`

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा

दोधारा चाँदनी (कञ्चनपुर), २६ पुसः सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ ।

छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त हुनुहुन्छ ।

मोबाइलमा समाचार हेर्दै विपिनको सुखद् खबरको आशामा दिन बित्न थालेका छन् । छोराको अवस्थाबारे बेखबर विपिनका बुबाआमाले भीमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गरिरहेका छन् । जोशी परिवार विपिनको सकुशल घर फिर्तीको पर्खाइमा छ ।

“छोरा आउने आशामा १५ महिना बितिसके, मेरो छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार ?” विपिनका आमा पद्माले भन्नुभयो, “मेरो छोरालाई सकुशल घर ल्याउन सरकारले पहल गरिदेओस् ।” जोशी परिवारले छोराको रिहाइका लागि सरकारसँग अनुनय गरिरहेको छ । छोराको रिहाइका लागि मन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री, राजदूत सबैलाई भेटेर विपिनको रिहाइका लागि अनुनय गरिसकेका छन् ।

हमासले ३४ जना बन्दी छोड्ने खबरले आमाबुबाको मलिन अनुहारमा थोरै भए पनि खुसीका रेखा देखापरे । तर जब त्यो लिष्टमा छोरा विपिनको नाम छैन भन्ने समाचार आयो अनुहार निन्याउरा भए । “अहिलेसम्म अन्य देशका नागरिक धेरै छुटिसके”, आमा पद्माले भन्नुभयो, “अब छुट्ला अब छुट्ला भन्दाभन्दै आशामै डेढ वर्ष बितिसके ।”

हमास समूहले इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम, किबुजबाट नियन्त्रणमा लिएको इजरायल सरकारले जानकारी गराएको थियो । त्यसयता विपिनको अवस्था अज्ञात छ । अध्ययनसँगै कमाइ गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयमा ३९ विद्यार्थी इजरायल गएका थिए ।

त्यहाँ पुगेको एक महिनामै हमास समूहले आक्रमण गरेको थियो । हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । “अरू देशका नागरिक बेलाबेला छुटिरहेका छन्, हाम्रो सरकारको पहल पुगेन कि ?”, विपिनका बुबा महानन्दले भन्नुभयो, “मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म सबैलाई भेटेर छोराको रिहाइका लागि अनुनय गरिसक्यौँ ।” उहाँले सबैबाट पहल गरिरहेका छौँ बाहेकको जवाफ नसकेको बताउनुभयो ।

“जसरी हुन्छ सरकारले छोरोको रिहाइलाई पहल गरिदिनुपर्यो”, जोशीले भन्नुभयो, “सरकारले कतारसँग कूटनीतिक पहल गरिदिए छोराको रिहाइ हुन्थ्यो कि ।” गत कात्तिकमा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेटेका जोशी परिवारले छोराको रिहाइका लागि आग्रह गरिसकेका छन् । कतारका राजा आमिर तमिमबिन हमाद अल थानी नेपाल भ्रमणमा आउनुअघि पनि विपिनका परिवारले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिने आग्रह गरेका थिए ।

“जसले बढी पहल ग¥यो उसले पनि त्यही देशका नागरिक पहिला रिहा गर्ने हो”, बुबा महानन्दले भन्नुभयो, “नेपाल सरकारले कतारसँगै बढी पहल गर्नुपर्छ ।” गत सोमबार मात्र विपिनका परिवार र आफन्तले विपिनकोे तस्बिर सामाजिक सञ्जालमा राख्दै जन्मदिनको शुभकामना दिँदै सकुशल रिहाइका लागि अनुनय गरेका छन् । परिवारका सदस्यले सरकारको तर्फबाट कूटनीतिक पहल हुन नसकेको भन्दै विपिनको रिहाइका लागि सरकारसँग आग्रह गरेका छन् ।

“अहिले पनि विपिन सकुशल फर्केर आउनेमा पूरा विश्वास छ”, विपिनका दाजु किशोर जोशीले भन्नुभयो, “सरकारले पहल गरिदियो भने चाँडै आउने थियो, तर सरकारको पहल पुगेन कि भन्ने महसुस भएको छ ।” उहाँले अन्य मुलुकले आफ्ना देशका नागरिकलाई रिहाइ गरिसक्दा नेपालले एकजना नागरिकसमेत रिहा गर्न नसकेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “हामीले भेट्न बाँकी मन्त्री, प्रधानमन्त्री कोही छैन सबैले प्रयास भइरहेको छ भन्नुहुन्छ । युद्धविराम हँुदा अन्य देशका नागरिक छुट्दैछन् हाम्रोचाहिँ पहल नै पुगेनजस्तो लागेको छ ।” केही दिनअघि इजरायल र हमासबीच युद्धविराम हुने खबर आएपछि विपिनको परिवार उनको रिहा हुने आशामा थियो । तर हमासले रिहा गर्ने ३४ जनाको लिष्टमा विपिनमा नाम समावेश नभएको खबर पाएपछि परिवार विरक्त छ ।

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, २६ पुसः नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।

ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने निर्देशनमा उल्लेख छ । त्यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रूपमा सम्पुष्टि गरिने विधिसमेत तय गरको हुनुपर्ने व्यवस्था छ ।

विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरूपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ । यस्तै आगामी माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।

आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर

काठमाडौँ, २६ पुसः अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

मेसिनरी सामान खरिदसम्बन्धी उजुरीमाथि आयोगको कार्यालय कञ्चनपुरमा छानबिन भइरहेको बेला सापकोटा अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा रू एक लाख बराबरको घुस रकम फेलापरेको थियो । अनुसन्धान अधिकृतले सोधपुछ गर्दा मुद्दा मिलाइदिनका लागि स्वेच्छाले नै रकम ल्याएको भन्ने बयान सापकोटाले दिएका थिए ।

आयोगले बिहीबार सापकोटाविरूद्ध रू एक लाख बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने

गण्डकी, २६ पुसः पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उहाँ कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको थियो । उहाँसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, मीना गुरूङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङलाई रू पाँच लाख र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताउनुभयो ।

अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ

काठमाडौँ, २६ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ । युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ ।

विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रूपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५० रूपैयाँ ८८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ २९ पैसा र बिक्रीदर १२ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रूपैयाँ ४३ पैसा र बिक्रीदर चार सय ४६ रूपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ६५ रूपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रूपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ ५८ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ, २५ पुस : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर छायाङ्कन गर्न निम्तो दिनुभएको छ । ठमेलस्थित एक चलचित्र भवनमा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ को उदघाटन गर्दै उपमहासचिव पुनले नेपालमा छायाङ्कन गर्न आउने चिनियाँ चलचित्रकर्मीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “चीन जस्तो ठूलो चलचित्र उद्योगबाट चलचित्रकर्मी यहाँ आउनुभएमा हाम्रो चलचित्रको स्तर पनि बढ्ने छ । सह निर्माण, कथा आदानप्रदान र प्राविधिक साझेदारीले हामीलाई अन्तर्राष्ट्रियबजारमा अझैँ बलियोसँग प्रस्तुत गर्न सक्छ । यस्ता महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नगरी नयाँ सम्भावनाको खोजीको रुपमा उपयोग गर्न सक्नुपर्छ ।”

उपमहासचिव पुनले चीनसँग कूटनीतिक र व्यापारिकसँगै सांस्कृतिक तथा कलाको सम्बन्धलाई बढाउन यस्ता महोत्सव र गतिविधिले निरन्तरता पाउनु पर्नेमा उहाँले जोड दिनुभयो । काठमाडौँमा पहिलोपटक आयोजना गरिएको ‘चीन चलचित्र दिवस’ मा चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङ, अभिनेत्री यु हङ, वितरक कम्पनि टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङसहित १४ चलचित्रकर्मी सहभागी थिए ।

चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले सुन्दरसहर काठमाडौँ आउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो वर्ष दुई देशको कूटनीतिक सम्बन्धको ६०औँ वर्ष पुगेको सन्दर्भमा चीन चलचित्र दिवस मनाइनु र चलचित्र देखाइनु सुखद् पक्ष हो । हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु ।”

यहाँस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले पहिलोपटक मनाउन लागेको ‘चीन चलचित्र दिवस’ले नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दुई देशका चलचित्रकर्मीलाई जोड्ने काम यो महोत्सवले गरेको छ । चीन विश्वकै चलचित्रका लागि ठूलो बजार मानिन्छ, अब नेपालले त्यहाँ आफ्नो उपस्थिति जनाउनुपर्छ । हामीले आज नेपालमा समेत छायाङ्कन गरिएको चलचित्र प्रदर्शन गरेका छौँ, जहाँ सुन्दर नेपालको सुन्दरता देखिएको छ । हामी यहाँको पर्यटन प्रवद्र्धन गर्न पनि तत्पर छौँ ।”

पहिलोपटक नेपाल आउनुभएकी विश्व प्रसिद्ध अभिनेत्री यु हङले नेपालको सत्कार र आतिथ्यता निकै मन परेको बताउनुभयो । “म यहाँको सत्कारले निकै खुसी छु । हामीले हाम्रो चलचित्र देखाउन पाउँदा र नयाँ दर्शकसँग साक्षत्कार गर्न पाउँदा केही सिक्ने विश्वास लिएकी छुँ”, उहाँले भन्नुभयो ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनाको ढोका यस कार्यक्रमले खोलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भारतीय चलचित्रले पनि चीनको बजारबाट मनग्य फाइदा लिएको छ । हामीले त्यहाँ केही चलचित्रलाई पु¥याउन सकेमा नयाँ युगको सुरुआत हुनेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।”

कार्यक्रममा अभिनेता नीर शाह, निर्देशक नवल नेपाल, दीपेन्द्र गौचन, कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ लगायत उपस्थित हुनुहुन्थ्यो ।

ऊर्जा विकास मार्गचित्र सार्वजनिक, दश वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य

काठमाडौँ, २५ पुसः सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ऊर्जा विकास मार्गचित्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त मार्गचित्र स्वीकृत गरेको हो ।

मार्गचित्रबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मार्गचित्रमा निर्धारण गरिएका लक्ष्य हासिल गर्न सम्भवन भएको उल्लेख गर्दै “विगतमा जलविद्युत् केन्द्र निर्माण हुने स्थानसम्म पुग्न सडक थिएन, सडक र पुल निर्माण गर्न वषौँ लाग्थ्यो, हाल हरेक क्षेत्रमा मोटरबाटोलगायत पूर्वाधार निर्माण भएका छन्, अत्याधुनिक प्रविधिको प्रयोगबाट आयोजना चाँडै निर्माण गर्न सकिन्छ”, भन्नुभयो । 

मन्त्री खड्काले आयोजना निर्माणका क्रममा उत्पन्न हुने समस्या समयमै सरकारले समाधान गर्ने बताउँदै १० वर्षमा हामीले गर्न सक्ने लगानी र छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त हुने लगानीबारे छलफल गरिने बताउनुभयो । “स्रोतमाथिको अधिकार सबैलाई बराबर हुनुपर्छ, सरकार गरिब तथा विपन्न वर्गलाई धनी बनाउन चाहन्छ”, भन्नुभयो । ऊर्जाको बजार सुनिश्चित भएकाले पर्याप्त लाभ प्राप्त हुने यो क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो ।

ऊर्जा सचिव सुरेश आचार्यले विद्युत् उत्पादनसँग सम्बद्ध सबै क्षेत्रसँग सहकार्य गरेर ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य मार्गचित्रमा निर्धाण गरिएको छ । यो लक्ष्यलाई पूरा गर्न सबैैको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमार्फत समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभयो । उहाँले ऊर्जा उत्पादनसम्बन्धी ऐन, कानुनमा सुधार अपरिहार्य भएकामा जोड दिनुभयो । 

मार्गचित्रमा एक सय ३२ किलोभोल्टको छ हजार चार सय ३१ सर्किट किलोमिटर, दुई सय २० केभीका चार हजार ६१ सर्किट किलोमिटर र चार सय केभीका छ हजार चार सय ४० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरी सबस्टेशनको क्षमता ४० हजार एमभिए पु¥याउने लक्ष्य निर्धारण गरिएको छ । 

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची, २५ पुस : यहाँस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न गरेको छ ।

भूमिकास्थान नगरपालिका–६ खिल्जीको बेल्बोटमा भएको नागरिक सुनुवाई कार्यक्रममा असुरकोट, खिल्जी र नुवाकोटका जनप्रतिनिधि, स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम यसअघि छत्रदेव गाउँपालिका, शितगङ्गा नगरपालिका, मालारानी गाउँपालिकालगायतका स्थानमा सम्पन्न गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौँ, २५ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले राससलाई बताउनुभयो ।   भेटका अवसरमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  सहभागी हुनुहुन्थ्यो । 

सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० लाख डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले आगामी छ महिनामा सिरियाभरका ११ लाख मानिसलाई सहयोग गर्ने लक्ष्यका साथ सिरियाका लागि गत महिना सुरु गरिएको तीन करोड डलरबाट सात करोड ३२ लाख डलरको अपिल दोब्बरभन्दा बढी भएको बताएको छ । 

“राष्ट्र लगभग १४ वर्षको सङ्घर्षबाट पार पाउँदै गर्दा आइओएम सिरियाका जनतालाई यस ऐतिहासिक क्षणमा सहयोग गर्न प्रतिबद्ध छ”, आइओएमका प्रमुख एमी पोपले एक विज्ञप्तिमा भन्नुभयो, “सिरियाको राम्रो भविष्य निर्माण गर्न हामी सबै साझेदारहरूसँग मिलेर काम गर्दा आइओएमले देशभरका कमजोर समुदायहरूलाई सहयोग गर्न मानवीय सहायता र पुनप्र्राप्तिमा हाम्रो गहिरो अनुभव ल्याउनेछ ।” 

जेनेभास्थित एजेन्सीले सन् २०२० मा दमास्कसबाट बाहिरिएपछि सिरियाभित्र आफ्नो उपस्थिति पुनः स्थापित गर्न काम गरिरहेको जनाएको छ । यो विगत दुई दशकमा त्यहाँ काम गरेको अनुभव र उत्तर–पश्चिम सिरियामा सहायता पु¥याउन विगत दशकमा गरेको सीमा–पार गतिविधिहरूमा आधारित छ ।

एजेन्सीले ‘सिरियाभर विस्थापित र फर्केका समूहहरूसहित सबैभन्दा जोखिममा रहेका र कमजोर समुदायहरूलाई तत्काल सहायता प्रदान गर्ने’ लक्ष्य राखेको बताएको छ । 

अनुरोध गरिएको रकम आवश्यक राहत सामग्री र नगद, आश्रय, सुरक्षा सहायता, पानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य सेवाहरू प्रदान गर्न प्रयोग गरिने बताइएको छ । 

यी रकमहरू विस्थापित वा स्थानान्तरणको तयारीमा रहेका सहित चलायमान व्यक्तिहरूलाई पुनप्र्राप्ति सहयोग प्रदान गर्न पनि जानेछन् ।

दशकौँको तानाशाहीपछि गत महिना शक्तिशाली बशर अल–असदको आकस्मिक निष्कासनपछि सिरियामा भएको नाटकीय राजनीतिक उथलपुथलले जनताको ठूलो आन्दोलनलाई उत्प्रेरित गरेको छ । 

लगभग १४ वर्षको गृहयुद्धका क्रममा सिरियाको आधा जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका थिए, लाखौँ मानिस देशबाट भागेका थिए र थप लाखौँ आन्तरिक रूपमा विस्थापित भएका थिए । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले यस वर्षको पहिलो छ महिनामा करिब १० लाख मानिस देशमा फर्कने अपेक्षा गरेको छ ।

साथै सन् २०२४ को अन्त्यसम्ममा संयुक्त राष्ट्र मानवीय एजेन्सीले सिरियाभित्र आन्तरिक रूपमा विस्थापित भएका करिब पाँच लाख मानिसको फिर्ती रेकर्ड गरिसकेको आइओएमले औँल्याएको छ ।

तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन

दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३ः०० बजेसम्म कूल एक हजार २११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।

भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ ।

क्षेत्रीय भूकम्प ब्यूरोका अनुसार ६.८ म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ ।

मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

महेन्द्रनगर (धनुषा), २५ पुस : मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

मधेस प्रदेशसभाको आजको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाले विधेयक प्रस्तुत गर्नुभएको थियो । मन्त्री मियाले विधेयकका विभिन्न पक्षहरूको चर्चा गर्दै यसले मधेसको पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने र पर्यटकीयस्थलको प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो ।

विधेयकमा मधेस प्रदेशको पर्यटकीयस्थललाई विश्वसामु प्रस्तुत गर्न र स्थायीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने रणनीति समावेश गरिएको उहाँको भनाइ छ । यसका साथै पर्यटनका लागि नयाँ संरचनात्मक ढाँचा निर्माण, मार्गदर्शन नियमावलीको निर्माण र प्रचारप्रसार कार्यक्रम राखिएको छ ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले, “प्रदेश बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभएको थियो ।” यस विधेयकको उद्देश्य प्रदेशको कृषि क्षेत्रलाई थप समृद्ध बनाउन र कृषकको उत्पादन क्षमता वृद्धि गर्ने रहेको उहाँको भनाइ थियो । मधेस प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ

लेखनाथ (कास्की), २५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

युनाइटेड क्लब पोखराद्वारा आयोजित १३औँ संस्करणको पोखरा महोत्सवको आज पोखराको अमरसिंह चौरमा उद्घाटन गर्दै मन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले सुशासन र राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको उल्लेख गर्नुभयो । देशको अर्थतन्त्र सुधार गरेर जनतालाई विकासको अनुभूति दिन सरकार प्रयासरत रहेको उहाँको भनाइ थियो ।

पर्यटकीय राजधानी पोखरामा पर्यटन पूर्वाधारसहित विकास निर्माणका काम गर्न जरुरी भएको मन्त्री गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय राजधानीको रुपमा आवश्यक पर्ने पूर्वाधार निर्माणमा स्थनीय र प्रदेश सरकारको ध्यान जान जरुरी छ ।”

गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएकै कारण यहाँ पर्यटनको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न जरुरी भएको बताउनुभयो । पोखराको फेवाताल संरक्षणमा विशेष ध्यान दिन जोड दिँदै उहाँले यहाँका तालहरुको संरक्षण गर्न आवश्यक बजेट विनियोजन गर्न जरुरी भएको बताउनुभयो ।

पोखराको ट्राफिक जामलाई कम गर्न समयमै पोखरामा भित्री चक्रपथ निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि काम अगाडि बढाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिनुभयो । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, आइटी पार्क, सभाहललगायत पूर्वाधार बनाउनुपर्ने उहाँले बताउनुभयो ।

सांसद मनबहादुर गुरुङले गण्डकी प्रदेशलाई पर्यटकीय तथा सांस्कृतिक रुपमा विकस गर्दै यहाँको कला संस्कृति विश्वमा प्रवद्र्धन गर्न जरुरी भएको बताउनुभयो । ‘पर्यटकीय राजधानी भएकाको कला संस्कृतिको विकासमा पनि ध्यान दिन जरुरी छ, उहाँले भन्नुभयो ।

सासंद दामोदर पौडेलले स्थानीय उत्पादनलाई बिक्री र प्रवर्द्धन गर्न गरिएका यस्ता महोत्सवबाट अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । गण्डकी प्रदेशलाई कृषि र पर्यटनको रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । बाह्र दिनसम्म चल्ने उक्त महोत्सवमा दुई सय ५८ कक्ष रहेका छन् ।

हराएका ३३ दुई पाङग्रे सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ, २५ पुस : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका ३३ दुई पाङग्रे सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ मोटरसाइकल र आठ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो । हराएका ती सवारीसाधन काठमाडौँको गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाँटार, धर्मस्थली, नयाँबसपार्क, बौद्धलगायत स्थानबाट ट्राफिक प्रहरीले फेला पारेको हो । 

ट्राफिक प्रहरीले चालु आवको हालसम्ममा काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २८ दुई पाङ्ग्रे सवारीसाधनसहित सो कार्यमा संलग्न ४० जनालाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । 

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/८० मा चार यस ९९ र आव २०८०/८१ मा चार सय १७ दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न तथा सर्वसाधारणको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गर्नुभयो । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको हटलाइन १०० मा फोन गर्न र नजिकको प्रहरी चौकीमा निवेदन दिन सकिने छ ।

‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’

काठमाडौँ, २५ पुस : प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ ।

विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको हो । विभागका हानिर्देशक नारायणप्रसाद ढकालले विभागको स्वीकृतिविना आयात भएका यस प्रकारका औषधिको सुरक्षा, गुणस्तरीयता र मूल्य सार्थकता एकिन नहुने हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम सृजना भएको बताउनुभयो ।

विभागमा दर्ता भएका औषधिसँगको सक्रिय तत्व र ‘ब्रान्ड’सँग दुरुश्त मिल्दोजुल्दो हुने र देखिने गरी न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशोधनका नाममा विभागमा दर्ता नै नगरी आयात गरी औषधि पसलमार्फत उपलब्ध गराउँदा चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामीमा भ्रम सृजना भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

फर्माको पियामा (औषधीको आधिकारिक विवरण भएको पुस्तिका) मा उल्लेख भएका र उपचारमा प्रयोग हुने भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल वनावट (ट्याब्लेट, क्याप्सुल, झोलहरु) का औषधि न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित मलहम, क्रिमहरु, सौन्दर्य प्रशाधन सामग्रीका नाममा आयात गरी बिक्री वितरण भइरहेको गुनासो आएकामा बजार अनुगमन तथा निरीक्षण गर्दा विभागमा दर्ता नभएका ती औषधि चिकित्सकको सिफारिसमा पूर्जामार्फत औषधि पसलबाट बिक्री वितरण भइरहेको पाइएको सूचनामा उल्लेख छ ।

सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरु निरीक्षणको क्रममा बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार जफत तथा औषधि ऐन, २०३५ बमोजिम कारबाही गरिने विभागले जनाएको छ । औषधि ऐन, २०३५ र सो अन्तर्गत बनेका नियमावली अनुसार औषधि बिक्री वितरण गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८ (क) बमोजिम विभागमा दर्ता रहेको औषधि मात्र बिक्री–वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

ढुक्क भएर लगानी गर्न उद्योगमन्त्री भण्डारीको आग्रह

चितवन, २५ पुसः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ ।

आजदेखि यहाँ सुरु भएको १५औँ चितवन महोत्सवको उद्घाटन गर्दै उहाँले कानुनमा रहेका समस्या समाधान गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले लगानी भित्र्याउन आवश्यक वातावरण बनाएको छ । ढुक्क भएर लगानी गर्दा हुन्छ ।” विगतमा लगानी सम्मेलन भए पनि अपेक्षाकृत लगानी भित्र्याउन नसकिएको बताउँदै उहाँले आगामी लगानी सम्मेलनबाट उपलब्धि हासिल हुनसक्ने बताउनुभयो । नीतिगत समस्या समाधान गरी अघि बढ्न सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।  

उहाँले विभिन्न समयमा हुने यस्ता मेला महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्योगीको हकहितका लागि काम गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकारले सहुलियतमा ऋण प्रदान गर्न बजेटबाटसमेत सम्बोधन गरेको छ ।”

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर गरिएका हरेक कार्यक्रम प्रभावकारी हुने गरेको उल्लेख गर्दै यस्ता मेला महोत्सवले जिल्लाको मात्रै नभएर समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । 

महोत्सव उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिनुभयो ।  महोत्सवमा चार सय ३० वटा प्रदर्शनी कक्ष राखिएका छन् । महोत्सवमा चीनको छुट्टै प्रदर्शनी कक्ष रहेको छ ।

श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट

काठमाडौँ, २५ पुस : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको उक्त भेटमा दुईदेशबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिनुभयो ।

उक्त भेटवार्तामा इपिएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने र सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधिबारे छलफल भएको थियो । 

त्यसैगरी इपिएस उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, शिप बिल्डिङलगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरेका कामदारलाई छिटो, सरल र सहज ढङ्गबाट पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको छ । 

मन्त्री भण्डारीले सीप विकासमा कोरिया सरकारले सहयोग गर्न आग्रह गर्नुभएको थियो । राजदूत योङले नेपाली कामदारहरुको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेकोसमेत बताउनुभयो  ।

आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने सम्भावना भएकाले दुवै पक्षले सीप विकासमा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २५ पुसः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैसाखी नटेकी आफँै दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गर्नुभयो । अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ  अगाडि बढ्न प्रेरित गर्दै सफलताको कामना गर्नुभयो ।

मुलुकको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र स्थापना पहिले गङ्गालाल श्रेष्ठले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन बनाउनुुभएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष ओलीले त्यही बिउ छरेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर भएको बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी चुप लागेर बस्दैनौँ । म साथीहरुलाई राम्रो काममा ‘एग्रेसिभ्ली’ लाग्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग सम्बन्धित पुस्तक पनि विमोचन गर्नुभयो ।

एमालेका महासचिव शङ्कर पोखरेलले भविष्यका कर्णधार विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुनसक्ने बताउनुभयो । 

अनेरास्ववियुका पूर्वअध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरुको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरुमा स्ववियु निर्वाचन हुँदैछ ।

डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो

काठमाडौँ, २५ पुसः सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ ।

समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम रु दुई सय ८० तोकिएकामा आजका लागि रु तीन सय ३० तोकिएको छ । साथै घिउ सिमीको मूल्य आज प्रतिकेजी रु २५ ले घटेर रु ५० कायम भएको छ ।

आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु १००, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली तराई प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३५, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ९०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ९०, सजिवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०,नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु ९०, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १६०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी रु १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ३३० तोकेको छ ।

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

ढोरपाटन (बागलुङ), २५ पुसः काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उहाँको भनाइ छ ।

यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उहाँले जानकारील दिनुभयो । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउनुहुन्छ । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “काठेखोला–६ मा सुन्तला उत्पादन राम्रो छ, वडा–४ र ७ को केही क्षेत्रमा पनि सुन्तलाखेती भइरहेको छ, किसानलाई प्रोत्साहनका लागि समय–समयमा तालिम दिने गरेका छौँ, ढुसीजन्य रोगबाट बचाउन नीलोतुथोदेखि प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएका छौँ ।” उहाँले यस वर्ष पनि सुन्तलाखेतीको क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका विरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला–६ का किसान लोकनाथ कँडेलले यस वर्ष रु १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै रु एक लाखको बिक्री गर्न बाँकी रहेको बताउनुभयो । आफ्नो बगैँचामा तीन सय बोट सुन्तला रहेको र यस वर्ष दुई सय १० बोटले फल दिएको उहाँको भनाइ छ ।

“हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ”, कँडेलले भन्नुभयो, “मेरो बगैँचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तलाखेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।”

किसान देवीलाल कँडेलले अघिल्लो वर्ष रु तीन लाखको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले रु चार लाखभन्दा बढीमा बिक्री भएको बताउनुभयो । व्यापारी बगैँचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उहाँको भनाइ छ ।

जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा

काठमाडौँ, २५ पुसः जय ट्रफी मेन्स एलिट कपअन्तर्गत बुधबारदेखि सुरु दुई छुट्टाछुट्टै खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बलियो अवस्थामा देखिएका छन् । पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ भने मधेस प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ ।

जारी प्रतियोगिताको तेस्रो खेलमा मधेस प्रदेशले पहिले ब्याटिङ गर्दै ४२ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । उसका लागि मयन यादवले सर्वाधिक ५९ रनको पारी खेले भने अभिशेख तिवारीले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

मधेसलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि गुलशन झाले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट लिए । साथै श्रवण यादव र ललित राजवंशीले एक/एक विकेट लिए ।

जवाफमा नेपाल पुलिस क्लबले पहिलो दिनको खेल सकिँदासम्म ४० ओभरमा तीन विकेटको क्षतिमा एक सय ७४ रनको योगफल तयार पारेको छ । उसका लागि ओपनरद्वय कुशल भुर्तेल र दिलिप नाथले क्रमशः ६३ र ४० रनको योगदान दिए । साथै गुलशन झाले २० रन बनाए । अमित श्रेष्ठ पहिलो दिन ३४ रनमा अविजित छन् । मधेसका लागि हरिशङ्कर साहले दुई र अभिशेख तिवारीले एक विकेट लिए । पुलिसले हिजोको खेललाई आज पनि निरन्तरता दिनेछ ।

साथै बुधबारनै सुरु प्रतियोगिताको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले पूरै ६० ओभर खेलेको छ । पहिलो पारीमा ६० ओभर खेलेपछि पारी समाप्त हुने प्रतियोगिताको नियम छ । आर्मीले पहिलो दिन ६० ओभर खेल्ने क्रममा पाँच विकेटको क्षतिमा दुई सय ७६ रनको बलियो योगफल तयार पारेको छ ।

आर्मीका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । उनीहरुले क्रमशः ७२ र ५३ रन बनाए । साथै तृतराज दासले ४४, भीम सार्कीले ३२ र कुशल मल्लले ३५ रनको योगदान दिए । बागमती प्रदेशका लागि विपीन आचार्यले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको बागमतीले पहिलो दिनको खेल सकिँदासम्म २२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय २४ रन बनाएको छ । बागमती आर्मीभन्दा अझै एक सय ५२ रनले पछाडि छ । उसका लागि शुभ कङ्शकारले ३४ रन बनाए भने उत्तम मगरले २८ र रित गौतमले २१ रन बनाए । दुवै खेल आज पनि जारी रहनेछन् ।

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्धः सञ्चारमन्त्री गुरुङ

लमजुङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्रको सुधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल जिल्ला कार्यसमितिको बेँसीसहर नगरपालिका–८ मा आयोजित ३४औँ प्याब्सन दिवस कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुभएको थियो । शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरे पनि उपलब्धि राम्रो नभएको र आगामी दिनमा शिक्षा व्यवस्थित गर्दै गुणस्तरीय, सीपमूलक, समयअनुसारको शिक्षा र विदेश पलायन भइरहेका युवालाई स्वदेशमै बस्न सक्नेगरी व्यवस्थित गर्नमा सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो । 

सरकारको प्रवक्तासमेत रहनुभएका गुरुङले सहकारी ऐनलाई व्यवस्थित बनाउन बनेको अध्यादेश जारी गरेर सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी कोष खडा गरेर सहकारीमा जम्मा गरेको बचत पाउने व्यवस्था गर्न हामी चाहन्छौँ ।” 

सरकारले अझै पुँजीगत खर्च सोचेजति बढाउन नसकेकाले अब पँुजीगत खर्च बढाउने र स्वदेशमा रोजगारीको सिर्जना गर्ने उहाँले बताउनुभयो । 

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याललगायतले शिक्षा क्षेत्रलाई सङ्घीय सरकारले व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए । 

त्यसैगरी आजै आयोजित समतामूलक समाज नेपालको स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्तरीय नेतृत्व विकास तथा सशक्तीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सङ्घीयताका कारण जनजाति, दलित समुदायहरुले विभिन्न अधिकार प्राप्त गर्न सफल भएको बताउनुभयो ।     उहाँले दलित समुदायको हकहितका लागि जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

    माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले  वक्तव्य जारी गरी यस दुःखको घडीमा आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनाताको साथमा रहेको उल्लेख गर्नुभएको छ ।

माओवादीले भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र  घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । माओवादीले भूकम्पमा परेका नागरिकको खोज तथा उद्धार र पुनःस्थापनाका प्रयासमा सफलता मिलोस् भनी शुभेच्छा व्यक्त गरेको छ ।

नेपालमा पनि भूकम्पको धक्का महसुस गरिए पनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै माओवादीले पराकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहन सबैमा आग्रह गरेको छ ।

‘औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरूरी’ :मन्त्री भण्डारी

काठमाडौँ-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरूरी रहेको बताउनुभएको छ ।

मन्त्रालयद्वारा आयोजित ‘उद्योग ४.०’ विषयक सरोकारवालाहरूसँगको अन्तरक्रियामा   उहाँले उद्योग ४.० लागू गरी कम लागतमा उत्पादन र उत्पादकत्व बढाउँदै नेपाली वस्तुहरूलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउनु आवश्यक भएको बताउनुभयो ।

“आधुनिक प्रविधिको उच्चतम प्रयोगले वातावरणको संरक्षण हुनाका साथै श्रम तथा लागत पनि न्यूनीकरण हुने भएकाले निजी क्षेत्रले यसमा जोड दिन जरुरी छ”, उहाँले भन्नुभयो, “नेपाल कम विकसित मुलुकबाट विकसिततर्फ उन्मुख भइरहेको परिप्रेक्ष्यमा औद्योगिक क्षेत्रको तीव्र विकास जरुरी छ, त्यसका लागि औद्योगिक विकासमा आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य छ ।”

आधुनिक प्रविधिको प्रयोगबाट हुने उत्पादन र उत्पादकत्व वृद्धिले नै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहज हुने मन्त्री भण्डारीको भनाइ थियो । 

औद्योगिक क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ड्रोन तथा रोवोटिक्स उद्योगलगायत उपलव्धिलाई ‘ उद्योग ४.०’ भन्ने गरिएको छ ।

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

गण्डकी, २५ पुसः पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् ।

आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।

प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।

थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

कञ्चनपुर, २५ पुसः एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो ।

उहाँका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।

मौसम : तराईका धेरै स्थानमा हुस्सु

काठमाडौँ, २५ पुस: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।

शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

एआई क्षेत्रमा लगानी गर्दै माइक्रोसफ्ट

अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले हाल बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गर्नुभयो ।

टेक दिग्गजले सन् २०३० सम्ममा भारतमा एक करोड मानिसलाई एआई सीपमा तालिम दिनेछ ।

माइक्रोसफ्टले देशका डाटा सेन्टर क्याम्पसमा आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्ने बताएको छ । माइक्रोसफ्टसँग पहिले नै बजारमा तीन डाटा केन्द्र क्षेत्रहरू छन् ।

यो लगानीले भारतको द्रुत रूपमा विस्तार भइरहेको एआई स्टार्ट–अप र अनुसन्धान को बढ्दो मागहरू पूरा गर्ने लक्ष्य राखेको छ, ”टेक विशालले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु

अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । बिरामी ६५ वर्ष भन्दा माथिको रहेको थियो ।

“लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपिएआइ) को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ,”लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । यो विरामी लुइसियानामा एच५एन१ को एक मात्र मानव केस हो ।

“विभागले बिरामीको परिवार र साथीहरूलाई आफ्नो प्रियजनको निधनमा शोक व्यक्त गर्दै गहिरो समवेदना प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ । चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहेका विज्ञप्तिमा उल्लेख भएको छ ।

लुइसियानाको स्वास्थ्य विभागले आफू र आफ्नो परिवारलाई एच५एन१ बाट जोगाउने उत्तम उपाय भनेको जोखिमको स्रोतबाट बच्नु हो । यसको अर्थ जङ्गली चराहरू र बर्ड फ्लू भाइरसबाट सङ्क्रमित जनावरहरूसँग प्रत्यक्ष सम्पर्कबाट जोगिनु हो ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडसिी) का अनुसार अमेरिकामा बर्ड फ्लुका कूल ६६ मानव केसहरू रिपोर्ट गरिएको छ ।

अमेरिकामा बर्डफ्लुका बिरामी देखिएका दश राज्यमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वाशिङटन, विस्कन्सिन र टेक्सास रहेका छन् ।

लुइसियानामा रिपोर्ट गरिएको केस अमेरिकामा एच५एन१ बर्ड फ्लूको पहिलो केस थियो ।

रक्षामा जिडिपीको ३ प्रतिशत खर्च ‘यथार्थपरक’ : चेक प्रधानमन्त्री

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई खर्च बढाउन आग्रह गरेको एक दिनपछि चेक प्रधानमन्त्री पेत्र फियालाले बुधबार रक्षा क्षेत्रमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को तीन प्रतिशत खर्च गर्ने लक्ष्य ‘यथार्थपरक’ भएको बताउनुभएको छ ।

उहाँले पत्रकारहरूलाई यस्तो खर्चको उचित स्तरबारे बहसका लागि आफू खुला रहेको बताउनुभयो ।

ट्रम्पले मङ्गलबार नेटो सदस्यहरूलाई रक्षा खर्चलाई जिडिपीको पाँच प्रतिशतसम्म बढाउन दबाब दिनुभयो र उनीहरूले अमेरिकी सुरक्षाका लागि कम भुक्तानी गरिरहेका छन् भन्ने लामो समयदेखि रहेको दाबीलाई जोड दिनुभयो । 

गठबन्धनका ३२ सदस्यमध्ये अधिकांशले सन् २०२४ मा जिडिपीको दुई प्रतिशतको लक्ष्य हासिल गर्ने लक्ष्य राखेका छन्, तर इटाली र स्पेन लगायत केहीले अझै पनि सङ्घर्ष गरिरहेका छन् । 

चेक रक्षा मन्त्रालयले यस हप्ताको सुरुमा एक करोड नौ लाख जनसङ्ख्या भएको युरोपेली सङ्घ (इयु) र नाटो सदस्यले गत वर्षको लक्ष्य पूरा गरेको बतायो । यद्यपि सम्बन्धित तथ्याङ्कहरू अझै प्रकाशित भएको छैन ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि प्रागले रक्षा खर्च बढाएको थियो । चेकले किएभमा पठाइएको पुरानो उपकरणहरू प्रतिस्थापन गर्न खोजिरहेको छ । 

“केही वर्षमा तीन प्रतिशतको कुरा गर्नु यथार्थपरक छ”, वृद्धि क्रमिक हुने भन्दै चेक प्रधानमन्त्री फियालाले पत्रकारहरूलाई भन्नुभयो, “सही स्तर खोजौँ... हामी बहसका लागि खुला छौँ ।”

– ट्रम्पको शङ्का –

चेक रक्षा मन्त्रालयले सोमबार प्रागले सन् २०२४ मा रक्षामा एक खर्ब ६६ अर्ब ८० करोड कोरूना (६ अर्ब ८० करोड डलर) खर्च गरेको बताएको छ । यो गत वर्षका लागि वित्त मन्त्रालयले आफ्नो पछिल्लो पूर्वानुमानमा प्रक्षेपण गरेको जिडिपीको २.०९ प्रतिशत हो । 

चेक संसद्ले सन् २०२३ मा एउटा कानून पारित गरी सन् २०२४ देखि न्यूनतम रक्षा खर्चलाई जिडिपीको दुई प्रतिशत बनाउने निर्णय गरेको थियो । 

दोस्रो विश्वयुद्धपछि युरोपको सुरक्षाको आधारशिला रहेको नाटोप्रति ट्रम्प लामो समयदेखि शङ्कालु रहनुभएको छ । गत महिना उहाँले सदस्यहरूले खर्च नबढाए गठबन्धन छोड्ने परिचित धम्की दोहो¥याउनुभएको थियो ।

रक्षा मन्त्रालयले सन् २०२२ देखि युक्रेनलाई सात अर्ब ३० करोड कोरुना (३० करोड डलर) मूल्य बराबरका हेलिकप्टर, ट्याङ्क, बख्तरबन्द गाडी, तोप, रकेट लन्चर, हतियार र गोलीगठ्ठा सहयोग गरेको छ ।

प्रागले युरोप बाहिर युक्रेनका लागि गोला बारुद खरिद गर्ने अभियानको पनि नेतृत्व गरिरहेको छ र सन् २०२४ मा किएभमा पाँच लाख तोपका गोला पठाउन खोजिरहेको छ । 

“युद्ध सुरु भएदेखि नै चेक गणतन्त्रले (युक्रेनलाई) तीन अर्ब डलरभन्दा बढी मूल्यको सैन्य सामग्री आपूर्ति, समन्वय वा सङ्गठित गरेको छ”“ रक्षा मन्त्रालयका प्रवक्ता सिमोना सिगानकोभाले भन्नुभयो । यद्यपि उहाँले गोलीगठ्ठा पहलबारे टिप्पणी गर्न अस्वीकार गर्नुभयो । 

लस एन्जलसको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा हजारौँ पलायन

बुधबार आँधीको गतिको हावाले बढाएको तीन वटा नियन्त्रण बाहिरका जङ्गली डढेलोले दर्जनौँ घर नष्ट गर्दा लस एन्जलसको उपनगरीय क्षेत्रबाट दशौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् ।

अमेरिकी मिडियाका अनुसार उच्च वर्गीय प्यासिफिक पालिसेड्स छिमेकी क्षेत्र नजिकैको आगो निभाउने क्रममा कम्तीमा एक दमकलकर्मी घाइते भएका छन् र केही अन्य मानिस जलेको खबर आएको छ ।

भयानक हावाले आगोलाई फैलाउँदै रातो–तातो झिल्काहरूलाई सयौँ मिटर टाढासम्म उडाउँदै असहाय दमकलकर्मीहरूले निभाउन नसक्ने गरी नयाँ स्थानहरूमा आगो सल्किँदै गएको थियो ।

बिहान हुँदा लस एन्जलसमाथि धुवाँको विशाल पर्दा देखिन्थ्यो र हावामा जलेको तीखो गन्ध थियो ।

सहरका मेयर करेन बासले बुधबार बिहान एक्समा पोस्ट गर्दै चेतावनी दिनुभयो, “आँधी बिहानभर झन् खराब हुने अपेक्षा गरिएको छ ।”

लस एन्जलस टाइम्सका अनुसार पालिसेड्समा केही दमकलकर्मीले हाइड्रेन्टमा पानीको कमी सामना गरिरहेका छन् । त्यहाँको आगोले अहिलेसम्म लगभग तीन हजार एकड (१,२०० हेक्टर) भूमि जलाइसकेको छ ।

लस एन्जलसको उत्तरमा अल्टाडेना वरपर दुई हजार दुई सय एकडमा भएको इटोन आगलागीमा एएफपीका एक पत्रकारले आपत्कालीन कामदारहरूले वृद्ध बिरामीहरूलाई उनीहरूको हेरचाह सुविधाबाट ह्विलचेयरमा बाहिर निकाल्दै गरेको देखे ।

तेस्रो आगो सान्ता क्लारिटाको वरिपरि लागिरहेको थियो । प्यासिफिक पालिसेड्सको आगलागीले क्यालिफोर्नियाको सबैभन्दा मनपर्ने स्थानहरू मध्ये एकमा दर्जनौँ घर नष्ट गरिसकेको छ । त्यहाँ हलिउडका सेलिब्रेटीहरू करोडौँ डलरको घरमा बस्नेहरू मध्ये छन् । 

एमी पुरस्कार विजेता अभिनेता जेम्स वुड्सले आफ्नो घर खाली गर्न तयार हुँदै गर्दा आफ्नो घर नजिकैका रूख र झाडीहरूमा आगो लागेको भिडियो पोस्ट गर्नुभयो र सबै आगोका अलार्म बजिरहेको बताउनुभयो । 

“हाम्रो पहाडको प्यारो सानो घर यति लामो टिक्यो भन्ने मलाई विश्वास लाग्दैन । यो कुनै प्रियजनलाई गुमाए जस्तो महसुस भइरहेको छ”, उहाँले भन्नुभयो ।

मङ्गलबार साँझ जेनिफर लोपेजको नयाँ फिल्म ‘अनस्टपेबल’ को रेड–कार्पेट प्रिमियरसहित क्षेत्रभरका कार्यक्रमहरू रद्द गरियो भने स्क्रिन एक्टर्स गिल्ड अवार्डले बुधबारको व्यक्तिगत नामाङ्कन समारोहलाई प्रेस विज्ञप्तिले प्रतिस्थापन गर्ने बताएको छ । 

राष्ट्रपति जो बाइडेनले मङ्गलबार राति आफूलाई ‘डढेलो बारेमा बारम्बार जानकारी दिइरहेको’ र आवश्यक परेमा सङ्घीय सहयोगको प्रस्ताव गरेको बताउनुभयो । 

– कारमा दौडियौँ –

मङ्गलबार बिहान पहिलो डढेलो सुरु भयो र धेरै बासिन्दालाई चकित पार्दै यो द्रुत गतिमा बढेको थियो । 

प्यासिफिक पालिसेड्सका बासिन्दा एन्ड्र्यु हाइरेसले उहाँको बच्चा दन्त चिकित्सककहाँ दाँत निकाल्न जाँदै गर्दा आगोको चेतावनी दिने सन्देश प्राप्त भएको बताउनुभयो । “हामीले मास्क निकाल्यौँ र कारमा दौडियौँ”, उहाँले भन्नुभयो ।

गेट्टी भिल्ला वरपरका रुख र वनस्पतिहरू जलेको तर संरचना र सङ्ग्रहहरू बचेको सङ्ग्रहालयले बतायो । 

अमेरिकी तेल अर्बपति तथा सङ्ग्रहकर्ता जे. पल गेट्टीले स्थापना गरेको र विश्वका सबैभन्दा धनी कला सङ्ग्रहालयहरू मध्येको एक गेट्टीले रोमन देहाती घरको प्रतिकृतिमा ग्रिक र रोमन पुरातात्विक वस्तुहरू राख्छ ।

यस क्षेत्रमा मौसमी सान्ता एना हावाले प्रहार गरिरहेको बेला आगो लागेको थियो । पूर्वानुमानकर्ताहरूले यो प्रतिघन्टा एक सय ६० किलोमिटरसम्मको वेगका साथ एक दशकमा सबैभन्दा खराब आँधीबेहरीमा परिणत हुनसक्ने बताएका थिए । 

“यो निकै चिन्ताजनक देखिन्छ”, मौसमविद् डेनियल स्वेनले भन्नुभयो ।

जङ्गलमा लागेको डढेलो अमेरिकाको पश्चिममा जीवनको हिस्सा हो र यसले प्रकृतिमा महत्त्वपूर्ण भूमिका खेल्छ । 

तर वैज्ञानिकहरूका अनुसार मानव–निर्मित जलवायु परिवर्तनले मौसम ढाँचाहरूलाई परिवर्तन गरिरहेको छ ।

भारतमा ‘इसरो’को नयाँ प्रमुखको नियुक्ति

भारतको सङ्घीय सरकारले वी नारायणनलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को नयाँ प्रमुख र अन्तरिक्ष विभागको सचिवको रूपमा नियुक्त गरेको छ ।

सरकारी आदेश अनुसार, नारायणनले जनवरी १४ मा पदभार ग्रहण गर्नेछन् । उहाँ वर्तमान इसरो अध्यक्ष एस सोमनाथको उत्तराधिकारी हुनेछन् ।

एक प्रतिष्ठित इसरो वैज्ञानिक नारायणन हाल लिक्विड प्रोपल्सन सिस्टम्स सेन्टरका निर्देशकको रूपमा सेवा गर्नुहुन्छ ।
भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले नारायणन स्पेसक्राफ्ट प्रोपल्सन विशेषज्ञ रहेको बताउनुभयो । उहाँ सन् १९८४ मा इसरोमा सामेल भएका थिए ।

कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा

बनियानी (झापा)-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको नभई देशको चिन्ता रहेको बताउनुभएको छ ।

कांग्रेसको ‘कचनकवल–सगरमाथा जागरण अभियान–सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ कार्यक्रमको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट हाम्रा हिमाल, हिमनदीहरु, जीवजन्तुको रक्षा कसरी गर्ने ? मुलुककै पुरानो पार्टीको हैसियतले नेपाली कांग्रेसले यी–यावत विषयमा चिन्ता गरिरहेको छ ।”

महामन्त्री शर्माले मुलुकमा रहेको विभेद, विकृति–विसङ्गतिविरुद्ध काम गर्नुपर्ने उल्लेख गर्नुभयो । संविधान संशोधनमा नागरिकको अपेक्षा बुझ्नुपर्ने उहाँको भनाइ थियो । “गाउँ–गाउँमा आमनागरिकको अपेक्षा के छ, पार्टीहरुको अपेक्षा के छ, त्यसलाई बुझ्नुपर्छ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषय उठान गरेर मात्र नहुने संशोधनको मूल विषय पहिचान गरी नागरिकको पक्षमा संशोधन हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाली कांग्रेस कोसी प्रदेश सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्म आङ्देम्बेलगायतले मन्तव्य राख्नुभएको थियो ।

मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किमि कालोपत्र

गण्डकी, २५ पुसः राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।

लमजुङसँगको सिमानामा पर्ने कास्कीको भैँसेदेखि रुदीखोलासम्म १६ किमि सडक भने पर्वतस्थित आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिनुभयो । याम्दीदेखि पर्वत हुँदै बागलुङको मालढुङ्गासम्मको सडक पनि कालोपत्र भई सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको उहाँले बताउनुभयो । मालढुङ्गादेखि बागलुङ सदरमुकामको उपल्लाचौरसम्मको पाँच किमि सडक चौडा र स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको प्रमुख आचार्यको भनाइ छ ।

उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २६ किमि सडकमध्ये १३ किमि कालोपत्र भइसकेको र १३ किमि कालोपत्र हुने चरणमा रहेको उहाँले बताउनुभयो । उक्त खण्डको काम लामो समयसम्म अलपत्र परेपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत काम काम सुरु गरिएको प्रमुख आचार्यले बताउनुभयो । “बयलडाँडादेखि घोडाबाँधेसम्मको कालोपत्र एक वर्षभित्र पूराना गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “उपल्लाचौरदेखि बयलडाँडासम्मको खण्डमा पनि पाँच किमि सडक कालोपत्र हुन बाँकी छ ।”

घोडाबाँधेदेखि रुकुमपूर्वको सीमाना पातीहाल्नेसम्मको ९९ सय किमि सडक भने कालोपत्र भइसकेको छ । घोडाबाँधेदेखि–हटियासम्म कालोपत्र गरिएको सडक जीर्ण भएपछि मर्मत सुधार गरिएको आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले जानकारी दिनुभयो । पश्चिमतर्फको खण्डमा पनि आयोजना कार्यालयमार्फत सडक मर्मतसम्भारको काम भइरहेको छ । निसीखोला गाउँपालिका हुँदै पातीहाल्ने जोड्ने सडकमध्ये १४ किमि सडक मात्र सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । अन्य खण्डमा भने निर्माण कम्पनीले योजना फरफराक समयमा नगरेका कारण हस्तान्तरण हुन बाँकी छ ।

सूचना अधिकारी सुवेदीले कास्की, पर्वत र बागलुङमा पर्ने लोकमार्गअन्तर्गतको सडक खण्ड स्तरोन्नति गरी दुई लेन कालोपत्र गरिने बताउनुभयो । सडक स्तरोन्नतिसँगै उक्त खण्डभित्र कास्कीको याम्दी खोला, पानीबिहाद, पर्वतको तमादी खोला, सुन्दरे खोला र बागलुङको काठेखोलामा गरी पाँच पुल निर्माणाधीन अवस्थामा रहेका छन् । पर्वतको मोदी र पाती खोलामा ठेक्का व्यवस्थापन भई डिजाइन स्वीकृतिको क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ ।

लोकमार्गअन्तर्गत कास्की, पर्वत र बागलुङमा सडक तथा पुल निर्माणका लागि चालु आवमा रु ७६ करोड ८० लाख विनियोजन भएकामा गत मङ्सिर मसान्तसम्म रु २० करोड ४० लाख ४८ हजार पाँच सय १२ खर्च भइसकेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । ठेक्कामार्फत सडक र पुलका गरी ११ वटा योजना सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

लोकमार्गअन्तर्गतकै हरिचोक–याम्दी खण्ड पनि कालोपत्रका लागि अहिले ‘प्लान्ट’ राख्ने काम भइरहेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । करिब २२ सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । आगामी माघभित्र सडक कालोपत्रको काम पूरा हुने जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन ।

समयमा काम नभएपछि आउँदो चैतसम्मलाई ठेक्काको म्याद थप गरिएको थियो । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड निर्माण नहुँदा लोकमार्गको यात्रामा असहजता थपिएको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ हुँदै आएको थियो । लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २५ पुसः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ सात पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर खाठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २६ पैसा र बिक्रीदर १२ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्री दर १९ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि

देउखुरी (दाङ), २५ पुसः लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।

दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ । भोलि बाँके—पाल्पा र नवलपरासी— रूपन्देहीबीच खेल हुनेछ ।

यसैगरी, पुस २७ गते दाङ र बाँके तथा रूपन्देही र बर्दियाबीच खेल हुने सचिव रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ ।

प्रतियोगितामा समूह ‘ए’ मा रूपन्देही, नवलपरासी र बर्दिया रहेका छन्भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रङ्गशालामा तयारी तीव्र पारिएको छ । क्रिकेट मैदानको ‘पिच’ मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ ।

क्यानको क्यालेन्डरअनुसार प्रदेश क्रिकेट सङ्घले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट सङ्घले गर्नेछ । प्रतियोगिताका लागि दाङ क्रिकेट सङ्घले केही दिनअघि सरस्वती जिएमको कप्तानीमा जिल्लाको टोली घोषणा गरेको थियो । छनोट प्रतियोगितापछि लुम्बिनी प्रदेशको टोली घोषणा हुनेछ ।

प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपिएफसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन् र अङ्क तालिकामा शीर्ष चारमा रहने टोली ‘प्ले अफ’ मा पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ । तेस्रो र चौथो हुने ‘एलिमिनेटर’ खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २५ पुसः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

“जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ”, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ । तथापि मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ ।

एचएमपिभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस्तै, बिरामीको नजिक÷सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

उद्योगमन्त्री भण्डारीसँग बिम्स्टेकका महासचिव पाण्डेको शिष्टाचार भेट

काठमाडौँ, २४ पुसः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले बिम्स्टेक क्षेत्रलाई दिगो विकास, आर्थिक एकीकरण र साझा समृद्धिको क्षेत्रमा रुपान्तरण गर्न बिम्स्टेक बडापत्रमा समाविष्ट उच्च आदर्श र उद्देश्यप्रति नेपाल दृढ रहेको बताउनुभएको थियो ।

मन्त्री भण्डारीको सचिवालयका अनुसार उहाँले सन् २००४ मा बिम्स्टेकको सदस्य भएदेखि नेपालले बिम्स्टेक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिको सर्वाङ्गीण लक्ष्य प्राप्त गर्न सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग र साझेदारी अभिवृद्धि गर्न सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो ।

सन् २००४ मा हस्ताक्षर भएको बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी फ्रेमवर्क सम्झौतालाई पूर्णरुप दिन र यसअन्तर्गतका विभिन्न पूरक सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने कार्यमा हालसम्म विभिन्न संयन्त्रको बैठकमा नेपाल निरन्तर सहभागी भएको उहाँले बताउनुभयो ।

भेटका क्रममा बिम्स्टेकका महासचिव पाण्डेले बिम्स्टेकसँग नेपालले राखेका अपेक्षा पूरा गर्न प्रयत्न गर्ने बताउनुभयो । उहाँले बिम्स्टेक राष्ट्रबीचको व्यावसायिक सम्बन्धसँगै आपसी भाइचारासमेत बढाउन आवश्यक रहेको बताउनुभयो ।

गीतकार अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ बजारमा

काठमाडौँ । नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको नयाँ गीत ‘बिनास्वादै’ बजारमा आएको छ। लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा कलम चलाउँदै आएका युवा गीतकार खनालको अर्को गीत ‘बिनास्वदै’ डिजिटल प्लेटफर्म रामचन्द्र चन्द मार्फत सार्बजनिक भएको हो ।

खनालले शब्द कोरेको गीतमा रामचन्द्र चन्दको संगीत र स्वर रहेको गीत गोविन्द अनेकले एरेन्ज गरेका हुन् । निर्देशक राज केसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दूर्गा प्रसाद खरेल, प्रकाश बास्कोटा, संगीता बास्कोटा, श्याम बास्कोटा लगाएतको अभिनय रहेको छ ।

गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’

काठमाडौं,पुस २४ । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक भएको छ । टेक विसी र अनु चौधरीको स्वर, भीम विसीको संगीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीलिप ओखेडा र अस्मिता जुरेलीलाई फिचरिङ गरिएको छ ।

महेश महरा र टिमको डिओपी रहेको भिडियोमा मीन रावलको सम्पादन र कलर छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रेम भावको गीत जति राम्रो छ भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।