`

कांग्रेसभित्रै आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा

Nepal One HD ७ साउन २०८२ २०:३२
नेपाली कांग्रेस

जलेश्वर (महोत्तरी), ७ साउनः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभएको छ । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–१ मा नवनिर्मित ‘‘जलेश्वर बहुउद्देश्यीय भवन’’ को समुद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री सिंहले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र हाल नेपाली कांग्रेस पार्टी भित्रै द्वन्द्व बढेको कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको प्रष्ट्याउनुभयो ।

उहाँले पार्टीभित्रै एक अर्काभित्र आरोप प्रत्यारोप र हिलो छ्याप्ने कामले सङ्गठन कमजोर हुँदै गएको र यसको प्रत्यक्ष असर सङ्घीय लोकतान्त्रिक व्यवस्थामा पर्ने औँल्याउँदै यस्तो परिस्थितिमा आजको आवश्यकता पार्टीलाई बलियो बनाउनु रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले अहिले पार्टीका सबै नेता कार्यकर्ताले सङ्गठन सुदृढीकरण तथा सहकार्य र समन्वयमा पार्टीलाई बलियो बनाउँदै लैजानुको विकल्प नरहेको बताउनुभयो । नेता सिंहले मधेसमा अहिले खानेपानी र सिँचाइको हाहाकार रहेकाले यसको लागि सङ्घीय सरकारले ठोस कदम चाल्ने निर्णय गरिसकेको र कुनै न कुनै वैकल्पिक उपाय निकालिने बताउनुभयो ।

अन्त्यमा मन्त्री सिंहले सङ्घीय सहरी विकास मन्त्रालयको सहयोगमा जलेश्वरमा नवनिर्मित ‘जलेश्वर बहुउद्देश्यीय भवन’ ले जलेश्वर नगरपालिका क्षेत्रभित्रका जनताका लागि बहुउपयोगी सावित होस् भन्ने आशा व्यक्त गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *