`

‘पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक’:अध्यक्ष दाहाल

Nepal One HD ७ साउन २०८२ १७:५७
राजनीति

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरू एकजुट हुनु पर्ने भन्दै दलाल पुँजीवाद सबै मिलेर लाग्नु पर्ने बताए । उनले संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै जनयुद्धमार्फत जनतालाई गोलबन्ध गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराए ।

उनले भने, ‘संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई माक्र्सले जनताको साथ र विद्रोह बिना कागजका खोस्टा मात्र हुन् भनेका थिए। नेपालमा पनि संविधान सभाको बहस पहिले देखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन। माओवादी केन्द्रले जनयुद्धको सुरुवात गरी जनतालाई गोलबन्ध गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो ।’

साथै, उनले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरे ।

वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्ने पनि उनको भनाई छ । अध्यक्ष प्रचण्डले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान पनि गरेका छन् ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लपले अमेरिकाले नेपाललाई स्वतन्त्र र स्वाधिन भएको हेर्न नचाहने बताए । अमेरिकाको चाहाना नेपालमा आफ्नो एउटा अखडा बनाउने रहेको बताउँदै उनले विभिन्न साम्राज्यवाद देशहरुले आफ्नो खेलमैदान नेपाललाई बनाउन चाहेको समेत तर्क गरे ।

उनले भने, ‘अमेरिकाले नेपाललाई स्वतन्त्र र स्वाधिन भएको हेर्न चाहँदैन् । अमेरिकाको चाहाना नेपालमा आफ्नो एउटा अखडा बनाउने छ । यो हामीले राम्रोसँग बुझेका छौं । नेपाललाई विभिन्न साम्राज्यवाद देशहरुले आफ्नो खेलमैदान बनाउन चाहेका छन् ।’
दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ आफूले जानेको भन्दै उनी आक्रोसित पनि भए । महासचिव विप्लपले गणतन्त्रमा अहिले झारपात पलाएको तर कुन फूल हो को दलाल हो भन्ने कुरामा जनता अलमलमा परेको भन्दै अब कुन फूल हो कुन झारपात हो प्रचण्ड र माधवले भन्न सक्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *