`

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रूपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रूपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ३० पैसा र बिक्रीदर एक सय रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ७१ पैसा र बिक्रीदर आठ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रूपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रूपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ १६ पैसा तोकिएको छ ।

त्यसैगरी, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाएको छ ।

उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत,साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

जानकी (बाँके), १९ पुसः राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ ।

सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९/९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उहाँले भन्नुभयो, “आव २०६१/६२ मा रू सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै रू ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।

आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा रू २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवका लागि रू एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म रू २३ करोड खर्च भएको छ ।

इञ्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।

पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । “बयालीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ”, इञ्जिनियर पोखरेलले भन्नुभयो, “पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।”

पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर पोखरेलले बताउनुभयो । उहाँका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने चार सय ४० हेक्टरमध्ये हालसम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ ।

तेत्तीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।

राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १९ पुसः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

शनिबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

पाँच वर्षपछि वायु गुणस्तर व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बैठक

काठमाडौँ, १८ पुसः काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयनको अवस्थासम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक पहिलो पटक बसेको छ ।

उक्त कार्ययोजना आइसकेपछि वन तथा वातावरण मन्त्रालयमा समितिको बैठक आज पहिलो पटक बसेको हो । वनमन्त्री ऐनबहादुर शाही ठकुरीको अध्यक्षतामा बसेको बैठकले उपत्यकाको वायु गुणस्तर सुधारका लागि सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।


बैठकमा मन्त्री शाहीले उपत्यकामा वायु प्रदूषणको विषय जटिल बनेको उल्लेख गर्दै यसको नियन्त्रण तथा व्यवस्थापनका लागि मन्त्रालयले आवश्यक भूमिका निर्वाह गरिरहेको बताउनुभयो । “यसका अझै धेरै काम गर्न बाँकी छ, जनताको स्वास्थ्यप्रति सरकार सचेत छ भनेर प्रमाणित गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट प्रभावकारी काम गरेर देखाऔँ”, उहाँले भन्नुभयो ।

जाडो यामसँगै फोहर, प्लाष्टिक र कृषिका अवशेष बाल्ने, डढेलो लगाउनेलगायत कारणबाट प्रदूषण बढ्ने भएकाले यसबाट सचेत रहनका लागि सम्बन्धित समुदायमा सचेतना फैलाउन अपरिहार्य रहेको मन्त्री शाहीको भनाइ थियो ।

बैठकमा वन राज्यमन्त्री रुपा विकले वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना कार्यान्वयनमा सरोकारवाला सबैले जोड दिनुपर्ने बताउँदै यसमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले वायु प्रदूषणबाट महिला, बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले सोहीअनुसार कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

वन सचिव डा दीपककुमार खरालले वायु प्रदूषण नियन्त्रणका लागि सचेतना जगाउनु महत्वपूर्ण विषय भएको उल्लेख गर्दै सवारी साधन र औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषण नियन्त्रणका लागि विद्यमान कानुन कडाइका साथ कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । त्यस्तै मन्त्रालयको वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले कार्ययोजना कार्यान्वयनको अवस्थाबारेमा जानकारी गराउनुभएको थियो ।   

बैठकमा उपस्थित समितिका सदस्यहरु अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, खानेपानी, ऊर्जा जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका सचिव तथा सहसचिव एवं उपत्यकाका महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले आफ्नो निकायले वायु प्रदूषण नियन्त्रणका लागि गरिरहेका कामकारबाही बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्नुपर्ने थप प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सन् २०२१ मा नेपालमा भएको मृत्युमध्ये १९ प्रतिशत मृत्यु वायु प्रदूषणका कारणले भएको तथ्याङ्क छ । विभिन्न स्रोतबाट हुने प्रदूषणलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि वातावरण विभागको पहलमा नेपाल सरकारले २०७६ साल फागुन १२ गते काठमाडौँ उपत्यकाका लागि यो कार्ययोजना स्वीकृत भई लागू भएको छ ।

आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष दाहाल

काठमाडौँ, १८ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्व दिइएको बताउनुभएको छ ।

जनसांस्कृतिक महासङ्घले आज यहाँ गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीसँगको भेटघाटमा अध्यक्ष दाहालले भन्नुभयो, “हामी रुपान्तरण र पुनःनिर्माणको अभियानमा जाँदैछौँ, यो बेलामा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ अघि सारिएको छ ।”  पार्टीको स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उहाँले यसले पार्टीभित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरुप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्व दिइएको बताउनुभयो ।

पार्टी र राज्यसत्ता दुवैमा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ हेरिनुपर्ने अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । “राज्यसत्तामा अझै एकीकृत, केन्द्रिकृत र एकल सांस्कृतिक सोच हावी छ”, उहाँले भन्नुभयो, “हामीले राजनीतिक परिवर्तन गर्यौं, त्यसलाई संविधानमार्फत संस्थागत गर्यौँ । तर सांस्कृतिक रुपान्तरणको क्षेत्र राजनीतिक परिवर्तन र कानुन निर्माणबाट मात्रै सम्भव हुने कुरा होइन, यो आम नागरिकको सोच र चिन्तनसँग सम्बन्धित हुने भएकाले दुवै बदल्न धेरै मेहनत गर्न आवश्यक छ ।”

पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाहरुले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने उहाँले स्पष्ट गर्नुभयो ।

महासङ्घका अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीले आफूहरुले गरेका सुधारका प्रयास तथा चुनौतीबारे चर्चा गरेका थिए ।

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी, १८ पुस : कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ । गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माण भएसँगै दुई वटा प्रदेशका नागरिकलाई सहज बनेको छ । लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशअन्तर्गत पर्वतको विहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदी माथि पक्की पुल निर्माण गरिएको हो ।

पुल निर्माणपछि दुईवटै प्रदेशका नागरिकमा खुसी थपिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो । एक सय २६ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त कूल रु १४ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । 

सिमलटारी–प्यूठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्राली काठमाडौँबीच गत आठ वर्षअघि उक्त पुल निर्माणको सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७६ चैत ३० मा हस्तान्तरण गर्नुपर्ने थियो । तर समयमै निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि उक्त कार्यालय खारेज भएसँगै मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीमार्फत रोकिएको काम सुरु भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वयन हुनेगरी पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँले पुल निर्माणको काम सम्पन्न भए पनि बजेट अभावका कारण सडक डिभिजन कार्यालय पाल्पाबाट निर्माण व्यवसायीलाई अझै रु तीन करोड ८५ लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी गराउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सांसद डा चन्द्र भण्डारीले पक्की पुल निर्माणले दुई पालिका, जिल्ला र प्रदेशसँगै विकासको आयामलाई पनि जोडेको बताउनुभएको छ । 

कालीगण्डकी करिडोरले भारत र चीनलाई जोड्ने भएकाले मुख्य गरी कोरला नाकामा पुग्न र उत्पादित सामग्री निर्यात गर्न थप सहज पुग्ने उल्लेख गर्दै सांसद डा भण्डारीले यसको फाइदा कालीगण्डकी र विहादीवासीले लिनुपर्ने बताउनुभयो । 

कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दूरीसमेत घटेको छ । पक्की पुलले दुई जिल्लाको सडकलाई सहज बनाउँदै आर्थिक उन्नतिसँग जोड्नका लागि थप सहजता पुग्ने विहादी गाउँपालिका पर्वतका अध्यक्ष परविन गुरुङ बताउनुभयो ।

पर्यटन प्रवर्द्धन गर्दै चितवन महोत्सव

चितवन, १८ पुसः उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको चितवन महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइने भएको छ । यही पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सवमा पर्यटनलाई केन्द्रबिन्दुमा राखेर विभिन्न गतिविधि सञ्चालन गर्न लागिएको हो ।

नारायणी नदी किनारमा गर्न लागिएको महोत्सवमा जिल्लालाई विविधता र समृद्धिको भूमिका रुपमा विकास गर्ने लक्ष्य राखिएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले महोत्सव परिसरमा चितवनको विविधताको प्रतिनिधित्व गर्ने खालका कृत्रिम पार्क निर्माण गरिने बताउनुभयो ।

यहाँका पर्यटकीयस्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवस्थलदेखि जिल्लाका विभिन्न पर्यटकीयस्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्ने तयारी गरिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्वमा छुटको व्यवस्थासमेत गरिएको श्रेष्ठले बताउनुभयो ।

अघिल्ला महोत्सवमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको हो । यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्नेगरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखेका हौँ ।”

अघिल्ला वर्षमा १० दिनमात्रै गर्दै आइएको महोत्सव यसपटक पाँच दिन थप गरेर १५ दिन पु¥याइएको छ । यस महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको छ । महोत्सवमा स्थानीय उत्पादनसहित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता हुने उहाँले बताउनुभयो ।

यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिने तयारी गरिएको छ । सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न सङ्घसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहने महोत्सवमा बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नेगरी भरतपुर महानगरपालिकाको समन्वयमा रोजगार परिसर राखिनेछ ।

पन्ध्र दिनसम्म चल्ने महोत्सवमा आन्तरिक र बाह्य पर्यटकसहित पाँच लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । चितवन महोत्सव विसं २०५३ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको छ ।

काठमाडौँको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

काठमाडौँ, १८ पुसः काठमाडौँको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका वडा नं ७ महादेवखोलास्थित सडकमा बा३ख ३३४४ नम्बरको मिनि टिपरको ठक्करबाट पैदलयात्री झापा दमक नगरपालिका घर भई तारकेश्वरमा बस्ने २५ वर्षीय सविना घलेको तीन वर्षीय छोरा दिप्सनकुमार धिमालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते धिमालको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी

सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको अलावी अल्पसङ्ख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स शहरमा अभियान सञ्चालन गरिरहेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले भनेको छ, “गृह मन्त्रालयले मिलिटरी अपरेसन डिपार्टमेन्टसँगको सहकार्यमा होम्स शहरको आसपासमा व्यापक स्तरको खोजी अभियान सुरु गरेको छ ।”

सानाका अनुसार ती निशानामा आफ्ना हातहतियार हस्तान्तरण गर्न इन्कार गरेका र बस्ती केन्द्रहरूमा जान इन्कार गरेका’ र ’गोलाबारुद र हतियारहरू पनि लुकाएका’ युद्ध अपराधमा संलग्न व्यक्ति रहेका छन् ।

सानाले पछि एक सैन्य अधिकारीलाई उद्धृत गर्दै असदको लडाकूका अवशेष अझै पनि होम्सको विभिन्न भागहरूमा रहेका उल्लेख गरेको छ ।

इस्लामवादी नेतृत्वको विद्रोहीले गत महिना असदलाई सत्ताच्युत गरेपछि संक्रमणकालीन सरकारले पूर्व सैनिकको नाम दर्ता गर्दै उनीहरूलाई हतियार त्याग्न आग्रह गर्दै आएको छ ।

“अधिकारीहरूले होम्समा ‘आफ्नो मामिला सुल्झाउन र हतियार हस्तान्तरण गर्न इन्कार गर्नेहरूको खोजी गर्न’ सेना र ‘बख्तरबन्द बलहरू’ पठाएका छन्,” सानाले समाचारमा जनाएको छ । उनीहरूले शहरका केही भागमा कफ्र्यु पनि लगाएका छन् ।

“गृह मन्त्रालयले वादी अल–धाहाब र अक्रामाका आसपासका बासिन्दाहरूलाई सडकमा ननिस्कन, घरमा बस्न र सरकारी सेनालाई पूर्ण सहयोग गर्न आह्वान गरेको छ,” सिरियाली समाचार संस्था सानाले जनाएको छ ।

बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

काठमाडौँ, १८ पुसः खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ती बन्द नहुने बताउनुभएको छ ।

आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ती बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ती गर्ने गरी काम भइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “विगतमा बर्खा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुन्थ्यो, अब भने बर्खामा पनि ल्याउने गरी काम गरिरहेका छौँ ।”

मन्त्री यादवले अहिले पनि विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नु पर्ने अवस्थाको अन्न्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म नेपालका तराई, पहाड र हिमाली जिल्लाका बिकट गाउँ बस्तीमा पुगेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँसराइँ गर्नुपर्ने अवस्थामा छन् । ती क्षेत्रहरुका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु ।”

मन्त्री यादवले मेलच्नी नजिकैको अर्को खोलाको पानी पनि काठमाडौँ ल्याउने विषयमा अध्ययन भइरहेको बताउनुभयो । मेलम्चीको पानी कुनै कारणबस ल्याउन नमिल्ने अवस्थाको विकल्पमा मकवानपुरको सिस्नेरी खोलाबाट काठमाडौँ पानी ल्याउने गरी काम भइरहेको उहाँको भनाइ थियो ।

देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पु¥याउन योजनावद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले उल्लेख गर्नुभयो ।

जलस्रोतको क्षेत्रमा नेपाल धनी मुलुक हुँदा पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नुपर्ने अनि पिठ्युँमा बोकेर खानेपानीको जोहो गर्नु आफैमा दुःखको विषय भएको उहाँले बताउनुभयो ।

जलवायु परिर्वतनले तराईमा पानी सुक्दै गएको र पहाड, हिमाली क्षेत्रमा जनताले पिठ्युँमा खानेपानी बोकेर जोहो गर्नु परेको र समस्या समाधन गर्न निकै चुनौतीपूर्ण रहेकाले त्यसको समस्या समाधानका लागि खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी खानेपानीको समस्या दीर्घकालीन रुपमा अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

महिला फुटबल : आर्मीद्वारा बागमती पराजित

काठमाडौँ, १८ पुस : राजधानीमा जारी एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा आज भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । आर्मीको जितमा दुवै गोल विमला चौधरीले गरिन् ।

उनले खेलको पहिलो हाफमा एक गोल गरिन भने खेलको दोस्रो हाफमा अर्को गोल थपिन । विमलाले खेलको २५औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै उनले खेलको ७१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै आफ्नो टोलीलाई जित दिलाइन । आर्मीले लिगको पहिलो चरणको खेलमा पनि बागमतीलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोतिामा दोस्रो चरणमा विभिन्न पाँच टोली सहभागी छन् । आगामी माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी, वालिङ नगरपालिका र बागमती सहभागी छन् । शुक्रबार पुलिस र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

एमाले सचिवालय बैठक : राजनीतिक प्रतिवेदन पारित

काठमाडौँ, १८ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामा छलफल गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमाले केन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ गते बस्दैछ ।
बैठकले प्रतिवेदनलाई प्रतिवेदनमा पछिल्लो राजनीतिक घटनाक्रमको विवेचना गरिएको उहाँले बताउनुभयो ।

“नयाँ सरकार बनेपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो, प्रतिवेदनमा किन हामीले एमाले र नेपाली कांग्रेसबीच नयाँ सहकार्य गर्नुप¥यो । त्यसको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसर के हुन त्यसको विश्लेषण गरेका छौँ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “प्रतिवेदनमा सरकार गठनको छ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले गरेका केही महत्वपूर्ण उपलब्धि र थुप्रै महत्वपूर्ण गर्नुपर्ने काम समावेश गरिएको छ ।”

उपमहासचिव ज्ञवालीका अनुसार प्रतिवेदनमा सेवा, विकास निर्माण र अर्थतन्त्रलाई अझ लयमा ल्याउनका लागि सरकारले अझ ध्यान केन्द्रित गर्नुपर्ने कुरा उल्लेख छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिका विभिन्न प्रवृत्तिको पनि विश्लेषण गरिएको उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले संविधानको संशोधन, संविधानको कार्यान्वयन, संसद्मा रहेका विधेयकलाई छिटो टुङ्ग्याउने, संविधानसँग बाधिएका कानुनलाई प्रतिस्थापन गरी नयाँ कानुन ल्याउने कुरालगायत नौ वटा क्षेत्र अलग अलग संयन्त्र बनाएर एमाले र कांग्रेसले काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले दुई राजनीतिक दलबीच विश्वासको वातावरण बनाउँदै राजनीतिक स्थिरिताको सन्देश दिन सकेको बताउनुभयो ।

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिनुभयो ।

बालगायक परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गर्नुभएको छ ।

“बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःख छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पु¥याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्रै प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बालगायक सचिनलाई हार्दिक श्रद्धाञ्जली”, उहाँले भन्नुभएको छ ।

परियारको १३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचारका क्रममा आज बिहान १०ः४५ बजे निधन भएको थियो । 

ट्युनिसियामा डुङ्गा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।

मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरु युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरु सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स शहरका नागरिक सुरक्षा प्रमुख जिद दिरीले जानकारी दिनुभयो ।

ट्युनिसियाली नेसनल गार्डका अनुसार अन्य सम्भावित हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।

ट्युनिसिया अनियमित आप्रवासीहरूको लागि यूरोप छिर्ने एक प्रमुख प्रस्थान बिन्दु हो । ट्यूनिसियाको बाटो इटाली हुँदै युरोप पुग्न चाहने आप्रबासी सङ्ख्या अत्यधिक रहने गरेको छ । इटालीको लाम्पेडुसा टापु ट्युनिसियाबाट केवल १५० किलोमिटर (९० माइल) टाढा छ।

प्रत्येक वर्ष, दशौं हजार मानिसहरू खतरनाक भूमध्यसागरीय मार्ग हुँदै युरोप छिर्ने गर्छन् र यात्राका लागि डुङ्गाको साहरा लिने र खराब मौसमको पनि बेवास्ता गर्ने गर्छन् । यस्ता यात्राले सामुद्रिक क्षेत्रमा उनीहरूले अकालमा ज्यान गुमाउने गरेका पाइन्छ ।

गत डिसेम्बर १८ मा सब–सहारा अफ्रिकाका कम्तीमा २० आप्रवासीको स्फ्याक्स सहरमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको थियो भने अन्य पाँच जना बेपत्ता भएका थिए।

यसअघि डिसेम्बर १२ मा कोस्टगार्डले स्फ्याक्सको उत्तरमा रहेको जेबेनियाना नजिकै २७ जना अफ्रिकी आप्रवासीको उद्धार गरेको थियो।

यस वर्षको सुरुदेखि नै ट्युनिसियाली मानव अधिकार समूह एफटीडीईएसले ट्युनिसियामा पानीजहाज दुर्घटनामा मारिएका वा बेपत्ता भएका ‘६०० देखि ७००’ आप्रवासीहरूको गणना गरेको छ। सन् २०२३ मा एक हजार ३०० भन्दा बढी आप्रवासीको हताहत (मृत्यु वा बेपत्ता) भएको थियो ।

विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री

काठमाडौँ, १८ पुसः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल भ्रमणमा आउने पर्यटकसँग विमानस्थलभित्र सञ्चालित यातायातका चालकको बोली र व्यवहार राम्रो हुनुपर्ने बताउनुभएको छ ।

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालमा आउने पर्यटकसँगको पहिलो भेटघाट नै विमानस्थल यातायात चालकसँग हुने र उनीहरुको बोली व्यवहार राम्रो नहुँदा समग्र नेपालप्रतिको दृष्टिकोण नकारात्मक हुने गरेको बताउनुभयो ।

“नेपाल आउने वित्तिकैको प्रभाव राम्रो भएमात्रै नेपाल र नेपालीप्रति विदेशीले हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ, चालकको वोली र व्यवहारले नेपालको छविलाई विश्वमाझ चिनाउन मद्दत गर्छ”, उहाँले भन्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले विमानस्थलमा आवतजावत गर्ने यात्रुहरुले भोगेका यातायात समस्यालाई मध्यनजर गर्दै स्थापित कम्पनी नेपालको यातायात क्षेत्रको नमूना कम्पनीको रुपमा विकास हुँदै गएको बताउनुभयो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायतले विमानस्थलभित्रको यातायातलाई अनुशासित र मर्यादित बनाउन विमानस्थल हवाई यात्रु यातायात सेवाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिंखडाले कम्पनीको स्थापना पश्चात हवाई यात्रुहरुलाई सहज भएको बताउनुभयो । “विगतमा हवाई यात्रुहरुको लागि सत्कार गर्ने कम्पनीको अभाव रहेको थियो, यो कम्पनी स्थापनासँगै अहिले यातायात सेवामा यस्तो समस्या भोग्नुपरेको छैन”, उहाँले भन्नुभयो ।

नेपालमा हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि विस २०६६ सालमा स्थापना भएको उक्त कम्पनीले हाल २०८ सवारी साधनबाट सेवा प्रदान गर्दे आइरहेको अध्यक्ष सिंखडाले बताउनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड : योङ हार्ट्स र इस्टपोल च्याम्पियन

काठमाडौँ, १८ पुस : गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ हार्टस् बोर्डिङ स्कुल गोकर्णेश्वर–८ र पुरुषतर्फ इस्टपोल मावि गोकर्णेश्वर–५ ले जितेका छन् ।

महिलातर्फ योङ हार्टस्ले तीन स्वर्ण र एक कास्यसहित प्रथम भयो भने, एक स्वर्ण र एक कास्य पदकसहित सरस्वती मावि दोश्रो भयो । एक स्वर्ण र एक रजत जितेको बालसुधार मावि तेस्रो भयो । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथाद्वारा छनोट गरिएको थियो ।

त्यसैगरी पुरुषतर्फ एक स्वर्ण, एक रजत र एक कास्य पदकसहित इस्टपोल मावि प्रथम, एक स्वर्ण र एक कास्य पदकसहित योङ हार्टस् बोर्डिङ दोस्रो र एक स्वर्ण, एक कास्यसहित मनकामना मावि तेस्रो भयो ।

महिला र पुरुषतर्फ जम्मा ६/६ ‘इभेन्ट’मा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

विजयी खेलाडीलाई नगर खेलकुद बिकास समितिका अध्यक्ष सञ्जय लामा, सितोरियो कराते काठमाडौँका जिल्ला अध्यक्ष शिवराम रन्जितलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा

पाकिस्तानमा जेलमा रहेका ५० जना अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि अफगानिस्तान फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार पूर्वी नान्गारहारको तोरखाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै उनीहरु बुधबार अफगानिस्तान फर्केका हुन् ।

गत वर्ष अक्टोबरमा ३५ जना अफगानी बन्दीलाई पाकिस्तानी जेलबाट रिहा गरी स्वदेश फर्काइएको पनि मन्त्रालयले जनाएको छ ।

हाल आठ हजारदेखि नौ हजार अफगानी नागरिक विदेशमा जेलमा छन् । तीमध्ये अधिकांश इरान र पाकिस्तानमा रहेको अफगानिस्तानको जेल प्रशासनको सन् २०२४ सेप्टेम्बरको तथ्याङ्कले देखाएको छ ।

माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल

काठमाडौँ, १८ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न केन्द्रीय समिति बैठकको ‘एजेण्डा’ माथि छलफल गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यही पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनःनिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने उहाँले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्दै पार्टी रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ, १८ पुस: दोस्रो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति काठमाडौँको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा टोखा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुषमा र महिला गरी दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत पुरुषमा ४६–५०, ५०– ५४, ५४–५८, ५८–६३ र ६३–६८ तथा महिलातर्फ ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुने काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले राससलाई बताउनुभयो ।

किसानद्वारा ११ करोडको धान बिक्री

राँझा (बाँके), १८ पुस : बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु ११ करोड बढीको धान बिक्री गरेका छन् ।

गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो ।

“धान बिक्री गर्न ६ सय ७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म पाँच सय ६७ किसानसँग धान खरिद गरिसकेका छौँ”, कार्यालय प्रमुख लामिछानेले भन्नुभयो, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।”

धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताउनुभयो । “पहिला किसानहरु १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउनुपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरु आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नभुयो ।

मध्यम धान खरिदको कोटा पूरा गरिसकेको कार्यालयले मोटा धान भने लक्ष्यभन्दा निकै कम खरिद गरेको छ । धान बिक्री गर्ने धेरै किसानहरु आइसकेको हुँदा अब केही मात्रामा धान बिक्री गर्न किसान आउन सक्ने कार्यालयले जनाएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।

गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख लामिछानेले बताउनुभयो ।

“गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा पनि वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिनअघि सुरु गरेकाले लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका थियौँ”, लामिछानेले भन्नुभयो, “गत वर्ष मङ्सिर ६ गतेदेखि धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ, यस वर्ष बजारको मूल्यभन्दा सरकारले खरिद मूल्य बढी दिएको हुँदा धेरै मात्रामा धान खरिद गर्न सकेका छौँ ।”

पुस १६ गतेसम्म मोटा धान सात हजार चार सय ४९ दशमलव ०४ क्विन्टल र मध्यम धान २४ हजार दुई सय ४१ दशमलव ९४ गरी ३१ हजार छ सय ९० दशमलव ९८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार, यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले किसानसँग धान खरिद गरिरहेको छ ।

भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष : मौसम विज्ञान कार्यालय

भारतको मौसम विज्ञान विभागले बुधबार सन् २०२४ सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष भएको बताएको छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको यो मुलुकमा जलवायु परिवर्तनले निम्त्याएको चरम मौसमको विश्वव्यापी प्रवृत्ति अनुरूप तापक्रम उच्च रह्यो ।

“सन् १९०१ पछिको सबैभन्दा तातो वर्ष सन् २०२४ थियो”, भारतीय मौसम विज्ञान विभागका महानिर्देशक मृत्युञ्जय महापात्रले पत्रकारहरूलाई भन्नुभयो, “सन् २०२४ मा भारतभरको वार्षिक औसत भू–सतह हावाको तापक्रम दीर्घकालीन औसत सन् १९९१–२०२० अवधिभन्दा ०.६५ डिग्री सेल्सियस माथि थियो ।” 

संयुक्त राष्ट्रसङ्घले गत महिना एक दशकको अभूतपूर्व गर्मीको अन्त्य गर्दै सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने बताएको थियो । 

जलवायु परिवर्तनले २०२४ मा विश्वव्यापी रूपमा चरम मौसम र रेकर्ड गर्मीको शृङ्खला निम्त्याउँदै अर्बौं डलर बराबरको क्षति पु¥याउने प्राकृतिक प्रकोपहरूलाई बढावा दियो ।

भारतले गत वर्ष आफ्नो सबैभन्दा लामो गर्मी लहरको सामना गर्यो । तापक्रम ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) भन्दा माथि पुगेको थियो । 

नयाँदिल्लीमा मे महिनामा आएको गर्मीको लहरले राजधानीको अघिल्लो रेकर्ड उच्च तापक्रमलाई भेट्यो । यसअघि उच्च तापक्रम सन् २०२२ मा ४९.२ डिग्री सेल्सियस (१२०.५ फारेनहाइट) रेकर्ड गरिएको थियो । 

भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता हो तर धेरै औद्योगिक पश्चिमको दुई दशकपछि सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ ।  

अहिलेका लागि भारत विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ । मुख्यतया जीवाश्म इन्धनको जलनबाट सञ्चालित ग्लोबल वार्मिङ केवल बढ्दो तापक्रमका बारेमा मात्र नभई वायुमण्डल र समुद्रमा थपिएको सबै तापको प्रभाव पनि हो ।

तातो हावाले अधिक जलवाष्प धारण गर्नसक्छ र तातो महासागरहरूको अर्थ अधिक वाष्पीकरण हो । यसका प्रभावहरू व्यापक, घातक र बढ्दो रूपमा महँगा छन्, जसले सम्पत्तिमा क्षति पुर्याउने र बालीनाली नष्ट गर्ने गर्छ ।

युक्रेन हुँदै युरोपमा रूसी ग्यास पारवहन बन्द

रुस र किएभले बुधबार युक्रेनमार्फत युरोपमा रुसी ग्यास पारवहन रोकिएको बताएका छन् । यसले दशकौँ पुरानो व्यवस्था समाप्त गर्दै छिमेकी देशहरूबीचको युद्धको नवीनतम क्षतिलाई दर्शाएको छ ।

रुसी ग्यास सन् १९९१ मा सोभियत सङ्घको अन्त्यदेखि युक्रेन पार गर्ने पाइपलाइनहरू मार्फत युरोपमा आपूर्ति गरिएको थियो । यो व्यवस्थाबाट मस्कोले ग्यासबाट र किएभले पारवहन शुल्कबाट आम्दानी गर्थे ।

रुसले सन् २०२२ मा आक्रमण गरेपछि युक्रेनले सम्झौता विस्तार नगर्ने निर्णय गरेसँगै पछिल्लो पारवहन सम्झौता बुधबार समाप्त भयो । 

किएभले रूसी ग्यास पारवहनको अन्त्यलाई ‘ऐतिहासिक घटना’ का रूपमा स्वागत गर्दै यसले रूसको वित्त र यसको युद्ध मेसिनलाई धक्का दिने बताएको छ । 

तर मस्कोले यसलाई युक्रेनले आफ्नै खुट्टामा गोली हानेको र रुसी आपूर्तिमा निर्भर पूर्वी युरोपका साझेदारहरूलाई निराश बनाएको बताएको छ ।

ती देशहरू मध्येको एक स्लोभाकियाले यस कदमको आलोचना गरेको भए पनि पोल्यान्डसहित युरोपेली सङ्घ (इयु) भित्रका अरूले यसलाई स्वागत गरेका छन् । 

सन् २०२३ मा इयुको ग्यास आयातमा रुसी ग्यासको हिस्सा १० प्रतिशतभन्दा कम थियो । यो युद्धअघि ४० प्रतिशतभन्दा बढी थियो । तथापि ब्लकका केही पूर्वी सदस्यहरू अझै पनि रुसी आयातमा धेरै निर्भर छन् ।

– ऐतिहासिक घटना –

“हामीले रूसी ग्यासको पारवहन रोकेका छौँ”, यसलाई ‘ऐतिहासिक घटना’ भन्दै युक्रेनका ऊर्जामन्त्री जर्मन गालुस्चेन्कोले बुधबार विज्ञप्तिमा भन्नुभयो, “रुसले आफ्नो बजार गुमाउँदै छ, यसले आर्थिक नोक्सान भोग्नुपर्नेछ ।” 

रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले छुट्टै विज्ञप्तिमा भनेको छ, “बिहान ८ः०० बजेदेखि (०५०० जिएमटी) युक्रेनमार्फत रुसी ग्यास आपूर्ति गरिएको छैन ।”

कम्पनीले युरोपमा युक्रेन पार गरेर आफ्नो ग्यास ढुवानी गर्ने ‘प्राविधिक र कानूनी अधिकार’ गुमाएको बताएको छ । 

पूर्वी युरोपका खरिदकर्ताहरू आपूर्ति रोकिने तयारीमा रहेका बेला मङ्गलबार युरोपेली प्राकृतिक ग्यासको मूल्य एक वर्षमा पहिलो पटक प्रति मेगावाट घन्टा ५० युरो (५१.७८) माथि पुगेको छ ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले बुधबार यो कदमको निन्दा गर्दै युरोपले यसको मूल्य चुकाउने चेतावनी दिनुभएको छ । “युक्रेन हुँदै ग्यास ढुवानी रोक्नुले इयुमा हामी सबैलाई गम्भीर असर पार्नेछ तर रूसी सङ्घमा होइन”, फिकोले फेसबुकमा भिडियो सन्देशमा भन्नुभयो । 

फिकोले सन् २०२३ मा सत्तामा फर्किएपछि इयु र नाटो सदस्य स्लोभाकियालाई क्रेमलिनको नजिक पुर्याउनुभएको छ ।  

रुसी ग्यास आयात नगर्ने र किएभको सबैभन्दा मुखर समर्थक पोल्यान्डले यस कदमको स्वागत गरेको छ । विदेशमन्त्री रादोस्लाव सिकोस्र्कीले एक्समा एक पोस्टमा ‘फिनल्यान्ड र स्विडेनमा नाटो विस्तारपछि नयाँ विजय’ भएको बताउनुभयो । 

धेरैजसो रुसी ग्यास कृष्ण सागर पाइपलाइन मार्फत प्राप्त गर्ने हङ्गेरी यस कदमबाट धेरै प्रभावित नहुने देखिन्छ । कृष्ण सागर वैकल्पिक मार्ग हो र यसले टर्की र बाल्कन हुँदै युक्रेनलाई छल्छ ।

ब्रसेल्सले रूसी ग्यास आपूर्तिको नोक्सानले २७ सदस्यीय ब्लकमा पर्ने प्रभावलाई कम महत्त्व दिएको छ । “आयोगले एक वर्षभन्दा बढी समयदेखि विशेष रूपमा युक्रेनमार्फत रुसी ग्यास नभएको परिदृश्यका लागि तयारी गरिरहेको छ”, ब्रसेल्सले मङ्गलबार भन्यो ।

आक्रमणका बीच रुसी तेल र ग्यास खरिद गर्न जारी राख्ने देशहरू विरुद्ध किएभले रुसको आक्रमणलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ । 

ऊर्जा राजस्व रुसको सरकारी वित्तका लागि महत्त्वपूर्ण छ । पश्चिमी प्रतिबन्ध र खरिद कटौतीको दबाबको सामना गर्दै मस्कोले आफ्नो आकर्षक निर्यातलाई पश्चिमबाट एसियातिर पुनर्निर्देशित गरेको छ । 

भुक्तानी बारेको छुट्टै विवादमा ग्याजप्रोमले बुधबार मोल्डोभामा ग्यास आपूर्ति रोक्ने बताएको छ र चिसीनाउले सम्भावित विद्युत् आपूर्तिलाई लिएर आपत्काल घोषणा गरेको छ ।  

रुसले मोल्डोभालाई रुसको समर्थनमा ट्रान्सनिस्ट्रियाको विभाजित क्षेत्रमा पाइप ग्यास आपूर्ति गर्दछ । मोल्डोभाले आफ्नो धेरैजसो बिजुली रुसी ग्यास प्रयोग गर्ने ट्रान्सनिस्ट्रियामा आधारित विद्युत् केन्द्रबाट प्राप्त गर्दछ ।

सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना

म्याग्दी (बेनी), १८ पुसः रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न रु ९० लाखको अक्षयकोष स्थापना भएको छ । गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो ।

महायज्ञबाट सङ्कलन भएको रु एक करोड १० लाखमध्ये रु १८ लाख ५० हजार खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ ।

म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि रु ६२ लाखको लागतमा पुनर्निर्माण गरेको हो ।

मधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति

महोत्तरी, १८ पुसः मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो ।

प्रदेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने मधेस प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका जेहेन्दार छात्रालाई उच्चबाट वञ्चित हुननपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभएको छ । प्रक्रियागत काम निर्देशनालयले पूरा गर्ने र छात्रालाई छात्रवृत्ति दिइने उहाँले राससलाई बताउनुभयो ।

छात्रवृत्ति प्रदेशका आठवटै जिल्लाका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले पाउने छन् । छात्रवृत्तिका लागि एक हजार ७१ आवेदन प्राप्त भएका निर्देशनालयले जनाएको छ । छात्रवृत्तिमा साधारण र प्राविधिक गरी दुई वर्गमा शैक्षिक शुल्कबापत वार्षिक रु २५ र ३५ हजार प्रदान गरिने छ । प्राविधिक शिक्षा पढ्नेलाई रु ३५ र मानविकी, वाणिज्य, शिक्षाका लागि रु २५ हजार उपलब्ध गराइने छ ।

प्रदेश सरकारले छात्रवृत्तिका लागि चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विनियोजन गरेको छ । मधेसमा शिक्षाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेसको साक्षरता दर ६३.५ प्रतिशत तथा महिला साक्षरता ४३.२ प्रतिशत छ ।

प्रदेश लिग फुटबल :ललितपुर र चित्लाङ आमनेसामने

मनहरी, १८ पुस: बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुने छ । यो खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ ।

यसअघि बुधबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलको पहिलो हाफको ३१औँ मिनेटमा दोलखाका लागि मिलन श्रेष्ठले गोल गरेका थिए । खेलको दोस्रो हाफको ५६औँ मिनेटमा सिन्धुलीका तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई समान एक गोलको बराबरीमा पु¥याएका थिए । प्रतियोगिता प्रारम्भ भएको ६४औँ मिनेटमा दोलखाका  शम्भुजन श्रेष्ठले अर्को गोल गर्दै आफ्नो आफ्नो टोलीलाई विजयी बनाए ।   

उक्त खेलका ‘म्यान अफ द म्याच’ दोलखाका उत्तम खत्री बने । प्रतियोगिताको  फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन्भने उपाधि जित्ने टोलीले रु दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौँ, १८ पुसः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

शुक्रबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौँ, १८ पुसः कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु ३०, गोलभेँडा सानो (भारतीय) रु ५०, गोलभेँडा सानो (तराई) रु ४०, आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु १२०, गाजर (तराई) प्रतिकेजी रु ११०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु ३०, बन्दा (नरिवल) प्रतिकेजी रु ३०, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ५०, काउली तराई प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ४५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १२०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ६०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १२०, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु ३०, पालुङ्गो साग प्रतिकेजी ९०, चमसुरको साग, रु ९०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ९०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु १००, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले (प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १३०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किवि प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु १००, लसुन हरियो प्रतिकेजी रु २००, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

गत वर्ष ३१ हजार पर्यटकद्वारा अन्नपूर्ण पदमार्गको भ्रमण

लमजुङ, १८ पुस : विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आएका थिए । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच अन्य व्यक्ति रहेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार सार्क राष्ट्रका एक हजार पाँच सय ६७ पुरुष र दुई सय ८७ महिला यहाँ आएका थिए । त्यस्तै, अन्य राष्ट्रका १६ हजार नौ सय ३२ पुरुष, १२ हजार ७५ महिला र अन्य पाँच विदेशी पर्यटक आएका थिए । फ्रान्स, इजरायल, जर्मनी, बेलायतलगायत देशका नागरिक बढी आएका केन्द्रका इन्चार्ज गुरुङले बताउनुभयो । 

कोरोना महामारीले थला परेको यस क्षेत्रमा केही वर्षदेखि क्रमशः पर्यटक बर्सेनि बढ्दै गएको पाइन्छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा नौ हजार ६ सय १९ बढी विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक आएका थिए । सोमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । यस केन्द्रका इन्चार्ज गुरुङका अनुसार सन् २०२३ मा एक सय २२ देशका नागरिक यस पदमार्गमा आएका थिए । 

त्यस्तै, स्न २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक यहाँ आएका थिए । सोमध्ये १० हजार तीन सय ६४ र पाँच हजार पाँच सय ३६ महिला रहेका केन्द्रले जनाएको छ  । स्न २०२२ यसको तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ विदेशी पर्यटक बढी आएका थिए । सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा बढी फ्रान्सका दुई हजार १२ जना रहेका थिए । केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार ६ सय २७ पर्यटक बढी आएका थिए ।  सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ महिला गरी दुई हजार दुई सय ७३ पर्यटक आएका थिए ।   

त्यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएका थिए । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक तथा सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए । सन् २०१७ देखि पर्यटक आगमन वृद्धि हुँदै गएकामा सन् २०२० मा कोरोना सङ्क्रमणका कारण पदमार्ग क्षेत्र प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएका छन् । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन् ।

  साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न, संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायत हेर्नका लागि पनि पर्यटक यहाँ आउने गरेका छन् । यस पदमार्गमा पर्यटक आगमन हुँदा यहाँ होटल व्यवसाय फस्टाएको छ ।

२०२४ मा साढे ११ लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १८ पुस : सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड–१९ महामारी (कोरोना भाइरस) का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ । कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन खुम्चियो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो ।

उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ  । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ ।

निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका आठ सयभन्दा बढी चार्टड उडान, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल चिनियाँ ड्रागन फेस्टिबलका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेको छ । विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवद्र्धनलाइ प्राथमिकतामा राखेको बोर्डले उल्लेख गरेको छ ।

कुन महिनामा कति पर्यटक

मार्च महिनामा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक नेपाल आएका थिए । डिसेम्बरमा ८९ हजार सात सय ६५, नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ः ठूल्ठूला विमान दुर्घटनाको दुःखद् बर्ष

काठमाडौँ, १८ पुस : अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हँुदा एक सय ७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए ।

 बैंककबाट फर्कँदै गरेको उक्त विमानमा चालक दलका ६ सदस्यसहित एकसय ८१ जना सवार थिए । सियोलबाट करिब दुई सय ८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर सिमेन्टको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

यसअघि डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको एम्ब्रेयर इआरजे १९० एआर विमान कजाकिस्तानको अक्ताउ विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । वर्षको उत्तरार्धमा भएका दुई ठूला विमान दुर्घटनामा दुई सय १७ जनाले ज्यान गुमाए । 

विमान दुर्घटनामा सन् २०२४ मा इरानी राष्ट्रपति इब्राहिम रइसी र अफ्रिकी देश मालीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिम जस्ता विशिष्ठ व्यक्तिको मृत्यु भयो । मे २० तारिख (जेठ ७ गते) इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस्तै जुन ११ (जेठ २९ गते) मालीका उपराष्ट्रपति चिलिमिको सैन्य विमान दुर्घटनामा मृत्यु भएको थियो ।

नयाँवर्ष २०२५ को सुरुआत हुँदैगर्दा सन् २०२४ एयरलाइन्सका लागि दुःखद् सावित भयो । यस वर्षभित्र ठूला ठूलासहित धेरै सङ्ख्यामा विमानहरु दुर्घटनामा परेका थिए । डिसेम्बर महिनामा मात्रै ६ वटा ठूला विमान दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई सय ३४ जनाको मृत्यु भएको छ । लगातारको विमान दुर्घटनाले हवाई क्षेत्रमा सुरक्षा प्रोटोकल र प्राविधिक समस्यामाथि प्रश्न उठ्न थालेको छ ।

 यस्तै गत डिसेम्बर २२ मा दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । उक्त विमानमा सवार ब्राजिलका व्यापारी लुइज क्लाउडियो गालेज्जीको श्रीमती, तीन छोरी र अन्य आफन्तसहितको दुर्घटनामा मृत्यु भएको हो । डिसेम्बर २४ मा एयर क्यानाडाको विमान अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको थियो । उक्त विमानमा आगो लागेको थियो ।

यसैगरी गत डिसेम्बर २२ मा पपुवा न्यू गिनीमा विमान दुर्घटनाग्रस्त हुदाँ विमानमा सबार सबै पाँच जनाको मुत्यु भएको थियो । उत्तरी तटीय उड्डयनद्वारा सञ्चालित एक आइल्याण्डर २२ डिसेम्बरमा पपुवा न्यू गिनीमा दुर्घटनाग्रस्त भएको थियो ।

 अर्जेन्टिनामा बम्बार्डियर च्यालेन्जर ३०० अर्जेन्टिनाको सान फर्नान्डो एयरपोर्ट नजिक दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको थियो । अमेरिकन विमान कामाका एयर एलएलसीद्वारा सञ्चालित कामाका एयर होनोलुलुको ड्यानियलअन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको हो । अगष्त नौ मा ब्राजिलको भिनहेडोको भिनहेडोमा विमान दुर्घटनाग्रस्त हुदा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो ।

सन् २०२४ मा नेपाल पनि विमान दुर्घटनाबाट टाढा रहन सकेन । जुलाई २४ तारिख (साउन ९ गते) गते सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुदाँ १८ जनाको मृत्यु भएको थियो । यस्तै अगष्त ७ (साउन २३ गते) काठमाडौँको शिवपुरी क्षेत्रमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको थियो । सन् २०२३ मा यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७२ जनाकै निधन भएको थियो । यो दुर्घटना आन्तरिक उडानमा हालसम्मकै ठूलो हो ।

बुद्ध एयरका अप्रेसनल डाइरेक्टर क्याप्टेन आरके शर्मा समग्रमा वर्ष २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाका हिसावले दुःखद् रहे पनि नेपालमा भने केही सुधार भएको बताउनुहुन्छ । “नेपालका लागि वर्ष २०२४ सुखद नै मान्नुपर्छ । तर, विश्वव्यापी रुपमा हेर्दा वर्षको समाप्ती हुनैलाग्दा निरन्तर ठूला घटना हुनुले समग्र वर्षलाई हवाई दुर्घटनाका हिसावले दुखःद् मानिन्छ”, उहाँले भन्नुभयो । नेपालको हकमा हवाई सुरक्षा अभिवृद्धि भएको मान्न सकिने उहाँको धारणा छ । यद्यपि, सौर्य एयर र एयरडाइनेस्टी हेलिकप्टर दुर्घटनाले पुनः एकपटक झस्काएको छ । यसबाट एभिएसन सेफ्टी र सेक्युरिटीका साथै व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नेतर्फ एयरलाइन्सहरुको ध्यान जान जरुरी रहेको क्याप्टेन शर्माको भनाइ छ ।

सन् २०२४ मा विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या सकारात्मक बढोत्तरी भइरहेको छ । निरन्तर बढेको हवाई यात्रु चापले यस क्षेत्रको आकर्षणसँगै सेफ्टी र सेक्युरिटीलाई मजबुद बनाउनुपर्ने दबाव बढेको छ । हवाई क्षेत्रका जानकार अच्युत पहाडी पनि समगमा सन् २०२४ एभिएसनका हिसाबले दुःखद् वर्ष साबित भएको बताउनुहुन्छ ।

“विश्वव्यापीरुपमा ठूला ठूला हवाई दुर्घटना भए । नेपालमा पनि सौर्य एयरलाइन्स र एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भए । यसरी हेर्दा एभिएसनलाई सन् २०२४ फापेन । दुर्घटना मात्रै हैन मानवीय क्षति पनि धेरै भएको छ । यसले हवाई सुरक्षामाथि प्रश्न खडा गरेको छ”, उहाँले भन्नुभयो ।

 सन् २०२४ को अन्तिम महिनाका केही हवाई दुर्घटनाले हवाई क्षेत्रमा संशय पैदा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमले बताउनुभयो । समग्रमा सन् २०२४ लाई बिदाई गर्दैगर्दा एभिएसनले नराम्रो क्षति बेहोर्न पुगेको उहाँले उल्लेख गर्नुभयो । 

“एभिएसनमा नेपालको सन्दर्भमा राम्रो रहेपनि विश्वव्यापी रुपमा हेर्दा दुःखद् वर्षको रुपमा रह्यो”, पूर्वमहानिर्देशक गौतमले भन्नुभयो, “दुर्घटनाबाट पाठ सिकेर हवाई सुरक्षालाई कसरी बलियो बनाउनेभन्नेतर्फ राज्य र सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।” 

 अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले सन् २०३० सम्म मानवजन्य मृत्यु हुने दुर्घटना शून्यमा झार्ने लक्ष्य लिएको छ । अहिले वार्षिक १० प्रतिशत हवाई यात्रु बृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घको तथ्याङ्कलाई उधृत गर्दै पूर्वमहानिर्देशक गौतमले विश्वव्यापी रुपमा हवाई यात्रुको सङ्ख्या झण्डै पाँच अर्ब पुगेको बताउनुभयो । सन् २०१९ मा चार अर्ब ५० करोड हवाई यात्रु पुगेका थिए ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हवाई यात्रु बढेका हिसावले सकारात्मक लिन सकिए पनि सन् २०२४ मा भएका केही हवाई दुर्घटनाले एभिएसन क्षेत्रलाई खिन्न बनाएको बताउनुभयो । “नेपालको सन्दर्भमा सन् २०२३ को तुलनामा सन् २०२४ दुर्घटनाको सङ्ख्याको हिसावले सुधारात्मक रहे पनि विश्वव्यापी रुपमा हेर्दा वर्षको अन्तिम महिनामा धेरै सङ्ख्यामा भएका विमान दुर्घटनाले एभिएसन क्षेत्रलाई झस्क्काएको छ”, उहाँले भन्नुभयो ।

उडान सुरक्षा र यात्रु बढोत्तरीका हिसाबले सुधार हुँदै गएको सूचना अधिकारी भूलको भनाइ छ । नेपालमा पनि हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तराष्ट्रिय हवाई यात्रुको सङ्ख्या ७ दशमलव ९ प्रतिशतले बृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कुल ८७ लाख ६० हजार तीन सय दुई हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२४ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ४४ लाख ४९ हजार एक सय ३३ पुगेको थियो ।

 प्राधिकरणका अनुसार नेपालमा हालसम्म एक सय आठ हवाई दुर्घटनामा नौ सय ५९ जनाको मृत्यु भएको छ । विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । वर्षको अन्त्यतिर दक्षिण कोरिया र कजाकिस्तानमा भएका दुई ठूला विमान दुर्घटनाले समग्रमा हवाई उड्डयनको क्षेत्रलाई निरास बनाएको छ । यो घटनाले विश्वव्यापी रुपमै हवाई उडान कति सुरक्षित छ भन्ने प्रश्न तेर्सिएको छ । यसरी सन् २०२४ मा ठूला विमान दुर्घटनामा चार सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । अधिकांश दुर्घटना खराब मौसम र मानवीय कमजोरीले हुने गरेको विज्ञहरु बताउँछन् । 

–––

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १८ पुसः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५  पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

 अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

 जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।

 साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

 राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न कांग्रेसको अपिल

काठमाडौँ, १७ पुसः नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्ने गरी काम गर्न सांसदहरूलाई अपिल गरेको छ ।

आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले आउँदो अधिवेशनमा पारित गर्ने गरी जतिसक्दो चाँडो काम गर्न आफ्नो पार्टीका सांसदलाई आग्रह गरेको कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियारले जानकारी दिनुभयो । बैठकमा समितिमा रहेका विधेयकको अवस्था र ती विधेयक पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको थियो ।

संसद्मा विचाराधीन विधेयकका सन्दर्भमा सङ्घीय संसद्का अर्थ, शिक्षा, कानुन, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदसँग छलफल गरिएको थियो ।

समितिमा १५ वटा विधेयक विचाराधीन अवस्थामा छन् । प्रमुख सत्तारूढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित कार्यदलको पछिल्लो बैठकले सङ्घीय संसद्मा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।

गीतकार डा. दामोदर रेग्मीले ल्याए ‘जिन्दगीको पाठशाला’

काठमाडौं- ‘फूलको आँखामा फूलै संसार…’ पछि गायिका आनी छोइङ डोल्माको नयाँ गीत ‘पाठशाला…’ दर्शक तथा स्रोतामाझ आएको छ । यो गीतको म्युजिक भिडियो केही दिनअघि सार्वजनिक भएको छ । गीतकार डा. दामोदर रेग्मीको शब्द रचनाको यो गीतलाई कृति न्यौपानेले संगीतबद्ध गरेका छन् ।

गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन, किशोर थापाको मिक्सिङ–मास्टरिङ तथा राकेश श्रेष्ठको रेकर्डिङ रहेको छ । यो गीतको भिडियोमा अभिनेत्री मिथिला शर्माको जीवन्त अभिनय हेर्न सकिन्छ । कृष्णदेव रुपाखेतीद्वारा निर्देशित यो भिडियोले एउटा छुट्टै महत्व पनि बोकेको छ । उक्त गीतको म्युजिक भिडियो काठमाडौंको दरबार हाइस्कुल, भानुभक्त मावि तथा कीर्तिपुरको पुष्प सदन माविमासहित स्वयम्भूमा पनि छायांकन गरिएको छ ।

गायिका आनीलाई पनि आफ्नो किसिमको गीत गाउन पाउँदा र यो भिडियो हेर्दा एकदमै राम्रो बनेकोमा निर्देशक रुपाखेतीलाई धन्यवाद व्यक्त गरेकी छिन् । भिडियोमा उत्सव दाहालको छायाङ्कन तथा मीन रावलको सम्पादन रहेको छ । भिडियोमा मिथिला शर्मासंगै राकेश खड्का, डा. मनिषा आचार्य आदिले पनि अभिनय गरेका छन् । यो भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ ।

शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ : डा बाबुराम भट्टराई

काठमाडौँ, १७ पुस : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँको माइतिघर मण्डलामा आज शैक्षिक अभियन्ता नेत्र चापागाईँको शिक्षा क्षेत्रको सुधारको आन्दोलनलाई ऐक्यबद्धता दिन आइपुग्नुभएका पूर्व प्रधानमन्त्री डा भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि सही राजनीतिक हुनुपर्नेमा जोड दिनुभयो ।

सीमित साधन स्रोतकाबीच पनि प्राथमिकीकरण गरेर शिक्षा क्षेत्रको विकास गर्न जरूरी रहेको औँल्याउँदै उहाँले यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व शिक्षामन्त्री शिशिर खनालले शिक्षालाई बलियो र प्रभावकारी नबनाएसम्म देश विकास नहुने बताउनुभयो । उहाँले पछिल्लो समयमा सार्वजनकि विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले पैसा हुने र नहुनेबीच दु्ईवटा समाज निर्माण भएको दाबी गर्दै सार्वजनिक स्कुलमा पढ्ने विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्न सक्छन् भन्ने ग्यारेन्टी सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विवेकशील साझा पार्टीका रञ्जु दर्शना, शिक्षक महासङ्घका पुष्पराज कुँवरलगायतले शैक्षिक गुणस्तर सुधारका लागि आमूल परिवर्तनको खाँचो रहेको औँल्याउनुभएको थियो ।

निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी काम गरौँ : मन्त्री यादव

बुटवल, १७ पुस : खानेपानीमन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।

बुटवलस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको आज निरीक्षण एवं अनुगमनपछि मन्त्री यादवले मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामको नतिजा देखिनेगरी समयमै काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका हाम्रासबै खानेपानी आयोजनाको नतिजा देखिनेगरी काम गरौँ ।”

मन्त्री यादवले हाल सञ्चालनमा रहेका खानेपानी आयोजनामा कुनै पनि समस्या आइपरे अथवा बाधा अवरोध सिर्जना भए सो कुराको जानकारी तत्काल आफूलाईसहित मन्त्रालयमा गराउनसमेत उहाँले सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानी जस्तो अत्यावश्यक चिजमा बाधा अवरोध हुनुहुँदैन । कति कतै कुनै समस्या आइपरे त्यसको जानकारी मलाईसहित मन्त्रालयमा गराउनु होला । समस्याको समाधान हामीले निकाल्ने छौँ ।”

अनुगमन तथा निरीक्षणकै क्रममा मन्त्री यादवले हाल निर्माणाधीन अवस्थामा रहेका खानेपानीका आयोजनामा केही निर्माण व्यवसायीले विभिन्न बाहना बनाएर काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको भन्ने जन गुनासो सुनिएकाले निर्माणमा ढिलासुस्तीको काम तत्काल बन्द गर्नसमेत आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटालगायतको सहभागिता रहेको थियो ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, १७ पुस : वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै रू ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल चितवन, भरतपुर उप–महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका–२ घर भई हाल काठमाडौँ नागर्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुर सूर्यबिनायक नगरपालिका–५ बस्ने २७ वर्षीय आकाश दुलाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकाहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा पारी विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकामध्ये थापा र आलेले अमेरिका पठाइदिने भन्दै अमेरिका पठाइदिने भन्दै रू ५९ लाख २५ हजार तथा चौरसियाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट रू चार लाख र दुलालले युएई पठाइ दिने भन्दै एकजनाबाट रू तीन लाख ५५ हजार रकम लिई सम्पर्कविहीन भएको पीडितहरूको आरोप रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने

चितवन, १७ पुसः जिल्लाका ३१ हजार पाँच सय ७० किशोरीलाई एचपिभी खोप दिइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि नौ वर्षदेखि १४ वर्ष उमेर समूहका ती किशोरीलाई खोप दिन लागिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनले आज यहाँ अन्तक्र्रिया आयोजना गरी चार सय ३३ खोप केन्द्रबाट माघ २२ देखि १५ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार ती खोप केन्द्रमा चार सय ५५ स्वास्थ्यकर्मी र नौ सय १० स्वयंसेवक परिचालन गरिने छ । सबै स्थानीय तहहरूले एक हप्ता खोप अभियान सञ्चालन गर्ने छन् भने भरतपुर महानगरपालिकाले १० दिन सञ्चालन गर्ने छ ।

विद्यालयमा रहेका किशोरीलाई विद्यालयमानै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । विद्यालय बाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने उहाँले बताउनुभयो । नेपालमा बर्सेनी दुई हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । यस खोपलाई वार्षिक कार्यक्रममा राखेर निरन्तरता दिइने कार्यालयका प्रमुख दिनेश रूपाखेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९० प्रतिशत किशोरीलाई खोप पु-याउने, ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले खोप अभियान सुरू गरेको हो । अभियानका क्रममा कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने किशोरीलाई खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । यो खोप नेपालमा आर्थिक वर्ष २०७२/७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो ।

नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरइआईमा प्रस्ताव लैजानुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, १७ पुस : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरआईमा प्रस्ताव लैजानुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आज नीति अनुसन्धान संस्थाको आयोजनामा भएको नेपालमा बिआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियामा नेता खनालले बिआरआई नेपालको हितमा रहेको प्रष्ट पार्नुभयो ।

बिआरआईले विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आवश्यकताका आधारमा बिआरआईका परियोजना अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्, आवश्यकताका आधारमा परियोजना अघि बढाउन सकिन्छ ।”

उहाँले बिआरआईका विषयमा नेपाली जनताले गहिराइमा पुगेर बुझ्न जरूरी रहेको बताउनुभयो । दुई छिमेकीमुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न जरूरी रहेको औँल्याउँदै उहाँले बिआरआईलाई विवादको विषय नबनाउन अनुरोध गर्नुभयो ।

हाल विश्वको ७५ प्रतिशत जनसङ्ख्या बिआरआईभित्र परेको जानकारी गराउँदै उहाँले हालसम्म तीन हजार परियोजनामा सम्झौता भइसकेको जानकारी दिनुभयो । एक सय ५० भन्दा बढी मूलुक यसमा जोडिइसकेको उल्लेख गर्दै उहाँले विश्वव्यापी रूपमा भइरहेको विकासले बिआरआई महत्वपूर्ण परियोजना हो भनेर पुष्टी भएको दाबी गर्नुभयो ।

पनौती नगरपाकिाद्वारा बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट

काभ्रेपलाञ्चोक, १७ पुस : पनौती नगरपाकिाले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ । नगरको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो ।

सभामा प्रस्तावित आर्थिक ऐन, २०८१ संशोधनसम्बनधी विषयबारे छलफलद्वारा चालु आर्थिक वर्ष २०८१/८२ का लागि केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरिएको नगर प्रमुख रामशरण भण्डारीले बताउनुभयो । “सम्बन्धित वडाबाट अनुगमन गरी बाढीपहिरोपीडित क्षेत्रको किटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिनेछ”, उहाँले भन्नुभयो ।

कर छुट निर्णय गरिएका बाढीप्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगरक्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाडाँगाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन् ।

चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरोपीडितलाई उक्त सुविधा दिइने भएको हो । यस्तै नगरसभामा साधारण निर्माणमुखी रोडा–ढुङ्गा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरिएको छ । चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्तिकर बुझाइसकेको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ ।

गत असोज दोस्रो साताको बाढीपहिरोले पनौती नगरमा एक विदेशी नागरिकसहित २० जनाको निधन भएको थियो भने एक जना अझै बेपत्ताको अवस्थामा रहेका छन् । नगरको विवरणअनुसार बाढीपहिरोले पाँच सय ८६ घर पूर्णरूपमा भएका थिए भने नौ सय ४४ वटा घर उच्च जोखिममा रहेका छन् ।