`

‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’

ढोरपाटन (बागलुङ), १ माघः बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आज माघेसङ्क्रान्ति मेला तथा जैमिनी कप चलिरहेको थियो । मेलामा स्थानीय कला, संस्कृति र विभिन्न प्रकारका झाँकी प्रदर्शनले दर्शकलाई लोभ्यायो । साँझ पर्दै थियो । आयोजकले प्रमुख अतिथिका रूपमा आउनुभएका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई बिदाई गर्नुपर्ने भयो । धेरै ठाउँमा आयोजकले अतिथिलाई मायाको चिनो भनेर विभिन्न प्रकार समान दिने गरेका छन् तर यहाँ भने फरक शैलीमा मन्त्री अधिकरीलाई बिदाइ गरियो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा मन्त्री अधिकारीलाई उपहार दिन मञ्चमा उक्लिुनसभयो  । उहाँको हालमा नौ किलोको काउली थियो । शर्माले मन्त्री अधिकारीलाई मायाको चिनो स्वरूप त्यही काउली थमाउनुभयो । उक्त दृश्यले मेला हेर्न आएका हजारौँ दर्शकको ध्यान मञ्चतिर खिच्यो । धेरै चकित भए । नगर उपप्रमुख शर्माले कृषिमन्त्रीलाई मायाको चिनोका रूपमा काउली हस्तान्तरण गरेको उद्घोष गर्दा चारैतिर हाँसो चलेको थियो । स्थानीय किसानले उत्पादन गरेको काउली मन्त्री अधिकारीले मुस्कुराउँदै ग्रहण गर्नुभयो ।

यस नगरपालिकाले विगत केही वर्षदेखि यस्ता कार्यक्रममा अतिथिलाई स्थानीय उत्पादनलाई प्रयोग गर्दै आएको छ । यस वर्ष पनि सोही नीतिअनुसार कृषिमन्त्री अधिकारीलाई नौ किलोको काउली उपहार दिइएको उपप्रमुख शर्माले बताउनुभयो । 

उहाँले उक्त काउली जैमिनी नगरपालिका–२ का किसान गङ्गाधर सापकोटाले उत्पादन गरेको बताउनुभयो । स्थानीय उत्पादनलाई मायाको चिनो तथा सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्दा बजारीकरणमा टेवा पुग्ने अपेक्षासहित नगरपालिकाले यस्तो कार्य गर्दै आएको उपप्रमुख शर्माले बताउनुभयो ।

“जैमिनी नगरपालिकामा व्यावसायिक तरकारीखेती गर्ने किसानको सङ्ख्या धेरै छ, उहाँहरूले बर्सेनि तरकारी बेचेर लाखौँ आम्दानी गर्नुहुन्छ । त्यस्ता किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले मायाको चिनाका रूपमा प्रयोग गर्ने र अन्य बेला पनि खरिद गर्ने गरेको छ”, उपप्रमुख शर्माले भन्नुभयो, “किसानलाई थप हौसला मिल्ने हुँदा उहाँहरूको उत्पादनलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।”

नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको त्यस अवसरमा जानकारी दिइयो । यसै वर्षदेखि सञ्चालन गर्ने गरी कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ ।

स्थानीय किसान प्रेमप्रसाद सापकोटाले नगरपालिकाले किसानलाई प्रोत्साहनका लागि गरेको यो कार्य सराहनीय रहेको बताउनुभयो । मेला महोत्सवमा प्रदर्शन र मन्त्री तथा अन्य पाहुनालाई स्थानीय उत्पादनलाई मायाको चिनोका रुपमा दिँदा किसानको पहिचान बढ्ने र बजारीकरणमा सहज हुने उहाँको विश्वास छ ।

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति

त्रिशूली (नुवाकोट), १ माघः माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ ।

माघेसङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । 

तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गर्नुभयो । यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको हो ।

गोरु जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाईमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाईको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिनुभयो ।

यसै अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइएको छ । गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाई संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोगसहित सहआयोजकको रुपमा भूमिका निर्वाह गर्दै आएकामा आगामी दिनमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर थप सहयोग गरिने बताउनुभयो ।

माघेसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाई प्रदर्शनी गरेर किसानले माघेसङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

गोरु जुधाई प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ । 

मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

काठमाडौँ, १ माघ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आज आयोजित समारोहमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धुलिखेल अस्पतालका संस्थापक डा रामकण्ठ मकाजु, मुटुरोग विशेषज्ञ डा स्मृति शाक्य, हास्यकलाकार हरिबंश आचार्य र लेखक कोजुले लोकार्पण गर्नुभयो ।

बुक हिलले प्रकाशन गरेको उक्त कृतिमा मुटुको कथा, बा छाति त दुखेको छैन नि ? हत्तेरिक्ता औषधि नै छुट्यो, नूनको आत्मकथा, रक्सी समातेपछि र छाडेपछि, फेरिएको जीवन शैली, स्वस्थ जीवन र प्रार्थनासहित ४१ शीर्षकमा अनुभव, अनुभूति र घटनासम्बन्धी विषयबस्तु समेटिएका छन् ।

कार्यक्रममा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रुइतले तुलनात्मकरुपमा नेपालको स्वास्थ्य क्षेत्र राम्रो रहेको र त्यसमा चिकित्सकहरुले व्यावसायिक धर्म तथा बिरामीप्रति करुणा व्यक्त गर्न सकेमा अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।

 मुटुरोग विशेषज्ञ डा कोइरालाले समाज रुपान्तरणका लागि किताब लेखन र अध्ययनको प्रभाव लामोसमयसम्म रहने उल्लेख गर्दै हामीले व्यतित गरेको जीवनशैली र खानपिनमा सामान्य सुधार गर्न सके राम्रो स्वास्थ्यलाभ लिन सकिने अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “मैले बिरामीलाई सधैँ भन्दै आएको छु, गर्न नहुने भनेको चुरोट नखाने, गर्नैपर्ने भनेको व्यायाम रहेको छ ।”

  डा मकाजुले पुस्तक अध्ययनबाट धेरै ज्ञान प्राप्त हुने भएकाले मुटुको कथासम्बन्धी पुस्तकले अध्ययनका लागि थप प्रेरणा प्रदान गर्ने धारणा राख्नुभयो ।

हास्यकलाकार आचार्यले पुस्तकलाई आफूले सबैभन्दा नजिक सिरानीमा राख्ने साथीका रुपमा लिने गरेको हुँदा जन्मोत्सवलगायतका अवसरमा उपहारका रुपमा पुस्तक दिँदा उपयुक्त हुने धारणा राख्नुभयो । डा शाक्यले मुटुको कथासम्बन्धी कृतिमा स्रष्टाले स्वास्थ क्षेत्रमा काम गर्दाको आफ्नो कथा, व्यथा, वास्तविकता, भावनालगायतका विषयबस्तु केही कविता र केही निबन्ध शैलीमा प्रस्तुत गरेको धारणा राख्नुभयो ।

लेखक कोजुले आफूले विभिन्न पत्रपत्रिकामा विभिन्न समय कालखण्डमा लेखिएका लेखहरुबारे उपचार गर्न आउने बिरामी र चिनेका व्यक्तिबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर पुस्तक लेख्ने जमर्काे गरेको बताउनुभयो । उहाँले जीवनको ४० वर्ष चिकित्सासम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा २३ वर्ष मुटु स्वास्थ्यमै केन्द्रित भएर उपचारमा संलग्न हुँदा देखेका, भोगेका विषयबस्तुलाई सरल तरिकाले सर्वसाधारणसम्म पु¥याउन कथा, निबन्ध र स्मरण समेटेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।    

प्रधानमन्त्री कप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

बैतडी, १ माघ : प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीमा सुरू भएको छ । उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ । फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा ५५ रन बनायो । जितका लागि पाएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे । सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । बलिङतर्फ गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक एक विकेट लिइन् ।

यसअघि ५५ रन बनाउने क्रममा गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी रेवती धामीले ४ तथा ऋतु कनौजिया र जानकी थापाले एक एक विकेट लिइन् । रेवती ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

प्रतियोगिताको एक समारोहबीच सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य प्रकाश देउवाले उद्घाटन गरेका थिए । समारोहमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्द, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना, ओलम्पियन दीपक विष्ट, सुदूरपश्चिम खेलकुद परिषद्का अध्यक्ष दीपकबहादुर सिंह, क्यान कोषाध्यक्ष पदम खड्का, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष बाशुदेव जोशीलगायतको उपस्थिति थियोे ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार क्यानको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय टोली एपिएफ क्लब र आर्मी क्लब सहभागी रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मण भट्टले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

 समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब छन् । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५÷२५ हजार पुरस्कार दिइनेछ । 

लिबियाको तटबाट ४९३ आप्रवासीको उद्धारः आईओएम

आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले गत हप्ता लिबियाको तटबाट ४९३ आप्रवासीलाई उद्धार गरिएको मङ्गलबार जनाएको छ ।

जनवरी ५ र जनवरी ११ को बीच, “चार सय ९३ जना आप्रवासीलाई लिबिया फर्काइएको थियो,” आईओएमले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आप्रवासीमा ४७ महिला र १७ बालबालिका रहेका छन् भने तीन आप्रवासीको शव फेला परेको आईओएमले जनाएको छ ।

सन् २०२४ मा, २१ हजार ७६२ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । त्यसमध्ये ६७४ को मृत्यु र एक हजार १५ जना भूमध्य मार्गमा हराएका थिए ।

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, १ माघः गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उहाँलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन् । लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता हुनुभएको हो । परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सपना अधूरै छाडेर अस्ताए चुङ्बा

सोलुखुम्बु, १ माघः चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा हुनुहुन्थ्यो । उहाँले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गर्नुुभएको थियो । पारिवारिक स्रोतका अनुसार, उहाँले प्लेन टिकट पनि लिइसक्नुभएको थियो ।

यस यात्रालाई उहाँले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रुपमा उहाँले लिनुभएको थियो । तर उहाँ एक साताअघि अचानक बिरामी पर्नुभयो । कलेजोसम्बन्धी समस्याले ग्रसित बनेपछि उहाँलाई काठमाडौँको ग्रान्डी अस्पतालमा भर्ना गरियो । भेन्टिलेटरमा उपचाररत शेर्पाले ६४ वर्षको उमेरमा आइतबार राति १२ः१५ बजे अन्तिम सास फेर्नुभयो । बाँकी सपना सधैँका लागि अधूरो छाडेर उहाँ स्वर्गीय हुनुभयो । 

खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लामा जन्मिनु भएका शेर्पा ‘वाइल्डलाइफ फोटोग्राफी’को क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि सक्रिय हुनुहुन्थ्यो । उहाँले नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थानहरूमा पुगेर दुर्लभ वन्यजन्तुका तस्बिरहरु खिच्नुभएको छ । उहाँले खिच्नुभएको जङ्गली याक, हिउँचितुवा र बाघका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका छन् । चुङ्बाको जीवन सङ्घर्ष र उपलब्धि जो कोहीका लागि प्रेरणादायी छ ।  

विसं २०४० मा तत्कालीन चौँरीखर्क गाउँ पञ्चायतका प्रधानपञ्चबाट उहाँको सार्वजनिक जीवनको सुरुआत भएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका शेर्पा पछिल्लो समय खुम्बु पासाङल्हामु गाउँपालिका समितिका सभापति हुनुहुन्थ्यो । उहाँले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

लुक्ला विमानस्थलदेखि चौँरीखर्कमा माध्यमिक विद्यालय स्थापनामा उहाँको ठूलो योगदान रहेकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ का वडाध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “खुम्बुको एउटा धरोहर गुमायौँ, उहाँ असाध्यै सहयोगी र दयालु हुनुहुन्थ्यो, कुनै लोभलालच र स्वार्थ बिना अथक समाजसेवा गर्ने मान्छे हामीले सायद पाउँदैनौँ होला ।” 

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका तत्कालीन प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले चुङ्बा शेर्पाको योगदानलाई सम्झँदै प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, “चुङ्बा शेर्पा नेपालमा मात्रै नभई विश्वभर ख्यातिप्राप्त प्रतिभाशाली वाइल्डलाइफ फोटोग्राफर हुनुहुन्थ्यो । उहाँको फोटोग्राफीले वन्यजन्तु पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका निर्वाह गरेको छ ।” चुङ्बा शेर्पा कुनै सामान्य फोटोग्राफर नभएर प्रकृतिप्रति गहिरो माया गर्ने व्यक्ति भएको उपाध्यायको ठम्याइ छ । 

चुङ्बा शेर्पा ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफीमा होमिनुभएको थियो । लामो समयसम्म यती एयरलाइन्समा जागिर र होटल व्यवसाय सफलतापूर्वक सञ्चालन गर्नुभएका उहाँ छोराछोरीलाई सबल बनाइसकेपछि सानैदेखिको सपना पूरा गर्न फोटोग्राफीमा लाग्नुभएको थियो । 

उहाँले क्याननको उच्चस्तरीय क्यामेरा र लेन्स प्रयोग गर्न विदेशीहरूबाट अनलाइन कक्षा लिनुभएको थियो । वन्यजन्तुका फोटो खिच्न शेर्पाले धेरै जोखिम मोल्नुभएको थियो । जङ्गली याकको फोटो खिच्ने क्रममा उहाँलाई याकले आक्रमण गरेको उहाँले आफ्नो अन्तरवार्तामा भन्नुभएको छ । बाघको फोटो खिच्दा पनि बाघले झम्टिएपछि भागेर ज्यान जोगाउनुभएको थियो । नेपालको निकुञ्ज विभागले देशैभरका संरक्षित क्षेत्रमा फोटो खिच्न उहाँलाई अनुमति दिएको थियो । 

शेर्पाले सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ३३ पटक फोटो खिच्नुभएको वडाध्यक्ष फुनुरु बताउनुहुन्छ । उहाँले तिब्बतसँगको सिमाना लिमी भ्याली पुगेर दुर्लभ जङ्गली याकको सुन्दर तस्बिर खिच्नुभएको थियो । यसअघि नरेश कुसीको टिमले जङ्गली याकलाई क्यामेरामा कैद गर्न सफल भएको थियो । वाइल्डलाइफ फोटोग्राफरका रूपमा चुङ्बाले खिचेको तस्बिर नै हालसम्मकै सुन्दर भएको जानकारहरू बताउँछन् ।

शेर्पाले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पु-याउनुभएको छ । नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पर्यटन बोर्डजस्ता थुप्रै संस्थाबाट उहाँले सम्मान प्राप्त गर्नुभएको छ । 

शेर्पाका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा छेवाङ शेर्पा चिकित्सक हुनुहुन्छ भने छोरी बन्दा फुटी शेर्पा जहाजकी क्याप्टेन हुनुहुन्छ । पत्नी आङफुटी शेर्पाको निधन १० महिनाअघि भएको थियो भने छोरी मिङ्मा शेर्पाको पाठेघरको क्यान्सरबाट डेढ वर्षअघि निधन भएको थियो । 

उहाँका परिवारका सदस्यहरुका अनुसार शेर्पाले फोटोग्राफीबाट कहिल्यै आर्थिक लाभको अपेक्षा गर्नुभएन । आफ्नो फोटोहरूले नेपालको वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिन सकून् भन्ने उहाँको चाहना थियो । 

सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक

काठमाडौँ, १ माघ : सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको बचत र ऋण व्यवस्थापनलाई व्यवस्थित गर्न नयाँ मापदण्डसहितको मस्यौदा सार्वजनिक गरेको छ ।

पछिल्लो समय ठूलो समस्या देखिएको सहकारी क्षेत्रको वित्तीय गतिविधिमा पारदर्शीता र सन्तुलन ल्याउन राष्ट्र बैंकले सोमबार ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड’ को मस्यौदा सार्वजनिक गरेको हो । उक्त मापदण्डको मस्यौदामा सहकारी संस्थाले आफ्ना सदस्यबाट मात्र बचत सङ्कलन गर्न पाउने, कार्यक्षेत्रअनुसार बचत सङ्कलन सीमा तोक्ने, ऋण लगानीका कडाइ गर्ने, उत्पादनशील क्षेत्रको लगानीमा जोड दिनेलगायत विषय राखिएका छन् ।

राष्ट्र बैंकले सहकारी क्षेत्रको अनुशासन र पारदर्शीता सुनिश्चित गर्न यो मस्यौदा ल्याएको जनाएको छ । माघ मसान्तभित्रमा यो मस्यौदामाथि सुझाव दिन आग्रह गरेको छ । मस्यौदा मापदण्डमा राखिएको सदस्य बाहेकबाट बचत सङ्कलन गर्न पूर्णतः निषेध गर्ने तथा निश्चित सीमाभित्र मात्रै सङ्कलन गर्न पाउने प्रावधानले गैर–सदस्यबाट हुने जोखिमपूर्ण बचत सङ्कलनको अभ्यासलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

“बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले आफ्ना सदस्यबाट मात्र बचत सङ्कलन गर्न सक्ने छ भने यस्तो संस्थाले प्राथमिक पुँजी कोषको पन्ध्र गुणासम्म बचत सङ्कलन गर्न सक्नेछ । संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कूल सम्पत्तिको पाँच प्रतिशतसम्म वा पुँजी कोषको बढीमा सय प्रतिशतसम्म ऋण लिन सक्नेछ”, मस्यौदामा भनिएको छ ।

बचत तथा ऋणको कारोबार गर्ने संस्थाको बचत सङ्कलन सीमा पनि तोकिएको छ । एउटा जिल्लामा मात्र कार्यक्षेत्र भएको सहकारीले रु १० लाख, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएमा रु २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएमा रु ५० लाखसम्म मात्र बचत सङ्कलन गर्नसक्नेछ । संस्थाले साधारण र नियमित प्रकारका बचत खाता सञ्चालन गर्न सक्ने र सहकारीका सदस्यले रू १० लाखभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रुपमा स्रोत खुलाउनुपर्ने मस्यौदामा उल्लेख छ ।

त्यस्तै कर्जा प्रवाहमा पनि कडाइ गर्न लागिएको छ । “बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले सदस्यता लिएको न्यूनतम तीन महिना नपुगेका सदस्यलाई ऋण लगानी गर्न सक्नेछैनन् । संस्थाले प्रति सदस्य प्राथमिक पुँजीकोषको अधिकतम १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न सक्नेछैन”, मापदण्डको मस्यौदामा भनिएको छ, “संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको पाँच गुणा वा बढीमा रु तीन लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकममात्र बिना धितो ऋण प्रवाह गर्न सक्नेछ ।”

यसरी बिना धितोकर्जा प्रवाह गर्दा कम्तीमा दुई सदस्यको जमानी लिनुपर्ने तथा सञ्चालकले आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋण बाहेक कुनै प्रकारको थप ऋण लिन नपाउने व्यवस्था ल्याउन लागिएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले सहकारी बैंक र साना किसान लघुवित्त संस्थाको शेयर तथा नेपाल सरकारले जारी गरेको ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था मापदण्डको मस्यौदामा राखिएको छ । यस बाहेक अन्य कुनै संस्थाको शेयर, डिबन्ेचरमा लगानी गर्न पाइने छैन ।

सहकारी संस्थालाई घरजग्गा खरिदमा पनि कडाइ गर्न लागिएको छ । “विगत तीन वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालनमा रहेको, सञ्चित नोक्सानी नरहेको र न्यूनतम पुँजीकोष कायम रहको अवस्थामा प्राथमिक पुँजीको बढीमा २५ प्रतिशत वा जगेडा कोषको बढीमा ५० प्रतिशतसम्म हुन आउने रकम बराबरको मात्रै जग्गा वा भवन कार्यालय प्रयोजनका खरिद वा निर्माण गर्न सकिनेछ”, मस्यौदामा भनिएको छ, “यी शर्त विपरीत सम्पति खरिद वा निर्माण गरेमा सो बराबरको रकम प्राथमिक पुँजीकोष गणना गर्दा घटाउनु पर्नेछ ।”

त्यस्तै सहकारी संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा जोड दिइएको छ । “विशिष्टिकृत संस्थाबाहेक ठूलो कारोबार गर्ने संस्थाले कूल ऋणको न्यूनतम ५० प्रतिशत कृषि, उद्योग र व्यवसाय सञ्चालन तथा विस्तारलगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्नेछ”, मापदण्डको मस्यौदामा उल्लेख छ, “उक्त सीमा हाल कायम नरहेमा २०८३ असार मसान्तसम्म कायम गर्नुपर्नेछ । संस्थाले कृषि, उद्योग र व्यवसायको लागि ऋण प्रवाह गर्दा किस्ता÷ब्याज भुक्तानी गर्न उपयुक्त ग्रेस अवधि प्रदान गर्न सक्नेछ ।”

बचत तथा ऋणको कारोबार गर्ने संस्थाले सदस्यको बचतको सुरक्षणमा बढीमा ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था ल्याउन लागिएको छ । अचल सम्पत्तिको धितोमा ऋण प्रवाह गर्दा महानगरपालिका तथा उपमहानगरपालिकामा रहेको धितो मूल्याङ्कनको बढीमा ५० प्रतिशतसम्म र नगरपालिका तथा गाउँपालिकामा रहको धितोको हकमा बढीमा ६० प्रतिशतसम्म ऋण प्रदान गर्न सक्ने मस्यौदामा उल्लेख छ ।

बचत तथा ऋण सहकारी संस्थाको ऋण पुनर्रसंरचना तथा पुनर्रतालिकीकरणसम्बन्धी व्यवस्था पनि मापदण्डको मस्यौदामा राखिएको छ । “विशेष परिस्थितिमा नियमनकारी निकायबाट निर्देशन जारी भएको अवस्थामा ऋणीले उचित कारणसहित लिखित अनुरोध गरेमा सञ्चालक समितिको निर्णयअनुसार निश्चित अवधिका लागि मात्र ऋण पुनर्तालिकीकरण वा पुर्नसंरचना गर्न सकिनेछ”, मस्यौदामा भनिएको छ, “पुनर्रसंरचना वा पुनर्रतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भइरहेका ऋणलाई पुनर्तालिकीकरण वा पुर्नसंरचना गरिएमा साढे १२ प्रतिशत ऋण नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।”

तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै

खाँदबारी (सङ्खुवासभा), २९ पुसः यहाँस्थित खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबलको फाइनलमा झापाको चुलाचुली क्लब प्रवेश गरेको छ ।

चुलाचुलीले मङ्गलबार हुने फाइनल खेलमा आयोजक तीनपोखरी क्लबसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । आज खाँदबारी रङ्गशालामा भएको दोस्रो सेमीफाइनलमा एपिएफ कोशी प्रदेशलाई टाइबे्रकरमा ४–२ गोलले हराउँदै चुलाचुली फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा पुगेको थियो ।

फाइनलमा पुगेको आयोजक तीनपोखरी क्लबले मोरङको बुल्स ११ लाई १–० गोलले हराएको थियो । प्रतियोगितामा आठ क्लब सहभागी थिए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद रु दुई लाख २५ हजार प्राप्त गर्नेछ । उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ ।

भूमि आयोगका जिल्ला अध्यक्षको शपथ

काठमाडौँ, २९ पुसः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ५६ जिल्लाका भूमि समस्या समाधान आयोगका अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।

उहाँले आइतबार नियुक्ति गरिएका सातै प्रदेशका विभिन्न जिल्लाका आयोग अध्यक्षलाई आज यहाँ आयोजित समारोहमा शपथग्रहण गराउनुभएको हो ।

कोशी प्रदेशका जिल्ला अध्यक्षहरूमा ताप्लेजुङमा कृष्णकुमार बस्नेत, पाँचथरमा धनकुमार फियाक, इलाममा प्रकाश अधिकारी, सङ्खुवासभामा शङ्करमान कँडेल, धनकुटामा देवमान राई, भोजपुरमा देवीराम चौलागाई, खोटाङमा निर्मल राई, सोलुखुम्बुमा नातीकाजी गुरुङ, ओखलढुङ्गामा पुरुषोत्तम लुइँटेल, उदयपुरमा बलबहादुर तामाङ, झापामा मदनप्रसाद अधिकारी, मोरङमा नवीन पौडेल, सुनसरीमा इन्द्रप्रसाद पोखरेल रहनुभएको छ ।

मधेस प्रदेशका जिल्ला अध्यक्षहरूमा सिराहामा रामअधिन यादव, धनुषामा सुरेशकुमार कोइराला, महोत्तरीमा पीताम्बर महत्तो, सर्लाहीमा मदनबहादुर विश्वकर्मा, बारामा भरतबहादुर घले र पर्सामा तबरेज अहमद रहनुभएको छ ।

यसैगरी, बागमती प्रदेशको दोलखामा राकेश श्रेष्ठ, रामेछापमा गौतमकुमार लामा, सिन्धुलीमा कौशल कोइराला, काभ्रेपलाञ्चोकमा विदुरप्रसाद हुमागाई, सिन्धुपाल्चोकमा ज्ञानेन्द्रबहादुर राउत, रसुवामा जनकराज उपाध्याय, नुवाकोटमा अर्जुनप्रसाद न्यौपाने, धादिङमा हरिप्रसाद पन्त, चितवनमा इमानसिंह मुक्तान, मकवानपुरमा बलराम लामा, भक्तपुरमा दीपक विसुङ्के, ललितपुरमा गणेशकुमार आचार्य र काठमाडौँमा कृष्णजी खड्का हुनुहुन्छ ।

गण्डकी प्रदेशमा गोरर्खामा राजनराज पन्त, लमजुङमा दामोदर अधिकारी, तनहुँमा गोविन्दराज सिलवाल, कास्की बैनबहादुर गुरुङ, मनाङमा साङ्दो लामा, मुस्ताङमा विशन पुर्जा, पर्वतमा देवेन्द्रराज पाण्डे, म्याग्दीमा खड्क गिरी, बागलुङमा भीमप्रसाद शेरचन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा तारापति खरेल रहनुभएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा लालबहादुर गुरुङ, रुपन्देहीमा कुमार थापामगर, कपिलवस्तुमा झविलाल पोख्रेल, पाल्पामा रामबहादुर कार्की क्षेत्री, अर्घाखाँचीमा यादवप्रसाद घिमिरे, गुल्मीमा कृष्ण सुनार, रुकुमपूर्वमा हरिहर पौडेल, रोल्पामा सिमबहादुर विष्ट, प्युठानमा सुवास केसी, दाङमा हुकुमबहादुर बस्नेत, बाँके घननाथ खनाल र बर्दियामा अरुणप्रकाशसिंह राठोर रहनुभएको छ ।

कर्णाली प्रदेशका रुकुम पश्चिममा शशीराम नेपाली, सल्यानमा वीरबहादुर सेजवाल, डोल्पामा तुलचन्द्र बुढा, मुगुमा रामबहादुर रावत, हुल्लामा नरबहादुर रोकाया, कालीकोट विष्णुबहादुर शाही, जाजरकोटमा सर्पराज रावत, दैलेखमा बरुनाथ योगी र सुर्खेतमा केशरबहादुर ओली अध्यक्ष रहनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्षमा बाजुरामा जनकबहादुर रोकाया, डोटीमा डम्बरबहादुर ओली, अछाममा राम आउजी, दार्चुलामा लालसिंह धामी, बैतडीमा रमेशदत्त पाण्डेय, डडेलधुरामा कैलाशकुमार पाण्डेय र कैलालीमा यज्ञराज उपाध्याय रहनुभएको छ ।

महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान

बहुप्रतीक्षित सन् २०२५ महाकुम्भ सुरु भएसँगै दुई नदीहरूको सङ्गम गङ्गा र यमुनामा पवित्र स्नान गर्न भक्तहरू भेला भएका छन् ।

उत्तर प्रदेशका प्रहरी महानिदेशक (डीजीपी) प्रशान्त कुमारले करिब एक करोड मानिसहरूले पवित्र सङ्गममा स्नान गरेको बताउनुभयो । “अहिलेसम्म करिब एक करोड भक्तहरूले सङ्गम क्षेत्रमा पहिलो दिनमा ‘अमृत स्नान’ गरेका छन् ।”

सङ्गममा भक्तजनको चहलपहल जारी रहेकाले प्रहरी तैनाथ रहेको र प्रहरी प्रशासनले ड्रोनबाट अनुगमन गरिरहेको उहाँले बताउनुभयो । डीजीपीले कुनै पनि दुर्घटनाको बारेमा कुनै जानकारी रिपोर्ट हालसम्म गरिएको छैन ।

“सङ्गममा भक्तजनको घुइँचो जारी छ, त्यहाँ प्रहरीको उपस्थिति छ, ड्रोनको निगरानी पनि भइरहेको छ साथै सुरक्षाका लागि अन्डरवाटर ड्रोनको पनि प्रयोग गरिएको छ । अहिलेसम्म प्रयागराज क्षेत्रमा कुनै अप्रिय घटना घटेको छैन । राज्यका सबै वरिष्ठ अधिकारी र सीएमओ कार्यालयले स्थितिलाई निगरानी गरिरहेका छन्,” डीजीपी कुमारले बताउनुभयो ।

“सडकबाट आउने भक्तजनका लागि यातायात विभागले गरेको सबै व्यवस्था पनि सुचारु रूपमा चलिरहेको छ । प्रयागराज जाने सबै सडकमा सवारी आवागमनमा कुनै अवरोध छैन । आजको व्यवस्थामा देखिएका कमजोरीलाई भोलिका लागि सुधार गरी काम गरिने छ,” उहाँले थप्नुभयो ।

विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम महाकुम्भ सन् २०२५ औपचारिक रूपमा प्रयागराजमा सुरु भएको छ ।

गङ्गा, यमुना र सरस्वती नदीको पवित्र सङ्गमस्थल त्रिवेणी सङ्गममा हजारौं भक्तजन यसअघि नै स्नानमा सहभागी भइसकेका छन् । सरकारले उक्त कार्यक्रमको तयारीलाई व्यवस्थित बनाएको छ । मेला क्षेत्रमा १५ हजार सरसफाइ कार्यकर्ता, २५ सय गङ्गा सेवा दूत (स्वयंसेवक) मुख्य व्यवस्थाहरू रहेका छन् ।

राज्य सरकारले ६९ हजार एलईडी बत्ती स्थापना गरेको छ, जसमा सौर्य हाइब्रिड सडक प्रकाश, दुई हजार ७५० भीड–निगरानी क्यामेरा र २४÷७ एकीकृत कमाण्ड र नियन्त्रण केन्द्र निगरानी समावेश छ ।

पौष पूर्णिमाको शुभ अवसरमा सोमबारदेखि शुरु भएको ४५ दिने महाकुम्भमा भक्तजनको सहयोगका लागि उत्तर प्रदेश प्रहरीले फ्लोटिङ्ग प्रहरी चौकी स्थापना गरेको छ । कार्यक्रमको सुरक्षाका लागि स्थानीय प्रहरी र अर्धसैनिक बलसहित १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) ले भक्तहरूको सुरक्षा सुनिश्चित गर्न सङ्गममा एम्बुलेन्स तैनाथ गरेको छ । सम्पूर्ण कार्यक्रममा चिकित्सक र एनडीआरएफ अफिसरहरू सहितको मेडिकल सुविधासहितको एम्बुलेन्सहरू २४÷७ सञ्चालन हुनेछन् ।

जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ ।

तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, “सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।”

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ, २९ पुसः नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आज सम्पन्न भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १६ गतेदेखि सुरु भएको उक्त सैनिक अभ्यास आज सम्पन्न भएको हो ।

एक विशेष कार्यक्रमका बीच अभ्यासको समापन गर्दै बलाध्यक्ष रथी प्रदिपजङ्ग केसीले संयुक्त अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सम्बद्ध सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अभ्यासका क्रममा दुवै देशका फौजले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगाव प्रशंसनीय रहेको बताउनुभयो ।

संयुक्त अभ्यास निर्देशक सहायक रथी सुरज गुरुङ्गद्वारा अभ्यासको संक्षिप्त जानकारीसहित सुरु भएको कार्यक्रममा भारतीय सेनाको अभ्यास पर्यवेक्षक समूहका तर्फबाट ब्रिगेडियर जनरल गोविन्दन प्रविणले मन्तव्य राख्नुभएको थियो ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोगलगायत विषय समावेश गरी अभ्यास सञ्चालन भएको नेपाली सेनाले जनाएको छ । अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा दुवै देशका छ सय ६८ सैनिकहरू सहभागी भएका थिए ।

समापन कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी प्रेमबहादुर पुन, रथीवृन्द, अधिकृत, नेपालका लागि भारतीय सैनिक सहचारीलगायतको उपस्थिति थियो ।

विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको यस अभ्यासले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनाका साथै सकल दर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारी अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २९ पुसः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिनुभएको छ । पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आज प्रहरी प्रधान कार्यालय नक्सालमा उहाँले सङ्गठनको विकास र सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।

“पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुसीभन्दा माथि राख्दै पदीय जिम्मेवारी र जवाफदेहिता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देश गर्दछु”, प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले सङ्गठनको छवि उच्च गर्न र बृहत्तर हितका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कडायत र रवीन्द्र केसी, प्रहरी नायब महानिरीषकहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरूण पौडेल र गोविन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गर्नुभएको थियो । 

माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ, २९ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गर्नुभएको हो । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उहाँले छलफल गर्नुभएको थियो । उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले सो संस्थाको प्रशंसा गर्नुभयो । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा उहाँले सन्तोष व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुुललगायतको अवलोकन गर्नुभयो । 

फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण टिजर रिलिज भए लगत्तै चर्चा सुरु

काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो ।

फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने टिजरमा फिल्मका कलाकारहरु प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा अँटाएका छन् । बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा प्रदीप र सौगातको एक्सनलाई विशेष स्थान दिइएको छ । टिजरमा कलाकार रविन्द्रले ‘कथामा बहुत ट्वीस्ट भयो, दुई वटा पिताम्बरको एउटै कथा छ’ भनी बोलेको संवादले फिल्ममा दुई पिताम्बर हुन् कि भन्ने छनक दिन्छ ।

निर्देशक कृषाले हरेक कथा अनुसार नयाँ फिल्म बन्ने भएकाले ‘पिताम्बर’ पनि नयाँ कथा रहेको बताइन् । उनले आफ्नो टिमले ठूलो क्यानभासमा राम्रो फिल्म बनाएको भन्दै त्यो कुरा ट्रेलर रिलिजमा देखिने बताइन् ।

नायक प्रदीप खड्काले एक्सनले सबै कुरा बोल्नै भन्दै टिजरमा सबै कुरा केही हदसम्म देखिएको दाबी गरे । फिल्म चाहना अनुसार बनेको भन्दै आफूले ‘पिताम्बर’मा स्क्रिप्ट भन्दा पनि निर्देशक कृषाको इन्टेन्सन हेरेर काम गरेको खुलाए । उनले आफ्नो करियरमा ‘पिताम्बर’ नयाँ खुड्किलो हुने दाबी गरे ।

निर्माता विशाल चौलागाईंले फिल्म प्रति आफ्नो रुची बढ्दै गएकाले अझ राम्रो फिल्म बनाउनेमा आफू प्रतिबद्ध रहेको बताए । दिदी कृषाको फिल्म प्रतिको लगाव प्रति आफू नतमस्तक रहेको बताउँदै आफू फिल्ममा सक्रिय रहँदा साथीभाईहरु पनि छक्क परेको खुलाए । पेशाले मेडिकल व्यवसायी विशालले यसअघि कृषाको निर्देशन रहेको फिल्म ‘एैचोपैचो’ निर्माण गरेका थिए ।

नायिका सुरक्षा पन्तले एउटा राम्रो टिमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । नायिका सुपुष्पा भट्टले फिल्ममा आफूले ‘इमोसनल’ चरित्र निभाउनु परेकाले चरित्र विकासमा सहयोग पुगेको बताइन् । नायिका दिव्या रायमाझीले फिल्म आफ्ना लागि राम्रो बनेको बताइन् ।

फिल्म ‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन् ।केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी(अनमोल)ले समेत अभिनय गरेका छन् ।विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्युटिङ चिपहरूमा नयाँ निर्यात नियमहरू सार्वजनिक गरेको छ । यसले मित्र राष्ट्रहरूलाई बिक्री सहज बनाउने र चीन जस्ता देशहरूको पहुँचलाई थप सीमित गर्ने लक्ष्य राखेको छ ।

बन्द एआई मोडेलहरूका लागि तौलका नियमहरू पनि समावेश भएका प्रतिबन्धहरू सन् २०२३ मा चीनमा केही एआई चिपहरू निर्यात गर्ने सम्बन्धमा घोषणा गरिएका प्रतिबन्धहरूमा आधारित छन् । अमेरिकाले चीनलाई उन्नत अर्धचालक (सेमीकन्डक्टर) हरूकोे क्षेत्रमा रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्दछ ।

“अमेरिकाले अहिले एआई विकास र एआई चिप डिजाइन दुवैमा विश्वको नेतृत्व गरिरहेको छ र हामीले यसलाई यसरी नै राख्नु महत्त्वपूर्ण छ”, वाणिज्यमन्त्री जिना राइमोन्डोले पत्रकारहरूलाई भन्नुभयो ।

नयाँ नियमहरूले चिपहरूमाथिको नियन्त्रणलाई अद्यावधिक गर्दै निर्यात, पुनःनिर्यात र देशभित्रको स्थानान्तरणका लागि अधिकृत स्वीकृति आवश्यक पर्ने व्यवस्था गरेको छ । साथै अमेरिकाको मित्र मानिएका देशहरूका लागि विभिन्न छुटहरू पनि समावेश गरेको छ ।

यसैबीच एआई डाटा सेन्टरहरूले चिपहरू आयात गर्न सक्षम हुन बढाइएका सुरक्षा मापदण्डहरूको पालना गर्न आवश्यक छ ।

“यी नियमले हाम्रा रणनीतिक प्रतिस्पर्धीहरूलाई तस्करी र दूर पहुँचको माध्यमबाट हाम्रो निर्यात नियन्त्रण छल्न कठिन बनाउँछ”, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भन्नुभयो, “साथै विश्वभरका हाम्रा साथी र साझेदारहरूलाई उन्नत एआईका लागि विश्वसनीय विक्रेताहरू प्रयोग गर्न प्रोत्साहन सिर्जना गर्छ ।”

राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको आगामी प्रशासनलाई सम्भावित परिवर्तनहरू गर्न समय दिँदै राइमोन्डोले नयाँ नियमहरू १२० दिनमा लागु हुने जानकारी दिनुभयो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीनमाथि भारी भन्सार महसुल लगाउनुभएको थियो । यद्यपि सिलिकन भ्यालीमा उहाँका समर्थकहरूले यी नियमलाई आफ्ना उत्पादनहरू निर्यात गर्ने क्षमतामा अनावश्यक बोझको रूपमा पनि हेर्न सक्छन् ।

काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द

ब्लु ओरिजिनले प्राविधिक समस्याका कारण आफ्नो विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण सोमबार बिहान रद्द गरेको छ ।

तीन सय २० फिट (९८ मिटर) लामो न्यु ग्लेन रकेट बिहानै फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट एउटा प्रोटोटाइप स्याटेलाइट लिएर उड्ने योजना थियो । तर प्रक्षेपण नियन्त्रकहरूले काउन्टडाउनको अन्तिम मिनेटमा अनिर्दिष्ट रकेट समस्यासँग जुध्नु पर्यो र काउन्टडाउनको समय सकियो ।

काउन्टडाउन घडी रोकिएपछि उनीहरूले तुरुन्तै रकेटबाट सबै इन्धन निकाल्न थाले । ब्लु ओरिजिनले समस्या समाधान गर्न थप समय चाहिने बताउँदै तत्काल नयाँ प्रक्षेपण मिति तय गरेन ।

एटलान्टिकको फ्लोटिङ प्लेटफर्ममा पहिलो चरणको बुस्टर अवतरण गर्ने कम्पनीको योजनामा जोखिम निम्त्याउने खराब सामुद्रिक लहरका कारण परीक्षण उडान पहिले नै ढिलो भइसकेको थियो ।

न्यु ग्लेन नाम पृथ्वीको कक्षामा पुग्ने पहिलो अमेरिकी जोन ग्लेनको नामबाट राखिएको हो । यो टेक्सासबाट ग्राहकहरूलाई अन्तरिक्षको सीमासम्म लैजाने ब्लु ओरिजिनको न्यु शेपर्ड रकेटभन्दा पाँच गुणा अग्लो छ ।

अमेजनका जेफ बेजोसले २५ वर्षअघि यो कम्पनीको स्थापना गर्नुभएको थियो । उहाँले फ्लोरिडाको ओर्लान्डोबाट करिब ५० माइल (८० किलोमिटर) पूर्वमा नासाको केनेडी स्पेस सेन्टरको गेट बाहिर रहेको रकेट कारखानामा रहेको मिसन कन्ट्रोलबाट सोमबारको काउन्टडाउनमा भाग लिनुभएको थियो ।

जे भए पनि बेजोसले आइतबार साँझ भन्नुभयो, “हामी उठ्नेछौँ र अघि बढ्नेछौँ ।”

चीन र रुसबीच सन् २०२४ मा रेकर्ड व्यापार : भन्सार तथ्याङ्क

चीन र रुसबीच गत वर्ष व्यापार रेकर्ड उचाइमा पुगेको सोमबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले मस्कोमाथि पश्चिमी प्रतिबन्धहरू हुँदाहुँदै पनि दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्याङ्कअनुसार सन् २०२४ मा रुससँगको कूल आयात र निर्यात दुई खर्ब ४४ अर्ब ८० करोड डलर पुगेको छ । यो सन् २०२३ को दुई खर्ब ४० अर्ब १० करोड डलरको तुलनामा केही बढी हो ।

गत वर्षको वृद्धिले ठूला छिमेकी देशहरू बीचको व्यापारलाई ऐतिहासिक उच्च विन्दुमा पु¥यायो । यद्यपि यो अघिल्लो वर्ष रेकर्ड गरिएको २६ दशमलव तीन प्रतिशतको वार्षिक वृद्धिभन्दा निकै कम थियो ।

सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको राजनीतिक र आर्थिक सम्बन्ध गहिरो भएको छ । उक्त सम्बन्धलाई राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूबाट व्यापक आलोचना गरिएको छ र उनीहरूले प्रतिक्रियामा कडा प्रतिबन्धहरू लागू गरेका छन् ।

चीनले सङ्कटमा आफूलाई तटस्थ पक्षको रूपमा राख्न खोजेको छ र मस्कोको आक्रमणको निन्दा गर्न बारम्बार अस्वीकार गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा दुवै मुलुक ‘गुटनिरपेक्षताको सही मार्गमा निरन्तर हात मिलाएर अगाडि बढेका छन्’ भन्नुभएको छ ।

यसैबीच सन् २०२४ मा विश्वको शीर्ष दुई अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार तीन दशमलव सात प्रतिशतले बढेर छ खर्ब ८८ अर्ब ३० करोड डलर पुगेको चिनियाँ भन्सार तथ्याङ्कले देखाएको छ ।

आफ्नो पहिलो कार्यकालमा चीनमाथि व्यापक शुल्क लगाउने अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा अर्को हप्ता सुरु हुने गरी अझ बढी आक्रामक व्यापारिक कदमहरूको धम्की दिनुभएको छ ।

राखेप उपाध्यक्ष आचार्यको पदबहाली

काठमाडौँ २९ पुसः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले आज पदबहाली गर्नुभएको छ । उहाँलाई युवा तथा खेलकुद मन्त्रालयले आजै मनोनयन पत्र हस्तान्तरण गरेको थियो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथसमेत गराउनुभएको थियो । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई आजै राखेपमा स्वागत गर्नुभयो ।
यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका–७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुनुहुन्छ ।

यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त रहेको थियो ।

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

काठमाडौँ २९ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन

काठमाडौँ, २९ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्नुभएको छ । उहाँलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नुभयो ।

त्यसअवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले रू पाँच अर्ब ६७ करोड २७ लाखको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको जानकारी दिनुभयो । संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको उहाँले बताउनुभयो । 

भवनको आन्तरिक साजसज्जाका लागि रु दुई अर्ब ३४ करोड ५४ लाखमा सम्झौता भएको छ  । हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ । भवनमा  एक हजार तीन सय ५१ वटा कोठा छन् जहाँ सङ्घीय संसद्का दुवै सदनका बैठक हुनेछन् । 

रास्वपा अध्यक्ष लामिछानेविरुद्धको थुनछेक बहस जारी

काठमाडौँ, २९ पुसः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज समाप्त नभएकाले काठमाडौँ जिल्ला अदालतले निजलाई पुनः न्यायिक हिरासतमा पठाएको छ ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सभापति लामिछानेको न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आजदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि निजलाई हिरासतमा पाठइएको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अम्बरबहादुर चन्दले रासससँग भन्नुभयो, “आगामी माघ २ गतेदेखि सुनुवाइ हुनेछ, उहाँलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाइएको छ ।”

काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता

काभ्रेपलाञ्चोक, २९ पुस : मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उहाँ जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् । सापकोटाले विगतमा जस्तै यसवर्ष पनि आफ्नो खेतमा राप्नुभएको थियो, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउनुहुन्छ ।

“मैले बारीभरी काउली रोपेको थिएँ, अहिले मध्य सिजन भएकाले होला काउली रू १५ मा पनि बिकिरहेको छैन”, लगानीसमेत नउठ्ने भयो”, सापकोटाले दुःखेसो पोख्नुभयो । करिब महिनाअघिसम्म प्रतिकेजी रू एक सयसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन् । उक्त वडाका करिब एक सय ३० किसान परिवारले आफ्नो खेतबारीमा काउली रोपेका थिए । तर भाउ नपाउँदा उनीहरूको लगानी जोखिममा परेको बताइन्छ ।

बारीमै छोडौँ नहुने, टिपेर बजार पठाउँदा ज्याला पनि नउठ्ने भइसकेकामा स्थानीय अर्का किसान सङ्गीता सापकोटालाई पनि निकै चिन्ता पर्न थालेको छ । “यहाँ यो सिजनमा दैनिक एक हजार केजीसम्म काउली उत्पादन हुने गरेको छ, तर बजारमा राम्रो मूल्या नपाउँदा भने लगानी र ज्यालासम्म नउठ्ने भए पनि घाटा ब्याहोर्न बाध्य भइयो”, उहाँले भन्नुभयो । स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसान आफूहरूलाई पायकपर्ने स्थानमा हाटबजार राखिदिन नगरपालिकासँग अनुरोध गरेको उहाँले बताउनुभयो ।

स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान तयारी गरिदिन हतारोनै हुने गरेको छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उहाँहरू समय मिलाएर काउली काट्न निस्कनुहुन्छ । व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने र बनेपा तथा काठमाडौँमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेको सापकोटाले बताउनुभयो । उहाँ पनि आफूले गरेको मेहनतअनुसारको आम्दानी नपाएकोमा निकै चिन्तामा परेको बताउनुहुन्छ ।

“व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय नभएकाले हामी आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने हो”, उहाँले भन्नुभयो । उहाँले हाल व्यापारीले प्रतिकिलो काउली रू १० का दरले पैसा दिएको बताउनुभयो । सापकोटाले पाँच रोपनीमा लगाएको काउलीबाट गत वर्ष रू एक लाख ५० हजारसम्म आम्दानी गर्नुभएको थियो । तर यस वर्ष मूल्य राम्रो नपाएकाले फाइदा निकाल्न सक्ने स्थितिमा नरहेको उहाँको भनाइ छ । यस वर्ष रू ८० हजार नकट्ने उहाँको अनुमान छ । हालसम्म स्थानीय किसानले काउलीको राम्रो मूल्य पाएको प्रतिकिलो रू १७ सम्म मात्रै हो । उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो रू ५० रूपैयाँसम्म तिर्दा पनि यहाँका किसानले भने रू १० देखि रू १५ मात्रै पाइरहेका छन्  । गतवर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेडा बेचेर रू पाँच लाखभन्दा बढी आम्दानी गरेका थिए, तर यो वर्ष रू एक लाख उठाउन पनि कठिन देखिएको स्थानीयको भनाइ छ ।

सापकोटाको भनाइमा काउली फलाउन किसानले धेरै मेहनत गर्नुपर्छ, काउली रोप्न खेत वा बारी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा कीटनाशक विषादी हाल्नेलगायत काम गर्नुपर्छ, यतिका काम गर्दा लागेको खर्च हालको बजार मूल्यले धान्न सक्दैन । “हाल किसानले प्रतिकिलो काउलीको मूल्य रू ३५ देखि ४० सम्म पाउनसके लगानी उठाउन सकिनेछ”, सापकोटाले भन्नुभयो ।

तरकारीबाट उचित मूल्य नपाएपछि यहाँका किसानमा निराशा छाउँदै गएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भारतबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, मौसमी काउली अहिलेको समयमा बढी उत्पादन भएकाले पनि उचित मूल्य नपाएको हो ।”

राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ । यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्दै आएका छन् । तर पछिल्ला केही वर्षयता भने मण्डनदेउपुरमा विविध कारण खेतीपातीमा लाग्ने किसान विस्तारै घट्न थालेको देखिएको छ । निकै दुःख गरेर उत्पादन गरे पनि बजारका राम्रो मूल्य नपाउँदा किसानले खेतीमा गरेको लाखौँ रूपैयाँ जोखिममा पर्ने गरेको घटना देखिएका छन् । मल, बीउ समयमा नपाउने र पाइए पनि महँङ्गो तिर्नुपर्ने कारण लाखौँ लगानी गर्नुपर्ने बाध्यता रहेको छ ।

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी, २९ पुस : संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् ।

यो मुस्ताङको सदरमुकाम जोमसोम बजार अवस्थित घरपझोङ गाउँपालिका–५ मा रहेको छ । वौद्ध परम्पराको प्रवेश हुनुअघि अस्तित्वमा रहेको ‘शे–रिव’ नामको स्थानीय राज्यको केन्द्र ठिनी नजिकैको गारावजोङ (घरपझोङ) किल्ला मुस्ताङको ऐतिहासिकस्थल हो ।

किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउने गरेको मुस्ताङ जिल्लाको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ । किल्लामा भवन र घरका भग्नावशेष अझै छन् । सोही किल्ला भएको ठाउँमा पहिले मानव बस्ती थियो । डाँडामा रहेको उक्त बस्ती सरेर थाक पाँच गाउँको रूपमा स्याङ, ठिनी, मार्फा, छैरो र चिमाङ बनेको जोमसोमका अगुवा चन्द्रबहादुर थकालीले बताउनभयो ।

आठौँ शताब्दीमा निर्माण भएका भौतिक संरचनाका घरपझोङ किल्लाको इतिहासको साक्षीका रूपमा रहेका छन् । यही ऐतिहासिक महत्त्व बोकेको क्षेत्रको नामबाट घरपझोङ गाउँपालिका नामाकरण भएको हो ।

ठिनीका बासिन्दा राजेन्द्र थकालीले माटोले बनेका ऐतिहासिक संरचना भत्किएर नासिँदै गएका बताउनुभयो । संरक्षणको ठोस योजना र काम हुन नसकेको उहाँले चिन्ता व्यक्त गर्नुभयो । माटोले बनेका घरका पर्खालका अवशेष मात्र भेटिन्छन् । जीर्ण भएका संरचना संरक्षण गर्न सकेमा भावी पुस्तालाई इतिहासका रूपमा बुुझाउन र पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना छ ।

ठिनी गाउँदेखि सवारी साधनमा पाँच मिनेटमा पुगिने ठिनीखोलादेखि थप १० मिनेट उकालो पैदलयात्रा गरेर पुगिने घरपझोङमा धुम्बा तालतर्फबाट जाने सडक र पैदलमार्ग पनि छ । घरपझोङ गाउँपालिकाले ठिनीखोलाबाट किल्लासम्म पुग्ने पदमार्ग र सडक बनाएको छ । स्थानीयवासीले घरपझोङ किल्लामा सानो गुुम्बा पनि बनाएका छन् ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले घरपझोङ किल्लाको संरक्षण, पूर्वाधार निर्माण र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गुरूयोजना निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रू दश लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

अग्लो स्थानमा रहेको घरपझोङ किल्लाबाट जोमसोम, ठिनी, स्याङ, मार्फा गाउँको बस्ती, धुम्बाताल, नागबेली परेर बगेको कालीगण्डकी, ठिनीखोला, निलगिरि र धौलागिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । जोमसोम बजार, मातृचक्र, काठै काठले बनेको झोलुङ्गे पुुल, ठिनी, याझरू भ्यु पोइन्ट, हिउँ चितुुवा गुुफा, घरपझोङ किल्ला, क्षमाताल, धुम्बा ताल, कुुछपतेरङगा गुम्बालगायतका धार्मिक, ऐतिहासिक र प्राकृतिकस्थललाई जोमसोमको सहायक गन्तव्य बनाउने र मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउने योजना रहेको अध्यक्ष लालचनले बताउनुभयो ।

कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म

काँक्रेविहार (सुर्खेत), २९ पुस : कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो ।

कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहीँ लाग्नुपर्छ ।” 

उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ  । एक हजार चार सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ । 

चालु आवमा आठ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ । २२ लाख किलो खरिद गरेर र दुई सय ३० टन सुकेको अदुवा यूरोप पठाउने लक्ष्य कम्पनीको छ । 

सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ । कम्पनीमा एक सय ५० जना कामदार छन् । दैनिक एक सय २० जनाले काम गर्छन् । बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताउनुभयो । 

डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छन् । उद्योगका अनुसार सबैभन्दा बढी अदुवा उत्पादन सल्यानमा हुन्छ । सल्यानबाट एक सिजनमा एक हजार दुई सय मेट्रिकटनसम्म अदुवा ल्याउने गरिएको छ । रुकुमबाट आठ सय र सुर्खेतबाट दुई सय मेट्रिकटनसम्म अदुवा उद्योगमा ल्याउने गरिएको छ ।

उद्योगले सिस्नो र टिमुर पनि प्रशोधन गर्दै आएको छ । किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ । 

अत्यधिक चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द

ढोरपाटन (बागलुङ)-अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् । केही दिनयता अत्यधिक चिसो बढेपछि यही पुस २६ गतेदेखि उपत्यकाका ६ विद्यालय बन्द गरिएका हुन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा पर्ने ती विद्यालय अब माघ तेस्रो साता मात्रै खुल्ने छन् ।

अत्यधिक चिसो बढेपछि पाखाथरस्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथानस्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मसस्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखेस्थित ढोरबहारा प्राथमिक विद्यालय बिहीबारदेखि बन्द भएका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले जानकारी दिनुभयो । जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाइका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको छ । चिसोले विद्यार्थी कठ्याङग्रिएपछि पठनपाठन बन्द गरिएको उहाँले बताउनुभयो ।

“हिउँदमा ढोरपाटन क्षेत्रमा पठनपाठन गर्न समस्या हुन्छ, त्यसैले आगामी माघ २० गतेसम्म विद्यालय बन्द गरेका छौँ”, घिमिरेले भन्नुभयो, “अहिले बन्द भएका विद्यालयमा वर्खामा भने नियमित पढाइ हुन्छ ।”

जनवादी आधारभूत विद्यालय बोबाङबाट अहिले सञ्चालन हुने हुँदा वर्खामा बिदा हुँदैन । ढोरपाटनका विद्यालयमा करिब तीन सय बढी विद्यार्थी अध्ययनरत छन् । ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि पठनपाठन बन्द गरिएको बताउनुभयो ।

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

कैलाली, २९ पुसः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।

विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरू भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिनुभयो ।

आज बिहानैदेखि थारू गाउँहरूमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरू भइसकेको थारू अगुवा चौधरीले बताउनुभयो । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरूलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उहाँले बताउनुभयो ।

“माघे सङक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ । त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ”, उहाँले भन्नुभयो, “त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रही आएको छ ।” तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उहाँले बताउनुभयो ।

थारू समुदायको मुख्य पर्व भएकाले यतिबेला थारू गाउँबस्तीमा पर्वको रौनक छाएको गोदावरी नगरपालिका–८ फकलपुरका स्थानीय माधव चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “थारू समुदाय बसोबास गर्ने गाउँ, बस्ती अहिले माघीमय भएका छन् ।” यति मात्र नभएर थारू जातिको परम्परा, लोक संस्कृति झल्कने मघौटा नाच, लोक गीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन लागेको छ ।

यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षा गर्छन् । “माघी पर्वसँगै थारू समुदायमा विधिवत् रूपमा विवाह, अंशबण्डालगायत कार्यको थालनी हुन्छ”, चौधरीले भन्नुभयो, “यस दिन आपसी वैमनश्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी अण्डी चामलको भातरोटी, ढिक्री, मासुलगायत थारू खानाका विभिन्न परिकार खाने र खुवाउने चलन छ ।” यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँ–नयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरका घरपरिवारका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन् ।

