`

जतिसक्दो चाँडो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन

काठमाडौँ, १७ पुस : सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठीसम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभाअन्तर्गतको समितिको सिंहदरबारस्थित कार्यकक्षमा भएको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे भएको छलफलपछि सो मन्त्रालयलाई देशभरको गुठीसम्बन्धी समस्या समाधान गर्नेगरी विधेयक ल्याउन निर्देशन दिएको हो । 

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले  देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको उल्लेख गर्दै गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको पनि जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “भूूमिहीनको समस्या समाधान गर्नका लागि राष्ट्रिय भूमि आयोगलाई अधिकार सम्पन्न बनाउँदै भएका कानुनका अप्ठ्यारा फुकाउनुु पर्नेछ, त्यसका लागि पनि मन्त्रालयले काम गरिरहेको छ, पुस महिनाभित्र सबै जिल्लामा आयोग बनाउने काम सकिनेछ ।” बैठकमा सांसदले गुठी समस्या समाधानका लागि भइरहेको पहल, गुठी ऐन निर्माणका लागि भइरहेका काम, र भूमिहीनको समस्या समाधन लगातका विषयमा जोड दिनुभएको थियो । 

झापामा जङ्गली हात्तीको आक्रमणबाट ३४ वर्षीया महिलाको मृत्यु

झापा, १७ पुस : जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ ।

स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी आज दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जङ्गलमै हराइरहेकी थिइन् ।

हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जङ्गलमा खोजी गर्दा उहाँलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि सुरूमा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयो ।

मरणासन्न अवस्थामा रहेकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको थियो । प्रादेशिक अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले घाइतेलाई मृत भइसकेको घोषणा गरेको चन्दले जानकारी दिनुभयो ।

सूचना अधिकारी चन्दका अनुसार आक्रमणकारी हात्ती अहिले पनि जङ्गलभित्रै रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बनियानीको टोली घटनास्थलमा पुगेको उहाँले जानकारी दिनुभयो ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रा अनिवार्य हुनुपर्छ भन्ने मूल्यमान्यताप्रति पार्टी अडिग : नेता सिटौला

मोरङ, १७ पुस : नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा सो पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमा प्रेस स्वतन्त्रा अनिवार्य हुनुपर्छ भन्ने मूल्यमान्यताप्रति पार्टी अडिग रहेको बताउनुभएको छ ।

पार्टीको कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभागद्वारा आज यहाँ आयोजित नेपाल पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनकोतर्फबाट विजयी सञ्चारकर्मीलाई सम्मान कार्यक्रममा उहाँले लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरणमा सञ्चारजगतको महत्त्वपूर्ण योगदान रहेको विचार राख्नुभयो 

नेता सिटौलाले सञ्चारकर्मीले जनताको हकअधिकारप्रति सदैव जागरूक गर्दै आइरहेको चर्चा गर्दै सञ्चार जगत् प्रजातन्त्र र लोकतन्त्रको पहेरदार रहेको विचार राख्नुभयो । उहाँले श्रमजीवी पत्रकारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको चर्चा गर्दै कांग्रेसले उनीहरूको समस्याको उठान गरी समस्या समाधानतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो । 

कोशी प्रदेश समितिका अध्यक्ष एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले लोकतन्त्र ल्याउन सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । कोशीका महामन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले गणतन्त्रलाई बलियो बनाउन सञ्चारकर्मीले कलम चलाउन आग्रह गर्नुभयो । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले मुलुकको समृद्धिमा  सञ्चारकर्मीहरूले योगदान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला र अमृत अर्याललगायतले कांग्रेस प्रेस स्वतन्त्राप्रति प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा नेता सिटौलाले युनियनबाट विजयी भएको १४ जिल्लाका सञ्चारकर्मीलाई सम्मान गर्नुभएको थियो ।

उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री

काठमाडौँ, १७ पुसः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उहाँले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो ।

शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद् (सिटिइभिटी) को पुनःसंरचना गर्न थालिएको बताउनुभयो । उहाँले सिटिइभिटीलाई प्रदेशस्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिनुभयो । 

“सिटिइभिटीको पाठ्यक्रम र पुनःसंरचना गर्न आवश्यक छ । त्यही भएर हामीले कार्यदल गठन गरेका हौँ । अब कार्यदलले १० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नेछौँ”, उहाँले भन्नुभयो, “सोही प्रतिवेदनका आधारमा सिटिइभिटीलाई पुनःसंरचना गर्नेछौँ ।”

नवप्रवर्द्धनलाई बढाउन दिनका लागि छुट्टै कोषसमेत बनाउन थालिएको बताउँदै मन्त्री भट्टराईले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) लाई पनि नवप्रवर्द्धनको क्षेत्रमा काम गर्ने सक्ने बनाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री भट्टराईले शिक्षासम्बन्धी बनेका नीति, ऐन कार्यान्वयनमा चुनौती रहेको भन्दै त्यसलाई कार्यान्वयनतर्फ लैजानुपर्ने बताउनुभयो । 

समिति बैठकमा समिति सदस्य मदनकुमारी शाहले पाठ्यक्रमलाई जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । समिति सदस्य पद्मबहादुर परियारले विद्यालयको भवन राम्रो भए पनि बालबालिकाको पहुँच नभएको बताउनुभयो । समिति सदस्य युवराज शर्माले शिक्षक, विद्यार्थीलाई अनुशासनमा राख्नुपर्नेमा जोड दिनुभयो । 

पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री थापाको जोड

चितवन, १७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रा डा यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको आज यहाँ विमोचनपछि सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताउनुभएको हो ।

 उहाँले भन्नुभयो “जीवनभर कांग्रेसमा काम गरेका नेताहरूको आशिर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ ।” कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा  युवापुस्ताको आकर्षण बढ्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “पार्टी संरचनालाई सत्तासँग जसरी जोडेका छौँ त्यसरी नै समाजमा फर्काउन आवश्यक छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले प्रा डा अधिकारीले जीवनमा देश र पार्टीका लागि पु-याउनु भएको योगदानको चर्चा गर्नुभयो । सो अवसरमा अधिकारीका भाइ प्रकाश अधिकारीले आफ्नो दाजुले लोकतान्त्रिक समाजवादका लागि प्राज्ञिक क्षेत्रबाट पु-याउनु भएको योगदान र उहाँको जीवनीका बारेमा जानकारी गराउनुभयो ।

प्रजातन्त्र संवर्द्धन केन्द्रका अध्यक्ष डा जगदीश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, समीक्षक रामबाबु घिमिरे, डा गोपाल शिवाकोटी, भुवन थपलिया अधिकारीले पुस्तक र प्रा डा अधिकारीका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । थपलियाले पुस्तकको संयोजन गर्नुभएको हो भने प्रा डा नारायणप्रसाद खनालले सम्पादन गर्नुभएको हो ।

पुस्तक प्रजातन्त्र सम्वर्द्धन केन्द्रले प्रकाशन गरेको हो । ६७ वटा लेख एवं कविता पुस्तकमा समावेश छन् । ती सबै प्रा डा अधिकारी र लोकतन्त्रसँग सम्बन्धित छन् । पाँच सय २८ पृष्ठको पुस्तकको मूल्य रू ७०५ राखिएको छ । विसं २००९ चैत २३ गते पर्वतमा जन्मिनुभएका अधिकारीले नेपाली कांग्रेसको विदेश नीतिमा विद्यावारीधि गर्नुभएको छ । उहाँका १० वटा पुस्तक प्रकाशित छन् ।

न्यु अर्लिन्समा सवारी साधनले भीडलाई ठक्कर दिँदा १० जनाको मृत्यु, ३० घाइते

अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा सवारी साधनले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको शहर प्रशासनले बुधबार जानकारी दिएको छ ।

“८औँ डिस्ट्रिक्टले हाल क्यानल र बर्बन स्ट्रिटमा एउटा ठूलो भीडमाथि सवारी साधनले ठक्कर दिएको एक सामूहिक हताहत घटनामा काम गरिरहेको छ । ३० जना बिरामी घाइते छन् ... र १० जनाको मृत्यु भएको छ”, न्यु अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम, एनओएलए रेडीले एक विज्ञप्तिमा भनेको छ ।

आपत्कालीन अधिकारीहरूले घटनाको समय उल्लेख गरेनन् तर फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ ।

अमेरिकी सञ्चार माध्यम सिबिएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ ।

दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने

दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले फ्लाइट रेकर्डर स्थानान्तरण गर्ने समयसीमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) सँगको समन्वयमा निर्धारण गरिने बताएको छ । 

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयर बी ७३७–८०० विमानको भग्नावशेषबाट बरामद गरिएको उडान रेकर्डरले डाटा भण्डारण एकाइलाई यसको पावर स्रोतमा जोड्ने हराएको कनेक्टरसहित बाह्य क्षति भएको पाइएको थियो । 

मन्त्रालयको हवाई नीति विभागका निर्देशक जु जोङ–वानले भन्नुभयो, “क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरबाट यहाँ डाटा निकाल्न सम्भव छैन भन्ने हामीले निर्धारण गरेका छौँ, त्यसैले हामीले यसलाई अमेरिका पठाउने र त्यहाँ विश्लेषण गर्ने कुरामा एनटिएसबीसँग सहमति गरेका छौँ ।”

संयुक्त राज्य अमेरिकाको एउटा टोली सोमबार दक्षिण कोरिया पुगेको थियो र अर्को दिन मुआनमा भूमि, पूर्वाधार र यातायात मन्त्रालयको नेतृत्वमा दक्षिण कोरियाली अधिकारीहरूसँग संयुक्त अनुसन्धान सुरु गरेको थियो । 

उनीहरूको प्रारम्भिक संयुक्त स्थलगत अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले विमान अवतरणमा सहयोग गर्ने लोकलाइजर भनिने नेभिगेसन प्रणालीमा ध्यान केन्द्रित गरेका थिए ।

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा कङ्क्रिट संरचनामा जडान गरिएको लोकलाइजरलाई जेजु एयर दुर्घटनामा हताहतको गम्भीरता बढाउन जिम्मेवार ठह¥याइएको योन्हापले बताएको छ ।

दक्षिण कोरियाली अधिकारीहरूले दक्षिण कोरियाको मुआन क्षेत्रमा भएको विमान दुर्घटनामा १८१ यात्रुमध्ये १७९ जनाको मृत्यु भएको र दुई जनालाई उद्धार गरिएको पुष्टि गरेका थिए ।

आइतबार बिहान १७५ यात्रु र छ जना चालक दलका सदस्य बोकेको जेजु एयरको यात्रु जेट मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्यान्ड गरी विस्फोट भएको योन्हाप समाचार एजेन्सीले जनाएको छ । 

विमान अवतरण गर्दा ल्यान्डिङ गियर नखुलेको अवस्थामा धावनमार्गबाट चुकेर जमिनमा घस्रिँदै कङ्क्रिट पर्खालमा ठोक्किएर आगो लागेको थियो ।

सम्पत्ति शुद्धीकरणमा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउनुपर्छ : प्रवक्ता गुरूङ

काठमाडौँ, १७ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सम्पत्ति शुद्धीकरण’ को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन जरूरी रहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता गुरूङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन सरकारले अभियान नै सुरू गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार सङ्घ र प्रदेशमा राष्ट्रिय रूपमा र्‍याली गर्ने, गलत तरिकाले सङ्कलन गर्ने कालो धनविरूद्ध जनतामा सचेना फैल्याउनेलगायत अभियान सुरू गरिने सरकारको योजना रहेको जानकारी दिनुभयो ।  

नागढुङ्गा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन भौतिक पूर्वाधार मन्त्री दाहालको निर्देशन

काठमाडौँ, १७ पुसः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिनुभएको छ । निर्माणाधीन उक्त सडकको आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई सो निर्देशन दिनुभएको हो ।

निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय गर्ने तर निर्माण सुस्त भएमा सह्य नहुने चेतावनीसमेत उहाँले दिनुभयो । सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेकाले तत्काल परिणाम देखिने गरी काम गर्न मन्त्री दाहालले निर्देशन दिनुभयो ।

निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रुपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखलाई निर्देशन दिनुभयो । कुनै पनि बहानामा निर्माणमा ढिलासुस्ती नगर्न उहाँले आग्रह गर्नुभयो ।

त्यसैगरी सडक विभागका महानिर्देशक रामहरि पोखरेलले स्थानीयको अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने गरी काम गर्ने जिम्मेवारी निर्माण कम्पनीको रहेको जनाउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधिले यसअघि निर्माण सामग्री जुटाउन भएका अवरोध मन्त्रीकै पहलपछि समाधान भएको जानकारी दिनुभयो । मासिक लक्ष्य निर्धारण गरी काम गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

ऊर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुला

काठमाडौँ, १७ पुस : ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुला भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो । उक्त प्रस्ताव पास भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुनेगरी विद्युत् आयोजनाका लागि सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको जानकारी दिनुभयो ।

“लगानीकर्तालाई सहज बनाउने र स्वदेशीसहित विदेशी लगानीकर्तालाई लगानी गर्ने बाटो खुला गर्नेगरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थियौँ, उक्त प्रस्ताव पारित भएसँगै सरकारले जलविद्युत् क्षेत्रमार्फत राखेको ‘समृद्ध नेपाल’ को लक्ष्य पूरा हुनेछ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

उक्त मार्गचित्रले सरकारले बनाउने आयोजनालगायत आन्तरिक तथा बाह्य लगानी र सबै प्रारूपका जलविद्युत्हरूलाई अघि बढाउन मार्गप्रशस्त गरेको छ । मन्त्री खड्काले जुन मोडलमा जुन आयोजनामा लगानीकर्ता आउन चाहन्छन् राज्यलाई अधिकतम फाइदा हुनेगरी प्रक्रिया बढाउन अब बाटो खुला भएको बताउनुभयो ।

सकेसम्म जनताको सहभागिता हुने र राज्यलाई अधिकतम फाइदा हुनेगरी एकैपटक आयोजना अगाडि बढाउन लागेको ऊर्जामन्त्री खड्काको भनाइ छ । सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ दशमलव ५ अर्ब अमेरिकी डलर (६२ खर्ब ३१ अर्ब नेपाली रूपैयाँ) बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । लामो समयको छलफल र बहसपछि मन्त्रिपरिषद्बाट मार्गचित्र स्वीकृत कार्यविधि पास भएसँगै रोकिएर बसेका आयोजना धमाधम अगाडि बढाउन बाटो खुलेको छ ।

मार्गचित्रमा जलविद्युत् आयोजना, प्रसारण वितरण तथा सबस्टेशनका लागि आवश्यकपर्ने लगानीको विस्तृत विवरणसमेत समेटिएको छ । आगामी १० वर्षमा छिमेकी मुलुक भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौतासमेत भएको र सोबाहेक बङ्गलादेशलगायत अन्य छिमेकी देशहरूमा सन् २०३५ सम्म पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना मार्गचित्रमा उल्लेख भएको मन्त्रालयले जनाएको छ ।

सन् २०३५ सम्ममा मुलुकको कूल जडित विद्युत् क्षमता नै २८ हजार पाँच सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएकामा हालसम्म करिब तीन हजार चार सय हाराहारीमा मात्र विद्युत् उत्पादन भएको छ । मन्त्री खड्काले आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकता साथ अगाडि बढाउने र निजी क्षेत्रलाई पनि सोहीअनुसार लगानी गर्न प्रोत्साहन गराउने गरी सरकारले नीति लिएको बताउनुभयो ।

ऊर्जा क्षेत्रमा हुने लगानीमा सरकारी, निजी क्षेत्र एवं आम सर्वसाधारणकोसमेत हिस्सा रहनेछ । यस्तै, निजी क्षेत्र, सर्वसाधारण र वैदेशिक लगानीका अतिरिक्त गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीको पुँजीलाई पनि उत्तिकै महत्त्व दिएर समावेश गरिनेगरी तय गरिएको छ । 

सोतोकान कराते टोली भारत प्रस्थान

काठमाडौँ, १७ पुस : खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३औँ संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२ सदस्यीय नेपाली कराते टोली आज भारतको कोलकाता प्रस्थान गरेको छ ।

जनवरी ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा अमन राई, संयोग राई, सञ्जिव वाइबा, सफल मगर, बादल लामा, सवीर पोखरेल, अनिश विक, प्रदीप राई, सन्देश खड्का, गौतम भण्डारी, रिकेश बोहरा, विवेक गुरूङ, सुमित धिमाल, अविरल राई, मनीष वाइबा, अशोक भट्टराई, विनोद चौधरी, जाग्रिती थापा, सायाना न्यौपाने, अब्रिस्ति महर्जन, नयना मानन्धर, सञ्जना भुजेल, प्रविका मानन्धर, गुञ्जन थापा, सुवेक्षा विक, युनिशा भुजेल, जस्मिना खड्का, नविना स्याङ्तान, करिष्मा मानन्धर र काजल राईले प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा नेपाल सातोकान कराते सङ्घका महासचिव श्याम शेर्पा र प्रशिक्षकमा कृष्णकुमार मानन्धर छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच आजै बिदाइ गर्नुभयो । 

एमपक्स नियन्त्रणका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा विमानस्थलमा आकस्मिक बैठक

काठमाडौँ, १७ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे सम्बन्धित अधिकारीसँग छलफल गर्नुभएको छ ।

उहाँले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिनका लागि आग्रह गर्नुभएको हो । अहिले मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ ।

मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीसहित अधिकारीलाई नागरिकमाझ थप जोखिम फैलन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । “तपाईंहरूलाई कुनै पनि काम कुरामा आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौँ”, उहाँले भन्नुभयो, “केही समस्या परे भन्नुहोला ।”

हाल साउदी अरेबियाबाट आएका दुई नेपाली नागरिकमा सङ्क्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एकको सुरक्षित अवस्थामा सरूवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री पौडेलले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरूवा रोग नियन्त्रण अस्पताल र सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्रालयले विमानस्थलबाट बाहिरिएका शङ्कास्पद बिरामीको सम्पर्क ट्रेसिङका अलावा फर्कनेहरूलाई एमपक्सबारे सचेतना विमानस्थलमा रहेको हेल्थ डेस्कबाट फैलाइरहेको छ । बिरामीको टेकुस्थित सरूवा नियन्त्रण अस्पतालमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

मन्त्री पौडेलले साउदी अरेबियाबाट सङ्क्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले मन्त्रालयले एमपक्स नियन्त्रणका लागि अपनाएको सजगता प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभयो ।

कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र

म्याग्दी, १७ पुस : मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।

कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो ।

तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताउनुभयो ।

विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ ।

यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ ।

दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो ।

गैरसरकारी संस्थामा काम गर्ने अफगानी महिलामाथिको प्रतिबन्ध हटाउन राष्ट्र सङ्घको आग्रह

संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार अफगानिस्तानको तालिबान अधिकारीहरूले गैरसरकारी संस्थाहरूमा काम गर्ने अफगानी महिलाहरूमाथिको प्रतिबन्ध हटाउनु पर्ने बताउनुभएको छ ।

टर्कले भन्नुभयो,“अफगानिस्तानका अधिकारीहरूले भर्खरै गरेको घोषणाबाट म गहिरो चिन्तित छु कि एनजीओहरूले अफगान महिलाहरूलाई काम गर्न जारी राखेमा उनीहरूको इजाजतपत्र खारेज हुनेछ । यो वास्तवमै गलत दृष्टिकोण हो । स्वदेशी तथा विदेशी गैरसरकारी संस्थामा महिला कर्मचारीको काम रोक्न फलोअप सर्कुलर जारी गरिएको छ ।”

आइतबार अफगान राहत र विकासको लागि एजेन्सी समन्वय निकाय (एसिबीएआर) ले मन्त्रालयसँग भेटेर स्वास्थ्य र शिक्षामा महिला कर्मचारीलाई छुट दिने र अनलाइनमा काम गर्नेहरूले सामान्य रूपमा काम गर्न सक्ने बताएको थियो ।

टर्कले थप्नुभयो,“अफगानिस्तानमा मानवीय अवस्था नाजुक छ । आधा भन्दा बढी जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् । गैरसरकारी संस्थाहरूले अफगान महिला, पुरुष, केटाकेटीहरूलाई जीवन बचाउने सहायता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।”

श्रीलङ्काका सरकारी वेबसाइटमा साइबर आक्रमण

श्रीलङ्काका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको प्रहरी प्रवक्ताले मङ्गलबार स्थानीय सञ्चारमाध्यमलाई बताउनुभएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले श्रीलङ्का प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको बताउनुभयो ।

श्रीलङ्काको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक भएको र यसको डाटा परिवर्तन गरिएको छ ।

श्रीलङ्का कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम (एसएलसीइआरटी) तथा प्रहरीले हाल साइबर आक्रमणको अनुसन्धान गरिरहेको उहाँले थप्नुभयो ।

एसएलसीइआरटीले गत हप्तासरकारी वेबसाइटहरू आक्रमणको जोखिममा रहेको चेतावनी दिएको थियो । यसले साइबर आक्रमणहरू सामना गर्न तथा सरकारी कर्मचारीहरूलाई शिक्षित गर्न साइबर जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष सन् २०२५ को शुभकामना

काठमाडौँ, १७ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ ।

तीव्रगतिमा रहेको यात्रुवाहक बस प्रहरी निरीक्षकमाथि बस बजारिँदा…

बरहथवा (सर्लाही), १७ पुसः तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ ।

गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो

गलेश्वर (म्याग्दी) १७ पुसः गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ ।

साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो ।

एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो ।

चालु आर्थिक वर्षमा तीन हजार आठ सय छ हेक्टर जमिनमा धान रोपिएकामा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष सोही क्षेत्रफलमा १२ हजार नौ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो ।

अनुकूल, मौसम रोगको कम प्रभाव, रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुलनामा उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

दुई हजार दुई सय ९७ वर्ग किलोमिटरमा फैलिएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ । हाल १९ हजार ४ सय ९८ हेक्टरमा मात्र खेती भएको छ ।

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

काठमाडौँ, १७ पुसः कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ४५, आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु १३०, तराई गाजर प्रतिकेजी १२०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी ३० कायम भएको छ ।

यसैगरी बन्दा (नरिवल) प्रतिकेजी रु ३५, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ६०, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो (लोकल) प्रतिकेजी रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ५०, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ६०, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ८०, घिउ सिमी (राज्मा) रु ९०, टाटे सिमी प्रतिकेजी रु ६० निर्धारण गरिएको छ ।

समितिले तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ६०, स्कुस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु ३०, पालुङ्गो प्रतिकेजी रु ९०, चमसुर प्रतिकेजी रु ९०, तोरीको साग प्रतिकेजी रु ५०, मेथी साग प्रतिकेजी रु ९०, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १००, च्याउ डल्ले प्रतिकेजी रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ रु ८००, हरियो धनिया प्रतिकेजी रु ७०, ब्रोकाउली प्रतिकेजी रु ४०, गान्टेमुला प्रतिकेजी रु ८०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, कागती प्रतिकेजी रु १३०, लोकल काँक्रो प्रतिकेजी रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, लप्सी प्रतिकेजी रु ६० र गुन्द्रुकको मूल्य प्रतिकेजी रु ३०० तोकेको छ ।

यसैगरी, झोले स्याउ प्रतिकेजी रु २६०, फुजी स्याउ प्रतिकेजी रु ३००, केरा प्रतिदर्जन रु १७०, अङ्गुर हरियो प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, मेवा (नेपाली) प्रतिकेजी रु ७०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, एभोकाडो प्रतिकेजी रु २५० निर्धारण गरिएको छ ।

नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

जानकी (बाँके), १७ पुसः माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शङ्कास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरुलाई नेपाल फिर्ता गरिएको हो । संयोजक कोइरालाले एक वर्षमा सात सय ७७ जनाको खोजतलासको निवेदन परेको र चार सय सात जना फेला परेको बताउनुभयो ।

भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले सन् २०२४मा खोजतलासको निवेदन धेरै पर्नेमा बाँके जिल्ला अगाडि रहेको जानकारी दिनुभयो । जोखिमपूर्ण यात्रा गर्दै नाका पार हुनेहरुमा प्रायः जसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरु बेचविखनमा सक्रिय रहेको उल्लेख गर्दै संयोजक कोइरालाले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणसम्बन्धी काम गरिरहेको बताउनुभयो ।

माइती नेपालले मानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच गर्नुका साथै भारतलगायतका मुलुकमा बेचिएका र बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धारका निम्ति काम गर्दै आएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचविखन सामाजिक कलङ्क र सङ्गठित अपराध भएको उल्लेख गर्दै त्यस्ता क्रियाकलापमा संलग्नलाई निरुत्साहित गर्न सञ्चारमाध्यमको अहम भूमिका हुने बताउनुभयो । अध्यक्ष गिरीले मानव बेचविखन विश्वव्यापी समस्या भएकाले यसको नियन्त्रण र रोकथामका लागि सुरक्षा कूटनीतिको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयमा बन्द हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन: शिक्षामन्त्री भट्टराई

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र ख्वपः अस्पतालको निरीक्षणपछि नगरपालिकाले आयोजित अन्तरक्रियामा उहाँले विश्वविद्यालयमा उक्त कुरा बताउनुभएको हो ।

भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै उहाँले ख्वपः विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको बताउनुभयो । मन्त्री भट्टराईले ख्वपः विश्वविद्यालयको विधेयक पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको भन्दै ख्वपः विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने बताउँदै ख्वपः विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा स्थापना गरी देशभरिका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वपः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न सल्लाघारीस्थित एक सय आठ रोपनी जग्गा प्राप्तिका लागि नेपाल ट्रष्ट समक्ष पटक–पटक पत्राचार गरिसकेको बताउँदै ख्वपः विश्वविद्यालय विधेयक २०८० पारित गर्न आवश्यक पहल एवम् प्रक्रिया अगाडि बढाउन मन्त्री भट्टराईसमक्ष अनुरोध पत्र हस्तान्तरण गर्नुभयो ।

मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालय, ख्वपः कलेज, शारदा क्याम्पस मावि, ख्वपः कलेज अफ ल, ख्वपः अस्पताल, ख्वपः बहुप्राविधिक अध्ययन संस्थान, ख्वपः इञ्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इञ्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी कलेजहरुबाट प्रवाहित सेवा सुविधा, विद्यार्थी सङ्ख्या र भौतिक अवस्थाबारे जानकारी लिनुभएको थियो । 

मन्त्री भट्टराईलाई सचिव सुवालले पार्टीका प्रकाशनहरु, नगरप्रमुख प्रजापतिले नपाका प्रकाशन र कलेजका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो ।

जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा निषेध गर्न आग्रह

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरण र उपभोग निषेध गर्न आग्रह गर्नुभएको छ । यसलाई कडाइका साथ पालना गर्न उहाँले जोड दिनुभयो ।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा कायम राख्न मासु मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह गर्नुभएको छ । सो क्षेत्रमा मासु र मदिरा निषेध कडाइका साथ कार्यान्वयन गर्न प्रदेश सरकारले स्थानीय तहका साथै सरोकारवालासँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटनलाई जोगाउन पनि मासु र मदिरा निषेध गर्न जनकपुरधामवासीले चासो लिनुपर्छ”, उहाँले भन्नुभयो–“जनकपुरधामको परिक्रमा सडक क्षेत्रमा मासु र मदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले इजाजत दिँदैनन् । तर अनुमतिबिना किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण छ ।”

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौँ, १७ पुसः जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।

नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनुहुने जनाइएको छ ।

रुम्बाको ज्यान लिने बाघ नियन्त्रणमा

मकवानपुर, १७ पुसः मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई मङ्गलबार साँझ नियन्त्रणमा लिइएको छ ।

चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् । बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सात वटा बाख्रा मारेको थियो । दुई वटा घटनापछि वसन्तपुरवासी त्रसित बनेका थिए ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पुस १५ गते सोमबार दिउँसो २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको चार वटा हात्ती सहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली चार जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।

घटना भएको क्षेत्रमै बाघ रहेको पाइएको छ । बाघलाई खोजी गर्ने क्रममा मङ्गलबार साँझ ७ बजेको समयमा मनहरी–५ वसन्तपुरस्थित सुकौराखोलामा डार्ट प्रविधिद्वारा नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिनुभयो । बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको छ ।

मनहरीमा बाघ, हात्तीलगायतका वन्यजन्तुको आतङ्क विगतदेखि नै छ । चार महिनाअघि मात्रै मनहरी–६ प्रतापुरमा भैँसीले बाघ मारेको थियो । गत भदौ ५ गते मनहरी–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीको प्रतिकारमा परी बाघ मरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वीक्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ । मनहरीको पश्चिम क्षेत्रमा पटक–पटक हात्तीले पनि क्षति गर्ने गरेको छ ।

मनहरी गाउँपालिकाको हेटौँडा उपमहानगरसँग सीमा जोडिएको पूर्वीक्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौँडाको १२, १३, १४ नम्बर वडामा आतङ्क मच्याउँदै आएका छन् ।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ पुसः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९० पैसा र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ५८ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

जनवरी १ : इस्वी सन्को नयाँ वर्ष २०२५ लाई स्वागत

काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौँ, १७ पुसः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छभने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

बिहीबार बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिने

काठमाडौँ, १६ पुस : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबँेसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत दिने भएको छ ।

विद्युत् अभावमा फास्ट ट्र्याकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन । फास्ट ट्र्याकको माण्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको हो । फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।

विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको पहिले चालु रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ । काठमाडौँमा जगेडामा रहेको २२.५ एमभिएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ्ग सबस्टेसनमा लगेर जडान गरी सोहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिइने तयारी गरिएको प्राधिकरणले जनाएको छ । ढोर्सिङ्ग सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हाल पाँच एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालु रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सपर्मर थप्न लागिएको हो ।

गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीपहिरोले माण्डु हाइड्रोपावरले सञ्चालन गरेको २२ मेगावाटको बागमतीखोला साना जलविद्युत्को विद्युत्गृहलगायतका संरचनामा ठूलो क्षति पु¥याइ विद्युत् उत्पादन बन्द हुँदा त्यसपछि फास्ट ट्र्याक अन्तर्गत उक्त खण्डमा विद्युत् आपूर्ति हुन सकिरहेको छैन ।

बागमती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने स्वीचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मरलगायतका उपकरणसमेत बगाइ दिएको थियो । आयोजनाबाट उत्पादित विद्युत् ६६ केभी प्रसारण लाइनमार्फत ढोर्सिङ्ग र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो ।

माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्ट ट्र्याकलाई आपूर्ति दिइएको थियो । माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को दुई मेगावाटको खानीखोला जलविद्युत् आयोजना पनि जोडिएको थियो । बाढीपहिरोले खानीखोलामा पनि क्षतिपुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको थियो । जसका कारण फास्ट ट्र्याकको विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले दुवै आयोजनाको पुनःनिर्माण चलिरहेको छ ।

विद्युत् आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले आज माण्डु माल्टाबेँसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । टोलीले पुनःनिर्माण भइरहेको बागमतीखोला साना जलविद्युत् आयोजना र ढोर्सिङ्ग सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पबारे सम्बन्धित पदाधिकारीसँग छलफल गरेको थियो ।

आयोजनाको पुनःनिर्माण आगामी चैतभित्र सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्थाअनुसार विद्युत् आपूर्ति दिइनेछ । कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ्ग सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ्ग–माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्र्याकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताउनुभयो ।

“हाम्रो कारणले राष्ट्रिय गौरबको आयोजनाको काम प्रभावित हुनुहुँदैन, अहिले यहाँ आपूर्ति दिन विद्युत् स्रोतको अभाव हो, बाढीले क्षति पु¥याएका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु नभएसम्मका लागि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिनुपर्छ, यसका लागि तत्काल काम सुरु गरौँ”, उहाँले भन्नुभयो ।

उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनःस्थापनाका लागि स्थानीय रुपमा गर्नुपर्ने आवश्यक काम तत्काल अगाडि बढाउन पालुङ र हेटौँडा वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिनुभयो ।

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ, १६ पुस : बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले रु तीन लाख तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र ‘फेयर प्ले टोली’ले रु १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गरे ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपाधि विजेता  तथा उपविजेतालाई पदक, प्रमाण–पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जीवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धनबहादुर आले उत्कृष्ट डिफेण्डर र फेयर प्ले टोली कोशी प्रदेश प्रहरी कार्यालय घोषित भए ।   

यही पुस ७ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालय सहभागी थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो । आगामी दिनमा नेपाल प्रहरीको फुटबल टोलीलाई अझ बढी क्षमतावान्, कुशल, दक्ष र सफल बनाउनेतर्फ पहल गर्न नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ, १६ पुस : नेकपा (एकीकृत समाजवादी) ले मुलुकमा सुशासन र समृद्धिका लागि आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले ‘मिसन ८४’ मा केन्द्रित भएर पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

स्वदेशी उद्योगको प्रवर्द्धनका लागि स्वदेशी वस्तु प्रयोग प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको बैठकले महँगी एवं भ्रष्टाचार अन्त गरी रोजगारी, समृद्धि कायम गर्न सुशासनका पक्षमा जनमत सिर्जना गर्ने निर्णय गरेको हो । देशभर एक पालिका, एक उद्योग ग्राम कार्यक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थको प्रयोग गर्नेगरी घरेलु, साना तथा ग्रामीण उद्योग स्थापना गर्न बैठकले माग गरेको छ ।

अभियानअन्तर्गत पार्टीका एजेण्डा तथा आर्थिक समृद्धिका लागि कृषि क्रान्ति, औद्योगिक विकासलगायत समाजवादका कार्यक्रम जनतालाई सुनाउने सभा सम्मेलन गर्ने कार्यक्रम रहेको पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

आत्मनिभर अर्थतन्त्र बनाउन सन्देश प्रवाह गरिने सो अभियान सफल बनाउन सम्बन्धित जिल्ला तथा प्रदेशले ठाउँठाउँमा साना ठूला सभाको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । 

नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी छ : मन्त्री पाण्डे

काठमाडौँ, १६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकास सुरक्षित रहेको बताउनुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली आकास सुरक्षित छ, कुनै समस्या छैन । भौगोलिक अवस्थितिले पनि नेपाली आकास सुरक्षित र गतिशील छ । चलायमान भनेर हामीले विश्वभर सन्देश फैलाउन जरूरी छ ।”

मन्त्री पाण्डेले नेपालमा भौगोलिक अवस्था विकट भए पनि यहाँ असङ्ख्य पर्यटन क्षेत्र तथा विभिन्न धार्मिकस्थल भएका कारण अन्य देशको तुलनामा पर्यटक बढी आउन खोज्ने गरेका बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरूणकुमार चौधरीले नेपाल नागरिक उड्डयन प्राधिकरणको काम गर्ने तौरतरिका चित्तबुझ्दो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणको काम गर्ने तरिका ठिक छ, सबैको साथ र सहयोगले प्राधिकरणले सफलता पाएको छ ।”

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले नेपालका दुर्गम क्षेत्रमा अहिले पनि यातायातका साधन सञ्चालन हुन नसकेका कारण दुर्गम तथा हिमाली क्षेत्रमा जहाज सञ्चालन गर्न तत्काल आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई सेवा दिन जहाज चलाउन आवश्यक छ, त्यसका लागि मन्त्रालयले के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौँ ।”

प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले हवाई सुरक्षाको दृष्टीकोणमा नेपालको आकास निकै सुरक्षित रहेको र प्राधिकरणले उक्त क्षेत्रमा गरेका तथा अबका दिनमा गरिने कार्यका विषयमा जानकारी दिनुभयो ।

कार्यक्रममा प्राधिकरणको विशेषाङ्क विमोचन गरिनुका साथै प्राधिकरणको सफलताको क्षेत्रमा उल्लेख्य कलम चलाउने पत्रकार तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

सहकारी ठगीमा जो संलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्छ : महामन्त्री थापा

मकवानपुर, १६ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैलाई बराबर हुने भएकाले सहकारी ठगीमा जोसंलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्ने बताउनुभएको छ ।

कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ४९ औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवस २०८१ लाई सम्बोधन गर्दै उहाँले गल्ती गरेको भए आफूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । 

बिपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै महामन्त्री थापाले पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताउनुभयो । उहाँले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बिपीलाई सम्झिने हो भने अन्याय हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य मोहन आचार्यले मेलमेलाप दिवसको अवसरमा सबै नेता तथा कार्यकर्तालाई पार्टीलाई बलियो बनाउन सङ्गठित भएर अघि बढ्न निर्देशन दिनुभयो ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसमा आबद्ध भएर विभिन्न कालखण्डमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास

काठमाडौँ, १६ पुस : नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आजदेखि सुरु भएको छ ।

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको उक्त अभ्यासको मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभयो ।

नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा र भारतीय सेनाबाट कर्णेल जपेन्दरपाल सिंहको नेतृत्वमा कूल ६ सय ६८ सैनिक सहभागी भई सञ्चालन भएको उक्त संयुक्त अभ्यास यही पुस २९ गते सम्पन्न हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको सत्रौँ संस्करण मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा सम्पन्न भएको थियो । विसं २०६७ देखि नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको उक्त संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १७ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ ।

सो अभ्यासमा मुख्यगरी विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला, मानवीय सहयोगलगायतका विषयमा दुई देशका सैनिकले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान गर्नेछन् । उक्त सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेसागत सीपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

‘बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ’

बुटवल (झुम्सा), १६ पुस : खानेपानीमन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री यादवले भन्नुभयो, “झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी यहाँका नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने सरकारको लक्ष्य छ । सोहीअनुसार काम भइरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”

झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसङ्ख्या लाभान्वित हुनेगरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा मन्त्री यादवले जानकारी दिनुभयो ।

करिब रू छ अर्बको लगानीमा झुम्सा खानेपानी आयोजना सुरू भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ । विसं २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरू भएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।

सुरूमा केही वर्षको प्रयासका बाबजुत आयोजना असफल भएपछि फेरि विसं २०६४ मा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरू गरिएको नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो अवधिमा खानेपानीको मुहानमा निर्माण गरेको ट्याङ्की नै खोलाले बगाएपछि समस्या भयो । पछिल्लो समय विसं २०७७ मा शिलान्यास गरेको झुस्सा खोलाको काम अहिले सुचारू अवस्थामा रहेको छ ।”

झुम्सा खोलामा बाँध निर्माण गरी ट्रष्ट पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो चरणअन्तर्गत बुटवल–३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने खानेपानी संस्थानले जनाएको छ ।

सरोकारवालसँग आज गरिएको विस्तृत छलफल तथा अन्तक्र्रियामा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, तिनाउँ गाउँपालिका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष यज्ञ गैरे, एमाले पार्टी सहसचिव बाबुराम पन्थीको सहभागिता रहेको थियो ।

कर्मचारीका तर्फबाट मन्त्रालयमा सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटा, खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख नीरन मर्हजन, प्रधान कार्यालयका प्रमुख बुद्धरत्न मर्हजन, मोहनदत्त भट्ट, आयोजना प्रमुख मन्दीप श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

‘मधेसी शक्तिहरुबीच सहकार्य हुनुपर्नेमा जोड’ : नेता महतो

काठमाडौं । मधेस मूलका नेताहरुले मधेसी राजनीतिक शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा मधेसी एकता समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मधेसी शक्तिमा सहकार्य आवश्यक रहेको औलाएका हुन् ।

कार्यक्रममा बोल्दै नेता राजेन्द्र महतोले सारा मधेसीको चाहाना आजको दिनमा मधेसी शक्तिकोबीचमा एकता नै रहेको बताए । उनले केही समय अगाडि सम्पन्न आइपीएलमा जनकपुर बोल्र्टसका खेलाडीहरुमाथि धोती शब्दको प्रयोगगरी अपमान गरिएको भन्दै आपत्ति समेत जनाए ।

उनले भने,‘हाम्रो सारा मधेस आजको दिनमा मधेसी शक्तिकोबीचमा एकता चाहन्छ । किर्तिपुरको क्रिकेट मैदानमा धोती याद दिलाईदिए । सन्देश त पूरै देशमा गयो नि । के अपराध थियो र ती युवाहरुको काठमाडौंमा खेल्न आए जित हासिल गरे । मधेसी नौं जवान भएकै कारण उसको बेइजत गर्न के जरुरी थियो र ?’

त्यस्तै अर्का नेता हृदयेश त्रिपाठीले मधेसी नेताको गल्तीको कारणले नै पछाडी परेको बताए ।
उनले भने,‘हाम्रो नै केही मधेसी नेताको गल्तीको कारणले नै हामी पछाडी परेको हौं । यो अवस्था आएको हो । हामी बञ्चीत हुनु पुग्यौं ।’अहिले सहि दिशा पहिल्याउन नसक्दा मधेस वास्तवमा नै गोलचक्करमा घुमिरहेको उनको भनाई छ ।

चीनमा जाडोमा प्रयोग हुने बाहिरी ज्याकेटको बिक्री बढ्यो

एजेन्सी । चीनमा जाडोमा प्रयोग हुने बाहिरी ज्याकेटको बिक्री बढेको छ । फेसनका रुपमा लिइने थ्री–इन–वन बाहिरी ज्याकेट सबै उमेर समूहका मानिसहरुले रुचाएका पनि छन् ।

धेरै विक्री भएका ज्याकेटहरु वाटरप्रूफ खोल र भित्री भागमा तातो ऊन समावेश गरिएको छ । यस्ता ज्याकेटहरु बाहिर र भित्र अफिसमा काम गर्नेहरुले पनि रुचाएका छन् ।

ग्राहकहरुले यस्ता ज्याकेटलाई कार्यस्थलमा बढी उपयोगी ठानेका छन् भने फेसन र स्टाइलिश पनि भनेका छन् ।
यस्ता ज्याकेटहरुको माग बढेसँगै पूर्वी चीनको झेजियाङ प्रान्तको सानमेन काउन्टीमा, स्थानीय ज्याकेट निर्माताहरू नयाँ अर्डरहरू लिनका लागि व्यस्त भएका छन् ।

प्रमुख चिनियाँ ई–कमर्स प्लेटफर्महरुका अनुसार बाहिरी ज्याकेटको अनलाइन बिक्री सेप्टेम्बरदेखि नोभेम्बरको तीन महिनाको अवधिमा तीन गुणाले बढेको छ ।

भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको छ : अध्यक्ष दाहाल

नारायणगढ (चितवन), १६ पुस : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको बताउनुभएको छ । भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेत्तृत्वले इमान्दारीताका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकाङ्क्षाप्रति इमान्दर भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ ।” उहाँले भरतपुरको सिको देशभरिका सबै तहले तहले गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रकृतिले दिएको जल, जमिन, जडीबुटी,  हिमाल, पहाड र तराई  सबै पर्यटकीयस्थल हो । त्यसको निम्ति भौतिक पूर्वाधार जनचेतना र रचनात्मक  कार्यक्रमको विकास भने नेत्तृवले गर्नुपर्ने हुन्छ । यो सबै चितवन तथा भरतपुरमा रहेको छ ।”

भरतपुर महानगर प्रमुख रेनु दाहाले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित सहरको रूपमा विकास गर्दै आइएको बताउनुभयो । उहाँले यहाँ आउनको लागि भौतिक बाटोघाटोको काम सकिएको भन्दै अहिले आधा घण्टामा भरतपुरको जुनसुकै स्थानमा पुग्न सकिने बताउनुभयो । प्रमुख दाहालले अहिले मेघौलीे विमानस्थल सञ्चालनको कामभन्दा पनि यहाँको गोलाघाटमा पुल निर्माणको आवश्यकता बढी रहेको उल्लेख गर्नुभयो । 

नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमलप्रसाद सापकोटाले भरतपुरसँग समन्वय गरी यहाँ विभिन्न पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले खर्च गर्नसक्ने पर्यटक अहिले मेघौलीका होटलमा आउने गरेको भन्दै यस्तै अन्य स्थानमा पनि नयाँ थप गन्तव्यको पहिचान र प्रचारप्रसार गरिनुपर्ने आँैल्याउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेशका पूर्वसांसद तथा रैथाने खाना महोत्सवका सल्लाहकार कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, इच्छाकामना गाउँपापिलका अध्यक्ष दानबहादुर गुरू 

ङ, उद्योग वाणिज्य सङ्घ चितवनमा अध्यक्ष सुमनकुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो भने भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

‘बिपीको मेलमिलाप नीति अहिले पनि आवश्यक छ’ – मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), १६ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रियता र प्रजातन्त्र स्थापना गर्नकै लागि बिपीले तत्कालीन राजासँग मेलमिलाप गरेको बताउनुभएको छ ।

उनान्चासौँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसर पारेर आज नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको अवस्थामा बिपीले मेलमिलापको नीति लिनुभएको हो ।”

नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रथम जननिर्वाचित बिपी कोइरालाले राष्ट्रियता जोगाउन ठूलो जोखिम मोल्नुभएको स्मरण गर्नुभयो । उहाँले राष्ट्रिय शक्तिलाई बलियो बनाउन आएको सङ्घीयताका बारेमा विरोध र टीकाटिप्पणी गर्नु गलत भएको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव श्रीनाथ बरालले बिपीले अँगालेको बाटोलाई दलहरूले अँगाल्दै जाने हो भने नेपालमा धनी र गरिबबीचको खाडल कम हुँदै जाने बताउनुभयो । त्यति बेलाको समयमा प्रवासमा बसेकै बेला राष्ट्रियता र प्रजातन्त्रप्रति चिन्तित बिपीको मेलमिलाप नीतिबाट नै आज हामी यहाँसम्म आइपुगेको भनाइ उहाँको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरूङले मुलुक बचाउन फुटेर मैन मिलेर जानुपर्छ भन्ने नीति लिएकै कारण बिपी राजनीतिमा सफल भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता शङ्कर बरालले राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि बिपी कोइराला दूरदर्शी नेताको रूपमा चिनिँदै आएको बताउँदै लोकतन्त्र नै खतरामा पार्ने गरी ल्याइएको सङ्घीयता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल समाजवादी पार्टीका नेता किरण थापाले राष्ट्रियता भूगोलमा मात्र नभएर नेपाली जनताले पनि अनुभूति गर्नु पाउनुपर्ने बताउनुभयो । बिपीको मेलमिलाम नीतिलाई ठूला पार्टीले त्यति महत्त्व नदिएको भनाइ उहाँको छ ।

भारतद्वारा ‘स्प्याडेक्स मिशन’ सुरु

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आफ्नो ‘स्पेस डकिङ प्रयोग मिशन’ (स्प्याडेक्स) सफलतापूर्वक प्रक्षेपण गरेको छ । स्पेस डकिङ भनेको जब दुई स्पेसक्राफ्ट अन्तरिक्षमा एकअर्कासँग जोडिन्छन् ।

उक्त मिशन अन्तर्गत ध्रुवीय स्याटेलाइट प्रक्षेपण वाहन (पिएसएलभी–सी६०) दुई उपग्रह, एसडीएक्स०१ (चेजर) तथा एसडीएक्स०२ (लक्ष्य) सोमबार बङ्गालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण गरिएको हो ।

“पिएसएलभी–सी६० ले स्प्याडेक्स र २४ पेलोडहरू सफलतापूर्वक प्रक्षेपण गर्यो,“ इसरोले सामाजिक सञ्जालमा उल्लेख गर्यो ।

स्प्याडेक्स मिशनमा पिएसएलभी–सी६० द्वारा प्रक्षेपण गरिएको दुई साना अन्तरिक्ष यानहरू समावेश छन् ।दुबै अन्तरिक्ष यानलाई अब आगामी १० दिनमा, सम्भवतः जनवरी ७ मा स्पेस डकिङ हासिल गर्न निर्देशन दिइनेछ ।इसरोका अनुसार स्प्याडेक्स भविष्यमा मानव अन्तरिक्ष उडान तथा उपग्रह सेवा मिसनहरूको लागि एक महत्वपूर्ण प्रविधि हो ।

दक्षिण कोरिया विमान दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १७४ जनाको शव सनाखत

दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ ।बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन ।

पहिचान भएका चार जनाको शव शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरुको अन्त्येष्टि कार्य सुरु भएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले यसअघि सबै शवहरू परिवारलाई हस्तान्तरण गर्न १० दिन लाग्न सक्ने बताएका थिए ।

जेजु एयरको बोइङ ७३७–८०० विमान सियोलबाट २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।