`

आजको मौसम : पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २३ पुसः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भू–भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

चिया क्षेत्रका समस्या समाधानका निम्ति प्रयास गर्ने महामन्त्री शर्माको प्रतिबद्धता

झापा- नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 धुलाबारीमा कोशी प्रादेशिक चिया समन्वय समितिको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले चिया क्षेत्रका श्रमिक, किसान, उद्योगी तथा व्यवसायीका साझा समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभयो । महामन्त्री शर्माले चिया क्षेत्रका सबैखाले समस्याको दीगो समाधानका लागि ऐन बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि सरकारसँग समन्वय गर्ने बताउनुभयो । 

समितिले चिया निर्यातमा देखिएका समस्याबारे अवगत गराएको थिए । यस्तै, चिया क्षेत्रका लागि हालसम्म ऐन निर्माण नभएको, ऐन–कानुनको अभावमा प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च गर्न कठिनाइ भएको र नेपाल सरकारले चिया क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि आवश्यक ध्यान नदिएको पत्रमा उल्लेख छ ।

समन्वय समितिका सदस्य तथा नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले ९८ प्रतिशत चिया क्षेत्र कोशी प्रदेशमा भए पनि प्रदेश सरकारले यसको व्यवस्थापनका लागि ठोस पहल नगरेको गुनासो गर्नुभयो । 

रु पाँच अर्ब विदेशी मुद्रासहित वार्षिक करिब रु १३ अर्बभन्दा बढीको कारोबार हुने चिया क्षेत्रको व्यवस्थापनका लागि स्पष्ट ऐन कानुन नहुँदा समस्या भएको व्यवसायीको गुनासो छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले ऐन कानुनको अभावमा चिया क्षेत्रले गैरकृषि अवरोध भोग्नु परेको बताउनुभयो । चिया खेतीमा सिँचाइका लागि लगाइएको चर्को विद्युत् महसुल र ‘डिमान्ड चार्ज’ खारेज गरी कृषि सिँचाइजस्तै सहुलियत महसुलको व्यवस्था गर्नुपर्ने माग रहेको उहाँको भनाइ थियो ।

पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै

काठमाडौँ-सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ ।पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि आज बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । परम्पराअनुसार मङ्गलबार रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत रहेको छ ।

यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन

काठमाडौँ, २३ पुसः संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ । यही जनवरी ५ (पुस २१ गते) अबुधाबीबाट करिब तीन सय किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर सञ्चालन गरी सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत सुधारका बारेमा जानकारी गराएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

दूतावासले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनःश्रम स्वीकृतिसम्बन्धी व्यवस्था, वित्तीय साक्षरतालगायत विविध विषयमा जानकारी दिएको हो । 

उक्त घुम्ती शिविरमा तीन सय ३५ जना नेपालीको राहदानी नवीकरण गर्नुका साथै त्यहाँ उपस्थित पाँच सय ५० नेपाली श्रमिकलाई नेपाल र युएईका विद्यमान श्रम कानुनका विषयमा जानकारी प्रदान गरिएको थियो । 

राहदानीको म्याद समाप्त भइसकेका, प्रवेशाज्ञाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिको राजदूतावासले प्राथमिकताका साथ नवीकरण गर्ने गरिएको नेपाली राजदूतावास अबुधाबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शिविरबाट नेपाली श्रमिकले विद्यामान कानुनी प्रक्रियाकाबारे जानकारीसहित राहदानी नवीकरणको सुविधा पाएका छन् ।

लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन

लमजुङ, २३ पुसः चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताउनुभयो । केही वर्षदेखि बर्सेनि सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उहाँले उल्लेख गर्नुभयो ।

गाउँसहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर धिमिरेलगायत ठाउँमा बर्सेनी सुन्तला उत्पादनमा कमी हुँदै आएको थापाले जानकारी दिनुभयो । कार्यालयका अनुसार गत आवमा पनि एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको थियो । आव २०७९/८० मा एक सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट पाँच सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

आव २०७८/२०७९ मा एक सय ८० हेक्टर क्षेत्रफलबाट एक हजार दुई सय ४० मेट्रिकटन, आव २०७७/२०७८ मा दुई सय १३ क्षेत्रफलबाट एक हजार चार सय २४ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि प्रसार अधिकृत थापाले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार सुन्तलाका लागि लमजुङ उपयुक्त क्षेत्र भए पनि पछिल्लो समयमा विभिन्न रोग तथा किराको सङ्क्रमण, किसानमा प्राविधिक ज्ञानको कमी र बेवास्तालगायत कारणले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।

सुन्तलाको बोट र फलमा कत्ले, पतेरोलगायत किराको सङ्क्रमण भई एक बोटबाट अर्को बोटमा सार्ने, सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास आउने रोग), ग्रिनिङ भाइरसलगायत सङ्क्रमण बढ्नेको कृषि प्रसार अधिकृत सरोज थापाले जानकारी दिनुभयो । साथै गोडमेल र स्याहार नहुनु, सिँचाइको अभाव, बिरुवा छनोटजस्ता प्राविधिक विषयमा किसानसँग ज्ञान नहुँदा सुन्तला बगैँचा मासिँदै गएको उहाँको भनाइ छ ।

जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा खपत हुने गर्दछ । विगतमा लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गर्ने गरिएकामा केही वर्षयता एक सय ३० हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादन कम हुँदा बाहिरी जिल्लाका सुन्तलाले स्थानीय बजार लिएका व्यापारी बताउँछन् ।

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौँ, २३ पुसः विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु नौ अर्ब ९६ करोड लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्षसमेत रहनुभएमा प्रवर्द्धक मोहनकुमार डाँगीले जानकारी दिनुभयो । यस आयोजनामा रु ७४ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने रु एक अर्ब ७४ करोड बराबरको लगानी सञ्चालक एवं प्रवर्द्धकले गर्नेछन् ।

साथै लमजुङमा आयोजनास्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैंकले रु १६ अर्ब बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले रु सात अर्ब, ग्लोबल आइएमइ बैंकले रु छ अर्ब र प्रभु बैंकले रु तीन अर्ब बराबरको लगानी गर्ने भएका हुन् । सो आयोजनाको कूल लागत रु २१ अर्ब ४० करोड बराबर रहनेछ । कूल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैंकले र २५ दशमलव २३ प्रतिशत प्रवर्द्धकले लगानी गर्नेछन् ।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्रसमेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ ।

इपानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमशः वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ । उहाँले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

अमेरिकी डलर उकालो लाग्दा, अन्य मुद्राको अवस्था यस्तो छ

काठमाडौँ, २३ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो ।

अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

समितिको प्रभावकारिता अभिवृद्धि गर्न राष्ट्रिय सभा अध्यक्षद्वारा समिति सभापति र सचिवसँग छलफल

काठमाडौँ, २२ पुस : राष्ट्रियसभाका समितिको प्रभावकारिता र आसन्न हिउँदे अधिवेशनलगायत विषयमा अध्यक्ष नारायणप्रसाद दाहालले समिति सभापति र सचिवसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको छलफलमा अध्यक्ष दाहालले राष्ट्रियसभाअन्तर्गतका चार सभापति र सचिवबाट समितिले सम्पादन गरेका काम कारबाही एवं समस्याका विषयमा जानकारी लिनुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले समितिको प्रभावकारिता समितिको सक्रियता र समन्वयात्मक भूमिकाले निर्धारण गर्ने भएकाले समितिलाई सधैँ सक्रिय बनाइराख्न सभापतिहरुलाई आग्रह गर्नुभयो । संसद्को मुख्य काम कानुन निर्माण र संसदीय निगरानी भएको चर्चा गर्दै उहाँले सरकारलाई ‘विजनेस’ दिन आग्रह गरेको बताउनुभयो ।

“मैले मेरो तहबाट सरकारलाई, प्रधानमन्त्रीज्यू, कानुनमन्त्रीलाई जतिसक्यो धेरै विधेयकहरु ल्याइदिनुस्, हामीलाई विजनेस दिनुस् भनेकै छु”, अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले संसदलाई विजनेस दिन गम्भीर बनोस् भन्ने हामी सबैको चाहना हो ।”

छलफलमा राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले समितिका काम कारबाही प्रभावकारी बनाउन सबैले आपसी छलफल, समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताउनुभयो । समितिले दिने निर्देशनहरु किन कार्यान्वयन भइरहेका छैनन् भन्ने विषय पनि खोज्नुपर्ने बताउनुभयो । कार्यान्वयन गर्ने निकायहरु सधैँ पन्छिन खोज्ने प्रवृत्ति पुरानै रहेको उहाँको भनाइ थियो ।

छलफलमा सभापति र सचिवले समितिमा काम गर्दा आइपरेका समस्या, चुनौती र सम्पादन गरेका कामबारे जानकारी गराउनुभएको थियो । समितिले दिएका सुझाव तथा निर्देशन कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको, समिति बैठकमा मन्त्री एवं सचिवलाई ल्याउन निकै कठिनाइ हुने गरेको, अध्ययन/अनुगमनमा जाँदा समस्या हुने गरेको, स्रोत साधनको अभाव हुने गरेकोलगायत समस्या सभापतिहरुले राख्नुभएको थियो ।

छलफलका क्रममा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्त, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहाल, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रियसभा सचिव डा सुरेन्द्र अर्याल, सचिवालय सचिव एवं समिति सचिव डा रोजनाथ पाण्डे, समिति सचिव मनोज गिरी, सीता काफ्ले वाग्ले, सञ्जय दाहाल, उपसचिव नुमराज खनाल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

‘नागरिकका गुनासोप्रति निरपेक्ष रहन मिल्दैन’ – गृहमन्त्री लेखक

काठमाडौँ, २२ पुस : गृहमन्त्री रमेश लेखकले नागरिकका गुनासाप्रति संसदीय समिति निरपेक्ष रहन नहुने बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा आजको छलफलमा प्राप्त उजुरीका सम्बन्धमा समिति सदस्यबाट उठाइएका प्रश्नमा उहाँले समितिले नागरिकका गुनासो र उजुरी सुन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “कुनै नागरिकले आफ्नो निर्वाचित सर्वाेच्च संस्था संसद्समक्ष पीर, मर्का, गुनासा, चिन्ता, चासो व्यक्त गरिएमा त्यसलाई नजरअन्दाज गर्न मिल्दैन ।”

नागरिकबाटै निर्वाचित भएर आएकाले संसद् र संसदीय समितिमा नागरिकले गुनासो नगरे कहाँ र कसलाई गर्ने भन्दै उहाँले त्यसरी आएका गुनासा र उजुरीलाई वर्गीकृत गरी हेर्न सुझाव दिनुभयो ।

गृहमन्त्री लेखकले नियमावलीमा समितिको कार्यक्षेत्र तोकिएकाले कार्यकारिणी, विधायिकी र न्यायपालिकाको सीमा र अधिकार क्षेत्र यकिन गरी त्यहाँ पठाइएका उजुरीको अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।

जाजरकोट, डोटी, बाजुरालगायत पश्चिम नेपालमा अघिल्लो वर्षको भूकम्प र यसै वर्ष बाढीपहिरोबाट प्रभावितले जाडोयाममा भोग्नुपरेका कठिनाइ र मानवीय संवेदना बुझेर सरकारले काम अघि बढाएको उहाँले उल्लेख गर्नुभयो । “कानुनी, प्रशासकीय र आर्थिक कारणले राहत र पुनःनिर्माण अघि बढाउन ढिलो भए पनि हालै मन्त्रिपरिषद्ले मापदण्ड पारित गरिसकेको हुँदा अब केही दिनमै पुनःनिर्माणको काम अघि बढ्छ”, मन्त्री लेखकले भन्नुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहभागितामा क्षतिको यकिन विश्लेषण भएका स्थानमा पुनःनिर्माण तथा नभएका स्थानमा क्षति यकिन गर्ने काम अघि बढाइने विश्वास दिलाउनुभयो ।

यसअघि सदस्यहरूले समिति बैठकमा प्राप्त उजुरी छलफलको सीमा, मापदण्ड, कार्यक्षेत्र तथा उठाइका विषय छलफल गरी टुङ्गो लगाउन सकिने सम्भावनाबारे जिज्ञासा राख्नुभएको थियो । केही सदस्यले भने विधेयक टुङगोमा पु¥याउने प्रमुख जिम्मेवारीलाई छोडेर उजुरी हेर्न लाग्दा ऐन निर्माण प्रभावित हुन सक्नेतर्फ गम्भीर हुन ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदहरू ईश्वरी न्यौपाने, डा चन्दा कार्की, कृष्ण गोपाल श्रेष्ठलगायतले समितिप्रतिको विश्वासकै कारण धेरै उजुरी प्राप्त हुने गरेको भन्दै कार्यक्षेत्रमा पर्ने गुनासा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

बैठकले समितिमा प्राप्त र कार्यक्षेत्रअनुसारका उजुरीलाई कसरी अघि बढाउने भन्नेबारे निक्र्याैल गर्न उपसमिति गठन गर्ने र प्राप्त हुने सुझावका आधारमा अघि बढ्ने विषयमा सहमति जनाएको छ । समिति सभापति रामहरि खतिवडाले समितिमा ९२ उजुरी र निवेलन प्राप्त भएकामा ५८ वटा दर्ता भएको जानकारी दिनुभयो ।

वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना

काठमाडौँ, २२ पुसः नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएका बताउनुभयो । उहाँका अनुसार सर्पले डसेर मात्रै ७० जनाको मृत्यु भएको छ भने पाँच सय ३२ जना घाइते भएका छन् ।

यस्तै, गैंडाको आक्रमणबाट चारको मृत्यु र १४ जना घाइते तथा बाघको आक्रमणबाट तीनको मृत्यु र २४ जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट छको मृत्यु र १४ जना घाइते तथा भालुको आक्रमणबाट १५ जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मुख्यगरी निकुञ्ज आसपास क्षेत्रका बस्तीमा वन्यजन्तुको आक्रमण हुने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन र जङ्गली तरकारी खोज्न जाँदा वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको जनाइएको छ । पछिल्लो समयमा भने बस्तीमै प्रवेश गरी वन्यजन्तुले हानी पु¥याउने गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले आहाराको खोजी र विभिन्न कारणले बस्तीमा प्रवेश गर्ने वन्यजन्तु नियन्त्रणका लागि निकुञ्जले काम गरिरहेको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा पनि जनावरको आक्रमणका घटना भएका छन् । जङ्गली हात्ती बस्तीमा प्रवेश गरी मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई जनाको घर भत्काएर खाद्यान्न खाइदिएको र दमकमा पनि हात्तीले एक घर भत्काएको प्रहरीले जनाएको छ । यस्तै बर्दिया, रौतहट र पाल्पामा पनि जङ्गली जनावरले घर तथा बाली नष्ट गरेको छ । भालुले आक्रमण गर्दा पाल्पामा एक जना घाइते भएका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

सवारी साधनको भाडादर तीन दशमलव ३० प्रतिशत वृद्धि

काठमाडौँ, २२ पुस : यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ ।

यात्रुवाहक सवारीमा तीन दशमलव ३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव ८१ र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव ०५ प्रतिशत भाडा वृद्धि गरिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगतदेखि सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानिँदै आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको यही पुस ११ गतेको सहमतिमा भाडा वृद्धि गरिएको विभागले जनाएको छ । निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानी २०७८ असार २७ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको सहमतिमा २०७८ असार २९ गते भाडादर समायोजन गरिएको थियो । त्यसपछि इन्धनमा पाँच प्रतिशत मूल्य घटी वा बढी हुँदा भाडादर समायोजन हुँदै आएको छ । अन्तिमपटक २०८० भदौ ३१ गते भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

एउटै प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनमा भने भाडा वृद्धि भएको छैन । विभागका महानिर्देशक राजीव पोखरेलले प्रत्येक वर्षको चैत महिनामा भाडा समायोजन गर्ने व्यवस्था भए पनि दुई वर्षदेखि समायोजन नभएकाले यसपटक गरिएको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलन कमजोर हुँदा राजनीतिमा समस्या : अध्यक्ष नेपाल

काठमाडौँ, २२ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा समस्या देखापरेको बताउनुभएको छ ।

केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी निकट निर्वाचन आयोगका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्टहरूमा बढ्दै गएको व्यक्तिवादी चरित्र तथा स्वेच्छाचारी प्रवृत्तिले समस्या आएको बताउनुभएको हो ।

वर्तमान अवस्थामा देखापरेका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै उहाँले सङ्कटको सामना गर्ने वैचारिक सामथ्र्य एकीकृत समाजवादीसँग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समस्यालाई राम्ररी हल गर्ने गरी सकारात्मक कुरा लिएर गाउँमा जानुपर्छ । आफू बलियो भएपछि मात्रै अरुले पत्याउँछन् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले गाउँ बलियो बनाउन नेताहरूले जनताको बीचमा गएर उनीहरूको दुःख सुखमा साथ दिनुपर्ने बताउनुभयो ।

