`

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

Nepal One HD ३१ असार २०८२ २१:१५
प्रमुख खबर

महेन्द्रनगर (धनुषा), ३१ असार: मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह र सङ्घीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबीच मधेसमा विद्यमान खानेपानी समस्या समाधानको लागि छलफल भएको छ ।

आज मधेस भवन जनकपुरधाममा उहाँहरूबीच प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानका लागि दुवै तहका सरकार मिलेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशका १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या गहिरिँदै गएकाले दीर्घकालीन योजनासहित मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

मन्त्री यादवले जलवायु परिवर्तनका कारण उत्पन्न भएको सुक्खा समस्या र त्यसले उत्पन्न गरेको खानेपानीको सङ्कट दिनानुदिन गम्भीर बन्दै गएकाले समस्या समाधानका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सङ्घीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिकतम प्रयोग गरी समस्या समाधान गर्न र खानेपानीसँग सम्बन्धित ससर्त योजनालाई तत्काल कार्यान्वयन गर्न आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

छलफलमा प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवसहित सरोकार भएकाहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *