`

निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का

काठमाडौँ, २० पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताउनुभएको छ ।

लालुपाते हाइड्रोपावरद्वारा मनाङको नासोङ गाउँपालिका–२ मा निर्माण हुन लागेको ४९.९५ मेगावाटको दानाखोला हाइड्रोपावरको वित्तिय व्यवस्थापन हस्ताक्षर समारोहमा शुक्रबार साँझ आयोजित कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रलाई साथमा लिएर सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पुरा गरिने बताउनुभएको हो ।

“सरकारले आम्दानीको मुख्य स्रोतका रुपमा जलविद्युत् क्षेत्रलाई लिएको छ, स्रोतलाई अधिकतम प्रयोग गरेर नीजि क्षेत्रलाई साथमा लिएर यस क्षेत्रको विकास गछौँ, देशभित्रका लगानीकर्तालाई उत्साहित गर्नेगरी सरकारले काम गरिरहेको छ,” उहाँले भन्नुभयो । आयोजना ओगटेर बस्न नहुने उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैका लागि हुने भन्दै  गरिब र विपन्न जनताको लागि सरकारले न्यूनतम व्याजदरमा शेयर खरीद गर्ने व्यवस्था मिलाउन लागेको उल्लेख गर्नुभयो । उहाँले देशका अधिकाशं स्थानमा मोटरबाटो पुगेकाले आयोजना निर्माणका लागि अब धेरै समय नलाग्ने बताउनुभयो ।

उहाँले छिमेकी मुलुक भारतसहित अन्य मुलुकसमेतले नेपालबाट विद्युत् आयत शुरु गरेकाले बजार सुनिश्चित भएको भन्दै आयोजना निर्माणमा लाग्न लगानीकर्तालाई आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको उहाँको भनाइ थियो ।

सांसद टेकबहादुर गुरुङले समयमा आयोजना पुरा हुनेगरी काम गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले कृषि, पर्यटन र जलस्रोतको धनी मनाङमा मोटरबाटोको पहुँच सबै स्थानमा पु¥याउन सके समृद्ध जिल्ला बन्ने दावी गर्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा विद्येयकलाई परिमार्जन गरेर अगाडि बढेमात्र सरकारले १० वर्षमा २८ हजार पाँच सय विद्युत् उत्पादन गर्न राखेको लक्ष्य पुरा हुने बताउनुभयो ।

मनाङको नासोङ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले आयोजना प्रभावित बासिन्दालाई आयोजनाले रोजगारी र शेयरको शुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

विस २०८४ कात्तिक २ गतेसम्म सक्ने लक्ष्यका साथ निर्माण हुन लागेको दानाखोला हाईड्रोपावरमा मुख्य लगानी सानिमा बैँकको रहेको छ । उक्त जलविद्युत् गृहमा वित्तिय व्यवस्थापनका लागि सानिमा बैँकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र लालुपाते हाईड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गर्नुभएको छ ।

लालुपाते हाईड्रोपावरका अध्यक्ष डाँगीले नौ अर्ब ९६ करोडको लगानीमा दानाखोला जलविद्युत् केन्द्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौँ, २० पुस : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर,डेनिस क्रोनरको भने भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

 राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ, २० पुस : गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्थापनाको २० वर्षपछि टहरामुक्त बन्यो जिल्ला अस्पताल

मान्म (कालीकोट), १९ पुस : कालीकोट जिल्ला अस्पताल २० वर्षपछि टहरामुक्त भएको छ । स्थापनाकालदेखि नै टिनको टहराबाट सेवा प्रदान गर्दै आएको जिल्ला अस्पतालको नयाँ भवन निर्माण भएसँगै टहरामुक्त भएको हो ।

विसं २०४५ मा स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको कालीकोट अस्पतालले २०६१ सालमा १५ शय्याको स्वीकृति पाएर जिल्ला अस्पतालका भएको थियो । विसं २०७१ मा ५० शय्याको मान्यता पाएको जिल्ला अस्पतालले भवन अभावका कारणले टहराबाट सेवा दिँदै आएकामा चालु आर्थिक वर्षमा आधुनिक भवन बनेको हो ।

साँघुरो टहरामा बिनाउपकरण र चिकित्सकको अभावका बीचमा सेवा दिँदै आइररेको अस्पतालले सुविधासम्पन्न भवनबाटै सेवा दिन सुरू गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो । “स्थापनाकालदेखि नै टिनको टहराबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले सुविधासम्पन्न भवन बनेका कारणले त्यहीबाट सेवा दिँदै आएका छौँ ।”

रू २६ करोडको लागतमा ५० शय्याको भवन निर्माण भएपछि अहिले सेवा प्रवाह त्यहीबाट सुरू भएकाले सहज भएको सूचना अधिकारी महतले बताउनुभयो । “साँघुरो टिनको टहरामा सेवा प्रवाह गर्दै आइरहेका थियौँ । त्यहाँबाट सेवा प्रवाह गर्दा निकै असहज भएको थियो”, उहाँले भन्नुभयो, “भवन अभावमा अस्पतालले सेवाग्राहीलाई दिनुपर्ने गुणस्तरीय सेवा दिन सकेका थिएनौँ । अहिले भवन बनेपछि सहजता भएको छ ।”

जिल्ला अस्पताल कालीकोटमा स्थापनाकालदेखि कर्मचारीको अभाव रहँदै आएको र अहिले पनि विषेशज्ञ सेवाअनुसारको दरबन्दी नभएको जिल्ला स्वास्थ्य प्रमुख डा भिष्म पोखरेलले बताउनुभयो । “विसं २०६१ मा स्थापना भएको जिल्ला अस्पतालमा कर्मचारीको अभाव रहँदै आएको छ”, उहाँले भन्नुभयो, “विषेशज्ञ सेवा दिन विषेशज्ञ चिकित्सक हाल दरबन्दीअनुसारको पदपूर्ति छैन ।”

जिल्ला अस्पताल कालीकोटमा जर्नल सर्जन, गाइनोलोजिष्ट, फिजिसियन र स्वास्थ्य सेवा व्यवस्थापकको दरबन्दी भए पनि हालसम्म पदपूर्ति हुन नसकेको सूचना अधिकारी महतले जानकारी दिनुभयो । “जिल्ला अस्पतालमा ४४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ३३ जनामात्रै दरबन्दीको कर्मचारी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दरबन्दीअनुसार अहिले पनि चार विशेषज्ञ चिकित्सकको अभावमा तोकिएका सेवा प्रवाह गर्न समस्या भइरहेको छ ।”

सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू

गण्डकी, १९ पुस : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवादी लीला पछाइ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले आज बहस गरेका हुन् । पछाइ र जोशीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताउनुभयो ।

यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरू भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरू भएको बताउनुभयो । “प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरू हुन्छ”, उहाँले भन्नुभयो । थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरूङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरूद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्की, चितवन, रूपन्देहीसहित अन्य जिल्लामा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ ।
–––

अनलाइन ठगीबाट बच्न सिआइबीको सार्वजनिक अनुरोध

काठमाडौँ, १९ पुस : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको रू पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै त्यस्ता लोभमा नफस्न अनुरोध गर्नुभएको छ ।

आज सिआइबीले सात बुँदामा एक सार्वजनिक अपिल जारी गर्दै केही दिनयता सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक÷वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आमसर्वसाधारणलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ ।

यस्ता घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको सिआइबीले जनाएको छ । त्यस्ता ठगीबाट बच्न अनुरोध गर्दै सिआइबीले विभिन्न सात बुँदे ध्यानाकर्षण पनि सार्वजनिक गरेको छ ।

सिआइबिले इसेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईँको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटिपी माग गर्नेहरूसँग सावधानी हुन अनुरोध गरेको छ ।

सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा ट्रान्सफर हुने भनी सजग पनि गराएको छ ।

यस्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिङ्क पठाई खोल्न लगाउने र लिङ्क खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सिआइबीले अनुरोध गरेको छ ।

अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको प्रहरीले जनाएको छ ।

यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म पाँच सयभन्दा बढी फोन नम्बर सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेज नउठाउन तथा उत्तर नदिन पनि सिआइबीले सबैमा अनुरोध गरेको छ ।

यस्ता किसिमका ठगीमा संलग्न व्यक्तिहरूका सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्यूरो तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको प्रवक्ता बोगटीले बताउनुभयो ।

स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह

सिरहा, १९ पुस : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा स्थिरता एवम् स्थायित्व कायम गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

सिरहाको लहानस्थित नगरपालिकाको सभाहलमा आज आयोजित १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक स्थिरतासहित देशलाई विकासको गतिमा अघि बढाउने सङ्कल्पसहित वर्तमान सरकार गठन भएको बताउनुभयो ।

“सत्तामा पुग्नमात्र वर्तमान सरकार गठन भएको होइन । २०४६ सालपछि छोटो समयमा सरकार परिवर्तन हुँदा जनताको इच्छा र कामना पूरा हुन सकेन । साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो, सोचेअनुरूपको विकास भएन । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसार नै वर्तमान सरकार बनेको हो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “त्यसैले यो सरकारले पूरा अवधिसम्म अगाडिको सरकारले गर्न नसकेको र अधुरा काम गर्नेछ ।”

उपप्रधानमन्त्री सिंहले ठूलो सङ्घर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै प्राप्त अधिकारलाई जिम्मेवारपूर्ण तरिकाले संस्थागत गरी जनता र राष्ट्रको चाहनालाई केन्द्रविन्दुमा राखी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले बिगिँ्रदै गएको अर्थतन्त्रलाई वर्तमान सरकारले लयमा ल्याउने प्रयास गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य तथा कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले तराई मधेसको जीवनरेखाका रूपमा रहेको १३ वर्षदेखि निर्माणाधीन अधुुरो कमला पुल निर्धारित समयमै सम्पन्नताका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैगरी मधेस प्रदेशसभा सदस्य ललितादास विद्रोहीले विकास निर्माणका काममा सबै पार्टी र जनप्रतिनिधि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना प्रस्तुत गर्नुभएको थियो ।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ, १९ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ ।

काठमाडौँमा आजदेखि सुरू भएको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेकाले भोलि बिहान पुनः बस्नेगरी स्थगन भएको सहमहामन्त्री प्रदीप कार्कीले जानकारी दिनुभयो ।

भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य र सहकारीपीडितको समस्या समाधानका उपाय पहिल्याउने मुख्य एजेण्डाका रूपमा समावेश गरिएको राजनीतिक प्रतिवेदनमा पार्टीले समान विचारधार भएकाहरूसँग सकेसम्म एकता गर्ने, एकता सम्भव नभए समान विचारधारा भएका दलसँग सहकार्य गर्ने वा मोर्चा बनाउने उद्देश्य राखेको छ ।

सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेकोभन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार पार्टीको वैचारिक एजेण्ड हुने उल्लेख गरिएको प्रतिवेदनमा पार्टीले विगतमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्थाको मान्यता लिएकामा नेपालको भूराजनीतिक अवस्था, धार्मिक, सामाजिक परिवेश एवं विद्यमान धरातलीय यथार्थलाई दृष्टिगत गर्दै उक्त एजेण्डमा पुनर्विचार गर्नुपर्ने भनेको छ ।

निर्वाचनमा बढ्दो व्यापारीकरण, अपराधीकरण बढेकाले निर्वाचन प्रणालीमा समावेशिता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता र प्रजातन्त्रको सुदृढीकरणसहित सुधारको माग गरिएको छ । संविधान संशोधनका क्रममा जनताले नरूचाएको धर्म निरपेक्षता, सङ्घीयता हटाउन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।

बैठकमा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’ – विमलेन्द्र निधि

जनकपुर, १९ पुस: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकारहरूको सम्मान बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन यथाशीघ्र हुनुपर्ने उल्लेख गर्नुभयो ।

नेता निधिले सङ्घीय, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नवनिर्वाचित पत्रकार महासङ्घको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशबाट महासङ्घको निर्वाचनमा निर्वाचित सबै तहका पदाधिकारीहरूलाई नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभाका सांसद रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारलगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा

मकवानपुर, १९ पुसः हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब तीन महिनादेखि सिमेन्ट उत्पादन गर्न बन्द गरेको थियो । सिमेन्ट उत्पादन कहिलेदेखि नियमित गर्नेसम्बन्धी अझै अन्योलता रहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

विभिन्न उपकरणलाई मर्मतसम्भार गर्नुपर्ने र केही नयाँ उपकरण जडान गर्नुपर्ने भएको भन्दै उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय काठमाडाँैबाट हेटौँडा सिमेन्टलाई दैनिक आठ मेगावाट विद्युत् नियमित उपलब्ध गराउने जानकारी नआएसम्म उत्पादनलाई निरन्तरता दिन नसकिने बताउनुभयो ।

उहाँले विद्युत् प्राधिकरणका पदाधिकारीसँग उद्योगका पदाधिकारीले पटकपटक वार्ता गरी ऊर्जा उपलब्ध गराउन आग्रह गरिरहेकाले यथाशीघ्र समस्या समाधान हुने राससलाई जानकारी दिनुभयो ।

केही दिनअघि अपर तामाकोशीबाट थप विद्युत् उत्पादित विद्युत्बाट उद्योगलाई नियमित ऊर्जा उपलब्ध गराउने सहमति भए पनि हालसम्म विद्युत् आपूर्ति नियमित हुन नसकेकाले दैनिक सिमेन्ट उत्पादन चुनौतीपूर्ण बन्दै गएको महाप्रबन्धक पाण्डेले बताउनुभयो । हाल विद्युत् प्राधिकरण हेटौँडाबाट दैनिक दुई–तीनपटक विद्युत् ऊर्जा कटौती हँुदै आएकाले उपकरण मर्मत र जडान गर्ने काममा जटिलता आएको उहाँले जानकारी दिनुभयो ।

उक्त उद्योगमा जीर्ण अवस्थामा रहेका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कार्य विद्युत् ऊर्जाका कारणले अझै केही साता लम्बिने भन्दै नियमित विद्युत् आपूर्ति भएपश्चात् उपकरण मर्मत गरी सिमेन्ट उत्पादन सुरु गर्ने सहमति अनुसार प्राविधिक जनशक्ति राखिएको नायब महाप्रबन्धक नवीनकुमार कर्णले उल्लेख गर्नुभयो ।

जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार अग्रवालले पटकपटक विभिन्न उपकरण बिग्रिएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा वार्षिक रूपमा तीन–चार पटक मात्र उद्योग सञ्चालन भइरहेको बताउँदै नयाँ प्रविधिबाट उद्योग सञ्चालनमा ल्याउन दीर्घकालीन योजनासहित सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन सरकारद्वारा रु एक अर्ब ५० करोड लागतमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट विसं २०४३ मङ्सिर २६ गते हेटौँडा सिमेन्ट उद्योगको उद्घाटन भएको थियो ।

उद्योगको साविक सिमेन्ट उत्पादन क्षमता दैनिक १८ हजार बोरा भए पनि हाल उपकरण जीर्ण भएकाले १० हजार बोरामात्र उत्पादन भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ कोइला बोलपत्र आह्वान गरी चार हजार मेट्रिक टन ल्याउने प्रक्रिया सुरु भइसकेको बताउँदै अहिले उद्योगमा एक हजार दुई सय मेट्रिक टन कोइला जगेडा राखिएको उद्योगका कार्यकारी अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरको भैँसे र ओखरेबाट कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गरी ल्याउने कामलाई निरन्तरता दिइएको छ ।
a

क्यानडा अध्ययनको सोच बनाएका बिद्यार्थीका लागि महत्वपूर्ण कार्यक्रम गर्दै आइसीसीसी

काठमाडौं । क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि लक्षीत गरेर ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ।

आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए। कार्यक्रम आइसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।

कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने मौका प्राप्त हुनेछ।

सहभागीले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने आइसीसीसीको दाबी छ।

समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

जनवरी ४ मा लन्डनमा एकसाथ गुन्जिँदै कन्दरा र स्वप्न सुमन

काठमाडौँ । नेपालको स्थापित सांगीतिक ब्यान्ड ‘कन्दरा’ले जनवरी ४ मा लन्डन ओटुमा दिने सांगीतिक प्रस्तुतिको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रका लागि कन्दरासँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिँदै हुनुहुन्छ। कन्दराले आफ्नो सांगीतिक यात्राको ३२ औँ वर्षगाँठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा उत्सवका रुपमा भव्य कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ।

आयोजकका अनुसार विश्वप्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्तामाझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा प्रस्तुति दिन पुग्नुहुनेछ।

कार्यक्रममा स्वप्न सुमन र उनको ब्याण्डले नढाक न मुहार शृंगारले, बाचा भयो, जे छौँ तिमी लगायतका गीतहरु प्रस्तुत गर्नेछन्। पहिला घरदेखि अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रूमाल जस्ता गीत प्रस्तुत हुनेछन्।

आयोजकले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्याण्डको यस ऐतिहासिक साँझको हिस्सा बनेर नेपाली गीत संगीत प्रवर्द्धनमा सहभागी हुन अनुरोध गरेको छ । जसका लागि अनलाइनमार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आ

आज राति अत्यधिक उल्का वर्षा, खुला र सफा आकाशमा हेर्न सकिने

काठमाडौँ, १९ पुसः सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक उल्का वर्षा हुने उहाँले बताउनुभयो । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ । उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले उल्लेख गर्नुभयो ।

अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन् । उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमीमाथि वायुमण्डलमा देखिनेछन् । 

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्रगतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली बोलचालमा ‘तारा खसेको’ पनि भनिन्छ ।

विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय

मनहरी (मकवानपुर), १९ पुसः बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि रु १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माण गर्न रु १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् प्रभावित हेटौँडा–काठमाडौँ सडक पुनर्निर्माण गर्न रु ११ करोड २५ लाख र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मत गर्न रु चार करोड बजेट व्यवस्था गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले कुलेखानी–सिस्नेरी सडक मर्मत गर्न रु ५० लाख, कुलेखानी–महालक्ष्मी खोला फाखेल खण्ड मर्मत गर्न रु २५ लाख बजेट व्यवस्था गरेको छ ।

साथै सिमखोलमा बेलिब्रिज राख्न रु दुई करोड, सिस्नेरी खण्डको सडक पुनर्निर्माणका लागि रु छ करोड र सिस्नेरी–छैमले खण्डको सडक पुनर्निर्माण गर्न रु दुई करोड ५० लाख व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताउनुभयो । बैठकले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बिहीबार सम्पन्न प्रदेश विपद् परिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेअनुसारको बजेट व्यवस्था गर्ने निर्णय गरेको थियो । बैठकले सङ्घीय सरकारबाट सरूवा भएर आएका सचिव वीरेन्द्रदेव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

साथै प्रदेश सरकारले ११औँ तहमा बढुवा गरेका निरञ्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।

थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी

थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आफुसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताउनुभएको छ ।

थाई टेलिकमका मालिक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गर्नुभएको थियो ।

पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी) को अनुरोधमा घोषणा गर्नुभएको हो । उहाँले आफूसँग कूल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताउनुभएको छ ।

उहाँको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ ।

उहाँको अन्य सम्पत्तिमा करिब सात करोड ६० लाख बाहत मूल्यका २१७ वटा ह्यान्डब्याग र १६ करोड २० लाख भाट बराबर मूल्यका ७५ वटा घडी रहेको उल्लेख छ । उहाँले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उल्लेख गर्नुभयो ।

स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार उहाँले करिब पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गर्नुभएको छ । योसहित उहाँको कूल सम्पत्ती २५करोड ८० लाख अमेरिकी डलर दिएको थियो ।

फेउ थाई पार्टीका एक प्रतिनिधिले एएफपीसँग कुरा गर्दै थाइ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्याङ्क सही भएको पुष्टि गर्नुभएको छ ।

फोब्र्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबको मालिकसमेत पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ । फोब्र्सको सूचीमा उहाँ थाइल्याण्डको १० औं धनी व्यक्ति बन्नुभएको छ ।

थाक्सिनले आफ्नो शिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धनलाई राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गर्नुभएको थियो । उहाँको परिवार निर्वासनमा रहेका वर्षहरूमा पनि थाइ राजनीतिमा प्रभावशाली रहेको थियो ।

विश्लेषकहरूका अनुसार थाइल्याण्डमा सम्पत्ति र पारिवारिक विराशतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो ।

सुखोथाई थाम्माथिरात विश्वविद्यालयका युट्टापोर्न इस्साराचाइले एएफपीसँग भन्नुभयो, “पूर्ण रूपमा क्रियाशील लोकतन्त्र नभएको देशमा राजनीतिक गतिविधिमा पैसाको महत्वपूर्ण भूमिका हुन्छ ।”

“ पारदर्शिताको कमीको दावीको साथ यसलाई अक्सर सैन्य हस्तक्षेपको लागि जिम्मेवार मानिने गरिएको छ ।

थाइल्याण्डको संवैधानिक अदालतले गत अगस्टमा पदच्युत गर्दा पेटोङ्टार्नका पूर्ववर्ती प्रधानमन्त्री श्रेता थाभिसिनले ९८ करोड ५० लाख भाटको सम्पत्ति घोषणा गर्नुभएको थियो ।

महाकुम्भ २०२५ : उत्सव सुरु, सङ्गममा गङ्गा आरती

महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गङ्गा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ ।

‘आरतीहरू’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्, सङ्गमको बाढी मैदानहरूमा पनि देख्न सकिन्छ ।

यसअघि उत्तर प्रदेशको प्रयागराजको त्रिवेणी सङ्गममा विशेष गङ्गा आरतीमा महिलाहरूले भाग लिएका थिए । यो विधि आगामी कुम्भ मेलाको पूर्वाभ्यास पनि थियो ।

“आज एक विशेष आरती गरियो । यो कुम्भ मेलाको पूर्वाभ्यास थियो । केटाहरूले त्रिवेणी आरती र केटीहरूले गङ्गा आरती गर्नेछन् । आरती गर्ने यी बालबालिकाहरूलाई सबैले प्रेरित गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ… सनातन धर्ममा कुनै सीमा छैन भन्ने हामी सन्देश दिन चाहन्छौँ”, प्रयागराज तीर्थ पुरोहित प्रदीप पाण्डेले भन्नुभयो ।

महाकुम्भ १२ वर्षपछि मनाइँदैछ र जनवरी १३ देखि फेब्रुअरी २६ सम्म प्रयागराजमा भक्तजनहरूको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको छ ।

शाही स्नान (राजकीय स्नान) भनेर चिनिने मुख्य स्नान जनवरी १४ (मकर सङ्क्रान्ति), जनवरी २९ (मौनी अमावस्या) र फेब्रुअरी ३ (बसन्त पञ्चमी) मा हुनेछ ।

दुर्घटना हुन नदिन जिल्ला प्रशासनले विशेष गरी भिड व्यवस्थापन र आगलागीबाट बच्न भक्तजनको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण कदम चालेको छ ।

जिल्ला प्रशासनले महाकुम्भ समारोहअघि नयाँ दमकल केन्द्रहरूको उद्घाटन गरेको छ, जहाँ आगलागी भएमा द्रुत प्रतिक्रिया सुनिश्चित गर्न कम्तीमा ३६५ वटा सवारी साधन तैनाथ गरिएको छ ।

यसबाहेक सामान्य मानिसहरू सानो आगलागी घटनामा नआत्तिउन् भनेर अधिकारीहरूलाई जनचेतना अभियान र नक्कली अभ्यासहरू सञ्चालन गर्न भनिएको छ ।

एडिजी फायर पद्मजा चौहानले जनचेतना फैलाउन खटिएका अधिकारीहरूले मानिसहरूलाई यस्ता आगलागी घटनाहरू सम्हाल्न पनि सिकाउने बताउनुभयो ।

“हामीले अधिकारीहरूलाई पालहरूमा जान, जनचेतना फैलाउन र नक्कली अभ्यास गर्न भनेका छौँ । यदि कुनै सानो आगलागी घटना भएमा मानिसहरू नआत्तिउन् । अधिकारीहरूले मानिसहरूलाई यस्तो आगलागी कसरी नियन्त्रण गर्ने भनेर पनि सिकाउनेछन्”, उहाँले भन्नुभयो

यस पटक महाकुम्भका लागि प्रशासनले भक्तजनहरूको सुरक्षा सुनिश्चित गर्न कर्मचारीहरूको तैनातीसँगै प्राविधिक उपकरणहरू छनोट गरेको छ ।

चौहानले प्रशासनले श्रमशक्ति बढाएको र कुनै पनि भूभागमा चल्न सक्ने क्विक रेस्पोन्स भेहिकल, अल–टेरेन भेहिकल (एटिभी), फायर फाइटिङ रोबोट र फायर मिस्ट बाइक तैनाथ गरेको जानकारी दिनुभयो ।

चौहानका अनुसार प्रशासनले आगो निभाउने डुङ्गाहरू पनि ल्याएको छ । ती डुङ्गा एक हप्तामा तैनाथ गर्न तयार हुनेछन् । डुङ्गाहरूले आगो निभाउन नदीको पानी प्रयोग गर्नेछन् ।

यसैबीच डिजिटल फड्को मार्दै उत्तर मध्य रेलवेको प्रयागराज डिभिजनले आधुनिक प्रविधिमार्फत टिकटिङ प्रक्रियालाई सरल बनाउन नयाँ पहल सुरु गरेको छ ।

महाकुम्भको समयमा प्रयागराज जङ्क्सन र अन्य प्रमुख स्थानहरूमा वाणिज्य विभागका समर्पित रेलवे कर्मचारीहरू तैनाथ गरिनेछ । यी कर्मचारीहरूलाई तिनीहरूको हरियो ज्याकेटहरूद्वारा सजिलैसँग पहिचान गर्न सकिन्छ, जसमा पछाडि क्युआर कोड छापिएको हुनेछ ।

तीर्थयात्रीहरूले आफ्नो मोबाइल फोनबाट यो क्युआर कोड स्क्यान गरेर युटिएस (अनरिजभ्र्ड टिकेटिङ सिस्टम) मोबाइल एप डाउनलोड गर्न सक्नेछन् । यो एपले यात्रीहरूलाई लामो लाइनमा नबसी अनरिजभ्र्ड टिकट बुक गर्न अनुमति दिन्छ ।

यो अभूतपूर्व पहलले रेलवे स्टेशनहरूमा भीड कम गर्ने छ र तीर्थयात्रीहरूलाई सहज रूपमा टिकट खरिद गर्न सक्षम बनाउनेछ ।

डिजिटल भुक्तानी विकल्पहरू प्रक्रियामा एकीकृत गरिएको छ । यसले महाकुम्भमा आउने लाखौँ भक्तजनका लागि समय बचत र झन्झट–मुक्त अनुभव प्रदान गर्ने वाचा गर्दछ ।

भाषा, संस्कृति हाम्रा पहिचान हुन्ः मन्त्री गुरुङ

गण्डकी, १९ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषा, संस्कृतिहरू हाम्रो पहिचान भएको बताउनुभएको छ ।

नेपाल मगर सङ्घ गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले भाषा, संस्कृति जोगाउनुपर्ने भन्दै यी विषय हाम्रो इतिहास र पहिचानसँग प्रत्यक्ष जोडिएका उल्लेख गर्नुभयो ।

आदिवासी, जनजातिहरूको संस्कृति जगेर्नासँगै उनीहरूका हकहितको संरक्षणलाई लक्षित गरी सरकारले विभिन्न आयोगहरू बनाएको जनाउँदै मन्त्री गुरुङले त्यसको व्यवहारिक उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राज्यले आदिवासी, जनजातिका लागि आरक्षणको व्यवस्था गरे पनि त्यसको कति उपयोग गर्न सकियो त्यसतर्फ ध्यान दिनु जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, “राज्यले आरक्ष्णको व्यवस्था गरेर मात्रै हुँदैन त्यसको व्यावहारिक उपयोग हुनुपर्दछ ।”

जनताले अपेक्षा गरेअनुसार वर्तमान सरकारले काम गर्न पहल गरिरहेको बताउँदै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले विभिन्न स्थानमा अवरोधका रूपमा देखिएका नीतिगत समस्याको समाधानका लागि विभिन्न ११ वटा कानुन बनाएर संसद्बाट पारित गराउने तयारी भइरहेको जानकारी दिनुभयो । आगामी संसद् अधिवेशनमा ती कानुन पारित गरेर अघि बढ्ने तयारीमा सरकार रहेको उहाँले बताउनुभयो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरिएको उल्लेख गर्दै मन्त्री गुरुङले सहकारी क्षेत्रका समस्याको दीर्घकालीन समाधानतर्फ सरकार अघि बडिरहेको उल्लेख गर्नुभयो । सहकारीमा गल्ती नगर्नेले तसिर्नु नपर्ने भन्दै उहाँले भन्नुभयो, “न्यायिक प्रक्रियामा साथ दिनुहोस् डराउनुपर्दैन, जनताको पैसा हिनामिना गर्नुभएको छैन भने नडराए हुन्छ ।”

सहकारीमा ठगीमा संलग्न जोकोही कानुनी कारबाहीको दायरामा आउनुपर्ने बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “जसले सहकारी बचतकर्ताको रकम ठगेको छ, त्यो जुनसुकै दलको भएपनि पार्टीको छाता ओढेर छुट पाउने छैन ।”

हरेक १० वर्षभित्र संविधान कार्यान्वयन गर्दै जाँदा कहाँ कहाँ कमजोरी देखियो, बाधा परेका धारा तथा कानुन परिवर्तन गरिने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्री गुरुङले संविधान संशोधन गर्दा सहमति र समन्वयबाट गरिने बताउनुभयो । उहाँले संविधानको मूल मर्म सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्थालगायत विषयमा भने संशोधन हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

विविधता युक्त हाम्रो समाज इन्द्रेणी समाज रहेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले यसको उदाहरणका रूपमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, तथा पालिकाहरूमा प्रतिनिधित्व हुँदै आएको बताउनुभयो । सरकार अविकसितबाट विकासशील राष्ट्रमा पुगेको जनाउँदै उहाँले यसबाट अघि बढ्नका लागि व्यापार घाटा घटाउनुपर्ने, उत्पादन बढाउनुपर्ने, निर्यात बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विसं २०४७ यता देशमा धेरै उपलब्धि हासिल भएकाले नेपाली कोही पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै मन्त्री गुरुङले सबै पालिकाहरूमा बाटोको सुविधासँगै बिजुलीबत्ती, खानोपानीलगायत सुविधा र पूर्वाधार विकास हुँदै गएको जानकारी गराउनुभयो । गरिबी घटाउने, पूँजीगत खर्च बढाउनेलगायत काममा सरकार लागेको उल्लेख गर्दै उहाँले सरकारले सुरु गरेका केही सकारात्मक कामको आगामी जेठसम्ममा अनुभूति हुने धारणा राख्नुभयो ।

मगर जाति मौलिक संस्कृतिले धनी रहेको बताउँदै मन्त्री गुरुङले समुदायमा समन्वयको भावनासहित आफ्ना संस्कृतिको जगेर्ना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संस्कृतिको जगेर्नासँगै समयसापेक्ष रूपमा यसको संरक्षण र प्रवर्द्धन गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल मगर सङ्घ गण्डकीका अध्यक्ष तारामाया थापा मगरले मौलिक संस्कृतिको जगेर्नाका लागि महोत्सव गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका मौलिक मगर नृत्य प्रस्तुत गरिएको थियो ।

हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे

काठमाडौँ, १९ पुसः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई, संस्कृति र पर्यटन नीति बनाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रतिनिधिसभा मातहतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले विभिन्न धर्मावलम्बीको आस्थासँग जोडिएका मठ, मन्दिर, गुम्बा, चैत्य र चर्च निर्माणमा केकति सहयोग गर्ने भन्नेबारे तीन तहका सरकारबीच समन्वय र मापदण्ड तर्जुमाको खाँचो औँल्याउनुभयो ।

बैठकमा नेपाल पर्यटन बोर्डको कार्यसम्पादन, विद्यमान समस्या र समाधानका उपायबारे छलफल भएको थियो । मन्त्री पाण्डेले भन्नुभयो, “पर्यटन बोर्ड पर्यटन क्षेत्रको थिङ्कट्याङक हो । पूर्वाधारभन्दा पर्यटन प्रवर्द्धनमा यो केन्द्रित छ । अरु क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि ‘हुन्छ भन्ने तर चित्त बुझाउन नसक्ने’ प्रवृत्तिले काममा बाधा पुर्‍याइरहेको छ ।”

बोर्डले आफूलाई गतिशील तुल्याउने र प्रतिफलको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकतामा जोड दिँदै तीन तहका सरकारको सहयोग र समन्वयमा आफ्नो कार्य जिम्मेवारीको प्राथमिकतासम्बन्धी प्राथमिकीकरण गर्न मन्त्री पाण्डेले सुझाव दिनुभयो ।

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले मुलुकको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने गाउँ तहदेखि केन्द्रीय सरकारसम्मका प्रतिनिधिले जवाफदेही भएर अतिथिको सेवा र सत्कारमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटकको सङ्ख्याभन्दा दिगो र गुणस्तरीय पर्यटक भित्र्याउन लगानी बढाउनुपर्छ । काठमाडौँ, पोखरा र चितवनमा सीमित पर्यटकलाई अरु स्थानमा पुर्‍याउन यातायात, होटललगायत भौतिक पूर्वाधार तथा अध्यागमन र गुणस्तरीय खानपिनमा सुधारको खाँचो छ ।”

पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले देशको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्य जिम्मेवारी रहेको बोर्डको रहेको भन्दै कोभिड–१९ पछि खस्किएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनका हिसाबले ९६ प्रतिशत पुनप्र्राप्ति भएको दाबी गर्नुभयो ।

उहाँले भारतको अयोध्यासहित विभिन्न स्थानमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सूचना केन्द्र स्थापना, सहासिक पर्यटन गन्तव्यको पहिचान गर्दै गुणस्तरीय पर्यटन भित्र्याउन विभिन्न कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

यसअघि बैठकमा सदस्यहरूले नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्ने वैदेशिक रोजगारी र अध्ययन गर्न जानेलाई बोर्डले प्रचारप्रसारका लागि प्रशिक्षित गराउनुपर्ने, भारत र चीनलाई लक्षित गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले देशको आम्दानीको ठूलो स्रोत पर्यटन भएकाले बोर्डलाई परम्परागत ढङ्गबाट नभई गुणात्मक पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजी र रणनीति बनाउन सुझाव दिनुभयो ।

सदस्यहरूले तराई मधेसका गढीमाई र सिम्रौनगढ केचनाकवलबाट शुल्लाफाँटासम्मका क्षेत्र पर्यटकीय गन्तव्य रहेकाले गुरुयोजना बनाएर प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा काम गरिएको खण्डमा नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको धारणा राख्नुभयो । सभापति राजकिशोर यादवले अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाउन ढिलाइ गर्न नहुने विचार प्रकट गर्नुभयो ।

पार्टीमा अनुशासन आवश्यक छ : महासचिव पोखरेल

काठमाडौँ, १९ पुस : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताउनुभयो ।

महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताउनुभयो । उहाँले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताउनुभयो ।

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताउनुभयो । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ”, उहाँले भन्नुभयो ।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताउनुभयो ।

सङ्घीय संसद् बैठक बोलाउन माओवादी केन्द्रको आग्रह

काठमाडौँ, १९ पुस : संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरेको छ ।

संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र जसका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रूपान्तरणलगायत विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ः०० बजे बस्नेगरी स्थगित भएको छ ।

लोकसेवा आयोगको दृष्टिमा सङ्घीय निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’

काठमाडौँ । लोक सेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समेटिनुपर्ने विषयबारे समितिलाई अवगत गराएको छ ।

कर्मचारीतन्त्रले निर्वाह गर्नुपर्ने जवाफदेहिता र वृत्तिविकासबीचको आबद्धता कायम गर्ने, कर्मचारीतन्त्रमा निरन्तर सुधार र सम्भार गरिरहने, निर्धारित कार्यविवरण र कार्यसम्पादनलाई आधार मानी कर्मचारीको वृत्ति विकासमा जोड्नेजस्ता व्यवस्था विधेयकमा छुटाउन नहुनेमा आयोगको जोड छ ।

आयोगले समितिमा विधेयकको नाम, पदपूर्ति प्रतिशत, समावेशिता, सेवा प्रवेशको अधिकतम उमेर, अनिवार्य अवकाशको उमेरहद, प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, ट्रेड युनियन, सरूवा तथा बढुवा, मुख्यसचिव, सचिव र अतिरिक्त सचिवको सेवा अवधि, अवकाश हुनुपूर्व एक महिनाअघि एक तहमाथि बढुवा गरी अवकाश दिने र सेवा सुविधाका सम्बन्धमा आयोगको ‘सवाल’ प्रस्तुत गरेको छ ।

समितिको आजको बैठकमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सङ्घीय शासन अनुकूल राज्यका तीनै तहका कर्मचारीको सोच, मूल्य मान्यता र क्षमताको रूपान्तरण गरी उनीहरूको वृत्तिविकास र उत्प्रेरणाको सवालको न्यायोचित सम्बोधन गर्ने मापदण्डगत व्यवस्था र तीनै तहका सरकारबीचको प्रशासनिक अन्तरसम्बन्ध रहने व्यवस्था विधेयकमा समावेश गर्नुपर्नेमा जोड दिए ।

आयोगले निजमती सेवा विधेयकको दफा १० (१) (ज) मा भएको व्यवस्थामा ‘खुला, आन्तरिक तथा अन्तरतह प्रतियोगिताद्वारा पूर्ति हुने पद १० प्रतिशत र बढुवाद्वारा पूर्ति हुने पद ९० प्रतिशत राख्न प्रस्ताव गरेको छ । सेवा प्रवेश गरिसकेको कर्मचारीहरू शीघ्र माथिल्लो पदमा जान तयारी गर्ने, कार्यालयमा पनि पढेर बस्ने, कोचिङ कक्षा जाने, माथिल्ला पदका कर्मचारी कोचिङ सेन्टरमा पढाउन जाने प्रवृत्तिले नागरिकलाई सेवा वितरणलगायतका काममा बाधा पर्न गएकाले उक्त व्यवस्था गर्नु उचित हुने आयोगको सुझाव छ ।

“यसबाट एकातर्फ कर्मचारीमा भएका ज्ञानलाई सङ्गठनले उपयोग गर्न नसकेको देखिन्छ भने अर्कातर्फ छिटोछिटो छरितो वृत्ति खुड्किला चढ्नेहरूमा आवश्यक अनुभव तथा निर्णयमा परिपक्वता कमीले गर्दा सेवा प्रवाह तथा चुनौतीपूर्ण कार्य गर्न अग्रसर नहुने देखिन्छ”, आयोगका अध्यक्ष रेग्मीले भने ।

आयोगले निजामती सेवाको सहायक र अधिकृत तहमा एक÷एकपटक मात्र समावेशिताको सुविधा पाउने व्यवस्था गर्न, सेवा प्रवेशतर्फ खुलाको हकमा ३२ वर्ष र समावेशी समूह (महिला र अपाङ्ग)को हकमा ३७ वर्ष कायम गर्न सुझाव दिएको छ । हाल सेवा प्रवेश गर्ने उम्मेदवारको उमेर समूहको अध्ययन गर्दासमेत सेवा प्रवेश उमेर घटाउनु उपयुक्त हुने देखिएको अध्यक्ष रेग्मीको भनाइ छ ।

उनले भुटानमा सरकारी सेवा प्रवेशको उमेर २१ देखि ३५ वर्ष, पाकिस्तानमा २१ देखि ३० वर्ष र समावेशीमा थप दुई वर्ष, भारतमा २१ देखि ३० वर्ष र सरकारी सेवामा प्रवेश गरिसकेकाको हकमा ३५ वर्ष, बङ्गलादेशमा २१ देखि ३० वर्ष र समावेशिताका लागि ३२ वर्ष उमेरहद रहेको दृष्टान्त प्रस्तुत गरे ।

आयोगले कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष कायम गरी तीन चरणमा कार्यान्वयन गर्नु उपयुक्त हुने प्रस्ताव गरेको छ । ऐन प्रारम्भ भएको मितिले सो आर्थिक वर्षसम्म ५८, दोस्रो आवसम्मका लागि ५९ र तेस्रो आर्थिक वर्षदेखि ६० वर्ष कायम हुने व्यवस्था गर्न आयोगको प्रस्ताव छ । एकै चरणमा अवकाश उमेरहद ६० वर्ष पुर्याउँदा बढुवाको अन्तिम चरणमा पुगेको कर्मचारीलाई मर्का पर्ने आयोगको ठम्याई छ । अध्यक्ष रेग्मीले भने, “हाल भएको ५८ वर्षको उमेरहदबाट एकै पटक ६० वर्ष पुर्याउँदा त्यसबाट प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पर्ने प्रतिकूल प्रभावको गम्भीर्यतालाई न्यून गर्न पनि चरणबद्ध रूपमा कार्यान्वयन गर्नु उचित हुन्छ ।”

आयोगले प्रदेश सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद सङ्घीय निजामती सेवाको पद हुनेछ भन्ने प्रावधान राखी सोहीबमोजिम अन्य व्यवस्था मिलाउन पनि सुझाव दिएको छ । नेपालको संविधानले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीयता आत्मसात् गरेको अवस्थामा अवशिष्ट अधिकार सङ्घमा नै रहने संवैधानिक व्यवस्था र नेपालले अवलम्बन गरको सङ्घीय शासन प्रणाली ‘होल्डिङ टुगेदर’ प्रकारको भएकाले पनि त्यस्ता पद सङ्घ मातहत हुनुपर्ने आयोगको दृष्टिकोण छ ।

प्रशासनिक समन्वय, वित्तीय सुशासन एवं समग्र प्रतिवेदन यथासमयमा सङ्घीय सरकारलाई प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न पनि प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृतको पदमा सङ्घीय निजामती सेवाका कर्मचारी खटाउन उचित हुने अध्यक्ष रेग्मीको धारणा छ ।

निजामती सेवामा ट्रेड युनियनको गठन, आबद्धता र अधिकारलगायत सवाल राजनीतिक विषय भएकाले यो विषय सार्वभौम संसद्बाटै निक्र्योल हुनुपर्ने आयोगको मत छ । यद्यपि, निजामती सेवामा एक मात्र ट्रेड युनियन रहने र छैटौँ तहसम्मका कर्मचारीको ट्रेड युनियनमा सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने आयोगको सुझाव छ । अध्यक्ष “अधिकृतस्तरदेखिका कर्मचारी अवस्था र पदस्थापनअनुसार नीतिगत एवं व्यवस्थापकीय तहमा समेत सहभागी हुने भएकाले सोभन्दा तल्लो तहका कर्मचारी मात्र यसमा सहभागी हुन उपयुक्त हुनेछ”, अध्यक्ष रेग्मीले भने, “सुशासन, सेवा प्रवाह, अध्ययन, अनुसन्धान र लोकतान्त्रको कार्यान्वयनमा ट्रेड युनियनको भूमिका उपयुक्त हुन्छ ।”

आयोगले कर्मचारीको छिटोछिटो सरूवाबाट कार्यसम्पादनमा असर परिरहेको तथा ‘इन्स्टिच्युसनल मेमोरी’ कायम गर्न कठिन हुनेहुँदा सचिवको एक वर्ष, सहसचिवको दुई वर्ष, उपसचिवको तीन वर्ष, शाखा अधिकृतको चार वर्ष र अन्य कर्मचारीको पाँच वर्ष कम्तीमा पनि एउटै मन्त्रालय वा मातहतको निकायमा रहने सुनिश्चिता गरिनुपर्नेमा जोड दिएको छ ।

कार्यालय तथा निकायको ‘पदसोपान’ र त्यस्ता निकयामा हुने कार्यचापबमोजिम अतिरिक्त सचिवको व्यवस्था गर्न उचित भएकाले मुख्यसचिवको सेवा अवधि दुई वर्ष, सचिवको तीन वर्ष र १३औँ तहको अतिरिक्त सचिवको चार वर्ष सेवा अवधि कायम राख्न आयोगको सुझाव छ । आयोगले एउटै मन्त्रालयमा दुई जना सचिव रहने व्यवस्था हटाई कार्यालयको कार्यबोझको आधारमा कार्यविवरण स्पष्ट गराई सो अनुरूप आवश्यकतानुसार मन्त्रालय र विभागहरूमा तेह्रौ तहका अतिरिक्त सचिवको व्यवस्था गर्न उचित हुने धारणा राखेको छ ।

अवकाश हुनुपुर्व एक महिनाअघि एक तहमाथि बढुवा गरी अवकाश दिने प्रावधान समेट्न आयोगले प्रस्ताव गरेको छ । यसरी बढुवा गर्दा श्रेणीको हकमा १५ वर्ष एउटै पदमा र तहगत प्रणालीमा एउटै पदमा १० वर्ष कार्य गरेको व्यवस्था हुनुपर्ने तथा पछिल्लो दुई तह गरी १५ वर्ष पूरा गरेको हकमा समेत यस्तो विशेष बढुवाको सुविधा पाउनेछ भन्ने व्यवस्था थप गर्नु उचित हुने आयोगको राय छ ।

आयोगले निजामती सेवाका कर्मचारीको निवृत्तिभरण, उपदान, स्वास्थ्य उपचारलगायत सेवा सुविधा राज्यको क्षमता एवं आर्थिक स्थिति समेतका दृष्टिबाट उपयुक्र व्यवस्था गर्न पनि सुझाव दिएको छ । सङ्घीय निजामती सेवा विधेयकको नाममा पनि थुप्रै संशोधन परेको सन्भर्दमा आयोगले नेपालको संविधानले समेत सङ्घीय निजामती सेवा भनी स्वीकार गरेको अवस्थामा विधेयकको नाम ‘सङ्घीय निजामती सेवा ऐन’ नै उपयुक्त रहेको सुझाव दिएको छ ।

आयोगका अध्यक्ष रेग्मीले समिति बैठककै क्रममा विधेयकमा सम्बन्धमा सांसदले पेस गरेका एक हजार पाँच सय ८३ वटा संशोधन प्रस्तावमाथि आयोगको धारणा तयार गरी लिखित रूपमा बुझाएका छन् । समिति सभापति रामहरि खतिवडाले आयोगका तर्फबाट महत्त्वपूर्ण सुझाव प्राप्त भएको जानकारी दिँदै ती सुझावमाथि गम्भीरताका साथ विचार गरिने बताए ।

‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’ – मुख्यमन्त्री आचार्य

घोराही (दाङ), १९ पुसः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा समुन्नत भएको बताउनुभएको छ । घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सको उद्घाटन गर्दै उहाँले लम्बिनी सांस्कृतिक विविधता युक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले कानुन निर्माण गरेर प्रदेशका हरेक निकायमा १४ प्रतिशत थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि प्रदेश सरकारले कानुन निर्माण गरिसकेको जनाउँदै उहाँले अब ऐन निर्माण गरेर छिट्टै कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृतिलाई आयआर्जनसँग जोडेर थारु समुदायलाई आर्थिक रूपमा सम्पन्न गराउन प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशका जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेलदगायत वक्ताले कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांस्कृतिक विविधताले भरिएको क्षेत्र रहेको भन्दै कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको थियो ।

कार्यक्रम सञ्चालन हुनुअघि विभिन्न कला, संस्कृति र झाँकीसहित घोराही बजार परिक्रमा गरिएको थियो । थारूको मौलिक कला, संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वका रूपमा लिने गरिन्छ । महोत्सवमा थारु समुदायका मौलिक कला, संस्कृति, गीत, नाच र खानेकुराहरू प्रदर्शनमा राखिएका छन् ।

सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

सुदूरपश्चिम, १९ पुसः सुदूरपश्चिम प्रदेशका स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारबीच सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया सुरु भएको छ ।

प्रदेशका ८८ वटा स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारको सिङ्गो टोलीलाई एउटै मञ्चमा राखेर आजदेखि सुरु भएको अन्तरक्रियाले स्थानीय तहमा देखिने कतिपय समस्यालाई दोहोरो संवादका माध्यमबाट समाधान खोज्न, आगामी दिनमा सुधार गर्न सकिने मार्ग पहिल्याउन, प्रदेश सररकार र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न, एकापसमा असल अभ्यासहरूको सिकाइ आदानप्रदान गर्न, स्थानीय तहहरूको सम्भावना र अवसरहरूको खोजीलगायत काममा टेवा पुग्ने विश्वास गरिएको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा आयोजित दुुईदिने अन्तरक्रियामा प्रदेश मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, प्रदेश नीति आयोगका पदाधिकारी, विभिन्न विषयका विज्ञहरू, स्थानीय पालिकाका प्रमुख÷अध्यक्षहरू, प्रदेशसभाका सदस्यहरूको सहभागिता छ ।

कार्यक्रममा सङ्घीयता सवलीकरणमा स्थानीय तहको भूमिका, अन्तर सरकार समन्वयका आयामहरू, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा स्थानीय तहका नेतृत्वको भूमिका र कर्तव्य, नेतृत्व विकासका आयामहरू, सार्वजनिक खर्च व्यवस्थापनमा स्थानीय तहका नेतृत्वको भूमिका, सदाचार र नैतिकता सन्दर्भमा नेतृत्वलगायत विषयमा प्रस्तुति गरेर छलफल गरिने छ ।

आज पहिलो दिन प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले सुदूरपश्चिम प्रदेशको समग्र अवस्थासम्बन्धी प्रस्तुति राख्नुभएको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अन्तरक्रियाको उद्घाटन गर्नुभएको थियो ।

बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १९ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बिमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताउनुभएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बिमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न पाउने व्यवस्था मिलाउन सरकार लागेको बताउनुभएको हो । “बिमालाई व्यवस्थित बनाउँदै नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्न सरकार लागेको छ”, उहाँले भन्नुभयो । सरकारले बिमाको रकम रु एक लाखबाट बढाएर पाँच लाख पु¥याएको उहाँको भनाइ थियो ।

  स्वास्थ्यमन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा ग्राण्डी अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउँदै सबै नागरिकको पहुँच पुग्नेगरी स्वास्थ्यसेवा प्रदान गर्न सुझाव दिनुभयो ।  स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा नर्सलाई स्वदेशमै बस्ने वातावरण निर्माणमा नेपालका स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो । उहाँले अस्पतालभित्र कार्यरत चिकित्सक तथा नर्समाथि हिंसा गर्नेलाई फौजदारी अभियोगअन्तर्गत मुद्दा चलाउने व्यवस्था भएकाले कार्यक्षेत्रमा ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको पहिचान ग्राण्डी अस्पतालले दिएको बताउनुभयो । “टोखाभित्र ग्राण्डी अस्पताल भएकामा नगरपालिकाले गौरवको महसुस गरेको छ, टोखालाई राष्ट्रियस्तरसम्म नभई अन्तर्राष्ट्रियस्तरसम्म ग्राण्डीले चिनाएको छ”, उहाँले भन्नुभयो । टोखालाई पहिचान दिन ग्राण्डीले खेलेको भूमिका सराहनीय रहेको उहाँको भनाइ थियो । उहाँले नगरपालिकाको प्रमुख लक्ष्य टोखालाई समुन्नत र समृद्ध बनाउने रहेको बताउँदै सबै मिलेर टोखाको गरिमा बढाउन लाग्नुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले ग्राण्डीले बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायत समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।

  “नाफा कमाउनेभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ ग्राण्डी स्थापना भएको हो, सामूहिक रुपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीको हो”, उहाँले भन्नुभयो ।

अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले ग्राण्डीले नेपालीको मात्र नभई विदेशीको पनि सफल उपचार गरेर अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान कायम गर्दै आएको बताउनुभयो । कार्यक्रममा अस्पतालमा १० वर्षदेखि निरन्तर कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

भक्तपुरमा स्कुटर दुर्घटना : श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते

भक्तपुर, १९ पुस : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते हुनुभएको छ ।

सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफँै अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनुभएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाँै लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने : मन्त्री यादव

बारा (कलैया), १९ पुसः खानेपानीमन्त्री प्रदीप यादवले जिल्लाका घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताउनुभएको छ ।

आज उहाँले नेपाल खानेपानी संस्थान कलैया शाखाद्वारा आयोजित मानमत–कलैया–मटिअर्वा सडकखण्डमा जोडिने खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्नुभयो । सो कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “बारामा घामपानीले क्षति पु-याएका खानेपानीका सबै ट्याङ्की मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने बचन दिन चाहन्छु ।”

पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी बढेको र जलवायु परिर्वतनका कारण तराईमा भूमिगत खानेपानीसहित चापाकल सुक्दै गएकाले आगामी दिनमा पानीको समस्या थप जटिल हुने अवस्था सृजना भएको बताउनुभयो ।

“विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउँथ्यो, अहिले तीन सय फिटमा पनि आउन छाडेको छ,” उहाँले भन्नुभयो, “शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको हाहाकार हुने सम्भावना छ ।”

सिस्वा गाउँ र आसपासका क्षेत्रमा खानेपानी आयोजना निर्माण गर्न आगामी महिना रु १४ करोडको बोलपत्र आह्वान गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्वप्रदेशसभा सदस्य पारस साह, कलैया उपमहानगरपालिका प्रमुख विनोद साह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

मुगुमा भूकम्पको धक्का महसुस

काठमाडौँ, १९ पुसः मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो ।

वीरगञ्जबाट धानचामल आयात बढ्यो

वीरगञ्ज (पर्सा), १९ पुसः चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो ।

चालु आवको पाँच महिनामा रु ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व

काठमाडौँ, १९ पुस-वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ । कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ । यस्ता घटना जसले सन् २०२४ मा संसार छोडेका केही महत्त्वपूर्ण व्यक्तित्वको नाम यहाँ प्रस्तुत गरिएको छ ः

जिमी कार्टर

अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा सन् २०२४ डिसेम्बर ३० मा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो ।

सबैभन्दा लामो समयसम्म बाँच्नुभएका अमेरिकी राष्ट्रपतिको जर्जियाको सानो शहर प्लेन्समा ‘होस्पिस केयर’मा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भएको हो । प्लेन्समा उहाँ र उहाँकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । रोजालिनको भने सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

कार्टर सेन्टरका संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आफ्नो परिवारबीच उमेरजन्य समस्याका कारण शान्तिपूर्वक निधन भएको उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरको निधनबाट विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ नेतृत्व गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताउनुभएको छ । रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, विश्वभर स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनहरूलाई सहयोग गर्ने कामका लागि विश्वले उहाँलाई सम्झिरहनेछ । कार्टरले आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गर्नुभयो । उहाँले आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गर्नुभएको थियो र ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गर्नुभएको थियो ।

सन् १९२४ अक्टोबर १ मा जन्मनुभएका कार्टर अमेरिकी राजनीतिज्ञ, लेखक र डेमोक्रेटिक पार्टीका सदस्य हुनुहुन्थयो । उहाँले सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाको ३९औँ राष्ट्रपतिको रूपमा काम गर्नुभएको थियो । उहाँलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

अल्बर्टो फुजिमोरी

मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको सेप्टेम्बर २१ मा निधन भयो । क्यान्सरसँगको लामो लडाइँपछि पूर्वराष्ट्रपति फुजिमोरीको निधन भएको हो । उहाँको जिब्रोमा क्यान्सर भएको थियो । सन् १९९० देखि २००० सम्म पेरुमा शासन गर्नुभएका फुजिमोरी भ्रष्टाचारको आरोपका कारण सत्ताबाट बाहिरिन बाध्य हुनुभएको थियो । राष्ट्रपति रहँदा उहाँले वामपन्थी गुरिल्ला विद्रोहविरुद्ध कडा अडान लिनुभएको थियो । त्यसलाई कतिपयले मानवअधिकार उल्लङ्घनको आरोप लगाएका थिए । तर विद्रोहीहरूले सत्ता कब्जा गर्ने सम्भावना देखिएका बेला फुजिमोरीले पराजित गरेको भन्दै उहाँको प्रशंसा गर्ने समूह पनि गरिन्छ ।

एलेक्सी नभाल्नी

रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको सन् २०२४ फेब्रुअरी १८ मा जेलमा निधन भएको रूसी कारागार प्रशासनले जनाएको थियो । रूसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो। कतिपयले उहाँलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए । उहाँको मृत्यु हुनुभन्दा करिब एक वर्ष पहिले मात्रै रूसको निकै कठोर जेलमध्येको आर्कटिक पेनल कोलोनीमा सारिएको थियो ।

नभाल्नीको मृत्यु भएको भन्दा एक दिनअघि फेबु्रअरी १७ मा उहाँ अदालती सुनुवाइको क्रमको एक भिडिओमा देखा पर्नुभएको थियो । त्यसबेला उहाँ ठिकै देखिनुका साथै हाँसिरहेको देखिएको नभाल्नीका समर्थकहरूले दाबी गरेका छन् । जेल प्रशासनले नभाल्नी फेब्रुअरी १६ मा यात्राका क्रममा अचेत भएको र उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको थियो ।

नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक नामक सोभियतकालीन विषाक्त पदार्थद्वारा आक्रमण गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उहाँ बिरामी परेपछि जहाजले आपत्कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ परेका नभाल्नी मृत्युपर्यन्त रूसी हिरासतमा हुनुहुन्थ्यो । नभाल्नीले आफूमाथि स्नायु विष हमला भएकोबारे लगाएको आरोप सही भएको केही खोज पत्रकारहरूको अनुसन्धानले देखाएको थियो ।

नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुनुहुन्थ्यो । सत्चालिस वर्षको उमेरमा निधन हुनुभएका नभाल्नीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आउनुभएको थियो । उहाँ भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि हुनुहुन्थ्यो । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उहाँ उम्मेदवार बन्न खोज्नुभएको थियो तर उहाँलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन। नडराई बोल्ने ब्लगरका छवि बनाउनुभएका उहाँलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उहाँका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए ।

सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल पर्नुभएको थियो । उहाँलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो । साइबेरियामा भएको स्नायु एजेन्ट आक्रमणमा परेर आपत्कालीन उपचार गराइरहेको थाहा हुँदाहुँदै उहाँमाथि यस्तो आरोप लगाइनु हास्यास्पद भएको उहाँका वकिलहरूले बताएका थिए ।

डा. मनमोहन सिंह

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बुढ्यौलीजन्य स्वास्थ्य समस्याका कारण सन् २०२४ डिसेम्बर २६ मा राजधानी नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो तर उपचारका क्रममा उहाँको ९२ वर्षको उमेरमा सोही दिन निधन भएको थियो ।

उहाँले प्रधानमन्त्रीका रूपमा सन् २००४ देखि २०१४ सम्म भारतलाई नेतृत्व दिनुभयो । भारतको आर्थिक सुधारका लागि विशेष योगदान दिनुभएका अर्थशास्त्री सिंहले १९९१ मा भारतको अर्थतन्त्रलाई उदारीकरण गर्न वित्तमन्त्रीको रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँको कार्यकालमा भारतको आर्थिक वृद्धि उच्च भएको थियो । उहाँलाई सरल, विनम्र र प्रभावकारी नेतृत्वका लागि भारतका साथै समग्र विश्वले सम्झिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको अतीतलाई स्मरण गर्दै आफूहरूबीचको अन्तक्र्रियामा उहाँमा सधैँ ‘विवेक र नम्रता झल्किने गरेको’ बताउँदै उहाँको कार्यकालमा ‘भारतीय नागरिकको जनजीवन सुधार गर्न व्यापक प्रयासहरू’ भएको बताउनुभएको थियो ।

जवाहरलाल नेहरुपछि पहिलो कार्यकाल पूर्णरूपमा पूरा गर्दै पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने उहाँ पहिलो भारतीय नेता हुनुहुन्थ्यो । उहाँको दोस्रो कार्यकालमा भने सरकारमाथि व्यापक रूपमा भ्रष्टाचारका आरोपहरू लागेको थियो ।

सिंहको जन्म सन् १९३२ को सेप्टेम्बर २६ मा विभाजित हुनुपूर्वको भारतको पञ्जाब प्रान्त (हाल पाकिस्तान) को एउटा विकट गाउँमा भएको थियो । त्यहाँ पानी र बिजुलीको अभाव थियो । पञ्जाब विश्वविद्यालयमा पढेपछि उहाँ स्नातकोत्तर अध्ययनका लागि बेलायतको क्याम्ब्रिज विश्वविद्यालय पुग्नुभयो र पछि अक्सफोर्डबाट डिफिल गर्नुभएको थियो ।

उहाँले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्यद्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गर्नुभएको थियो । यसका कारण अर्थतन्त्रमा सुधार देखा पर्दै उद्योगहरूको तीव्र वृद्धि भयो । बढ्दो मुद्रास्फीति नियन्त्रण भएर सन् १९९० को दशकमा वृद्धिदर निरन्तर उच्च बनेको थियो ।

सिंहको पहिलो प्रधानमन्त्रीकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग आणविक सम्झौता गरेको रूपमा हेरिन्छ । उहाँको पालामा त्यस ऐतिहासिक सम्झौताका कारण भारतले अमेरिकाको आणविक प्रविधिमा पहुँच पाएको थियो । सिंह सरकारलाई समर्थन गरेका वामपन्थी दलहरूले त्यसकै कारण आफ्नो समर्थन फिर्ता लिएका थिए ।

सीताराम यचुरी

जीवनको उत्तराद्र्धतिर श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीकोे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा ७२ वर्षको उमेरमा सेप्टेम्बर १२ मा निधन भएको थियो । सन् १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिनुभएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता हुनुहुन्थ्यो ।

उहाँ सन् २०१५ देखि कम्युनिस्ट पार्टीको महासचिव बन्नुभएको थियो । विद्यार्थी कालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएका यचुरी जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतीय विद्यार्थी महासङ्घ (एसएफआई)का प्रभावशाली नेता हुनुहुन्थ्यो । उहाँ इन्दिरा गान्धीको शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको सङ्कटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधारको पक्षमा क्रियाशील हुनुहुन्थ्यो । यचुरीले सन् २००५ अगस्ट १९ देखि सन् २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाको सदस्यका रूपमा पश्चिम बङ्गालबाट प्रतिनिधित्व गर्नुभएको थियो ।

नटवर सिंह

सन् १९८४ मा पद्मभूषण प्राप्त गर्नुभएका पूर्व विदेशमन्त्री तथा वरिष्ठ कांग्रेस नेता नटवर सिंहको ९३ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ मा भारतीय विदेश सेवा (आइएफएस) मा आफ्नो जागिरे जीवन सुरु गर्नुभएका उहाँ सन् १९८० को दशकमा राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

उहाँले पूर्व प्रधानमन्त्री राजीव गान्धीको कार्यकालमा इस्पात, खानी, कोइला र कृषि राज्यमन्त्रीको रूपमा काम गर्नुभएको थियो । कूटनीति र राजनीतिमा अब्बल मानिने उहाँलाई तेलसम्बन्धी खाद्य घोटालामा उहाँको नाम आएपछि सन् २००६ मा काङ्ग्रेसले निलम्बित गरेको थियो । पछि सन् २००८ मा बहुजन समाज पार्टीमा सामेल भएपनि चार महिनापछि उहाँलाई सो पार्टीबाट पनि निष्कासित गरिएको थियो ।

रतन टाटा

रतन नवल टाटा एक भारतीय उद्योगपति र परोपकारी व्यक्तित्वको नाम हो । उहाँले सन् १९९१ देखि २०१२ सम्म टाटा समूह र टाटा सन्सको अध्यक्षको रूपमा काम गर्नुभएको थियो भने अक्टोबर २०१६ देखि फेब्रुअरी २०१७ सम्म अन्तरिम अध्यक्षको रूपमा पद सम्हाल्नुभएको थियो । सन् २००० मा उहाँले भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण प्राप्त गर्नुभएको थियो । सन् २००८ मा पद्म विभूषणसहित टाटाले आफ्नो कामको लागि धेरै प्रशंसा प्राप्त गर्नुभएको छ ।

सन् १९३७ डिसेम्बर २८ मा जन्मनुभएका उहाँको ८६ वर्षको उमेरमा सन् २०२४ अक्टोबर ९ मा निधन भएको हो । उहाँको नेतृत्वमा कम्पनीले विश्वव्यापी स्वरूप धारण गरेको थियो । उहाँको नेतृत्वमा टाटा कम्पनीले कोरस, टेटली र जगुआर ल्यान्ड रोभरजस्ता प्रतिष्ठित ब्रान्डहरू अधिग्रहण गरेको थियो । टाटाको दूरदर्शी नेतृत्व र कर्पोरेट सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले भारतको कर्पोरेट जगत्मा सुधार ल्याएको बताउने गरिन्छ ।

तीन भारतीय सङ्गीतकार

पद्मश्री, पद्म भूषण र सङ्गीत नाटक एकेडेमी पुरस्कारबाट सम्मानित सङ्गीतकार उत्साद राशिद खानको सन् २०२४ जनवरी ९ मा ५५ वर्षको अल्पायुमा नै निधन भएको हो । हिन्दुस्तानी शास्त्रीय गायक आफ्नो जुगलबन्दी र ख्याल र ठुमरीजस्ता भारतीय शास्त्रीय सङ्गीत शैलीहरूमा निपुणताको लागि प्रसिद्ध हुनुहुन्थ्यो ।

लोकप्रिय गीत ‘चिठी आइ है’ का लागि व्यापक प्रशंसा कमाउनुभएका चर्चित गजल गायक पञ्कज उदासको पनि यसै वर्ष फेब्रुअरीमा ७२ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई ‘चिठी आइ है’ र अन्य ‘चाँदी जैसा रङ्ग’, र ‘जिये तो जिए कैसे’ जस्ता धेरै कालजयी गीत तथा गजलका लागि संसारले कहिल्यै भुल्ने छैन । सन् २००६ मा उहाँलाई सङ्गीत क्षेत्रमा दिएको उहाँको अपार योगदानका लागि भारतीय पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो ।

तबला वादक जाकिर हुसेनको ७३ वर्षको उमेरमा निधन भयो । भारतीय शास्त्रीय सङ्गीतलाई पुनर्परिभाषित गर्नका लागि परिचित हुसेनले सहजै परम्परागत तबला लयलाई विश्वव्यापी शैलीसँग मिसाएर व्यापक प्रशंसा प्राप्त गर्नुभयो । चार पटकको ग्रामी विजेता उहाँले तबला उस्ताद, सङ्गीतकार, सङ्गीत निर्माता, अभिनेता र शिक्षकका रूपमा महत्त्वपूर्ण योगदान दिनुभयो ।

विश्वप्रसिद्ध भारतीय तबलावादक उस्ताद जाकिर हुसेनको डिसेम्बर १६ मा निधन भएको हो । उहाँ फोक्सोसम्बन्धी समस्या (इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस) बाट पीडित हुनुहुन्थ्यो । उहाँको अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हुसेनको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उहाँलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण पनि प्रदान गरिएको थियो । हुसेन आफ्नो साङ्गीतिक जीवनमा चार ग्रामी अवार्डबाट पनि सम्मानित हुनुभएको थियो ।

इब्राहिम रायसी

इरानका राष्ट्रपति इब्राहिम रायसी (सयैद इब्राहिम रैसोलसादाती) को हेलिकप्टर दुर्घटनामा परेर मे १९ मा मृत्यु भएको हो । इरानको पूर्वी अजरबैजान प्रान्तमा हेलिकप्टर दुर्घटनामा परेपछि ६३ वर्षीय उहाँको मृत्यु भएको थियो । उहाँलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिन्थ्यो । न्यायपालिका र धार्मिक अभिजात वर्गमा गहिरो सम्बन्धका साथ स्थापित उपस्थिति, कट्टरपन्थी र धार्मिक रूपमा रूढिवादी राजनीतिज्ञ रायसीले पहिलो पटक २०१७ मा राष्ट्रपतिका लागि उम्मेदवारी दिनुभएको थियो तर पराजित हुनुभएको थियो । उहाँ सन् २०२१ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँ इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपतिको रुपमा परिचित मानिनुहुन्थ्यो ।

इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरियतामा हुन्छन् । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनेको हुने गर्छ । रायसीसँगै इरानका विदेशमन्त्री र अर्धसैनिक रिभोल्युसनरी गार्डका नजिकका एक कट्टरपन्थी नेता ६० बर्षीय होसेन अमिराबडोल्लाहियनका पनि निधन भएको थियो ।

फेतुल्लाह गुलेन

हिज्मेत नामक इस्लामिक आन्दोलनको नेतृत्व गरेको, ‘आतङ्कवादी’ समूहको नेतृत्व गरेको र सन् २०१६ मा शक्तिशाली नेता रेसेप तैयप एर्दोगानको सरकार ढाल्न गरिएको असफल ‘कू’ को नेतृत्व गरेको आरोप लागेका अमेरिकामा बस्दै आएका टर्कीएका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको २० अक्टोबरमा मृत्यु भएको हो ।

अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ‘कू’ का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ । त्रियासी वर्षीय गुलेनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गुलेन सन् १९९९ देखि पेन्सिलभेनियामा बस्दै आउनुभएको थियो । प्रशासनले उहाँको टर्कीएको नागरिकता सन् २०१७ मा खोसेको थियो । गुलेनले टर्कीए र त्यसभन्दा बाहिर शक्तिशाली इस्लामिक आन्दोलनको निर्माण गर्नुभएको थियो । उहाँमाथि टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध ‘कू’ को प्रयास गरेको आरोप लागेको थियो जसलाई उहाँले खण्डन गर्दै आउनुभएको थियो ।

इस्माइल हानिया

हमास नेता इस्माइल हानियाको ‘इजरायलको आक्रमण’ बाट जुलाई ३१ मा मृत्यु भएको थियो । उहाँ इरानमा मारिनुभएको थियो । प्यालेस्टिनी लडाकू समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उहाँ इजरायलले झुक्काएर गरेको आक्रमणमा मारिएको दावी गरेका छन् । इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका हानियालाई कार्यक्रम स्थलबाट बाहिरिएपछि तेहरानस्थित इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो ।

हसन नसरल्लाह

लेबनानको सशस्त्र शिया सङ्गठन हिजबुल्लाह नेता हसन नसरल्लाहको सेप्टेम्बर २७ मा मृत्यु भएको हो । इजरायली सेनाले बेरूतमा गरेको हवाई आक्रमणमा उहाँ मारिनुभएको हो । इजरायलले ६४ वर्षीय नसरल्लाहलाई धेरै इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर गरेको थियो । लेबनानमा हिजबुल्लाह समूहको नेतृत्व गर्ने आलिम (धार्मिक विद्वान्) नसरल्लाहले यस समूहको इतिहासमा निर्णायक भूमिका खेलेको पाइन्छ ।

याह्या सिनवार

गाजामा भएको इजरायली आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकार हुनुहुन्थ्यो । राजनीतिक प्रमुख सिनवारको इजरायलमा हमासले गरेको आक्रमणको ठीक एक वर्षपछि अक्टोबर १६ मा इजरायली हवाई आक्रमणमा मृत्यु भएको हो । यसअघि हमासका प्रमुख इस्माइल हानिया गत जुलाईमा मारिएपछि हमासभित्र बलियो प्रभाव बनाएका सिनवार राजनीतिक प्रमुख चुनिनुभएको थियो । सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिनवारलाई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

सिनवार चरमपन्थी नेता मानिनुहुन्छ । उहाँको त्यही स्वभावका कारण पनि गाजामा युद्धविरामका लागि भएका दर्जनौँ प्रयास असफल भएको बताइन्छ । सिनवार यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख हुनुहुन्थ्यो । सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि हुनुहुन्थ्यो ।

लिथुआनिया पठाउने भन्दै ११ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै रु ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो”, पक्राउ परेका निज गौतमलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

चैनपुर (बझाङ), १९ पुसः मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो ।

बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उहाँले बताउनुभयो । जीप सडकबाट करिब सय मिटर तल खसेको छ । जीपमा चालक थापा मात्र थिए ।

बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । 

दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उहाँकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
–––

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौँ, १९ पुसः कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु ३५, गोलभेँडा सानो (भारतीय) रु ४५, गोलभेँडा सानो (तराई) रु ४५, आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु १२०, गाजर (तराई) प्रतिकेजी रु १००, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ४०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ३४, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४५, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ७०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग, रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ७०, बकुला प्रतिकेजी रु ९०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ८०, सजीवन रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु १००, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले (प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १३०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १०५, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किवि प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ६० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ९०, लसुन हरियो प्रतिकेजी रु २००, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर रु १४०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

बेनीको खबरा गाउँभरि केराखेती, बजार नपाउँदा किसान चिन्तित

म्याग्दी, १९ पुस : एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।

हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताउनुभयो । “पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।”

खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक रू दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताउनुभयो । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उहाँले बताउनुभयो ।

प्रति १२ कोसा (दर्जन) रू एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले रू एक सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताउनुभयो । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जनमात्रै बिक्री भएको उहाँले बताउनुभयो । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ ।

खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा)ले बताउनुभयो । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ । सोह्र हजारभन्दा बढी केराका गाँज छन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताउनुभयो ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्राङ्गरिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइदिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताउनुभयो ।

ठेक्का सम्झौता भएको नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर, १९ पुसः जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ । विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो । पुलका तीनवटा पिलर खडा गरे पनि ‘पाइल टेष्ट’मा फेल हुँदा काम अगाडि बढ्न सकेको थिएन । “त्यही अवस्थामा पुल निर्माणको काम अगाडि बढाउन सकिने अवस्था थिएन”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीले भन्नुभयो, “मर्मत गर्न सकिने अवस्था पनि भएन, पुलको डिजाइन नै ‘रिभ्यू’ गरेर निर्माण अहिले अगाडि बढाएका छौँ ।”

लागत नबढ्नेगरी पुलका पिलरको फाउन्डेसनको ‘डायमिटर’ बढाएर कार्य अगाडि बढाइएको उहाँको भनाइ छ । पहिलेको डिजाइनअनुसार पुलको डायमिटर ८० सेन्टिमिटर थियोभने अहिले बढाएर एक सय २० सेन्टिमिटर राखिएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । विसं २०८२ माघ २० गतेसम्म पुल निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरिएको छ । पुलको लम्बाइ दुई सय ११ मिटर रहेको छभने चौडाइ ११ मिटर छ ।

ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ । पुल निर्माणका लागि पहिला दिएको भुक्तानी रू १२ करोड बैंक धरौटीबाट असुलउपर गरिएको छ । निर्माण कम्पनीले रू १० करोड जतिको कार्य पूरा गरेको सूचना अधिकारी जोशीले बताउनुभयो । निर्माणअनुसार पहिलो ‘रनिङ बिल’को भुक्तानी दिन काम अगाडि बढाइएको छ । बजेट अभावले भुक्तानी दिन ढिलाइ भइरहेको उहाँको भनाइ छ ।

लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदयाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुःल्क तिरेर तर्दै आएका छन् । वर्षात्का बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यता छ । पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शुःल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो । “पुल निर्माण बीचमा छाडेर निर्माण व्यवसायी बेखबर भएपछि पुल बन्ने आश छाडेका थियौँ” उहाँले भन्नुभयो, “अहिले पुल निर्माणको कार्य दु्रतगतिमा अगाडि बढेकाले बन्ने आशा पलाएको छ, वर्षौैँदेखिको नदीमा जोखिम मालेर तर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।”

शिक्षक गेंदुराम राना पुल बनेपछि वर्षात्का बेला नदीमा बाढी आउँदा लालझाडी गाउँपालिकाका बासिन्दाको जिल्ला सदरमुकामसँगको सम्पर्कविच्छेद हुने समस्या सधैँका लागि हट्ने बताउनुहुन्छ ।

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा,सुरक्षामा प्रहरी तल्लीन

सोलुखुम्बु, १९ पुस : पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।

कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक सय ३७ पुरूष गरी दुई सय २८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन् । पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्क छ । अफसिजनमा विगतमा पर्यटक आगमन शून्यजस्तै हुने गरे पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताउनुभयो ।

चिसो समयको प्रवाह नगरी भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन् । “अफसिजनमा भित्रिएका पर्यटकले हामीलाई निकै खुसी दिएको छ, पहिलापहिला त पुस–माघमा हामी यत्तिकै बस्नुपथ्र्यो, तर यो वर्ष अलिक राम्रैसँग विदेशी आइरहेका छन् । यसले होटल व्यवसायलाई राम्रो भएको छ”, होटल व्यवसायी जाङ्मु शेर्पाले भन्नुभयो ।

खुम्बुमा यो समय चिसोका कारण हिँडडुल गर्न निकै सकस रहेको बताइएको छ । हिमपातपछि अत्यधिक चिसोले पानी जम्दा दैनिकी असहज भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । चिसोका कारण पाइपमै पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको उहाँले बताउनुभयो ।

करिब एक साताअघि परेको हिमपातले खुम्बुमा झन् चिसो बढेको स्थानीयले बताएका छन् । जसका कारण धेरैजसो व्यवसायी जाडो छल्न काठमाडौँसहित अन्यत्र गएका छन् । खुम्बुमा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ ।

सुरक्षामा प्रहरी तल्लीन

पर्यटकको आगमनलाई मध्यनजर गर्दै नेपाल प्रहरी सुरक्षामा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पर्यटकको शान्ति, सुरक्षाका लागि खुम्बु क्षेत्रको प्रहरी युनिटलाई सक्रिय गराइएको छ । अफसिजन पर्यटकको आगमन बाक्लिएसँगै प्रहरीलाई मोबाइल गस्तीसहित सुरक्षा व्यवस्थामा चुस्त गरिएको छ ।

“खुम्बुमा अफसिजन विदेशी पर्यटकको सङ्ख्या बढेको भन्ने सूचना आएसँगै नेपाल प्रहरीलाई थप सक्रिय गराएका छौँ, विदेशी पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सगरमाथा क्षेत्रअन्तर्गतका सबै प्रहरी युनिटलाई ब्रिफिङ गराई सक्रिय गराइएको छ, शान्ति सुुरक्षाका सवालमा हामी कुनै कमी हुन दिनेछैनौँ”, प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

तडी, १९ पुस : प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्काे खेल डोटी र बझाङ खेल्नेछन् ।

दशरथचन्द क्रिकेट मैदानमा सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकाले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको जनाएको छ ।

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो । सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।

समूह ‘ए’को विजेता र समूह ‘बी’को विजेताबीच पुस २५ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताउनुभयो । उक्त प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

विश्व बैंकको सहयोगमा बागलुङका तीन सडक स्तरोन्नतिको काम धमाधम

गलकोट (बागलुङ), १९ पुस : विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् ।

विश्व बैंकको अनुदानमा उक्त सडकको स्तरोन्नति अहिले धमाधम भइरहेको छ । असारबाट काम थालिएको उक्त सडकमा अहिले सयौँ उपकरण र श्रमिक परिचालन गरिएको छ । बागलुङ नगरपालिका–७ को मूलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर, वडा नम्बर ४ स्थित ओडारचौरबाट ढोडेनीसम्म २ दशमलव २ किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १ दशमलव ५ किमी सडक एकसाथ कालोपत्रका लागि स्तरोन्नति भइरहेको छ ।

तीनवटै सडक एकसाथ कालोपत्र भएमा नगरका स्थानीयलाई आवतजावतमा सहज हुनेछ । उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको छ ।

निर्माण व्यवसायीका अनुसार अबको चार महिनामा पूर्वाधारतर्फको काम सकेर कालोपत्रको तयारी गर्ने निर्माण व्यवसायीतर्फका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार एक वर्षको ठेक्का सम्झौता रहेको उक्त सडक आगमी असार मसान्तभित्र कालोपत्र सक्नुपर्ने छ ।

“झण्डै आधा अर्बको ठेक्का एक वर्षमा सक्नुपर्ने निकै चुनौतीपूर्ण काम हो, हामीले जनशक्ति र उपकरण थप गर्दै कामलाई तीव्रता दिएका छौँ, छ महिनामै २५ प्रतिशत काम सम्पन्न गरेका छौँ, अबको चार महिनामा पूर्वाधारको काम सक्ने लक्ष्य छ, पूर्वाधार सकिए दुई महिनामा सडक पूरै कालोपत्र गर्न सकिन्छ,” इञ्जिनियर शर्माले भन्नुभयो, “उक्त सडक अहिलेसम्मकै स्तरीय र नमूना हुनेछ, सडक निर्माण अत्यन्तै नमूना भएकाले लागत बढी भएको हो ।”

सडक निर्माणका लागि चाहिने कच्चा सामग्री ढुङ्गा, गिट्टी र बालुवाको आयात बढाएर निर्माणलाई थप तीव्रता दिने निर्माण व्यवसायीकोे भनाइ छ । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी रू ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको थियो । तीनवटै सडकको लम्बाइ जम्मा १३ किमी छ ।

विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको अनुदान सहयोगमा नगरपालिकाभित्रका तीन सडक नमूना बनाइने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार रू ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको भए पनि ठेक्का सम्झौतामा जादा रू ४९ करोड २२ लाख पुगेको थियो । नगरपालिकाभित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेल पस्कने अपेक्षा गरिएको छ । उक्त सडक प्रविधिमैत्री हुनेछ । उक्त सडकहरू आठ मिटर चौडा हुनेछन् ।

चिनी उद्योगलाई उखु बुझाएको एक साताभित्रै भुक्तानी पाएपछि उखु किसानलाई राहत

महोत्तरी, १९ पुस : चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।

यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुड्याएका छन् । गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल रू २० वृद्धि गरेको छ । आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो पोख्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साताभित्रै गरिदिँदा राहत महसुस गरेका हुन् । यसपालि उखुको मूल्य रू पाँच सय ८५ प्रतिक्विन्टल तोकिएको छ । गत वर्ष यो मूल्य रू पाँच सय ६५ प्रतिक्विन्टल थियो । यसबाहेक सरकारले प्रतिक्विन्टल रू ७० अनुदानवापत दिनेछ । यो अनुदान रकम भने सरकारले दसैँ, तिहार पर्वका बेला पारेर दिँदै आएको छ ।

गत मङ्सिर २६ गतेदेखि उखु क्रसिङ थालेको चिनी मिलले यसबीचमा तीनपटक भुक्तानी दिइसकेको छ । “मूल्यमा त हामी थिचिएकै हौँ, तर भुक्तानी भने उद्योगले निकै सजिलो बनाएको छ, उखु तौल भएको सात दिन नकट्दै हाम्रै खातामा रकम आइसक्छ”, भङ्गाहा–४ का किसान अरूण गिरी भन्नुहुन्छ, “पछिल्ला दुई वर्षयता सहज हुँदै गएको भुक्तानी प्रक्रियाले नै उखुखेतीमा जाँगर जोडेको छ ।” त्यसअघि उखु तौल भएको वर्ष दिनसम्म भुक्तानी नपाएर रूँदै हिँड्नुपरेको दुःख अहिलेको सहज भुक्तानीले बिर्साइदिएको किसान बताउँछन् ।

उद्योगले यसपालि क्रसिङ थालेको तीन साताभित्र नै तीनपटक भुक्तानी दिइसकेको छभने चौथोपटकको भुक्तानी दिने तयारी गरेको छ । “पुस १० गतेसम्म तौल भएको उखुको भुक्तानी भइसकेको छ, अब हामी पुस १५ सम्म भएको तौलको भुक्तानी तयारी गर्दैछौँ”, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्नुहुन्छ, “सामान्यतः तौल भएको पाँच–पाँच दिनमा भुक्तानी गर्ने नीति बनाइएको छ ।” चौथोपटकको भुक्तानी भोलिसम्म गरिने उहाँको भनाइ छ । उद्योगले पुस १० सम्म तौल भएको उखुको जम्मा रू २५ करोड छ लाख १३ हजार नौ सय ८६ भुक्तानी गरिसकेको छ ।

उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले मूल्यमा आपूmहरूको माग सरकारले नसुनेको गुनासो गर्दै आएका छन् । “हामीले गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धिको माग गरेका थियौँ, तर सरकारले प्रतिक्विन्टल रू २० थपेर झारा टारेको छ”, उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा भन्नुहुन्छ, “यसमा सरकारले पुनर्विचार गर्नुपर्छ ।”

आर्थिक वर्ष २०८१/८२ मा एभरेष्ट चिनी उद्योगले ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । यो गत वर्षभन्दा छ लाख क्विन्टल बढी हो । यसपालि उखुको क्षेत्रफल र उत्पादन दुवै बढेको छ । दुई दशकअघि जिल्लामा १५ हजार बिघामाथि पुगेको उखुखेती भुक्तानी झमेलाले घट्दै गएर तीन वर्षअघि पाँच हजार बिघामा झरेको थियो । उद्योगले भुक्तानी सहज बनाउँदै लगेपछि किसानले फेरि उखुखेती बढाउँदै लगेका छन् । यसपालि नौ हजार बिघामा उखुखेती गरिएको छ । आउने वर्षका लागि माघसम्मै उखु रोपिने हुँदा खेती अझै केही बढ्नेछ ।
–––

वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन रोकियो, राजस्व सङ्कलनमा ह्रास

सिरहा, १९ पुसः डिभिजन वन कार्यालयले लहान नगरपालिका भएर बग्ने बलान, सर्रे र खुट्टी खोलामा नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रदेश वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस नगर्दा चार महिनादेखि उत्खनन रोकिएको छ ।

नदीजन्य पदार्थका लागि ठेक्का नलाग्दा नगरपालिकाको राजस्व सङ्कलन घटेको छ भने विभिन्न विकास–निर्माण परियोजना प्रभावित भएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि नगरपालिकाले सबै प्रक्रिया पु¥याएर वन कार्यालयले मन्त्रालयसमक्ष सिफारिस नगर्दा समस्या भएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले गुनासो गर्नुभयो । “हामीले वन कार्यालयलाई यो महिनामा चारवटा पत्र लेखिसक्यौँ तर वन अधिकृतले सिफारिस गर्नुभएको छैन”, उहाँले भन्नुभयो । वातावरण संरक्षण नियमावली, २०७७ को दफा ९ को उपदफा (४) को ‘सम्बन्धित निकायले वातावरणीय अध्ययन प्रतिवेदनको सरोकारवाला अन्य सरकारी निकायसँग आवश्यक राय सुझाव लिन सक्नेछ’ भन्ने व्यवस्था अनुसार वन कार्यालयले मन्त्रालयलाई सिफारिस नदिएर काम रोकिएको प्रमुख झाको आरोप छ ।

डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले मन्त्रालयसमक्ष सिफारिस गर्न नगरपालिकाबाट प्राप्त निवेदन अध्ययन भइरहेकोे बताउनुभयो । “नदीजन्य पदार्थ उत्खननको जिम्मेवारी स्थानीय तहको हो । हामीले मन्त्रालयलाई नगरपालिकाको प्रस्ताव ठीक छ वा छैन समीक्षा गरेर सिफारिस दिने हो ।” उहाँले भन्नुभयो, “जहाँ वन क्षेत्र पर्छ, त्यहाँबाट नदीजन्य पदार्थ झिक्न मिल्दैन । वन क्षेत्रसमेत समेटेर सिफारिस मागिएकाले समस्या भएको हो ।”

‘सत्यतथ्य समाचार प्रवाह हुँदा लोकतन्त्र बलियो हुन्छ’

काठमाडौँ, १९ पुसः समाजवादी प्रेस सङ्गठन, नेपालले नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला र विभाग उपप्रमुख दामोदर अर्याललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

पार्टीको तेस्रो सचिवालय बैठकले ज्वालालाई विभाग प्रमुख तथा सङ्गठनको इन्चार्ज र अर्याललाई उपप्रमुख तथा सङ्गठनको सहइन्चार्जको जिम्मेवारी तोकेपछि सङ्गठनले सङ्गठन सुदृढ बनाउँदै देश र जनताको पक्षमा काम गर्न सुझाव दिएको छ ।

सो अवसरमा विभाग प्रमुख ज्वालाले पार्टीको वैचारिक, सैद्धान्तिक र योजनाका बारेमा सङ्गठनले व्यापक प्रचार तथा प्रकाशनका काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी र नेताहरूको यथार्थताबारे समाजलाई सुसूचित गरेर पारदर्शी समाज निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो ।

पत्रकारिता क्षेत्रले समयमै सत्यतथ्य सूचना प्रवाह गर्दा लोकतान्त्रिक शासन प्रणाली बलियो बन्ने विश्वास व्यक्त गर्दै उपाध्यक्ष ज्वालाले लोकतन्त्र स्थापनाका लागि पत्रकारिता क्षेत्रले आन्दोलनमा सडकमा उत्रिएर सशक्त भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख अर्यालले पत्रकारितालाई थप विश्वसनीय बनाउन सत्य, तथ्य र निष्पक्ष रूपमा समाचार प्रवाह हुनुपर्नेमा जोड दिँदै प्रेस र समाजको सम्बन्ध ज्यादै घनिष्ठ बनाउन सहयोग पुग्ने बताउनुभयो ।

पार्टी केन्द्रीय सदस्य चमिना भट्टराईले आर्थिक विकृति र विसङ्गतिका विरूद्ध समाचार लेखेर पत्रकारले नीति निर्माण तहको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले सङ्गठनका बारेमा जानकारी गराउँदै पत्रकारिता क्षेत्रबाट निर्वाह गर्नुपर्ने भूमिका प्रष्ट्याउनुभयो ।