पार्टी महासचिव घनश्याम भुसालले वाम आन्दोलन सङ्कटमा परेकोमा चिन्ता प्रकट गर्नुभयो । हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय राजनीतिमा अघि सारेको योजनाअनुरुप आन्दोलनद्वारा पार्टी निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयोग अध्यक्ष माधव पौडेलले आयोगका नेताहरूलाई स्थानीय भूगोलको जिम्मेवारी दिनुपर्ने बताउँदै यसपालीको कार्य विभाजनले राम्रो काम गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, २२ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी केशवबहादुर सुनारसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

प्रतिवादी ठूलीभेरी नगरपालिकाका तत्कालीन् निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनार, इन्जिनियर बसन्त रोकाया र सब–इन्जिनियर विकास खत्री उपर भ्रष्टाचार निवारण ऐन २०५९को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसूरमा बिगो रु ३२ लाख २९ हजार दुई सय ७२ कायम गरेको थियो । सोही ऐन बमोजिम उल्लेखित बिगोमध्ये रु १९ लाख ८६ हजार पाँच सय ७५ बैंकमा जम्मा गरिसकेको देखिँदा बाँकी बिगो रु १२ लाख ४२ हजार छ सय ९७ असुल उपर हुनुपर्ने ठहर आयोगको थियो । 

गलत प्रतिवेदन पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको समेत कसूर गरेकाले  निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत सजाय हुनुपर्ने आयोगको मागदावी रहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 

प्रतिवादी सडक निर्माण योजना निरीक्षण तथा अनुगमन समितिका सदस्य कर्णबहादुर रोकाया, काली सार्की र टोपबहादुर चन उपर पनि सजाय हुनुपर्ने माग आयोगको थियो । उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड विक्रम शाही, कोषाध्यक्ष सुना कामी र सचिव टोपबहादुर शाहीले बिगो बापतको बाँकी रकम ऐनको दफा ८ को उपदफा (४) बमोजिम जफत हुनुपर्ने मागदावी आयोगले गरेको थियो ।

विशेष अदालत, काठमाडौँले २०८० पुस २६ गतेको फैसलाबाट सफाइ दिएकाले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपरेको प्रवक्ता घिमिरेले बताउनुभयो ।

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत

काठमाडौँ, २२ पुसः सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ । न्यायाधीश डा नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८१ भदौ २५ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आज सर्वोच्चले व्यक्तिलाई गोपनीयता, वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक भएकाले त्यस्ता सूचनामा पहुँच नदिन भनेको हो ।

“कुनै पनि व्यक्तिको व्यक्तिगत लिखत, तथ्याङ्क र पत्राचार आदि कानुनबमोजिम बाहेक अनतिक्रम्य हुने संवैधानिक व्यवस्था छ, यस्तो हकको संरक्षण गर्नु राज्यको दायित्व हुने विषयमा विवाद भएन । व्यक्तिगत सूचनामा अनधिकृत रूपमा हुने कुनै पनि प्रकारको पहुँचले व्यक्तिको गोपनीयताको हक, वैयक्तिक स्वतन्त्रताको हक र सम्मानपूर्वक बाँच्न पाउने हकजस्ता मौलिकहकसम्बन्धी संवैधानिक व्यवस्थाको समेत गम्भीर उल्लङ्घन हुने भएकाले बिलिङ प्रणालीको खरिद तथा जडान कार्यमा समेत त्यस्ता मौलिक हक संरक्षणको सुनिश्चितता र यससम्बन्धी खरिद प्रक्रियामा स्वार्थको द्वन्द्व नहुने अवस्थाको सुनिश्चितता गर्नू”, फैसलाको पूर्णपाठमा भनिएको छ । 

फैसलामा बोलपत्रबमोजिम खरिद गरिने ‘बिलिङ’ प्रणालीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवाग्राहीको मोबाइल फोनमा रहेका सूचना र तथ्याङ्कसम्म आपूर्तिकर्ताको पहुँच पुग्ने र यसबाट नागरिकका संवेदनशील एवं गोप्य सूचना जोखिममा पर्ने भनी जिकिर लिएको अवस्था देखिएको उल्लेख छ । फैसलामा भनिएको छ, “त्यस्तो स्थिति उत्पन्न भएमा नागरिकका वैयक्तिक स्वतन्त्रता र मर्यादाको संरक्षण तथा राष्ट्रिय सार्वभौमिकता एवम् सुरक्षामा समेत गम्भीर आघात पर्न जान्छ ।”

नेपाल टेलिकमले एकीकृत ‘बिलिङ’ प्रणालीलाई विस्थापित गरी ‘सीआरटीबी’ प्रणाली जडान गर्न गत चैत १८ गते बोलपत्रसमेत आह्वान गरेको थियो । उक्त कार्य नयाँ नभई त्रुटिपूर्ण, खर्चिलो र ग्राहकको गोपनीयता चुहिन सक्ने तथा नेपाल टेलिकमलाई आर्थिक क्षति हुने प्रक्रिया भएको भन्दै रीता कार्कीले सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो । उक्त निवेदनमाथिको सुनवाइपछि यस्तो फैसलामा भएको हो ।  

“कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी मितव्ययीसमेत हुनुपर्ने हुन्छ । लामो समयसम्म अवरुद्ध खरिद प्रक्रियाको पुनः सुरुआत गर्दा कम्पनीको सञ्चालक समितिले कम्पनीको हितलाई अधिकतम ख्याल गरी खरिद प्रक्रिया अघि बढाउने भनी निर्णय गरेको र खरिद प्रक्रियामा बोलपत्रका सर्तको व्याख्या गर्दा कम्पनीको अधिकतम हितलाई ध्यानमा राखी प्रत्यर्थी कम्पनीलाई थप आर्थिक व्ययभार नपर्ने गरी सम्झौताको व्याख्या तथा कार्यान्वयन गर्नू÷गराउनू”, फैसलामा भनिएको छ । 

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, २२ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा नम्रता सिंहसहित आठ जना र एउटा कृषि फार्मविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आव २०७९/०८० मा मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख एवं कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको, नक्कली बिल भरपाइका आधारमा भुक्तानी दिएको र ‘स्पेशिफिकेशन’ अनुसारको सामान खरिद नगरेका भन्दै उजुरी परेअनुसार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

उजुरीमा अनुसन्धान हुँदा मन्त्रालयको सहकार्यमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि वरिष्ठ कृषि अर्थविज्ञको संयोजकत्वमा गठन भएको प्रस्ताव छनौट समितिले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, महोत्तरीबाट प्राप्त प्रस्तावको सूची बनाउने गरी विसं २०७९ पुस ५ गते नै निर्णय भई सूचनामा निर्धारित समयभित्र प्रस्ताव पेस नगर्ने कुनै पनि फर्म, कम्पनी वा व्यक्ति मन्त्रालयको सहकार्यमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका लागि सहभागी हुन नपाउने कानुनी प्रावधान रहेको थियो । 

सूचीमा समावेश हुन नसकेको, निर्धारित समयमा प्रक्रियामा संलग्न नै नरहेको युवरानी मत्स्य तथा कृषि फार्म प्रालि, औरही–३, महोत्तरीलाई सहभागी गराउनु भनी तोक आदेश गर्ने, प्रस्तावको सूचीमा समावेशको निर्णय गर्ने, एकापसमा मिलेमतो गरी उक्त कृषि फार्मको एउटा मात्र प्रस्तावको लागि मिति २०७९ माघ १० गते पुनः बैठक बसी प्रारम्भिक सूचीमा समावेश गर्ने गरी छनौट गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आव २०७९/०८० मा मन्त्रालयबाट सञ्चालित सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमअन्तर्गत अनुदानग्राही कृषि फार्म र  मन्त्रालयबीच २०७९ चैत २९ को कार्यक्रम सम्झौतामा दोस्रो पक्षको दायित्व रकम रु एक करोड ४७ लाख ८४ हजार हुने र उक्त दायित्व बराबरको बैंक ग्यारेन्टी प्रथम पक्षसमक्ष पेस गरेपछि प्रथम पक्षले खरिद प्रक्रिया अगाडि बढाउनेछ भन्ने उल्लेख भएको जनाइएको छ । लाभग्राही कृषि फार्मले पेस गरेको ‘स्पेशिफिकेशन’ को लागत अनुमानलाई कुनै तुलना वा जाँच नगरी स्वीकृत गरेको पाइएको प्रवक्ता घिमिरेले बताउनुभयो । 

एक वर्ष एक महिनाको म्याद भएको रु ११ लाख ३२ हजारको बैंक ग्यारेन्टीसहित सम्झौता गर्न आउन पत्राचार गरेकामा बैक ग्यारेन्टीबिना नै मिति २०८० असार १० गते सम्झौता गरेको, सम्झौता गरेको मितिभन्दा तीन दिनपछि रु ११ लाखको बैंक ग्यारेन्टी पेस गरेकामा बैंकबाट जारी भए÷नभएको यकिन नै नगरी रु ३२ हजार घटीको नक्कली बैंक ग्यारेन्टीलाई नै स्वीकार गरेको अख्तियारले जनाएको छ ।

 अनुदान रकम भुक्तानीका लागि सामान खरिद गरेको रु दुई करोड २६  लाख ४० हजारको बिललगायत कागजात कृषि फार्मले २०८० असार १५ गते पेस गरेकामा उक्त बिलमा मूल्य अभिवृद्धि कर अस्वाभाविक रूपमा कम उल्लेख भएको पाइएको अख्तियारले जनाएको छ । भुक्तानीका लागि निवेदन पेस गरेकाभन्दा पछि २०८० असार १८ र १९ मा पेस गरेको भन्सार प्रज्ञापनपत्रमा सो कुरा स्वीकार गरिएको अनुसन्धानका क्रममा भेटिएको अख्तियारले जिकिर गरेको छ । 

शङ्करप्रसाद साहसमेतको भ्रमण टोलीले स्थलगत भ्रमण गरी पेस गरेको भ्रमण प्रतिवेदनमा कृषि फार्मको अनुगमन गर्दा दाना उद्योग विस्तारको लागि आवश्यक यन्त्र जडान गरिरहेको तर यन्त्र यकिन गर्न सकिने अवस्थामा नरहेको व्यहोरा उल्लेख गर्नुका साथै प्राविधिक ‘स्पेसिफिकेसन’ को ‘भेरिफिकेसन’ प्रतिवेदनमा कतिपय उपकरणमा क्षमता प्रमाणित गरिएको छैन भन्ने उल्लेख हुँदाहुँदै कार्यसम्पन्न प्रतिवेदन तयार गरी सोही वर्षको असार २२ मा अनुदान रकम भुक्तानीको लागि टिप्पणी पेस गरी भुक्तानी आदेश स्वीकृत गरी÷गराई सोही असार २३ मा अग्रीम आयकर कट्टा गरी रु ९६ लाख ६९ हजार ३३६ भुक्तानी गरेको देखिएको छ । 

बैंक ग्यारेन्टीबिना नै सम्झौता गरी त्यसअनुसार कार्यसम्पन्न नहुँदै काम सकिएको प्रतिवेदन तयार गरी, लाभग्राही फार्मले अनुदानमा प्राप्त हुने मेसिनरी औजार तथा उपकरण खरिद नै नगरी पहिलाको सामानलाई अनुदान लिने उद्देश्यले भन्सार प्रज्ञापन पत्रको मिति र निर्यातकर्ताको विवरण सच्याइ सामान नै नल्याई ल्याएको नक्कली प्रज्ञापनपत्र तथा खरिद प्रक्रियामा आवश्यक पर्ने बैंक ग्यारेन्टीका नक्कली कागजात तयार गरी÷गराई सरकारी कोषबाट रु एक करोड भुक्तानी दिएको अख्तियारको आरोप छ । 

मन्त्रालयका तत्कालीन सचिव सिंहलाई रु एक करोड बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय ङ बमोजिमको कसुरमा सजाय माग दाबी गरिएको अख्तियारले जनाएको छ । मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थ विज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका कार्यालय प्रमुख (सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका संयोजक) साहलाई पनि रु एक करोड, मन्त्रालयका कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, मन्त्रालयका सहलेखापाल ब्रजेकुमार साह, कृषि फार्मका सञ्चालक एवं अध्यक्ष लक्ष्मीनारायण यादवसँग पनि रु एक÷एक करोड बिगोसहित भ्रष्टाचार निवारण ऐनबमोजिम कसुरमा सजाय माग दाबी गरिएको छ ।

मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय मधेस प्रदेशका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) मतियारको कसुरमा दफा २२ बमोजिम मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुन माग दाबीसहित आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि

काठमाडौँ, २२ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले भोलि मङ्गलबार पनि बैठक हुने भएको छ ।

आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ ।

नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षक नेपाल आइपुगे

काठमाडौँ २२ पुस : नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि केही विदेशी खेलाडी र प्रशिक्षक नेपाल आइपुगेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बङ्गलादेशबाट पाँच खेलाडी आइसकेको आयोजकले जनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आगामी माघ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाउन आउने पहिलो विदेशी खेलाडी आलोक सिंह रहेका छन् । भारतीय प्रशिक्षक आलोक काठमाण्डु माभरिक्सको टिम सम्हाल्न नेपाल आइपुगेका हुन् । पोखरा लेकर्सले भारतबाटै प्रशिक्षक भित्र्याएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो ।

धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन् । एनकेएलमा आबद्ध बङ्गलादेशका चार खेलाडी पनि त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् । काठमाडु माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात काठमाडौँ आइपुगेका छन् ।

एनकेएलको पहिलो सिजनमा आबद्ध १७ विदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने आयोजक एनकेएलले जनाएको छ । दुई हप्तासम्म चल्ने उक्त प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

खाँदबारीमा तीनपोखरी कप फुटबल प्रतियोगिता हुने

खाँदबारी (सङ्खुवासभा), २२ पुस : जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुनेभएको छ । आयोजक तीनपोखरी समाज विकास क्लबले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

खाँदबारी रङ्गशालामा हुने फुटबल प्रतियोगितामा कोशी प्रदेश सशस्त्र प्रहरी, बुल्स ११ भौसाबारी मोरङ, चुलाचुली स्पोर्टिङ क्लब झापासहित सङ्खुवासभाका पाँच टिम सहभागी हुने आयोजकले जनाएको छ  । प्रतियोगितामा खाँदबारी युथ, एड्भान्स क्लब, मकालु फ्रेन्ड्स, शीतलपाटी युथ र आयोजक तीनपोखरी समाज विकास क्लब सहभागी रहने क्लबका अध्यक्ष मिनेश चापागाईंले बताउनुभयो । 

प्रतियोगिताको विजयी टिमले नगद रु दुई लाख २५ हजार र उपविजेताले रु एक लाख १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा

काठमाडौँ, २२ पुसः जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

वीरगञ्जमा सम्पन्न खेलमा आर्मीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेल समाप्त हुँदा पाँच विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सफल भयो ।  

आइतबार टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा ३४ दशमलव चार ओभर खेल्दै १० विकेटको क्षतिमा एक सय २१ मात्र बनायो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिए । साथै कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक/एक विकेट लिए ।

त्यसपछि ब्याटिङमा उत्रिएको पुलिसको पनि ब्याटिङ राम्रो भएन । कूल ३३ दशमलव एक ओभर खेल्ने क्रममा अलआउट हुँदै पुलिसले एक सय २५ रन बनायो । यद्यपि पुलिसले आर्मीसँग चार रनको अग्रता कायम गर्यो । 
आर्मीका लागि सहाब आलिम एक्लैले आठ विकेट लिए । साथै सोमपाल कामी र पवन कार्कीले एक/एक विकेट लिए ।

पहिलो पारीमा चार रनले पछि परेको आर्मीले दोस्रो पारीमा सोमपाल कामीको ८२ रनको उत्कृष्ट पारीको सहायतामा अलआउट हुनुअघि एक सय ७५ रन बनायो । एक सय ७१ रनले अघि रहेको आर्मीले पुलिसलाई एक सय ७२ रनको लक्ष्य दिएको थियो । आर्मीका लागि दोस्रो पारीमा तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । पुलिसका लागि दोस्रो पारीमा कुशल भुर्तेलले चार विकेट लिए भने गुलशन झाले तीन, ललित राजवंशीले दुई र राशिद खानले एक विकेट लिए ।

कूल १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्राे पारीमा ४० दशमलव तीन ओभर खेल्ने क्रममा ८८ रन बनाउँदा खेल सकियो । उसका लागि अमिर श्रेष्ठले सर्वाधिक ३६ रनको योगदान दिए भने अर्जुन साउदले १९ रन बनाए । 

आर्मीका लागि आकाश चन्द र साहब आलमले समान दुई  विकेट लिए भने पवन कार्कीले एक विकेट लिए ।

जारी प्रतियोगिताको आजै सम्पन्न मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ । प्रतियोगिताको तेस्रो खेल यही पुस २८ गते मधेस प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछभने चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

डब्लु.ओ.डी.नेपाल आगामी माघ २४ गते हुँदै

काठमाडौँ । अमेरिकामा सहित विश्वका २५ देशहरुमा हुदै आएको डान्सको चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरुका लागी उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्राएको हो । वल्र्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलन गरि जुरी टिम, ट्रफिसँगै बिजेताले पाउने पुरस्कार लगायतका बिषयमा जानकारी गराइयो ।

यसमा देशैभरीबाट आवेदन परेका डान्सरहरुले बिभिन्न चरण पारगर्दै बिजेता बन्नेछन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीनसय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ । यो रियालिटी शो नभई एक डान्स कम्पिटिसन शो हो । जसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै बिजेता छनौट गरिनेछ । बिजेता टिमले अमेरिकामा यहि २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म आयोजना हुने वल्र्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन् । जसमा २५ देशका बिजेताहरु बिच प्रतिस्पर्धा हुनेछ ।

यसमा सहभागी हुने टिमहरुलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समुहका डान्सरले सहभागी लिन पाउनेछन् । साथै यसमा एकजना, दुईजना, तीनजना अथवा चारजनासम्मको एक टिम बनेर डान्स गर्न पाउनेछन् । दोस्रो सिनिअर टिम डिभिजन, यसमा १८ बर्ष भन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टिम डिभिजन, यसमा १८ वा १८ बर्ष भन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउनेछन् ।

सहभागी तीन डिभिजनकै बिजेताले एक÷एक लाख नगद पुरस्कार पाउनेछन् । यस्तै अमेरिकामा हुने डब्लु.ओ.डीमा भने सिनिअर र जुनिअर टिम डिभिजनमा बिजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउनेछ । सिनिअर टिम डिभिजन र सुनिअर टिम डिभिजनले मात्र अमेरिकामा हुने डब्लु.ओ.डी.मा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिए । रोशनका अनुसार नेपालमा अहिलेसम्म नृत्यकै लागी भनेर यस्तो किसिमका शो नआएको र डब्लु.ओ.डी.नेपाल नृत्यमा भविष्य बनाउन चाहनेहरुका लागी उत्कृष्ट शो बन्नेमा विश्वास दिलाए ।

यस्तै आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टलेकी सिईओ सजिना तामाङले नेपालमा डब्लु.ओ.डी.जस्तो प्रतिष्ठित शोलाई नेपाल भित्राउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपालबाट राम्रो डान्सर विश्वको ठुलो प्लेटफर्ममा पुगेर नेपाललाई चिनाउन लागेको भन्दै सम्पुर्ण प्रतियोगीहरुलाई शुभकामना दिइन् । शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन् । शोको इभेन्ट कन्सल्टेन्टको रुपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् । प्रशान्तले पनि डान्सरहरुका लागी नेपालमा बल्ल उपयुक्त स्टेज आएको भन्दै सहभागीहरुलाई शुभकामना दिए ।

श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौँ, २२ पुस : श्रम प्रशासनलाई चुस्त, दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना तथा तथ्याङ्क आदानप्रदान गर्ने सम्झौता भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमबीच विभागका तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गर्नुभयो । एक अर्कालाई आवश्यक सूचना तथा तथ्याङ्क अनलाइनको माध्यमबाट आदानप्रदान गरी श्रमसम्बन्धी कानुनको परिपालनाका साथै सामाजिक सुरक्षाको सुनिश्चतता गराउने उद्देश्यका साथ दुई निकायबीच सम्झौता भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

    यस सम्भौताबाट दुवै निकायले श्रम कानूनको परिपालना, सामाजिक सुरक्षाको सुनिश्चितताको विषयमा श्रम निरीक्षण, श्रम लेखापरीक्षण तथा अनुगमनका क्रममा प्रभावकारितामा वृद्धि हुन गई श्रम कानुन परिपालना हुने विश्वास लिइएको छ ।

सम्झौतासँगै व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, औपचारिकताको प्रवर्द्वन हुने, असल श्रम सम्बन्ध कायम भई उत्पादकत्व वृद्धि हुनुका साथै सुशासन प्रवर्द्धन एवं श्रम सम्बन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा टेवा पुग्ने मन्त्रालयले जनाएको छ ।

सो अवसरमा श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सम्झौताबाट श्रमिकका हकहित थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सहयोग पुग्ने बताउनुभयो ।

मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने

मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उहाँले बाँकी सजाय घरमा नै बिताउन पाउने हुनुभएको छ ।

सार्वभौम सम्पत्ति कोष वानएमडीबीको लुटपाटसँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा छ वर्षको जेल सजाय काटिरहेका ७१ वर्षीय नाजिबले सन् २०१८ को चुनावमा भ्रष्टाचार आरोपका कारण निर्वाचनमा पराजय भोग्नुपरेको थियो ।

उहाँले आर्थिक घोटालासँग सम्बन्धित अन्य थुप्रै मुद्दाहरूको सामना गरिरहनुभएको छ ।

पूर्वराजाले उहाँलाई आफ्नो बाँकी सजाय स्वदेशमा नै बिताउन अनुमति दिने आदेशको आधारमा पुनरावेदन अदालतमा बहसको भएको थियो ।

तीन सदस्यीय बेन्चले २–१ ले नजिबको अपिललाई उच्च अदालतमा आफ्नो मुद्दाको बहसका लागि शाही घोषणाको प्रयोग गर्न अनुमति दिने फैसला सुनाएको हो ।

“घोषणाको अस्तित्वको कुनै चुनौती छैन भन्ने तथ्यलाई ध्यानमा राख्दै, आदेशको पालना गरिएको छैन भन्ने कुनै आधार भेटिएन,” फैसलामा सम्लग्न तीन न्यायाधीशमध्ये एक मोहम्मद फिरुज जाफ्रिलले भन्नुभयो ।

उच्च अदालतले जुलाईमा फैसला सुनाएको थियो । कागजातको अस्तित्वको बारेमा नजिबको दावीलाई समर्थन गर्ने शपथपत्रहरू प्रमाणको रूपमा अस्वीकार्य थिए । वादीले दावी गरेका ती प्रमाणहरू लिखितरूपमा थिएनन् ।

सोमबारको फैसलाको अर्थ यो मुद्दा फेरि उच्च अदालतमा जानेछ, जहाँ नजिबलाई नजरबन्दमा राख्ने प्रयासलाई समर्थन गर्न प्रमाणको रूपमा शाही घोषणा पेश गर्न सकिन्छ ।

सन् २०२० को जुलाईमा नाजिबलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो तर पछि क्षमादान बोर्डले उक्त सजाय आधा घटाएको थियो ।

उहाँले ५० करोड अमेरिकी डलरभन्दा बढी घूस र सम्पत्ति शुद्धीकरणका विभिन्न अभियोगमा संलग्नता रहेको भनिएको भ्रष्टाचारको आरोपविरुद्ध पनि आफ्नो बचाउ गरिरहनुभएको छ ।

भारतमा एचएमपिभी मामिलाहरू बढेर तीन पुग्यो

भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ ।
पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्षिणी राज्यमा दुईवटा घटनाहरू पुष्टि भएका थिए ।

गुजरातमा एचएमपिभी केस पुष्टि गर्दै राज्यका स्वास्थ्य मन्त्री रुषिकेश पटेलले भन्नुभयो,“ दुई महिनाको शिशु छिमेकी राज्य राजस्थानबाट आएको हो ।”

देशमा तीनवटा एचएमपिभी मामिलाहरू फेला परेको प्रतिक्रियामा राष्ट्रिय राजधानी दिल्लीमा आवश्यक स्वास्थ्य तयारी उपायहरू सुरु गरिएको छ ।

नेता कार्यकर्तालाई श्रम अभियानमा जोड्न नेतृत्वलाई माओवादी नेताहरुको सुझाव

काठमाडौँ, २२ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले पार्टीलाई उत्पादनसँग जोड्न अध्यक्षसहित सम्पूर्ण नेता कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।

    राजधानीमा जारी आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रस्तावमाथिको छलफलमा नेताहरुले प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्नेमा जोड दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

   बैठकमा आज ८० जनाले आफ्नो धारणा राख्नुभएको थियो । अधिकांश नेताहरुले कम्युनिष्ट पार्टीका नेताहरुको जीवनशैली पारदर्शी, उच्च नैतिक चरित्रवान्, जनताको मन जित्ने बोली र व्यवहार हुनुपर्नेमा जोड दिएका थिए ।

   नेताहरुले पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, पार्टीभित्रको दण्डहीनतालाई प्रश्रय दिन नहुने, पार्टीका सबै संरचनालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने धारणा राखे । आसन्न निर्वाचन केन्द्रित रहेर मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उपत्यका र काँठ क्षेत्रमा जनजागरण अभियान सञ्चालन गर्नुपर्ने र पार्टी नेतृत्वको सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको पक्षमा थालेका अभियानबारे जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिइएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

    पार्टीको महाधिवेशनका सम्बन्धमा नेताहरुले मिश्रित धारणा व्यक्त गरेका छन् । महाधिवशेन गर्नेमा सबै सहमत भएपनि कार्यतालिका तोक्ने विषयमा नेताहरुको धारणा बाझिएको छ । कतिपय नेताले विशेष महाधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिए । नेताहरुले अध्यक्ष दाहालद्वारा प्रस्तुत प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेको र यसले पछिल्लो राजनीतिक अवस्थालाई सही ढङ्गबाट विश्लेषण गरेको टिप्पणी गरेका छन् । 
    आइतबारदेखि सुरु भएको बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्नेछ । आज बैठकको प्रारम्भमा अध्यक्ष दाहालले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।

नागढुङ्गा प्रहरीद्वारा सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको बसबाट लागुऔषध बरामद

काठमाडौँ, २२ पुस : चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएका प्रहरीले सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६८१८ नम्बरको बस जाँच गर्ने क्रममा डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी आज बरामद गरेको हो ।

उक्त लागुऔषधबारे अनुसन्धान गर्ने क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।

यसैबीच रूपन्देहीको कञ्चन गाउँपालिका–१ रामडाँडामा लु.३ त ४५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–२ मटेरियाका ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते हुनुभएका ट्याक्टर चालक समेत गरी दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–११ मेनचोकस्थित सडकमा स.१ त ७८२१ नम्बरको ट्याक्टरले किचेर प्र.१–०५–००१ प ७६८४ नम्बरको स्कुटर चालक रौतामाईं गाउँपालिका–७ मुर्कुची बस्ने ४० वर्षीय बासु खड्काको आज दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका खड्काको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आज प्रकाशित बुलेटिनमा उल्लेख छ ।

 

जन्म र मृत्यु सस्कारका लागि दिइने चामल वितरण कार्यक्रम प्रभावकारी

जुम्ला, २२ पुसः जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियोे । सुरुआती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो । आर्थिक वर्ष २०८१÷८२ बाट सरकारले चामलको परिमाण बढाएर ३० किलो पु¥याइएको छ ।

जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोष तिवारीले भन्नुभयो, “कर्णाली क्षेत्रमा मातृ मृत्युदर कम गर्न ३० किलो चामल दिने गरिएको छ । यससँगै भाडा पनि दिने प्रबन्ध गरिएको छ ।” विशेष गरी दुर्गम गाउँपालिकाका नागरिकलाई चामल लिन आउँदा यात्रा खर्च धेरै हुने भएकोले सरकारले ढुवानीखर्च समेत उपलब्ध गराएको उहाँको भनाइ छ ।

खाद्य संस्थानले चामल लिन आउने नागरिकका लागि यात्रा खर्चसमेत प्रदान गर्ने व्यवस्था गरेको छ । चन्दननाथ नगरपालिका बाहेक अन्य पालिकाबाट आउने नागरिकलाई फरक–फरक भाडासमेत उपलब्ध गरिएको छ । जिल्लाको कनकासुन्दरी, सिञ्जा, हिमा र तिला गाउँपालिकाबाट आउने नागरिकलाई प्रतिव्यक्ति रु एक हजार भाडा दिने गरिएको छ, भने गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाबाट आउने नागरिकलाई भने रु ५०० दिने व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले जानकारी दिनुभयो ।

पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्कले कर्णालीका नागरिक यो योजनामा सक्रिय रूपमा सहभागी भएको देखाउँछ । आर्थिक वर्ष २०८०÷८१ मा, जन्मका लागि एक सय ४७ क्वीन्टल र मृत्युका लागि १३ क्वीन्टल २० किलो चामल वितरण गरिएको थियो । यस अवधिमा तीन लाख ८८ हजार ५०० रूपैयाँ भाडाका लागि खर्च गरिएको छ ।

विसं २०७३ मा थालिएको यो योजनाले हालसम्म प्रभावकारी देखिएको छ । त्यस्तै आर्थिक वर्ष २०८१÷८२ को मङ्सिरसम्मको तथ्याङ्कले योजनाको प्रभावकारितामा निरन्तर वृद्धि भएको देखाइरहेको खाद्य संस्थानका सूचना अधिकृत लक्ष्मण शर्माले बताउनुभयो । यस आवमा जन्म र मृत्युका लागि ८१ दशमलव ९ प्रतिशत क्वीन्टल चामल निःशुल्क वितरण गरिएको छ, भने रु एक लाख ४८ हजार ५०० भाडाका रूपमा प्रदान गरिएको यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ ।

रुसी तेल ट्याङ्कर चुहावटपछि दर्जनौँ समुद्री स्तनधारी मृत फेला

गत महिना कृष्ण सागरमा रूसी तेल ट्याङ्करबाट तेल चुहिएपछि दुई दर्जनभन्दा बढी समुद्री स्तनपायी मृत फेला परेको एक डल्फिन उद्धार केन्द्रले आइतबार बताएको छ । अधिकारीहरूले प्रकोपको परिणामलाई नियन्त्रण गर्न तीव्र रूपमा काम गरिरहेका छन् ।

डिसेम्बर १५ मा क्रिमियालाई दक्षिणी रुससँग जोड्ने केर्च स्ट्रेटमा दुई पुराना रूसी ट्याङ्करहरू आँधीबेहरीमा फसेपछि यो चुहावट सुरु भएको थियो । 

एउटा ट्याङ्कर डुब्यो र अर्को किनारमा थन्कियो । यिनीहरूले वरिपरिको पानीमा मजुट नामक करिब दुई हजार चार सय टन भारी इन्धन तेल पोखेको अधिकारीहरूले अनुमान गरेका छन् ।

डल्फिनहरूको उद्धार र पुनःस्थापना गर्ने रुसको डेल्फा केन्द्रले उक्त घटनापछि ६१ वटा मृत सिटेसियनहरू रेकर्ड गरेको बताएको छ । तीमध्ये ३२ वटा सम्भवतः तेल चुहावटका कारण मरेका थिए । 

सिटेसियन एक प्रकारको जलीय स्तनपायी हो । यसमा ह्वेल, डल्फिन र पोर्पोइजहरू समावेश छन् । “शवहरूको अवस्था हेर्दा सम्भवतः यी सिटेसियनहरूको ठूलो हिस्सा प्रकोपपछि पहिलो १० दिनमा मरे”, केन्द्रले भन्यो । 

केन्द्रका अनुसार मारिएकाहरू मध्ये अधिकांश ‘अजोभ’ डल्फिनहरू थिए । अजोभ डल्फिन जस्तै देखिने तर बेलुगा र नार्वालसँग नजिकको सम्बन्ध भएका हार्बर पोर्पोइजको एक प्रकार हो ।

रुसको आपत्कालीन मन्त्रालयले आइतबार उक्त घटनाको नतिजा हटाउन काम गरिरहेको तर ‘तीव्र हावा र छाल’ ले केही समुद्र तटहरूमा तेल फ्याँकेको बताएको छ । 

“अडसठ्ठी किलोमिटर (४२ माइल) भन्दा बढी तटरेखा सफा गरिएको छ”, मन्त्रालयले भन्यो । क्रिमियाको समुद्री तट र रुसको दक्षिणी तटबाट प्रदूषित माटो निकाल्न सयौँ स्वयंसेवक तैनाथ गरिएको छ । 

रुसी अधिकारीहरूका अनुसार घटनामा संलग्न इन्धन तेलको प्रकार विशेष गरी सफा गर्न गाह्रो छ किनभने यो बाक्लो र भारी छ र सतहमा तैरिँदैन ।

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति डिसेम्बर सन् २०२४ को अन्त्यसम्ममा २१ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अनुसार डिसेम्बर ३१ सम्ममा देशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब ३५९ अर्ब डलर रहेको बङ्गलादेश बैङ्कले जनाएको छ ।

बङ्गलादेशजस्तो बढ्दो अर्थतन्त्रका लागि छ महिनाको आयात भुक्तानी बराबर वैदेशिक मुद्रा सञ्चिति पर्याप्त मानिन्छ ।

यद्यपि विद्यमान सञ्चितिसँगै केन्द्रीय बैङ्कका अधिकारीहरूले बङ्गलादेशले झण्डै चार महिनाको आयात बिल तिर्न सक्ने अवस्थामा रहेको बताउनुभयो ।

विदेशी मुद्राको प्रमुख श्रोत मध्येको एक मुलुकको रेमिट्यान्स जुलाई–डिसेम्बर अवधिमा कुल १३.७८ अर्ब डलर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

चीनको सबैभन्दा ठूलो ‘अपतटीय सौर्य–हाइड्रोजन फार्म’ मा सञ्चालन सुरु

सिएचएन ऊर्जा लगानी समूह (सिएचएन) अन्तर्गत पूर्वी चीनको क्षेत्रमा अवस्थित एउटा ठूलो एकीकृत सौर्य–हाइड्रोजन फार्मले औपचारिक रूपमा सञ्चालन सुरु गरेको छ ।

चीनमा सबैभन्दा ठूलो ऊर्जा फार्मलाई आधिकारिक रूपमा रुडोङ अपतटीय फोटोभोल्टिक–हाइड्रोजन ऊर्जा भण्डारण परियोजना भनेर चिनिन्छ ।

यो सफलतापूर्वक ग्रिडमा जोडिएको छ । यसले चीनको पहिलो व्यापक ऊर्जा उपयोग तथा तटीय पारिस्थितिक व्यवस्थापन परियोजनाको शुभारम्भ, फोटोभोल्टिक ऊर्जा उत्पादन, हाइड्रोजन उत्पादन, हाइड्रोजन इन्फ्युलिङ र ऊर्जा भण्डारणलाई एकीकृत गरेको सिएचएन ऊर्जाले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सन् २०२५ मा पूर्ण रूपमा सञ्चालन हुँदा, परियोजनाले वार्षिक औसत ४६८ मिलियन किलोवाट–घण्टा बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

यसले लगभग तीन लाख नौ हजार ४०० टन कार्बन डाइअक्साइड, ५६२.६ टन सल्फर डाइअक्साइड तथा एक हजार १२५.३ टन नाइट्रोजन डाइअक्साइड सहित उत्सर्जनमा पनि पर्याप्त कमी ल्याउनेछ ।

सिएचएन ऊर्जाका अनुसार, यी कटौतीहरूले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान मात्र गर्दैनन् । यसलै थप दिगो ऊर्जा संरचनामा सङ्क्रमणलाई अगाडि बढाउन महत्त्वपूर्ण कोसेढुङ्गा पनि चिन्ह लगाउँछन् ।

दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ चैत १ गते प्रदर्शन हुने

काठमाडौँ, २२ पुस : दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ । ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गर्नुभएका सफल निर्देशक रौनियारले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा चलचित्र तयार गर्नुभएको हो ।

भेनिस, बुसान र मुम्बई लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘पूजा सर’ नामबाट सहभागी भएको यो चलचित्र नेपालमा ‘राजागञ्ज’ नामबाट प्रदर्शन हुने निर्माता मध्येका रामबाबु गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तराईको सौन्दर्यता, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले चलचित्रको विषय बनाएका छौँ । यो पूर्ण रुपमा काल्पनिक भएता पनि वास्तविक घटनाबाट प्रेरित भएर तयार गरेका हौँ । विश्वभरका महोत्सवमा रुचाइएको यो चलचित्र नेपाली दर्शकको प्राथमिकता पर्नेमा विश्वस्त छौँ ।”

‘राजागञ्ज’मा आशा मगराती, पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई, नीरज श्रेष्ठ लगायतले अभिनय गर्नुभएको छ ।

११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा), २२ पुस : यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिनुभयो । 

त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उहाँले बताउनुभयो । क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो । 

उहाँका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताउनुभयो ।

गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गर्नुभएको थियो । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गर्नुभएको थियो ।  

क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुहुँदै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उहाँले बताउनुभयो ।

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

सिरहा- हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु भएको छ । गत असार पहिलो सातादेखि रोकिएको पुल निर्माण गत हप्तादेखि सुरु गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो ।

असोजबाटै सुरु हुनुपर्ने काम निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ र बिमा कम्पनीबीचको विवादले ढिलाइ भएको थियो । “एक वर्ष अघि देखि पुल निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनमा विचाराधीन छ । यसबीचमा निर्माण कम्पनीले काम रोकेको थियो”, योजना प्रमुख महतोले भन्नुभयो, “अदालतको निर्णय आउँदासम्म कुर्नुभन्दा पुल निर्माण सुरु गर्न दबाब परेपछि गत हप्तादेखि सुरु गरेको हो ।”

विसं २०६८ जेठ ३१ मा तीन वर्ष वर्षभित्र पुल निर्माण सम्मन्न गर्ने गरी निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई दिइएको थियो । तर निर्माण नगरेपछि पप्पुलाई कालोसूचीमा राखी बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ लाई दिइएको थियो । 

यसबीचमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय र निर्माण कम्पनीबीच विसं २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माण अन्तिम चरणमा भएका बेला बाढीले क्षति पु-याएपछि कम्पनीले क्षतिवापत बिमाबाट पाउनुपर्ने रु १२ करोड रकम नपाएपछि अदालत गएको निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बिमा कम्पनीले बेइमानी नगरेको भए सम्भवत पुल निर्माण भइसक्थ्यो ।”

मधेसको ‘लाइफ लाइन’ मानिने कमला पुल निर्माण १३ वर्षदेखि अधुरो छ । हुलाकी राजमार्ग निर्देशनालय प्रमुख महतोको अनुसार निर्माण कम्पनीले अन्तिम पटक थपिएको म्यादअनुसार आगामी असारसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । “निर्धारित समयमा पुल निर्माण हुन प्राविधिक समस्या हल भएका छन् । कानुनी समस्या बाँकी रहेकाले समयमा पुल निर्माण हुनेमा अझै शङ्का छ”, प्रमुख महतोले भन्नुभयो । 

वर्षौदेखि हुलाकी राजमार्ग प्रयोग गर्ने यात्रु तथा यहाँका स्थानीय वर्षातमा रु एक सय तिरेर डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् । हिउँदमा स्थानीय युवाको पहलमा अस्थायी बाँस र काठले बनाएको पुलमा रु २० तिरी वारपार गर्दै आइरहेका छन् ।  लामो समयदेखि रोकिएको पुल निर्माण सुरु भएपछि स्थानीय बासिन्दालाई पक्की पुलबाट यात्रा गर्ने आशा फेरी जागेको छ । 

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

वीरगञ्ज (पर्सा), २२ पुसः वीरगञ्ज महानगर पालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि तोकेता गर्दा पनि नहटाएपछि आइतबारदेखि डोजर लगाएरस्थान खाली गराउन थालेको हो ।

वीरगञ्ज महानगरपालिका, नगर प्रहरी प्रमुख हरि भुसालले दुई पटकसम्म सार्वजनिक सूचना जारी गराउँदा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४० अस्थायी घरटहरा खाली गराएको जानकारी दिनुभयो । ‘‘हामीले आइतबारदेखि अतिक्रमणमा परेको बिपी उद्यान खाली गर्न थालेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘यो अभियान सबै अतिक्रमणमा परेको ठाउँ खाली नगरेसम्म रोकिँदैन ।’’

महानगरका अनुसार बिपी उद्यानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा धेरै अस्थायी रुपमा सञ्चालनमा रहेका छन् । नगर प्रहरी प्रमुख भुसालले महानगरले उपयुक्त विकल्प दिएर बिपी उद्यान खाली गर्न लागेको जानकारी दिनुभयो ।

‘‘यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यापारीलाई वडा नं १६ नगरवास्थित कृषि बजार राख्ने व्यवस्था गरेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्ज घर रहेका छन् । अन्य केही भने भारतीय नागरिकले सञ्चालन गरेका छन् ।’’ नगरप्रमुख भुसालले अतिक्रमण गरेको ठाउँलाई खाली गरेर आकर्षक खालको पार्क अघि बढाउने बताउनुभयो ।

बिपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आइरहेका ओकेबहादुर शाहीले महानगरले आफूहरुलाई हटाएर बिचल्ली बनाएको दाबी गर्नुभयो । ‘‘बिपी उद्यानमा दैनिक पाँच–दश केजी बङ्गुरको मासु बेच्दै आइरहेका थियौँ,’’ उहाँले भन्नुभयो,‘‘यहीबाट परिवारको गर्जाे टार्दै आइरहेका थियौँ । आजदेखि त हटाएपछि अब कहाँ के गर्ने भन्ने अन्र्यौल सिर्जना भएको छ ।’’

उहाँले महानगरले आफूलाई मात्रै नभएर अन्यलाई पनि हटाउनुपर्ने बताउनुभयो ।‘‘डोजर लगाएर हामीलाई त हटाएका छन् । अन्य कपडा पसल, तरकारी तथा फलफूल बिक्री वितरण गर्नेलाई नहटाउने हुन कि भन्ने आशङ्का उब्जिएको छ,’’ उहाँले भन्नुभयो ।

महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो । सो म्याद पनि यही पुस १० गते सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो ।

दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि भने आइतबार एक्साभेटर लगाएर खाली गरेको हो । महानगरले यो ठाउँमा बिपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ ।

यस्तो छ आजको तरकारी र फलफूल मूल्य

काठमाडौँ, २२ पुसः कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी) रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ४८, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु १००, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २५, बन्दा (नरिवल) प्रतिकेजी रु ३०, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ४०, काउली तराई प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ६०, मटरकोसा प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८० टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ७०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किवि प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १८०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
–––

कोठामा थुनिएका ९ वर्षीय बालकसहित चार बालबालिकाको उद्धार

खोटाङ- माया घर नेपाल नामक संस्थाले कोठामा थुनिएर बस्न बाध्य यहाँका ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ ।छ वर्षदेखि आफ्नै घरको कोठामा थुनेर राखिएको एँेसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन नौ वर्षीया सुजता राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई उक्त संस्थाले आज उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा ती बालबालिकाको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको माया घर नेपाल इटहरीका जिल्ला प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभयो । “उद्धार गरिएका चारैजनालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ”, उहाँले भन्नुभयो, “जिल्लाका सहाराविहीन बालबालिकालाई खोजी गरी उद्धार गर्ने अभियानमा जुटेका छौँ ।”

बुबाआमाले घरको कोठामा थुनेर राखेको ठाउँबाट उद्धार गरिएका बालक अङ्गबहादुर बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा रहेको जनाइएको छ । बुबाआमा भए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी कोठामा थुनेर राख्ने गरिएको उद्धारमा सहभागीले बताएका छन् ।

उद्धार गरिएकी राखाबाङ्देलकै सुजताको बुबा नभएको तथा आमाले अर्कै विवाह गरेको पाइएको छ । सहाराविहीन दुई बालबालिकाको पालनपोषण तथा शिक्षादीक्षाका लागि व्यवस्था गर्न नसकेपछि माया घर नेपाललाई जिम्मा दिइएको सो वडाका वडाअध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी उद्धार गरिएका बुइपाका विश्वहाङको बुबा पाँच वर्षदेखि बेपत्ता तथा आमाले अर्कैसँग विवाह गरेको पाइएको छ । बुबाआमा दुवैको सहारा नपाएका विश्वहाङलाई छिमेकीको घरमा बसिरहेको अवस्थाबाट उद्धार गरिएको वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभयो ।

बुइपाकै रुविनको बुबा अपाङ्ग र आमासमेत असक्त रहेकाले पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारमा समस्या भएकाले उद्धार गरिएको जनाइएको छ ।

उद्धार गरिएका चारैजना बालबालिकालाई ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत आजै इटहरी पठाइएको हो । जिल्लाबाट यसअघि मात्र चारजना सडक आश्रित मानव तथा दुईजना सहाराविहीन बालबालिकाको उद्धार गरिएको थियो । जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरेका उनीहरुलाई मानव सेवा आश्रम विराटनगर पठाइएको थियो ।

विकासका कामलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकासका कामलाई तीव्रता दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्च व्यवस्थापन समूहको आईतबारको बैठकमा मन्त्री खड्काले भन्नुभयो, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको कामले समग्र सरकारको काम झल्कने भएकाले छिटो सम्पन्न गर्नुपर्छ ।”

मन्त्री खड्काले सरकारले लिएको गति र लक्ष्य पुरा गर्न कर्मचारीको ठूलो भूमिका रहने बताउनुभयो । कामको बाँडफाँड गरेर अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले स्रोत सुनिश्चित भइसकेका आयोजनालाई द्रुतगतिमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयोे । मन्त्रालयका सिँचाइ सचिव सरिता दवाडीले स्रोत सुनिश्चितता नहुँदा विकास आयोजना निर्माणमा ढिलाई भएको बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले सरकारले राखेको २८ हजार पाँच सय मेगावाट विद्युत्् उत्पादन गर्ने लक्ष्य पुरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखले पाँच महिनाको भौतिक प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

रास्वपाले सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

दुई दिनको केन्द्रीय समिति बैठकपछि   विज्ञप्तिमा उक्त अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्ला÷निर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्ने निर्णय पनि रास्वपाले गरेको छ । अभियान आगामी माघ २ गतेदेखि सुरु भई दुई महिनासम्म सञ्चालन हुनेछ । 

बैठकले पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यको सुझावसहित पारित गरेको छ । राजनीतिक प्रशिक्षण केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । संविधानमा आवश्यक परिमार्जनका लागि प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरिएको छ । कार्यदलले संविधान परिमार्जनका लागि सुझाव सङ्कलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलका तर्फबाट धारणा सार्वजनिक गर्नेछ । 

कार्यदलमा केन्द्रीय सदस्यहरु क्रान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहनुभएको छ । कार्यदलले प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकेको छ ।

बैठकले पुस १८ गते दिवङ्गत हुनुभएकी नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक विषयमा जानकारी गराउनुभएको थियो । उहाँले पार्टीका संस्थापक सभापति रवि लामिछानेका सम्बन्धमा चलिरहेको अदालती प्रक्रियासम्बन्धी पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षामा पार्टीका प्रदेश महामन्त्री, केन्द्रीय सङ्गठन विभाग तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्यको सहभागितामा उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाइ र चुनौती समेटिएका समीक्षा प्रतिवेदन पनि पारित गरेको छ । विसं २०८० मङ्सिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्तावेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्न पारित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।   

पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित केन्द्रीय कार्यसम्पादन एकाइ गठन गर्ने निर्णय गरिएको उहाँले सुनाउनुभयो । विभिन्न सन्दर्भ र प्रयोजनका लागि बनाइएका चार समिति तथा कार्यदलको प्रयोजन पूरा भएकाले विघटन गरिएको पनि रास्वपाले जनाएको छ । पार्टीले सङ्घीय सदनबाहिर रहेका राजनीतिक दल÷शक्तिका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्नेगरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

विभिन्न विषयमा राजनीतिक, बौद्धिक परामर्शका लागि पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद्÷ थिङ्कट्याङ्क सदस्यहरु मनोनीत गर्दै जाने निर्णय पनि गरिएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

चितवनका बन्दा र काउलीमा नयाँ रोग, परीक्षणका लागि दोस्रोपटक पठाइयो नमूना

चितवन-जिल्लामा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ ।

कार्यालयका बाली संरक्षण अधिकृत गीता केसीका अनुसार पुसको पहिलो सातादेखि राप्ती नगरपालिका–५ र ८ मा यो रोग देखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकामा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाएका छौँ ।” कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । दोस्रो पटक नमूना पठाउँदा ढुसी हो की भन्ने आए पनि हालसम्म रोग पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख झलकनाथ कँडेलले रोगको नमुना प्रयोगशालामा पठाइएको भएपनि रोग पुष्टि हुन समय लाग्दा किसान चिन्तित भएको बताउनुभयो । 

दुई दिनदेखिको हुस्सु र कुहिरोले जनजीवन प्रभावित

वीरगञ्ज (पर्सा), २२ पुस : लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।

तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । 

मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिनुभयो । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो । 

आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार विहान ८ : ५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ । वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले  चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको जानकारी दिनुभयो । प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिनुभयो । 

शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

लण्डनमा गुन्जियो कन्दरा

बेलायत, २२ पुस : ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ ।

नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो । 

गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाउनुभयो । उहाँका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए ।

ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो । 

कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भन्नुभयो, “विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ ।” 

कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहनुभएका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य हुनुहुन्छ ।

कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जनाएको छ ।   नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो ।