`

प्रधानमन्त्री ओलीको दाबी-‘सरकार जनताको साथमा छ’

Nepal One HD ९ साउन २०८२ २०:०४
नेकपा एमाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक प्रतिकूलतालाई चिर्दै समृद्धि अभियानमा अघि बढेको वर्तमान सरकार जनताका साथमा रहेको बताएका छन् । महोत्तरीको मटिहानी नगरपालिका-६ मा निर्मित अत्याधुनिक सेवा सुविधासहितको प्रसूतिगृहको उद्घाटन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले आमजनताको सक्रिय सहभागितामा समृद्धिको यात्रा सफल हुने भएकाले त्यसमा सरिक हुन सबैसँग अनुरोध गरे ।

नवनिर्मित प्रसूतिगृहले यस भेगका महिलालाई दिने सेवाले सुत्केरी अवस्थाको जोखिम न्यूनीकरणमा योगदान दिने विश्वास व्यक्त गर्दै उनले प्रसूतिगृहको उद्घाटन भएसँगै यस भेगका गर्भवतीलाई राहत मिल्ने र उपचारका अभावमा यसअघि व्याप्त मातृशिशु समस्या समाधान हुने धारणा राखे ।

नवनिर्मित प्रसूतिगृहमा सुत्केरी कक्ष, शल्यक्रिया कक्ष, एनआइसी कक्ष, ओपिडी कक्ष, नर्सिङ कक्ष, फार्मेसी, प्रतीक्षालय र सोधपुछ कक्षसहितका कोठा छन् । बिजुली, खानेपानी र शौचालय सुविधासहितको सो प्रसूति गृह संघीय सरकार र मटिहानी नगरपालिकाको संयुक्त लगानीमा रु एक करोड ८८ लाखको लागतमा निर्माण सम्पन्न भएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

प्रसूतिगृह उद्घाटन समारोहमा लोसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंह तथा मधेश प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *