`

विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि नेपाली टोली सिंगापुर प्रस्थान

Nepal One HD १० साउन २०८२ ८:००
खेलकुद

काठमाडौं। सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राति ११ः०० बजे सिंगापुर प्रस्थान गरेका छन्।

प्रतियोगितमा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन्। पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन्। महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन्।

व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की रहेका छन्। जुलाइ ११ देखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ। नेपालको खेल भने जुलाइ २७ तारिखदेखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जनाएका छन्।

जुलाइ २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले १ सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले २ सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २ सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ। जुलाइ ३० मा इर्भिनले १ सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले १ सय मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्। टोली अगष्ट ४ तारिखमा स्वदेश फर्किने छ।

टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए। सो अवसरमा सदस्य–सचिव घिसिङले खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न सुझाए।

अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीबाट कम्तीमा २ राष्ट्रिय कीर्तिमानको अपेक्षा गरेको बताउदै पौडीको विकास र विस्तारमा अभिभावकले पु¥याएको योगदानको प्रशंसा गरे। मुख्य प्रशिक्षक कार्कीले प्रतियोगिताले २० औं एसियाली खेलकुदको तयारीमा पनि मद्दत पुग्ने बताउदै खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *