`

अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

Nepal One HD १३ साउन २०८२ ९:५८
समाचार

काठमाडौँ, १३ साउन :गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक सञ्चालन गर्न अहिले जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी सारुले बताउनुभयो ।

त्यसैगरी दुई दिनदेखि परेको लगातारको वर्षाको कारण गुल्मीस्थित बडिगाड खोलामा पनि पानीको बहाब बढ्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालयले वर्षात्को समयमा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक मानिसलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीमा एक सय ८० भन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

त्यसैगरी, बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण जेउडे मोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताउनुभयो ।

आज बिहान पहिरो खसेपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेलाबेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युत्को पोल पनि जोखिममा रहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *