पोखरा विमानस्थल सञ्चालनका सम्बन्धमा होटल सङ्घद्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट


पोखरा अन्तरराष्ट्रिय विमानस्थलको यथोचित सञ्चालनका लागि होटल सङ्घ पोखरा नेपालको टोलीले आज अर्थमन्त्री र युएईका राजदूतसँग छुट्टाछुट्टै भेट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि सङ्घको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका विभिन्न सहरबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडानको पहलका लागि आग्रह गरेको हो ।
भेटमा अर्थमन्त्री पौडेलले पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने बताउनुुभएको होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं होटल सङ्घ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिनुुभयो ।
अर्थमन्त्रीले भेटको क्रममा पोखरा नयाँ पुल सुरुङमार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी गराउनुुभएको थियो । उक्त मार्गको डिपिआर तयार भइसकेको र चालु आर्थिक वर्षको बजेटमा केही रकम समेत छुटिएको जानकारी मन्त्री पौडेलले गराउनुुभएको थियो ।
भेटमा अर्थमन्त्री पौडेलसँग चालु बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पु¥याउनसमेत आग्रह गरिएको थियो । नारायणगढ–बुटवल सडक र स्तरोन्नतिको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तीव्रता दिन मन्त्री पौडेलसँग सङ्घको टोलीले आग्रह गरेको थियो ।
यसैगरी सङ्घको टोलीले काठमाडौँस्थित संयुक्त अरब इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखरा–दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो ।
भेटमा राजदूत अब्दुल्लाले पोखरा दुबई उडानका लागि आफूले फ्लाइ दुबईसँग कुरा राख्ने आश्वासन दिनुुभएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । पोखराको पर्यटन प्रवर्द्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा राजदूत सकारात्मक रहनुुभएको अध्यक्ष सुवेदीले बताउनुुभयो ।