`

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २१ पुसः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताउनुभयो । बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ ।

यसैबीच, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।

यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बस्दैछ ।संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संविधान संशोधनलगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ-देशभरका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

महासङ्घको सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्ष श्रेष्ठ खिचापोखरी–न्युरोड व्यापार सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा कमल अग्रवाल र हरिबहादुर गौतम, प्रथम उपाध्यक्षमा लक्ष्मी खड्का र हरिप्रसाद पाण्डे, १३ उपाध्यक्षमा गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, पार्वती पौडेल भट्ट, धिरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमल्सिना र लेखनाथ पौडेल चयन हुनुभएको छ ।

यसैगरी, महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र लवराज भण्डारी, सात सचिवमा किशोरकुमार गौतम, केदारप्रसाद न्यौपाने, विजुरत्न बज्राचार्य, देवराज कार्की, सुरेन्द्रराज सुवेदी, गोपाल घिमिरे र पृथ्वीनारायण अधिकारी चयन हुनुभएको छ ।

सात सहसचिवमा प्रदीप घिमिरे, हरिप्रसाद पाण्डे, सुमित लामा, दीपककुमार श्रेष्ठ, जयराज बजगाईँ र मुलुकसिंह तामाङ, कोषाध्यक्षमा हिमलाल खराल र सहकोषाध्यक्षमा त्रिलोचन सुवेदी, यमुना श्रेष्ठ र राममणि भट्टराईलाई चयन गरिएको छ ।

साना तथा मझौला व्यवसायीको हकहित र अधिकारका लागि स्थापना भएको उक्त महासङ्घमा हाल देशभरका दुई दर्जनभन्दा बढी सङ्घ आबद्ध छन् । महासङ्घमा हाल २५ हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।

रौतहटका आगलागी पीडितलाई पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा राहत वितरण

चन्द्रपुर (रौतहट- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगलागीपीडितहरूलाई राहत वितरण गर्नुभएको छ ।

रौतहट क्षेत्र नं १ का सांसदसमेत रहनुभएका अध्यक्ष नेपालले राजदेवी–५ पतही गाउँका आगलागीपीडितलाई राहत प्रदान गर्नुभएको हो । राहत हस्तान्तरण गर्दै अध्यक्ष नेपालले आगलागीपीडित परिवारको सुरक्षित आवास निर्माण गर्न जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले आगलागीपीडितलाई भेटेर तत्काल घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जनता आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न परिवारको घर निर्माण तथा जमिन उपलब्ध गराइदिन अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले पीडित परिवारलाई खाद्यान्न, त्रिपाल, कम्बलसहितका सामान हस्तान्तरण गर्नुभयो । गत सोमबार राजदेवी नगरपालिका–५ पताहीटोलमा स्थानीय जगरनाथ पासवानको घरमा जाडो छल्न बालेको घुरबाट आगो सल्किँदा उक्त गाउँका सात घर जलेर नष्ट भएका थिए ।

आगलागीबाट राजदेवी–५ पताहीका जगरनाथ पासवान, राम सोगारथ पासवान, बाबुलाल पासवान, दीपेन्द्र पासवान, विजय पासवान, शिवचन्द्र पासवान र रामनाथ पासवानको घर तथा घरभित्र रहेका लत्ताकपडा र सामान पूर्ण रूपमा जलेर नष्ट भएका थिऐ ।

राहत हस्तान्तरण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कल्याणी खड्का, मधेस प्रदेससभा सदस्य कनिस पटेल, पार्टीका रौतहट अध्यक्ष कमल यादव, राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादव, बौधिमाई नगरपालिकाका प्रमुख प्रदीप यादव लगायतको उपस्थिति थियो ।

सूर्यविनायक नगरपालिकाको संशोधित विधेयक पारित

भक्तपुर, २१ पुस : सूर्यविनायक नगरपालिकाको नगरसभाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा सम्पन्न नगर अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल गरी विधेयक पारित गरेको हो ।

नगरसभाका सभाध्यक्ष थापाले निर्णायार्थ प्रस्तुत गर्नुभएको नगरपालिकाको संस्था दर्ता (प्रथम संशोधन) विधेयक २०८१, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१, आर्थिक ऐन २०८१ को प्रथम संशोधन विधेयक २०८१ र नगरपालिका तथा अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ पारित गरेको हो ।

नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष थापाले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनाको अवधिमा कूल बजेटको १६ दशमलभ ०१ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले नगरपालिकाको चालु आर्थिक वर्षको कुल बजेट रु एक अर्ब ४० करोड ३७ लाख २२ हजार पारित गरेकामा छ महिनामा नगरको कुल बजेटको रु ३५ करोड ८६ लाख ५० हजारमात्र खर्च भएको बताउनुभयो । नगरपालिकाको चालु खर्चतर्फ रु २३ करोड ४१ लाख ९१ हजार र पुँजीगततर्फ रु १२ करोड ४४ लाख ५९ हजार खर्च भएको उहाँले बताउनुभयो ।

नगरप्रमुख थापाले चालु आवको दुई महिना वर्षालगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रूपमा बजेट खर्च हुन नसकेको बताउँदै चालु आवको बाँकी छ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभयो । उहाँले बाँकी छ महिनामा बजेट खर्चको अवस्था सुधार हुने र आवको अन्त्यसम्ममा ९० प्रतिशतभन्दा बढी बजेट खर्च गर्दै नगरपालिकाले लक्ष्य हासिल गर्ने बताउनभयो । नगरपालिकले सबैभन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ ।

यसैगरी, नगरपालिकाले चालु आवको छ महिनामा रु ११ करोड ८८ लाख पाँच हजार सात सय तीन राजस्व सङ्कलन गरेको नगर अधिवेशनमा उपप्रमख सरिता तिम्सिना भट्टराईले बताउनभयो । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ६० प्रतिशत रकम बढी राजस्व सङ्कलन गरेको बताउनुभयो ।

गत आवको छ महिनामा नगरपालिकाले रु ११ करोड २४ लाख ९० हजार राजस्व सङ्कलन गरेको उल्लेख गर्दै उहाँले नगरपालिकाले चालु आवमा रु ४३ करोड ६० लाख सात हजार पाँच सय राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको बताउनुभयो । उपप्रमुख भट्टराईले चालु आव २०८१÷८२ मा नगरसभाबाट स्वीकृत तीन सय तीन, नगर कार्यपालिकाबाट स्वीकृत ३५, सङ्घ–प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा तीन सय ९० योजना रहेकामा हालसम्म एक सय २० योजना सम्झौता भई योजना अनुगमन गरी ३४ योजना फरफारक गरिएको बताउनुभयो ।

नगरसभामा विधायन समितिका संयोजक प्रदीप कार्कीले आचारसंहिता वाचन, नगरपालिकाको विधायन समितिको प्रतिवेदन, आर्थिक कार्यविधि नियमित गर्ने विधेयक २०८१ पेश गर्नुभएको थियो । नगरउपप्रमुख एवं राजस्व परार्श समिति संयोजक एवं न्यायिक समिति संयोजक सरिता तिम्सिना भट्टराईले नगरपालिकाको न्यायिक समितिको र नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण तिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो ।

सभामा विभिन्न समितिका संयोजकमध्ये राजकुमार जोशीले सार्वजनिक लेखा समितिको प्रतिवेदन, रवीन्द्र सापकोटाले संस्था दर्ता प्रथम संशोधन विधयक २०८१ र सामाजिक विकास समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संयोजक पुष्पराज बस्नेतले आर्थिक विकास समितिको प्रतिवेदन, शिवराम राउतले पूर्वाधार विकास समितिको प्रतिवेदन, भगवाण खत्रीले वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन र सानुकाजी कायस्थले सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको प्रतिवेदन र सार्वजनिक सम्पत्तिको विवरण सभामा प्रस्तुत गर्नुभएको थियो ।

मुटु कमाउने जाडोमा लुगा नभएर कष्ट झेल्दै आएका शीतलहरपीडितलाई सेनाको सहयोग

महोत्तरी, २१ पुस : मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् । दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो । शीतलहरको यो राहत पाउने उनीहरु अतिविपन्न मुसहर र डोम समुदायका परिवार हुन् ।

मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोदविकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सेनाप्रदत्त कम्बल मुसहर र डोम परिवारलाई प्रदान गर्नुभएको हो ।

जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने कार्य गर्दै आएको छ । जनताको दुःखमा एकाकार हुन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानी पाठकको भनाइ छ ।

सेनाले जाडोमा सहयोगका लागि अतिविपन्न बस्तीका दलित परिवार छानेर प्रशंसनीय कार्य गरेको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो । शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, नगरका जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । महोत्तरीका सुदूरदक्षिण र मध्यभेगमा पुस तेस्रो साता सुरु भएदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहने क्रमले सर्वसाधारण अत्यन्त कष्टकर अवस्थामा छन् । यो अवस्थामा सेनाले सराहनीय कार्य गरेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक र भिडियो बनाउनेको भीड

गलेश्वर (म्याग्दी), २१ पुसः केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।

सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड छ । पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिनुभयो ।

उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताउनुभयो । अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताउनुभयो ।

रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ । तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् ।

पहेलँै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।

रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी नेत्रबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, “रत्नेचौर पर्यापर्यटनको आकर्षक स्थल बनेको छ । रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन यहाँका स्थानीय लागिपरेका छन् ।”

केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताउनुभयो ।

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । “पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खान मानिस आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ” स्थानीय महतले बताउनुभयो ।

वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमका बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ ।

नेत्ररोग विशेषज्ञ डा रुइत श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत

कास्की, २१ पुस : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई प्रदान गरिएको हो । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहनुभएका डा रुइतलाई गुठीको ३२औँ वार्षिक साधारणसभा समारोहमा पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीलगायतले शनिबार रु दुई लाख २२ हजार दुई सय २२ सहित श्रीपति समाज सेवा पदक र ताम्रपत्रबाट पुरस्कृत गर्नुभयो । कार्यक्रममा डा रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाज सेवाका लागि अभिप्रेरित गरेको बताउनुभयो ।

यसैगरी सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई नगद रु २२ हजार दुई सय २२ राशिसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।

देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा गर्नुभएको योगदानको कदर गर्दै डा रुइतलाई पुरस्कृत गरेका हौँ ।”

पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजिवीसहितको ६ सदस्यीय समिति गठन गरिएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी गत असार २७ गते पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको थियो । यसअघि उक्त पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भवानी नमूना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

काभ्रेपलाञ्चोक, २१ पुस : गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ ।

“अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ”, उहाँले भन्नुभयो । प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।

क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेश बताउनुहुन्छ । “सडकखण्ड पुनर्निर्माण गर्न गएिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन, दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ”, उहाँले भन्नुभयो । राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो ।

उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग छलफल गर्नुभएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ । मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ । यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ । सचिव शर्मा आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ ।

पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ ब्यहोर्नुपर्ने प्रमुख योगेशले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गथ्र्यौँ, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ ।” उहाँका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ ।

बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ छ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ । राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो ।

गुरु गोविन्द सिंहको दशौँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २१ पुस : गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित हुनुहुन्छ ।

प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि शिखहरूको दशौँ गुरु बन्नुभएको हो । गुरु गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको थियो । उहाँ निकै शान्त स्वभावको व्यक्तित्व हुनुहुन्थ्यो । आफ्नो अहित सोच्ने दुश्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताका साथ सामना गर्नुहुन्थ्यो । गुरु गोविन्द सिंहको मान्यता थियो कि “मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई तर्साउनु हुन्छ ।”

नेपालमा रहेका शिखहरूले पनि यस दिन उत्सवका साथ गुरु गोविन्द सिंह जयन्ती मनाउने गर्छन् । गुरु गोविन्द सिंह जयन्तीमा काठमाडौँको पशुपति, ज्ञानेश्वर, बालाजु, थापाथली र कुपण्डोललगायत स्थानमा रहेको गुरुद्वारामा विशेष पूजापाठ एवं भण्डाराको कार्यक्रम रहेको छ ।

यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ, २१ पुस : नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् । 

गत महिना भएको यु–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुने छन् । 

नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते  स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २१ पुस : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

यसैगरी जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा तोकिएको छ ।

त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

भूमिसम्बन्धी समस्या सामाधान गर्न आयोगले अब द्रुतगतिमा काम गर्नेछः उपप्रधानमन्त्री सिंह

चन्द्रपुर (रौतहट) : २० पुसः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या समाधानका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रुतगतिमा काम गर्ने बताउनुभएको छ ।

रौतहटको चन्द्रपुर–१ बागमतीमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले भूमिहीनका समस्या देशैभरि रहेकाले तिनको समाधानका लागि आयोगले परिणाम देखिने गरी काम गर्ने बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले मधेश प्रदेशकै पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको यहाँको नुनथर क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने र त्यसका लागि आवश्यक योजना बनाउन स्थानीय नेताहरुलाई आग्रह गर्नुभयो । “सरकार देखिने र सुनिने गरी उपलब्धिमूलक काममा अग्रसर भइरहेको छ । जनताको हित हुने योजनाहरू बनाउनुस् । त्यसमा हाम्रो सहयोग रहन्छ । नुनथरको विकासका लागि पनि के गर्नुपर्छ योजनासहित आउनुस्, छलफल गरेर निष्कर्षमा पुगौँला”, उहाँले भन्नुभयो । 

कार्यक्रममा चन्द्रपुर–१ का वडाअध्यक्ष बलराम राउतले आफ्नो वडाको समस्याबारे मन्त्री सिंहलाई जानकारी गराउनुभएको थियो ।

बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँलाई

मनहरी (मकवानपुर), २० पुसः बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ । आज भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौँ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

बागमती प्रदेश फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबले दोलखाको टाइगर समूहलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा सम्पन्न फाइनल खेलमा काठमाडौँका लागि पहिलो हाफको २५औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफको ७४औँ मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । 

अन्तिम समयमा काठमाडौँका तर्फबाट आयुष कुँवरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पु¥याएका हुन् । खेलको ‘म्यान अफ दी म्याच’ बुढाथोकी घोषित भएका छन् । लिग विजेता काठमाडौँले रु दुई लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । साथै उपविजेता दोलखाले रु एक लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै काठमाडौँका बुढाथोकीले रु १५ हजार नगद पुरस्कार प्राप्त गरे भने प्रतियोगिताअन्तर्गत हाई स्कोरको उपाधि पनि बुढाथोकीले जिते । उत्कृष्ट गोल रक्षक काठमाडौँका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौँका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौँका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौँका रुपेश क्षेत्रीले प्राप्त गरे । 

सबैले जनही रु पाँच हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता थियो । रामेछाप र रसुवा भने एन्फामा आबद्ध नभएकाले लिगमा सहभागिता जनाएका थिएनन् । 

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

उहाँको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

अमेरिकाले आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी

रूसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ । रूसलेविरूद्ध युक्रेनले प्रयोग गरेको एटिएसिएमएस क्षेप्यास्त्रको प्रयोगले मध्य किएभमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष युक्रेनलाई रुसविरुद्ध ३०० किलोमिटर (१९० माइल) दूरीका हतियार प्रयोग गर्न अनुमति दिनुभएको थियो ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “रूसी हवाइ सुरक्षा प्रणालीले अमेरिकामा निर्मित आठ वटा एटीएसीएमएस क्षेप्यास्त्र र ७२ वटा ड्रोन खसालेको छ ।

मन्त्रालयले पूर्वी लुगान्स्क क्षेत्रको केही बस्तीमध्ये एक युक्रेनी गाउँ नादियालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

सन् २०२४ मा युक्रेनमा मस्कोले करिब चार हजार वर्ग किलोमिटर (१,५४० वर्ग माइल) क्षेत्रलाई कब्जा गरेको एएफपीले प्रप्त गरेको विश्वस्त तथ्याङ्कले देखाएको छ ।

दुवै पक्षले एक अर्कामाथि सन् २०१९ को सुरुदेखि नै सर्वसाधारणमाथि घातक आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रको एक गाउँमा शनिबार रूसले गरेको आक्रमणमा परी ७४ वर्षीय वृद्धको मृत्यु भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिनुभयो ।

‘जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ’ – विमलेन्द्र निधि

महेन्द्रनगर (धनुषा),२० पुसः नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण जरूरी रहेको बताउनुभएको छ ।

आज माँ जानकी यातायात प्रालिको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा उहाँले जनकपुरधाम महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र भए पनि व्यवस्थित बसपार्क नहुँदा समस्या भइरहेको भन्दै अन्तर्राष्ट्रियस्तरको बसपार्कको आवश्यकता औँल्याउनुभएको हो ।

पूर्वउपप्रधानमन्त्री निधिले देशको सबैभन्दा ठूलो रोजगारदाता क्षेत्रका रूपमा रहेको यातायात क्षेत्र र कार्यरत मजदुरको अधिकार संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । विगतमा आफू भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रूपमा यातायात व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सर्वसुलभ बनाउनका लागि भएका सुधारका निर्णयहरूले आजको यातायात प्रणालीलाई सबल बनाएको उल्लेख गर्नुभयो ।

यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष दाहाल

काठमाडौँ, २० पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताउनुभयो ।

“विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ”, अध्यक्ष दाहालले भन्नुभयो, “अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखापर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धनमार्फत स्वरोजगर र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।”

अध्यक्ष दाहालले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रका रूपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कृषिलाई आधार र सूचना प्रविधिलाई नेतृत्वदायी भूमिकामा राख्ने अवधारणासहित कृषि, पर्यटन, जलविद्युत्, उद्योग र सूचना प्रविधि क्षेत्रलाई रूपान्तरणकारी क्षेत्रका रूपमा पहिचान र परिचालन गर्नु आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण सुरुआत हो ।”

संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उहाँले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुकमा व्यावसायिक वातावरण बनाउन दलहरू आरोप प्रत्यारोपमा उत्रनुभन्दा एकताबद्ध भएर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उद्योगी, व्यवसायीलाई दुःख दिने कार्य कसैले पनि गर्न नहुनेमा जोड दिँदै उहाँले व्यवसायीले भोग्नुपरेका समस्या समाधान गर्न समितिका तर्फबाट आफूले सहयोग गर्ने विश्वास दिलाउनुभयो । माओवादी केन्द्रका नेता एवं सांसद माधव सापकोटाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्दै व्यवसायीले भोग्दै आएका चुनौतीलाई समाधान गर्न सम्पूर्ण राजनीतिक दल एकठाउँमा उभिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा महासङ्घमा रहेर व्यावसायिक क्षेत्रमा विशिष्ट योगदान गरेबापत कुसुम महर्जन, लक्ष्मी खड्का र अञ्जु चाम्लिङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

‘वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार’ : मन्त्री थापा

दमक (झापा), २० पुसः नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार रहेको बताउनुभएको छ ।

पार्टीको सयदिने विशेष साङ्गठनिक अभियानअन्तर्गत आज झापा क्षेत्र नं ५ ले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले समानुपातिक व्यवस्थाको मर्म नमर्ने गरी राजनीतिक स्थायित्वका सवाल संविधान संशोधनको मुद्दा बन्ने बताउनुभयो । 

सभापति थापाले राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले निर्वाह गरिरहेको अभिभावकीय भूमिकालाई थप सशक्त बनाउन हाल सञ्चालित अभियानले थप योगदान दिने बताउनुभयो । कोशी प्रदेशले यही पुस २४ गतेदेखि कचनकवलबाट सोलुखुम्बुस्थित सगरमाथाको फेदीसम्म सञ्चालन गर्ने पदयात्राले तराईदेखि हिमालसम्मका नागरिकहरुलाई पार्टीमा जोड्न र नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो । 

“पार्टीले सुरु गरेको यस अभियानका क्रममा चौध जिल्लाको साङ्गठनिक अवस्था, जनप्रतिनिधिको भूमिका, कांग्रेस सरकारमा रहँदा ल्याइएका गौरवका योजना, पार्टीका अग्रज एवं सहिद परिवारको राजनीतिक योगदान र पारिवारिक अवस्थालगायत विषयमा अन्तरक्रिया हुने भएकाले पनि यसले पार्टीमा ऊर्जा थप्नेछ”, उहाँले भन्नुभयो, “यो अभियान सात महिनापछि सगरमाथाको कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न सात राष्ट्रका विज्ञहरू राखेर छलफल गरेर समापन हुनेछ ।”

क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, पूर्वआमन्त्रित केन्द्रीय सदस्य दिलीप राई, झापाका पार्टी सभापति देउकुमार थेवे, उपसभापति केशव पाण्डेलगायतले सम्बोधन गर्नुभएको थियो ।

सिरियाले दमास्कसबाट अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा ल्याउने

सिरियाले दमास्कसस्थित देशको मुख्य विमानस्थलमा आगामी हप्तादेखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने जनाएको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई गत महिना पदच्युत गरिएको र तत्कालिन सरकार र विद्रोहीबीचको द्वन्द्धका कारण अवरूद्ध उडान सेना सुचारू गरिएको हो ।

“मगलबारदेखि दमास्कस विमानस्थलमा अन्तर्राष्ट्रिय विमानको उडान र अवतरण गर्न सुरु गर्नेछौँ,” नागरिक उड्डयन र हवाई यातायातको सामान्य प्राधिकरणका प्रमुख अशद अल–सालिबीलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सानाले उल्लेख गरेको छ ।

“हामी अरब र अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आश्वस्त पार्छौं कि हामीले हाम्रा साझेदारहरूको सहयोगमा अलेप्पो र दमास्कस विमानस्थलहरूको पुनस्र्थापनाको चरण सुरु गरेका छौं, ताकि उनीहरूले विश्वभरका उडानहरूलाई स्वागत गर्न सकून्,” उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय सहायता विमान र विदेशी कुटनीतिक प्रतिनिधिमण्डल सिरियामा अवतरण गरिसकेका छन् । आन्तरिक उडान पनि सुचारु भएको छ ।

बिहीबार कतार एयरवेजले करिब १३ वर्षपछि सिरियाली राजधानी दमास्कसमा उडान सुरु गर्ने घोषणा गरेको थियो ।

कतारका एक अधिकारीले गत महिना एएफपीलाई बताएअनुसार दोहाले नयाँ सिरियाली अधिकारीलाई दमास्कस विमानस्थलमा उडान सुचारु गर्न सहयोगको प्रस्ताव गरेको थियो ।

गत डिसेम्बर ८ मा इस्लामिक नेतृत्वको विद्रोहीले असदलाई सत्ताच्यूत गरेपछि शनिबार पहिलो उडान दमास्कस विमानस्थलबाट उत्तरी प्रान्त अलेप्पोका लागि उडेको एएफपीका पत्रकारहरूले जनाएका छन् ।

राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ गतेदेखि

काठमाडौँ, २० पुस – राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ देखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही पुस १९ र २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले राजनीतिक कार्यपत्र, सङ्गठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियानसम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित र महाधिवेशनको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

बैठकले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न समान विचारधारा भएका दल वा समूहसँग सकेसम्म एकता तथा सहकार्य गरी मोर्चा बनाउने र पार्टीले अवलम्बन गरेको सम्वर्द्धनवादको धरातलमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मार्गदर्शन र दिव्योपदेशलाई ‘पृथ्वीपथ’को रूपमा अङ्गीकार गर्ने निर्णय गरेको पनि बर्तौलाले जानकारी दिनुभयो ।

संवैधानिक निकाय र न्यायपालिकामा हुने नियुक्तिमा राजनीतिकरण र पार्टीगत भागवण्डा अन्त्य गर्न संवैधानिक परिषद् र न्याय परिषद्को गठनविधिमा सुधार र भ्रष्टाचार उन्मुलन गर्न ‘जनलोकपाल’को अवधारणामा आधारित अधिकार सम्पन्न संवैधानिक निकायको व्यवस्था गर्न बैठकले माग गरेको छ ।

यस्तै, सहकारी संस्था सञ्चालनसम्बन्धी सरकारले हालै जारी गरेको अध्यादेश अपूरो रहेको ठहर गर्दै बैठकले सङ्कटग्रस्त सहकारी संस्थाहरूको राष्ट्रियकरण गरी बचतकर्ताको रकम फिर्ता गर्ने जिम्मा सरकारले लिनुपर्ने, मिटरव्याजसम्बन्धी समस्या तत्काल नियन्त्रण गरी पीडितलाई न्याय दिन र बैङ्क तथा लघुवित्तले लिने चर्को व्याज नियन्त्रण गर्न, जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न र जनकपुर क्षेत्रलाई सांस्कृतिक नगरीको रूपमा एकीकृत विकास गर्न सरकारसँग माग गरिएको महामन्त्री बर्तौलाले बताउनुभयो ।

प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित

बैतडी, २० पुसः प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा अछामले सान्त्वना जित निकालेको छ । प्रतियोगिताबाट बाहिरिसकेको अछामले सान्त्वना जित निकाल्ने क्रममा डोटीलाई २४ रनले पराजित गरेको हो ।

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ‘ब्याटिङ’ गरेको अछामले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३५ रन बनायो । अछामका रबिना साउदले अर्धसतकीय पारे खेल्दै अविजित ५२ रन जोडिन् । जारी प्रतियोगितामा साउद अर्धसतक हिर्काउने पहिलो खेलाडी बनिन् । डोटीका रेश्मी विष्टले दुई विकेट लिइन् । 

जवाफी ब्याटिङ गरेको डोटी १७ दशमलव चार ओभरमा एक सय चार रनमा अलआउट भयो । डोटीका अल्फा श्रेष्ठले ३९ रनको योगदान गरिन् । अछामका लागि रबिना साउद र वबिता धामीले समान तीन÷तीन विकेट लिए । यो खेलमा रबिना ‘प्लेयर अफ दी म्याच’ चुनिएकी छिन् । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजना यही पुस १९ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

सोलुखुम्बु, २० पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यहाँ विकासका पूर्वाधारलाई थप सबल बनाइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पर्यटन सडकको स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारबीच सहकार्य कायम रहने बताउनुभयो । “यो सडकलाई कालोपत्र बनाउने जिम्मा दुवै सरकारको हुनेछ । यस जिल्लाको विकास अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन”, उहाँले भन्नुभयो,“राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पाजस्ता विश्वविख्यात सहासिक व्यक्तिहरूको जन्मभूमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पु¥याउनेछ ।”

खुम्बु क्षेत्रमा सडक सञ्जाल विस्तार र स्तरोन्नतिका लागि सरकारले गम्भीर प्रयास गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले यहाँ साहसिक पर्यटन र सांस्कृतिक महत्वलाई थप उजागर गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकारको विशेष ध्यान जाने बताउनुभयो । “सोलुखुम्बु पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला हो । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएकाले यस क्षेत्रले साहसिक पर्यटकलाई आकर्षित गर्दै आएको छ । यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार छ”, उहाँले भन्नुभयो ।

सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पु¥याउने प्रधानमन्त्री ओलीको विश्वास छ । यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनाका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग, पर्यटनमा ऐतिहासिक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल

दमौली (तनहुँ), २० पुस : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम बढेको छ । दैनिक हजारौँ सर्वसाधारण आवतजावत गर्ने पुलको पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नुपरेको छ ।

विसं २०३७ मा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । उक्त झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक छ हजारभन्दा बढी सङ्ख्याले उक्त पुलबाट आवतजावत गर्ने तथा मेला, महोत्सव तथा यज्ञ सञ्चालन भएको दिनमा हजारौँ भक्तजनले यही पुल प्रयोग गर्ने गर्छन् ।

माघे सङ्क्रान्ति मेलामा त एकै दिन लाखौँ भक्तजनले उक्त पुल मार्फत आवतजावत गर्छन् । देवघाट गाउँपालिकाका सामाजिक अगुवा तथा देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले त्रिशूलीको झोलुङ्गे पुलले अब धान्न गाह्रो हुने बताउनुभयो ।

विसं २०३७ मा निर्माण सम्पन्न भएको उक्त पुलमा हाल दैनिक छ हजार जनाभन्दा बढीले आवतजावत गर्ने र सयौँ मोटरसाइकल वारपार गर्ने पौडेलले जानकारी दिनुभयो । देवघाट आउनका लागि हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दीको पुल तथा जुगेडीको झोलुङ्गे पुल पनि छ ।

देवघाट आउने भक्तजनमध्ये करिब ९५ प्रतिशत चितवनको आँपटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गर्नुभयो । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताउनुभयो । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने अब उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने बताउनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्नुपर्ने विषयमा सस्पेन्सन पुल डिभिजन कार्यालयलाई जानकारी गराइएको बताउनुभयो । देवघाट जान तीन वटा मोटरेबल पुल सञ्चालनमा आइसकेको हुँदा अब उक्त पुलबाट मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने उहाँको भनाइ छ ।

देवघाटका सामाजिक अगुवा बलबहादुर क्षेत्रीले पनि जतिसक्दो चाँडो उक्त पुलबाट मोटरसाइकल आवतजावतमा रोक लगाउनुपर्ने बताउनुभयो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले पुल जीर्ण भएको बारेमा गत मङ्सिरमै सस्पेन्सन बृज डिभिजन कार्यालयलाई जानकारी गराइसकिएको बताउनुभयो ।

अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

चितवन, २० पुसः अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्याे । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे ।

यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन । नयाँ वर्षको दुई दिन पहिलेदेखि दुईदिन पछिसम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुने गर्दथ्यो । विगत १४ वर्षदेखि प्रत्यक्षरूपमा पर्यटन व्यवसाय लाग्नुभएका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगालेपछिको नयाँ वर्षमा सबैभन्दा कम पर्यटक यस वर्ष आएको बताउनुहुन्छ । व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशतभन्दा बढी कोठा भरिएका थिएनन् ।

घिमिरेको भनाइमा सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी भएको हो । काठमाडौँबाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए । यस्तै पोखरा र बुटवलतर्फबाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए । घिमिरे भन्नुहुन्छ, “सडकसँगै आर्थिक मन्दी र यहाँ नयाँ कार्यक्रम नहुँदा पर्यटकको कमी भएको हुनुपर्छ ।”

केही दिन अगाडिसम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको सङ्ख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको उहाँको भनाइ छ ।

होटल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरी बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गर्नुहुन्छ । कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उहाँले बताउनुभयो । विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उहाँको भनाइ छ ।

सौराहा आउने पर्यटकको मुख्य रोजाइ जङ्गल सफारी हुने गर्दछ । हात्ती सफारी गराउँदै आएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा नयाँ वर्षमा पनि पर्यटकको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । विगतका वर्षहरूमा एउटा हात्तीले पाँच पटकसम्म पर्यटकलाई जङ्गल घुमाउने गरेको स्मरण गर्दै उहाँले यस वर्ष मुस्किलले तीन खेप गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा पाँच पटक हात्तीले पर्यटकलाई घुमाउँदा पनि पालो नपाएर धेरै फर्किने गर्दथे ।” उहाँको भनाइमा यस वर्ष २५ प्रतिशतभन्दा कम पर्यटक सौराहा घुम्न आएको अनुमान गर्न सकिन्छ ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया सडक सञ्जाल, आर्थिकमन्दी, बालबालिकाको परीक्षालगायतका कारण पर्यटकको कमी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाटो कुनै निर्माणाधीन, कुनै बन्द छन्, जहाजको भर छैन, कहाँबाट पर्यटक आउनु ?” आम नागरिक आर्थिकमन्दीको चपेटामा रहेकाले पनि घुम्न आउने घटेको उहाँको भनाइ छ ।

सौराहामा एक सय ६० वटा होटल छन् । ती होटलमा छ हजार पाँच सय पर्यटक अटाउँछन् । असी प्रतिशत हाराहारी मात्रै भरिएको थपलिया बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले पहिले दिउँसै होटल भरिएर सूचना टाग्नुपथ्र्याे, यो वर्ष यस्तो भएन ।” आएकामध्ये ८० प्रतिशत नेपाली र बाँकी भारतीय एवं तेस्रो मुलुकका रहेको उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, डुङ्गा, हात्ती सफारीका लागि पर्यटक आउने गर्दछन् ।

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

काठमाडौँ, २० पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

ढोरपाटन (बागलुङ), २० पुसः चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् ।

ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताउनुभयो । ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उहाँको भनाइ छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्या बढेको भन्दै हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले बताउनुभयो ।

अध्यक्ष भण्डारीले भन्नुभयो, “यो यामनै ढोरपाटनमा कम चहलपहल हुने गर्छ, चिसो बढेको छ, चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन्, मङ्सिरसम्म दैनिक एक सय ५० जना पर्यटक घुमफिरका लागि आउने गर्थे भने अहिले घटेर ३०÷४० जना मात्रै आउने गरेका छन्, प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षहरूमा भन्दा अहिले पर्यटकको सङ्ख्या बढ्दै गएका छन् ।”

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन् । चिसोका कारण पाहुन आउन कम भऐपछि केही दिनका लागि आफू पनि बेसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उहाँको भनाइ छ ।

अहिले शुक्रबार र शनिबार फाट्टफुट्ट पाहुन ढोरपाटन पुग्ने घिमिरे बताउनुहुन्छ । आएपश्चिम बागलुङको ठूलो व्यापारी केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ । तर उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ ।

खोटेहाङले शुरू गर्‍यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ, २० पुस : खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू गरिएको हो ।

छवटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प) प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र १२ कास्यगरी ३६ वटा पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्डसहित नगद रू एक लाख ११ हजार १११ को साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका छन् । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि खाना तथा खाजाको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले रू पाँच लाख तथा राष्ट्रिय खेलकुद परिषद्ले रू एक लाख उपलब्ध गराएको प्रतियोगिताका सहआयोजक भाषा माविका प्रधानाध्यापक राजु खड्काले जानकारी दिनुभएको छ । गाउँपालिका तथा राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकमले प्रतियोगिताका विजयीलाई पुरस्कारदेखि व्यवस्थापनसम्मको खर्च धान्नुपर्ने जनाइएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, उपप्रमुख रूपेश राई, नौँवटै वडाका वडाध्यक्ष, राजनीतिक दल, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गिन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेपाल सरकारको कार्यक्रम हो । यसले सर्वाङ्गिन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई किताबी ज्ञान मात्रले पूर्ण हुँदैन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धेरै विद्या समेटिएकाले अधिकतम उपयोगमा ल्याउन जरूरी छ ।”

प्रतियोगिताको पहिलो दिन सञ्चालन गरिएको छात्रतर्फको भलिबल प्रतियोगितामा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारले विजयी यात्रा शुरू गरेको छ । सप्तकन्या माध्यमिक विद्यालय चिप्रिङलाई १–२ ले हराउँदै भगवती दिनानाथ मावि खोटाङबजारले विजयी यात्रा शुरू गरेको हो ।

यस्तै, छात्रतर्फ एक हजार ६०० मिटर दौडमा सिम्पानी माध्यमिक विद्यालयका धिरेन राई प्रथम, विणा माध्यमिक विद्यालयका रूपेश विश्वकर्मा द्धितीय र कृष्ण माध्यमिक विद्यालयका इरान थापा तृतीय भएका छन् । छात्रातर्फ एक हजार मिटर दौडमा भाषा माध्यमिक विद्यालयकी इमा खत्री प्रथम, सिम्पानी माध्यमिक विद्यालयकी सुमित्रा खड्का द्धितीय र सप्तकन्या माध्यमिक विद्यालयी सुजता काफ्ले तृतीय भएका छन् ।

प्रतियोगिताको अवसरमा कक्षा–१ देखि कक्षा–५ सम्मका विद्यार्थीका लागि नृत्य तथा कक्षा–१ देखि कक्षा–८ सम्मका विद्यार्थीका लागि भाले जुधाइ प्रतियोगितासमेत आयोजना गरिएको जनाइएको छ । गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयका विद्यार्थी सहभागी हुन पाउने नृत्य र भाले जुधाइ प्रतियोगिताका विजयीलाई विद्यालयको आन्तरिक स्रोतबाट पुरस्कारको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप आचार्यले जानकारी दिनुभएको छ ।

जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा पूरानो (विसं १९९२ साल भदौ–२ गते स्थापना भएको) विद्यालयले सहआयोजना गरेको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रस्तुत गरिएको मार्चपासमा महेन्द्रोद्धय मावि वाप्लुखा प्रथम भएको छ भने, विभिन्न सांकृतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरिएको थियो । गाउँपालिकाको आयोजनामा वडा नं ४ बडकादियालेमा पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएपछि उक्त वडामा खेलकुद महोसत्सवकै झल्को आएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा उक्त गाउँपालिकामा वर्षेनि फरक–फरक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने गरिएको जनाइएको छ । नौँवटा वडा रहेको उक्त गाउँपकालिकामा यसअघि विणा माध्यमिक विद्यालय लिकुवापोखरीले प्रतियोगिता आयोजना गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म अन्य स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू गरेका छैनन् । पालिकास्तरीय प्रतियोगितामा छनौट भएकाहरू जिल्ला हुँदै प्रदेश तथा सङ्घमा समेत सहभागी हुन पाउँछन् ।

तुलसीपुरमा महोत्सव लगाउँदा २५ लाख कर तिर्नुपर्ने

तुलसीपुर, २० पुसः दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले रु २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।

साथै मनोरञ्जन करका रूपमा प्रत्येक टिकेटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने उहाँले बताउनुभयो । यसअघि महोत्सव लगाउन नगरले सिफारिस दिने तर, कर जिरो हुने अबस्था थियो थियो”, उहाँले भन्नुभयो, “तर, अहिले रु २५ लाखसहित मनोरञ्जन कर उठाउँदा रु ३० लाख बढी हुने भयो, यसले नगरमा कर बढ्ने भयो ।”

यसअघि महोत्सवको अनुमति दिए पनि ठेकेदारहरू आएर बिचौलियाको काम गर्ने र आम्दानीको पाँच प्रतिशत नगरलाई दिनुपर्ने व्यवस्था भए पनि रु एक पनि कर नआउने गरेको भन्दै अबदेखि त्यो समस्या नहुँने उहाँको भनाइ थियो । अब उपमहानगरपालिकाले आफैँ टिकेट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने उहाँले बताउनुभयो । यसअघि आयोजकले आफैँ टिकेट काट्ने र आम्दानी नदेखाउने गर्दा करमा पनि छली हुने अवस्था थियो ।

यस्तै यस वर्ष चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाको शुक्रबारको बैठकले तुलसीपुर चेम्बर अफ कमर्सलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरको हो ।

यसअघि तुलसीपुर उद्योग वाणिज्य सङ्घले महोत्सव लगाएको भन्दै पालोका आधारमा चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिइएको प्रमुख खड्काले बताउनुभयो । “एउटा व्यवसायको संंस्थाले एक पटक महोत्सव लगाएमा तीन वर्षसम्म लगाउन नपाउने कार्यविधि छ”, उहाँले भन्नुभयो, “सोहीबमोजिम हामीले यस वर्ष चेम्बर र साना तथा घरेलु उद्योग महासङ्घलाई दिने भन्ने कुरामा बहस भयो, तर अन्ततः चेम्बरलाई दिने निर्णय भयो, यहीअनुसार अर्को बर्ष घरेलुलाई दिनुपर्ने हुन्छ, यो कार्यविधिले बोलेको कुरा हो ।” उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले बोलपत्रमार्फत महोत्सव लगाउनुपर्ने माग राखेको भए पनि सबैलाई पालो दिएर त्यसपछि बोलपत्र गर्न सकिने नगर प्रमुख खड्काको भनाइ छ ।
–––

महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता र्‍याली गर्दै राप्रपा

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते दरबारमार्गस्थित महेन्द्र सालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म राष्ट्रिय एकता र्‍याली गर्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनीलगायत नेताहरू पनि र्‍यालीमा सहभागी हुनुहुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न वेशभूषा र झाँकीसहितको हुने र्याली पृथ्वी सालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ । सोही दिन राप्रपाले पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत स्घसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरूलाई निमन्त्रणा पठाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, “आम निर्वाचनपछि राप्रपासमेत सहभागी प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा निर्णय गरेको थियो । राप्रपाले विसं २०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ ।”

यसैगरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपासम्बद्ध प्राज्ञिक परिषद्ले यही पुस २५ गते काठमाडौँमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा विचारगोष्ठीको आयोजना गरेको सो पार्टीले जनाएको छ ।

विवरण अध्यावधिक गर्न नेपाली सङ्घसंस्थालाई बेलायती दूतावासको आग्रह

उल्भरह्याम्टन (बेलायत), २० पुसः नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ । आगामी दिनमा नेपाली सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँग सहकार्य गर्ने उद्देश्यले विवरण अध्यावधिक गर्न लागिएको दूतावासले जनाएको छ ।

दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली सङ्घसंस्था/सङ्गठनको विवरण आवश्यक भएकाले सम्बन्धित लिङ्कमा गई ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक–उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।”

बेलायतमा रहेका सङ्घसंस्थासँग नेपाली समुदाय र नेपालको हितका लागि सहकार्य गर्न लालयित रहेको जनाउँदै समुदायबाट रचनात्मक सुझाव, सल्लाह केही भए उपलब्ध गराउनसमेत दूतावासले आग्रह गरेको छ ।

तरकारी तथा फलफूलको आजको मूल्य

काठमाडौँ, २० पुसः कालीमाटी फलफूल तरकारी विकास समितिले शनिबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु २५, गोलभेँडा सानो (भारतीय) रु ४५, गोलभेँडा सानो (तराई) रु ४५, आलु रातो प्रतिकेजी रु ५२, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु १००, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु ३०, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ४०, काउली तराई प्रतिकेजी रु ३०, मूला रातो प्रतिकेजी रु ३५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४५, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १२०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु ३०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग, रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ८०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ९०, सजीवन रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु १००, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले (प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु ९०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किवि प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ६० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ९०, लसुन हरियो प्रतिकेजी रु २००, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर रु १४०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि सुरू हुँदै

काठमाडौँ, २० पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हँुदैछ ।शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गर्नुभएको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ । रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार आइतबारकोे बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ ।  रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्यालले हुनुहुन्छ ।

डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

त्रिवेणी (नवलपरासी), २० पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा रु ७३ करोड बढीको लागतमा निर्माणको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताउनुभयो ।

गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला–त्रिवेणी सडक खण्डअन्र्तगत नवलपुरको डेढगाउँ–झ्याबास सडकको तेस्रो खण्डमा हालै रु १४ करोड ९९ लाख ९६ हजार पाँच सय २८ को लागतमा काम अघि बढेको लागेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख आचार्यले बताउनुभयो । करिब पाँच किलोमिटर सडक निर्माण गर्ने गरि काम अघि बढेको उहाँले बताउनुभयो । 

डेढगाउँ–झ्यालबास सडकको पहिलो खण्डमा १४ किलोमिटर सडक निर्माण, पक्कि नाला बनाउने काम, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने तयारीसहितको  भइरहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । विस २०७९ वैशाखमा सम्झौता भएर पहिलो खण्डको निर्माणको काम चलिरहेको छ । पहिलो खण्डको लाग रु ३२ करोड २० लाख रहेको छ । 

यसै सडकको दोस्रो खण्डमा सात किलोमिटर सडक निर्माणको काम चलिरहेको छ । रु २५ करोड ८६ लाख ९४ हजारको लागतमा यस खण्डमा विस २०८१ वैशाखमा सम्झौता भएर काम चलिरहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।  

नवलपुरको उत्तरतर्फ डेढगाउँबाट प्रारम्भ हुने यस सडक रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । डेढगाउँदेखि झ्यालबाससम्म ४१ किलोमिटर मध्य हाल तीन खण्डमा गरेर करिब २६ किलोमिटर क्षेत्रमा काम अघि बढिरहेको छ । गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमश सबै खण्डको काम अघि बढ्ने कार्यालय प्रमुख आचार्यले बताउनुभयो । 

झ्यालबासदेखि चोरमारासम्म नौ किलोमिटर सडक यस अघिनै निर्माण सम्पन्न भएको छ । चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्किबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य रहेको छ । तर दुम्किबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै पनि काम अघि बढ्न सकेको छैन । 

यो सडक नवलपुरको डेढगाउँमा कालिगण्डकी करिडोरमा जोडिन्छ । डेढगाउँबाट भिमाद–खैरेनिटार हुँदै यस सडकले प्रदेश राजधानी पोखरासमेतलाई जोड्दछ । मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस सडकलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । 

२८ हजार मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौँ, २० पुस – सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्मक पार्ने उल्लेख गर्नुभयो ।लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्वित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै अध्यक्ष कार्कीले उक्त कुरा बताउनुभएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितीमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।अध्यक्ष कार्कीले १० वर्ष भित्र स्वदेशी उत्पादन सिमेन्ट डन्डी लगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चापदार्थ र रोजगारीमा रु ४० खर्ब खर्च भइ नेपालकै अर्थतन्त्र माथि उठ्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा चार सय मेगावाट भारत निर्यात सम्झौताबाट सुरु भएको नेपालको अन्तरदेशीय विद्युत व्यापारको श्रृङखला पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा १० हजार मेगावाट निर्यात सम्बन्धी दीर्घकालीन सम्झौता भएको उहाँँले स्मरण गर्नुभयो । । यस्तै, बंगलादेशमा ४० मेगावाट निर्यात सुरु भएको उल्लेख गर्दै उहाँले केही दिन पहिले मात्रै १५ हजार मेगावाट निर्यात उद्देश्यसहित २८ हजार पाँच सय मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखाएको कार्कीले बताउनुभयो ।

ऊर्जा क्षेत्रको विकासका लागि सबै पक्ष सकारात्मक भएको बेला पनि यस क्षेत्रमा रहेको कठिनाइ हल गर्न कदम नचालिए कहिल्यै पनि यो क्षेत्रको विकास नहुने उहाँको प्रष्टोक्ति थियो । लामो समयदेखि ४१ जलविद्युत आयोजनाको सार्वजनिक निष्कासनको निवेदन धितोपत्र बोर्डमा रोकिएको भन्दै उहाँले ‘बैकले पनि पैसा नदिने, इक्विटी ल्याउने सार्वजनिक निष्कासन पनि रोक्ने हो भने आयोजना बन्न नसक्ने’ उल्लेख गर्नुभयो ।

नेपालमा भएका ४÷५ वटा राम्रा जलविद्युत आयोजना मध्ये दानाखोला पनि एक रहेको र यसलाई समयमै सम्पन्न गर्न पनि उनले कम्पनीलाई शुभकामना दिनुभयो । प्रवद्र्वक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले पानीलाई बत्तीमा रुपान्तरण नगरेसम्म हाइड्रोपावरमा गरेको लगानी शून्य नै हुने भएकोले आयोजना बनाउन असफल हुने छुट नभएको बताउनुभयो े ।

सो आयोजनाका लागि रु नौ अर्ब ९६ करोड रुपैयाँलगानी सुनिश्चित भएको छ । रु ७४ करोड स्थानीयमा शेयर जारी गरेर, रु एक अर्ब ७४ करोडसञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानी हुने छ । सो आयोजना मनाङको नासो गाउँपालिकामा विकास गरिनेछ ।

निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का

काठमाडौँ, २० पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताउनुभएको छ ।

लालुपाते हाइड्रोपावरद्वारा मनाङको नासोङ गाउँपालिका–२ मा निर्माण हुन लागेको ४९.९५ मेगावाटको दानाखोला हाइड्रोपावरको वित्तिय व्यवस्थापन हस्ताक्षर समारोहमा शुक्रबार साँझ आयोजित कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रलाई साथमा लिएर सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पुरा गरिने बताउनुभएको हो ।

“सरकारले आम्दानीको मुख्य स्रोतका रुपमा जलविद्युत् क्षेत्रलाई लिएको छ, स्रोतलाई अधिकतम प्रयोग गरेर नीजि क्षेत्रलाई साथमा लिएर यस क्षेत्रको विकास गछौँ, देशभित्रका लगानीकर्तालाई उत्साहित गर्नेगरी सरकारले काम गरिरहेको छ,” उहाँले भन्नुभयो । आयोजना ओगटेर बस्न नहुने उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैका लागि हुने भन्दै  गरिब र विपन्न जनताको लागि सरकारले न्यूनतम व्याजदरमा शेयर खरीद गर्ने व्यवस्था मिलाउन लागेको उल्लेख गर्नुभयो । उहाँले देशका अधिकाशं स्थानमा मोटरबाटो पुगेकाले आयोजना निर्माणका लागि अब धेरै समय नलाग्ने बताउनुभयो ।

उहाँले छिमेकी मुलुक भारतसहित अन्य मुलुकसमेतले नेपालबाट विद्युत् आयत शुरु गरेकाले बजार सुनिश्चित भएको भन्दै आयोजना निर्माणमा लाग्न लगानीकर्तालाई आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको उहाँको भनाइ थियो ।

सांसद टेकबहादुर गुरुङले समयमा आयोजना पुरा हुनेगरी काम गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले कृषि, पर्यटन र जलस्रोतको धनी मनाङमा मोटरबाटोको पहुँच सबै स्थानमा पु¥याउन सके समृद्ध जिल्ला बन्ने दावी गर्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा विद्येयकलाई परिमार्जन गरेर अगाडि बढेमात्र सरकारले १० वर्षमा २८ हजार पाँच सय विद्युत् उत्पादन गर्न राखेको लक्ष्य पुरा हुने बताउनुभयो ।

मनाङको नासोङ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले आयोजना प्रभावित बासिन्दालाई आयोजनाले रोजगारी र शेयरको शुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

विस २०८४ कात्तिक २ गतेसम्म सक्ने लक्ष्यका साथ निर्माण हुन लागेको दानाखोला हाईड्रोपावरमा मुख्य लगानी सानिमा बैँकको रहेको छ । उक्त जलविद्युत् गृहमा वित्तिय व्यवस्थापनका लागि सानिमा बैँकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र लालुपाते हाईड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गर्नुभएको छ ।

लालुपाते हाईड्रोपावरका अध्यक्ष डाँगीले नौ अर्ब ९६ करोडको लगानीमा दानाखोला जलविद्युत् केन्द्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौँ, २० पुस : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर,डेनिस क्रोनरको भने भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

 राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ, २० पुस : गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्थापनाको २० वर्षपछि टहरामुक्त बन्यो जिल्ला अस्पताल

मान्म (कालीकोट), १९ पुस : कालीकोट जिल्ला अस्पताल २० वर्षपछि टहरामुक्त भएको छ । स्थापनाकालदेखि नै टिनको टहराबाट सेवा प्रदान गर्दै आएको जिल्ला अस्पतालको नयाँ भवन निर्माण भएसँगै टहरामुक्त भएको हो ।

विसं २०४५ मा स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको कालीकोट अस्पतालले २०६१ सालमा १५ शय्याको स्वीकृति पाएर जिल्ला अस्पतालका भएको थियो । विसं २०७१ मा ५० शय्याको मान्यता पाएको जिल्ला अस्पतालले भवन अभावका कारणले टहराबाट सेवा दिँदै आएकामा चालु आर्थिक वर्षमा आधुनिक भवन बनेको हो ।

साँघुरो टहरामा बिनाउपकरण र चिकित्सकको अभावका बीचमा सेवा दिँदै आइररेको अस्पतालले सुविधासम्पन्न भवनबाटै सेवा दिन सुरू गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो । “स्थापनाकालदेखि नै टिनको टहराबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले सुविधासम्पन्न भवन बनेका कारणले त्यहीबाट सेवा दिँदै आएका छौँ ।”

रू २६ करोडको लागतमा ५० शय्याको भवन निर्माण भएपछि अहिले सेवा प्रवाह त्यहीबाट सुरू भएकाले सहज भएको सूचना अधिकारी महतले बताउनुभयो । “साँघुरो टिनको टहरामा सेवा प्रवाह गर्दै आइरहेका थियौँ । त्यहाँबाट सेवा प्रवाह गर्दा निकै असहज भएको थियो”, उहाँले भन्नुभयो, “भवन अभावमा अस्पतालले सेवाग्राहीलाई दिनुपर्ने गुणस्तरीय सेवा दिन सकेका थिएनौँ । अहिले भवन बनेपछि सहजता भएको छ ।”

जिल्ला अस्पताल कालीकोटमा स्थापनाकालदेखि कर्मचारीको अभाव रहँदै आएको र अहिले पनि विषेशज्ञ सेवाअनुसारको दरबन्दी नभएको जिल्ला स्वास्थ्य प्रमुख डा भिष्म पोखरेलले बताउनुभयो । “विसं २०६१ मा स्थापना भएको जिल्ला अस्पतालमा कर्मचारीको अभाव रहँदै आएको छ”, उहाँले भन्नुभयो, “विषेशज्ञ सेवा दिन विषेशज्ञ चिकित्सक हाल दरबन्दीअनुसारको पदपूर्ति छैन ।”

जिल्ला अस्पताल कालीकोटमा जर्नल सर्जन, गाइनोलोजिष्ट, फिजिसियन र स्वास्थ्य सेवा व्यवस्थापकको दरबन्दी भए पनि हालसम्म पदपूर्ति हुन नसकेको सूचना अधिकारी महतले जानकारी दिनुभयो । “जिल्ला अस्पतालमा ४४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ३३ जनामात्रै दरबन्दीको कर्मचारी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दरबन्दीअनुसार अहिले पनि चार विशेषज्ञ चिकित्सकको अभावमा तोकिएका सेवा प्रवाह गर्न समस्या भइरहेको छ ।”

सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू

गण्डकी, १९ पुस : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवादी लीला पछाइ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले आज बहस गरेका हुन् । पछाइ र जोशीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताउनुभयो ।

यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरू भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरू भएको बताउनुभयो । “प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरू हुन्छ”, उहाँले भन्नुभयो । थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरूङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरूद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्की, चितवन, रूपन्देहीसहित अन्य जिल्लामा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ ।
–––

अनलाइन ठगीबाट बच्न सिआइबीको सार्वजनिक अनुरोध

काठमाडौँ, १९ पुस : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको रू पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै त्यस्ता लोभमा नफस्न अनुरोध गर्नुभएको छ ।

आज सिआइबीले सात बुँदामा एक सार्वजनिक अपिल जारी गर्दै केही दिनयता सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक÷वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आमसर्वसाधारणलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ ।

यस्ता घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको सिआइबीले जनाएको छ । त्यस्ता ठगीबाट बच्न अनुरोध गर्दै सिआइबीले विभिन्न सात बुँदे ध्यानाकर्षण पनि सार्वजनिक गरेको छ ।

सिआइबिले इसेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईँको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटिपी माग गर्नेहरूसँग सावधानी हुन अनुरोध गरेको छ ।

सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा ट्रान्सफर हुने भनी सजग पनि गराएको छ ।

यस्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिङ्क पठाई खोल्न लगाउने र लिङ्क खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सिआइबीले अनुरोध गरेको छ ।

अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको प्रहरीले जनाएको छ ।

यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म पाँच सयभन्दा बढी फोन नम्बर सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेज नउठाउन तथा उत्तर नदिन पनि सिआइबीले सबैमा अनुरोध गरेको छ ।

यस्ता किसिमका ठगीमा संलग्न व्यक्तिहरूका सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्यूरो तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको प्रवक्ता बोगटीले बताउनुभयो ।