`

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीच एकता हुनुपर्छ : अध्यक्ष नेपाल

Nepal One HD ७ साउन २०८२ ९:५२
राजनीति

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक प्रगति र जनताको समृद्धिका लागि सबै वामपन्थी शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी प्रवेश कार्यक्रममा उहाँले वामपन्थी शक्तिबीचको धुर्वीकरणले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बताउँदै कम्युनिष्ट पार्टीका भूमिकाबारे उल्लेख गर्नुभयो ।

समाजवादी क्रान्तिको विश्लेषण गर्दै अध्यक्ष नेपालले शक्ति तथा सङ्गठन विस्तारका लागि कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजवादी क्रान्तिलाई पूरा गर्न वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीसँग एकताका प्रयास भएको जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्ट आदर्श अवलम्बन गर्ने पार्टी तथा नेतृत्वमा आएको वैचारिक विचलनले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा सङ्कट देखापरेको बताउनुभयो ।

मुलुकमा जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक व्यवस्था परिवर्तन भए पनि सामाजिक रूपान्तरण हुन नसकेको बताउँदै उहाँले सुशासन कायम हुन नसकेकै कारण समाजमा भ्रष्टाचार, गरिबी, बेरोजगारी बढेको विचार व्यक्त गर्नुभयो ।

मुलुकको आवश्यकताअनुसार माक्र्सवादलाई परिमार्जन गर्नुपर्ने बताउँदै अध्यक्ष नेपालले आफ्नो पार्टीले अङ्गिकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *