारीसाधनको क्वारेन्टाइन प्रक्रियाकै लागि घण्टौँ लाग्ने हुँदा सडकमै सवारीसाधन पार्किङ गर्नुपर्ने समस्याले आवागमन समेत प्रभावित हुने गरेको छ ।

माडर भन्सार भएर दलहन, फलफूल, तरकारी तथा पशुपन्छी र दूधजन्य वस्तु आयात निर्यातमा समस्या भएको छ भने खाद्य, तेल, मैदा, दाना, बेकरीसँग सम्बन्धित उद्योग प्रभावित भएका छन् । वार्षिक रु १२ करोडभन्दा बढी राजस्व उठाउने यस भन्सार कार्यालयमा विषादी चेक गर्ने सामान्य प्राविधिक कर्मचारीको अभावमा प्लान्ट क्वारेन्टाइन सेवा नहुनु दुःखद् विषय भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ ।

उहाँले भन्नुभयो, “यहाँको नाकामा प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भन्सार कारोबारमा प्रभाव परेको छ । भन्सारको ९० प्रतिशत आम्दानी कृषजन्य वस्तु आयातबाट हुने हो । राजस्व छली नियन्त्रण गर्न पनि जिल्लामा प्लान्ट क्वारेन्टाइन सेवा अनिवार्य छ ।”

प्लान्ट क्वारेन्टाइन नभएपछि व्यवसायीले पूर्वमा विराटनगर भन्सार कार्यालय तथा पश्चिममा जलेश्वर भन्सार कार्यालय भएर सामान निर्यात गर्नुपरेको छ । यसरी लामो दूरी तय गर्दा ढुवानी खर्च बढ्न गई उपभोक्ता चर्को मूल्यवृद्धिको मारमा पर्ने गरेका जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाको भनाइ छ । उहाँले भन्नुभयो, “भन्सारको मुख्य आम्दानी नै कृषिजन्य वस्तु हो, त्यसैले यहाँ जति सक्दो चाँडो प्लान्ट क्वारेन्टाइन स्थापना गर्नुपर्छ । स्थापनापछि राजस्व असुली अहिलेको तुलनामा तीन गुणा वृद्धि हुनेछ ।”

प्रमुख भन्सार अधिकृत सापकोटाका अनुसार प्लान्ट क्वारेन्टाइनको समस्यालाई समाधान गर्न विगतदेखि पटकपटक सम्बन्धित मन्त्रालय र विभागबाट प्रयासहरु भए पनि हालसम्ममा सार्थकता पाउन सकेको छैन । विसं २०७८ असोजमा अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित भन्सार कार्यालयले उपलब्ध गराएको कार्यकक्ष प्रयोग गरी कृषिजन्य वस्तुको आवश्यक निरीक्षण परीक्षण गरी छोडपुर्जी जारी गर्ने गरी क्वारेन्टाइन सम्पर्क विन्दु स्थापना गर्ने तथा उक्त सम्पर्क विन्दुमा काम गर्न हाल कार्यरत क्वारेन्टाइन कार्यालय कृष्णनगर, भैरहवा र जलेश्वरबाट एक÷एक प्राविधिक कर्मचारी भन्सार कार्यालय क्रमशः सुठौली, महेशपुर र सिरहालाई उपलब्ध गराउने निर्णय भएको थियो । त्यसको भोलिपल्टै कृषि तथा पशुपन्छी विकास मन्त्रायले सोहीअनुरुप गर्न भनी प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुरलाई पत्र लेखेको थियो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनबाट उक्त निर्णय अविलम्ब कार्यान्वयन गर्न भनी क्वारेन्टाइन कार्यालय जलेश्वर, भैरहवा र कृष्णनगरलाई सम्बोधन गरी पत्राचार भएको प्रमुख भन्सार अधिकृत सापकोटाले बताउनुभयो । यहाँ खटिइ आउने कर्मचारीका लागि आवश्यक कार्यकक्ष उपलब्ध गराई सहयोग गर्न भनी भन्सार विभाग त्रिपुरेश्वरबाट २०८० जेठ २४ गते भन्सार कार्यालय सिरहा, महेशपुर र सठौलीलाई पत्राचार समेत गरिएको थियो । उक्त निर्णय तथा पत्राचार भएको लामो समयसम्म पनि प्लान्ट क्वारेन्टाइनको व्यवस्था नभएपछि सेवा प्रवाहमा समस्या भएको उहाँले बताउनुभयो ।

गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित

गुल्मी, २६ पुसः गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आर्थिकस्तर समेत वृद्धि हुँदै जान थालेको छ ।

जिल्लामा सबैभन्दा धेरै किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्छ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टर क्षेत्रमा किबीको व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । यो वर्ष त्यहाँका किसानले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय किसान एवं वडासदस्य यमबहादुर थापाले जानकारी दिनुभयो । भार्सेमा उत्पादित किबी स्थानीय बजार तथा पाल्पा र बुटवलसम्म पुग्ने गर्छ । बजारमा उपलब्ध किबीको तुलनामा भार्सेमा उत्पादित किबीको औषत मूल्य रु दुई सय छ । यहाँका किसानको मुख्य आम्दानी यतिबेला किबीखेती बनेको छ ।

सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किबीखेतीको व्यावसायिक उत्पादनका लागि किसानलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताउनुभयो । यस वर्ष पनि गाउँपालिकाबाट नर्सरी स्थापना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।

भार्सेका किसान यमबहादुर थापाले व्यावसायिक रूपमा किबीखेती गर्दै आउनुभएको छ । उहाँले लगाएका एक सय ५० बोटमध्ये एक सय ३० बोटले फल दिन थालेको बताउनुभयो । यसपटक थापाले २५ क्विन्टल किबी स्थानीय बजार हुँदै पाल्पा र बुटवलसम्म बिक्रीका लागि पठाइसक्नुभएको छ । गत वर्षको तुलनामा यसपटक उत्पादन बढेसँगै किबीको मूल्य घटेको उहाँको भनाइ छ । उहाँको बारीमा ‘रेडकिबी’, ‘हेवार्ड’, ‘एलिसन’, ‘ब्रुनो’ गरी चार जातका किबी रहेका छन् । अन्य खेतीको तुलनामा किबीबाट राम्रो आम्दानी हुने उहाँको अनुभव छ । यीमध्ये एलिसन जातको किबी मीठो र स्वादिलो हुने थापाले बताउनुभयो ।

सिजनमा भार्सेका बारी किबीले ढपक्कै ढाकिएका हुन्छन् । किबीको बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ६० देखि एक सय २० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताउनुभयो । बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य खाद्य बाली जोगाउन समस्या परेको अवस्थामा किबीखेती त्यहाँका किसानका लागि वरदान सावित भएको छ । किबी बढी झुसिलो हुने भएका कारण पनि अन्य वन्यजन्तु टाढै बस्ने गरेको बताइएको छ । जिल्लामा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालिकालगायत कालीगण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोटलगायत पालिकामा किबीको व्यावसायिक खेती गर्न थालिएको छ ।

किबी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किबीमा भिटामिन ‘सी’ धेरै हुने भएका कारण यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबरसमेत पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादका रूपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ ।

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

गाईघाट (उदयपुर) २६ पुसः चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।

त्रियुगा, चौदण्डीनढी नगरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित हुन थालेको त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईले बताउनुभयो । त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाका अनुसार कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थी चार दिनदेखि चिसो बढेर शीतलहर सुरू भएसँगै २५ प्रतिशतमात्र उपस्थिति भएको शिक्षक थापाले बताउनुभयो ।

यस्तै, चौदण्डीगढी–९ हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीका अनुसार ह्वात्तै चिसो बढेर शीतलहरसमेत सुरू भएका कारण विद्यालयमा अध्ययन गर्ने साना कक्षाका विद्यार्थी चिसोबाट नकारात्मक प्रभावमा परेका कारण विद्यालयमा न्यून उपस्थिति हुन थालेको छ ।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका रामदेव चौधरीले शीतलहर र हुस्सुसमेत सुरू भएकाले घरका नानीहरू विद्यालय जान सक्ने अवस्था नरहेकाले दिनभर घरमा नै न्यानो लुगा ओढेर बस्न थालेको बताउनुभयो । चिसो बढेकाले नानीहरूलाई विद्यालय पठाइयो भने असर गर्ने भन्दै अभिभावकहरूले विद्यालय पठाउन छाडेका छन् ।

चार दिनदेखि उदयपुरको तराई क्षेत्र त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिका क्षेत्रमा शीतलहरसँगै जनजीवन प्रभावित भएको स्थानीय बताउँछन् । अत्यधिक चिसो बढ्दै गएपछि नगर क्षेत्रका वृद्धवृद्धासमेत घरभित्र आगो तापेर बस्न बाध्य छन् ।

कृषि विकास बैंक लहानले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित

सिरहा, २६ पुसः कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए ।

आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गर्नुपरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो । उहाँले झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारी के–कति घाइते भएका यकिन नभएको बताउनुभयो ।

प्रहरी प्रवक्ता पासवानका अनुसार केही आन्दोलनकारी पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रशासन कार्यालय लहानमा राखेर ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ । स्थिति सामान्य भएपछि चार घण्टापछि दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको थियो ।

स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ गते रू ३० लाख ‘ओडी’ ऋण लिएका थिए । झण्डै चार वर्षअघि लिएको उक्त ऋणको सावाँ र ब्याज गरी हालसम्म रू १९ लाख ९२ हजार सात सय ७३ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गर्नुपरेको ऋणी यादवले बताउनुभयो ।

यसभन्दा अगाडि पुस ११ गते ऋणी यादवको साथमा स्थानीयले यस कृषि बैंकमा तालाबन्दी गरेका थिए । सोही दिन आन्दोलनकारी र बैंकबीच वार्ता भएर आठ घण्टापछि साँझ तालबन्दी खुलेको थियो । सो वर्तामा लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानुनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास शारदा बताउनुहुन्छ ।

अध्यक्ष्य शारदाले भन्नुभयो, “दुई पक्षबीच भएको सहमति पालना नहुँदा आन्दोलन चर्कियो । यहाँ बैँकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्याङ्कन ८० लाख गरेर रू ३० लाख ऋण स्वीकृत गरेको देखिन्छ । तर, चार वर्षपछि जग्गाको भाउ बढ्नुको साट्टा घटाएर रू ६५ लाख मूल्याङ्कन गरी रू ३५ लाखमा लिलामी गरिनुले कुनै न कुनै खोट देखिन्छ ।”

चलनचल्ती अनुसार रू एक करोड ४५ लाखमा बिक्री हुने जग्गा रू ३५ लाखमा लिलाम गरिदिएको पीडित यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा जग्गा किनी घर बनायौँ । तर, त्यो बैंकले लिलाम गर्दा बेघर भयौँ । सोझो मान्छे जसरी पनि ठगिनेरहेछ । हामीलाई सरकारले न्याय गर्नुपर्छ ।”

यता कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको जनकपुरस्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले बताउनुभयो । उहाँले ऋणीलाई कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गर्नुभयो ।

“हामीलाई प्राप्त सूचनाअनुसार २०७९ सालदेखि ऋणीले सावाँ ब्याज नबुझाएको र सम्बन्धित बैंकले चारपटक सूचना निकाली जग्गा लिलाम सकार गरेको बुझिन्छ । ग्राहकलाई प्रक्रिया नमिलेको वा चित्त नबुझेको भए कानुनसम्मत रूपमा आउनुभयो राष्ट्र बैंकले सहजीकरण गर्नुपर्छ, हामी त्यो गर्छौँ ।”

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी

काठमाडौँ, २६ पुसः यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ (११ वर्ष)मा एक सय १६ जानाले ज्यान गुमाएका हुन् । प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन् । सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र नवलपरासीमा एक–एक जना गरी एक सय १६ जनाको मृत्यु भएको छ ।

प्राधिकरणको तथ्याङ्कानुसार २०६८ साल वैशाखदेखि चैतसम्ममा मात्र ६६ जनाको मृत्यु भएको थियो । यसैगरी २०७४ मा ४८ जनाको शीतलहरका कारण मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । विसं २०६८ र २०७४ बाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो, हिटर ताप्दा भने सर्वसाधरणको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

शीतलहरको जोखिम भएका क्षेत्रमा जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम जस्तै बाक्लो लुगा, कम्बल वितरण प्रभावकारी गर्न नसक्नु, पूर्वतयारीमा राज्यको लगानी न्यून रहनु तथा शीतलहरबाट सर्वसाधरणलाई बचाउन पर्याप्त तयारी नहुँदा कयौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ ।

पछिल्लो समय भने शीतलहरकै कारण मृत्यु भए पनि पुष्टि गर्न झन्झटिलो बनेको छ । अब भने कुनै अस्पताललले शीतलहरकै कारण मानिसको मृत्यु भएको हो भन्ने कुरा कुनै अस्पतालको डाक्टरबाट नै पुष्टि हुनुपर्ने बताउनुहुन्छ, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराई । “पछिल्ला वर्षहरूमा शीतलहरका कारण मृत्यु भएको तथ्याङ्क छैन, अबचाहिँ डाक्टरले नै शीतलहरका कारण मृत्यु भएको हो भनेर पुष्टि गरेमा मात्रै तथ्याङ्क रहने भयो”, उहाँले भन्नुभयो, “शीतलहरकै कारण मृत्यु भएको हो भनेर पुष्टि गर्न गाह्रो भएपछि चिकित्सकले नै पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको हो । नत्र चिसोमा अन्य कारण पनि मृत्यु हुन्छ । निमोनिया, हृदयघात तथा अन्य रोगका कारण पनि मृत्यु हुनसक्छ ।”

उहाँका अनुसार शीतलरमा न्यायो कपडा वितरण गर्नेजस्ता पूर्वतयरीको जिम्मा स्थानीय तहलाइ दिइएको छ । स्थानीय तहकोे क्षमता अभिवृद्धि गर्नुपर्ने भट्टराईको भनाइ छ । तराईमा शीतलहरको अवस्था आएमा सूचना प्रवाह गरिने बताउनुहुन्छ, जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल ।

यी हुन् प्रभावित जिल्ला

प्राधिकरणका अनुसार बढी प्रभावित जिल्लामा सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासीपश्चिम र कपिलवस्तु गरी ११ जिल्ला छन्भने झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्ला भने कम प्रभावितमा पर्छन् ।

दाउरा वितरण

वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले उक्त प्रदेशअन्तर्गत आठ जिल्लाका डिभिजनल वन कार्यालयलाई प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि निर्देशन दिइएको जानकारी दिनुभयो ।

“प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि आठ जिल्लामा रू १०–१० लाख पठाइएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक पनि डिभिजनल वन कार्यालयले आफ्नो तरिकाले दाउरा वितरण गरेको छ । हामीले घरैपिच्छे वितरण गर्दैनौँ, मानिस भेला भएर ताप्नका लागि समूहमा दाउरा वितरण गरिरहेका छौँ ।”

जलवायुको असर

जलवायुविद् मञ्जित ढकालले जलवायु परिरवर्तनको असरका कारण मौसममा अनियमितता हुने र शीतलहरका असर बढ्नेजस्ता समस्या उत्पन्न हुने बताउनुभयो । “जलवायु परिवर्तनका कारण तापमान वृद्धि भइरहेको छ, तापमान वृद्धिका कारण गर्मी मात्र बढ्छ भन्ने होइन, चिसोमा धेरै चिसो र तातोमा धेरै गर्मी हुने भन्ने हो”, उहाँले भन्नुभयो, “शीतलहरका साथै अहिले तराईमा हुस्सुको समस्या पनि बढिरहेको छ । बाक्लो हुस्सु लाग्दा हवाई यातायतमा समस्या देखिएको छ ।”

ढकालले जलवायुजन्य जटिल समस्याबाट उत्पन्न हुने विपद् न्यूनीकरण गर्नुपर्ने र जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड

शीतलहरजस्ता विपद् व्यवस्थापनका कार्य गर्ने अधिकार स्थानीय तहलाई दिए पनि उनीहरूको क्षमता अभिवृद्धि, पूर्वसूचनामा बेवास्ता, अन्य कार्यलाई बढी प्रथामिकता दिँदा शीतलहरजस्ता विपद् व्यवस्थापनको कार्य प्रभावकारी हुनसकेको छैन । राज्यले पनि कम प्रथामिकतामा राख्दा पूर्वतयारीमा लगानी न्यून रहेको सरोकारवालाको गुनासो छ ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले शीतलहर चलेको भन्ने जानकारी राख्ने क्षमता स्थानीय तहलाई नभएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताउनुभयो । “शीतलहरको अवस्था आउँदैछ भन्ने जानकारी स्थानीय तहलाई हुँदैन, दुई वा सोभन्दा बढी दिनसम्म तराईको तापक्रम १० डिग्रीले तल रहेमा शीतलहर आउँछ । पाँच दिनदेखि तराईमा न्यूनतम सातदेखि १२ डिग्री ससेल्सिस छ”, उहाँले भन्नुभयो, “तर शीतलहर घोषणा गर्ने अधिकार न त स्थानीय तहलाई हुन्छ न यससम्बन्धी प्राविधिक जानकारी नै ।”

उहाँले अझै तराईमा दुई दिनसम्म हुस्सु लाग्ने र अझै चिसो बढ्ने भन्दै न्यायो कपडा तत्काल बाँड्न सम्बन्धित स्थानीय तहलाई सुझाव दिनुभएको छ । उप्रेतीले शीतलहरबाट मानवीय क्षति कम गर्न प्रतिकार्य योजना बनाए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । चिसो तथा शीतलहरबाट कसरी बच्ने भन्ने सन्दर्भमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

मौसम पूर्वानुमान माहाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले अहिलेसम्म शीतलहरको अवस्था देखा नपरेको भन्दै शीतलहरको अवस्था आए बुलेटिन प्रकाशन गर्ने बताउनुभएको छ । “यदि भिजीबिलिटी दुई दिनसम्म १५ सय मिटरभन्दा कम भयो र अधिकतम् र न्यूनतम तापक्रम पाँच डिग्र्री सेल्सियसको फरक दुई वा सोभन्दा बढी दिन भएमा शीतलहर घोषणा गर्ने मापदण्ड छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गत वर्ष शीतलहर भएको थिएन ।

दाउरा र हिटर बाल्दा आगलागीको डर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहरका समयमा आगलागीका घटना बढेको भन्दै दाउरा र हिटर प्रयोग गर्दा सतर्कता अपनाउन सचेत गराएको छ ।

प्राधिकरणका अनुसार चिसोको समयमा हिटर बालेर सुत्ने, दाउरा तथा कोइला बाल्दा आगलागीका घटना बढ्ने गरेको छ । विपद् व्यवस्थापनविद् डा उप्रेतीले चिसोको समयमा दाउरा तथा कोइला ताप्दा हुने आगलागीका घटना बढिरहेकामा चेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

शीतलहरमा स्वास्थ्यमा समस्या

शीतलहरका बेला विषेश सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जनस्वास्थयविद् डा समिर अधिकारीले अचानक तापक्रम न्यून हुँदा निमोनिया हुने, छालाको समस्या, रूघाखोकी लाग्नेदेखि दीर्घरोगसमेत लाग्ने हुँदा विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।

“तापक्रम कम भएर शीतलर चल्दा पैताला, टाउको, घाँटी, छाती र हातबाट शरीरमा चिसो पस्छ, जसले गर्दा छाला चिलाउने, सुन्निने, रातो हुन्छ । यसका साथै झाडापखाला, बाथरोग लाग्ने, जीउ दुख्ने, मानसिक तनावसमेत हुन्छ”, उहाँले भन्नुभयो, “यस समयमा विशेष सतर्कता अपनाएर न्यानो लुगा लगाउनुपर्छ ।”

मुटुरोग विशेषज्ञ डा रञ्जित शर्माले बढी चिसो हुँदा सबैभन्दा बढी असर मुटुलाई पर्ने बताउनुभयो । चिसोेमा हाम्रो शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली भने खुम्चँदा यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुने उहाँको भनाइ छ । अनि हाम्रो मुटुले सामान्य अवस्थामा भन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृदयघात र मस्तिष्कघातसमेत हुनसक्छ”, शर्माले भन्नुभयो ।

के हो शीतलहर ?

तराईका विभिन्न भागमा विशेषगरी पुस र माघमा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ ।

प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकासम्म हप्तौँ वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ । शीतलहर सामान्यतया विशेष मौसम प्रणालीको परिणामका रूपमा देखापर्दा तापक्रम धेरै तल झर्ने अवस्था उत्पन्न हुन्छ । शीतलहरको अवधिमा तापमान सामान्यभन्दा धेरै कम हुन्छ । जसकारण दैनिक जीवनमा विभिन्न समस्या र असुविधा उत्पन्न हुनसक्छ ।

शीतलहरबाट जोगिने उपाय

शीतलहरबाट प्रभावित हुने स्थानमा बसोबास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विषेश ख्याल राख्न जरूरी छ । यस समयमा सकेसम्म घर बाहिर ननिस्कुन उचित हुने विज्ञको सुझाव छ । न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने, वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ । यसैगरी शीतलहरका विषयमा स्थानीय प्रशासनसँग नियमित सूचना लिनु आवश्यक छ । स्थानीय तथा प्रदेश तहसँग समन्वय बढाउन आवश्यक छ ।

के छ सरकारको योजना

सम्भावित शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन, २०७७ मा हिमपात, चिसो तथा शीतलहरबाट बच्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सामग्री तयार गरी प्रचारप्रसार गर्ने, विद्यार्थीलाई कक्षा दिने उल्लेख छ ।

“शरीरको न्यानो बचाउ अभियान प्रचार गर्ने, उपलब्ध साधन स्रोतको आकलन गर्ने, जस्तै खाद्यान्न, न्यानो कपडा, कम्बल, दाउरा काठ, औषधि र स्वास्थ्य सेवा, हिउँ पन्छाउने सामग्री, सञ्चार, पहुँच, खट्ने जनशक्तिको तयारी गरिने छ”, मार्गर्दशनमा उल्लेख छ, “समभावित दुर्घटना आगलागी, कोठामा निसासिने आदिबाट बच्न चेतनामूलक तथा सन्देशमूलक सूचना स्थानीय भाषामा तयार गरी आमसञ्चारमाध्याममार्फत प्रचारप्रसार गरिनेछ ।”

हिमपात, तुसारो, बाक्लो कुहिरोका कारण सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने, आवश्यकतानुसार सबै समूह गठन गरी त्यस्ता स्थानको ‘प्यापिङ’ गर्ने र दुर्घटना हुनसक्ने जोखिमयुक्त/सम्भावित क्षेत्रमा विभिन्न साङ्केतिक चिह्न तथा सूचनामूलक सन्देश राख्ने योजना छ । सवारीचालकलाई प्रवेश तथा प्रस्थान विन्दुमा जानकारी गराउने, हिमाली क्षेत्रमा हुनसक्ने हिउँआधीलागायत सम्भाव्य दुर्घटनाको खोज, उद्धार र उपचारको आवश्यक पूर्वतयारी गर्ने योजना छ ।

यसैगरी शीतलहर तथा मौसमसम्बन्धी पूर्वानुमान बुलेटिन साप्ताहिक/दैनिक जारी गर्ने र सो बुलेटिनलाई आमसञ्चारमाध्यामबाट प्रकाशन तथा प्रसारण गर्ने गराउने, प्राधिकरण र विभागबीच आवश्यकतानुसार बैठक राखी समन्वय गर्ने मार्गदर्शनमा उल्लेख छ ।

“स्वास्थ्यसम्बन्धी समस्यालाई रोकथाम गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने–गराउने, स्वास्थ्यकर्मी औषधि र द्रुतप्रतिकार्य समूह तयार गरी परिचालन गर्ने । आवश्यकता हेरी स्वास्थ्य शिविर सञ्चालन गर्ने”, मार्गदर्शनमा भनिएको छ, “कृषिवाली र पशुपन्छीको क्षतिलाई न्यून गर्न आवश्यक औषधोपचार तथा यसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा सन्देशमूलक सूचना प्रचारप्रसार गराउने र शीतलहरका कारण अन्नबाली/पशुपन्छीको क्षति भए किसानलाई मल, बीउ, पशुपनछी उपचार तथा प्रविधि सहयोग र राहत तत्काल उपलब्ध गराउने, गर्न लगाउने योजान छ ।”

कृषिक्षेत्रमा हुने विपद् जोखिम हस्तान्तरण (बिमा)का योजना रणनीतिक कार्ययोजना तयार गरी पेस गर्ने मार्गदर्शनमा उल्लेछ । तर मर्गदर्शनमा उल्लेख भएका कार्ययोजनाको प्रभावकारी कार्यनवयन हुनुपर्नेमा सरोकारवालाहरूमा जोड छ ।

पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन

खोटाङ, २६ पुसः तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो ।

सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ ।

पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसार भवन निर्माणको काम सुरू गरिएको थियो । निर्माणाधीन अस्पताल भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि झ्यालढोका थुनथान, रङरोगन तथा पार्टेशन (विभाजन)को काम बाँकी नै छ ।

अस्पताल भवन निर्माणको काममा ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको जिल्ला अस्पतालका डा पुष्कल राईले बताउनुभयो । “अस्पतालमा दैनिक सयौँको सङ्ख्यामा बिरामी आउँछन् । कतिपयलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामी हुन्छन्”, उहाँले भन्नुभयो, “अस्पताल भवन अभावमा साँघुरो टहरामा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।”

अस्पतालमा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष (सुत्केरी गराउने ठाउँ, शल्यक्रिया कक्ष, आकस्मिककक्षलगायत सेवा टहरामार्फत उपलब्ध गराउने गरिएको छ । पर्याप्त शय्या अभावमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् ।

अस्पताल भवन निर्माणको काममा ठेकेदारको लापरबाहीका कारण ढिलासुस्ती भएपछि जिल्ला समन्वय समितिको संयोजनमा गत साउन २७ गते बोलाइएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीका सञ्चालक रामबहादुर कटवाललाई कार्यतालिकासहित कागज गराइएको थियो । मङ्सिर २९ गतेभित्र सबै काम सक्नेगरी सार्वजनिक रूपमा गरिएको ‘वर्क सेड्युल’ कागजमै सीमित भएको छ ।

विसं २०४९ वैशाख १ गते स्थापना १५ शय्याको अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमार्फत भ्याटसहित रू २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा ५० शय्यामा स्तरोन्नति गर्नेगरी अस्पताल भवनको ठेक्का लगाइएको थियो । गरेको कामको नियमित भुक्तानी नपाउँदा अस्पतालको भवन निर्माणको कामलाई बेलामा सम्पन्न गर्न नसकिएको निर्माणस्थलमा खटिनुभएका ठेकेदार कम्पनीका साइड इञ्जिनियर हरिशङ्कर बान्तोलाले बताउनुभयो ।

पहिलो तलामा ओपिडी कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्यूरिटी रूम लगायतका संरचना निर्माण गर्ने योजना रहेको अस्पताल भवन ४० मिटर लम्बाई र २० दशमलव ५ मिटर चौडाईको हुने सम्झौतामा उल्लेख छ । चार तले आरसिसी पक्की भवन दोस्रो तलामा प्रसुतिसम्बन्धी सेवा तथा प्रसुतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसियू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमीनार हल लगायतका संरचना निर्माण गरिने प्राविधिक स्टिमेटमा उल्लेछ ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माणको काम सम्पन्न नभएपछि सामान्य किसिमका बिरामीलाई समेत बाहिरी जिल्ला लानुपर्ने बाध्यता रहेको जिल्लावासीले बताएका छन् । अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार तथा भवन अभाव भएकै कारण अधिकांश बिरामीलाई बाहिर सुविधासम्पन्न अस्पताल ‘रेफर’ गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताएका छन् ।

स्थापना भएर सञ्चालनमा आएको लामो समयसम्म स्तरोन्नति नभएको जिल्ला अस्पतालमा विभिन्न क्षेत्रबाट प्राप्त औजारको भरमा सेवा उपलब्ध गराउने गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ । विशेषगरी खोटाङमा जन्मिएर विभिन्न पेसा तथा व्यवसाय गर्दै आएका हङ्कङ तथा बेलायतमा रहेका खोटाङ्गेहरूले अस्पतालका लागि आवश्यक औजार उपलब्ध गराउँदै आएका छन् ।