पर्वमा विषेशगरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोङ्गी, बङ्गुरको मासु, माछा, गङ्गटालगायत स्थानीय खानाका पकवान खाने चलन छ । बालबालिकादेखि वृद्घवृद्घासम्म रमाउने मूख्य पर्व भएकाले तामझामका साथ पर्व मनाइरहेको धनगढीको बैयाबेहडीका माइला चौधरी बताउनुहुन्छ । “गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीभाइ मिलेर रमाइलो गरिरहेका छाँै, खानपिन गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “हाम्रो समुदायको यो पर्वको चहलपहलले विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ ।”

माघी मनाउन थारू समदायका गाउँ, बस्ती आसपासका क्षेत्रमा गाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ । माघीपर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।

जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित

चन्द्रकला भण्डारी, झापा ।  झापा  जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो ।


काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर- १२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।

प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताए ।

‘समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,’ उनले भने,’राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरियालगायत आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।’

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इञ्जिनीयर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनुपर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरू भएकोमा खुसी व्यक्त गरे । उनले देशभित्रै पढ्न नपाउँदा बर्सेनि अर्बौ रकम विदेश गइरहेको जनाउँदै बिएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पुँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

झापा अब मेडिकल हब बन्ने धारणा राख्दै उनी भन्छन्,’कलेजको नाफा र घाटा सञ्चालकको भए तापनि मेडिकल कलेज सम्पूर्ण झापावासीको साझा सम्पत्ति हो । हिजोका दिनहरूमा झापालीहरू डाक्टर पढ्न विदेश जान्थे, अब विदेशबाट झापा आउने क्रम सुरू भएको छ ।’

महिला मानवाधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता बाँस्तोलाले छोरी बुहारीका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताइन् ।

उनले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नैपर्ने र परनिर्भर हुनैपर्ने बाध्यताबाट छोरीहरूले छुटकारा पाएको जनाउँदै जिल्लामै यस्तो अवसर सिर्जना हुनु लैङ्गिक दृष्टिकोणले सकारात्मक भएको बताइन् । ‘छोरीहरूले विदेश पढ्न जान सहज थिएन,’ उनी भन्छिन्,’पुरूष साथी खोज्नुपर्ने र कतिपय अवस्थामा विवाह गर्नैपर्ने बाध्यतात्मक अभ्यास थिए । अभिभावक पनि त्यस्तै चाहन्थे । तर, जिल्लामै एमबीबीएस पढ्ने अवसर पाउँदा ती तमाम समस्याको एकैचोटी समाधान भएको छ । जिल्लामै अभिभावकसँग बसेर पढ्न पाइने भएको छ ।’

नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नं १ का इञ्चार्ज प्रकाश भण्डारीले बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सुरू हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताए ।

‘अझ धेरै अगाडि एमबीबीएसको पढाइ झापामा हुनुपथ्र्यो,’ उनले भने,’क्षमता भएका जिल्लाबासीका छोराछोरीले आफ्नै आँगनमा मेडिकल शिक्षा हासिल गर्नसक्ने अवस्था आउनु गौरवको विषय हो । विदेशमा मात्रै पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बङ्गलादेशमा गत वर्ष आन्दोलन हुँदा नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सकस भएको हामीले भुल्नुहुँदैन । अब जिल्लामै पढ्न पाएपछि विदेशको अनेक जोखिम मोल्नु परेन ।’

नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बङ्गलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न  एक करोड तिर्नु परिरहेको जनाउँदै बिएन्डसीले जिल्लामै पठनपाठन गराउँदा हरेक ब्याचमा  ५० करोड पुँजी विदेश जानबाट रोकिने बताए ।

उनले दुई वर्ष अघि बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सञ्चालन हुनसकेको भए आफ्नो छोराले बङ्गलादेश जानुनपर्ने स्मरण गर्दै ढिलै भए पनि झापामा पढाइ हुँदा अभिभावकमा खुसीको माहौल छाएको बताए ।

उनी भन्छन्, ‘मेरो छोराले बाध्यताबस बङ्गलादेशमा पढ्न जानुपर्यो । हामी विदेशमा ठूलो धनराशी खर्चेर पढ्न जानुपर्ने अवस्थाको अन्त्य भएको हेर्न चाहन्थ्यौँ । झापामा एमबीबीएसको पढाइ अलि अगाडि नै सुरू हुनुपथ्र्यो ।’

विदेशीहरू पनि आउन थाले पढ्न

यही पुस २६ गतेदेखि पठनपाठन सुरू भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत् ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।

स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

‘पश्चिम बङ्गालको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बिएन्डसी पहिलो रोजाइ बनेको पाइयो,’ जनसम्पर्क अधिकृत गिरीले भने, ‘हिजोका दिनमा नेपाली मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरू धाएर नेपालमा आउन थाले ।’

आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापावासीको दशकौँं पुरानो चाहना बल्ल पूरा भएको जनाउँदै उनले मेडिकल कलेजका लागि विसं २०६८ मा सरकारबाट आशयपत्र पाउँदा र विसं २०७१ मा ३०० शय्याको अस्पताल सञ्चालन हुँदासमेत पठनपाठन सुरू हुन एक दशक कुर्नुपरेको बताए ।

सत्तरी जना प्रोफेसर कार्यरत

बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरू हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए ।

उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजीलगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताए ।

‘शान्त र सुविधासम्पन्न छ पढाउने भवन,’ प्राडा शर्माले भने, ‘बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरू छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।’

सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उनले झापामा बिएन्डसी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरू एक हजार रोजगारी सिर्जना हुने बताए ।

‘भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बिएन्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पथ्र्यो,’ प्राडा शर्माले भने, ‘सुरूमै पढाइ हुन पाएको भए यतिखेर एक हजार जनाले एमबीबीएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढ्नेहरू प्रोफेसर भइसक्थे ।’ झापाको आर्थिक विकासमा बिएन्डसी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्‍याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको हब बनाउने बाटो खुलाएको उहाँको धारणा छ ।

सर्वोच्च अदालतले विसं २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

सोलुखुम्बु, २९ पुसः जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।

जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिनुभयो ।

चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थानीय पशी शेर्पाले बताउनुभएको छ । पिके मावि लोदिङ्का प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार चिसोका कारण पठनपाठनमा असर गर्ने भएपछि विद्यालयले सोहीअनुसार पात्रो तयार गरेर जाडो विदाको निर्णय गरेको हो ।

उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताउनुभयो । “यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीयसमेत जाडो छल्न अन्यत्र गएपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ ।”

अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २९ पुसः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ
निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको मूल्य भने ओरालो लागेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो  एकको खरिददर एक सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ७० पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २३ पैसा र बिक्रीदर १२ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता

बरहथवा (सर्लाही), २९ पुसः सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ ।

आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता भएको हो । दुई पालिका जोड्ने केरावारी–रानीचुरी–रागेदोभान सडक खण्ड, हरिवन–क्यानेश्वर सडक खण्ड, तित्रीगाछी–धुम्बे–भुताहा–बरुण सडक र अत्रौली–केवनचुली–भुताहा–बरुण सडक स्तरोन्नतिका लागि दुवै पालिकाबीच सम्झौता भएको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो । 

सिन्धुलीको क्यानेश्वर र हरिहरपुरगढी गाउँपालिकाको अधिकांश गाउँका स्थानीयको व्यापारिक केन्द्र सर्लाहीको हरिवन बजार हो । व्यवस्थित सडक नहुँदा भौगोलिकरुपमा नजिक भएका सिन्धुलीका यी दुई पालिकाका नागरिकले सर्लाहीको हरिवन सम्म आउजाउ गर्न सास्ती व्यहोर्दै आएका छन् । दुवै पालिकाले आ–आफ्नो सिमानासम्म सडक स्तरोन्नति गर्ने सहमति गरेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो ।

“हाम्रो पालिकाका केही गाउँका स्थानीयलाई भौगोलिक हिसाबले सर्लाहीको हरिवन नजिक पर्छ,” उहाँले भन्नुभयो, “उहाँहरु अझै व्यापार, उपचार तथा अन्य कामका लागि हरिवन धाउनुहुन्छ । तर, सडक राम्रो नहुँदा सास्ती भोग्नु परिरहेको छ ।” 

सम्झौतापत्रमा हरिवन नगरपालिकाको तर्फबाट प्रमुख बुढाथोकी र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईबाले हस्ताक्षर गर्नुभएको छ ।  हरिवनबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर हँुदै मरिण जोड्ने सडक स्तरोन्नति गर्ने विषयमा केही समय अघि बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्ले र मधेश प्रदेशका अर्थ मन्त्री सुनील यादवबीच छलफलसमेत भएको थियो । उद्योग वाणिज्य सङ्घ हरिवनको आयोजनामा दुवै प्रदेशका मन्त्रीहरूले संयुक्तरूपमा उक्त सडकको अवलोकन गर्नुभएको थियो । 

हरिवनदेखी धिमिले हुँदै हरिहरपुरगढीकोे क्यानेश्वरसम्म १३ किलोमिटर र क्यानेश्वरदेखि मरिणसम्म २२ किलोमिटर गरी मरिणसम्म ३५ किलोमिटर दूरी रहेको छ ।

चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाडौँ, २९ पुस : चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गर्नुभयो । 

उहाँका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत हुनुहुन्थ्यो । पर्यटन व्यवसायमा आबद्ध उहाँ चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुनुहुन्छ । 

केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध हुनुहुन्थ्यो । 

अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनियर विरुद्ध मुद्दा दायर

काठमाडौँ, २९ पुसः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेशगरेदेखिको आर्जनको हिसाब किताब गरेको जनाएको छ । इञ्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । आयोगले सरकारी सेवामा प्रवेश गरेपछि २०७७ असार ३१ गतेसम्मको सम्पत्तिको विषयमा अध्ययन गरेको थियो ।

वैधानिक रुपमा श्रेष्ठले रु ११ करोड २५ लाख ६५ हजार एक सय ९९ बराबरको आर्जन गरेको पाइएको छ । यस्तै, रु १६ करोड १३ लाख ९५ हजार पाँच सय २८ बराबर लगानी एवम् खर्च गरेको पाइएको छ । रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ बराबरको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ । सार्वजनिक सेवामा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनयापन गरेको पुष्टि भएको आयोगको ठहर छ ।

गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकमारी श्रेष्ठ, छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको पाइएकाले सबैलाई प्रतिवादी बनाइ आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगले श्रेष्ठ र उहाँको परिवार विरुद्ध रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ बराबरको बिगो कायम गर्दै गैरकानुनीरुपमा आर्जन गरेको सम्पति जफत एवम् असूल उपर गर्नुपर्ने मागदावी गर्दै मुद्दा दायर गरेको हो ।

पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौँ, २९ पुसः वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् ।

धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गर्नुभएकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउनुहुन्छ । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ । 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । 

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

आफू बसेको स्थानकी देवी देवताको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । 

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । 

देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । 

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । 

साँखुमा शालीनदी मेला
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला सुरु भएको छ ।

“माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यहाँ प्रत्येक वर्ष लाखौँ भक्तजन आउने गर्छन्,” साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठले भन्नुभयो  शालीनदीमा लाग्ने मेलाको सबै तयारी पूरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

काठमाडौँ, २९ पुस : बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो । 
सो प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२ दशमलव ८० प्रतिशत, उद्योग क्षेत्रको १६ दशमलव ३२ प्रतिशत र सेवा क्षेत्रको ५० दशमलव ८८ प्रतिशत योगदान रहने अनुमान छ ।

कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो ।  कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७ दशमलव ९२ प्रतिशत, तरकारी बालीको पाँच दशमलव ११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल छ दशमलव ९७ प्रतिशत छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१ दशमलव ६४ प्रतिशत छ । आव २०८०/८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन एक दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । 

विशेष गरी खाद्य बाली अन्तर्गत धान सात दशमलव ४५ प्रतिशत तथा कोदो शुन्य दशमलव ८६ प्रतिशतले वृद्धि भएकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा तरकारीको उत्पादन एक दशमलव ९८ प्रतिशत, चियाको उत्पादन शुन्य दशमलव शुन्य एक प्रतिशत, कफीको उत्पादन एक दशमलव २३ प्रतिशत तथा महको उत्पादन शुन्य दशमलव २८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन शुन्य दशमलव ९४ प्रतिशत र मसलाको उत्पादन आठ दशमलव शुन्य तीन प्रतिशतले घटेको छ । 

आव २०८०/८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७ दशमलव तीन प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६ दशमलव ७४ प्रतिशत रहेको थियो । 
कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल एक दशमलव ५२ प्रतिशतले विस्तार भएको छ । त्यसैगरी दुध उत्पादन १९ दशमलव ९३ प्रतिशत, मासु उत्पादन दुई दशमलव ३० प्रतिशत तथा माछा उत्पादन एक दशमलव २१ प्रतिशतले वृद्धि भएको छ । अण्डा उत्पादन एक दशमलव ७३ प्रतिशत तथा ऊनको उत्पादन छ दशमलव ४३ प्रतिशतले घटेको छ । 

यसैगरी, काठको उत्पादन १५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव १० प्रतिशतले घटेर रु ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ । गत असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १० दशमलव १२ प्रतिशत रहेको छ । यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५२ दशमलव सात प्रतिशत रहेको छ । आव २०७९/८० मा उक्त उद्योगको औसत क्षमता उपयोग ५१ दशमलव एक प्रतिशत रहेको थियो । 

उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१ दशमलव तीन प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम चार दशमलव चार प्रतिशत रहेको छ । अध्ययनमा समेटिएका उद्योगको उत्पादनमध्ये गार्मेन्ट उत्पादन सबैभन्दा बढी छ भने घरेलु धातुका सामानको उत्पादन ४५ दशमलव सात प्रतिशतले घटेको छ ।

सो प्रदेशका ४३ वटा उद्योगमा आव २०७९/८० मा १८ हजार चार सय ६१ जना श्रमिक कार्यरत रहेकामा समीक्षा आर्थिक वर्षमा ती उद्योगमा जम्मा १६ हजार नौ सय ५८ जना श्रमिक कार्यरत  छन् जुन गत वर्षको सोही अवधिको तुलनामा आठ दशमलव एक प्रतिशतले कम हो । सुनसरी, मोरङ, इलाम, झापा र उदयपुरमा रहेका उद्योगमा श्रमिकले रोजगारी गुमाएका छन । कुल औद्योगिक रोजगारीमध्ये ८३ दशमलव दुई प्रतिशत स्वदेशी र १६ दशमलव आठ प्रतिशत विदेशी कामदारहरूले रोजगारी प्राप्त गरेका थिए  । समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ९१ प्रतिशत र नौ प्रतिशत छ ।

केन्द्रीय बैंकका अनुसार,  २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा आठ दशमलव ११ प्रतिशतले वृद्धि भइ रु एक खर्ब ३९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा छ दशमलव ६४ प्रतिशतले वृद्धि भएको थियो । सो  प्रदेशमा वाणिज्य बैंकका सात सय ५४, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५२ गरी जम्मा एक हजार आठ सय ३७ शाखा पुगेका छन् । 

त्यसैगरी २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सो प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३ दशमलव ३८ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा तीन दशमलव ८१ प्रतिशतले वृद्धि भई रु पाँच  खर्ब ७८ अर्ब पुगेको छ । 

यादवको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, २८ पुस : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक जीवछीदेवी यादवकी आमाको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । मधेश प्रदेशसभा सदस्यसमेत रहनुभएकी जीवछीदेवीकी आमा पवीत्रीदेवी यादवको ६७ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । स्व यादवले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । 

मकवानपुरको मनहरीमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

मनहरी (मकवानपुर), २८ पुस : मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना१क ९२५० नंको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

बसको ठक्करबाट गम्भीर घाइते थिङलाई उपचारका लागि हेटाँैडा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक मकवानपुर मनहरी गाउँपालिका–७ बिजौनाका   चन्द्रबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

सभापति देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा कांग्रेसको आपत्ति

काठमाडौँ, २८ पुस : सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस केन्द्रीय  कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धन सरकारका बारे अन्योल सिर्जना गरी जनतालाई दिग्भ्रमित गर्ने उद्देश्यले पार्टी सभापति देउवाका नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

कांग्रेसले हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव पौडेलले यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोधसमेत गर्नुभएको छ ।

मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन सरकार अध्यादेशबाट अघि बढेको छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ, २८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन छिटो र सहजका लागि सरकार अध्यादेशको माध्यमबाट अघि बढेको बताउनुभएको छ ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित त्रिभुवन माध्यमिक विद्यालयको ५८औँ वार्षिक साधरणसभा तथा अभिभावक दिवस कार्यत्रमलाई आज सम्बोधन गर्दै मन्त्री गुरुङले संसद्को माध्यमबाट जाँदा एक÷डेढ वर्ष लाग्ने र ‘फास्ट ट्र्याक’बाट जाँदा पनि एक वर्ष लाग्ने भएकाले अहिले तत्काल जनतालाई कसरी सुख सुविधा दिने भनेर जनताको विकास, सुशासन, पुँजी बढाएर अर्थतन्त्र सुधार गर्न, रोजगारी सिर्जना गर्न र यस्ता कानुनहरु नफेरी नहुने तथा संशोधन नगरी नहुने भएकाले सरकार अध्यादेशको माध्यमबाट अघि बढेको स्पष्ट पार्नुभयो ।  

“मन्त्रिपरिषद्को बैठकले यतिबेला सुशासनसँग जोडिएका १३ कानुन, अर्थमन्त्रालय तथा अर्थसँग जोडिएका १४ कानुन, वन र शिक्षा क्षेत्रसँग जोडिएका तीन कानुन अध्यादेशमार्फत संशोधन हुन लागेका  छन्”, उहाँले भन्नुभयो–“यो अध्यादेश जारी गरेर अर्थतन्त्रमा देखापरेका समस्या हटाउन, प्रशासनको क्षेत्र, सुशासन क्षेत्रमा भएको सबै समस्या समाधान हुने तथा भ्रष्टाचारलाई नियन्त्रण गर्ने, राजस्व वृद्धि गर्ने काममा हामी लागिरहेका छौँ ।”  

मन्त्री गुरुङले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कुनै कारणले दुवै निलम्बन वा पद खारेज भएको खण्डमा कार्यपालिकाले अध्यक्ष  र उपाध्यक्ष छानेर काम गर्न सक्ने अध्यादेश आउन लागेको बताउनुभयो । अर्को निर्वाचन नभएसम्म छानेकाले नै काम गर्ने उहाँको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री गुरुङले विद्यालयमा दरबन्दी बनाउँदा हरेक विद्यालयमा एउटा खेलकुद शिक्षक, कम्प्युटर शिक्षा पढाउने शिक्षक र प्रत्येक सामुदायिक विद्यालयमा पनि बसको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । विद्यालय शिक्षा व्यवस्थित बनाए सरकारले लगानी गरेको खर्च उठ्न सक्ने उहाँको भनाइ थियो ।