`

विकासका कामलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकासका कामलाई तीव्रता दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्च व्यवस्थापन समूहको आईतबारको बैठकमा मन्त्री खड्काले भन्नुभयो, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको कामले समग्र सरकारको काम झल्कने भएकाले छिटो सम्पन्न गर्नुपर्छ ।”

मन्त्री खड्काले सरकारले लिएको गति र लक्ष्य पुरा गर्न कर्मचारीको ठूलो भूमिका रहने बताउनुभयो । कामको बाँडफाँड गरेर अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले स्रोत सुनिश्चित भइसकेका आयोजनालाई द्रुतगतिमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयोे । मन्त्रालयका सिँचाइ सचिव सरिता दवाडीले स्रोत सुनिश्चितता नहुँदा विकास आयोजना निर्माणमा ढिलाई भएको बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले सरकारले राखेको २८ हजार पाँच सय मेगावाट विद्युत्् उत्पादन गर्ने लक्ष्य पुरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखले पाँच महिनाको भौतिक प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

रास्वपाले सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

दुई दिनको केन्द्रीय समिति बैठकपछि   विज्ञप्तिमा उक्त अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्ला÷निर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्ने निर्णय पनि रास्वपाले गरेको छ । अभियान आगामी माघ २ गतेदेखि सुरु भई दुई महिनासम्म सञ्चालन हुनेछ । 

बैठकले पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यको सुझावसहित पारित गरेको छ । राजनीतिक प्रशिक्षण केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । संविधानमा आवश्यक परिमार्जनका लागि प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरिएको छ । कार्यदलले संविधान परिमार्जनका लागि सुझाव सङ्कलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलका तर्फबाट धारणा सार्वजनिक गर्नेछ । 

कार्यदलमा केन्द्रीय सदस्यहरु क्रान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहनुभएको छ । कार्यदलले प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकेको छ ।

बैठकले पुस १८ गते दिवङ्गत हुनुभएकी नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक विषयमा जानकारी गराउनुभएको थियो । उहाँले पार्टीका संस्थापक सभापति रवि लामिछानेका सम्बन्धमा चलिरहेको अदालती प्रक्रियासम्बन्धी पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षामा पार्टीका प्रदेश महामन्त्री, केन्द्रीय सङ्गठन विभाग तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्यको सहभागितामा उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाइ र चुनौती समेटिएका समीक्षा प्रतिवेदन पनि पारित गरेको छ । विसं २०८० मङ्सिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्तावेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्न पारित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।   

पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित केन्द्रीय कार्यसम्पादन एकाइ गठन गर्ने निर्णय गरिएको उहाँले सुनाउनुभयो । विभिन्न सन्दर्भ र प्रयोजनका लागि बनाइएका चार समिति तथा कार्यदलको प्रयोजन पूरा भएकाले विघटन गरिएको पनि रास्वपाले जनाएको छ । पार्टीले सङ्घीय सदनबाहिर रहेका राजनीतिक दल÷शक्तिका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्नेगरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

विभिन्न विषयमा राजनीतिक, बौद्धिक परामर्शका लागि पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद्÷ थिङ्कट्याङ्क सदस्यहरु मनोनीत गर्दै जाने निर्णय पनि गरिएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

चितवनका बन्दा र काउलीमा नयाँ रोग, परीक्षणका लागि दोस्रोपटक पठाइयो नमूना

चितवन-जिल्लामा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ ।

कार्यालयका बाली संरक्षण अधिकृत गीता केसीका अनुसार पुसको पहिलो सातादेखि राप्ती नगरपालिका–५ र ८ मा यो रोग देखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकामा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाएका छौँ ।” कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । दोस्रो पटक नमूना पठाउँदा ढुसी हो की भन्ने आए पनि हालसम्म रोग पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख झलकनाथ कँडेलले रोगको नमुना प्रयोगशालामा पठाइएको भएपनि रोग पुष्टि हुन समय लाग्दा किसान चिन्तित भएको बताउनुभयो । 

दुई दिनदेखिको हुस्सु र कुहिरोले जनजीवन प्रभावित

वीरगञ्ज (पर्सा), २२ पुस : लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।

तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । 

मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिनुभयो । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो । 

आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार विहान ८ : ५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ । वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले  चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको जानकारी दिनुभयो । प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिनुभयो । 

शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

लण्डनमा गुन्जियो कन्दरा

बेलायत, २२ पुस : ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ ।

नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो । 

गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाउनुभयो । उहाँका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए ।

ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो । 

कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भन्नुभयो, “विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ ।” 

कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहनुभएका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य हुनुहुन्छ ।

कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जनाएको छ ।   नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो । 

अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ

काठमाडौँ, २२ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ १० पैसा, बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा , स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ, २२ पुस : नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो ।

प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट रु ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । ट्राफिक जरिवानाबाट रु ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ रु ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट रु २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु चार करोड ३७ लाख राजस्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी स्रोत नखुलेको रु दुई करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट रु एक करोड ८३ लाख अवैध काठ बरामदबाट रु एक करोड २० लाख राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट रु एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट रु ९२ लाख बढी राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिनुभयो ।

माली आक्रमणमा आठ सर्वसाधारणको मृत्यु

मध्य मालीमा कम्तीमा आठ सर्वसाधारणको मृत्यु भएको विभिन्न स्रोतहरूले आइतबार बताएका छन् । स्रोतहरूले समस्याग्रस्त पश्चिम अफ्रिकी यस देशमा भएको पछिल्लो आक्रमणका लागि माली सेना र रुसको वाग्नर समूहलाई जिम्मेवार ठह¥याएका छन् ।

माली राजनीतिक, सुरक्षा र आर्थिक सङ्कटमा फसेको छ र सन् २०१२ देखि अल–कायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध विभिन्न समूहहरूद्वारा तहसनहस पारिएको छ । यसले अस्थिर उत्तरी मरुभूमि क्षेत्रमा पृथकतावादी विद्रोहको पनि सामना गरिरहेको छ ।

“एउटा हाइलक्स फोरबाइफोर सवारी साधन... मौरिटानियामा रहेको शरणार्थी शिविरतर्फ जाँदै गर्दा वाग्नर र माली सेनाले गोली चलाए । बिहीबार कम्तीमा आठ सर्वसाधारणको मृत्यु भयो”, एक स्थानीय अधिकारीले नाम नखुलाउने शर्तमा भने ।

“सवारी साधनका सबै यात्रुको मृत्यु भयो । उनीहरूलाई सामूहिक चिहानमा गाडियो”, पीडितमध्ये एकका आफन्तले भने ।

एक स्थानीय मानवीय सहायता स्रोतले घटनाको पुष्टि गर्दै आठ सर्वसाधारणलाई ‘निओनो र नम्पाला क्षेत्रबीच... गोली हानी मारिएको’ बताएको छ ।

मालीको सेनाले यस घटनामा तत्काल कुनै टिप्पणी गरेको छैन र एएफपीले सम्पर्क गरेका रक्षा मन्त्रालयका अधिकारीले टिप्पणी गर्न अस्वीकार गरे । 

मालीको उत्तरमा टुआरेग जातीय अल्पसङ्ख्यक समूहका विभिन्न पृथकतावादी समूह समावेश भएको अजावाद मुक्ति मोर्चा (एफएलए) ले शनिबार जारी गरेको विज्ञप्तिमा माली सेना र रुसको वाग्नर भाडाका सैनिक समूहलाई ‘जानीजानी गरिएको आपराधिक कार्य’ का लागि दोष दिएको छ । घटनामा नौ जनाको मृत्यु भएको उसले बतायो ।

एफएलएले भन्यो, “माली सेना र वाग्नर भाडाका सैनिकहरूद्वारा गौमा कौरा र दिउरा बीचमा महिला र बालबालिकासहित नौ जना सर्वसाधारणको हत्या भएको कुरा ठूलो दुःखका साथ प्राप्त भयो ।” 

माली सेनाले सन् २०२० र २०२१ मा लगातार दुई पटक सत्ता कब्जा गरेको थियो । त्यसयता उसले पूर्व औपनिवेशिक शक्ति फ्रान्स र युरोपेली साझेदारहरूसँग आफ्नो जिहादी विरोधी गठबन्धन तोडेको छ र राजनीतिक तथा सैन्य रूपमा रुसतर्फ मोडिएको छ ।

पाकिस्तान : लाहोरमा गम्भीर प्रदूषणका बीच जोखिमपूर्ण वायु गुणस्तर कायमै

पाकिस्तानको लाहोर गम्भीर वायु प्रदूषणसँग जुझिरहेको र यसले विश्वव्यापी रूपमा सबैभन्दा खतरनाक सहरहरू मध्ये एकका रूपमा आफ्नो स्थिति कायम राखेको डनले रिपोर्ट गरेको छ ।

रिपोर्ट अनुसार शनिबार दिउँसो १ देखि २ बजेको बीचमा वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अधिकतम ४६५ सम्म पुग्दा शहरको वायु गुणस्तर चिन्ताजनक रूपमा खराब रह्यो ।

बढ्दो घामसँगै दिउँसो २ बजेपछि एक्युआईमा कमी आउन थालेपछि पनि राति ८ बजे सम्ममा यो सहर विश्वको चौथो सबैभन्दा प्रदूषित सहर बनेको थियो । 

शुक्रबार दिउँसो २ बजे एक्यूआई ६६५ सम्म पुगेसँगै लाहोर फेरि विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा रह्यो । हावामा पीएम२.५, पीएम१०, नाइट्रोजन डाइअक्साइड (एनओ२) र ओजोन (ओ३) जस्ता हानिकारक प्रदूषकहरूको मात्रा निरन्तर उच्च रहेकाले यसले बासिन्दाहरूको स्वास्थ्यमा उल्लेखनीय जोखिम सिर्जना गरेको छ ।

सहरका विभिन्न भागमा एक्युआईले चिन्ताजनक सङ्ख्या देखाएको डनले जनाएको छ । उदाहरणका लागि पाकिस्तान इन्जिनियरिङ सर्भिसेस (प्राइभेट) लिमिटेडले एक्युआई ३५४ रेकर्ड गरेको छ भने पावरजोन हेड अफिसले ३२५ रिपोर्ट गरेको छ । 

लाहोरस्थित अमेरिकी वाणिज्य दूतावास र ग्रान्ड चार्टर स्कुलसहित अन्य क्षेत्रमा पनि एक्युआई २८७ थियो । एक्युआई वर्गीकरणले ३०० भन्दा माथिको कुनै पनि रिडिङलाई खतरनाक मानिने सङ्केत गर्दछ । यसले जनसङ्ख्याका लागि गम्भीर स्वास्थ्य खतराहरूको सङ्केत दिन्छ । 

यसैबीच मौसम विभागले आइतबारका लागि चिसो र आंशिक बदली मौसमको पूर्वानुमान गरेको छ र लाहोरसहित पञ्जाबका धेरै जिल्लामा हल्का वर्षा र शीतको सम्भावना रहेको जनाएको छ ।  

विभिन्न सहरमा विशेष गरी दक्षिणी र मध्य क्षेत्रहरूमा बिहान र रातको समयमा घना कुहिरो लाग्ने अनुमान गरिएको डनले जनाएको छ । 

डनका अनुसार वरिष्ठ प्रान्तीय मन्त्री मरियम औरङ्गजेबले धुवाँ र वायु प्रदूषणसँग लड्न सरकारको प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँले स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्नु प्राथमिकता रहेको र वायु प्रदूषण घटाउने प्रयासहरू कुनै छुट बिना जारी रहने कुरामा जोड दिनुभयो । 

काठमाडौँमा खानेपानीका पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा

काठमाडौँ, २१ पुस : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका अधिकांश ठाउँमा खानेपानीका नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नयाँ पाइपलाइन बिच्छ्याइएका ठाउँमा चाँडै मेलम्चीको पानी बितरण गरिने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “पाइपलाइन वितरणको कार्य सकिएर  परीक्षणको काम हुँदैछ ।” एक महिलाभित्र काठमाडौँ उपत्यकाभित्र   नयाँ पाइपलाइन विस्तार गरिएको क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने उहाँले दाबी गर्नुभयो । पाइपलाइनबाट भइरहेको पानी चुहावट रोक्न मातहतका निकायलाई निर्देशन दिएको मन्त्री यादवले बताउनुभयो । 

“सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइप भत्काइएका र फुटाइएका छन् । सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा खानेपानी वितरण प्रक्रियामा कठिनाइ उत्पन्न भएको छ”, उहाँले भन्नुभयो । 

अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा

लेखनाथ (कास्की), २१ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्ने बताउनुभएको छ । पोखरामा आज आयोजित कार्यक्रममा उहाँले वर्तमान अवस्थामा सङ्कलन हुने राजस्वमा ३५ प्रतिशतले वृद्धि गर्न सकेमात्रै देशका आवश्यकता र राजनीतिक लक्ष्य पूरा हुने भन्दै यसतर्फ गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महामन्त्री थापाले राजनीतिक स्थिरता भएमात्र उद्योग व्यवसायमा लगानी बढ्ने भएकाले स्थिरता र विकास निर्माणका लागि उद्योगी व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । “सहज रूपमा उद्योग सञ्चालन गर्न र विदेशी पर्यटकलाई आकर्षित गर्न हवाई टिकटको शुल्क घटाएर भए पनि नेपालको अर्थतन्त्रलाई बलियो बनाउन जरूरी छ । राजमार्गको स्तरोन्नति, पर्यटन पूर्वाधारमा लगानी गरी सहज वातावरण बनाउन सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

राजनीतिक स्थिरताका लागि वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्ने विषयमा छलफल भइरहेको भन्दै महामन्त्री थापाले कुनै पनि दलको बहुमत नहुँदा विकास निर्माण र जनचाहना पूरा हुन नसकेकाले यस विषयमा दलहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  

व्यवसायी माइकल कर्माचार्यले पछिल्लो चार महिनामा नेपालको व्यापारघाटा चार सय ६१ करोड रहेको बताउँदै सुधारका लागि सरकारले योजना अगाडि सार्नुपर्ने धारणा राख्नुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव जानुका पराजुलीले उद्योगीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताउनुभयो । 

पर्यटन व्यवसायी एवं पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले गण्डकी प्रदेशका होटलको क्षमता ३५ हजार भए पनि हाल ३० देखि ४० प्रतिशत मा ‘अकुपेन्सी’ रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको पुँजी पलायन भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।  पर्यटन व्यवसायी सोम थापाले पर्यटन व्यवसाय धराशायी हुँदै गएकाले यसलाई उकास्न विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रमा देखिएको मन्दीलाई उकास्न ‘सस्तो प्याकेज’ दिएर भए पनि विदेशी पर्यटकलाई नेपाल घुम्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस अवसरमा उद्योगी बाबुराम गिरी, गणेशबहादुर भट्टराई, गणेश थापा, गीता लामिछानेलगायतले उद्योग व्यवसायलाई सहज रूपमा व्यापार व्यवसाय गर्ने वातावरण बनाउनका लागि आग्रह गर्नुभयो । 

सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पतालमा बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउने

सुदूरपश्चिम, २१ पुस : सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउन थालेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले संयुक्त रुपमा आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक बिरामीलाई निःशुल्क रगत उपलब्ध गराई उक्त सेवाको शुभारम्भ गर्नुभयो ।  

सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रमबमोजिम निःशुल्क रगत उपलब्ध गराउने काम सुरु गरिएको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नौ सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रगतको खाँचो भए निःशुल्क रुपमा उपलब्ध गराउने गरी काम अघि बढेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको छ, रेडक्रसले लिने रगतको शुल्क प्रदेश सरकारले व्यहोेर्ने गरी अस्पतालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइनेछ  

भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य भए ।

बेलायतमा आइतबार पनि मौसम प्रतिकूल रहने अनुमान गरिएको छ । त्यहाँ तीन सय मिटर (९८५ फिट) माथिको भू–भागमा ४० सेन्टिमिटर (१५ इन्च) सम्म हिउँ जम्ने भएकाले विशेषगरी इङ्ल्यान्डको उत्तरी भेगका धेरै ग्रामीण समुदाय अलग्गिन सक्ने चिन्ता छ ।

देशको विद्युत सञ्जालको निरीक्षण गर्ने नेसनल ग्रिडले देशभर विद्युत आपूर्ति बन्द भएपछि पुनःस्थापना गर्ने काम गरिरहेको बताएको छ । कम्पनीको प्रत्यक्ष नक्शाले मध्य इङ्गल्यान्डको बर्मिङ्घम, पश्चिममा ब्रिस्टल र वेल्सको कार्डिफमा विद्युत् कटौती देखाएको छ । 

धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भइसकेका छन् तर लिभरपूल र म्यानचेस्टर युनाइटेड बीचको हेभिवेट प्रिमियर लिग फिक्स्चर अझै हुने तय छ । यद्यपि त्यहाँ पछि थप निरीक्षण गरिनेछ । 

लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्गहरू बन्द गर्नुपरेको थियो तर तर दुवै आइतबार बिहान ढिलोसम्ममा पुनः खोल्न तयार देखिन्थे । यद्यपि लिड्स ब्राडफोर्ड विमानस्थलले आइतबार बिहान आफ्नो धावनमार्ग बन्द गरेको बताएको छ ।

क्रिसमस र नयाँ वर्षको बिदाबाट धेरै परिवारहरू घर फर्किने र विद्यार्थीहरू विश्वविद्यालयतर्फ फर्कने दिन भएकाले अत्यन्त व्यस्त हुने यो दिनमा सडक सञ्जाल पनि व्यापक रूपमा प्रभावित भएको थियो ।

स्थानीय अधिकारीहरूले धेरै सडकहरू पहिले नै बन्द गरेका थिए तर अन्यत्र फसेका सवारी साधन र दुर्घटनाहरूले अवरोध सिर्जना गरेका छन् । रेलमार्गमा धेरै सेवाहरू रद्द गरिए र राष्ट्रिय रेलले अवरोध कार्य हप्तासम्म जारी रहने चेतावनी दिएको छ ।

बेलायतको मुख्य मौसम पूर्वानुमानकर्ता मेट अफिसले आइतबार हिमपात र असिना उत्तरतर्फ बढ्ने र उत्तरी इङ्गल्यान्ड र दक्षिणी स्कटल्याण्डमा सबैभन्दा बढी हुने बताएको छ । अति चिसो पानी ठोक्किएर जम्ने जमाउने वर्षाको अनुभव गरेपछि दक्षिणी क्षेत्र केही न्यानो हुनेछ ।

वातावरण एजेन्सीले दक्षिणी इङ्गल्यान्डमा टाव नदी र एभन नदीमा आठवटा बाढीको चेतावनी पनि जारी गरेको छ । 

हिउँ र बरफले जर्मनीमा पनि विनाश निम्त्याइरहेको छ । त्यहाँ जहाँ दक्षिणपश्चिमबाट जाडो मौसम फैलिएको छ । 

अधिकारीहरूले चालक र पैदल यात्रीहरूका लागि कालो बरफ चेतावनी जारी गरेका छन् र मानिसहरूलाई सम्भव भएसम्म घरमै बस्न सल्लाह दिएका छन् । 

फ्रेङ्कफर्ट विमानस्थलले आइतबार योजना गरिएका एक हजार ९० उडान र अवतरणमध्ये १२० रद्द गरेको फ्रापोर्ट प्रेस कार्यालयले जनायो । म्युनिख विमानस्थलमा एउटा धावनमार्ग खुला थियो भने अर्को सफा गरिँदै थियो । बाडेन–वुर्टेमबर्गमा हेमिङ्गेन सहर नजिकै एउटा बस चिप्लेर सडकबाट बाहिर जाँदा आठ जना घाइते भए ।

‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’ : मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली), २१ पुसः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतमा राखेर काम गरिरहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयले आज धनगढीमा आयोजना गरेको प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा उहाँले सीमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले प्रयास गरिरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री शाहले निःशुल्क रक्त सेवालाई प्रभावकारी बनाउँदै बढीभन्दा बढी जनता लाभान्वित हुने अवस्था बनाउने गरी लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निःशुल्क रक्त सेवा सुरुआत भएको छ । यसलाई प्रदेशका बढिभन्दा बढी जनता लाभान्वित हुनेगरी अगाडि बढाउन आवश्यक छ । यस्ता काममा प्रदेश सरकारको सधैँ सहयोग रहन्छ । हामी अति आवश्यक कुरामा सधैँ उदार छौँ । यसबाट आमजनता लाभान्वित हुने अपेक्षा छ ।” 

सामाजिक विकासमन्त्री मेघराज खड्काले निःशुल्क रक्त सेवाले विपन्न बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले यस यसलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

मुख्यमन्त्री शाहले गत साउन २१ गते पदभार ग्रहण गर्दा प्रदेशभर निःशुल्क रगतको व्यवस्था गर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै आइतबारबाट प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रक्त सेवा सुरु गरिएको हो ।

सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गरी प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने जनाएको छ । यसका लागि रक्तसञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग मन्त्रालयले सम्झौता गरेको छ ।

आगामी माघ २५ गते रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ ।

पोस्टरमा फिल्मका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ । विवाहित अस्मिता काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाएकी छन् । त्यस्तै कलाकार कृष्ण भने कोहीप्रति रिस व्यक्त गरिरहेका छन् । दाह्री जुँगा र दौरा, टोपीको गेटअपमा देखिएका उनले कर्के नजर र अनुहारको भावले रिसाएको देख्न सकिन्छ । पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन् ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए । ‘‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने । उनले फिल्मले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् । यो फिल्म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतले हेरिसकेका छन् ।

लोसपाद्वारा विभिन्न पार्टीसँग संवादका लागि समिति गठन

काठमाडौँ, २१ पुसः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै मधेश केन्द्रीत राजनीतिक पार्टीबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा मिल्नेसँग पार्टी एकीकरणका लागि समिति गठन गरिएको जानकारी गराउनुभयो ।

समितिमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्र रहनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिको लागि सङ्घर्षशील राजनीतिक शक्तिबीच संवाद, सहकार्य एवं कार्यगत एकता आजको आवश्यकता रहेको लोसपाले ठहर गरेको छ ।

यसैबीच लोसपाले कडाव व्यवसायीले विगत केही समयदेखि काठमाडौँमा गरिरहेको संघर्षप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव मनिषकुमार मिश्रले आज विज्ञप्ति जारी गरी काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायलाई उचित व्यवस्थापनविना भौतिक संरचना तोडफोड र व्यवसायीलाई धरपटक गरी आतङ्कित तुल्याएको स्थितिप्रति ध्यानाकर्षण भएको जनाउनुभयो । 

“महानगरले कवाड व्यवसायीलाई धरपकट गरी आतङ्कित तुल्याई भागाभागको स्थितिमा ल्याउन खोज्नु दुर्भाग्य हो । कानुनी राज्यको प्रत्याभूति दिलाउँदै न्यायसङ्गत ढङ्गले कामकारबाही अगाडि बढाउन सम्बन्धित निकाय तथा नेपाल सरकारसँग लोसपा नेपाल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यकः महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले आइतबार मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उनले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा राखेर संवाद अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘राणा शासनपछि कुनै पनि प्रधानमन्त्री पाँच वर्षसम्म टिकेनन्, यो समस्या समाधानका लागि लोकप्रिय मत ल्याउने दलको नेतालाई काम गर्न दिने गरी व्यवस्था गर्न सकिन्छ । कतिपयले मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाको कुरा पनि गरिरहेका छन्, तत्काल नेपालमा त्यसको आवश्यकता छैन । संविधान संशोधन गर्दा पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थाका लागि प्रस्ताव गर्दैन’, महामन्त्री शर्माले भने ।

त्यसको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उनको भनाइ थियो ।

‘लोकिप्रय मतमा पहिलो हुने दल सत्तामा र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा हुने भनेर संविधानमै उल्लेख हुनुपर्छ । सत्तामा पुग्ने नेता वा प्रधानमन्त्रीले दुई वर्षमा विश्वासको मत लिने व्यवस्था पनि गर्न सकिन्छ’, महामन्त्री शर्माले भने ।

यसैगरी उनले कांग्रेस र नेकपा (एमाले) संविधान संशोधन गर्न सहमत भएरै सत्ता समीकरण बनेको उल्लेख गर्दै दुवै दलले एउटा व्यक्ति कतिपटक राष्ट्रपति र प्रधानमन्त्री बन्ने भन्ने विषयमा पनि संविधानमै व्यवस्था गर्न छलफल प्रारम्भ गर्नुपर्ने बताए ।

‘सुशासन रसमृद्धि प्राप्तिमा पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ’ : राष्ट्रियसभाका अध्यक्ष दाहाल

पाटन (ललितपुर), २१ पुसः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले थप क्रियाशीलताका लागि आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाद्वारा आज यहाँ आयोजित नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उहाँले समाज रूपान्तरणमा पत्रकारको भूमिकाको प्रशंसा गर्दै जिम्मेवारीअनुसार भूमिका निर्बाहका लागि आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले यस क्षेत्रमा थप क्रियाशीलताका लागि आग्रह गर्नुभयो । “अहिले देशमा सुशासन र आर्थिक समृद्धिको कुरालाई जीवन र व्यवहारमा उतार्नेभन्दा पनि आदर्शका रूपमा मात्रै प्रस्तुत गरिरहेको भान हुन्छ । आदर्श एउटा कुरा हो, त्यसलाई जीवन र व्यवहारमा लागूगर्नु अर्को कुरा हो । यी अन्तरविरोधलाई हल गर्न पत्रकारले जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले सत्यतथ्यमा आधारित भएर समाचार प्रस्तुत गरे मात्रै समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो । “आममानिसले पत्रकारले दिने समाचारअनुसार धारणा बनाउँछन् । त्यसैकारण हामीले गम्भीर भएर समाचार प्रस्तुत गनुपर्छ”, उहाँले भन्नुभयो ।

मिडिया काउन्सिल विधेयक सदन सञ्चालन हुनेवित्तिकै प्रस्तुत हुने भन्दै अध्यक्ष दाहालले पत्रकारिता व्यवस्थित गर्न आवश्यक ऐन, कानुनका सम्बन्धमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले नागरिक संस्थाको रूपमा महासङ्घको उचाइ र मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमजीवी पत्रकारले निर्बाध र सुरक्षित रूपमा लेख्न पाउने अधिकारको सुनिश्चितताका लागि महासङ्घ निरन्तर क्रियाशील हुने बताउनुभयो ।

अध्यक्ष शर्माले सामाजिक सञ्जालमा भ्रामक कुराले प्राथमिकता पाइरहेकाले पत्रकारले सही सूचना प्रवाह गर्न मिडिया साक्षरता आवश्यक रहेको बताउनुभयो ।

महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले पत्रकारको हकहित र जिल्लामा सञ्चालित स्वरोजगारमूलक मिडियाको व्यवस्थापनका लागि सहजीकरण गर्ने बताउनुभयो ।

निर्वाचन समितिका संयोजक सुरेन्द्र चालिसे, महासङ्घ ललितपुरका भूतपूर्व अध्यक्ष सागर न्यौपानेलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

वायु सेवा सञ्चालक सङ्घद्वारा खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन

काठमाडौँ, २१ पुसः वायु सेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा अवरोध भइरहेको जनाउँदै सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान स्थगन गरिएको जनाएको हो ।

“खुम्बु क्षेत्रमा हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका सम्पूर्ण उडान यही पुस २१ गतेदेखि स्थगत गरिएको व्यहोरा जानकारी गराउँदै उक्त क्षेत्रमा उडान भर्ने स्टल वायुसेवा कम्पनीले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडान स्थगन गर्ने जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको । 

सगरमाथा राष्ट्रिय निकुञ्जÞ, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा सङ्घ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रूपमा यही जनावरी ०१ देखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको थियो । हेलिकप्टर उडान प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीसँग सङ्घका पदाधिकारीले पटकपटक वार्ता गर्दा पनि निष्कर्षमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा झण्डा गाडी अवरोध सिर्जना गरिएको सङ्घले जनाएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकः निर्णय अनुमोदन

काठमाडौँ, २१ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी केन्द्रीय कमिटी बैठकले विभिन्न समयमा भएका बैठकका निर्णय अनुमोदन गरेको छ । एमाले केन्द्रीय कार्यालयमा आज भएको बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता गरिएका पोलिटब्यूरो र केन्द्रीय सचिवालय बैठकका निर्णय सर्वसम्मतिले अनुमोदन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

बैठकमा राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्ना धारणा प्रस्तुत गर्ने क्रम जारी छ । भोलि सोमबारसम्म हुने बैठकमा राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि उहाँहरुले धारणा प्रस्तुत गर्नुहुनेछ । 

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, सहदेव बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वली, कृष्णप्रसाद जैसी, सन्तोष शर्मा, कमला बोहोरा, गुलाबजङ्ग शाह, धर्मराज रेग्मी, विनोद शाह र ठम्मरबहादुर विष्टले राजबहादुर बुढा, नगेन्द्र शाही, डम्बर सिंह, दल रावल, नवराज रावत र घनश्याम पाण्डे, शिवराज सुवेदी, नवीन रोक्का, सजिदा खातुन सिद्धिकी, लक्ष्मण ज्ञवाली, गणेश खनाल र खड्कबहादुर खड्काले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीका सदस्यहरूलाई सङ्गठनात्मक काममा सक्रियतासाथ लाग्न निर्देशन दिनुभयो । पार्टीका सबै नेताकार्यकर्ता निजी स्वार्थमा केन्द्रीत भएर होइन, देश र जनताको हितमा केन्द्रित भएर चल्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । 

महासचिव पोखरेलले पार्टीविरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको सन्दर्भमा त्यसलाई परास्त गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको कार्ययोजना पूरा गर्ने अठोटका साथ केन्द्रीय कमिटीको आठौँ बैठक आयोजना गरिएको बताउनुभयो । 

महासचिव पोखरेलले साङ्गठनिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौँ बैठकयता सङ्गठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण काम भएको, नेकपा स्थापनाको हीरक महोत्सव आयोजना गरिएको, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएकोलगायत विषय प्रस्तुत गर्नुभयो । 

हिजबुल्लाहले युद्धविरामका सर्तहरू पूरा गरेन– इजरायल

इजरायली रक्षामन्त्री इजरायल काट्जले आइतबार लेबनानी समूह हिजबुल्लाहलाई युद्धविरामका सर्तहरू पूरा नगरेको आरोप लगाउनुभएको छ । उहाँले लडाकूहरूले सम्झौता उल्लङ्घन गरिरहे भने इजरायल ‘कारबाही गर्न बाध्य हुने’ चेतावनी दिनुभयो ।

काट्जले सेनाको उत्तरी कमान्डको भ्रमण गरेपछि यस्तो चेतावनी दिनुभएको हो । हिजबुल्लाह प्रमुख नइम कासिमले शनिबार इजरायलविरुद्ध यस्तै आरोप लगाउनुभएपछि यस्तो चेतावनी आएको हो । 

काट्जले युद्धविराम सम्झौतामा उल्लेख गरिएअनुसार हिजबुल्लाहले अझै पनि दक्षिणी लेबनानमा ‘लिटानी नदीपारि’ फिर्ता नभएको बताउनुभयो । 

“यदि यो शर्त पूरा भएन भने कुनै सम्झौता हुनेछैन र इजरायल उत्तरका बासिन्दाहरूको सुरक्षित घर फिर्तीको सुनिश्चितताका लागि आफैँ कारबाही गर्न बाध्य हुनेछ”, उहाँले भन्नुभयो ।

“अन्य प्रावधानहरू कार्यान्वयन गरिएका छैनन्, जस्तै सबै (हेजबुल्लाह) हतियारहरू ध्वस्त पार्नु र लेबनानी सेनाले यस क्षेत्रमा आतङ्कवादी पूर्वाधारहरूलाई विफल पार्नु”, काट्जले आफ्नो कार्यालयबाट जारी विज्ञप्तिमा भन्नुभयो, “हामी उत्तरी समुदाय र इजरायल राज्यका नागरिकहरूका लागि नयाँ खतरा सिर्जना गर्न दिनेछैनौँ” । 

कासिमले शनिबार इजरायलमाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै समूह दक्षिणी लेबनानबाट इजरायललाई हट्नका लागि दिइएको ६० दिने समयसीमा समाप्त हुनुअघि नै जवाफी कारबाही गर्न तयार रहेको बताउनुभएको थियो ।

“हामीले इजरायली उल्लङ्घनहरू रोक्न र सम्झौता कार्यान्वयन गर्न अवसर दिइरहेका छौँ र हामी धैर्य प्रयोग गर्नेछौँ भनेर हामीले भनेका छौँ”, कासिमले भन्नुभयो । 

इजरायल र हिजबुल्लाहबीच दुई महिनाको पूर्ण युद्धपछि नोभेम्बर २७ मा लागू भएको नाजुक युद्धविराममा दुवै पक्षबाट उल्लङ्घनका आरोपहरू लगाइएको छ ।

युद्धविरामका सर्तहरू अन्तर्गत इजरायली सेनाले ६० दिनको अवधिमा फिर्ता हुँदा लेबनानी सेना दक्षिणमा संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकहरूसँग तैनाथ हुनुपर्नेछ । 

हिजबुल्लाहले सीमाबाट करिब ३० किलोमिटर (२० माइल) टाढा रहेको लिटानी नदीको उत्तरमा आफ्नो सेना फिर्ता लिनेछ र दक्षिणमा बाँकी रहेको कुनै पनि सैन्य पूर्वाधार विघटन गर्नुपर्नेछ । 

इजरायली, लेबनानी, फ्रान्सेली र अमेरिकी प्रतिनिधिहरू मिलेर बनेको एक समितिसँग संयुक्त राष्ट्र शान्तिसेना (युनिफिल) का प्रतिनिधिलाई कुनै पनि युद्धविराम उल्लङ्घनको पहिचान र व्यवहार सुनिश्चित गर्ने जिम्मेबारी दिइएको छ । 

संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाले पनि इजरायललाई बारम्बार युद्धविरामको शर्त उल्लङ्घन गरेको आरोप लगाएको छ । 

ठूलो आँधीबेहरी, हिमबर्षा र चिसो चिन्ताले अमेरिकाका अधिकांश भाग आक्रान्त

संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ । मौसमविद्हरूले पूर्वका लाखौँ मानिसहरूले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात हुनेछ।
छ करोडभन्दा बढी मानिसल खतरनाक हिमआँधीको जोखिम सहनुपर्ने देखिएका हो ।संयुक्त राज्य अमेरिकाको पूर्वी आधा भागलाई आर्कटिक हावाको चिसोले प्रभावित पार्नेछ भने हिमबर्षाका कारण प्रमुख राजमार्गको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको छ ।

राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–एटलान्टिकसम्मका राज्यहरूमा हिमपात र आँधीबेहरीको प्रभावको चेतावनी दिएको छ। पश्चिमी कान्सास क्लियरबाट तटीय राज्य मेरिल्याण्ड, डेलावेयर र भर्जिनियासम्म जाडो यामको चिसो आँधीको चेतावनी जारी गरिएको छ, जसले असामान्य रूपमा १,५०० माइल (२,४०० किलोमिटर) क्षेत्रमा तत्काल खतरा उत्पन्न गरेको छ ।
एनडब्लुएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “भारी हिमपातले अत्यधिक ठण्डी निम्त्याउदा मध्य–एटलान्टिक क्षेत्रमा सोमबारसम्म प्रभाव पार्नेछ।”

उत्तरपूर्वी कन्सासदेखि उत्तर–मध्य मिसौरीसम्मका क्षेत्रमा दशकयताकै सबैभन्दा ठूलो हिमपात हुने चेतावनी मौसम पुर्वानुमान निकायले दिएको छ । मानव सिर्जित जलवायु परिवर्तनका कारण मौसम सामान्यबाट चरम र गम्भीर बन्दै गएको वैज्ञानिकहरूले बताएका छन् ।

सन् २०२५ को पहिलो ठूलो आँधीले यात्रामा आतङ्क मच्चाइरहेको छ भने कन्सास सिटी अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार आफ्नो उडान बन्द गर्ने घोषणा गरेको छ । कन्सास सिटीका मेयर क्विन्टन लुकासले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “एयरफिल्ड रनवे र ट्याक्सीवेको सरसफाईपछि उडान पुनः सुरु भएको छ ।

ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ

काठमाडौँ, २१ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुल्चोक क्याम्पसमा निर्माण गरिएको ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’को शुभारम्भ गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आर्थिक सहयोगमा ट्रान्सफर्मर परीक्षण प्रयोगशाला निर्माण गरिएको हो ।

कार्यक्रममा मन्त्री खड्काले सुरक्षित विद्युत् प्रवाहमा उक्त प्रयोगशालाबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्युत्मा ठूलो धनराशि खर्च भइरहेको बेलामा यसलाई कसरी सुरक्षित र भरपर्दो बनाउन सकिन्छ त्यसतर्फ अध्ययन अध्यापनको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

सरकारले सन् २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट पास गरेको उल्लेख गर्दै मन्त्री खड्काले सो लक्ष्य पूरा गर्दै गर्दा हजारौँ इन्जिनियरले रोजगारी पाउने बताउनुभयो । ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव रहेको उहाँको भनाइ थियो ।

मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री खड्काले भन्नुभयो, “मुलुकको आर्थिक विकासका लागि इन्जिनियरको ज्ञान, सीप र क्षमताको खाँचो छ ।”  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारले राखेको जलविद्युत् विकासको मार्गचित्रलाई पूरा गर्न यस्ता प्रयोगशालाबाट सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा सरकारले यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले सुुरक्षित, नियमित, किफायती र भरपर्दो विद्युत् उत्पादनतर्फ सरकार लागिपरेको बताउनुभयो । उहाँले उत्पादकको प्राविधिक, प्रसारणको प्राविधिक पाटोमा हुने कार्यान्वयनमा नियमनकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताउनुभयो । उहाँले लामो समयसम्म दरबन्दी बढाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै खुलेकाले आगामी दिनमा प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाइने उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राडा सुशीलबहादुर बज्राचार्य, पुल्चोक क्याम्पसका सहायक क्याम्पस प्रमुख नवीनकुमार झा, पुल्चोक क्याम्पस इलेक्ट्रिकल इन्जिनियर विभागका प्रमुख युवराज अधिकारीलगायतले इलेक्ट्रिकल इन्जिनियरको सङ्ख्या बढाउन अध्ययन र अनुसन्धानमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

शिक्षामन्त्री भट्टराईसमक्ष सम्पत्ति खोजबिन समितिद्वारा प्रतिवेदन पेस

काठमाडौँ, २१ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति, २०८१ ले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

 उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा  शिक्षा  मन्त्रालयमा मन्त्री भट्टराईसमक्ष सो  प्रतिवेदन हस्तान्तरण गरिएको हो । सो अवसरमा मन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वयनका लागि  स्थानीय सरोकारवाला, राजनीतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने उल्लेख गर्दै प्रतिवेदन तयार गर्ने कार्यमा  संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त प्रतिवेदन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई हस्तान्तरण गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

प्रतिवेदन मन्त्रिपरिषद्को गत असार २० गते बसेको बैठकको निर्णयानुसार गठित सो समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ जिल्लाका विभिन्न स्थानमा अवस्थित जग्गा तथा भौतिक पूर्वाधारको स्थलगत अवलोकन, विश्वविद्यालय पदाधिकारी तथा कर्मचारीसँगको छलफल तथा अन्तरक्रिया एवं विभिन्न निकायसँगको समन्वयका आधारमा आवश्यक सूचना सङ्कलन गरी तयार पारिएको हो ।

‘स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य’ : मन्त्री सिंह

धरान (सुनसरी), २१ पुसः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भए पनि सरकारको स्थायित्वका लागि सत्ता सहकार्य गरिएको बताउनुभएको छ ।

कांग्रेस धरान उपमहानगर कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सहमतिअनुसार दुवै पार्टीले इमान्दार भएर काम गरिरहेको बताउनुभयो । “विगतमा र आगामी निर्वाचनमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई राम्ररी थाहा छ । अहिलेको परिस्थिति र आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो । त्यसैले परिणाम दिनेगरी सरकारले काम गरिरहेको छ । यसअघि पूरा हुननसकेका योजना सम्पन्न गर्ने, आर्थिक र विकास निर्माणका काममा गतिदिने गरी सरकार अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता सिंहले देश विकास र जनसेवालाई केन्द्रमा राखेर पार्टी नेता तथा कार्यकर्तालाई क्रियाशील हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा, पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी सभापति श्याम पोख्रेल, क्षेत्रीय सभापति सुजेन्द्र तामाङलगायतको सहभागिता रहेको थियो ।

‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरूरी’

मनहरी (मकवानपुर), २१ पुसः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाएर कार्यान्वयन गर्न जरूरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय दलित आयोग बागमती प्रदेशले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को प्रगति प्रतिवेदन ग्रहण गर्दै आज उहाँले दलित तथा सीमान्तकृत समुदायका सवाल र समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । प्रदेश प्रमुख देवकोटाले राज्यको मूलधारमा दलित समुदायको प्रतिनिधित्व बढाउन आवश्यक कार्यक्रम तय गर्न प्रदेश सरकारसँग पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले नेपालको संविधानको धारा २९४ (३) बमोजिम प्रदेश प्रमुख देवकोटासमक्ष प्रतिवेदन पेस गर्नुभएको थियो । उहाँले प्रतिवेदनमा आयोगका वार्षिक कार्यक्रम, सिफारिस, सुझाव र तिनको कार्यान्वयनको अवस्था, अवसर, चुनौती र आगामी कार्यदिशालगायत विषय समेटिएको बताउनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धताअनुसार सरकारले नीति, कानुन, रणनीतिक योजना, कार्यक्रम र बजेटमा समेट्न नसकेका विषयमा समेत प्रतिवेदनमार्फत ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार बागमती प्रदेशमा दलित समुदायको जनसङ्ख्या तीन लाख ५९ हजार पाँच सय ११ जना रहेको छ ।

एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रमा सुधार, अपेक्षित गति लिन नसकेको स्वीकार

काठमाडौँ, २१ पुस : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटीको आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा उहाँले देशको अर्थतन्त्रमा सुधारमा सकारात्मक सङ्केत देखिए पनि त्यसले अपेक्षित गति लिन नसकेको उल्लेख गर्नुभएको छ । राजनीतिक स्थायित्व र सबल सरकार गठनसँगै निजी क्षेत्रको विश्वास बढेको, राजस्व, निर्यात, र पुँजीगत खर्चमा वृद्धि भएको तथा पुँजी बजारमा सुधार आएको प्रधानमन्त्रीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । पहिलोपटक देशको सार्वभौम ‘क्रेडिट रेटिङ’बाट हाम्रो राष्ट्र दक्षिण एसियामा भारतपछिको दोस्रो लगानीयोग्य मुलुकका रुपमा परिचित भएको उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

सहकारीका बेथितिलाई सम्बोधन गर्न तथा अनियमिततामा संलग्नलाई कारबाही गर्ने, बचतकर्ताको रकम फिर्ता गर्ने, प्रभावकारी नियमनका लागि प्राधिकरण गठन एवं कानुनी संरचना निर्माणमा आवश्यक प्रयत्न भएको एमाले अध्यक्ष ओलीले बताउनुभएको छ । ऊर्जा, व्यापार र पूर्वाधारमा सुधारका प्रयास भएका, किसानका समस्या समाधान, सरकारी सेवा प्रवाहमा क्रमिक सुधार आए पनि ती क्षेत्रमा चुनौती रहेका प्रधानमन्त्रीले औँल्याउनुभएको छ । प्रतिवेदनमा सरकारका प्रयास सकारात्मक भए पनि अपेक्षित विकास र जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्नेमा जोड दिइएको छ ।

“मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ । वर्तमान सरकारले अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ । पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको छ । गत वर्षको यसै अवधिको तुलनामा राजस्वमा वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ । पुँजीगत खर्च पनि वृद्धि भएको छ”, प्रतिवेदनमा भनिएको छ, “मुलुकको अर्थतन्त्रमा सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको छ । गत वर्षदेखि सिर्जित भुक्तानी दायित्व लगभग पूरा गरिएको छ । करिब एक दर्जन, नियमावली, कार्यविधि, निर्देशिकालगायत ऐनकानुन पारित भई कार्यान्वयनमा आएका छन् ।”

बिनाअध्ययन साना आयोजनामा छरिएको बजेटलाई राष्ट्रिय गौरवका रणनीतिक आयोजनामा केन्द्रित गर्न र अनुशासित कार्यप्रणाली कार्यान्वयन गर्न मितव्ययितामा जोड दिइएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । सरकारले गरेका विभिन्न प्रयासका कारण अर्थतन्त्र गतिशील हुने आधार तयार भएको प्रतिवेदनमा उल्लेख छ । “अर्थतन्त्रको बाह्य अवस्थामा तुलनात्मक रुपमा अनुकूल अवस्था छ । बैङ्कमा लगानीयोग्य पुँजीको दायरा र विप्रेषण आप्रवाह विस्तार भएको छ । ब्याजदर एकल विन्दुमा झरेको छ । मूल्यवृद्धि र मुद्रास्फीति नियन्त्रणको सीमामा छ”, पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भन्नुभयो ।

सहकारीका बेथिति अन्त्यका लागि मुख्य चारवटा कार्य तत्काल गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभएको छ । “अनियमिततामा संलग्नहरूलाई बिनामोलाहिजा कारबाही गर्ने, बचतकर्ताहरूको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधिकरण गठन गर्ने र भविष्यमा बचतकर्ताहरूको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ”, ओलीले भन्नुभयो ।

नागरिकहरूको बचत रकम हिनामिना गर्ने कसैलाई पनि छुट दिनु हुँदैन र दोषीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा वर्तमान सरकार स्पष्ट रहेको पनि उहाँले बताउनुभयो । “कतिपय पार्टी या व्यक्तिहरूले चालु अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्ने एवं आफूहरूप्रतिको पूर्वाग्रह या प्रतिशोध करार गर्ने प्रयत्न गरिहेका छन् । तर यस प्रक्रियामा सत्तारूढ पार्टीहरू सम्बद्ध कतिपय व्यक्तिहरू समेत अनुसन्धानमा तानिएको, थुनामा परेको या मुद्दा खेपिरहेका घटनाक्रमले त्यस्तो आरोपलाई मिथ्या प्रमाणित गरिसकेको छ”, उहाँले भन्नुभयो, “आफूले गल्ती गरिएको छैन भने कोही पनि न्यायिक प्रक्रियाबाट तर्सिनु पर्दैन । गल्ती गरेको भए सडक अदालतले उन्मुक्ति दिन सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्छ ।”

हालसम्म सरकारले समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारीका ६९ हजार बचतकर्ता मध्येबाट तीनवटा सहकारीका छ हजार बचतकर्ताहरूको करिब रु एक अर्ब ५५ करोड रकम फिर्ता भइसकेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले अन्य सहकारीका करिब आठ हजार बचतकर्ताको ७० प्रतिशत र दुई हजार बचतकर्ताको ५० प्रतिशत बचत फिर्ता भइसकेको जानकारी दिनुभयो । 

अधिक तरल, अस्थिर र अनिश्चयपूर्ण राजनीतिक अवस्थाले मुलुकको विकास निर्माणको काममा गम्भीर व्यवधान पुगेको प्रधानमन्त्रीले प्रतिवेदनमा स्वीकार्नु भएको छ । पूर्ववर्ती सरकारको पालामा तस्करी, भ्रष्टाचार र सरकारी रकम अपचलनलाई संरक्षण दिँदा मुलुकमा एक किसिमको समानान्तर अर्थतन्त्र चलायमान भएको, अपेक्षित राजस्व नउठेको, विदेशी अनुदान, सहायता र लगानी अपेक्षा गरिएअनुरुप नभित्रिने स्थिति सिर्जना भएको आरोप पनि प्रतिवेदनमा लगाइएको छ ।

“निर्माणाधीन परियोजना समयमा सम्पन्न नहुने र निर्माण सम्पन्न भएका आयोजनामा निर्माण व्यवसायीहरूले भुक्तानी नपाउने जस्ता बेथिति देखा परे । निश्चित राजनीतिक स्वार्थका लागि जथाभावी योजना थप्दै जाँदा मन्त्रालयहरू त्यस्ता टुक्रे योजनाहरूको बोझ र स्रोत सुनिश्चितताका नाममा प्रतिबद्धता गरिएका दायित्वले थिचिएको अवस्था छ । यस्तो बेथितिलाई अन्त्य गर्दै हाम्रो विकास निर्माणको समग्र ‘इकोसिस्टम’ मै ठूलो रुपान्तरण आवश्यक भएको छ”, प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

अर्थतन्त्र सुधारका लागि वर्तमान सरकारका काम सकारात्मक भए पनि ती पर्याप्त नभएका उहाँले बताउनुभयो । “दुई मुख्य दलको साझेदारी र अन्य दलहरू समेतको सहभागितामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र ‘डेलिभरी’को अपेक्षा गरिरहेका छन् । एक वर्ष बितिसक्दा पनि जाजरकोट र पश्चिम रुकुम पुनर्निर्माणको काम थालनी नहुनु र असोज दोस्रो साताको बाढीबाट पीडितहरूको पुनःस्थापनामा ढिलाइ हुनु सोचनीय विषय हो”, अध्यक्ष ओलीले प्रतिवेदनमा भन्नुभएको छ, “आफूले उत्पादन गरेका वस्तुहरूको उचित बजार र मूल्य नपाउने किसानहरूको समस्या समाधान हुन नसक्नु, विकास –निर्माणमा अपेक्षित गति नआउनु र सरकारी सेवा प्रवाह, लगानी र व्यावसायिक वातावरणमा अपेक्षित सुधार नआउनु सरकारका सामु तेर्सिएका मुख्य चुनौती हुन् ।”

आजको मौसम : सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ, २१ पुसः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

“तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।”

पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

शनिबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ । शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो । राति काठमाडौँको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । न्यूनतम तापक्रम बढेकाले काठमाडौँमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ । गत मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा

नवलपुर (नवलपरासी), २१ पुसः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन् । कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको जानकारी दिनुभयो । “हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीको ‘रिजल्ट’ यही पुस १६ गते आयो तर हाम्रो रोकिएको छ, थेसिसको रिजल्ट नआएसम्म ट्रान्सकृप्ट पाइँदैन”, उहाँले भन्नुभयो, “यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखले हामीसँग कुराकानी गर्नै खोज्नुभएन ।”

क्याम्पस प्रमुखलाई आफूहरूको नतिजा प्रकाशनका बारेमा फोनमा कुरा गर्दा विद्यार्थीको अभिभावकलाई घरमा फोन गरेर मानसिक तनाव दिइएको विद्यार्थी थपलियाले गुनासो गर्नुभयो । “हामीले हाम्रो रिजल्ट रोकिएकोबारे कलेजसँग कुरा गर्न खोज्दा हामीलाई प्रहरी लगाएर थुन्ने धम्की दिइयो”, उहाँले भन्नुभयो, “हाम्रो घरमा अभिभावकलाई समेत फोन गरेर मानसिक तनाव दिइएको छ ।” कलेजका कारण आफूहरूको नतिजा रोकिँदा अब आउने नतिजामा उत्तीर्ण वर्ष २०२५ हुने भएकाले लोकसेवामा आवेदन तथा वैदेशिक अध्ययनमा जानसमेत असर पुग्ने उहाँको भनाइ छ ।

क्याम्पसका प्रमुख एवं प्रबन्ध निर्देशक छवि कँडेलले विश्वविद्यालयको गल्तीका कारण विद्यार्थीको नतिजा रोकिएको बताउनुभयो । “हामीले आन्तरिक मूल्याङ्कनको नम्बर पठाउने अन्तिम दिनमा विद्यार्थीहरूको नम्बर इमेल गरेर विश्वविद्यालयको परीक्षा शाखामा पठाएका थियौँ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयले इमेल नहेरी अरु दुई कलेजको रिजल्ट निकाल्दा हाम्रो कलेजको रोकिएछ ।” विद्यार्थीहरूको नतिजा रोकिएको विषयमा विश्वविद्यालयसँग कुराकानी भइरहेको जनाउँदै क्याम्पस प्रमुख उहाँले चाँडै नै विद्यार्थीहरूको नतिजा प्रकाशन हुने बताउनुभयो ।

आठौँ सत्रहान्तका विद्यार्थीसँग कलेजले अतिरिक्त शुल्कसमेत माग्दै आएको विद्यार्थीको गुनासो छ । आठौँ सत्रहान्तका विद्यार्थी प्रेमकृष्ण साहले भर्ना गर्ने बेलाबाट नै कलेजमा धेरै समस्याको सामना गर्दै आएको बताउनुभयो । “हामी विश्वविद्यालयको आठौँ ब्याच तथा सिद्धान्त कलेजको दोस्रो ब्याचको विद्यार्थी हो”, उहाँले भन्नुभयो, “कलेजले प्रयोगात्मक परीक्षा नलिने तर शुल्क लिने गरेको छ । विद्यार्थीसँग भर्ना हुने बेलामा मागेको धरौटी रकमसमेत फिर्ता नगर्ने कलेजले जनाएको छ ।”

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट बिएस्सी फरेष्ट्रीतर्फको सम्बन्धन लिएर शैक्षिकसत्र २०७५ बाट सिद्धान्त कलेजले अध्ययन अध्यापन गराउँदै आएको थियो । कलेजमा बिएस्सी फरेष्ट्रीतर्फ दोस्रो ब्याचका रूपमा शैक्षिकसत्र २०७६ ÷२०८१ समूहमा भर्ना लिएको थियो ।

सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

गण्डकी, २१ पुसः कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताउनुभयो ।

यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको बताउनुभयो ।

“प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ”, उहाँले भन्नुभयो । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिनुभएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।

डुङ्गामा राखी सुन तस्करी गरिरहेको अवस्थामा ११ किलो सुनसहित तीन जना पक्राउ

श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देशबाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार तीन जनालाई पक्राउ गरेको छ ।
उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ ।

उक्त सुन र शङ्कास्पद व्यक्तिलाई कानूनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ ।

अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्नेक्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो ।

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ, २१ पुसः कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी) रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ४५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ५०, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ११०, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ४०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १२०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु ३०, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकेजी रु ३५, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ३३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु १००, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किवि प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १८०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २१ पुसः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताउनुभयो । बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ ।

यसैबीच, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।

यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बस्दैछ ।संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संविधान संशोधनलगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ-देशभरका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

महासङ्घको सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्ष श्रेष्ठ खिचापोखरी–न्युरोड व्यापार सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा कमल अग्रवाल र हरिबहादुर गौतम, प्रथम उपाध्यक्षमा लक्ष्मी खड्का र हरिप्रसाद पाण्डे, १३ उपाध्यक्षमा गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, पार्वती पौडेल भट्ट, धिरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमल्सिना र लेखनाथ पौडेल चयन हुनुभएको छ ।

यसैगरी, महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र लवराज भण्डारी, सात सचिवमा किशोरकुमार गौतम, केदारप्रसाद न्यौपाने, विजुरत्न बज्राचार्य, देवराज कार्की, सुरेन्द्रराज सुवेदी, गोपाल घिमिरे र पृथ्वीनारायण अधिकारी चयन हुनुभएको छ ।

सात सहसचिवमा प्रदीप घिमिरे, हरिप्रसाद पाण्डे, सुमित लामा, दीपककुमार श्रेष्ठ, जयराज बजगाईँ र मुलुकसिंह तामाङ, कोषाध्यक्षमा हिमलाल खराल र सहकोषाध्यक्षमा त्रिलोचन सुवेदी, यमुना श्रेष्ठ र राममणि भट्टराईलाई चयन गरिएको छ ।

साना तथा मझौला व्यवसायीको हकहित र अधिकारका लागि स्थापना भएको उक्त महासङ्घमा हाल देशभरका दुई दर्जनभन्दा बढी सङ्घ आबद्ध छन् । महासङ्घमा हाल २५ हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।

रौतहटका आगलागी पीडितलाई पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा राहत वितरण

चन्द्रपुर (रौतहट- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगलागीपीडितहरूलाई राहत वितरण गर्नुभएको छ ।

रौतहट क्षेत्र नं १ का सांसदसमेत रहनुभएका अध्यक्ष नेपालले राजदेवी–५ पतही गाउँका आगलागीपीडितलाई राहत प्रदान गर्नुभएको हो । राहत हस्तान्तरण गर्दै अध्यक्ष नेपालले आगलागीपीडित परिवारको सुरक्षित आवास निर्माण गर्न जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले आगलागीपीडितलाई भेटेर तत्काल घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जनता आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न परिवारको घर निर्माण तथा जमिन उपलब्ध गराइदिन अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले पीडित परिवारलाई खाद्यान्न, त्रिपाल, कम्बलसहितका सामान हस्तान्तरण गर्नुभयो । गत सोमबार राजदेवी नगरपालिका–५ पताहीटोलमा स्थानीय जगरनाथ पासवानको घरमा जाडो छल्न बालेको घुरबाट आगो सल्किँदा उक्त गाउँका सात घर जलेर नष्ट भएका थिए ।

आगलागीबाट राजदेवी–५ पताहीका जगरनाथ पासवान, राम सोगारथ पासवान, बाबुलाल पासवान, दीपेन्द्र पासवान, विजय पासवान, शिवचन्द्र पासवान र रामनाथ पासवानको घर तथा घरभित्र रहेका लत्ताकपडा र सामान पूर्ण रूपमा जलेर नष्ट भएका थिऐ ।

राहत हस्तान्तरण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कल्याणी खड्का, मधेस प्रदेससभा सदस्य कनिस पटेल, पार्टीका रौतहट अध्यक्ष कमल यादव, राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादव, बौधिमाई नगरपालिकाका प्रमुख प्रदीप यादव लगायतको उपस्थिति थियो ।

सूर्यविनायक नगरपालिकाको संशोधित विधेयक पारित

भक्तपुर, २१ पुस : सूर्यविनायक नगरपालिकाको नगरसभाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा सम्पन्न नगर अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल गरी विधेयक पारित गरेको हो ।

नगरसभाका सभाध्यक्ष थापाले निर्णायार्थ प्रस्तुत गर्नुभएको नगरपालिकाको संस्था दर्ता (प्रथम संशोधन) विधेयक २०८१, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१, आर्थिक ऐन २०८१ को प्रथम संशोधन विधेयक २०८१ र नगरपालिका तथा अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ पारित गरेको हो ।

नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष थापाले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनाको अवधिमा कूल बजेटको १६ दशमलभ ०१ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले नगरपालिकाको चालु आर्थिक वर्षको कुल बजेट रु एक अर्ब ४० करोड ३७ लाख २२ हजार पारित गरेकामा छ महिनामा नगरको कुल बजेटको रु ३५ करोड ८६ लाख ५० हजारमात्र खर्च भएको बताउनुभयो । नगरपालिकाको चालु खर्चतर्फ रु २३ करोड ४१ लाख ९१ हजार र पुँजीगततर्फ रु १२ करोड ४४ लाख ५९ हजार खर्च भएको उहाँले बताउनुभयो ।

नगरप्रमुख थापाले चालु आवको दुई महिना वर्षालगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रूपमा बजेट खर्च हुन नसकेको बताउँदै चालु आवको बाँकी छ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभयो । उहाँले बाँकी छ महिनामा बजेट खर्चको अवस्था सुधार हुने र आवको अन्त्यसम्ममा ९० प्रतिशतभन्दा बढी बजेट खर्च गर्दै नगरपालिकाले लक्ष्य हासिल गर्ने बताउनभयो । नगरपालिकले सबैभन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ ।

यसैगरी, नगरपालिकाले चालु आवको छ महिनामा रु ११ करोड ८८ लाख पाँच हजार सात सय तीन राजस्व सङ्कलन गरेको नगर अधिवेशनमा उपप्रमख सरिता तिम्सिना भट्टराईले बताउनभयो । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ६० प्रतिशत रकम बढी राजस्व सङ्कलन गरेको बताउनुभयो ।

गत आवको छ महिनामा नगरपालिकाले रु ११ करोड २४ लाख ९० हजार राजस्व सङ्कलन गरेको उल्लेख गर्दै उहाँले नगरपालिकाले चालु आवमा रु ४३ करोड ६० लाख सात हजार पाँच सय राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको बताउनुभयो । उपप्रमुख भट्टराईले चालु आव २०८१÷८२ मा नगरसभाबाट स्वीकृत तीन सय तीन, नगर कार्यपालिकाबाट स्वीकृत ३५, सङ्घ–प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा तीन सय ९० योजना रहेकामा हालसम्म एक सय २० योजना सम्झौता भई योजना अनुगमन गरी ३४ योजना फरफारक गरिएको बताउनुभयो ।

नगरसभामा विधायन समितिका संयोजक प्रदीप कार्कीले आचारसंहिता वाचन, नगरपालिकाको विधायन समितिको प्रतिवेदन, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१ पेश गर्नुभएको थियो । नगरउपप्रमुख एवं राजस्व परार्श समिति संयोजक एवं न्यायिक समिति संयोजक सरिता तिम्सिना भट्टराईले नगरपालिकाको न्यायिक समितिको र नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण तिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो ।

सभामा विभिन्न समितिका संयोजकमध्ये राजकुमार जोशीले सार्वजनिक लेखा समितिको प्रतिवेदन, रवीन्द्र सापकोटाले संस्था दर्ता प्रथम संशोधन विधयक २०८१ र सामाजिक विकास समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संयोजक पुष्पराज बस्नेतले आर्थिक विकास समितिको प्रतिवेदन, शिवराम राउतले पूर्वाधार विकास समितिको प्रतिवेदन, भगवाण खत्रीले वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन र सानुकाजी कायस्थले सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको प्रतिवेदन र सार्वजनिक सम्पत्तिको विवरण सभामा प्रस्तुत गर्नुभएको थियो ।

मुटु कमाउने जाडोमा लुगा नभएर कष्ट झेल्दै आएका शीतलहरपीडितलाई सेनाको सहयोग

महोत्तरी, २१ पुस : मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् । दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो । शीतलहरको यो राहत पाउने उनीहरु अतिविपन्न मुसहर र डोम समुदायका परिवार हुन् ।

मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोदविकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सेनाप्रदत्त कम्बल मुसहर र डोम परिवारलाई प्रदान गर्नुभएको हो ।

जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने कार्य गर्दै आएको छ । जनताको दुःखमा एकाकार हुन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानी पाठकको भनाइ छ ।

सेनाले जाडोमा सहयोगका लागि अतिविपन्न बस्तीका दलित परिवार छानेर प्रशंसनीय कार्य गरेको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो । शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, नगरका जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । महोत्तरीका सुदूरदक्षिण र मध्यभेगमा पुस तेस्रो साता सुरु भएदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहने क्रमले सर्वसाधारण अत्यन्त कष्टकर अवस्थामा छन् । यो अवस्थामा सेनाले सराहनीय कार्य गरेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक र भिडियो बनाउनेको भीड

गलेश्वर (म्याग्दी), २१ पुसः केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।

सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड छ । पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिनुभयो ।

उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताउनुभयो । अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताउनुभयो ।

रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ । तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् ।

पहेलँै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।

रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी नेत्रबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, “रत्नेचौर पर्यापर्यटनको आकर्षक स्थल बनेको छ । रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन यहाँका स्थानीय लागिपरेका छन् ।”

केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताउनुभयो ।

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । “पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खान मानिस आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ” स्थानीय महतले बताउनुभयो ।

वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमका बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ ।

नेत्ररोग विशेषज्ञ डा रुइत श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत

कास्की, २१ पुस : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई प्रदान गरिएको हो । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहनुभएका डा रुइतलाई गुठीको ३२औँ वार्षिक साधारणसभा समारोहमा पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीलगायतले शनिबार रु दुई लाख २२ हजार दुई सय २२ सहित श्रीपति समाज सेवा पदक र ताम्रपत्रबाट पुरस्कृत गर्नुभयो । कार्यक्रममा डा रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाज सेवाका लागि अभिप्रेरित गरेको बताउनुभयो ।

यसैगरी सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई नगद रु २२ हजार दुई सय २२ राशिसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।

देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा गर्नुभएको योगदानको कदर गर्दै डा रुइतलाई पुरस्कृत गरेका हौँ ।”

पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजिवीसहितको ६ सदस्यीय समिति गठन गरिएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी गत असार २७ गते पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको थियो । यसअघि उक्त पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भवानी नमूना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

काभ्रेपलाञ्चोक, २१ पुस : गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ ।

“अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ”, उहाँले भन्नुभयो । प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।

क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेश बताउनुहुन्छ । “सडकखण्ड पुनर्निर्माण गर्न गएिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन, दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ”, उहाँले भन्नुभयो । राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो ।

उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग छलफल गर्नुभएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ । मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ । यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ । सचिव शर्मा आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ ।

पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ ब्यहोर्नुपर्ने प्रमुख योगेशले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गथ्र्यौँ, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ ।” उहाँका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ ।

बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ छ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ । राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो ।