`

जनचाहनाअनुसार नै संविधान संशोधन हुने उपप्रधानमन्त्री श्रेष्ठको प्रष्टोक्ति

काठमाडौँ, २४ पुस : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनचाहनाअनुसार नै संविधान संशोधन गरिने स्पष्ट पार्नुभएको छ । नेवा एकता दिवसका अवसरमा नेवाः देय्ः दबुले आज टोखामा आयोजना गरेको कार्यक्रममा उहाँले संविधानलाई थप सुदृढ बनाउन तथा जनतालाई थप अधिकार दिन संविधान संशोधन गरिने बताउनुभयो ।

जटिल राजनीतिक अवस्थामा पहिलो संविधानसभा विघटन भएर दोस्रो संविधानसभाबाट अहिलेको संविधान जारी भएको स्मरण गर्दै उहाँले संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वय नै अहिलेको आवश्यकता भएको बताउनुभयो । 

“विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ, संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “संविधानको रक्षा गर्दै संविधानप्रदत्त अधिकारको सदुपयोग गर्दै जानुपर्छ ।”

फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले कला संस्कृति संरक्षण गर्न नेवार समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । “भाषा, संस्कृति र पहिचान जोगाउन नेवाः देय् दबुले काम गरिररहेको छ,  यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्”, उहाँले भन्नुभयो ।

इरानका राष्ट्रपतिद्वारा सिरियाली भूभागबाट इजरायली सेना फिर्तीको आग्रह

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गर्नुभएको छ ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको तेहरान भ्रमणका क्रममा उहाँको यस्तो टिप्पणी आएको हो । भ्रमणका क्रममा व्यापार, सहयोग र सिरियाको हालैको घटनाक्रमबारे छलफल भएको थियो ।

“यहुदी शासनले कब्जा गरेको क्षेत्रहरूबाट फिर्ता लिनुपर्ने आवश्यकता र विशेष गरी शिया पवित्र स्थानहरू र तीर्थस्थलहरूको सम्बन्धमा धार्मिक भावनाहरूको सम्मान गर्ने महत्त्व चिन्ताको विषय थियो”, पेजेस्कियनले सुदानीसँगको ब्रिफिङमा भन्नुभयो ।

इरानी राष्ट्रपतिले सिरियामा ‘आतङ्कवादी सेलहरू पुनः सक्रिय हुने’ चेतावनी पनि दिनुभयो । सुन्नी इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा विद्रोही सेनाको तीव्र आक्रमणपछि राजधानी दमास्कस कब्जा गरेपछि असद सिरियाबाट भाग्नुभएको थियो ।

उहाँको पतनपछि इजरायलले सिरियाली सैन्य सुविधाहरूमा सयौँ हवाई आक्रमण गरेको छ । इजरायलले रणनीतिक हतियारहरू शत्रुहरूको हातमा पर्नबाट रोक्ने उद्देश्य राखेको बताएको छ ।

इजरायली सेनाले सिरियाली–नियन्त्रित क्षेत्र र इजरायली–संलग्न गोलान हाइटलाई छुट्याउने संयुक्त राष्ट्र–नियन्त्रित बफर जोनमा रणनीतिक स्थानहरू पनि कब्जा गरेको छ । गोलान हाइटलाई इजरायलले सन् १९६७ अरब–इजरायली युद्धमा सिरियाबाट कब्जा गरेको थियो र त्यसबेलादेखि कब्जा गर्दै आएको छ ।

इरानले सिरियामा इजरायलको भूमि कब्जालाई निन्दा गरेको छ र यसको फिर्तीको माग गरेको छ ।भ्रमणका क्रममा सुदानीले ‘सिरियाली जनताको इच्छाको सम्मान र बाह्य हस्तक्षेपबिना उनीहरूले आफैँ छनोट गर्ने कुनै पनि राजनीतिक वा संवैधानिक प्रणालीको समर्थन’ प्रति इराकको सम्मानलाई पुष्टि गर्नुभयो ।

उहाँले ‘सिरियाली जनताको इच्छालाई प्रतिबिम्बित गर्ने प्रणालीमा सहज शान्तिपूर्ण सङ्क्रमण हासिल गर्न सबै पक्षहरूसँग सहकार्य गर्न इराकको तत्परता’ को पनि उल्लेख गर्नुभयो ।

हेटौँडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग

बागमती, २४ पुस : मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई वटा उद्योग सञ्चालनमा आएको छ । योसँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या एक सय ४६ पुगेको औधोगिाक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

पछिल्लो पटक थ्री–स्टार ग्रुपले रङ्गीन तथा सादा कर्कट पाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाक्स उत्पादन गर्न सुरू गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका ११ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । अधिकांश उद्योगहरू निर्माणको अन्तिम चरणमा रहेको उहाँको भनाइ छ ।

यस्तै हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन वटा उद्योगमाथि कारबाही अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालि माथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाइएको हो ।

विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटकपटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताउनुभयो ।

अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

कूल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् ।

यस्तै औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायतको कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताउनुभयो ।

कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमीन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा रहेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्र हाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ

जर्मनीले ट्रम्पलाई भन्यो : सीमाहरू बलपूर्वक सार्न पाइँदैन

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्याण्ड कब्जा गर्न सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार नगर्नुभएपछि जर्मनीले बुधबार उहाँलाई सीमाहरू बलपूर्वक परिवर्तन गर्न नहुने बताएको छ ।

जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्राइटले संयुक्त राष्ट्रसङ्घको बडापत्र जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूलाई औँल्याउँदै ट्रम्पको टिप्पणीको जवाफमा भन्नुभयो, “जहिले पनि दृढ सिद्धान्त लागू हुन्छ… कि सीमाहरू बलपूर्वक सार्न पाइँदैन ।”

मङ्गलबारको एक पत्रकार सम्मेलनमा ट्रम्पले ग्रिनल्याण्ड र पनामा नहरको विषयमा सैन्य हस्तक्षेपको सम्भावनालाई अस्वीकार गर्नुभएन । ग्रिनल्यान्ड र पनामा नहरमाथि उहाँले संयुक्त राज्य अमेरिकाको नियन्त्रण चाहेको बताउनुभएको छ ।

ट्रम्पले संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकी क्यानाडासँगको सीमालाई ‘कृत्रिम रूपमा खिचिएको रेखा’ भन्नुभएको छ भने मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने वाचा गर्नुभएको छ ।

हेबेस्ट्राइटले नाटो सहयोगी डेनमार्क र क्यानाडाविरुद्ध ट्रम्पको धम्कीलाई जर्मन सरकारले गम्भीरतापूर्वक लिएको छ कि छैन भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गर्नुभयो ।

“म ती टिप्पणीहरूको मूल्याङ्कन गर्न चाहन्नँ”, उहाँले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले जर्मन सरकारले तिनीहरूलाई ‘नोट’ गरेको मात्र जोड दिनुभयो ।

रुसले सन् २०२४ मा आप्रवासी निष्कासन दोब्बर बनायो

रुसले सन् २०२४ मा ८० हजारभन्दा बढी आप्रवासीलाई निष्कासन गरेको छ । यो सन् २०२३ को तुलनामा लगभग दोब्बर हो । गत वर्षको क्रोकस सिटी हल आतङ्कवादी आक्रमणपछि रुसले आप्रवासन नीतिहरू कडा पारेको छ ।

मार्चमा भएको सम्मेलन केन्द्रमाथिको आक्रमणमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको थियो । उक्त आक्रमण कथित रूपमा ताजिक नागरिकहरूद्वारा गरिएको थियो र इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो ।

“अदालतको आदेशमा ८० हजारभन्दा बढी आप्रवासी र राज्यविहीन व्यक्तिहरूलाई रुसबाट निष्कासन गरिएको छ”, तास राज्य समाचार एजेन्सीले बेलिफ सेवाहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । तासका अनुसार सन् २०२३ मा निष्कासनको सङ्ख्या ४४ हजार दुई सय थियो ।

प्रतिवेदनले निष्कासित व्यक्तिहरूको राष्ट्रियता खुलाएको छैन तर रुसमा अधिकांश आप्रवासीहरू मध्य एसियाका पूर्व सोभियत गणराज्यका श्रमिकहरू हुन् ।निष्कासन आदेशको अर्थ सामान्यतया व्यक्तिलाई पाँच वर्षको अवधिका लागि रुस प्रवेश गर्न प्रतिबन्ध लगाइएको हुन्छ ।

क्रोकस आक्रमणपछि आप्रवासीहरू विरुद्धको छापा बढेको छ र अधिकारीहरूले आप्रवासी विरोधी बयानबाजीलाई कडा पारेका छन् । संसद्का अध्यक्ष व्याचेस्लाभ भोलोडिनले सेप्टेम्बरमा सांसदहरूले परिवार पुनर्मिलन रोक्न र केही कामबाट आप्रवासीहरूलाई प्रतिबन्ध लगाउने लगायतका आप्रवासीसम्बन्धी ३४ वटा कानूनमा काम गरिरहेको बताउनुभएको थियो ।

केही सांसदले रुसी भाषा नबोल्ने कुनै पनि आप्रवासीलाई निष्कासन गर्न प्रस्तावसमेत गरेका छन् ।तर गहिरो जनसाङ्ख्यिकीय सङ्कट र युक्रेनमा अभियानका कारण श्रम शक्तिमा हालैको कमीका कारण अर्थतन्त्र आप्रवासनमा निर्भर छ ।

रुसले आप्रवासीहरूलाई रूसी नागरिकता प्राप्त गर्न सजिलो बनाउन कानूनहरू खुकुलो पारेको थियो तर प्राकृतिक नागरिकहरूले अब सेनामा सेवाका लागि दर्ता गर्न आवश्यक छ अन्यथा आफ्नो पासपोर्ट गुमाउने र निष्कासित हुने जोखिम छ ।

गत वर्ष रुसी अधिकारीहरूले जारी गरेका तथ्याङ्कअनुसार यी प्राकृतिक रुसीमध्ये करिब १० हजार युक्रेनमा लडिरहेका रुसी सेनामा सामेल भएका छन् ।

नाफिज सदस्यको जनही सात लाखको दुर्घटना बिमा

काठमाडौँ, २४ पुसः नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का सदस्यहरुको साँढे रु १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहाकारको जनही रु सात लाखका दरले सामूहिक दुर्घटना बिमा गराएको हो ।

आज दुई वटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा सदस्यको सामूहिक दुर्घटना बिमा गराएको हो ।

कुल बिमाङ्क रकम रु १६ करोड ४५ लाख रहेको छ । सम्झौतामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति रु सात लाखका दरले दुर्घटना बीमा भएको छ ।नाफिजका अध्यक्ष कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकार विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यको बीमा गराइएको बताउनुभयो ।

सम्झौता कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बिमाले पत्रकारको सामाजिक सुरक्षाको सुनिश्चितामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरुको बिमा गराएर पत्रकारहरुलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताउनुभयो ।

पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी

गण्डकी, २४ पुसः पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौवटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपक्षी फेला परेका छन् ।

टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुुभयो ।

सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको विवरण सङ्ख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्न सन् २००४ बाट पोखरा उपत्यकामा जलपक्षी गणना गरिँदै आइएको छ ।

उहाँका अनुुसार पोखरा उपत्यकाभित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपक्षी गणना गरिएको थियो ।

गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुुई हजार १२ जलपक्षी फेला परेका छन् । त्यस्तै बेगनास तालमा १४ प्रजातिका एक सय ५८, रुपा तालमा २६ प्रजातिका तीन सय ६४, गुँदे तालमा १३ प्रजातिका तीन सय एक, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका एक सय ८९, दिपाङमा १३ प्रजातिका दुई सय १७, मैदीमा १० प्रजातिका एक सय २१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ जलपक्षी भेटिएका छन् ।

गणनाका क्रममा फेवा र दिपाङग तालमा चराको सङ्ख्या केही वृद्धि भएको, रुपा र मैदीमा बराबर तथा अन्यमा घटेको छ ।

सन् १९८७ देखि नेपालमा नियमित रुपमा हुँदै आएको एशियाली जलपक्षी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चरा विज्ञ झलक चौधरीले जानकारी दिनुुभयो ।

शीतलहरबाट तराई/मधेसका जिल्लामा जनजीवन प्रभावित

नेपालगञ्ज, २४ पुसः पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिसो र शीतलहरबाट प्रभावित भएका नागरिकलाई जोखिमबाट बचाउन कम्बल भण्डारण गरेर राखिएको छ ।” बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दा स्थानीयले आगो बालेर ताप्न थालेको दृश्य धेरै ठाउँमा देख्न सकिन्छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्किन कठिनाइ हुँदा बजारमा चहल पहल कममात्रामा देखिएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले चिसोले गर्दा न्यानो कपडाको बिक्रीवितरण बढे पनि अन्य व्यापार व्यवसायमा मन्दी रहेको बताउनुभयो । उहाँले शीतलहरका कारण अधिकांश सर्वसाधारण घरमै बसिरहेको उल्लेख गर्नुभयो ।

चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले चिसो धेरै बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिलाई चिसोबाट जोगाउन आग्रह गर्नुभयो । उहाँले अस्पतालमा चिसोले बिरामी भएका आउनेक्रम बढन थालेको जानकारी दिनुभयो ।

यसैबीच, नारायणगढबाट रासस प्रतिनिधिले मङ्गलबारदेखि लागेको बाक्लो हुस्सुका कारण चितवनको जनजीवन प्रभावित भएको जनाएका छन् । शीतका कारण सडकमा गुड्ने सवारी साधनहरूको चाप केहीमात्रामा घटेको छन् । मानिस बाहिर निस्किन सकेका छैनन् । चोकचोक तथा पसल अगाडि आगो फुकेर ताप्दै गरेको दृष्य देख्न सकिन्छ ।

शीतका कारण सडकहरू भिजेका छन् भने बाक्लो हुस्सु र चिसो हावाले यहाँको जनजीवनलाई प्रभावित बनाएको छ । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् निर्मला रेग्मीका अनुसार अहिले यहाँ पानी परेको जस्तै देखिएको भए तापनि यो शीतलहर नै हो । उहाँले भन्नुभयो, “अहिले पानी पर्ने सम्भावना छैन । यो शीत नै हो ।” तराईमा थप एक दुई दिन यस्तै रहनसक्ने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकामा शीतलहरका कारण ठूलो प्रभाव परेको बताउनुभयो । दीर्घरोगी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई यसले प्रभावित पारेको उहाँको भनाइ छ । महानगरपालिकाले तातोसँग बस्ने र अनावश्यक रूपमा बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेको उहाँले बताउनुभयो । शीतलहर बढ्दै गए आवश्यकता र मागअनुसार दाउराको व्यवस्थापन गर्न महानगर तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

माडी नगरपालिकामा यतिबेला शीतसहित चिसोे हावाले त्यहाँको जनजीवन थप प्रभावित बनेको नगरपालिका प्रमुख ताराकुमार काजी महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण विद्यार्थी र ज्येष्ठ नागरिक बढी सङ्ख्यामा प्रभावित भएका छन् ।” विद्यार्थी मात्रै नभएर सबै उमेर समूहका व्यक्तिहरू चिसोका कारण बिरामी पर्न थालेको आफूले जानकारी पाएको उहाँले बताउनुभयो । उहाँका अनुसार टोल सुधार समिति टोलटोलमा दाउराको व्यवस्था गरेर आगो ताप्ने काम गरेका छन् । आगो ताप्दैगर्दा सुरक्षा अपनाउन नगरपालिकाले अनुरोध गरेको उहाँले बताउनुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले अहिलेसम्म चिसोका कारण त्यस्तो कुनै घटना नघटेको बताउँदै यस्तै अवस्था रहेमा सतर्कता अपनाउन जरूरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिन यस्तो रहे समस्या बढ्न सक्छ ।”

शीतलहरका कारण स्वास्थ्यमा विभिन्न समस्या हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले चिसोका कारण श्वासप्रश्वासको समस्या बढ्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अनावश्यक रूपमा बाहिर नहिडौँ । हिँड्नै परे न्यानो लुगा लगाएर मात्र हिडौँ ।” घरमा आगो तथा हिटर ताप्दा सावधानी अपनाएरमात्रै ताप्न उहाँले अनुरोध गर्नुभयो । प्रशस्तमात्रामा झोलिलो पदार्थको सेवन गरी न्यानो कपडा लगाएर घरभित्र बस्ने उहाँले सुझाउनुभयो ।

यसैगरी भैरहवाबाट रासस समाचारदाताले रूपन्देहीलगायत तराई क्षेत्रमा शीतलहरका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । मङ्गलबारदेखि शीतलहर सुरू भएसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

शीतलहरको मारमा सबैभन्दा बढी विपन्न वर्ग परेका छन् । रिक्सा चालक, मजदुर, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक एवं बालबालिका तथा वृद्धहरू शीतलहरबाट बढी प्रभावित भएका छन् । केही दिनयता लगातार परिरहेको शीतलहरका कारण भैरहवाका बाटोहरू भिजेका छन् भने हवाई सेवासमेत प्रभावित भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई मौसम केन्द्रका अनुसार अहिले विमानस्थल हुस्सुका कारण बन्द गरिएको छ । केन्द्रका कार्यालय प्रमुख सुभाष रिजालले विमानस्थलका भिजिविलिटी एक हजार पाँच सय मिटरभन्दा पनि कम रहेको छ । योक्रम आजमात्र मात्रै नभई भोलि पनि यस्तै देखिने उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय भैरहवा तथा यस आसपासमा न्यूनतम तापमान १० डिग्रीसम्म पुगेको छ । अत्यधिक चिसो बढ्दै गएपछि स्थानीयवासीले आफैँ जोहो गरी ठाउँठाउँमा आगो तापिरहेका छन् । यसअघि स्थानीय तहहरूले जाडो सकिएपछि मात्र न्यानो कपडा तथा दाउरा वितरण गर्ने परिपाटी रहेको कारण अहिले समयमै स्थानीय तहलाई न्यानो कपडा वा आगो बाल्न दाउराको उनीहरूको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले चिसोबाट जोगिनका लागि व्यवस्थापन भइरहेको बताउनुभयो । “डिभिजन वन कार्यालयको सहयोगमा अतिप्रभावित क्षेत्रहरूमा दाउरा वितरण गर्ने तथा स्थानिय तह एवम संघ संस्थाहरूका समन्वयमा न्यानो कपडाको जोहो गर्दैछौँ”, घिमिरेले भन्नुभयो “यसै विषयमा आजै समितिको बैठक बोलाइएको छ, यसलाई छिट्टै कार्यान्वयनमै लैजान्छौँ ।”

चिसोका कारण सर्वसाधारणको दैनिकी प्रभावित हँुदै गइरहेको छ । चिसो तथा शीतलहर बढ्दै जादा अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ । चिसोबाट प्रभावित बिरामीमध्ये बालबालिका र वृद्धको सङ्ख्या बढिरहेको भैरहवास्थित भीम अस्पतालका बालरोग विशेषज्ञ तथा सूचना अधिकारी डा आरिफ हुसेनले बताउनुभयो । शीतलहरसँगै चिसो बढ्दै जादा रूपन्देहीका कोटहीमाई, सम्मरीमाई, मर्चवारी, रोहिणलगायत पालिकाले विद्यालय बिदा दिएका छन् ।

कैलाली र कञ्चनपुरमा जनजीवन कष्टकर

सुदूरपश्चिम : एक हप्तादेखिको कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर भएको छ । दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । लगातारको हुस्सुका कारण केही दिनदेखि कैलाली, कञ्चपुरमा घाम ताप्न पाइएको छैन । चिसो बढेसँगै जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भएको छ ।

हिउँदेयाममा यस वर्ष विगतका वर्षको तुलनामा केही दिन ढिलोगरी चलेको शीतलहरले बढेको जाडोका कारण मजदुर, स्कुले बालवालिका, वृद्धवृद्धालाई बढी असर पुगेको छ ।

चिसो बढेसँगै रूघाखोकी, बान्ता आउने, भाइरल इन्फ्लुइञ्जा, ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मी भक्तबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण बिरामी भई उपचारार्थ आउनेको चाप बढेको छ, यस्तो बेला शरीरलाई न्यानो हुनेगरी बस्ने र तातो झोलिलो खानेकुरा खाने गर्नुपर्छ ।”

तराईका जिल्लामा देखिने शीतलहरको समस्याले बर्सेनि जनजीवन नराम्रोसँग प्रभावित हुनेगर्छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ । घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहेको छ ।

शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिउँदे बालीमा डढुवा रोगको समस्या देखिन थालेको किसानले बताएका छन् । हिउँदेयाममा बर्सेनि हुने शीतलहरले मुख्य बाली आलु, गोलभेँडा, तोरीमा देखिने डढुवा रोगले बाली नष्ट हुने समस्या स्थायी समस्या भइसकेको किसानको भनाइ छ ।

यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’(पारदर्शी प्लाष्टिकको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतको तरकारी खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले ढुसीनाशक विषादी पनि छर्किने गरेका छन् ।

यस्तो विषादी प्रत्येक सात/आठ दिनको फरकमा छर्किनसकेमा बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । निरन्तरको चिसोका कारण रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुन गई आलु, गोलभेँडालगायतको बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिक खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ ।

लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा राम्रोसँग घाम नलाग्ने ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको बढी समस्या हुने गर्छ । पछिल्ला दशकमा हिउँदे याममा डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लामा गरिने तोरी बालीको क्षेत्रफल पनि घट्दै गएको छ ।

धनगढी उपमहानगरपालिका–१३ का किसान रामदिन रानाले भन्नुभयो, “हिउँदमा लाग्ने डढुवा रोगले तोरीखेती नष्ट हुने गरेकाले यसको खेती नै गर्न छाडेका छौँ ।” तोरीको विकल्पमा पछिल्ला वर्षमा धेरै किसानले धान र गहुँखेती गरेर चित्त बुझाइरहेको उहाँ बताउनुहुन्छ ।

बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु

काठमाडौँ, २४ पुस : पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।

हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते) बालीनाली, घर, गोठको क्षति हुने गरेको छ । यो अवस्थामा मानव–वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याका रूपमा बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा मात्र नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३९, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या एक सय २४, घरगोठको क्षति पाँच सय ३१ रहेको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सबैभन्दा बढी हात्ती र त्यसपछि बाघको आक्रमणबाट मानिसको मृन्यु हुने गरेको तथ्याङ्क छ ।

विगत २० वर्षमा मात्रै नेपालमा ११ हजारभन्दा बढी मानव–हात्ती द्वन्द्वका घटना रेकर्ड गरिएका छन् । यी घटनामा दुई सय ७४ जनाको मृत्यु भएको छ भने एक सय ३८ जना घाइते भएका देखिन्छ । विशेषगरी झापालगायत पूर्वी क्षेत्रमा मानव–हात्ती द्वन्द्व ठूलो समस्यामा रूपमा देखिएपछि वन मन्त्रालयले प्राथमिकता दिएर न्यूनीकरणका लागि विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ ।

मङ्गलबार मात्रै वनमन्त्री ऐनबहादुर शाही ठकुरीले झापा पुगेर मानव–हात्ती द्वन्द्व समाधानका लागि छुट्टै कार्यविधि ल्याउने बताउनुभयो । सुदूरपूर्वी झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरमा सरोकारवालाले बुझाएको मागपत्र ग्रहण गर्दै उहाँले मानव–हात्ती द्वन्द्वबाट उत्पन्न समस्या समाधानका लागि छुट्टै कार्यविधि बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले कानुनी बाधा अड्चन फुकाएर भए पनि स्थानीय प्रभावित समुदायका माग र सुझावलाई कार्यान्वयन गर्ने उल्लेख गर्नुभएको थियो ।

सोही कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित सर्वपक्षीय छलफल गरी मानव–हात्ती द्वन्द्व समाधानका लागि १४ बुँदे साझा निष्कर्षसमेत निकालिएको थियो ।

महामन्त्री शर्माले झापामा हात्ती प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाबीच पहिलो पटक साझा धारणा बनेको उल्लेख गर्दै मानव र हात्तीबीच सहअस्तित्व कायम गरेर समस्याको समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री ठकुरीसहितको टोलीले मेचीनगरको बाहुनडाँगीस्थित भारतबाट हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्र र स्थानीय सामुदायिक वनको निरीक्षणसमेत गरेको थियो ।

हात्ती रोक्न ९२ किलोमिटर विद्युतीय तारबार

मानव–हात्ती द्वन्द्वलाई कम गर्न सरकारले केही महत्वपूर्ण कदम चालेकोसमेत छ । विभागका अनुसार आर्थिक वर्ष २०७१÷७२ देखि हालसम्म झापामा करिब ९२ किलोमिटर विद्युतीय तारबार जडान गरिएको छ । यस कार्यमा करिब रू ११ करोड खर्च भएको छ । त्यस्तै मानव–हात्ती सह–अस्तित्व बलियो बनाउने सचेतना कार्यक्रम पनि सञ्चालन गरेको विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको उचित मर्मत सुधार गरी हात्तीलाई बस्तीमा पस्नबाट रोक्ने, अतिप्रभावित क्षेत्रमा थप विद्युतीय तारबार गर्नुपर्ने, हात्ती धपाउनका लागि आवश्यकपर्ने उचित गाडी, ट्र्याक्टरको व्यवस्था गर्नुपर्ने, समस्याग्रस्त हात्तीको पहिचानगरी र तीनको व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ ।

त्यस्तै हात्ती पर्यटनमा जोड दिने, हात्तीले नखाने चिया, कागती, ल्वाङ, सुपारी, बेसार आदिको खेतीपाती प्रणालीको सुरू गर्ने, पीडितलाई आर्थिक सहुलियत दिनुपर्ने महानिर्देशक डा कँडेलले बताउनुभयो ।

विश्वमा दुई प्रजातिका हात्ती पाइन्छन् । एसियाली र अफ्रिकी हात्ती । एसियाली हात्ती नेपाल, भारत, भुटानलगायत १३ राष्ट्रमा पाइन्छन् । र तिनको सङ्ख्या हाल करिब ५० हजारको हाराहारीमा रहेको बताइन्छ । विश्व संरक्षण सङ्घले हात्तीलाई सङ्कटापन्न प्रजातिको सूचीमा राखेको छ । नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत हात्तीलाई अनुसूची–१ मा राखेर यसको संरक्षणमा विशेष ध्यान दिइएको छ ।

चुरे तराई क्षेत्रको करिब १३ हजार वर्ग किलोमिटर क्षेत्र हात्तीको बासस्थानका लागि उपयुक्त मानिन्छ । यद्यपि, विगत ९० वर्षमा करिब २२ प्रतिशत बासस्थान विनाश भएको तथ्यले यो क्षेत्र हात्तीका लागि कम सुरक्षित हुँदै गएको बताइएको छ । मानव र हात्ती दुवैलाई पर्ने क्षतिलाई कम गर्न सरकारले विभिन्न पहलहरू गर्दै आएको छ ।

हात्तीकै विषयमा विद्यावारिधि गर्नुभएका बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा अशोक रामका अनुसार तराईका रूपन्देही र पश्चिमी नवलपरासीबाहेक सबै जिल्लामा हात्ती पाइन्छ । “परापूर्वकालदेखि नै हात्तीको ओहोरदोहर गर्ने हात्तीमार्गमा हाल बस्ती र खेती भएकाले त्यस्ता स्थानमा बेलाबेलामा हात्तीसँग मानिसको द्वन्द्व हुने गर्छ । साथै मानिस र हात्तीले एउटै बासस्थान र आहार प्रयोग गर्ने गरेकाले पनि यो समस्या देखिएको हो”, डा रामले भन्नुभयो । बासस्थान विनाश हुनु र खण्डीकरण हुनु मानव–हात्ती द्वन्द्वको मुख्य कारण बनेको उहाँको भनाइ छ ।

बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेका छन् । त्यस्तै बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानवबस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी सिकारी मुख्य चुनौती देखिएका छन् ।

जङ्गली हात्ती पाँच सय, निजी हात्ती एक सय ७०

वरिष्ठ संरक्षण अधिकृत डा रामका अनुसार सन् २०२० को गणनाअनुसार नेपालमा जङ्गली रैथाने करिब दुई सय २७, (हाल झापामा पश्चिम बङ्गालबाट आई स्थायी रूपमा बस्न थालेका ५० थप) हात्ती रहेका छन् । यस्तै भारतबाट सिजनमा झापा र आसपास क्षेत्रमा एक सय, बर्दियामा ५०, कैलाली र कञ्चनपुरमा ७० को हाराहारीमा जङ्गली हात्ती आउने र केही समय बसेर जाने गरेको उहाँले बताउनुभयो ।

यसबाहेक नेपालमा घरपालुवा एक सय ७० (सरकारी एक सय १० र निजी ६०) को सङ्ख्यामा हात्ती छन् । हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । घरपालुवा हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका छन् । चितनवमा हात्तीको प्रजनन केन्द्र सफल रूपमा सञ्चालित छ ।

द्वन्द्वका कारण हुने मानवीय क्षतिलाई सम्बोधन गर्न सरकारले राहत प्रदान गर्ने व्यवस्था गरेको छ । मानव मृत्यु भएमा पीडित परिवारलाई रु १० लाखसम्म राहत प्रदान गरिन्छ । गम्भीर घाइते भएमा दुई लाख, सामान्य घाइते भएमा २० हजार र अङ्गभङ्ग भएमा रु पाँच लाखको राहत उपलब्ध गराइन्छ ।

त्यस्तै, घरगोठ क्षतिका लागि रु २० हजार र अन्नबाली क्षतिका लागि रु १० हजार राहत दिने कानुनी प्रावधान छ । झापामा मात्र विगत पाँच वर्षमा आठ सय ८४ घटना दर्ता भएका छन्, जसमा सरकारले करिब रु चार करोड तीन लाख राहतस्वरूप वितरण गरेको विभागको तथ्याङ्क छ ।

हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो । हात्तीलाई हिन्दू धर्ममा भगवान्का रूपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ । सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ भने पर्यटन प्रवद्र्धनमा पनि हात्तीको ठूलो योगदान रहेको छ ।

मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट

काठमाडौँ, २४ पुसः संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले भेट गर्नुभएको छ ।

महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भेटमा उहाँहरुबीच बिम्स्टेक देशहरुबीचको भिसा सहजकीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय ‘सर्किट’मा पर्यटन पूर्वाधारको विकासलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पाण्डेले बिम्स्टेक टुरिजम फण्डलाई वृद्धिगरी त्यसको प्रभावकारी कार्यान्वयका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउन, पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन बिम्स्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डहरुबीचको आबद्धता तथा आपसी आदानप्रदानलगायतका विषयमा जोड दिनुभएको थियो ।

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले बिम्स्टेकको महत्वपूर्ण एजेण्डा ‘कनेक्टिभिटी’ भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष दाहाल

काठमाडौँ, २४ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको अपिहिमाल गाउँपालिकको केन्द्र खण्डेश्वरीसम्म सडक निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग आज आफ्नै निवासमा भएको छलफलमा उहाँले प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा पालिकाको समग्र विकासमा लागि पर्ने विश्वास दिलाउनुभयो ।

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएका बेलामा थोरै भए पनि बजेट विनियोजनको सुरूआत गरिएको जानकारी दिँदै बजेट वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले त्यतिबेला पालिका मुकामसम्म पुग्नेगरी बजेटका लागि निर्देशन दिइएको भए पनि आवश्यक बजेट नपरेको स्वीकार गर्नुभयो ।

सुदूरपश्चिमको परिचित अपिहिमालका नामबाट स्थापित यो गाउँपालिकाले विकास निर्माणमा पनि त्यहीअनुसारको अपेक्षा गर्नु स्वभाविक भएको भएको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागि पनि पर्यटन बोर्ड र विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणमार्फत काम अघि बढाउन आग्रह गरिने बताउनुभयो ।

छलफलमा गाउँपालिकाका प्रतिनिधिले पालिकाको मुकामसम्म पुग्न १० किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । उहाँहरूले पालिकाका सबै वडा र बस्तीमा राष्ट्रिय विद्युत् लाइन विस्तार र वडा नं ३ को भूगोल ठूलो भएकाले सेवा प्रवाहलाई सहज बनाउन वडा विभाजनमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।

सो क्रममा अध्यक्ष दाहाललाई गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, उपाध्यक्ष देवकीदेवी बोहरा, सबै वडाका वडाध्यक्ष, कर्मचारी, नेपाली कांग्रेसका पालिका सभापति शोवनसिंह लोथ्याल, माओवादी केन्द्रका पालिका उपाध्यक्ष मोहनसिंह कार्की र एमालेका प्रतिनिधि नरेन्द्रसिंह रोकायालगायतले हस्ताक्षर गरेको तीन सूत्रीय ज्ञापनपत्र बुझाइएको थियो ।

‘परराष्ट्रमन्त्रीद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौँ, २४ पुस : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गर्नुभएको छ ।

परराष्ट्रमन्त्री डा राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उहाँले विपिनको अवस्था बारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गर्नुभएको हो ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गर्नुभएको थियो ।

सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्यवस्थामा रहेका नागरिकहरुको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रणमुक्त गर्ने तयारी रहेको भन्ने सूचना आएको जानकारी गराउनुभएको थियो ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजार बढी व्यक्तिको हत्या गरेको थियो ।त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरेकोमा विपिन जोशी पनि छन् । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ ।

संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा परराष्ट्रमन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आउनुभएको छ ।

बागमती सफाइ अभियानमा महानगरका वडाले सघाउने

काठमाडौँ, २४ पुसः काठमाडौँ महानगरपालिकाका १० वटा वडाले बागमती सफाइ अभियानलाई सहयोग गर्ने सहमति जनाएका छन् । काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको अध्यक्षतामा आज बसेको बैठकले आगामी दिनमा वडाको समन्वयमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अगुवाइमा प्रत्येक शनिबार हुँदै आएको सफाइ अभियानमा अबदेखि महानगरपालिकाका तत् तत् क्षेत्रका वडाध्यक्षसहितका जनप्रतिनिधिको सहभागिता रहने सहमति भएको अभियन्ता रामशरण कार्कीले जानकारी दिनुभयो ।

बैठकले आगामी साताको सरसफाइ वडा नं– ८ का वडाध्यक्षको संयोजनमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । काठमाडाँै महानगरपालिकाका विभिन्न १० वटा वडा भएर बागमती बगेकोमा त्यसमध्ये आजको बैठकमा ७ , ८, ९, १० ,११ , १२ र १४ का वडाअध्यक्षले सहमति जनाउनुभएको हो । बैठकले आगामी दिनमा फोहर वर्गीकरण, व्यवस्थापन तथा पुनः प्रयोग गर्न प्रोत्साहन गर्ने तथा हेलचेक्रयाइ गर्नेलाई जरिवानासमेत गर्ने निर्णय गरेको छ ।

बागमती सफाइ अभियानका प्रमुख अभियन्ता लीलामणि पौड्यालको उपस्थितिमा बसेको बैठकले अधिकार सम्पन्न बागमती समितिले परियोजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्ने निर्णय गरेको छ । विस २०७० जेठ ५ गतेबाट सुरु अभियानका क्रममा हालसम्म २० हजार टन बढी फोहर सङ्कलन भइसकेको जनाइएको छ ।

सफाइ अभियानमा विभिन्न सङ्घ, संस्था, नागरिक समाज, अधिकारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति संलग्न हुँदैआएका छन् ।

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्नुपर्ने

काठमाडौँ, २४ पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग भेटवार्ता गर्दै उहाँले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनासम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम गर्न सहकार्यको प्रस्ताव गर्नुभयो ।

उहाँले भन्नुभयो, “नसर्ने रोग बढ्दै गएकाले यसलाई रोकथाम गर्न विद्यालय तहबाटै सचेतनामूलक सामग्री प्रभावकारी बनाउनुपर्छ । पाठ्यक्रम विकास केन्द्रलाई स्तरीय सामग्री तयार पार्नका लागि मन्त्रालय सहकार्य गर्न तयार छ ।”

उहाँले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादकपदार्थविरुद्ध सचेतनाका विषय पनि समावेश गर्न सुझाव दिनुभयो ।

यसका लागि दुवै मन्त्रालयको संयुक्त समूह बनाउन मन्त्री पौडेलले गरेको प्रस्तावमा मन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया जनाउनुभयो । उहाँले दुवै मन्त्रालयबीच सहकार्यको प्रस्ताव सराहनीय रहेकाले थप गृहकार्य आवश्यक रहेको बताउनुभयो ।

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गरिने

काठमाडौँ, २४ पुसः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै निजी, सरकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरणविना सञ्चालनमा रहेको उजुरीपछि मन्त्रालयले उक्त परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरु मापदण्डअनुसार सञ्चालन नभएको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिइ स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले इजाजतपत्र नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

“मन्त्रालयले अनुगमन गर्दा इजाजतपत्र नवीकरण नगरी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएमा नियमानुसार कारबाही गरिनेछ”, प्रवक्ता बुढाथोकीले भन्नुभयो ।

काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी

त्रिशूली । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ ।

दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए ।

उनका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । हाल यस आसपासका जिल्लाबाट कैदीबन्दी ल्याउने क्रम जारी छ ।

उनले भने, ‘अबको केही दिनमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई अन्तिम चरणमा पुर्याइएको छ ।’

कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भन्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य मिलाई क्रमशः अन्यत्र जिल्लाका कैदी ल्याउने क्रम जारी छ । यहाँको कारागारमा केन्द्रीय कारागार (जगन्नाथदेवल), नक्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौँका क्षमताभन्दा बढी हुन आउनेमध्येका कैदीबन्दी स्थानन्तरण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार उपत्यकाको कारागारसहित आसपासका रसुवा, धादिङ, गोरखाका क्षमताभन्दा बढी हुन आउने सङ्ख्याका कैदीबन्दी ल्याएर पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।

केन्द्रीय कारागारलाई आधुनिक एवं औद्योगिक कारागारका रूपमा स्थापित गराउन आवश्यक संरचना क्रमशः निर्माण गर्दै अघि बढ्ने सरकारको योजना छ । सोहीअनुसार तेस्रो चरणको भौतिक संरचना निर्माण अघि बढाउन गृहकार्य भइरहेको छ ।

महानिर्देशक भट्टराईले भने, ‘देशभर १३ हजार कैदीबन्दी क्षमताको कारागारमा हाल २८ हजारभन्दा बढी रहेकाले नुवाकोटको केन्द्रीय कारागारलाई जतिसक्दो चाँडो पूर्णता दिन सरकार प्रतिबद्ध छ ।’

काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई २०७० साल चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले विदुर नगरपालिका-६ स्थित खम्पा क्याम्पमा स्थानान्तरण गर्ने निर्णयअनुरुप निर्माण गरेको यस कारागारको गुरुयोजनाअनुरुप पाँच चरणमा काम सम्पन्न गर्ने उल्लेख छ ।

तेस्रो चरणमा पहिलो युनिटका लागि चाहिने १० वटा ब्लकमा एक हजार तीन सय ७० जना कैदीबन्दी राख्न भौतिक संरचनाको निर्माण, प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा युनिट बस्ने संरचना निर्माण गरिएका छन् ।

केन्द्रीय कारागार निर्माणको गुरुयोजनाअनुरुप तेस्रो चरणको भौतिक संरचना निर्माणका लागि विभाग जुटेको छ । तर, यसका लागि यसअघि लगाएको ठेक्का प्रक्रियामा आर्थिक स्रोतको सुनिश्चित नहुँदा त्यसका लागि पहल भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिए ।

गुरुयोजना अनुसार सञ्चालनमा आएको कारागारको प्रत्येक ब्लकमा जघन्य अपराधमा संलग्नलाई राख्न एक-एकवटा ‘कालकोठरी’ बनाइएको छ । तर, औद्योगिक कारागारको रुपमा स्थापना गर्ने सरकारको लक्ष्यअनुरुपका अन्य संरचना भने बनाउन बाँकी छ ।

‘औद्योगिक, आधुनिक एवं नमूना कारागाराको रुपमा स्थापना गर्ने सरकारको लक्ष्यअनुसार नुवाकोटको कारागारलाई सुविधासम्पन्न बनाउन थप चरणका काम अघि बढाउन बजेट व्यवस्थापनको पर्खाइमा छौँ ।’ उनले भने, ‘खेलमैदान, योग केन्द्र, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवर्द्धन केन्द्र, किरियापुत्री कक्षसहितका सुविधा अब बन्ने नयाँ संरचनामा समावेश गरिने छ ।’

कारागारका लागि आवश्यक भौतिक संरचनाको निर्माण र व्यवस्थापन केन्द्रीय सरकारमार्फत सञ्चालन गरिने छभने सीप प्रवर्द्धनसहितका कार्यक्रममा प्रदेश सरकारको सहभागिता जुटाउन थालिएको छ । यस्तै, ढल प्रशोधन र बायोग्यास प्लान्ट सञ्चालन र व्यवस्थापनसहितका कार्यमा स्थानीय सरकारको साझेदारी खोजिएको छ ।

सोहीअनुरुप अन्तिम एवं पाचौँ चरणमा रहेको ढल प्रशोधन गरेर बायोग्यास प्लान्ट बनाउने योजनालाई विदुर नगरपालिकाले अघि बढाउन सुरु गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लगानीमा काम अघि बढाउन लागिएको हो । उक्त कार्यका लागि हालै कारागारका नाममा रहेको ३० रोपनी जग्गा उपभोग गर्न समझदारी गरिएको छ ।

परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण

नवलपरासी, २४ पुसः यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँमा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो ।
कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो । सेवा थप भएसँगै चारपाङ्ग्रे सवारीसाधन (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्रयाक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनुभयो

कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ । यसैबीच सवारीसाधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागू भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताउनुभयो । पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारीचालकले अनिवार्य अनुमतिपत्र लिएरमात्र सवारीसाधन चलाउने नियममा कडाइ गर्न थालिएको छ ।

तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण

म्याग्दी, २४ पुसः मङ्गला गाउँपालिका–१ तुसारेपानीमा रु ८० लाख ६२ हजारको लगानीमा खेलमैदान र सामुदायिक भवन निर्माण भएको छ । रु ६७ लाख ३० हजारमा मनकामना युुवा क्लबले खेलमैदान र रु १३ लाख ३२ हजार चार सय ६२ लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।

म¬ङ्गला गाउँपालिका र प्रदेश सरकारबाट रु ३५ लाख ५० हजार अनुदान प्राप्त भएको खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका चन्दादाताले रु २१ लाख आठ हजार छ सय ५६ र रु १० लाख १७ हजार पाँच सय क्लबले आन्तरिक लगानी गरेको क्लब अध्यक्ष बेलबहादुर पुर्जाले बताउनुभयो ।

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदानमा प्यारापिट र स्टेज पनि रहेको छ । व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठी सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

खेलमैदान, भवन र प्रथम तुसारेपानी कप तथा माघे सङ्क्रान्ति मेलाको मङ्गलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । पूर्वसांसद नरबहादुर पुन, जग्गादाता बुुद्धिराम पुन र निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवेशद्वार निर्माता खड्कबहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गर्नुभएको थियो । खेलमैदानको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र तुसारेपानी घर भई हाल अष्टे«लिया बस्नुहुने मुक्तिप्रसाद रोकाले संयुक्त रूपमा शुभारम्भ गर्नुुभएको थियो ।

नयाँ हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रका ‘प्रतिद्वन्द्वी’ लाई रोक्न सक्छ– उत्तर कोरियाली नेता

उत्तर कोरियाका नेता किम जोङ उनले सोमबार गरिएको परीक्षण प्रक्षेपणमा प्रयोग गरिएको नयाँ हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रमा देशको प्रतिद्वन्द्वीलाई रोक्न मद्दत गर्ने बताउनुभएको छ ।

“हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रका कुनै पनि प्रतिद्वन्द्वीलाई विश्वसनीय रूपमा नियन्त्रण गर्नेछ जसले हाम्रो राज्यको सुरक्षालाई असर गर्न सक्छ”, प्रक्षेपणको निरीक्षण गर्नुभएका किमले केसीएनए राज्य समाचार एजेन्सीमार्फत भन्नुभयो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उत्तर कोरियाको कट्टर प्रतिद्वन्द्वी रणनीतिक सहयोगी दक्षिण कोरियाको भ्रमण गरेपछि यो परीक्षण भएको हो । दक्षिण कोरिया उत्तर कोरियासँग प्राविधिक रूपमा अझै युद्धमा छ ।

एक विज्ञप्ति जारी गर्दै किमले क्षेप्यास्त्र एक हजार पाँच सय किलोमिटर (९३० माइल) उडेको र ध्वनिको गतिभन्दा १२ गुणा तीव्र गतिमा उडेर पानीमा खसेको बताउनुभयो । उक्त दूरी दक्षिण कोरियाली सेनाले दिएको एक हजार एक सय किलोमिटर (६८० माइल) को आँकडाभन्दा बढी हो ।

“यो स्पष्ट रूपमा आत्मरक्षाको योजना र प्रयास हो, आक्रामक योजना र कार्य होइन”, किमले भन्नुभयो ।

तथापि उहाँले यसले ‘कुनै पनि घना रक्षात्मक अवरोधलाई प्रभावकारी रूपमा भेदन गर्दै प्रतिद्वन्द्वीलाई गम्भीर सैन्य प्रहार गर्नसक्छ’ भन्दै क्षेप्यास्त्र प्रणालीको कार्यक्षमता ‘विश्वव्यापी रूपमा बेवास्ता गर्न सकिँदैन’ भन्नुभयो ।

“सैन्य शक्ति बन्ने लक्ष्य राखेको उत्तर कोरियाको रक्षा क्षमताको विकास अझै तीव्र गतिमा अघि बढ्नेछ”, उहाँले भन्नुभयो ।

ब्लिन्केन र उहाँका दक्षिण कोरियाली समकक्षी चो ताई–युलले संयुक्त पत्रकार सम्मेलनमा प्रक्षेपणको निन्दा गर्नुभयो । त्यहाँ बाहिरिँदै गरेका अमेरिकी शीर्ष कूटनीतिज्ञले यसले जापानसँगको त्रिपक्षीय गठबन्धन गहिराउनुको महत्त्व देखाएको बताउनुभयो ।

नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएपछि उत्तर कोरियाले सोमबार गरेको यो पहिलो परीक्षण हो ।

यसअघिको प्रक्षेपण नोभेम्बरमा भएको थियो । त्यसबेला उसले आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली ठोस इन्धन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को परीक्षण गरेको दाबी गरेको थियो ।

मोतियाविन्दुका बिरामीको निः शुल्क उपचारमा सहयोग गर्दै सगरमाथा चौधरी आँखा अस्पताल

सिरहा, २४ पुसः लहान नगरपालिकाले यस वर्ष पनि वृहत्त निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ ।

सम्झौताअनुुसार शिविरमा मोतियाविन्दुको पहिचान भएका बिरामीको शल्यक्रियाको खर्च नगरपालिकाले व्यहोर्ने छ । “हामीले प्रत्यक वर्ष निःशुल्क आँखा शिविर आयोजना गर्दै आएका छौँ । सोहीअनुरुप अब वडावडामा शिविर आयोजना गरिनेछ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “शिविरले यहाँका गरिब तथा विपन्न समुदाय लाभान्वित हुने विश्वास लिएको छु ।” केही दिनभित्रै गाउँगाउँमा शिविर सञ्चालन गर्ने भन्दै नगरप्रमुख चौधरीले एक हजार मोतियाविन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

नगरप्रमुख चौधरीको अनुसार विगत दुई वर्षदेखि यसरी शिविर सञ्चालन गरिएको र यस क्रममा पहिलो वर्ष सात हजार जनाले आँखा जाँच गराएका थिएभने एक हजार ९२ जना मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो । यसैगरी, दोस्रो वर्ष तीन हजार जनाले आँखा जाँच गराउँदा सात सय मोतियाविन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

जाडोको समयमा आँखाको रोगको सङ्क्रमण धेरै हुने र गाउँगाउँमा पैसको अभावमा बिनाउपचार बस्ने गरिब तथा विपन्न समुदायलाई निःशुल्क आँखा शिविरले सहयोग पुग्ने अस्पतालका अध्यक्ष रवीन्द्रलालले बताउनुभयो ।

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

ताप्लेजुङ, २४ पुसः सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिनुभयो । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उहाँले बताउनुभयो ।

यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।

केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

ऐतिहासिक ‘निसान पदमार्ग ’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदै

फिक्कल (इलाम), २४ पुसः पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।

नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने गणपति प्रल्हद घलेले जानकारी दिनुभयो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।

आज बिहान मेची बजारबाट पदयात्राको औपचारिक थालनी हुनेछ । नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रामा सहभागी हुने जनाइएको छ ।

यही पुस २६ गतेसम्म जारी हुने पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागतको तयारी गरेका छन् । पदमार्गअन्तर्गत पर्ने सूर्योदय, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जाजातिको झाँकीसहित स्वागत गर्ने जनाएको छ ।
रणशार्दूल गणको पहलमा गत वर्षदेखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । यसका लागि ती पालिकाले सेनालाई सहयोग गरेको थियो । मेची बजारबाट सुरु हुने पदयात्रा सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा पुस २५ गते शुभारम्भ गरी माईजोगमाईको नामसालिङस्थित हात्तीटारमा बास बस्ने कार्यक्रम छ ।

पुस २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माईबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम –७ स्थित माईस्थान मन्दिरमा पदयात्राको समापन गरिने कार्यक्रम तय भएको इलाम नगरप्रमुख केदार थापाले बताउनुभयो । सो गणको अगुवाइमा तीन पालिकाले संयुक्त रूपमा आयोजना गरेको पदयात्रामा करिब एक सयको हाराहारीमा सहभागी हुने जनाइएको छ ।

सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएको हो ।

यसअघि भारतको नागरीगढीबाट नेपाल–भारत सीमाक्षेत्र सात माइल, मेची मुहान, सिद्धीखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको नक्सा तयारी गरी सार्वजनिक गरिएको थियो ।

निसान पदमार्गको पदयात्राले इलामको पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । “करिब दुई सय वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निसान पदमार्ग निर्माण गरिएको छ, पदयात्राले जिल्लाको समग्र पर्यटन प्रवर्द्धनमा योगदान गर्ने अपेक्षा छ”, उहाँले भन्नुभयो, “यसको प्रचारप्रसार भएपछि बाह्य पर्यटकसमेत यहाँ आउनेछन् ।”

इलाम नगरपालिकाका प्रमुख थापाले निसान पदमार्ग पहिचानले इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याएको बताउनुभयो । “निसान पदमार्गले इतिहासको संरक्षणमा योगदान दिनका साथै समग्रमा इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ”, उहाँले भन्नभयो ।

सुगौली सन्धिपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै तत्कालीन सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका थिए ।

पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा हालको माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम –७ स्थित माईस्थान मन्दिर ल्याइएको बताइएको छ । माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निसान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

वीरगञ्ज (पर्सा), २४ पुसः वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । “बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्नेगरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न÷गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशानुसार अनुरोध छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिनुभयो ।

‘मधेस सरकारका काम निराशाजनक छैनन्’ – मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा) – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विकास निर्माणमा प्रदेश सरकारको गति कम भए पनि निराशाजनक नभएको बताउनुभएको छ ।

मधेस प्रदेशको चौथो अधिवेशनमा शुभकामना व्यक्त गर्दै उहाँले प्रदेशका ६४ निर्वाचन क्षेत्रका लागि पाँच किलोमिटर कालोपत्रे सडक तथा एक निर्वाचन क्षेत्रमा पुलको बोलपत्र आह्वान भएपछि सरकारको खर्चले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेश सरकारले विकास निर्माणमा गति दिन नसकेको गुनासो गरेपछि त्यसको जवाफमा मुख्यमन्त्री सिंहले विकासको काम खुला बोलपत्र प्रक्रियाबाट गर्नुपर्ने भएकाले गति कम देखिएको बताउनुभएको हो ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले गठबन्धनको सरकार भएकाले वर्तमान प्रदेश सरकारलाई काम गर्नमा अवरोध नगरेको बताउनुभयो । कांग्रेसले काम गर्न नदिएको आरोपमा सत्यता नभएको उहाँले स्पष्ट पार्नुभयो ।

पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता लालबाबु राउतले वर्तमान सरकारको सुस्त गतिका कारणले सङ्घीयताप्रति नै प्रश्न उठ्न लागेको टिप्पणी गर्नुभयो ।

नेकपा (एमाले)का तर्फबाट प्रदेशसभा सदस्य शारदादेवी थापाले काममा ढिलाइ गर्दा पछि गएर पछुताउनुबाहेक अरू केही हासिल नहुने भएकाले विकास निर्माणको काममा गति दिन सुझाव दिनुभयो ।

प्रदेशसभाको अर्को बैठक भोलि बुधबार बस्ने गरी स्थगित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

उखु किसानले पाए भुक्तानी

महोत्तरी – मुलुकका विभिन्न जिल्लामा उखु किसानले भुक्तानी नपाएका खबर आइरहँदा महोत्तरीको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले भने नियमित तालिकामा भुक्तानी दिइरहेको छ ।

यसपाली जारी क्रसिङ सिजनमा पुस तेस्रो साताभित्रै उद्योगले पाँच पटक गरेर किसानलाई रु ४५ करोड ६४ लाख ६१ हजार भुक्तानी गरिसकेको जनाएको छ । गत मङ्सिर २६ गते उखु क्रसिङ (उखु पेल्न) थालेको उद्योगले त्यसयता शनिबारसम्म आठ लाख ४५ हजार ७० क्वीन्टल उखुको भुक्तानी दिइएको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले जानकारी दिनुभयो ।

यस सिजनमा उद्योगले ३५ लाख क्वीन्टल उखु क्रसिङको लक्ष्य लिएको छ । यो गत वर्षभन्दा छ लाख क्वीन्टल बढी हो । यसपटक सरकारले पनि उखु क्रसिङ अगावै मूल्य निर्धारण गरेपछि भुक्तानीमा सहज भएको शुक्लाको भनाइ छ । सरकारले उखुको मूल्य प्रतिक्वीन्टल रु पाँच सय ८५ निर्धारण गरेको छ । यो गत वर्षभन्दा रु २० बढी हो । उद्योगले दिने उखुको मूल्यबाहेक किसानलाई सरकारले प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिने जनाइएको छ ।

उद्योगले समयमै भुक्तानी दिए पनि किसानले राहत महसुस गरेका छन् । चार वर्ष पहिलेसम्म भुक्तानीका लागि वर्ष दिनसम्म भौतारिनुपर्ने अवस्था अन्त्य हुनु निकै सकारात्मक भएको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ । “उद्योगले भुक्तानी सहज बनाएको छ तर मूल्यमा किसान ठगिएका छन् र उत्पादक किसानले यसपटक गत वर्षको मूल्यमा १५ प्रतिशत थपको माग गरेका थिए तर सरकारले प्रतिक्वीन्टल रु २० मात्र थपेको छ । हामी अझै यसबारे सरकारले पुनःविचार गरिदेओस् भन्नेमा छौँ”, उहाँले भन्नुभयो ।

भुक्तानी सहज बनेपछि यहाँ उखुखेती गर्ने क्षेत्रफल पनि बढ्दै गएको छ । १५ वर्ष पहिले जिल्लामा १५ हजार बिघा पुगेको खेती भुक्तानी झमेलाले घट्दै गएर आव २०७७/७८ मा पाँच हजार बिघामा झरेको थियो । यद्यपि भुक्तानी क्रमशः सहज बन्दै जाँदा खेती बढ्दै गएर यसपालि नौ हजार बिघा पुगेको जनाइएको छ ।

चिसो बढेपछि विद्यालय बन्द

चन्द्रपुर (रौतहट) – केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका कारण तराई मधेसका अन्य जिल्लासहित रौतहटका नागरिकको जनजीवन प्रभावित बनेको छ । केही दिनयता घाम नलागेका कारण थप समस्या भएको । जाडोले खासगरी विपन्न तथा गरिब परिवार प्रभावित भएका छन् ।

चिसो र शीतलहरले रौतहटको व्यापारिक केन्द्र चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया, समनपुरमा दिउँसो पनि चहलपहल देखिँदैन । चिसोले नागरिक प्रभावित बन्न थालेपछि जिल्ला विपत् व्यवस्थापन समितिले आगो बाल्नका लागि टोलटोलमा दाउरा वितरण गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले डिभिजन वन कार्यालय रौतहट र स्थानीय पालिकासँगको समन्वयमा टोलटोलमा दाउरा वितरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै, चिसोबाट जोगाउनका लागि न्यानो कपडा वितरणमा सहयोग गर्न विभिन्न गैरसरकारी तथा सरकारी संस्थालाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी फतुवा बेस क्यापले पनि आज आफ्नो क्षेत्रअन्तर्गत विभिन्न चोकमा दाउरा बाल्न सुरु गरेको छ । सशस्त्र प्रहरीले राजपुर, फतुवा महेशपुरलगायत चोकमा दाउरा बाल्ने व्यवस्था गरेको छ ।

यसैबीच गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै तीन दिन गौर नगर क्षेत्रका विद्यालय बन्द गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले जानकारी दिनुभयो ।

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौँ, २४ पुसः कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ९०, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १००, घिउ सिमी (लोकल) प्रतिकेजी रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ८०, घिउ सिमी (राजमा) प्रतिकेजी रु १२०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु २८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ८०, सजिवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७५, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ६० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १८०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी रु १४०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

नास्ट र महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाडौँ, २४ पुसः नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका लागि विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस भएको छ ।

नास्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सहकार्यका विविध क्षेत्रबारे छलफल भएको हो ।

नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक सङ्घसंस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्तिजस्ता कार्यक्रम सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदानमार्फत साझेदारको भूमिका गर्न सक्ने विषय छन् ।

यस्तै उद्योग क्षेत्रबाट इच्छा गरिएका विषयमा उद्योगको प्रायोजनमा नास्टबाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतनलगायत विषयमा नास्टले महासङ्घसँग सहकार्यका लागि प्रस्ताव गरेको छ ।

छलफलमा महासङ्घका अध्यक्ष ढकालले नास्टले महासङ्घसँग गर्न खोजेको सहकार्यका विषय स्वागतयोग्य भएको बताउँँदै प्रस्तावित विषयमा अध्ययन गरेर अघि बढ्न सकिने बताउनुभयो ।

यस्तै (नास्ट) का उपकुलपति प्रा डा सुब्बाले नास्टले प्रस्तावित गरेका विषयमा सहकार्य गर्नसके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने बताउनुभयो । “हामीसँग वैज्ञानिकहरुको टोली छ । देश विदेशमा रहेका अन्य वैज्ञा

चितवनमा तोरीखेती बढ्यो

चितवन, २४ पुसः भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३ हजार छ सय ४२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । क्षेत्रफल बढेसँगै उत्पादन पनि बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । गत आवमा यहाँ १७ हजार छ सय ८९ मेट्रिकटन तोरी उत्पादन भएको थियो ।

छोटो अवधिमा उत्पादन लिन सकिने नगदेबाली भएको र निकुञ्ज नजिक रहेका ठाउँमा जङ्गली जनावरले अन्य बालीमा भन्दा तोरीमा कम क्षति पु¥याउने भएकाले यसतर्फ किसानहरूको आकर्षण बढेको हुनसक्ने उहाँले बताउनुभयो । तोरीखेती प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकाले तोरीखेतीप्रति किसानको आकर्षण वढ्दै गएको पौडेलको भनाइ छ । पूर्वी चितवनमा खैरहनी, कालिका र रत्ननगर नगरपालिका, पश्चिमी चितवनमा शिवनगर, पार्वतीपुर, शुक्रनगर, मेघौलीलगायत क्षेत्र र माडी नगरपालिकाका विभिन्न क्षेत्रमा तोरीखेती गरिँदै आइएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २४ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ६० पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ३६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ५३ पैसा र बिक्रीदर १०० रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०२ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

साना किसानको १४ प्रतिशत बोनस शेयर पारित

काठमाडौँ, २४ पुसः साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७९/८० मा रु ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०÷८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा रु ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी रु एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०÷८१ मा ३१ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा पु¥याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।

सूर्यदर्शन सहकारी बचत अपचलन: प्रतिवादीहरूको थुनछेक बहस जारी

गण्डकी, २४ पुसः कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।

मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गर्नुभएको थियो ।

यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस चलिरहेको हो । प्रतिवादीहरूको बयान सकिएलगत्तै यही पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुने जनाइएको छ ।

थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

काठमाडौँ, २४ पुसः मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।

भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो ।

भूकम्पको धक्काले अताल्लिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले । हालफाल्दा घाइते भएका उहाँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।

ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउनुहुन्छ । “धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ । यी दुई ठूला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ”, उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्‍यो । यस्ता विपद्बाट मानसिक रोगहरु देखापर्छ । विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरामा ख्याल गर्नुपर्छ ।”

कार्की भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उहाँको भनाइ छ । डा कार्कीले भन्नुभयो, “भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ, यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ ।”

उहाँले फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताउनुभयो । “यस्ता विपद्बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन”, उहाँले भन्नुभयो, “ सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ ।”

अनावश्यक त्रास नफैलाउन आग्रह

खानी तथा भू-गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गर्नुभएको छ । “भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।” उहाँले आधिकारिक सूचनामात्रै ग्रहण गर्न उहाँको आग्रह छ ।

पूर्वतयारी र सचेतनाको जरुरी

केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले भूकम्प गएमा के गर्ने  ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के-के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचनाहरु विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेकोसमेत उल्लेख गर्नुभयो । “भूकम्पका कारण हिमताल फ्ट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं । आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु”, जोशीले भन्नुभयो ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभएको छ । संयमतापूर्वक विपद् व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

किन जान्छ भूकम्प ?

सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ़्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एकअर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन । टेक्टोनिक प्लेटहरुबीचको अन्तरसङ्घर्षको कारणले भूकम्पहरु जाने गर्दछन् । स-साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरुले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्पहरु जाने गर्दछन् ।

“विगतमा हिमालय क्षेत्रमा ठूलाठूला भूकम्प गइसकेका छन् । सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्पहरु हुन्”, केन्द्रले भनेको छ ।

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मा (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ । टेक्टोनिक प्लेटबीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा बिनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ ।

भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको सूचना आएको छैन : ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरका प्रजिअ

विराटनगर, २३ पुसः चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको जानकारी दिनुभयो ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ । ” सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताउनुभयो । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिनुभयो । भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताउनुभयो । उहाँले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिनुभयो ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

बागमती, २३ पुसः बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डिपिआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिनुभयो ।

“नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययनको काम भइसकेको छ”, प्रवक्ता ठाकुरले भन्नुभयो, “टोलीले अध्ययन गरेर अहिले डिपिआर तयार गरिरहेको छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नेगरी काम अघि बढ्ने उहाँको भनाइ छ । अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार भई सञ्चालमा आएपछि पश्चिमी र उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव नहुने उहाँको विश्वास छ ।

यसैगरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको काम सकिएसँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु गरेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएको र तत्काल परीक्षणका लागि पाइप लाइनबाटै पेट्रोल र मट्टितेल ल्याइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो ।

“पाइप लाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइप लाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ”, उहाँले भन्नुभयो, “पाइप लाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।” त्यो सँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्न आवश्यक तयारी भइरहेको उहाँको भनाइ छ ।

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइप लाइनको उद्घाटन गर्ने वा कसरी नियमित आयात सुरु गर्ने विषयमा छलफल भइरहेको जनाउनुहुँदै उहाँले जनवरी २०२५ देखि पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने बताउनुभयो ।

चिसोबाट जोगाउन बिरामीलाई कम्बल वितरण

सिरहा, २३ पुसः लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गर्नुभएको हो ।

सो अवसरमा उहाँले गरिब तथा विपन्न बिरामीलाई शीतलहर र चिसोबाट बच्नका लागि कम्बल सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिनानुदिन चिसो बढ्दै छ, कठ्याङ्ग्रिँदो चिसोले गरिब तथा विपन्न वर्गका बिरामीलाई थप बिरामी पर्नबाट बचाउन सहयोग पुग्छ भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो । यसबाट यहाँ बस्ने बिरामीले न्यानोसँग रात काट्नेछन् ।”

शीतलहरको जोखिमले अस्पतालका बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने जनाउँदै अस्पतालका प्रमुख डा बिजेन्द्रकुमार यादवले कम्बल वितरणले बिरामीको शारीरिक र मानसिक अवस्थामा राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहले गर्नैपर्ने सहयोग अस्पतालाई गरेको आफूहरूले महसुस गरेको धारणा राख्नुभयो । यस अस्पतालमा ६५ शय्या रहेका छन् ।

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौँ, २३ पुसः कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ४८, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु १०५, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २५, बन्दा (नरिवल) प्रतिकेजी रु ३०, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली तराई प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३५, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ६०, मटरकोसा प्रतिकेजी रु ८०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ४०, स्कूस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ९०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु २८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु १००, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १४०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १५०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १८०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । मंगलबार विहान भूकम्प गएपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले सुरक्षित रहन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।’

आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाँै सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

चीनमा नयाँ बिरुवाको प्रजाति भेटियो

चिनियाँ अनुसन्धानकर्ताहरूले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ‘बेगोनियाको नयाँ प्रजाति’ फेला पारेको चिनियाँ विज्ञान प्रतिष्ठानको सिशुआङबान्ना ट्रपिकल बोटानिकल गार्डेन (एक्सटिबीजी) ले जनाएको छ ।

ताइवान जर्नलमा प्रकाशित हालैको अध्ययनमा अन्वेषकहरूले सन् २०२० मा पिंग्जियाङ्ग शहर, गुआङ्सीमा फिल्ड सर्वेक्षणको क्रममा चुनढुङ्गा पहाडमा अज्ञात बेगोनिया प्रजाति पत्ता लगाए । यसलाई ‘बेगोनिया पिंग्जियान्जेन्सिस’ नाम दिए ।
उक्त बिरुवाहरू ३२० मिटरको उचाइमा पहाडको जङ्गल मुनि चट्टानको सतहमा बढ्छन् ।

भूकम्प अपडेट : भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र

काठमाडौँ, २३ पुस ः काठमाडौँ उपत्यकासहित आसपास, तराइ एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आज विहान करिव छ वजेर ५० मिनेट जाँदा भूकम्पको महसुस गरिएको थियो । प्रारम्भिक अनुमानका अनुसार सो क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।