`

मकवानपुरको मनहरीमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

मनहरी (मकवानपुर), २८ पुस : मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना१क ९२५० नंको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

बसको ठक्करबाट गम्भीर घाइते थिङलाई उपचारका लागि हेटाँैडा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक मकवानपुर मनहरी गाउँपालिका–७ बिजौनाका   चन्द्रबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

सभापति देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा कांग्रेसको आपत्ति

काठमाडौँ, २८ पुस : सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस केन्द्रीय  कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धन सरकारका बारे अन्योल सिर्जना गरी जनतालाई दिग्भ्रमित गर्ने उद्देश्यले पार्टी सभापति देउवाका नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

कांग्रेसले हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव पौडेलले यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोधसमेत गर्नुभएको छ ।

मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन सरकार अध्यादेशबाट अघि बढेको छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ, २८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन छिटो र सहजका लागि सरकार अध्यादेशको माध्यमबाट अघि बढेको बताउनुभएको छ ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित त्रिभुवन माध्यमिक विद्यालयको ५८औँ वार्षिक साधरणसभा तथा अभिभावक दिवस कार्यत्रमलाई आज सम्बोधन गर्दै मन्त्री गुरुङले संसद्को माध्यमबाट जाँदा एक÷डेढ वर्ष लाग्ने र ‘फास्ट ट्र्याक’बाट जाँदा पनि एक वर्ष लाग्ने भएकाले अहिले तत्काल जनतालाई कसरी सुख सुविधा दिने भनेर जनताको विकास, सुशासन, पुँजी बढाएर अर्थतन्त्र सुधार गर्न, रोजगारी सिर्जना गर्न र यस्ता कानुनहरु नफेरी नहुने तथा संशोधन नगरी नहुने भएकाले सरकार अध्यादेशको माध्यमबाट अघि बढेको स्पष्ट पार्नुभयो ।  

“मन्त्रिपरिषद्को बैठकले यतिबेला सुशासनसँग जोडिएका १३ कानुन, अर्थमन्त्रालय तथा अर्थसँग जोडिएका १४ कानुन, वन र शिक्षा क्षेत्रसँग जोडिएका तीन कानुन अध्यादेशमार्फत संशोधन हुन लागेका  छन्”, उहाँले भन्नुभयो–“यो अध्यादेश जारी गरेर अर्थतन्त्रमा देखापरेका समस्या हटाउन, प्रशासनको क्षेत्र, सुशासन क्षेत्रमा भएको सबै समस्या समाधान हुने तथा भ्रष्टाचारलाई नियन्त्रण गर्ने, राजस्व वृद्धि गर्ने काममा हामी लागिरहेका छौँ ।”  

मन्त्री गुरुङले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कुनै कारणले दुवै निलम्बन वा पद खारेज भएको खण्डमा कार्यपालिकाले अध्यक्ष  र उपाध्यक्ष छानेर काम गर्न सक्ने अध्यादेश आउन लागेको बताउनुभयो । अर्को निर्वाचन नभएसम्म छानेकाले नै काम गर्ने उहाँको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री गुरुङले विद्यालयमा दरबन्दी बनाउँदा हरेक विद्यालयमा एउटा खेलकुद शिक्षक, कम्प्युटर शिक्षा पढाउने शिक्षक र प्रत्येक सामुदायिक विद्यालयमा पनि बसको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । विद्यालय शिक्षा व्यवस्थित बनाए सरकारले लगानी गरेको खर्च उठ्न सक्ने उहाँको भनाइ थियो ।  

पाकिस्तानी प्रधानमन्त्रीले महिला शिक्षामा अन्तर्राष्ट्रिय सहयोगको आह्वान

पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले महिलाहरूलाई शिक्षा सुनिश्चित गर्न र दिगो अवसरहरू सिर्जना गर्न अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गर्ने बताउनुभएको छ ।

एक सम्मेलनलाई सम्बोधन गर्दै शरीफले भन्नुभयो,“शिक्षित महिलाहरूसँग आफूलाई आफ्नो परिवार र देशलाई गरिबीबाट बाहिर निकाल्ने मात्रै होइन, विश्वव्यापी अर्थतन्त्रका साझा चुनौतीहरूको समाधान खोज्ने क्षमता पनि छ ।”

बालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नमा देखिएका चुनौतिहरुको बारेमा बोल्दै प्रधानमन्त्रीले बालिकालाई शिक्षा नदिनु भनेको उनीहरुको अधिकार र आवाजलाई वञ्चित गर्नु हो ।

शरीफले पाकिस्तान सरकारले बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । विशेष गरी पिछडिएका बालबालिकालाई र यस सम्बन्धमा धेरै पहलहरू पनि सुरु गरेको छ ।

युवा कार्यक्रमहरू मार्फत छात्रवृत्ति, व्यावसायिक तालिम र साइबर सुरक्षामा गुणस्तरीय शिक्षा, रोजगारी तथा अर्थपूर्ण अवसरहरू सिर्जना गर्न देश प्रतिबद्ध रहेको छ ।

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण

काठमाडौँ, २८ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो पाँच वर्षमा रु एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको बताउनुभएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका नाम पनि सार्वजनिक गर्नुभयो । मन्त्री अधिकारीले कृषि सहकारी समूहले रु २० अर्ब ३० करोड ३० लाख १४ हजार अनुदान लिएको जानकारी दिनुभयो । यसरी राज्य कोषबाट दिइएको अनुदान दुरुपयोग गरेको भेटिए कारबाहीको दायरामा ल्याइने मन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन् । त्यसमध्ये प्रत्यक्षतर्फ यस मन्त्रालयअन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फार्मलाई रु २० अर्ब ३० करोड ३० लाख १४ हजार वितरण गरिएको छ । अप्रत्यक्षतर्फ रासायनिक मलका लागि रु ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार अनुदान वितरण भएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।  

उहाँले यसरी दिइएको अनुदानको प्रयोगबारे खोज्न र जान्न आमनागरिक र सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । “मन्त्रालयबाट वितरण गरिएको अनुदानको अवस्था के कस्तो छ भनेर अध्ययनका लागि हामीले समिति नै गठन गरेर काम सुरु गरिसकेका छौ”, मन्त्री अधिकारीले भन्नुभयो, “कृषि अनुदान लगेर दुरुपयोग गरिएको छभने कारबाही हुन्छ र हुनुपर्दछ । त्यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।”

उहाँले लोकतान्त्रिक शासन व्यवस्था देश र जनताप्रति उत्तरदायी तथा जवाफदेही हुने भएकाले जनतालाई आशा जगाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “पारदर्शिताले मात्र यो शासन व्यवस्था र सरकारप्रति जनताको विश्वास तथा भरोसा जागृत हुने भएकाले प्रदेश र स्थानीय सरकारलाई पनि कृषि अनुदान लिने सङ्घ÷संस्था, सहकारी र व्यक्तिको नाम सार्वजनिक गर्न अपिल गर्दछु”, कृषिमन्त्री अधिकारीले भन्नुभयो । 

कार्यक्रममा मन्त्रालयका कृषि विकास सचिव डा गोविन्दप्रसाद शर्मा, सहसचिवहरू हरिबहादुर केसी, डा मतिना वैद्य जोशीलगायतले अनुदानबापत वितरण गरिएको रकम दुरुपयोग गरिएको भेटिए कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चात्को पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरी यही पुस २१ गते भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयको सिफारिसबमोजिम क्रियाकलापसहितको उक्त योजना स्वीकृत गरेको हो ।

 योजना स्वीकृतसँगै आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने निश्चित भएको छ । क्षतिको विस्तृत आकलन (डिडिए) नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको छ ।

बैठकले योजनाबमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देश गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनःनिर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत् वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुरातात्विक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ । स्रोत परिचालनका लागि अर्थ मन्त्रालयले आन्तरिक वा बाह्य स्रोत परिचालन गर्न अर्थ मन्त्रालयले अग्रसरता लिने छ भने पुनः निर्माण र पुनःस्थानाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले डोटी तथा जाजरकोट केन्द्रविन्दु भई भएको भूकम्पपश्चात्को क्षति आकलन, निजी आवास पुनःनिर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको छ ।

यस्तै, २०८० सालमा सङ्खुवासभालगायत जिल्लामा बाढीजन्य विपद्मा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई २०८१ असार ३१ गते मन्त्रिपरिषद्को निर्णयबमोजिम नै हुनेगरी राहत उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिएको छ । यसका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनेछ । विपद्मा परी बेपत्ता भएकाहरु १० दिनसम्म फेला नपरेका तत्कालीन समयमा विवरण सङ्कलन भएका परिवारलाई मृतकका सरह राहत उपलब्ध गराउने निर्णय २०८१ असार ३१ गते मन्त्रिपरिषद्ले गरेको थियो ।

बैठकले प्राधिकरणका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्ने समेत निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले पुनः निर्माण र पुनःस्थापनाको प्राथमिकता तथा स्रोतको उपलब्धताका आधारमा विलम्ब नगरी क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरेर दोहोरोपन नहुनेगरी पुनःनिर्माण कार्यारम्भ गर्न निर्देशन दिनुभयो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मन्त्रीगण, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेताका प्रतिनिधि शक्तिबहादुर बस्नेत, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।

सातौँ संस्करणको बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा, २८ पुस : सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुनेभएको छ । उक्त प्रतियोगिता बागमती गाउँपालिकामा निर्मित सहिद स्मृति रङ्गशालामा सञ्चालन हुनेछ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म बागमती–४ झुरझेस्थित रङ्गशालामा हुने जानकारी दिइयो । यस अघि उक्त प्रतियोगिता जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो । प्रतियोगितामा पहिलो हुने टोलीले रु १० लाख र दोस्रो हुनेले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सात र मोफसलका तीन टोली सहभागी हुने छन् । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई रु एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई रु १० हजार पुरस्कार प्रदान गरिने छ । फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यसअघि छैटौँ संस्करणको उपाधि मछेन्द्र युथ क्लब काठमाडौँले जितेको थियो । प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाले रु ३० लाख सहयोग गरेको छ ।

इन्डोनेसियाले अन्तर्राष्ट्रिय कार्बन व्यापार सुरु गर्ने

इन्डोनेसियाली सरकारले जनवरी २० मा आफ्नो पहिलो विदेशी कार्बन व्यापार सुरु गर्ने तयारी गरेको देशको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विदेशी कार्बन व्यापार इन्डोनेसियाली कार्बन एक्सचेन्ज मार्फत गरिने छ । जलवायु लक्ष्यहरू प्राप्त गर्न इन्डोनेसियाको प्रयासहरूको भागको रूपमा धेरै रणनीतिक ऊर्जा परियोजनाहरू समावेश हुने एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

वन तथा वातावरण मन्त्री हनिफ फैसोल नुरोफिकले राष्ट्रिय रजिस्ट्री प्रणालीलाई अप्टिमाइजेसनका साथै पूर्वाधार र अन्य उपकरणको तयारी गरी प्रक्षेपण गरिने बताउनुभयो ।

मन्त्रीले राष्ट्रिय निर्धारित योगदान कागजातमा उल्लेख गरिए अनुसार इन्डोनेसियाको जलवायु लक्ष्यहरू पूरा गर्ने उद्देश्यले कार्बन व्यापार गर्ने कुरा सुनिश्चित गर्नुभयो ।

इन्डोनेसियाले आफ्नो प्रयासबाट ३१.८९ प्रतिशतले उत्सर्जन घटाउने र सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय सहयोगमा ४३.२० प्रतिशतले कार्बन उत्सर्जन घटाउने लक्ष्य राखेको छ ।

प्राकृतिक स्रोतको सलामी रकम : प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी

काठमाडौँ, २८ पुस : प्राकृतिक स्रोतको सलामी रकम (रोयल्टी) वापतको राजस्व बाँडफाँटमा सङ्घीय सरकारको अधिकार खुम्चाएर प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी थालिएको छ ।

राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले ‘प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटको विद्यमान संरचनाको पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै रोयल्टी बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकनको तयारी भइरहेको जनाएको हो । आयोगले प्रतिवेदन सार्वजनिक गर्दै त्यसमाथि सुझाव मागेको छ ।

“विद्यमान कानुनमा तहगत सरकारबीच रोयल्टी बाँडफाँटको अनुपात सबै प्राकृतिक स्रोतका लागि समान रहेकामा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट बाँडफाँट गरिने प्राकृतिक स्रोतको रोयल्टीको हिस्सा क्रमश ५०ः२५ः२५ रहेको छ । अर्थात् अहिले प्राकृतिक स्रोतबाट प्राप्त राजस्वको बाँडफाँट गर्दा सङ्घीय सरकारले ५० प्रतिशत र प्रदेश तथा स्थानीय सरकारले समान २५ प्रतिशत राजस्व पाउँछन् । त्यस्तै, विद्यमान कानुनमा तहगत सरकारबीच रोयल्टी बाँडफाँटको अनुपात सबै प्राकृतिक स्रोतका लागि समान रहेकामा अहिले संशोधन गरेर फरक–फरक बनाउन लागिएको छ ।

प्रतिवेदनद्वारा प्रस्तावित नयाँ व्यवस्थाअनुसार पर्वतारोहरणको रोयल्टी सङ्घीय सरकारलाई ४९ प्रतिशत, सम्बन्धित प्रदेशलाई २२ दशमलव पाँच प्रतिशत र सम्बन्धित स्थानीय तहलाई २८ दशमलव पाँच प्रतिशत पु¥याउन लागिएको छ । त्यस्तै, विद्युत्को रोयल्टी सङ्घीय सरकारलाई ४५ दशमलव पाँच, सम्बन्धित प्रदेशलाई २३ र स्थानीय तहलाई ३१ दशमलव पाँच प्रतिशत बाँडफाँट गर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रिय वनबाट सङ्कलन हुने रोयल्टी सङ्घीय सरकारलाई २२ दशमलव पाँच, प्रदेशलाई ४८ र स्थानीय तहलाई २९ दशमलव नौ प्रतिशत बाँडफाँट गर्ने प्रस्ताव गरिएको छ । संरक्षित क्षेत्रको रोयल्टी सङ्घीय सरकारलाई ४७ दशमलव पाँच, प्रदेशलाई २२ र स्थानीय तहलाई ३० दशमलव पाँच प्रतिशत उपलब्ध गराउने व्यवस्था गर्न उचित हुने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, खानी तथा खनिजजन्य वस्तुबाट सङ्कलित रोयल्टी सङ्घीय सरकारलाई ३८ दशमलव पाँच, प्रदेशलाई २८ र स्थानीय तहलाई ३३ दशमलव पाँच प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ । रेडियो फ्रिक्वेन्सी वितरणमार्फत् प्राप्त हुने राजस्वमा भने सङ्घीय सरकारको अधिकार बढाउने प्रस्ताव गरिएको छ । रेडियो फ्रिक्वेन्सीबाट सङ्कलित राजस्व सङ्घीय सरकारलाई ५५ दशमलव पाँच, प्रदेशलाई २० र सम्बन्धित स्थानीय तहलाई २४ दशमलव पाँच प्रतिशत पु¥याउन सकिने प्रतिवेदनमा उल्लेख छ ।

प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टी सम्बन्धित प्रदेश र स्थानीय तहमा बाँडफाँटका लागि आयोगले सरकारलाई सिफारिस गर्दै आएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले रोयल्टी बाँडफाँटको अनुपातलाई आयोगले हरेक पाँच वर्षमा पुनरावलोकन गर्ने र सरकारलाई सिफारिस गर्ने व्यवस्था गरेको छ ।

टोखामा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता

काठमाडौँ, २८ पुस : टोखा नगरपालिकाले नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ ।

टोखाले नगरपालिकाभित्रका मुख्य सडकहरुमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता गरेको हो । टोखामा सडकवत्ती जडान गर्न नगरपालिकाले ६५ प्रतिशत र प्राधिकरणले ३५ प्रतिशत रकम व्यहोर्ने छन् । सम्झौताअनुसार टोखा नगरपालिकाले रु दुई करोड ८४ लाख ८३ हजार र प्राधिकरणले रु एक करोड ५३ लाख ३७ हजार लगानी गर्नेछन् ।

सडकबत्ती जडान गर्न प्रविधिको छनोट, बोलपत्रमार्फत खरिद कार्य सम्पन्न तथा निर्माण कार्यको सुपरिवेक्षणलगायतको कार्य प्राधिकरणले गर्ने सम्झौतामा उल्लेख छ । आयोजनामार्फत जडान गरिने सडकबत्ती संरचनाअन्तर्गत बिजुलीको खम्बा, तार, सडकबत्तीलगायतका वितरण प्रणाली प्राधिकरणको स्वामित्वमा हुनेछ ।

नगरपालिकाको स्वामित्वमा रहेका सोलार, सडकबत्ती जडित खम्बामा नयाँ स्मार्ट सडकबत्ती जडान गर्नुपर्ने भएमा नगरपालिकाले आफ्नै खर्चमा हटाइदिने, नगरपालिकाले सडकबत्ती उपयोग गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम कानुन बमोजिम तिर्ने, सडकबत्तीको प्रयोग गरेवापतको रकम मासिक रुपमा प्राधिकरण्लाई भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका साथै प्राधिकरणको तर्फबाट प्राधिकरणका उर्जा दक्षता तथा चुवावट नियन्त्रण विभागका निर्देशक टेकनाथ तिवारी, उपप्रबन्धक प्रमोद रिजाल र महाराजगञ्ज वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले हस्ताक्षर गर्नुभयो ।

एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता

काठमाडौँ, २८ पुस : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्नेभएको छ । एनआरएनएले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्याण्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

एनआरएनएका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताउनुभयो ।

यसैगरी एनआरएनएले आगामी चैत ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्नेभएको छ । यसपटक सङ्घले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ ।

काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

काठमाडौँ, २८ पुसः काठमाडौँ जिल्लामा करिब एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ ।

जनस्वास्थ्य कार्यालय काठमाडौँले आज यहाँ आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौँका ११ स्थानीय तहका एक लाख १० हजार २६३ जना किशोरीलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ ।  

काठमाडौँ महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई एचपिभी खोप दिइने विष्टले बताउनुभयो । एक हजार १०१ विद्यालय र एक सय ४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ । खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि ६ सञ्चालन हुने महानगरले जनाएको छ । 

जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले नगरपालिकामा प्रमुख र वडा कार्यालयमा वडाध्यक्षको संयोजकत्वमा खोप समिति गठन गरेर कोही किशोरी पनि खोपबाट वञ्चित हुन नपरोस् भनेर काम भइरहेको बताउनुभयो । उहाँले खोप लगाउन छुट्न सक्ने ठाउँको पहिचान गरेर विशेष अभियानसमेत सञ्चालन गरिने बताउनुभयो । 

सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेको जनाइएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ । नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको जानकारहरूले बताएका छन् । 

चीनले ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ सञ्चालनमा ल्यायो

पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबार यात्रु सेवा सुरु गरेको छ ।

यो मेट्रो ट्रेनमा कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको छ । यसले मेट्रो ट्रेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशतले घटाउँछ ।

सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताउनुभयो । यसले गर्दा वार्षिक रूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ ।

विशेष गरी, कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ । साथै, यसको संरचनाको स्थायित्व बढाउँछ । यस ट्रेनको क्याबिन भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण छ ।

ट्रेनमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन पनि समावेश छ, जसले यात्रुहरूका लागि सहज सवारी र थप सहज अनुभव सुनिश्चित गर्दछ ।

‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ: महासचिव पोखरेल

देउखुरी (दाङ), २८ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुन जरूरी रहेको बताउनुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी दाङको आयोजनामा आज घोराहीमा भएको ‘नेपालको संविधान २०७२ दलित अधिकार तथा प्रभावकारी कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले त्यसकाल लागि दलित समुदाय आर्थिक, सामाजिक रुपमा सशक्तीकरण र आम रूपमा समाजिक जागरणको आवश्यकता रहेको बताउनुभयो । 

महासचिव पोखरेलले धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराले सिर्जना गरेको सङ्कीर्ण सोचका कारण समाजमा उचनिजको व्यवहार हुने गरेको भन्दै यसलाई भत्काउन जरूरी रहेको बताउनुभयो । उहाँले धर्मका नाममा हुने विभेदलाई चिर्नका लागि समाजिक आन्दोलन चाहिने जिकिर गर्नुभयो । “संविधानमा लेखेर मात्रै यो समस्या समाधान हँुदैन । छुवाछूतजन्य व्यवहारमै परिवर्तन गर्न लाग्नुपर्छ”,महासचिव पोखरेलले भन्नुभयो,“गलत संस्कृतिहरुलाई सामजिक आन्दोनका माध्यमबाट बदल्नुपर्छ । त्यसका लागि सबै लागौँ ।”

दलित समुदायका पुख्र्यौली पेसालाई आधुनिकीकरण गर्दै आर्थिक सशक्तीकरण गर्न सकेमा सामाजिक अवस्था सुधारमा योगदान पुग्ने उहाँको भनाइ थियो । “दलित समुदायले परम्परादेखि गर्दै आएको पेसामा नयाँ सोच र प्रविधिको उपयोग गर्दै रुपान्तरण गर्नुपर्छ । पेसाप्रति घृणा होइन गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ । आर्थिक रूप सबल र आत्मनिर्भर हुनसकेमा धेरै हदसम्म विगतको विकृत सोचमा परिवर्तन ल्याउँछ किनकि पछिल्लो समय आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास हुँदैगएको छ”, महासचिव पोखरेलले भन्नुभयो ।

मुक्ति समाज जिल्ला कमिटी दाङका अध्यक्ष शङ्कर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष नन्दलाल विश्वकर्मा, केन्द्रीय सदस्य भागवत विश्वकर्मा, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपाली, नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकीलगायतले सम्बोधन गर्नुभएको थियो ।

लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने

सिरहा, २८ पुसः सिरहाको लहान नगरपालिकाले विद्यायल भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि नगरका ५९ सामुदायिक र ११ धार्मिक विद्यायलका शिक्षकहरूलाई तालिम दिन सुरु गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख फिरोज कटुवालले जानकारी दिनुभयो ।

प्रमुख कटुवालका अनुसार ३५÷३५ जनाको समूह बनाई पहिलो समूहलाई यही पुस २४, २५ र २६ गते  तालिम दिइसकिएको र दोस्रो समूहको तालिम आजदेखि सुरु गरिएको छ । यस अभियानले फरक क्षमता भएका बालबालिकाको पहिचान र समयमै उपचार गरी शिक्षण सिकाइमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । “हामीले बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकाको अपाङ्गताको अवस्था पहिचान गर्न लागेका छौँ । कुनै पनि बालबालिका एकअर्कामा भिन्न हुन्छन् । सर्वगुण सम्पन्न र सक्षम नहुन पनि सक्छन्”, प्रमुख कटुवालले भन्नुभयो, “त्यसैले उनीहरूरुको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक कारणले नियमित क्रियाकलापमा परिरहेको असर समयमै पहिचान गर्न सके उपचार गर्न र विशेष सीप सिकाउन सजिलो हुन्छ ।”

नगरप्रमुख महेशप्रसाद चौधरीले शिक्षकलाई दिइएको यस प्रकृतिको तालिमले फरक क्षमता भएका बालबालिकाको अवस्था, रुचि र आवश्यकता पहिचान गरी सोहीअनुसार पठनपाठनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बालबालिकामा उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसरका लागि क्रियाशील हुन नगरपालिकालगायत सरोकारवालालाई पनि यसले सहजता प्रदान गर्ने उहाँको भनाइ छ । 

महोत्तरीमा आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो

जलेश्वर (महोत्तरी), २८ पुस : महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार चालु आव २०८१/८२ को ६ महिनामा मात्र जिल्लामा भएका विभिन्न आपराधिक घटनामा सात साना हतियार बरामद गरिएका छन भने त्यसमा लाग्ने १९ राउण्ड गोली पनि बरामद गरिएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयले ती साना हतियारसहित पाँच जनालाई पक्राउ गरी उनीहरुविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आव २०८०/८१ मा तीन थान साना हतियार र एक थान भरुवा बन्दुक बरामद गर्नुका साथै नौ राउण्ड गोली बरामद गरेको छ ।

आव २०८०/८१ मा प्रहरीले आठ जनालाई हतियारसहित पक्राउ गरेको थियो । चार जनामाथि हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । त्यसरी नै जिल्ला प्रहरी कार्यालयले आव २०७९/८० मा पनि एक थान पेस्तोल र चार थान भरुवा बन्दुक बरामद गर्नुका साथै ३७ राउण्ड गोली बरामद गरेको थियो । पाँच जनालाई हातहतियारसहित पक्राउ गरिएकामा तीन जनामाथि हातहतियार तथा खरखजाना मुद्दा चलाएको प्रवक्ता जैसवारले बताउनुभयो । उहाँले साना हतियार बोक्न तथा लुकाउन सजिलो हुने भएकाले पछिल्ला दिनमा भइरहेको आपराधिक गतिविधिमा अपराधीले साना हतियारको प्रयोग बढी गर्ने गरेको पाइएको बताउनुभयो ।
–––

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

पर्वत, २८ पुसः चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ ।

चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो । यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ रोग लगायतका औषधि बनाइने बताइएको छ । चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनुपर्दछ । यसका लागि कम्पनीले प्रतिकिलो रु २० का दरले मूल्य निर्धाणरण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी रु आठका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि ल्याउन सकिने उद्योगले जनाएको छ ।

छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले यही औषधि तयार गर्ने नभई कच्चा पदार्थमात्र तयार गर्ने भएको हो । यहाँ कामै नलाग्ने काँडे झाडीका रूपमा लिइएको पदार्थलाई बिक्री गरेर किसानले समेत प्रशस्त आम्दानी गर्ने श्रेष्ठले बताउनुभयो ।

उद्योगसम्म ल्याएको जरा र डाँठलाई नुन, पानी र ‘सल्फिड एसिड’मा कच्चा पदार्थमा केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ । सुरुमा प्रशोधन केन्द्र सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृत भएका ३० जना कामदार भर्ति गरिने भएको छ ।

कम्पनीले पहिलोपटक एक हजार दुई सय सय केजी चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको जानकारी दिएको छ । सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनी सम्भवत नेपालमै पहिलो भएको हो ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले गैरकाष्ठ वनपैदावरअन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले बिक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताउनुभयो । पर्वतमा चुत्रो समुद्री सतहबाट एक हजार मिटर उचाइदेखि तीन हजार मिटर उचाइसम्म पाइने गरेको उहाँको भनाइ छ । बाँझो बन्दै गएका व्यक्तिगत खरबारी, पाखो यत्रतत्र पाइने चुत्रो जातको वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्थामा उद्योग सञ्चालन भएपछि किसान तथा सामुदायिक वनले समेत लाभ लिन सक्ने उहाँको भनाइ छ ।

नेपालमा अहिलेसम्म चुत्रोबारे उल्लेख नभएको हुँदा खरिद बिक्रीका लागि पुर्जी जारी गर्नसमेत नपर्ने उहाँले बताउनुभयो । चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी हुन नसकेको उहाँको भनाइ छ । जिल्लामै चुत्रो प्रशोधन उद्योग सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिक बाँझो रहेका खेतबारी र पाखो तथा जङ्गल आसपासमा चुत्रको व्यावसायिक खेती गर्ने योजना बनाउन थालेका छन् ।

हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण

म्याग्दी, २८ पुस : म्याग्दीको धवलागिरी र मालिका गाउँपालिको सिमाना भएर बग्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरि –७ हाडेभिर र मालिका–७ खारा जोड्ने म्याग्दी नदीमाथि एक सय एक मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु ५७ लाख ८६ हजार चार सय ८८ को लागतमा पुल निर्माण भएको धवलागिरि –७ का वडासदस्य रामबहादुर खत्रीले बताउनुभयो ।

पुल निर्माण भएपछि दुई घण्टाको घुराउरो बाटो १५ मिनेटमा छोटिएको छ । पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसङ्ख्या लाभान्वित भएका छन् । पुल निर्माणको कुल लागतमा ८५ प्रतिशत क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमको, १३ प्रतिशत धवलागिरि गाउँपालिका र दुई प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ ।

संक्रान्ति नजिकिएसँगै सखरखण्डर र पिँडालुको मूल्य उच्च

काठमाडौँ, २८ पुसः कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ८०, गाजर (तराई) प्रतिकेजी रु ७०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली तराई प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ६०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ९०, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १००, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु १२०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ३८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु १३०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी रु १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

ढोरपाटन (बागलुङ), २८ पुसः दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिने भएको छ ।

विसं २०७९ देखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको ह्वाइट गोल्ड इनर्जीका अध्यक्ष हेमबहादुर खत्रीले जानकारी दिनुभयो । अहिले ताराखोला गाउँपालिका–१ गाईघाट क्षेत्रमा विद्युत्गृह निर्माण सुरु भएको छ । इनर्जीको ६० र फरेन इन्भेष्टमेन्टको ४० प्रतिशत लगानीमा हाइड्रोपावर निर्माण थालिएको अध्यक्ष खत्री बताउनुहुन्छ ।

हाइड्रोपावर निर्माण सम्पन्न भएपछि केन्द्रीय प्रसारण लाइनको हरिचौर सबस्टेशनमा जोड्ने योजना रहेको उहाँले बताउनुभयो । आगामी दुई वर्षमा योजना सम्पन्न गर्ने काम तीव्रगतिमा भइरहेको खत्री बताउनुहुन्छ । आयोजना रु ७५ करोड लागतमा सम्पन्न हुने उहाँले बताउनुभयो । स्वदेशमा लगानी गरी देशको अर्थतन्त्र सुधार गर्न आफूहरूले हाइड्रोपावर निर्माण थालेको खत्रीले बताउनुभयो ।

“देशमा केही गर्नुपर्छ र युवालाई रोजगारी दिनुपर्छ भन्ने हिसाबले हामीले यहाँ ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालेका हौँ, यसबाट धेरैले रोजगारी पनि पाउन थालेका छन्”, अध्यक्ष खत्रीले भन्नुभयो, “दुई वर्ष अगाडि सुरु गरेको आयोजना बीचमा कामले गति लिन सकेको थिएन, अब धमाधम हुनेछ, यहाँबाट विद्युत् उत्पादन हुन थाल्यो भने बागलुङका दूरदराजसम्म पुग्ने अपेक्षा छ ।”

बागलुङमा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण हुँदै

ढोरपाटन (बागलुङ), २८ पुसः दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिने भएको छ ।

विसं २०७९ देखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको ह्वाइट गोल्ड इनर्जीका अध्यक्ष हेमबहादुर खत्रीले जानकारी दिनुभयो । अहिले ताराखोला गाउँपालिका–१ गाईघाट क्षेत्रमा विद्युत्गृह निर्माण सुरु भएको छ । इनर्जीको ६० र फरेन इन्भेष्टमेन्टको ४० प्रतिशत लगानीमा हाइड्रोपावर निर्माण थालिएको अध्यक्ष खत्री बताउनुहुन्छ ।

हाइड्रोपावर निर्माण सम्पन्न भएपछि केन्द्रीय प्रसारण लाइनको हरिचौर सबस्टेशनमा जोड्ने योजना रहेको उहाँले बताउनुभयो । आगामी दुई वर्षमा योजना सम्पन्न गर्ने काम तीव्रगतिमा भइरहेको खत्री बताउनुहुन्छ । आयोजना रु ७५ करोड लागतमा सम्पन्न हुने उहाँले बताउनुभयो । स्वदेशमा लगानी गरी देशको अर्थतन्त्र सुधार गर्न आफूहरूले हाइड्रोपावर निर्माण थालेको खत्रीले बताउनुभयो ।

“देशमा केही गर्नुपर्छ र युवालाई रोजगारी दिनुपर्छ भन्ने हिसाबले हामीले यहाँ ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालेका हौँ, यसबाट धेरैले रोजगारी पनि पाउन थालेका छन्”, अध्यक्ष खत्रीले भन्नुभयो, “दुई वर्ष अगाडि सुरु गरेको आयोजना बीचमा कामले गति लिन सकेको थिएन, अब धमाधम हुनेछ, यहाँबाट विद्युत् उत्पादन हुन थाल्यो भने बागलुङका दूरदराजसम्म पुग्ने अपेक्षा छ ।”

आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २८ पुस : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हिमपात हुने स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

‘अफ्रिकन स्वाइन फिभर’का कारण कैलालीमा ३८ बङ्गुर मरे

घोडाघोडी (कैलाली- ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ बङ्गुर मरेका छन् । घोडाघोडी– ९ का कृषक प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् ।

घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको थियो । “थप पुष्टि गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा समेत पठाएका थियौँ । त्यहाँ पिसिआरद्वारा परीक्षण गर्दा सोही रोग नै भएको पुष्टि भएको छ”, आचार्यले भन्नुभयो ।

यस रोगले हालसम्म चौधरीको फार्ममा ३२ पाठापाठी, पाँच माउ बङ्गुर र एक भाले बङ्गुर मरेका हुन् ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् । विसं २०७९ कात्तिकमा सुदूरपश्चिममा पहिलोपटक कैलालीको भजनीका कृषक जय बुढाको बङ्गुर फार्ममा यो रोग देखापरेको थियो । त्यसबेला बुढाले पालेका चार सय ८२ बङ्गुर मरेका थिए । त्यसपछि कैलाली, कञ्चनपुरलगायत जिल्लामा यो रोग देखापरिरहेको छ ।

अफ्रिकन स्वाइन फिभर बङ्गुर÷सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग भएको बताइएको छ । सङ्क्रमित हुने सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गरेको पशुचिकित्सकले बताएका छन् । त्यसबाहेक कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले बताउनुभयो ।

रोगी बुङ्गुरसँगको संसर्ग र तिनको ओसारपसारमा प्रयोग हुने वस्तुहरूमार्फत पनि यो रोग सर्ने गरेको जानकारी दिनुभयो

प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरको टोली

बैतडी- प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा गरिएको छ ।

प्रतियोगिताका लागि विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिनुभयो ।

कप्तानमा विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनिषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन् । 

प्रशिक्षकमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा र फिजियो तथा सहायक प्रशिक्षकमा दिपेन्द्र बोहरा रहेका सचिव भट्टले बताउनुभयो । यही पुस १९ गतेदेखि २५ गतेसम्म बैतडीमा सञ्चालन भएको  सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट  प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो ।

बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सञ्चालन भएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा अन्तिम टोली सार्वजनिक गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । 

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता हुँदैछ ।

ऋषिङ म्याराथनको उपाधि होमलाललाई, आर्मीका धावकको वर्चस्व

डुम्रे (तनहुँ- ‘ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ नाराका साथ आयोजना गरिएको चौथो ऋषिङ अल्ट्रा म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठ पहिलो भएका छन् । बयालिस दशमलव दुई किलोमिटरको दूरी दुई घण्टा ५७ मिनेट ४४ सेकेण्डमा पार गरी उनी पहिलो भएका हुन् । श्रेष्ठले रु ६५ हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै नेपाली सेनाकै राजन मेयोङ्वा निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ३६ सकेण्डमा पार गरी दोस्रो भए । उनले रु ४० हजार नगद पुरस्कार प्राप्त गरे । सेनाकै जुनेश खड्का दुई घण्टा ५९ मिनेट ५९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । उनले रु २५ हजार पुरस्कार पाए ।

यसैगरी, प्रतियोगितामा नवलपुरका रिखुलाल सिञ्जाली मगर, सोलुखुम्बुका अर्जुन कुलङ राई, सोलुखुम्बुकै मिलन राई र स्याङ्जाका हरि सिञ्जाली मगरले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुले जनही रु १० हजार पुरस्कार पाएको ऋषिङ गाउँपालिकाका सूचना अधिकारी सौगात तिमिल्सिनाले जानकारी दिए । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका गरी ५० धावकले सहभागिता जनाएका थिए ।

न्यायाधीशको सरुवा हुँदा १५ दिनदेखि अदालतमा मुद्दा सुनुवाइ कार्य स्थगित

पर्वत, २८ पुस : जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ ।

जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको पुस १२ गते सरुवा भएको हो । उक्त दिनदेखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन।

न्यायाधीश पौडेलको स्थानमा पर्वत जिल्ला अदालतमा अछामबाट प्रकाश ढुङ्गानाको सरुवा भएको छ । अछामबाट सरुवा हुनुभएका जिल्ला न्यायाधीश कार्यक्षेत्रमा हालसम्म उपस्थित नहुँदा दैनिक मुद्दा सुनुवाइ रोकिएको पर्वत जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रप्रकाश खड्काले बताउनुभयो ।

यौन दुव्र्यवहार घटनाकी पीडित एक महिलाले पटकपटक मुद्दा सुनुवाइ नहुँदा आफूले समयमा न्याय पाउन नसकेको गुनासो गर्नुभयो । विसं २०८१ वैशाखमा यौन दुव्र्यवहार घटनाकी पीडित ती महिलाको अदालतमा मुद्दा चालु प्रक्रियामा छ । आरोपित पुर्पक्षका लागि थुनामा भए पनि एउटै मुद्दा नौपटकसम्म इजलासमा पेशी चढेको अदालतको तथ्याङ्कमा उल्लेख छ । तर नौपटकसम्म पेशीका रूपमा इजलास पेस भएको मुद्दा ६ पटक विविध कारण देखाएर स्थगन भएको छ भने दुई पटकमात्र आदेश भएको छ । न्यायका लागि अदालतमा आएका सर्वसाधारण पटकपटक मुद्दा सुनुवाइ प्रक्रिया स्थगन हुँदा र समयमा मुद्दा फछ्र्योट हुन नसक्दा समस्यामा परेका छन् ।

पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ । न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ । सामान्य थुनछेक आदेशकार्य भने नरोकिएको श्रेस्तेदार खड्काले बताउनुभयो । पछिल्लो समय जिल्ला अदालतमा आर्थिक लेनदेनका मुद्दासँगै दुनियाबादी देवानी मुद्दाको सङ्ख्या अधिक रहेको उहाँले बताउनुभयो ।

मोरङ र झापा तीनपोखरी फुटबलको सेमिफाइनलमा

खाँदबारी (सङ्खुवासभा), २८ पुस : मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २–१ गेलले हराउँदै बुल्स–११ सेमिफाइनलमा पुगेको हो । बुल्सका लागि रोशनकुमार माझीले दोस्रो हाफको सातौँ मिनेटमा र ३०औँ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीतलपाटीका तर्फबाट पहिलो हाफको ३०औँ मिनेटमा विजय भुजेलले सान्त्वना गोल गरेका थिए ।

शनिबार भएको अर्को खेलमा एड्भान्स क्लबको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा वसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए । खेलको ३०औँ मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी गरे । दोस्रो हाफमा चुलाचुलीका तीर्थ बस्नेतले अर्को गोल थपेर आफ्नो टोलीलाई विजयी बनाए ।

यसअघि एपिएफ कोशी प्रदेश र आयोजक तीनपोखरी क्लब सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा जिल्ला बाहिरका तीन र जिल्लाभित्रका पाँच क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित रु दुई लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ भने सेमिफाइन पुगेका दुई टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोेगिताको फाइनल खेल आगामी माघ १ गते हुनेछ ।

कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

काठमाडौँ, २८ पुस : गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ ।

एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिनुभयो । उहाँ निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यसपटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरुको जिम्मेवारी नलिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफैँले सबै काम गर्दा गाह्रो नै हुनेरहेछ । विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ ।”

यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहनुभएका निश्चल बस्नेत, अर्पण थापालगायतसँग छलफल गरेको गायक सपूतले बताउनुभयो । उहाँले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्याउने चाहना भएको बताउनुभयो ।

“भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरुप दिएको हुँ । यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो”, उहाँले भन्नुभयो । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पार्नुभयो ।

अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ ।”

सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्कै’ गीतमा शब्द, सङ्गीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिनुभएको छ । चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय वैंकको निर्देशन

काठमाडौँ, २८ पुस : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो ।

राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । यस्तै, काठमाडौँ  उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ । विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

नेपाल-भारत संयुक्त व्यापार मञ्च बैठक : व्यापार र लगानी सहजीकरणमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ, २८ पुस : नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको बैठकमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्या समाधान सहज ढङ्गले हुनेगरी काम गर्नुपर्ने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा उहाँले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका सहर जोड्ने र नेपालका जलविद्युत् तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थ सहज आपूर्ति आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष ढकालले मुन्द्रा (गुजरात), धामरा (उडीसा) र जवाहरलाल नेहरू बन्दरगाह (मुम्बई) लगायतका भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तारको विषय उठान गर्नुभएको थियो ।

नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठककै अङ्गकै रूपमा रहेको जेबीएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासलगायत विषयमा छलफल गरेका थिए ।

संयुक्त बैठकमा जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिमा अनुसन्धान र व्यावसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायत विषयमा आवश्यक सहजीकरण गर्ने सहमति भएको छ ।

बैठकमा भएका सहमतिका विषयलाई शनिबार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमति हस्तान्तरण गर्नुभएको थियो । भारतका वाणिज्य सचिव बर्थवालले जेबीएफमा उठेका एजेण्डा कार्यान्यवनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्दामा यो बैठक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यहाँ उठेका विषयमा सहजीकरणका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो । सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल–भारतबीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको तथा त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताउनुभयो ।

यस्तै भारतीय पक्षबाट एन सुनिल कुमारले नेपाल–भारतबीच सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकाले आउने दिनमा थप सहजता थपिने बताउनुभयो । मञ्चको अर्को बैठक भारतको नयाँ दिल्लीमा आयोजना गर्ने सहमति भएको छ ।

जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, २८ पुस : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई विश्व्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

विश्व व्यापार सङ्गठन र काठमाडौँ विश्वविद्यालयले शनिबार आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गदै अर्थमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा देखिएको बताउनुभयोे । कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रको समेत विकेन्द्रीकरण गरी आपूर्ति शृङ्खलामा विविधिकरण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सृजना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल गरी साझा धारणा तय गर्न यस्ता सम्मेलन उपयोगी हुने स्पष्ट पार्नुभयो । जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण तथा अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्नु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

ठूलो लगानीमा निर्माण गरेका पूर्र्वाधारका संरचनामा बर्सेनि आउने प्राकृतिक विपत्ति बाढीपहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति शुङ्खलामा पर्ने अवरोधलाई ध्यानमा राखी जलवायुमैत्री विकास प्रक्रिया अगाडि बढाउनुपर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा अच्युत वाग्लेले निजी क्षेत्रमैत्री दिगो आर्थिक विकास आवश्यक रहेकाले यसबाट भविष्यको दिगो विकासका लागि टेवा पुग्ने बताउनुभयो । जलवायु परिवर्तन र विश्वव्यापी प्रवृत्ति रहेकाले दक्षिण एसियाको व्यापारलाई न्यायोचित तथा सन्तुलित तरिकारले प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले विश्वमा यसको असरलाई न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले व्यापार र जलवायु परिर्वतनका क्षेत्रमा रहेका समस्या तथा चुनौतीलाई सम्बोधन गरी दिगो व्यापारमा नेपाल अगाडि बढ्नुपर्ने बताउनुभयो । जलवायु परिर्वतन र दिगोपनालाई लक्षित गरी स्रोतको परिचालन र व्यवस्थापनमा अगाडि बढेको उल्लेख गर्दै उहाँले नीति निर्माण तथा कार्ययोजनामार्फत व्यापार प्रवर्द्धन गर्न अध्ययन, अनुसन्धानले सहयोग पुर्याउने बताउनुभयो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, चीन, टर्की, इन्डोनेसियालगायत नौ देशका प्रतिनिधिको सहभागिता छ ।

यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २८ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताउँछन् । नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यो गौरवलाई जोगाइ राख्नुपर्ने बताए ।

कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ । धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले पनि विश्वास गरेका छन् ।

नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन

काठमाडौँ, २७ पुसः भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएको छ ।

महानगरका तर्फबाट उपप्रमुख सुनिता डङ्गोलले सेवाग्राहीको सहजताका लागि नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन विभागलाई निर्देशन दिनुभएको हो ।

विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीलाई भवन निर्माणको गति, नक्शा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी, निर्णायकबाट हुने भवन नक्शा स्वीकृतिको प्रक्रियाका बारेमा जानकारी लिँदै उहाँले कगजी प्रक्रियासहितको व्यवस्था विस्थापन गर्न आग्रह गर्नुभयो । 

“विद्युतीय कगजी दुवै प्रणाली प्रयोग हुँदा कार्य सम्पादनमा विकृति आउने सम्भावना बढी रहन्छ । दुईमध्ये विद्युतीय कगजी प्रणाली आधिकारिक, विश्वसनीय र प्रभावकारी हुन्छ”, उपप्रमुखले भन्नुभयो, “विद्युतीय नक्शा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएर कगजी प्रणाली विस्थापन गरौँ । विवरण सङ्कलनका लागि कगजी प्रक्रिया आवश्यक भए स्वीकृत भएका फाइल ‘प्रिन्ट’ गरेर सुरक्षा गर्ने काम तत्काल गरौँ ।”

विभागका प्रमुख लामिछानेले इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबिपिएस) मा आधारित नक्शा स्वीकृत प्रणालीमा आधारित सेवा दिन सकिने अवस्थाका बारेमा चर्चा गर्नुभयो । उहाँका चालु आर्थिक वर्षको हालसम्म चार सय ७८ वटा भवन नक्शा स्वीकृत भएका छन् । 

तला थप गर्ने १५ स्वीकृत भएका छन् भने एक हजार ५९ वटाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिएको छ । एक सय दुई भवनको नक्शा नामसारी गरिएको उहाँले जानकारी दिनुभयो । 

गत आर्थिक वर्षमा एक हजार तीन सय २० भवनको नक्शा स्वीकृत, ६६ वटाको तला थप, तीन हजार सात सय ४५ भवन निर्माण सम्पन्न प्रमाणपत्र जारी र एक सय ५५ वटाको नक्शा नामसारी भएको थियो ।

पाँच हजार वर्गफिटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्शा स्वीकृत (डिपिसी) को नक्शा वडाबाट स्वीकृत हुन्छ । भवनको माथिल्लो भागका लागि केन्द्रबाट स्वीकृति लिनुपर्दछ । दश हजार वर्गफिट भन्दामाथि क्षेत्रफल भएका भवनको नक्शा स्वीकृत गर्न प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कन बमोजिम हुने व्यवस्था रहेको कामपाले जनाएको छ । 

भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग

काठमाडौँ, २७ पुसः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भन्सार विन्दुमा भारतीय सवारीसाधनको सामान ‘लोडअनलोड’ गर्ने तथा तौलपुलमा तौल लिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भारतीय ट्रकको अत्याधिक भारका कारण नवलपरासी सुस्तापूर्वको दुम्किबासमा पुल भाँचिएकाले सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई तत्काल भारतीय मालबाहक सवारीसाधनको तौल लिने व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यसरी दैनिक रूपमा भारतीय मालबाहक सवारीसाधनलाई निर्विवाद ७२ घण्टे सुविधामा सञ्चालन गर्न दिने कार्य भएको जनाउँदै आगामी दिनमा पनि यस्तै अवस्था रहे महासङ्घले समस्या हुने भएकाले यथाशीघ्र माग सुनुवाइ गर्न आग्रह गर्नुभयो ।

महासङ्घले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारतीय सवारीसाधनलाई तौलपुलमा तौल नगराउँदा पुल भाँचिने घटना घट्ने भएकाले सरकारले सरोकार भएका निकायसहितको सहभागितामा तत्काल तौलपुल सञ्चालनका लागि कार्यदल बनाइ कार्यविधि बनाउन पनि यसै प्रेस विज्ञप्तिमार्फत माग गर्दछौँ ।”

देशभरी सार्वजनिक यातायात सञ्चालन गर्ने सङ्घ/समिति/कम्पनी/प्रालिहरूको छाता सङ्गठन विगत २०३६ सालदेखि क्रियाशील रहेको छ । हाल देशभर करिब तीन लाख ४० हजार यात्रुबाहक र ढुवानीका मालसामान बोक्ने ६० हजार सवारीसाधन सञ्चालनमा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

सार्वजनिक यातायात क्षेत्रमा कूल चार लाख सवारी साधन सञ्चालनमा रहेका, करिब रु १२ खर्ब लगानी भएको र १५ लाखलाई रोजगारी सिर्जना गरेको यो व्यवसायमा सरकारको ध्यान नपुग्दा व्यवसायी पलायन हुने स्थिति रहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो । सोही सन्दर्भमा भारतीय ढुवानीका सवारीसाधनलाई नेपालभित्र स्वतन्त्र रूपमा ७२ घण्टे सुविधा सङ्घीय सरकारले दिएपछि नेपाली मालबाहक ढुवानीका सवारीसाधन सञ्चालन हुन नसकी पलायन हुने स्थिति सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो ।

बारम्बार लिखित रूपमा सरकारका सम्बन्धित निकायमा ध्यानाकर्षणसहित असमानसन्धि खारेजीको माग गर्दै आएको जानकारी गराउँदै शुक्रबार साँझ दुम्कीबासको विनयी खोलामा एनएल ०१ ए एच ५१६१ नम्बरको भारतीय मालबाहक सवारीसाधनले करिब ६० टन सामान बोकेर आउँदा पुल भाँचिएर पूर्व–पश्चिमबाट सञ्चालन हुने हजाराैँ सवारीसाधन १२ घण्टाभन्दा बढी बाटोमा रोकिएका भन्दै गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमद्वारा आज जारी विज्ञप्तिमा महासङ्घले पटक–पटक उठाउँदै आएको विषय सत्य प्रमाणित भएको दाबी गरिएको छ ।

माघ २५ मा रिलिज हुने ‘सारंग’ मा घर झगडा

काठमाडौं -निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ को टिजर बिहीबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने फिल्मको झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर,साथीसाथीबीचको प्रेम र समर्पणको बिषय प्रस्तुत गरेको देखिन्छ । टिजरमा शहरिया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तवरले उजागर गरेको पाइन्छ ।

कोरियोग्राफरको रुपमा परिचीत निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गरेका छन् । निर्देशक तामाङले फिल्ममा बाल मनोबिज्ञान, बालअधिकार, धनी र गरिब परिवारबीचको खाड्लको यथार्थ कथा देखाएको बताउने गरेका छन् ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत,डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको फिल्मको डिओपी गोपाल राय हुन् । मित्र डि गुरुङले सम्पादन गरेको फिल्म स्टेशन ५ ले बितरण गर्दैछ

जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा

दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको जनाएको छ ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्दा सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।

यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो ।“विश्लेषणले सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेट पहिलेको अवधिमा रेकर्ड नगरिएको देखाएको छ,” यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिीक अनुसन्धानले विमान अवतरणमा मद्दत गर्ने वा ‘ब्लाइन्ड ल्यान्डिङ’मा प्रयोग हुने रेडियो ट्रान्समिटर (लोकलाइजर) दुर्घटनाको गम्भीरता बढाउनको लागि दोषी ठहराएको छ ।

क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरलाई दक्षिण कोरियाली अधिकारीहरूले डाटा निष्कर्षको लागि अप्राप्य भनेका थिए भने यसलाई अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा विश्लेषणको लागि संयुक्त राज्य अमेरिका पठाएका थिए ।

उडानको अन्तिम क्षणहरूको जानकारी रेकर्ड गर्ने बक्सहरूमा तथ्याङ्क नष्ट भएको पाइएको र यो किन र कसरी भयो भन्ने बिषय खोजी भइरहेको अधिकारीहरूले बताए ।

“जारी दुर्घटना अनुसन्धानका क्रममा तथ्याङ्क हराउनुको कारण पत्ता लगाउने प्रयास जारी छ,” मन्त्रालयले भनेको छ।

दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धानकर्ताहरूले ती बाकसहरू अनुसन्धानका लागि महत्वपूर्ण रहेको बताउँदै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास जारी रहने बताए ।

“विभिन्न तथ्याङ्कको परीक्षण र विश्लेषण गरेर अनुसन्धान गरिनेछ । दुर्घटनाको कारण पत्ता लगाउन समिति सक्दो प्रयास गर्न प्रतिबद्ध छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा औंल्याएका छन् ।

चालकले पहिलो अवतरण प्रयासअघि नै चराको आक्रमण (चरासँग ठक्कर) खानसक्ने चेतावनी दिएका थिए, त्यसपछि दोस्रो अवतरण प्रयासमा ल्यान्डिङ गियरले काम गरेको थिएन ।

यसै हप्ता प्रमुख अनुसन्धानकर्ता ली सेउङ–योलले पत्रकारहरूसँग कुरा गर्दै घटनास्थलमा रहेको विमानकोे एउटा इन्जिनमा ‘प्वाँख हरू फेला परेको’ बताएका थिए।

अधिकारीहरूले दुर्घटना भएको स्थानमा रहेको मुआन विमानस्थल, दक्षिणपश्चिमी शहरमा रहेको क्षेत्रीय उड्डयन कार्यालय र राजधानी सियोलस्थित जेजु एयरको कार्यालयमा छापा मारेका छन्।

उनीहरुले जेजु एयरका प्रमुख कार्यकारीलाई पनि देश छोडी बाहिर जान रोक लगाएका छन् ।

विपक्षी दलले दुर्घटनाको छानबिनका लागि संयुक्त कार्यदल गठन गरेका थिए भने यातायातमन्त्री पार्क साङ–वूले यसै साता राजीनामा दिनुभएको थियो ।

राजीनामाको घोषणा गर्दै उहाँले भन्नुभएको थियो, “उड्डयन सुरक्षाको जिम्मेवारीमा रहेको मन्त्रीको हैसियतले मैले यस त्रासदीप्रति ठूलो जिम्मेवारी महसुस गरेको छु र स्वतन्त्र अनुसन्धानका लागि मार्गप्रशस्त गरेको छु ।”

गाजा युद्धविराम वार्ताबारे कतारद्वारा ट्रम्पका प्रतिनिधिलाई जानकारी

इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम वार्ताबारे मध्यस्थकर्ता कतारले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफलाई शुक्रबार जानकारी गराएको जनाएको छ ।

दोहामा भएको भेटमा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले विटकोफसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम र विशेषगरी गाजामा युद्धविराम गर्ने प्रयासबारे छलफल गरेको कतारी विदेश मन्त्रालयले जनाएको छ ।

यसै महिनाको सुरुमा मध्यस्थकर्ताहरूले गाजा युद्ध अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धक बनाइएका दर्जनौं इजरायली बन्धकहरूको रिहाईका लागि नयाँ प्रयास सुरु गरेका थिए।
कूटनीतिक स्रोतहरूले हमास र इजरायलमाथि अप्रत्यक्ष वार्तामा सम्झौता गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेको सङ्केत गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्तामा ‘वास्तविक प्रगति’ भएको बताउनुभएको छ ।

ट्रम्पले जनवरी २० मा आफ्नो सपथ ग्रहण गर्नुअघि बाँकी बन्दीहरूलाई रिहा नगरे हमासलाई ‘नराम्रो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिनुभएको थियो ।

विश्लेषकहरूका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जो बाइडेनको प्रशासनको अन्तिम दिनमा भन्दा ट्रम्पको कार्यकालमा सम्झौतालाई अन्तिम रूप दिन चाहेको बताइँदै आएको छ ।

इजरायली थिङ्क ट्याङ्क ‘मिसगाभ इन्स्टिच्युट फर नेसनल सेक्युरिटी एण्ड जियोनिस्ट स्ट्राटेजी’का वरिष्ठ अनुसन्धाता कोबी माइकलले यसै साताको सुरुमा एएफपीसँग भन्नुभएको थियो, “अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता ट्रम्पले कार्यभार सम्हाल्दासम्म म महत्वपूर्ण प्रगतिको अनुमान गर्न सक्दिनँ ।”

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक’ : महासचिव पोखरेल

देउखुरी (दाङ), २७ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो । नेपाल बुद्धिजीवी परिषद् दाङ र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा आज घोराहीमा भएको अन्तरसंवाद कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि बलियो निर्णायक राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताउनुभयो ।

महासचिव पोखरेलले एमालेले वामपन्थी ध्रवीकरणको मुद्दालाई प्राथमिकतामा राखेको र राष्ट्रिय शक्ति निर्माणका लागि काम गरिरहेको बताउनुभयो । इतिहासबाट शिक्षा लिने र भविष्यको यात्रा तय गर्नुपर्ने भन्दै उहाँले कार्यकर्ताको माध्यमबाट धु्रवीकरण गर्न एमालेको तयारी रहेको बताउनुभयो ।

एक अर्को प्रशंगमा महासचिव पोखरेलले ‘बिआरआई सम्झौता’ बाट नेपालले नयाँ मान्यता स्थापित गरेको दाबी गर्नुभयो । “बिआरआई सम्झौताको मस्यौदा नेपाली कांग्रेस र एमालेको सहमतिमा गरिएको हो । नेपालको इतिहासमै पहिलोपटक नेपाल आँफैले तयार पारेको सम्झौतापत्रमा हस्ताक्षर भएको छ”, उहाँले भन्नुभयो, “यसले प्रमुख पार्टी मिल्दा हरेक कुरा सम्भव हुँदोरहेछ भन्ने प्रमाणित भएको छ । मुुलुकको समृद्धि र स्थायित्वका लागि गठन भएको प्रमुख पार्टी सम्मिलित यो सरकार निश्चित उद्देश्य पूरा गर्नतर्फ अग्रसर छ ।”

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’ : पूर्वप्रधानमन्त्री भट्टराई

पाटन (ललितपुर), २७ पुसः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उक्त पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज यहाँ आयोजित प्रथम महालक्ष्मी नगरभेलामा उहाँले गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाले त्यसका लागि आर्थिक विकासलाई प्राथमितामा राख्नुपर्ने बताउनुभएको हो । “विद्रोहको चरण पार गरेर संविधान र कानुन त लेखियो, अब रोजगारी सिर्जना, कृषिको आधुनिकिकरण, घरेलु उद्योगमार्फत उत्पादन वृद्धि गरि देशलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ”, डा भट्टराईले भन्नुभयो,“देशभित्रै सूचना प्रविधि र सेवा क्षेत्रलाई प्रोत्साहन गर्दै प्रविधि र सेवाको निर्यात गरी आर्थिक विकास तथा रोजगारी सिर्जना गर्न सकिन्छ ।”

कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य दलबहादुर लिम्बू, पार्टीका ललितपुर जिल्ला समन्वय समिति संयोजक कृष्ण महर्जन, महालक्ष्मी नगर संयोजक सुजन राजथलालगायतले धारणा राख्नुभएको थियोे ।