`

चीनमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा उल्लेखनीय प्रगति

Nepal One HD ६ साउन २०८२ २१:४१
विश्व

चीनमा अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको अनिवार्य शिक्षामा समावेशीकरण उल्लेखनीय रूपमा सुधारिएको छ । हालसालै सार्वजनिक गरिएको तथ्याङ्कअनुसार, यस्ता बालबालिकाहरूको अनिवार्य शिक्षामा भर्ना दर ९७ प्रतिशत पुगेको छ । साथै, प्रत्येक वर्ष करिब ३० हजार जना अपाङ्गता भएका विद्यार्थी विश्वविद्यालयमा प्रवेश गरिरहेका छन् ।
यो जानकारी चीन अपाङ्गता भएका व्यक्तिहरूको महासंघका अध्यक्ष छेङ खाइले राज्य परिषद् सूचना कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो ।

खाइका अनुसार, अपाङ्गता भएका व्यक्तिहरूका लागि चीनको शैक्षिक प्रणाली निरन्तर सुधार हुँदै गएको छ । हाल देशभर माध्यमिक तहका व्यवसायिक विद्यालयहरूमा करिब ७५ हजार ८०० विद्यार्थी अध्ययनरत छन् भने ५९ हजार ८०० जना नियमित माध्यमिक विद्यालयहरूमा अध्ययन गरिरहेका छन् ।
संघकी उपाध्यक्ष ली डोङमेईका अनुसार, यस्ता विद्यार्थीहरूलाई शिक्षामा पहुँच सजिलो बनाउने उद्देश्यले सरकारद्वारा विविध पहलहरू सञ्चालनमा ल्याइएको छ ।

विद्यालयमा आवश्यक सहायक उपकरण उपलब्ध गराउने विशेष अभियान सञ्चालन गरिएको छ, जसबाट करिब एक लाख विद्यार्थीहरू लाभान्वित भएका छन् । साथै, विशेष विद्यालयका लागि मानकीकृत पाठ्यपुस्तक विकास गरिएको छ । यसका अतिरिक्त, श्रवणमा समस्या भएका विद्यार्थीहरूका लागि नौ विषयमा सांकेतिक भाषाको पाठ्यपुस्तक समेत तयार पारिएको छ ।
आर्थिक पक्षलाई ध्यानमा राख्दै, सन् २०२५ मा अनिवार्य शिक्षामा रहेका अपाङ्गता भएका विद्यार्थीहरूलाई सरकारद्वारा प्रति विद्यार्थी वार्षिक सात हजार युआन (झण्डै ९८० अमेरिकी डलर) भन्दा बढी अनुदान प्रदान गरिएको छ ।

त्यस्तै, आर्थिक रूपमा कमजोर परिवारका अपाङ्गता भएका बालबालिकाहरूलाई प्राथमिक विद्यालयदेखि उच्च माध्यमिक तहसम्म १२ वर्षसम्म पूर्ण रूपमा निःशुल्क शिक्षाको सुविधा प्रदान गरिएको छ ।

यी विविध कदमले अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा समावेशीता र पहुँचलाई अझ सुदृढ बनाएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *